धर्मगुरुज्यूसँग यसरी भेट भयो : गुरुलाई महान समाजशास्त्रीको रुपमा पनि बुझ्न सकिन्छ

                                                                             विश्वासदीप तिगेला

 

 

पहिलो पटक गुरु लिङदेन आत्मानन्द सेइङज्यूलाई वि.स. २०४९ मा इलाम हात्तिलेदामा भेट्ने अवसर पाँएको थिए । हामी ३ जना धनकुटाबाट अतिथि सहभागिको रुपमा जितमानसिं तिगेला, रणवीर माङयाक र म पुगेका थियौ । त्यो बेला ठूलै योजनाबाट मात्र त्यति टाढा पुग्न सकिन्थ्यो । सार्वजनिक यात्रु बस हुँदै दमक नजिक केर्खाबाट हिड्दै हात्तिलेदा पुग्यौं । बाह्रगोठ, कमल पनि त्यो बेला धेरै सुनिने र पढिने नाम थियो । हात्तिलेदामा विबाह जस्तै धेरै मान्छे भेला भएका थिए । साँझ पंख पेट्रोलमेक्स बालेर खेतको आलीहरुमा बसाएर खानपीन गराएका थिए । लाग्छ त्यो बेलै त्यति सचेत र सभ्य हात्तिलेदा अहिले कस्तो भयो होला बेला बखत मेरो दिमागमा आइरहन्छ ।

 

 

 

 

म भर्खरै एसएलसी दिएको युवा थिए, धेरै कुराहरुको ब्यवस्थापन जितमान दाजुले गर्नुभयो । त्यो रात हात्तिलेदाको कार्यक्रमस्थल भन्दा अलिपर्तिरको एक घरमा सुत्यौ । भोलीपल्ट बिहान, हातमुख धोएर सफासुघंर भएर गुरु आत्मानन्द लिङदेनज्यूलाई भेट्ने कार्यक्रम रह्यो र अरुहरु पनि थिए । हामी तिनै जना हातमा फूल लिएर लाईन बस्यौ तर सँगै गएको रणवीर बाजेले अकस्मात मेरो त मुटु काम्यो म भेट्न सक्दिन भनेर एकछिन थचक्क बस्नुभयो र कोठा फर्कनुभयो । मलाई अलि खल्लो लाग्यो, त्यति टाढाबाट दर्शनकै लागि गएका हामी, बाजेले चाहिँ भेट्न सक्नु भएन ।

 

 

 

 

मेरो र जितमान दाजुको पालो आयो । घरको पछाडि आँगन पूर्वपट्टि गुरु उभिनु भएको थियो र मैले लिएर गएको फूल वहाँको हातमा चढाए र सेवारो भने । गुरुले हँसिलो मुद्रामा हुन्छ सेवारो, आउनु भयो राम्रो भयो, मन्द आवाजमा भन्नुभयो । त्यो बेला वहाँलाई त्रिकालदर्शी गुरु भनेर चर्चा हुन्थ्यो । भरे, दिउँसो वहाँले माङवाणी गर्नुभयो । वहाँले बोलेको भविश्यवाणी धेरैले टिपेको देखे, कतिले चाहिँ टेपरिकर्डरमा रेकर्ड गरेको देखे । मैले पनि गुरुले भन्नुभएको कुराहरु केही टिपे, सुने र बुझ्ने कोसिस गरे ।

 

 

 

 

म अलि आलोकाँचो भएपनि केही गरौ भन्ने हुटहुटी चाहिँ थियो । म धनकुटा छथरजोरपाटी १, हात्तिखर्क सुन्तले निवासी हूँ, मेरो टोलमा तुलनात्मक जाँड रक्सी, जुवातास हुँदैन थियो र वरपरको टोलहरुमा पनि हामीले बन्देज गरेका थियौ । त्यो बेला युवाहरु पनि धेरै नै थियौ । सबै युवाहरुले जाँडरक्सी, चुरोट, खैनी छोडेका थियौ । कसैले नखाने, अहिले सम्झन्छु बडो गजब लाग्छ । त्यो वातावरण सिर्जना हुनुको प्रमुख कारणहरु मध्ये मेरो गाँउमा हामीले हाङसाम माङहिम बनाएका थियौं, त्यसैको उर्जा र प्रभाव थियो ।

 

 

 

 

 

छिमेकी घरको लोकेन्द्र तिगेला दाजु प्रधानपञ्च र पछिबाट गाविस अध्यक्ष हुनुहुन्थ्यो । २०४६ साल चैत्र २६ गते बहुदलीय ब्यवस्था घोषणा भएपछि पञ्चेहरु भनेर भूमिका विहीन बनाएका थिए वहाँलाई । लोकेन्द्र दाजु असाध्य सिर्जनशील हुनुहुन्थ्यो । हप्तामा कम्तिमा एक दुईवटा नयाँ कुरा सोच्नु हुने, कविता, लेख, इतिहास लेखेर वहाँले मलाई ल सुन माइला भनेर सुनाउनु हुन्थ्यो । म लोकेन्द्र दाजुको माइला छोराको सहपाठी थिए भने बैठक, कार्यक्रमहरुमा चाहिँ म लोकेन्द्र दाजुसँगै हुन्थे ।

 

 

 

 

लोकेन्द्र दाजु धनकुटा गइरहनु हुने र धनकुटा बजारमा त्यहाँका छोरीचेलीहरुले बिहानबिहानै वरपीपल, मन्दिर, निशानथानहरुमा फूल चढाउँदै पूजाआजा गरेको देखेपछि त्यसबाट अति प्रभावित भई आफ्नो गाउँ टोलका दिदीबहिनीहरुले पनि त्यसरी नै पूजा गरुन भन्ने सोच वहाँमा आयो र वहाँको योजना हामीलाई सुनाउनु भयो ।

 

 

 

लोकेन्द्र दाजु घरको काम चाहिँ कम गर्नुहुन्थ्यो । दिउँसो आँगनमा गुन्द्रि ओछ्याएर लेखपढ गरिरहनुहुन्थ्यो । एक दिन म वहाँको नजिक पुगेको बखत वहाँले भन्नुभयो, हेर माईला हाम्रो गाउँघरमा छोरीचेलीहरु बिहानबिहानै राम्ररी आँखा नखुल्दै जाँडको घ्याँम्पामा हात हाल्छन, यिनीहरुलाई पनि धनकुटा बजारका छोरीचेलीहरुले जस्तै पूजा गर्ने बनाउनुपर्छ भन्नुहुदै धुवाँ लागेर रातै भएको पुरानो पुस्तक पल्टाउदै एउटा पेजमा धनुषकाँड भिरेको किरातीको नक्सा थियो, त्यो नक्सालाई देखाउदै हेर मन्दिर बनाएर यो धनुषकाँड भिरेको किरातेश्वरको मूर्ति बनाउनु पर्छ । बनाउनु पर्छ पर्दैन मेरो आसयले काम गर्दैन्थ्यो, म सिर्फ वहाँलाई सुनिदिने व्यक्तिको आवश्यक थियो त्यो मात्र पूरा गरिरहेको थिए । किन की म सानै थिए तर एक्टिव र क्रियटिभ नै थिए ।

 

 

 

त्यसपछि वहाँले बैठक बोलाउनु भयो, वहाँको योजना सुनाउनु भयो र हाम्रो गाउँभन्दा अलिपर लिम्बु गाउँको बीचमा माङहिम बनाउने निर्णय भयो । श्रमदानबाटै मन्दिर बनाउनु पर्ने भएकोले लिम्बु थरगत सन्तुलन मिलाउन लोकेन्द्र दाजुले नै रामचन्द्र मादेनलाई निर्माण समितिको अध्यक्ष बनाउनु भयो र हात्तिखर्कको टहारीखेत नजिकको बारीको डिलमा जग खन्न शुरु गर्यौ । भलायोको बोट थियो त्यसलाई उखेलेर माङहिम निर्माण गर्यौ । म स्वयंले जग खन्ने, खार्ने, ढुंगा बोक्ने काममा धेरै दिन र धेरै पटक गरे । अन्ततः माघ १ गते २०४९ का दिन सो निर्माण भएको माङहिमको उद्घाटन गर्ने योजना बन्यो । तत्कालीन माननीय सांसद रकम चेम्जोङलाई उद्घाटनको निमित्त निमन्त्रणा गर्यौ ।

 

 

 

 

चारपाटा भएको माङहिम भएकोले लोकेन्द्र दाजुको आईडियो एकपाटामा लिम्बुले लिम्बु विधिबाट, अर्को पाटामा मगरले मगर विधिबाट, तेस्रो पाटामा तामाङले तामाङ विधिबाट र चौथो पाटामा बाहुनले पुरेत्याई विधिबाट गर्ने निर्देशन भयो, निर्णय भयो । तामाङ र पुरेतलाई सजिलो थियो अब मगर र लिम्बुलाई समस्या भयो । मगर विधिबाट उद्घाटनको पूजापाठको जिम्मा पूर्व उपप्रधानपञ्च चन्द्रबहादुर रानामगरलाई दिनुभयो र चन्द्रले लोकेन्द्र दाजुलाई सोध्नुभयो मैले कसरी गर्ने उपाय नै छैन, तब लोकेन्द्र दाजुले भन्नुभयो कुनै पूजाको पुस्तकलाई मगर भाषामा अनुवाद गर र त्यहीँ पाठ गर । सल्लाह मुताविक एक सानो पूजाको पुस्तक मगर भाषामा अनुवाद गरेको रानामगरले दुईपटक लोकेन्द्र दाजुलाई यति हुँदैछ भनेर मेरो अगाडी नै देखाउनु भयो । अब लिम्बुको चाहिँ कसरी गर्ने खुबै चर्चा भयो ।

 

 

 

 

कताकता सुनियो धनकुटाको बुढिमोरङमा लिम्बुको विधि जान्ने मान्छे छ अरे भन्ने, तब लोकेन्द्र दाजुले दुईजना लाग्छ जितमान दाजु र तेजबहादुर दाजुलाई बुझ्न पठाउनु भयो, उनीहरु फर्केपछि फेरी अर्को कुरा आयो विधि राम्रो जान्ने त इलाम हात्तिलेदामा पो छ अरे भन्ने । २०४८ सालको माघ १ गते माङहिममा सेतो बस्त्र लगाएका सत्यहाङ गुरुहरुले मुन्धुम पढेर पूजापाठ गर्नुभई माङहिमलाई शुद्धता र शक्ति प्रदान गर्ने काम भयो । गुरुहरुमा बुढिमोरङका पत्थरजंग इवा, हात्तिलेदाबाट ज्ञानोदय लाओती, देउबहादुर तुम्बापो, पितागुरु पुण्यप्रसाद लिङदेन (वर्तमान धर्मगुरुको पिता) लगायत लगभग ७/८ जना आउनु भएको थियो ।

 

 

 

 

माङहिम उद्घाटनमा मगर, तामाङ र बाहुनले पनि तोके बमोजिम पूजापाठ गरे । माननीय चेम्जोङले उद्घाटन गर्नुभयो । त्यहीँ माङहिम उद्घाटनको क्रममा सत्यहाङ पन्थी भन्दथ्यौ । वहाँहरुसँग पहिलो पटक जोडिन पुग्यौं । माङहिमको परिकल्पनाकार, योजनाकार लोकेन्द्र तिगेला र निर्माण भइसकेपछि पूजाआजामा जितमान तिगेला दाजुको अगुवाई रहयो र बहुदलपछिको पुनः जागरणकालमा स्वतः स्फूर्त हाङसाम माङहिम निर्माण भयो । त्यसैकारण हात्तिलेदामा हामीलाई २०४९ को कार्यक्रममा चिन्नुभयो र असाध्य राम्रो सत्कार गर्नुभयो ।

 

 

 

 

मेरो गाउँ हात्तिखर्कमा माङहिम निर्माणले केवल भगवान बस्ने देवालय मात्र बनेन त्यसबाट अनेक विकास र प्रगतिहरु भए । प्रथमतः किरात सत्यहाङ परिवारसँगको भेट र सम्पर्कले हामीमा पनि ठूलो उर्जा मिल्यो । मेरो गाउँमा सत्यहाङ परिवार धेरै नै बनिसकेका छन् । जाँडरक्सी, मदमंश नखाने अर्थात कमि गर्ने र पुजाआजा गर्ने भएकोले तुलनात्मक धेरै प्रगति गरेका छन् । अहिले पनि वर्तमान धर्मगुरुको वाणी र निर्देशनहरु सिधै पुग्ने गर्दछ ।

 

 

 

 

धर्मगुरुको दर्शन दोस्रो पटक वि.स. २०५४ को माघ १ देखि ५ गतेसम्म लाग्ने माङसेबुङ लारुम्बाको भेलामा भयो तर सामिप्यमा भेट भएन, बगुन्द्र मान्छेहरुको भिड् थियो । त्यो बेला लारुम्बामा माङहिम र सानो मैदान डाँडामा थियो । सिमलीको बोटहरु थिए, बारीभरी हिउँदमा गाई बाध्ने छाप्राहरु जस्तै धेरै छाप्रा बनाइदिएका थिए, छाप्राहरुमा ओछ्याउन परालहरु राखिएका थिए । हात्तिलेदाकै जसरी गुरुले भविश्यवाणी गर्नुभयो । सबैले टिप्यौ, टेपरिकार्डर हुनेले टेपमै रेकर्ड गरे तर मान्छे बगुन्द्र थिए । हराएमा भेट्न हम्मे पथ्र्यो ।

 

 

 

 

झण्डै १२/१५ बर्ष पछाडि भीमा खजुम बहिनीले माङसेबुङ लारुम्बाको परिवर्तनको बारेमा शोधपत्र तयार गर्नुभएको काठमाडौं किर्तिपुरमा देखे तब म थाम्मिन सकिन् र भोलीपल्टै माङसेबुङ बाटो लागे । के शक्ति हो त्यस्तो मलाई थाह छैन् तर जानैपर्छ भन्ने आयो । बस्नु, खानुको टुंगो थिएन । यद्यपी म बाटो लागे अन्ततः दमकबाट लारुम्बा गाडी चलाउनु हुने ड्राइभर जी कै घरमा बाँस मागे र बिहान लारुम्बा (माङसेबुङ) वरिपरि घुमे, परिवर्तन र विकास भएको देखेर म छक्कै परे ।

 

 

 

 

गुरु र गुरुआमा आश्रममा नहुनु भएको जानकारी भयो तब फर्कने तर्खरमा थिए ठ्याक्कै जितमानसिं तिगेला दाजुसँग भेट भयो र भन्नुभयो यत्रो आयौ कसरी गुरु नभेटी फर्कन्छौ, मलाई पनि ढुंगा खोज्दा देउतै मिल्यो । गुरु र गुरुआमाको सायमुन्द्रि भएको ठाँउमा काम चलिरहेको रहेछ निक्कै टाढो र त्यहाँ पुगेर गुरु दर्शन गरे । बसेर आनन्दले लामो कुराकानी भयो । हुन त म धेरै धार्मिक गुरुहरुसँग भेटन रुचाउछु, तथापी वर्तमान धर्मगुरुसँगको संवाद र बसाइँले मलाई सबैभन्दा आनन्द महशुस भयो/हुन्छ । आत्मा खुस भएर म फर्किए ।

 

 

 

गत वर्ष (वि.स. २०७९) मा दमक नजिक रहेकी एकचेलीको छोराको विवाहमा दमक नजिक पुगे तब लारुम्बा टेक्ने हुटहुटी जाग्यो र विवाहको विधि पूरा गरे लगतै म लारुम्बा हान्निए । सोही दिन लारुम्बाको भञ्ज्याङमा पनि विवाह रहेछ, त्यहीँ विबाहमा डा. चन्द्रकुमार सेर्माज्यूसँग पनि भेटभयो, त्यसपछि मेरो तीर्थयात्रा सुरुभयो । असाध्ये धेरै डा. सेर्माबाट सिके । बिहान गुरु आश्रममा दर्शन भयो । मैले मेरो सबै कुरा धर्मगुरुज्यूसँग राखे, युमावादी साथीहरुको आरोपको बारेमा पनि प्रष्टसँग कुराहरु राखे, भने गुरुदेवले चित्तबुझ्दो उत्तर दिनुभयो । गुरुदेवले तपाईहरु कुसंस्कार, कुसंस्कृति हटाउन लाग्नुपर्छ । माङ्सेबुङ आउनुपर्छ । नेपाल फर्कनुपर्छ, हाम्रो धर्म विकास र विस्तारको निमित्त काम गर्नुपर्छ भन्ने आग्रहलाई सधै शिरमा राखेको छु ।

 

 

 

धर्मगुरुको कुरा साह्रै सरल र महत्वपूर्ण हुन्छन । मलाई लाग्छ सत्यहाङ विधिको उछित्तोकाँड्ने साथीहरुले सिधै गुरुदेवकोमा गएर आफ्नो कुरा, विमति, विचार, संस्कार तौरतरिकाबारे, नयाँ आइडियाहरु राख्दा दुवै तर्फ प्रष्टता आउने थियो र गुरुदेवले सबैखाले कुरा सुन्ने गर्नुहुन्छ । म ब्यक्तिगत रुपमा बर्तमान धर्मगुरुलाई गुरु मात्र नभई महान समाजशास्त्रीको रुपमा पनि सम्मान गर्ने गर्दछु । स्वर्ग, नर्क भन्ने कुरा आफ्नो ठाँउमा छ तर, धर्म सामाजिक एवं राजनैतिक शक्ति आर्जनको मुख्यस्रोत अर्थात मुख्य आधार एवं अनुशासन भएकोले यसको आवश्यक भन्ने मान्यता राख्दछु । धर्मको संस्कारहरु आफै बनिबनाउ हुनसक्दैन तसर्थ स्थानअनुसार, समयअनुसार निर्माण गर्नुपर्दछ । संमृद्ध सबै धर्महरुको संस्कार विस्तारै एकपछि अर्को गर्दै विकास र अभ्यास गर्दै आएका हुन ।

 

 

 

 

त्यसैले किरात धर्म÷सत्य धर्मको संस्कार विकासको बारेमा गुरुदेव तपस्यारत र सधै अध्ययनरत हुनुहुन्छ । मैले देख्दै आएको, बुझ्दै आएको केही सत्यहाङ विधिमै दुई चारवटा आवश्यकता अनुसार परिवर्तन गर्नुभएको छ/गरिएको छ र जुन आवश्यक पनि हुन्छ । संमग्रमा गुरुदेव हामी सबै सही धर्म संस्कार निर्माणको क्रममा छौं । गुरुदेवले पुस्तकहरु अध्ययन गरेर समाजलाई नियाल्नुहुन्छ र मुक्तिको बाटोबारे चिन्तन मनन गर्नुभई निकास दिनुहुन्छ । मुन्धुम निर्माणमा अहोरात्र खटिरहनु भएको छ । अहिले वहाँलाई रचनात्मक आलोचना गर्ने, देश र समाज बुझेका सल्लाहकार, बुद्धिजीवी र कर्मठ अनुयायी एवं कार्यकर्ताको अति खाँचो छ भन्ने लाग्दछ ।

 

 

 

धर्म, संस्कृति र चाडपर्व सिधै राज्य सत्ता र शक्तिसँग जोडिने भएकोले गुरुदेव आजीवन हाम्रो समाजको कल्याणको काममा लागिरहनु भएको छ । गुरुदेवको नेतृत्व र निर्देशनमा कुलत, जाँडरक्सी र मंदमसबाट हाम्रो समाजले मुक्ति पाउनेक्रम जारी छ । समाज सुुधारको काम गुरुदेवको मात्र होइन । त्यसैले हामी जो कोही यसमा सरिक होऔं । गुरुदेवसँगको समन्वय र सहकार्यमा हाम्रो समाज सुधारमा प्रभावकारिता दिन सक्दछौ । महागुरु, धर्मगुरु र अन्य गुरुहरुबाट सत्यहाङ्मा संस्कारको अभ्यास नभएको थियो भने कल्पना गर्न सक्छौ हाम्रो समुदाय अहिले पनि विकराल अशिक्षा र कुलतमा भैसीले आहाल खेले झै खेलिरहेका हुने थियौं ।

 

 

 

 

अन्तमा, समाज सुधार र सामाजिक शक्ति आर्जनको निमित्त गुरुदेवको योगदानको सबैले आत्मा साथ गरौ । गुरुदेवको निर्देशन एवं नेतृत्वमा धार्मिक कर्म सिकौ र आफ्ना सन्तानहरुलाई पूजापाठ गर्न सिकाऔ । धर्मको कर्म भनेको अनुशासन र नैतिक शिक्षा हो । जसले प्राथमिक शिक्षासँगै धार्मिक शिक्षा सिकेका हुन्छन । त्यस्ता व्यक्ति आत्माविश्वासी र दृढ विचारका हुने भएकाले ब्यक्ति र हाम्रो सिंगो समाज नै बलियो निर्माण हुनेछ । त्यसैले यो सामाजिक एवं राजनैतिक शक्ति आर्जनको निमित्त धर्मगुरुज्यूद्धारा नेतृत्व भएको कार्यलाई सबैले साथ दिऔं, शान्त, समुन्नत र संमृद्ध समाज निर्माणमा सहभागी बनौं ।

biswasdip@ymail.com