एन.एस. फागो
सृष्टि शब्द आफैंमा रहस्यमय छ । सृष्टिको विधि, नियम पनि जानेर जानी नसक्नु, बुझेर बुझि नसक्नु हुन्छ । यस धर्तीलोकमा जन्मिएका अधिकांश हामी मानव प्राणीहरु सृष्टिको विधि बुझ्नु त अलि परको कुरा हुन्छ, म यो धर्तीमा किन जन्मेको हो ? मेरो कर्म के हो ? कर्तव्य के हो ? मानव प्राणीको रुपमा जन्मेर आएपछि जन्मदेखि मृत्युसम्मको कर्मसंस्कार नजान्दै, नबुझ्दै मुत्युवरण गरिरहेका हुन्छौं । आज आएर आधुनिक युग र विज्ञानको ह्वालामा पिट्ने ठूलो–ठूला विश्व विद्यालयहरुमा समेत यस्तो विषयहरुमा अध्ययन् अध्यापन भएको पाइन्दैन ।
त्यसैले होला आधुनिक र भौतिक शिक्षाको उपज भनौं हामी मानववादीहरु मुर्खबाट महामुर्खतिर उन्मुख भइरहेका छौं । यसरी धर्तीलोकमा अज्ञानी र मुर्खतापूर्ण कर्महरुको कारण पापै पाप कर्मको पराकाष्ठ नाघिसकेको अवस्थामा पृथ्वी लोकमा ध्यानी, ज्ञानी, सिद्धपुरुष, युग पुरुष, महात्माहरु जन्मावतरण हुने गरेको पाइन्छ । यस्तै सन्र्दभमा महागुरु फाल्गुनन्द लिङ्देनज्यूको पनि यस धर्तीलोकमा जन्मावतरण भएको भन्न सकिन्छ ।
वि. स. १९४२ साल कार्तिक २५ गते आइतबारको दिन तत्कालिन पल्लो किरात लिम्बुवान राज्यको चारखोला, फाकफोकथुमको युबाङ (हालः इभाङ) को चुक्चीनाम्बा डाँडागाउँमा पिता जगुनवाज लिङ्देन र माता बेघा हंशमती बेघाको कोखबाट साइला छोराको रुपमा एक बालकको जन्म भयो । न्वारनमा नरध्वज नाम राखेपनि उक्त परिवारमा बालमृत्युदरलाई रोक्न फलामको चुरा लगाईदिएपछि सबैले फलामसिं नामले बालकलाई सम्बोधन गर्न थालियो । त्यहीँ बालक पछि आएर ध्यानी, तपस्वी, ज्ञानी पुरुष, युगपुरुष, सिद्धपुरुष, महात्मा फाल्गुनन्द लिङ्देन बन्न पुग्नुभयो । यसरी फलामसिं बालक कसरी महात्मा, सिद्धपुरुष, युगपुरुष महागुरु फाल्गुनन्द लिङ्देन बन्न पुग्नुभयो ? यो विषयमा प्रवेश नगरी सिधै वहाँले दिनुभएको धेरै विषयहरु मध्ये माङसिवाखाहुन (माङवाणी, उपदेश) बारेमा मात्र छोटो चर्चा गर्नेछु ।
ध्यानी, ज्ञानी, सिद्धपुरुष, युगपुरुष महात्माहरु यस धर्ती लोकमा जन्मावतरण हुँदा धर्तीलोक पुरै झल्मलाउँछ, धर्तीले मुहार फेर्छ भन्ने शास्त्रीयमत अनुसार महागुरु फाल्गुनन्द लिङ्देनज्यूको यस धर्तीलोकमा जन्मवतरण हुनुले विश्व शान्ति तथा मानव एकता र सकल प्राणी लगायत चराचर सृष्टि जगतकै रक्षा हुनेछ भन्ने धार्मिक, सामाजिक, मुल्य मान्यताको विकास हुँदै आएको छ । यसै सन्दर्भमा महागुरु फाल्गुनन्द लिङ्देन जस्तो ध्यानी, ज्ञानी, सिद्धपुरुष, युगपुरुष, ब्रम्हज्ञानी, महात्माको जन्मावतरणले पनि यहीँ भूमिका निर्वाह गरेको सावित हुन आउँछ ।
किनकि पहिलो र दोस्रो विश्व युद्ध जस्तो नरसहांरकारी महायुद्धहरु आधुनिक युग र वैज्ञानिक आविस्कारकै चरम उछृङ्खल र अमानवीय विचारहरुको चरम उत्कर्षले संसार भरिका मानव प्राणी मात्र नभएर सम्पूर्ण जीवात्माहरु नै अक्रान्त भए । धर्ती पापै पाप कर्मले भरिएको थियो । विश्व मानव समुदाय भिन्न–भिन्न खेमामा विश्रृखलित र विभाजित थियो । यहीँ समय र कालखण्डमा महागुरु फाल्गुनन्द लिङ्देनज्यूले विश्व शान्ति तथा मानव एकताको शंखघोष गर्नुभएको थियो ।
तत्व ज्ञान, तत्व साधनासँगै तत्व व्यवस्थापन गर्न मुन्धुम दर्शन दिनुभयो । युगबोध गराउन र त्यस युगतिर दिशाबोध गराई मुक्तिको मार्ग अबलम्बन गर्न गराउन माङसिवाखाहुन (माङ्वाणी उपदेश) दिएर जानुभयो । त्यो माङसिवाखाहुन आज आएर अन्धकारमा रुमल्लिरहेका मानव समुदायलाई महासागरमा हराएर दिशाविहीन भइरहेको पानी जहाजको क्याप्टेनलाई कम्पास पाए जस्तो सावित भएको छ । हेरक युगलाई प्रतिनिधित्व गर्न युगान्तकारी कर्म गर्न युगपुरुषहरुको यस धर्तीमा अवतरण हुने गरेको पाइन्छ ।
यसर्थ महागुरु पनि यसै सन्दर्भमा जन्मावतरण हुनुभएको हो भन्न वहाँको माङसिवाखाहुनले यथेष्ट पुष्टि गर्दछ । महागुरुको माङसिवाखाहुनहरु भिन्न–भिन्नै समय, ठाउँ, अवस्था र साइतहरुमा भिन्न–भिन्नै विषय र शीर्षकमा पाइन्छ । तर आज यहाँ हामी विशेष र महत्वपूर्ण सिवाखाहुनहरुको बारेमा समग्रमा चर्चा गर्नेछौं ।
महागुरुले आफू माङमा लीन भएको विशेष परिस्थितीमा माङसिवाखाहुन दिनुहुन्थ्यो । त्यस बखत वहाँको साथमा हरबखत तयारी अवस्थामा रहेर महागुरुको वाणी, उपदेशलाई जस्ताको तस्तै अक्षराङकन गर्ने कार्य महागुरुकै प्रिय चेला बद्रीनन्द तुम्बापोज्यूबाट भएको हो । त्यो समयमा कलमको आविस्कार भएको भएताप नि उपलब्ध नभएको कारण विभिन्न साइजको बाँसको कलम एउटा बाँसको टोक्रेमा र मसी पनि विभिन्न वनस्पतिको बनाएर एउटा अर्को बाँसको टोक्रेमा बोकेर हिड्दा, यात्रा गर्दा, बस्दा, तैनाथ रहेर लेख्नुभएको हो ।
यसरी अत्यन्तै मिहेनतका साथ तयार भएको पाण्डुलिपिलाई संकलन गर्ने र प्रकाशन गर्ने काम किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूबाट भएको छ । यसरी प्रकाशित माङसिवाखाहुनमा प्रतिनिधि पात्रको रुपमा किरातहरुलाई सम्बोधन गर्नुभएको छ । यसरी महात्मा, सिद्धपुरुष, ब्रम्हज्ञानीहरुले प्रतिनिधि पात्रको माध्यमबाट युग भरीका मानव प्राणीहरुलाई ज्ञान दिएर जाने विधि महागुरुमा पनि यथावतनै देखिन्छ । यसरी महागुरुले किरातहरुलाई प्रतिनिधि पात्रको रुपमा सम्बोधन गर्दा कतिपय पाठकहरुको बुझाई के रहेको पाइन्छ भने महागुरु त किरातहरुको मात्रै पो गुरु हो त भन्ने पनि छ । तर, यसो नभएर वहाँ सम्पूर्ण मानव प्राणी लगायत चराचर सृष्टि जगतकै लागि यस धर्तीमा अवतरण हुनु भएको हो र वहाँले दिनुभएको ज्ञान सृष्टि जगतकै लागि हो ।
वहाँको माङसिवाखाहुनमा युगको चक्र कहाँ ? कसरी घुम्छ ? यसो समयको परिवर्तन आँखाले पनि देख्न सकिन्न । रुपले पनि सुन्न सकिन्न, यस्तो प्रकृया थाहा पाउन माङमा लीन भएर अथवा माङसँग एकाकार भएर मात्र सम्भव हुन्छ । त्यसैले ए किरात बंशहरु हो मलाई अन्तर ध्यान दृष्टिले हेर्नु, खोज्नु अनि माङ प्राप्त गर्नेछौं भनेर भगवान प्राप्त गर्ने विधिसँगै समयबोध, तत्वबोध गराउनु भएको छ । यसै क्रममा अब कलियुगको अन्त्य भयो सत्य युगको शुभारम्भ भयो । त्यसैले तिमीहरुले सत्यको आहार विहार, आचार, विचार गर्नु । सेवा पूजा गर्दा शुद्ध भएर फूल फलेदोले गर्नु । बली नचढाउनु सबै प्राणी ईश्वरको समान सन्तान हुन भनेर सत्यको कर्मकाण्ड गर्न सिकाउनु भएको छ । यसरी सत्वचन, सत्कर्म तिर परिवर्तन गर्नु भएको छ ।
यसैगरी के सत्य, के असत्य, के धर्म, के पाप, के गर्ने र के नगर्ने, के खाने, के नखाने, सृष्टिमा जन्मेर आएपछि जन्मनु अघि आमाको पेटमा आएदेखि मृत्यु पर्यान्तसम्म गर्नुपर्ने धर्म, कर्म संस्कार, विभिन्न विषयसँग सम्बन्धित मुक्तिको मार्ग दर्शन माङसिवाखाहुनको माध्यमबाट दिएर जानुभएको छ । महागुरु फाल्गुनन्दज्यूले विशेष गरेर ध्यान सहितको ज्ञान र ज्ञान सहितको विज्ञान हुनुपर्छ भनेर जोड गर्नुभएको पाइन्छ । ध्यान, ज्ञान र विज्ञानलाईसँगै जोड्ेन भने सामाजिक अपराध हुन्छ, पाप कर्म बढ्छ भन्नुभएको छ । त्यसकारण स्थायी शान्ति लागि ध्यान, ज्ञान र विज्ञानलाईसँगै जोडेर राख्नुपर्छ । अनि मात्र विश्व शान्ति तथा मानव एकता र सकल मानव प्राणी लगायत चराचर सृष्टि जगतकै रक्षा हुन्छ भन्ने जोड छ । हुन पनि आधुनिक विज्ञानले सृष्टिको नियम विपरित चुनौतिपूर्ण वैज्ञानिक आविष्कार गरेर अगाडि बढेको कारण पञ्चतत्वमा समस्या भयावद्ध आइरहेको छ । सम्पूर्ण जीवात्मा र वनस्पतिले सास फेर्ने हावा यहाँ दुषित हुँदै गइरहेको छ ।
त्यसैगरी सम्पूर्ण जीवात्मा र वनस्पतिलाई अपरिहार्य पृथ्वीको ७० प्रतिशत भन्दा बढी जमिन प्रदुषित भएको छ । त्यसरीनै जल तत्व हिजो अमृत समान थियो भने आज विष बनेको छ । यो के कारणले हो भन्दा यसको एउटै मात्र कारण वैज्ञानिक आविष्कार ज्ञान बिना आविष्कार गर्नु र आविष्कार गरिएको कुरालाई दुरुपयोग हुनु । त्यसैले अन्धाधुन्द औधोगिकीकरण, शक्तिको होडबाजी, आणविक भट्टी, बमबारुद्ध र विषादी खाद्यवस्तुको निर्माण यी सबै प्रकृतिको नियम विपरित विज्ञान चल्नु हो । यी कारण पञ्चतत्वमा समस्या आयो, दुषित भयो । तर यसलाई सफा गर्न कसरी यतातिर विज्ञान कहिल्ये मोडिएनन् । शक्ति राष्ट्रहरुले विज्ञानलाई व्यापारीकरण मात्र गरे । जसको कारण समस्या ज्यूँको त्यूँ रहयो । आधुनिक विज्ञान, पानी दुषित भयो मुहान कसरी सफा गर्ने भन्ने चिन्तनमा लागेन बरु यसको विकल्प फिल्टर र युरोगार्डको आविष्कार गर्न तिर लागे ।
हावा दुषित भयो यसलाई वायुमण्डललाई कसरी सफा गर्ने भन्ने चिन्तनमा विज्ञान लागेन तर माक्सको आविष्कार तिर लाग्यो । यसरी समस्यालाई ज्यूँदै राखेर व्यापार गर्न थालेको कारण आज गरीब मुलुकको जनताहरुको औषत आयु र धनी मुलुकका जनताहरुको औषत आयु फरक पर्दै गयो । अझ यति मात्र होइनकी यति सुन्दर पृथ्वीलाई बस्न नालायक निकम्मा बनाएर चन्द्रमा र मंगल ग्रहमा मानव बसाइँ सार्ने कार्यक्रम चमत्कारिक ढंगले उद्योगी व्यापारीहरुले अगाडि बढाइरहेको छ ।
फेरि यो ज्ञान किन नभएको हो ? पृथ्वीको गति मति र अवस्था विग्रियो भने एउटै सौर्य परिवारका पिण्डहरुमा यसको असर पर्छ । अरु ग्रहहरुको पनि अवस्था विग्रिन्छ । त्यसकारण अब भौतिक विज्ञानलाई जबसम्म ज्ञान र मानवताको लगाम लगाउँदैन र व्यापारको राम्रो माध्यम मात्र बनाइन्छ तबसम्म पृथ्वीमा स्थायी शान्तिको परिकल्पना गर्न सकिन्दैन । त्यसैले महागुरु फाल्गुनन्द लिङ्देनज्यूले सकल मानव प्राणी लगायत चराचर सृष्टि जगतलाई कसरी संरक्षण गर्दै युगयुगान्तरसम्म कसरी निरन्तरता दिने भन्ने विषयमा तत्व ज्ञान (बोध), तत्व साधना र तत्व व्यवस्थापनको ज्ञान, सीप विकास गर्ने उनै तागेरा निङ्वाभू माङ्को यो सुन्दर सृष्टिलाई युगयुगान्तरसम्म बचाई राख्ने र सम्पूर्ण अस्तित्वहरुलाई बचाई राख्न माङसिवाखाहुन दिनु भएको छ ।
महागुरुको माङसिवाखाहुनको महत्वपूर्ण पक्ष भनेको युग बोध, तत्वबोध, तत्व साधना, तत्व व्यवस्थापन, समय सापेक्ष जीवनयापन, प्रकृतिको नियमसम्मत जीवनशैली जस्ता विषयहरुलाई लिन सकिन्छ । जबसम्म हामीलाई आउँदो समयको बारेमा ज्ञान हुँदैन त्यो समय, परिस्थितीसँगै बाँच्न सक्ने सीप, कला, कौशलतालाई क्षमताको विकास कसरी गर्ने भन्ने थाहा हुँदैन । त्यसैले युग र समय सापेक्षित समाजलाई रुपान्तरण गर्न आफू पनि रुपान्तरित हुन सिकाउनु भएको छ । त्यसैले समाज शास्त्रीय दृष्टिकोणले वहाँलाई महान समाज सुधारक भनेर सम्बोधन गर्ने गरेको पाइन्छ ।
यी सम्पूर्ण कुराको ज्ञाता ब्रम्हज्ञानी, महात्मा, महागुरु फाल्गुनन्द लिङ्देनज्यूलाई समग्रमा एउटै शब्दले सम्बोधन गर्नुपर्दा मुन्धुमी शब्दमा माङधक कुधक साक्षत तागेरा निङ्वाभू माङकै अवतार मुक्ति दाता भन्ने गरेको पाइन्छ । हुन पनि हो वहाँको युगान्तकारी मुक्ति कार्य अध्यात्मिक, भौतिक लिलालाई हामी शब्दहरुमा विश्लेषण गरेर कहाँ सकिन्छ र ? भावमा पनि सम्भव छैन् । किनकी अखण्ड ज्ञानको खानी, अखण्ड दिव्यज्योती, युगपुरुष, ब्रम्हज्ञानी महात्माहरु एउटा सिंगो युगलाई प्रतिनिधित्व गर्न युगमा एक पटक यस धर्तीलोकमा अवतरण गर्नुहुन्छ र पूरै युगभरिलाई पुग्ने ज्ञान, दर्शन र कर्म सिकाएर जानुहुन्छ ।
यहाँ, ज्ञान दर्शन र कर्मको कुरा गरिरहँदा महागुरु फाल्गुनन्द ज्ञानयोगमा अवतरण हुनु भएको हुँदा आफ्नो शिष्यहरुलाई भन्नुभएको थियो की मेरो कर्म अधूरो छोडेर जाँदै छु, पछि कर्मयोगमा आउँछु र अरु मानव सरह कर्म गर्नेछु । त्यतिबेला मलाई चिन्नु भन्ने गुरु वचन, उपदेश रहेको हुँदा उक्त वचन अनुसारनै हाल वहाँको अधुरो कर्मलाई पूरा गर्न यसै धर्ती लोकमा कसरी कर्म गर्दा मुक्ति प्राप्त हुन्छ भन्ने कर्म सिकाउन कर्मयोगी गुरुको रुपमा पुनः अवतारको रुपमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरु अवतरण भई सम्पूर्ण मानव प्राणीहरुलाई कर्मयोग सिकाइरहनु भएको छ ।
यसरी जबसम्म गुरु महात्मा, युगपुरुषहरु कर्मयोगमा आएर अरु मानव प्राणी संसारिक जीवनयापन गर्नु हुन्न तबसम्म उक्त दर्शनको भोगाधिकार सुरु हुँदैन भन्ने शास्त्रीय मत रहेको हुँदा यहाँ पनि किरात धर्म दर्शनको पूर्ण रुपमा सृष्टिमा भोग सुरु भएको मानिन्छ । वहाँहरु स्वामी ब्रम्हचार्य अवस्थामा रहेर फर्किनु भयो भने सृष्टिमा पूर्ण रुपमा भोग सुरु भएको हुदैन भन्ने शास्त्रीय मत, मुन्धत्रुमी मत यहाँ सावित भएको पाइन्छ । अब किरात धर्म दर्शनलाई हत्केलाले होइन भू–उपग्रहनै खडा गरेर ग्रहण लगाए पनि छेकिने छैन भन्ने विश्वास आजका तमाम विश्वमा छरिएर रहनु भएका किरात धार्मिक भक्तजन, विद्धान, बुद्धिजीविहरुमा रहेको छ ।
त्यसैले किरात धर्म दर्शनले बोकेको विश्व शान्ति तथा मानव एकता र सकल मानव प्राणी लगायत उनै सर्वशक्तिमान ओत् तागेरा निङ्वाभूमाङको यो सुन्दर सृष्टिलाई संरक्षण सम्वद्र्धन गर्दै युगयुगान्तरसम्म निरन्तरता दिनु जस्तो ओजपूर्ण बोझिलो मुक्तिकामी, युगान्तकारी कार्यमा सम्पूर्ण प्राणी मानवप्राणीहरु एकजुट भएर अगाडि बढ्ने ध्यान सिद्धि, ज्ञानसिद्धि, र कर्म सिद्धि उनै तागेरा निङ्वाभू माङ्बाट प्राप्त होस भन्ने प्रार्थनासँगै महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १३९ औं जन्मजयन्तीको पुनित अवसरमा कोटी–कोटी सेवा ढोग चढाउँदै उनै तागेरा निङ्वाभू माङले यो सुन्दर सृष्टि जगतकै रक्षा गरुन् । ओत् माङ्े हुक्सोगेन आसेवारो ।