माङ्गेन्नाले हामी सबैको माङ्गेन्ना उठाएको छ


                                                                                              रमेश तुम्बापो

 

 

किरात याक्थुङ् लिम्बू जातिहरुमा शिर नढलोस भनेर वा शिर ढल्ने काम भएपछि शिर उठाउँने माङ्गेन्ना अनुष्ठान गर्ने चलन रहेको छ । नावाचइत.सृष्टि मुन्धुम अनुसार सर्वज्ञानी, सर्वव्यापी तागेरा निङ्वाभू माङ्को आदेश अनुसार पोरोक्मी याम्भामी माङ्ले सर्व प्रथम सुन चाँदी जडित मानवको सृष्टि गरेको थियो ।

 

 

 

 

तर, रचना गरिसकेपछि पोरोक्मी यम्भामीले बोलाउँदा बोलेन । सुनचाँदी मिलाएर बनाएको प्रथम मानव बोलाउँदा नबोलेपछि पुनः सेमिक्ला पमिक्ला.मालिङ्गो/देवनिगालोबाट बनेको खरानी र पानीको लेऊ मिसाएर पुनः मानवको सृष्टि गर्नुभयो । अनि प्राण हालेर बोलाउँदा हँ भनेर बोल्यो । सुन, चाँदीको शरीर हिरा मोतिको आँखा हालेर बनाएको मानव नबोलेको तर, सेम्क्लिा पमिक्लाको खरानी र पानीको लेऊ मिसाएर बनाएको मानव बोलाउँदा बोलेपछि पोरोक्मी यम्भामीलाई रिस उठ्यो ।

 

 

 

 

फोटा १ नं.
राजेन्द्र माखिम र एम. बि. माखिम कार्यक्रम सञ्चालन गर्दै, छेऊमा उभेर चिसोपानी पञ्चमीबाट आएका प्रहरीले नियाल्दै ।

 

त्यसपछि एकपटक थुईक्या भनेर थुकिदियो । पारोक्मी यम्भामीले थुकिदिएपछि दोस्रो मानवको शिर ढल्यो, ऊ बोल्न नसक्ने भयो । त्यसपछि नव रचित मानवको माङ्गेन्ना गरिदिएर पुनः बोल्न थाल्यो । यहीँबाट माङ्गेन्ना गर्ने चलन शुरु भयो भन्ने भनाई छ । माङ्गेन्ना गर्दा माङ्गेन्ना गर्ने फेदाङ्माले माङ्गेन्ना गरिमाग्नेको माङ्गेन्नायक अनिवार्य उल्लेख गर्नुपर्छ । थाम्ब्रुङ् हुने हुनेहरुको थाम्ब्रुङ समेत भन्नुपर्छ । थाम्बु्रङ भनेको उत्पति थलो हो, माङ्गेन्नायक भनेको आदि पुर्खाहरुको ‘गढ’ बसोबास भएको पुरानो पुर्खौली थलो हो ।

 

 

 

किरात याक्थुङ लिम्बूहरुको आ–आफ्नो माङगेन्नायक हुन्छ । जस्तैः पापोहरु तुम्बापो, लावती, आङ्देम्बे, सेर्मा, तुम्रोक, इङ्वा र कुगेत्नाम्बाहरुले थाम्ब्रुकहरु तेह्रथुम जिल्लाको आठराई स्थित खेक्लेसो याकुम्बा डाँडा हो भने माङ्गेन्नायक पान्थरको फेदेन स्थित सुम्जिरी सुम्हालुङ आम्बेपजक्मा गढी हो । इङ्नामफेहरुको थाम्ब्रुङ र माङ्गेन्नायक दुवै खेक्लेसो याकुम्बा डाँडा नै हो । फेजङ्, याङसोबा, नामलाक्पाहरुको माङ्गेन्नायक फेदेन न. पा.–१३, स्थित तिम्बुरे माथि फेजङयक हो । त्यसै गरी जवेगु, हाङसरुम्बा, थेगिम, केरुङ, थक्लीहाङहरुको माङ्गेन्नायक पान्थर फेदेन न. पा.–१०, को याङ्नाम खलङ्गाडाँडा हो ।

 

 

 

याङ्देम्बा नेम्बाङहरुले आफ्नो माङ्गेन्नायक भर्खरै मात्र फेदेन–८, को तमाखेको हिङ्खाम्देन हो भन्न थालेका छन् । अतः लिङ्देनहरुले आफ्नो माङ्गेन्नायक पान्थरको च्याङ्थापु स्थित तिमतिम्बुलाई मान्दै आएका छन् । किरातेश्वर सेत्छेने सेनेहाङ लिङ्देन इतिहास तथा बंशावली २०६७ अनुसार लिङ्देनहरुको बंशावली पुस्ता केवल २२ मात्र पुग्दैछ । समाज शास्त्रिय दृष्टिकोणले यो लगभग ६५० वर्ष पूर्वको मात्र इतिहास हो, अन्य, याक्थुङ् लिम्बूह्रुको तुलनामा लिङ्देनहरुको इतिहास निकै कलिलो देखिन्छ । यहाँ उठाउन गर्न खोजिएको विषय चाहीँ गुरु माङ्गेन्ना कार्यक्रमको हो । प्रथम पटक गुरु माङ्गेन्ना कार्यक्रमको चर्चा परिचर्चा मैले स्व. डिल्ली प्रसाद तुम्बापो (जौवारी कान्छा) को मुखबाट सुनेको थिए । उनको मृत्यु २०३८ साल माघ ५ गते भएको थियो होला ।

 

 


फोटो २
सोही दिन गुरुआश्रममा रैथान बसेर गुरु सेवा गर्नेहरुले छुट्टै खिचेको फोटो ।

 

 

 

 

२०३९ सालको धनबाली गोडमेल गरिसकेपछि माई नगरपालिका ६ स्थित पँलासेको जोगिटार खेतमा किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङज्यू, एक्कासी गम्भिर बिरामी हुनु भयो । उहाँको डडाल्नुमा अस्वभाविक रुपमा घाऊ उछि«एर त्यसले गुरुज्यू पीडित बनायो । त्यसकारण गुरुज्यूलाई जोगिटारबाट कोइले चुलीको बाटो बोकेर गुरुआश्रम लारुम्बामा ल्याउँनुपर्ने भयो । त्यतिबेला गुरुज्यूलाई बोकेर लारुम्बासम्म ल्याउँनेहरु क्रमशः हर्कवीर योङहाङ माई न. पा. ६ पलासे, ए. ऐ. मागुना बस्ने जोगमान देवान, पान्थरको आरुबोटे बस्ने खड्क फियाक (सुवेदार जेठा) र ताप्लेजुङ सिनाम बस्ने भूपति थेबे हुनुहुन्थ्योे ।

 

 

 

लारुम्बामा बस्दा साह्रो गाह्रो हुँदा केहेरसिं योङहाङको खोजी गर्नुेपथ्र्यो, भने जोगीटारमा झरेपछि हर्कवीर योङहाङको । विरामी गुरुज्यूलाई लारुम्बा आश्रममा ल्याएपछि किरात धर्म तथा साहित्य उत्थान संघका तत्कालिन सचिव चन्द्रकुमार सेर्मा गुरुआश्रम आइ पुग्नु भयो । सायद त्यतिबेला सेर्मा वलने गाउँ पञ्चायतको प्रधानपञ्च समेत हुनुहुन्थ्यो । तिनताका गुरुज्यू संघको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्थ्यो । विरामीको लक्षण विचार गरेर प्र. प. सेर्माले गुरुज्यू (लाई सफल उपकार) उपचार गर्न सक्ने विजुवा आफ्नो गाउँ वलनेमा रहेको र उक्त विजुवालाई तुरुन्त पठाईदिने वचन दिनुभयो । साँची नै केही दिन पछाडि त्यो विजुवा गुरुज्यूको उपचारार्थ गुरुआश्रम लारुम्बा झर्नुभयो सामासारदाम सहित । उहाँको खासनाम थाहा हुन सकेन । चर्चित नाम चाहि रानीखेले विजुवा भनिन्थ्यो । जस र भाग के थियो कुन्नि, गुरुज्यूलाई सफल उपचार गर्ने श्रेय उहाँले नै पाउँनु भयो ।

 

 

 

 


फोटो ३
बाँयाबाट क्रमश सन्त दिल्पाली एवाई राई, बाजहाङ योङहाङ (तोभाङ साहिला), देवमान र रमेश तुम्बापो

 

 

त्यसपछि झनै वार्षिक माङ्गेन्नाको आश्यकता महसुस हुँदै गयो । २०३९ सालको माङ्गेन्ना कार्यक्रममा प्रमुख माङ्सेवासाबा साङसेन नाम्भुनयक माङहिम सिलौटीका सिद्धिनन्द फेजङ (१९७४–२०५०) हुनुहुन्थ्यो । त्यस वर्षको साक्मुरा वादेम्ममा (गालीसराप बहन्ती) लारुम्बा गाउँको सिरानमा रहेको सानो कुवा मुनि खोल्सीमा गरिएको थियो भने लाधुङसेमी सेवा र प्रवचन कार्यक्रम र गुरुआश्रमकै सानो आँगनमा गरिएको थियो । कार्यक्रमको अध्यक्षता इभाङ गाउँ पञ्चायतका प्रधान पञ्च स्व. हर्कधोज सङबाङफेले गर्नुभएको थियो । कार्यक्रम सञ्चालकहरु हर्कवीर योङहाङ र राजेन्द्र माखिम हुनुहुन्थ्यो । एम. बि. माखिमले निर्णय लेख्ने गर्नुहुन्थ्यो । त्यतिबेला चिसोपानी पञ्चमी स्थित प्रहरी चौकीबाट एकजना हवल्दारको कमाण्डमा प्रहरीहरु २÷३ जना झर्ने गथ्र्यो । प्रहरी हवल्दारले कार्यक्रममा राम्रै सम्मान पाउँथ्यो, गुरुज्यूकै छेऊमा फूलमाया लगाएर राखिन्थ्यो । साँझपख सेवासाबाहरुबाट गुरुज्यूको माङ्गेन्ना उठाउँने काम हुन्थ्यो, जोरनाल बन्दुक पनि पड्काएर हर्षबढाई हुन्थ्यो ।

 

 

 

 

 

स्थानीय भक्तजनहरुले टाढाटाढाबाट आएका भक्तजनहरुलाई गांग्री घैलाबाट पानी ओसारेर खाना पकाएर खुवाउँथ्यो । खानेपानीको ठूलो अभाव थियो । २०३९ सालमा केहेरसिं योङहाङ एक्लैले ३ क्वेल पाइप खरिद गरेर पारी कैजालबोटबाट आश्रमसम्म पानी ल्याईदिनु भयो । तर, सोही सालको पहिरोले पाईपलाई क्षतविक्षत बनाई दिएपछि सयौं ठाउँमा सकेट लगाएर जोड्नुपर्दा राम्ररी पानी सञ्चालन हुन सकेन । तिनताका माङ्गेन्नाका सम्पूर्ण कार्यक्रमहरु गुरुआश्रमकै सानो आँगनमा अटाउँथ्यौं । टाढाटाढाबाट भक्तजनहरु बाटोमा खाने बस्ने व्यवस्था सहित आउँथ्यो । भक्तजनहरुमा औधि श्रद्धा सम्मान र सत्य थियो, रातभरी माङलाङ नाँच हुन्थ्यो । माङलाङ नाच्दा एकले अर्कोलाई खुट्टाले छुयो भने, नाँचलाई रोकेर ढोग गरेर क्षमा माग्नु पथ्र्यो ।

 

 

गुरु माङ्गेन्ना कार्यक्रम समापन पश्चात खिचेको सामुहिक फोटो ।
फोटो ४

कसैको सुनका गरगहना हरायो भने सबैजना मिलेर खोज्ने गरिन्थ्यो । अनि तुम्याहाङहरुको रोहबरमा सम्बन्धित समान धनिलाई बुझाउँने गरिन्थ्यो । गुरुआश्रम वरिपरिका स्थानीय बासीहरुको सागसब्जी, तरुल, विक्री हुन्छ भन्ने कुरा थाहा पाएको थिएन त्यतिबेलासम्म । रु. ५÷– ले २ पाथी सिमल तरुल पाइन्थ्यो । २ पाथीमा ८ किलोसम्म हुन्थ्यो । २०३५ साल माघमा बनेको गुरुआश्रम नामका जोडी घरहरु करिब ३ मिटरको फरक दूरीमा रहेको थियो । दुवैघरहरुको छाना लामो–लामो खरले उधोमुण्टे पारेर छाइएको हुन्थ्यो । यी दुवै ऐतिहासिक घरहरु यो पंक्तिकारले पनि पटक–पटक गरी २०४४ सालसम्म छाएको थियो । यी पुराना घरहरु दुवै बाँसको भाटाले बनेको थियो । दुवै घरहरु पश्चिमतर्फ फर्केका थिए । ढोका समेत बाँसको घाटा बुनेर राखिएको थियो भने कब्जाको सट्टा सुनपाटको डोरी लगाईएको थियो । गुरपरिवार पश्चिमतर्फको घरमा बस्नुहुन्थ्यो हामी सेवकहरु पूर्वतर्फको घरमा । वरिपरि चारैदिशा जंगलै–जंगल रहेको थियो । माङ्गेन्ना कार्यक्रममा दमकबाट आएर प्रेमकुमार सिप्तुङ्खा राईले फोटो खिच्नु हुन्थ्यो । उहाँको दमक बजारमा महमाई फोटो स्टुडियो नामक स्टुडियो थियो ।

 

 

 

 

 

फोटो खिचेपछि गुरुआश्रमलाई एउटा एल्वम पठाउँनु हुन्थ्यो । एउटा एल्वममा करिव २०÷२५ वटासम्म फोटोहरु हुन्थ्यो । हामी गुरुआश्रममा रैथान बस्नेहरु ती फोटोहरुमा आफ्नो अनुहार कहीँ पनि हुँदैन थियो । भेटीहाले पनि खाना पकाउँदै गरेको, भाँडा माझिरहेको, जस्ता कुरुप तस्वीरहरु मात्र हुन्थ्यो । वि. स. २०४२ साल मंसिर १९ गते गुरुआमाज्यूको विशेष अनुरोधमा गुरुआश्रमको फूलबारीमा खिचेको फोटो तल हेर्नुहोस् ।

 

 

 

 

 

 

 

 

 

 

 

अगाडि बस्नेहरु बाँयाबाट क्रमश ः एम. बि. माखिम, राजेन्द्र माखिम, भु. पु. प्र .प. तथा माङगेन्ना कार्यक्रमका संस्थापक अध्यक्ष स्व. हर्कधोज सङबाङफे, किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक उपाध्यक्ष दलबहादुर चेम्जोङ उभ्नेहरु दायाँबाट क्रमश ः सुरेश साङपाङ राई, हस्तमान राई, कञ्चनदिल राई, धर्मगुरुज्यू, डिल्लीराम चाम्लिङ्, पदम फियाक, भवेन्द्र थेबे …………… जयप्रसाद सङ्मी ।

 

 

 

प्रेम कुमार सिप्तुङ्खा केवल फोटो ग्राफर मात्र थिएन । समाजसेवी पनि हुनुहुन्थ्यो । २०३८ साल देखि २०५० सालसम्म किरात धर्म तथा साहित्य उत्थान संघको अघोषित केन्द्रीय कार्यालय पनि उहाँकै घरमा रहेको थियो । साथै गुरु डेरा आश्रम पनि । उहाँकै जेनेरेटरबाट माङगेन्ना कार्यक्रममा विजुली उत्पादन गरेर झिलीमिली बत्ति बालिन्थ्यो ।

 

 

 

तिनताका समयमा मध्यपान, धुम्रपान खुल्ला थियो । सिमल तरुलको फलहार, सिमल तरुलकै तरकारी, जाँड पनि त्यसैको । माङ्गेन्ना कार्यक्रममा म केवल सहभागी मात्र हुने गरेको थिए । २०४० सालदेखि भने गुरुआश्रममा रैथान बसेर गुरु सेवा गर्न थाले । म भन्दा अगाडिदेखि गुरुआश्रममा रैथान बसेर सेवा गर्दै आउँनु भएका ३ जना अग्रज दाईहरु पनि हुनुहुन्थ्यो । ति दाईहरु डिल्लीराम चम्लिङ्, सन्तप्रसाद दिम्पाली एवाई राई (धारा कान्छा) बाजहाङ योङहाङ (तोबाङ् साहिला) थिए ।

 

 

 

२०४१ सालको फाल्गुन महिनामा प्रथम पटक खानेपानी सफलता पूर्वक सञ्चालन भयो । गुरुआश्रमले पनि एउटा धारा पायो । यसपछि पानी बोक्ने गाग्री, घैला, ग्यालेनहरु आश्रमको एउटा कुनामा सदाका लागि थन्कियो । २०४४ सालसम्मका गुरु माङ्गेन्ना कार्यक्रमहरु गुरुआश्रममै भएको थियो । त्यसपछि भने भालुटार हुँदै मान्द्रेडाँडा हाल माङ्सेबुङमा स¥यो । हामी गुरुआश्रममा रैथान बसेर गुरुसेवा गर्नेहरु एक प्रकारले ज्यादै अभागी थियौं । किनभने कार्यक्रम नभएको समयमा घरेलु काममा सधै व्यस्त रहनुपर्ने कार्यक्रमको बेला झन गाईबस्तुहरुलाई गोठ लगेर अलग्गै बस्नुपर्ने आश्रममा रहनेहरु जति झनै व्यस्त हुनुपर्ने ।

 

 

फोटो ५
बायाँबाट क्रमश राजेन्द्र माखिम, चन्द्र चेम्जोङ, धर्मगुरु र एम. बि. माखिम ।

 

गुरुआश्रमको आँगनमा उपदेस भइरहेको हुन्थ्यो । तर सुन्ने फुर्सद नै नहुने । अरु फाल्तु समयमा ज्ञानगुणका कुराहरु हुँदैन थियो । यसर्थमा हामी ज्यादै अभागी थियौं । २०४८ साल भन्दा अगाडि कुनै पनि व्यक्ति÷संस्थाले गुरुज्यूलाई अभिनन्दन पत्र चढाएको थिएन । डिल्लीराम चाम्लिङ र मैले एउटा खाली पेपरमा मस्यौदा गरेर २०४८ सालको माङ्गेन्ना कार्यक्रममा मैले नै वाचन गरेको थिए । सम्भवत यो नै गुरुज्यूको जीवन इतिहासमा पहिलो अभिनन्दन–पत्र थियो । निश्चिय नै गुरुमाङ्गेन्ना कार्यक्रमले हामी सबैको शिर उठाउँदै आएको छ । उच्च बनाउँदै लगेको छ ।

 

 

 

माङगेन्ना कार्यक्रमकै मध्यमबाट महागुरु फाल्गुनन्दको विचार दर्शनले देश विदेशसम्म व्यापकता प्राप्त गर्दै गइरहेको अवस्था छ । राजादेखि सामान्यसम्मलाई माङ्सेबुङको दर्शन गराएको छ, हजारौं, लाखौंलाई मद्यपान, धुम्रपानबाट मुक्त गराएर स्वास्थ्य जीवन दिएको छ ।

 

 

 

 

सत्य अहिंसा माङसेवाको असल मार्गमा हिड्न सिकाउँदै ल्याएकोछ, धेरैले अध्यात्मिक लाभ लिइरहेका छन् । यी उपलब्धिहरु महागुरु फाल्गुनन्दका सपनाहरु हुन् । उहाँको विचार दर्शनलाई यो विन्दुमा ल्याई पु¥याउने यो महान कार्यमा गुरुज्यूको अद्धितिय योगदान रहेको सर्वविद्धितैछ । यद्यपि यति हुँदाहुँदै पनि हुनुपर्ने तर अहिलेसम्म हुन नसकेका धेरै कामहरु बाँकी नै छ । ती मध्ये महागुरु फाल्गुनन्दलाई निसंकोच विश्व मानवकै साँझा गुरु बनाउँनु, उहाँको बहुमूल्य सिवाखाहुन.उपदेशलाई आचरण व्यवहारमा ढालेर तदनुरुप कर्म गर्न सक्ने शिष्यहरुको हुबहु उत्पादन गर्नु र साम्जिक मुन्धुम भित्र रहेका कमजोरीहरुलाई सुधार गर्नु प्रमुख रहेका छन् ।