
माङसेबुङ/इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १८ औं संस्करणको आत्मानन्द गोल्ड कप फुटबल प्रतियोगितामा लेटाङ फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ ।
आत्मानन्द रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा दमक भाङबारी स्पोर्टिङ क्लब झापालाई २–१ गोल अन्तरले पराजित लेटाङ मोरङ फाइनल प्रवेश गरेको हो ।
योसँगै लेटाङ मोरङले उपाधि भिडन्तका लागि सिरिजंगा स्पोर्टिङ क्लब मोरङसँगको भेट पक्का गरेको छ । फाइनल खेल बुधबार (मंसिर १७) हुनेछ ।

लेटाङ मोरङको जितमा निरज परियारले दुई गोल गरेका थिए । यता दमक भाङबारीका लागि अफ्रिकन खेलाडी रिचार्ड विन्शनले एक गोल फर्काएका थिए । खेलको मेन अफ दी म्याच लेटाङका निरज परियार घोषित भए ।
खेलको २४औं मिनेटमा निरज परियारको गोलमा पहिलो हाफमा लेटाङले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफका १–० ले पछि परेको दमकले दोस्रो हाफमा खेलको ४९ औं मिनेटमा रिचार्ड विन्शनले गोल गर्दै दमकलाई बराबरीमा फर्काए । तर, खेलको ६३ औं मिनेटमा निरज परियारले व्यक्तिगत दोस्रो गोल गर्दै लेटाङलाई २–१ ले जित दिलाए ।
विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यू नुमाङगेन्ना सेवा तथा चेसोक तङनाम महासमारोह २०८२ को अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७१ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोहको आयोजना र आत्मापवित्र खेलकुद समितिको संयोजनमा आत्मानन्द गोल्डकप सञ्चालन हुने छ । भने, युथ अफ माङसेबुङले सह–संयोजनको भूमिका निर्वाह गर्ने जनाइएको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७२ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत सञ्चालन हुनेछ ।













