किरात पर्व : खिबेक्वा याक्वा सेवामा माङवाहाङवाको बढ्दो महिमा

 


                                                                              ज्ञानु केदेम लिम्बू

माङसेबुङ/किरात समुदाय अन्तर्गत आदिवासी लिम्बू जातिहरुले आफ्नो सभ्यता र संस्कार संस्कृति अनुसार विभिन्न चाडपर्वहरू मानिल्याएका छन् । यसमा कति धर्म कर्म वा परिस्थिति विशेषले गर्दा पनि मानिएका छन् भने, कति सामाजिक सद्भाव र सांस्कृतिक सहिष्णुताका लागि मनाइने पर्वहरू पनि रहेका हुन्छन् । हरेक चाडपर्वको आफ्नै किसिमका सामाजिक–सांस्कृतिक मूल्य मान्यता रहेका छन् । त्यसलाई मनाउने आफ्नै परम्परा र शैलीहरू रहेका छन् ।

 

 

 

यसरी आदिवासी किरात समुदाय (याक्थुङ) लिम्बू जातिले मान्ने थुप्रै चाडपर्वहरु मध्ये परापूर्वकालयता किरात समुदायले मान्दै, मनाउदै आएको कक्फेक्वा तङ्नाम (माघे सक्रान्ति) र किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिक तीर्थस्थल इलामको माङसेबुङमा पूरा एक हप्ता मनाइने किरात पर्व खिबेक्वा याक्वा सेवा (उभौंली पर्व) को बारेमा संक्षिप्त चर्चा गरिएको छ ।


माङसेबुङमा कक्फेक्वा तङनाम

वि.स.२०३४/३५ सालतिर तत्कालीन इभाङ गाउँ पञ्चायतका प्रधानपञ्च हर्कध्वोज सम्बाहाङफेको नेतृत्वमा नाम्धुङ लाधुङसेमी सेवा गरेर माङसेबुङमा कक्फेक्वा तङनाम (माघे संक्रान्ति) सामूहिक रुपमा मनाएको उहिलेका कुराहरु स्मरण गर्दै, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले सुनाए । अध्यक्ष योङहाङका अनुसार सो सेवा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको निर्देशनमा माघ १ गतेका दिन माई, देउमाई र मेक्वा खोलाको त्रिवेणीस्थल फुलुङ्गीमा किरात धार्मिक संस्कार अनुसार नाम्धुङ लाधुङसेमी सेवाको आयोजना गरिएको थियो ।

 

 

 

यसमा अर्का माङगेन्ना सेवा समितिकै उपाध्यक्ष हर्कवीर योङहाङले थपे, ‘माई, देउमाई र मेक्वाको संगमस्थल फुलुङगीमा सेवा आयोजना गरी कक्फेक्वा तङनाम (माघे संक्रान्ति) लाई सामुहिक रुपमा मान्ने चलन सुरुवात गर्दा माघे मेलामा आउने र सेवामा भेला हुने सबै जनालाई एकै ठाउँमा भात पकाएर बाडिदिएका थियौं ।’ यसरी सुरुवातमा प्रकृति पुजक किरात समुदायले मान्दै र पुज्दै ल्याएको तरुल खाने, मकर नुहाउँने कक्फेक्वा तङनाम (माघे संक्रान्ति) पर्वलाई किरात धर्मावलम्बीहरुले माङसेबुङमा धार्मिक संस्कार अनुसार नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरी मनाउन थालेका थिए ।

 

 

 

पछिल्लो समयमा यसैलाई रुपान्तरण गरी (उभौंली पर्व) खिबेक्वा याक्वा सेवाको रुपमा वर्षेनी मनाउँदै आएका हुन् । यसमा गाउँघरमा आदिवासी लिम्बू जातिले गर्दै आएको धूलपूजा गर्ने प्रथालाई पनि समय अनुकूल परिमार्जन गरी शाकाहारी बनाई एउटै ठाउँ, समय र खर्चले मनाउने गरी किरात पर्व खिबेक्वा याक्वा सेवाको सुरु गरेका छन् । अध्यक्ष योङहाङका अनुसार तरुल खाने, मकर नुहाउँने माघे संक्रान्ति र उभौलीको अवसरमा टोल–टोलमा गरिने सेवा पूजालाई एउटैमा गाँभेर खिबेक्वा याक्वा सेवाको रुपमा मनाउन थालेको हो ।

 

 

 

 

ज्योतिषशास्त्र अनुसार उत्तरायण, सूर्य मकर रेखाबाट उत्तरतर्फ लाग्ने समय, माघे संक्रान्तिदेखि असार मसान्तसम्मको समयवधिलाई उभौली याम (खिबेक्वा) भनिन्छ । भने, साउने सक्रान्तिदेखि पुस मसान्तसम्मको समयलाई उधौंली याम (मुबेक्वा) भनेर बुझिन्छ । उभौलीसँगै प्रकृतिले नयाँ काँचूली फेर्न सुरु गर्छ । यहीँ प्रकृतिको नियमानुसार प्रकृति पुजक किरात समुदायले प्रकृतिको सेवा गरी आफ्नो जग्गा जमिनमा खेतीपाति सुरु गर्ने गर्दछन । यसरी जमिनमा खनजोत र छरपोख गर्न अघि किरात समुदायमा अनादिकालदेखि सेवा गर्ने चलन रहिआएको पाइन्छ ।

 

खिबेक्वा सेवाको सुरुवात

किरात समुदायमा परापूर्वकालदेखि जंगलबाट खनिल्याएका कन्दमूल तरुलहरुको माघ १ गते विहानै टिका लगाउने, घरपरिवार सबै भेलिएर कक्फेक्वा तङनाम (माघे संक्रान्ति) मनाउँदै तरुल पकाइ खाने चलन रहिआएको पाइन्छ । यसलाई थप बृहत र विकसित रुप दिँदै किरात धर्मावलम्बीहरुले माई, देउमाई र मेक्वा खोलाको संगमस्थल फुलुङ्गीमा सेवाको आयोजना गरेर सामूहिक कक्फेक्वा तङनाम मनाउन सुरु गरेको थियो । फुलुङ्गीमा ३ वर्ष लगातार वर्षेनी सेवा लगाएपछि ४० को दशक आसपासमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको निजी गुरु आश्रम इलामको माङसेबुङ लारुम्बामा माघ १ गते सामूहिक रुपमा कक्फेक्वा तङनाम (माघे संक्रान्ति) मनाएका थिए ।

 

 

यसरी सामुहिक माघे संक्रान्ति पर्व मान्न सुरु गरेका दिनहरु स्मरण गर्दै पुनः माङगेन्ना अध्यक्ष योङहाङले थपे ‘त्यो बेला भक्तजनहरुले मेला लाएर धान नाच्ने गर्थे, जाँड, रक्सी, मासु मंस खान्थे, मेला आउने सबैलाई भात पकाई दिन्थ्यौं तर पछि धार्मिक आचारसंहिता बनाएर जीव हत्याहिंसा रहित शुद्ध फलफूलले सेवा गर्ने कक्फेक्वा तङनाम (माघे सक्रान्ति) र खिबेक्वा याक्वा सेवाको सुरुवात गर्न सफल बनेका छौ ।’

 

 

 

 

यसरीनै उनले भने, ‘पहिले गाउँको देवी देउराली वा डाँडामा सबै भेलिएर धूलपूजाको नाममा घर–घरबाट भेटी, चामल, अण्डा, कुखुरा, जाँड रक्सी र बीउविजन संकलन गरी पूजा गरेर सामूहिक वनभोज खाने चलनलाई विकसित रुप दिँदै समयानुकूल परिमार्जन गरी माङसेबुङमा जीव हत्याहिंसा रहित शुद्ध शाकाहारी खिबेक्वा याक्वा सेवाको सुरु गरेका हौ ।’

 

 

 

यसरी सुरुवात भएको सामूहिक कक्फेक्वा तङनाम (माघे संक्रान्ति) फुलुङ्गीबाट निजी आश्रम अनि भालुटार हुँदै (तत्कालीन मान्द्रेडाँडा) माङसेबुङमा सारिएको थियो । माङसेबुङमा रहेको किरात धर्मको केन्द्रीय माङहिम किरात हाङसाम मुजोत्लुङ माङहिमको मैदानमा वर्षेनी मनाउन थालेपछि ठाउँ फेरिन्दा तिथिमिति, नाम र मनाउने तरिका पनि फेरिएर स¥र्याे ।

 

 

 

 

कक्फेक्वा तङनाम (माघे संक्रान्ति) बाट खिबेक्वा याक्वा सेवा (उभौली पर्व) न्वारन हुँदा समय पनि १ गतेबाट ५ र ६ गते २ दिन बनेर बृहत रुप लिन पुग्यो । अझ बृहत बन्दै जाने क्रममा किरात धार्मिक पर्वको रुपमा स्थापित हुँदै जाँदा माघ १ गतेदेखि ७ गतेसम्म पूरै एक साता मनाइने पर्वको रुपमा सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महान समारोहको रुपमा विकसित हुँदै गएको छ ।

 

 

खिबेक्वा याक्वा सेवाको महत्व

 

प्रकृति पुजक किरात समुदायले उभौलीको सुरुसँगै जमिनमा खनजोत्, छरपोख गर्नु अघि प्रकृति वा पञ्चतत्व हावा, पानी, आगो, धर्ति र आकाशलाई पुज्ने गर्छन । अनादिकालदेखि प्रकृति पूजक किरात समुदायहरुले डाँडाकाँडा, देवी देउराली, सिमेभुमे, नागनागेनी, खोलानाला आदिमा सेवा गर्ने चलन रहेको पाइन्छ ।

 

 

 

यसरी सेवा गर्दा प्रकृतिमा खनजोत गरी बीउविजन छरपोख गर्दा, अन्नबाली सप्रियोस, खनजोत गर्दा चोट विमार नलागोस, बालीनालीमा किरा, फटेंग्रा नलागोस, हूरी, बतास, असिना पानीले असर नगरोस, अन्न धनको सह रहोस, सम्पूर्ण जीव जगतमा सहकाल भई शान्ति छाओस र खेतीपाति गर्दा किरा फट्याङग्रा जीवजन्तु मरेपनि पाप नलागोस भनि सेवा गर्ने चलन रहेको किरात धर्मावलम्बीहरु बताउँछन ।

 

 

 

 

यसरी सेवा गरी सकेर सबै भक्तजनहरुलाई बाडेको माङ्वाहाङ्वा (बीउबिजन) लाई घरमा लगेर आफ्नो भूमिमा छर्न, रोप्न तयार गरेको बीउमा त्यहीँ जातका बीउ वा अन्नहरु मिसाएर रोप्ने गर्छन । यसरी रोप्दा अन्नबाली सप्रिने धार्मिक विश्वास रहेको पाईन्छ । माङसेबुङमा हरेक वर्ष आयोजना हुने सावायेहाङ किरात खिबेक्वा याक्वा सेवामा सबै भक्तजनहरुले माङवाहाङवा लिन पाइने भएकोले यसको महिमा अझ् बढ्दै गएको किरात धर्मावलम्बीहरुको भनाई छ ।

 

माङवाहाङवाको औचित्य

 

परापूर्वकालयता किरात समुदायमा गाउँघरको देवी देउरालीहरुमा धामी, विजुवा नभए गाउँका मान्यजन अभिभावकबाट उभौली सेवाको अवसरमा संकलन गरिएको बीउविजनहरु सेवा गरेर वितरण गर्ने चलन रहेको पाईन्छ । यसलाईनै निरन्तर र व्यापक रुप दिदै हरेक वर्ष माङसेबुङमा सावायेहाङ किरात खिबेक्वा याक्वा सेवामा माङवाहाङवा वितरण गर्दै आएका छन् ।

 

 

 

इलामको माङसेबुङमा किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको पुनः अवतार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको हस्तबाहुलीबाट माङवाहाङवा वितरण हुने भएकोले हरेक वर्ष देश विदेशका भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ । हजारौ भक्तजनहरुको भीडमा उभिएर, घण्टौ समय कुरेर पालैपालो प्रत्येकले थुन्चे नभए सफा कपडामा पंक्तिबद्ध गएर माङवाहाङवा (बीउबिजन) थापेर आ–आफ्नो घरमा लाने गरेको किरात धर्मावलम्बीहरुको भनाई छ ।

 

 

 

पृथ्वीमा खनजोत गरी बालीनाली लगाउने मौसम भएकोले तिनै प्रकृति, पञ्चतत्व शक्तिको पूजा आरधना गरी छरपोक गर्ने बालीनालीमा सह, सिद्धि प्राप्त होस, प्रकृति, पञ्चतत्व शक्तिको दोख नलागोस भनी तागेरा निङवाभुमाङसँग माङसेवा गरी अन्न बालीको बीउविजन वितरण गरिने किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका पूर्व केन्द्रीय अध्यक्ष डिबी लिङदमले बताए ।

 

 

 

प्रत्येक भक्तजनहरुले आ–आफ्नो गाउँघरबाट ल्याएका बीउबिजनहरु सबै एकै ठाउँमा जम्मा गरी किरात साम्जीक मुन्धुम अनुसार सेवा गरेर भक्तजनहरुलाई वितरण गर्ने गरिन्छ, जसलाई माङ्वाहाङवा भनिन्छ । यसरी वितरण गरिएको बीउविजन छरपोक गर्न तयार पारिएको बीउविजनमा मिसाएर रोपे प्रकृति तथा पञ्चतत्वको दोख नलाग्ने र सह सिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास किरात समुदायमा रहेको छ ।

 

 

 

माङवाहाङवा वितरण कार्य मानव जातिकै प्राचिन संस्कृति मानिन्छ । जब पुर्खाहरु आदिमकालीन जंगली घुमन्ते अवस्थादेखि कृषि युगमा प्रवेश गरेपछि उनीहरुले लगाएका बालीनालीमा घाम, पानी, हावा हुरी, बाढी पहिरो, किरा फट्यांग्रा जस्ता भौतिक तथा प्राकृतिक संकटहरु झेल्नु प¥यो, तिनै समस्यालेनै पुर्खाहरुमा यो पृथ्वीमा खनजोत गरी अन्नबाली छरपोक गर्दा यो प्रकृति, पञ्चतत्व हामीसँग रिसायो भन्ने चेतना आएको अनुमान गर्न सकिन्छ ।

 

 

 

 

यसरी पुर्खाहरुले प्रकृति, पञ्चतत्व पनि एउटा शक्ति हो, भन्ने महसुस गरी बालीनाली छरपोक गर्नु अघि छरपोक गर्ने अन्न बालीमा प्रकृति, पञ्चतत्वको दोख नलागोस भनि यो पृथ्वी अथवा प्रकृतिको सेवा (पूजा आरधना) गर्ने प्राचिन संस्कृतिको विकास कृषी युगदेखि प्रारम्भ भएको देखिन्छ । यसरी महत्वपूर्ण मानिएको माङवाहाङवा वितरण कार्य ५० को दशक यता भक्तजनहरुको घर–घरबाट ल्याएको बीउबिजनहरु एक ठाउँमा जम्मा गरी मुन्धुमानुसार पञ्चतत्वसँग सिद्धि शक्ति मागेर सबैलाई माङवाहाङवा वितरण गर्ने चलन सुरु गरेको माङगेन्ना समितिका अध्यक्ष योङहाङको कथन छ ।

 

 

 

यसरी फुलुङगीमा सुरु गरिएको सेवालाई निरन्तरता दिने क्रममा भालुटारमा मनाउन थालियो । भालुटारमै कक्फेक्वा तङनामलाई मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले खिबेक्वा याक्वा सेवा नामाकरण गर्नुभयो र माङवाहाङवा वितरणको सुरुवात पनि भयो । माङगेन्ना अध्यक्ष योङहाङ भने, ‘माङवाहाङवा वितरणको सुरुमा प्रत्येक भक्तजनले माङवाहाङवा थाप्ने (माङलुम्भु) थुन्चे लिएर आउनु पर्ने आवहन गरेका थियौ । सबैले थुन्चे लिएर आए अनि माङवाहाङवा अङसीमाङ तथा अङसीमामाङले बाडिदिनु भएपछि खिबेक्वा याक्वा सेवामा माङवाहाङवा (बीउविजन) बाँड्ने चलन सुरु भएको हो ।’

 

 

 

बृहत बन्दै, खिबेक्वा पर्व

खिबेक्वा याक्वा सेवा (उभौली पर्व) संसारको मानिसले मान्ने चाडपर्वको रुपमा विकास हुने छ भनेर मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले भन्नुभएको थियो । अङसीमाङले सो कुरा वि.स. २०६७ साल माघ ६ गते आशीर्वचनको क्रममा माङसेबुङमा भन्नु भएको हो ।

 

 

यसरी अङसीमाङले भन्नुहुँदा पर्वको रुपमा विकास हुने प्रचुर सम्भावना भएरपनि कसरी विकसित गर्ने भन्ने विषयमा किरात धार्मिक संघसंस्था देखि भक्तजनहरु सबै अलमलमा थिए । तर, वि.स. २०७१ साल बैशाख २४ गते माङसेबुङमा किरात धार्मिक संस्थाहरुले किरात धर्म दर्शन र कर्म संस्कारसँग सम्बन्धित आधा दर्जन पर्वहरुलाई किरात धार्मिक चाडपर्व घोषणा गर्दा सावायेहाङ किरात खिबेक्वा याक्वा सेवालाई पनि पर्व घोषणा भएपछि अङसीमाङले आशीर्वचनमा भन्नुभए झै संसारमा मान्ने पर्व बन्दै गएको छ ।

 

 

 

 

करिब ४ दशक अघि साँघुरो किचनदेखि मेला, सेवा पूजा हुँदै औपचारिक कार्यक्रम आयोजना गरी मनाउन सुरु गरेको खिबेक्वा याक्वा सेवा वर्षेनी बृहत बन्दै गइरहहेको छ । किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिक तिर्थस्थल माङसेबुङमा हरेक वर्ष माघ १ गते कक्फेक्वा तङनाम (माघे संक्रान्ति) देखि सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा (उभौली पर्व) ७ गतेसम्म पूरै एक हप्ता संसारभरका किरात धर्मावलम्बीहरुको सहभागितामा याक्वा सेवा सम्पन्न हुँदै आएकोे छ । प्रकृति पुजक किरात धर्मावलम्बीहरुले ऋतु परिवर्तनलाई आत्मासात गर्दै खिबेक्वा याक्वा सेवा (उभौली पर्व) को रुपमा मकर संक्रान्तिदेखि एक हप्तासम्म किरात धार्मिक पर्वको रुपमा हरेक वर्ष सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा मनाउँदै आएको किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिह थेगिमले बताए ।

 

 

 

अङसीमाङको नेतृत्वमा आधा दर्जन चेलाहरुको साथमा मनाउन थालेको कक्फेवा तङनाम हरेक वर्ष व्यापक बन्दै आएको छ । तत्कालीन समयमा पातलो बस्ति, घनघोर जंगलले ढाकेको अनकन्टार दुर्गम गाउँ माङसेबुङमा आयोजना हुने पर्वले पर्याप्त प्रचार–प्रसार हुन सकिरहेको थिएन । तर, किरात धर्म दर्शन र कर्म संस्कार संस्कृतिको बढ्दो विकाससँगै माङसेबुङको विकास र चर्चा चौतर्फी बढ्दै गएको छ । पछिल्लो समय माङसेबुङ विश्वमा रहेका किरात समुदायको केन्द्रीय धार्मिक तीर्थस्थलको रुपमा कहलिएपछि यहाँ आयोजना हुने खिबेक्वा याक्वा सेवाले पनि बृहत पर्वको रुप लिँदै गएको छ ।

 

 

 

केही वर्ष अगाडि किरात धर्मावलम्बीहरुले वर्षेनी माङसेबुङ माङहिममा मात्र मनाउँदै आएको सावायेहाङ किरात खिबेक्वा याक्वा सेवालाई संसारभरका मानिसले मान्न, मनाउन सक्ने र मान्नुपर्ने पर्वको रुपमा किरात धार्मिक संगठनहरुको अगुवाईमा विकसित गर्दै लगिएको छ । संघका अध्यक्ष थेगिमका अनुसार यो खिबेक्वा याक्वा सेवा नयाँ संस्कार नभई आदिमकालदेखि किरात समुदायले मान्दै र पुज्दै आएको पर्व हो ।

 

 

 

माघ १ गते माघे संक्रान्तिदेखि उभौली सुरु हुने भएकोले जमिनमा खनजोत गरी बालीनाली छरपोख गर्न सुरु गर्ने परम्परा पनि छ । पछिल्लो समयमा यहीँ कक्फेवा तङनाम अर्थात मकर संक्रान्तिलाईनै नयाँ येले तङबेको रुपमा मनाउन पनि थालिएको छ । तर, अध्यक्ष थेगिमको मत अनुसार यहीँ मकर संक्रान्ति माघ १ गतेलाई येले तङबे नामले नयाँ वर्ष मान्न सकिने कुनै औचित्य, ऐतिहासिकता र वैज्ञानिकता भेट्न सकिएको छैन् ।

 

 

 

अध्यक्ष थेगिमले भने, ‘इतिहासकार इमानसिं चेम्जोङले पनि कक्फेक्वा (माघ) लाई नभई चेरेङनाम (चैत) लाई किरात नयाँ वर्ष मानेको छ । यसमा प्रकृतिले पनि पुष्टि गर्छ, चैतदेखि पञ्चतत्वको परिवर्तन सुरु भई चिसो मौसममा न्यानोपन सुरु हुनुले पनि नयाँ वर्ष चेरेङनाम (चैत) हो भन्ने पुष्टि गरेकोले किरात नयाँ वर्षको सुरु कक्फेक्वा (माघ) नभई चेरेङनाम (चैत) बाट हुन्छ ।’

 

 

 

यसरी सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा किरात धर्मावलम्बीहरुले मात्र नभई प्रकृति पुजक सबैले अर्थात उभौली र उधौली पर्व मान्ने सम्पूर्ण मानव जगतले मान्ने पर्वको रुपमा विकास भएर गएको छ । खिबेक्वा याक्वा सेवा मान्न इलामको धार्मिक पर्यटकीयस्थल माङसेबुङमा देश विदेशका भक्तजनहरुको आगमन बढ्दै गएको छ ।

 

 

 

विगतका समयहरुमा औपचारिक सभा, समारोहमा सिमित यो खिबेक्वा सेवाले पर्वको रुपमा व्यापकता पाएपछि यसलाई मान्न भने, माङसेवुङ पुग्न जरुरी रहेन जहाँ पुगिएको छ त्यहाँ पर्व मान्न सकिने भएको छ । यसले गर्दा किरात धार्मिक पर्व सावायेहाङ खिबेक्वा याक्वा सेवा संसार भरका मान्छेले मान्न सक्ने पर्वको रुपमा विकसित र विस्तारित हुँदै गएको छ ।