विश्वास दीप तिगेला
सभ्य समाज स्वतः निर्माण भएको हुँदैन, धेरैका देनहरु रहेका हुन्छन् ति मध्ये पनि विशेष भूमिका खेल्नेको चर्चा र चासो सधैं हुने गर्दछ अर्थात हुनुपर्दछ । त्यस्तै समाज सुधारको निमित्त ठूलो भूमिका निर्वाह गर्नुभएका एक समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देन जसले कुसंस्कार, कुसंस्कृति, हत्या, हिंसा र मदमंसमा चुर्लुम्म डुबेका आदिवासी समाज विशेषगरी किरात समुदायलाई सुधार गर्ने काम गर्नुभयो । गलत संस्कृतिमा डुबेकाहरुको सुधारको लागि महागुरुले त्यो बेला अभियान नचलाएको भए अहिलेको हाम्रो समाज झनै कस्तो हुनेथियो होला अनुमान गर्न सक्दछौ । यो लेखको आसय महागुरुले किन, के का निमित्त दशैं नमनाउनु, दुःख बार्नु भन्नु भएको हो, समाज सुधार गर्न किन दशैंलाई नै मुख्यगरी परित्याग गर्नभन्नु भएको हो र दशैंलाई निरन्तर मान्दै जाँदा कस्तो अवस्थामा पुग्न सकिन्छ भन्ने बारेमा महागुरुको दिव्य उपदेशको मर्मसम्मत चर्चा गर्नुहुनेछ ।
एउटै काम निरन्तर गरिरहेमा त्यो बानी बन्दछ, त्यो बानी एकै प्रकारले जारी रहेमा ब्यहोरा बन्दछ, त्यो ब्यहोरा लामो समय रहेमा संस्कार बन्दछ, त्यो संस्कार निरन्तर रहेमा ब्यवहार बन्दछ, त्यो ब्यवहार निरन्तर रहेमा संस्कृति बन्दछ, त्यो संस्कृतिनै जीवन जिउने शैली बन्दछ, तिनै संस्कृतिले धर्म निर्माण गर्दछ अर्थात त्यसको ठीक विपरित धर्मले बानी, ब्यहोरा, संस्कार, ब्यवहार र संस्कृतिलाई नियन्त्रण र निर्देशन गर्दछ । संस्कृति समयानुकुल परिवर्तन हुँदै, मान्यता भन्दा बाहिर जान खोजेमा धर्मले नियन्त्रण पनि गर्दछ । संस्कृतिले ब्यक्ति र सिंगो समाजमा महत्वपूर्ण प्रभाव पार्दछ भने सम्प्रदाय तथा समाजमा संस्कृति र राजनीति मध्ये कुनले बढि भूमिका खेलिरहेको हुन्छ अर्थात प्रभाव राख्दछ भन्ने विषयमा खोज हुनुपर्दछ, हुन त संस्कृति र राजनीति आफैं पनि एकअर्कामा परिपुरकनै हुन्छन । यी संस्कृति र राजनीति सुधारमा महागुरु फाल्गुनन्दको भूमिकालाई थोरै भएपनि जोड्न खोजिएको छ ।
एक समाजशास्त्री हेराल्ड लासवेलका अनुसार राजनीति भनेको कसले के पाउँछ, कति पाउँछ, कहिले र कसरी पाउँछ भन्ने नै राजनीति हो । तर राजनीतिको धरातल अर्थात आधार चाहिं धर्म, भाषा, क्षेत्र, समान अनुभूति हुने राष्ट्रियता आदि हुन । कुनै समाजलाई कसरी राखिएको छ भन्ने कुरा त्यहाँको संस्कृति र राज्य राजनीतिमा निर्भर हुने गर्दछ । त्यसैले संस्कृतिको सवाल ज्यादै महत्वपूर्ण छ । दशैं एउटा हिन्दु धर्मावलम्बीहरुको एक संस्कृति हो भने यो दशैं संस्कृतिलाई गैरहिन्दु अर्थात आदिवासी जनजातिहरुमा चाहिँ जबर्जस्त लादिएको संस्कृति हो ।
जबर्जस्त लाद्नेक्रममा दशैं मान्न अस्वीकार गर्ने धनकुटाका राम्लिहाङ आठपहरिया, रिदामा आठपहरियालाई सन् १८६७ मा झुण्डाएर मारे भने गोर्खाको आदेश मान्न इन्कार गर्ने ताप्लेजुङका बाजाहाङ लिम्बुलाई सन् १८४२? मा झुण्डाएर मारेको इतिहास पाइन्छ । यि तिनैजना सांस्कृतिक सहिदहरु हुन । यसले प्रष्ट बनाउँदछ की दर्शै आदिवासी जनजातिहरुको होइन तर राज्य सत्ता खोसेर सत्ता र शक्तिमा बसेका शासकहरु आफैं शक्तिशाली छदैथिए तब किन दशैं संस्कृति जबर्जस्त लाद्न चाहेका थिए होलान ? मनोविज्ञानको दृष्टिबाट आदिवासीहरुलाई औपनिवेशिक मानसिकताको बनाउन सबैभन्दा ठूलो हतियार संस्कृति मात्र हो भन्ने बुझेर हो की ? आज पनि किन यी कान्छो शासकहरु ठूलो जोड्बल गरेर दर्शैको प्रभाव आदिवासीहरुमा थोपार्न चाहान्छन् यसमा पनि उहीँ मनोविज्ञान हो की ?
त्यसो भए औपनिवेशिक मानसिकताबाट मुक्त हुन, संस्कार संस्कृतिकै कारण विकास भएको दास मनोविज्ञानलाई तोड्न चाहिँ किन अध्ययन अनुसन्धान नगर्ने ? के हाम्रा अग्रजहरुले यस विषयमा अध्ययन नै गरेनन ? हो पक्कै पनि गरेका थिए र केही पहलहरु समेत गरेको पाइन्छ । राम्लिहाङ, रिदामा र बाजाहाङ लगायतले दशैं संस्कृति अस्वीकार गर्नु आफैमा गर्व गर्नलायक चेतना र योगदान हो भने महागुरु फाल्गुनन्दले वि.स. १९८८ बैशाक २४ गते दश लिम्बुवान सत्र थुमकालाई बोलाएर ७ बँंदे सत्यधर्म मुचुल्का गराएका थिए । वहाँको मुचुल्काको भाव र फाल्गुनन्द ज्ञानमाला, भाग ३ पुस्तकको धर्मोउपदेशमाः दशैंको बखत दुःख बार्नु, नुन नखानु, घर बाहिर खोला, डाँडा काटेर टाढा नजानु भन्नु भएको छ । यो एक हिसाबले दशैं संस्कृतिलाई इन्कार गर्नु, प्रतिकार गर्नु र यो संस्कृतिले हाम्रो भलो गर्दैन, त्यसैले दशैं बहिष्कार गर्नु भन्ने संन्देश हो तसर्थ दशैं बहिष्कार तथा परित्यागको पहिलो पहलकर्ता पनि महागुरुलाई नै लिन सकिन्छ ।
समाज सुधारकको रुपमा चिरपरिचित महागुरु फाल्गुनन्दको जन्म प्रदेश न १, माङसेबुङ गाउँपालिका २, इभाङ चुक्चिनाम्बामा वि.स. १९४२ कार्तिक २५ गते भएको थियो र निधन वि.स.२००५ चैत्र २२ गते भएको थियो । वहाँलाई दैवी शक्ति भएको गुरुको रुपमा मानिन्थ्यो, दशैं संस्कृतिबाट समाजलाई मुक्त गराउन, मदमंस मद्यपान तथा सामाजिक विकृति र विसंगतिबाट मुक्त गराउन महत्वपूर्ण योगदान गरेकै कारण वहाँलाई समाज सुधारकको मान्यता दिई वि.स. २०५० मा नेरु १५ को टिकट प्रकाशन गरी नेपाल सरकारद्धारा सम्मान गरियो । भने, वि.स. २०६६ मंसिर १६ गते राष्ट्रिय विभूती घोषणा गरियो र फाल्गुनन्द जन्मजयन्तीको दिन किरात धर्मावलम्बीलाई विदा दिने वि.स. २०७२ मा सरकारले निर्णय गर्यो ।
प्रत्येक बर्षको कार्तिक २५ गतेलाई महागुरु फाल्गुनन्द जन्मजयन्ती र बैशाख २४ गतेलाई समाज सुधार दिवसको रुपमा मनाईन्छ किन की वि. स. १९८८ साल वैशाख २४ गते पाँचथर जिल्लाको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका अगुवा बुद्धिजीवी बोलाई (महाचुम्लुङ गरी) धार्मिक सुधारका लागि ७ बुँदा सत्यधर्म मुचुल्का जारी भएको थियो । महागुरु फाल्गुनन्द भन्ने वित्तिकै वहाँको एक उपदेश मननयोग्य छः भाषा हराए लिपि हराउँछ, लिपि हराए संस्कार संस्कृति हराउँछ र संस्कार संस्कृति हराए धर्म हराउँछ र धर्म हराए आफै हराउँछौ । यो भनाई आफै प्रष्ट छ र यसले पनि संस्कृतिलाई प्राथमिकता दिएको देखिन्छ नकी राजनीति ।
नेपाली राजनीतिमा दुरदृष्टि राख्ने स्व. गोरेबहादुर खपाङी मगर, स्व. डा. गोपाल गुरुङ, स्व. काजीमान कन्दङवा, खगेन्द्रजंग गुरुङ, एमएस थापामगर, सुरेस आलेमगर, लोकेन्द्र तिगेला लगायतले बहूदलको शुरुवातसँगै वि.स. २०४५÷४६ ताका दशैं बहिष्कारको अभियान चलाए जसको प्रभावले धेरैको चेत खुल्यो आआफ्नो मौलिक चाडपर्वमा रमाउन थाले यद्यपी दशैंको विकल्प भने पर्याप्त हुन सकेन ।
गैरहिन्दु आदिवासी जनजाति÷मुलवासी (इन्डिनिनियस) जो दशैं मनाउँदछ उ पराधिन मानसिकताको बन्दछ, हिन्दु हितको कर्ममा सामेल बन्दछ र आफूलाई आज्ञापालक मात्र बनाउँदछ भन्ने अहिलेको सामाजिक मान्यतालाई निरन्तरता दिने की पूर्नविचार गर्ने भन्ने बहस अहिले जारी छ । संस्कार, संस्कृति र परम्पराले दैनिक जीवन र मनोविज्ञान निर्माण गर्दछ तसर्थ, हिन्दु दशैं संस्कृति नत्यागुञ्जेल आज्ञापालक, दासी मनोविज्ञानमा परिवर्तन हुँदैन भन्ने ठम्याईको कारण अगुवा विद्धान नेताहरुले दशैं बहिष्कार र परित्याग अभियान शसक्त अगाडि लगेका थिए÷लगिरहेका छन । त्यसको सकारात्मक प्रभाव समाजमा हँुदाहुँदै पनि पछिल्लो समय दशैं बहिष्कार तथा परित्यागको क्रम घटेको आभाष हुन्छ वा परित्यागको स्वरुप बदलिएको छ । त्यति मात्र होइन दशैं बहिष्कार र परित्यागको संवाहक जातीय संस्था र राजनैतिक पार्टीका नेतृत्वहरुले आफ्नो मुद्दालाई विर्सिएको, अगाडि लैजानुपर्ने मुद्दानै ठम्याउन नसकेको, संस्थाको नेतृत्वकर्ता बन्ने तर दायित्वनै थाहा नपाउने नियतिको कारण आदिवासी जनजातिहरुको अवस्था दिनानुदिन खराब बन्दै गएको तथ्याङ्कले देखाउँछ ।
दशैं बहिष्कार तथा परित्याग गर्नेहरुमा पनि अन्यौलता र निरासा देखिन्छ, कारण दशैं बहिष्कार तथा परित्याग भयो तर दशैंको विकल्प भएन अर्थात दशैं जस्तै संस्कृतिको विकास नगरेको कारण दशैं चाड जस्तै संस्कृतिको विकास गर्न सम्भव छ की छैन अर्थात विकल्प के हुन सक्दछ ? र, कसरी दशैं बहिष्कार तथा परित्याग अझ शसक्त बनाउन सकिन्छ भन्ने विषयमा अग्रणी जातीय संस्था तथा आदिवासी जनजाति महासंघ, अग्रज सामाजिक अभियन्ता तथा बुद्धिजीबीहरुले बहस तथा अन्तरक्रिया किन येथेष्ठ नगरेका होलान भन्ने प्रश्नहरु पनि उठ्न थालेका छन ।
एउटा यक्ष प्रश्न के भनेः आदिवासी जनजाति प्रतिदिन मासिन्दै जानु र कमजोर बन्दै जानुमा लादिएको संस्कृति र राजनीति दुवै कारक हुन तर यी दुई मध्ये कुन चाहिँ मुख्य कारक हुन ? (क) संस्कृतिः रात दिन जाँडरक्सी खाने र हिन्दुको दशै, तीज, किश्चियनका क्रिसमस लगायत चाडपर्व मनाउने अरुको राम्रो देख्ने, अरुलाई माथि देख्ने र दास मनोविज्ञान निर्माण गर्ने । (ख) राजनीतिः दशैं र तीज मनाउन सरकारले छुट्टि दिने/भोट किन्ने/संसदमा प्रतिनिधित्व नदिने, राज्यको अवसर र स्रोतसाधनमा अवसर नदिई सिमान्तकृत बनाएर राख्ने रणनीतिक कार्य हो ।
आदिवासी जनजाति÷मुलवासी समुदायः लादिएको संस्कृतिले बढि बिग्रिएको हो की राजनीतिले ? यदि लादिएको संस्कृतिले हो भने हाम्रो समाज सुधार गर्न किन गैर हिन्दु आदिवासी जनजातिहरुले बहिष्कार र परित्यागको अभियानलाई अझ शसक्त रुपमा किन नलैजाने ? दशैंको विकल्पमा आजै आफन्त, नातागोता, छोरीचेली, कुलकुटुम्बलाई मंसिर पूर्णिमा (चासोक तङनाम, साकेला, सान्केवा) मा आउनुहोस भनेर निम्तो दिने, लोसार, ल्होसार र लोछार अर्थात माघे संक्रान्तिमा भेटघाट गरौ भनि सल्लाह किन नगर्ने, माघे संक्रान्तिमा धेरैभन्दा धेरै आदिवासी र गैर आदिवासीको समेत चाड पर्ने गर्दछ र माघे संक्रान्तिलाई नेपालकै राष्ट्रिय चाड घोषणा गर्ने हो भने सबैभन्दा उत्तम चाड हुनसक्ने देखिन्छ । माघे संक्रान्तिमा थारु जातिको माघी, मगर जातिको मेख्या संक्राटी, लिम्बु जातिको कक्फेक्वा तङनाम, यलम्बर संवतको नयाँ बर्ष, मगर जातिको नयाँ बर्ष, नेवार जातिको ध्युचाकु सल्हु, छन्त्याल जातिको मिल्हलाडे सोङती, हिन्दुको संक्रान्ति आदि पर्दछन् ।
दशै आयातित र हिन्दुहरुको मात्र भएकोले दशैमा हिन्दुहरुलाई मात्र छुट्टि दिने र माघमा सबै नेपालीलाई विदा दिनु सबैभन्दा उपयुक्त हुन सक्दछ । यो लेखको आसय हिन्दुहरुको चाड दशैं भब्यता पूर्वक हिन्दु समुदायले मनाउनु पर्दछ र उनीहरुलाई शुभ कामना दिने हो तर, गैर हिन्दुहरुले चाहिँ पुनः विचार गर्न आवश्यक छ की छैन भन्ने प्रश्न हो । आर्य मात्र हिन्दु हुन्छन भन्ने पनि छैन, गैर आर्य पनि हिन्दु हुन्छन उनीहरुले पनि भब्य मनाउँन । राजनीतिले भन्दा संस्कृतिले आदिवासी जनजातिहरुलाई पछाडि धकेली रहेको सन्दर्भमा मुक्ति पाउन पराधिन मानसिकताबाट मुक्त हुन र धेरै चाडपर्व मनाउँदा आर्थिक ऋणमा डुब्नु भन्दा सबैले आ–आफ्नै चाडपर्वमा रमाएर आत्मा गौरवको विकास गर्नु अहिलेको आवश्यकता हो ।
जनजातिहरु दर्शै ऋण गरीगरी मनाउँछन् र त्यतिनै जोडबल र खर्च गरी उधौंली, उभौली, लोसार आदि मनाउँछन समग्रमा आदिवासी जनजातिहरु धेरै चाड मनाउँछन र धेरै चाडपर्व मनाएकै कारण आर्थिक रुपमा पनि नाजुक बनेको देखिन्छन् भने जो जन्म जात हिन्दु आर्यहरु दशैं र तिहार धुमधाम मनाउँछन तर अन्य चाडहरु मनाउँदैनन र गैरहिन्दुको चाडहरु झनै मनाउँदैनन् । तसर्थ उनीहरुमा आर्थिक भार हुँदैन । हिन्दु आर्य समुदायले अरुको चाड नमनाउने तर गैरहिन्दु आदिवासी÷मुलवासीले चाहिँ हिन्दुको चाड मनाई दिनुपर्ने के त्यस्तो बाँध्यता हो ? महागुरु फाल्गुनन्दले मितब्ययिता अपनाउनु, फजुल खर्च नगर्नु, मदमंस सेवन नगर्नु भन्ने वहाँको माङवाणी मै छ भने किरात अर्थात गैरहिन्दुहरुको निमित्त दशैं फजुल खर्च नै हो ।
दशैंको मुख्य अर्थ र शन्देशः बर्ष दिनको अन्तरालमा आफन्तबीच भेटघाट गर्ने र बृद्धा आमाबुबा, बाजेबजै र जेठो नाताबाट आशीर्वाद थाप्ने । यी दुई कुरा दशैं बाहेकको दिनमा पनि गर्न सकिन्छ । मंसिर पूर्णेको दिन लगायतमा पनि भेटघाट गर्न र आशीर्वाद लिन सकिन्छ । टिका चामलको मात्र नभई अन्यको पनि हुनसक्दछ । आशीर्वाद उहि हो, टिका लगाउने चलन उहि हो । अब सरकारले दिने बिदाको सवाल, हामीले संस्कार संस्कृतिको विकास गर्यौ भने सरकारले छुट्टि दिन कर लाग्दछ र अहिले स्थानीय सरकारले पनि छुट्टि दिन सक्दछ । तिथिमिति र शुभ साइतको कुरा गर्ने हो भने धेरै अघि दशै चाड चैतमा मनाइन्थ्यो जसलाई असोज, कार्तिक ताका सार्दा पनि शुभ साइतै भइरहेको छ । र, साइत ग्रहको गतिको आधारमा रहेको ७ दिन भित्रै पाउन सकिन्छ ।
त्यसैले दशैं जबर्जस्त लादिएको संस्कृति हो, दशैंको सट्टामा आआफ्नो मौलिक चाडपर्वले मात्र दशैंको विकल्प हुन सक्दैन टिका र आशीर्वादको संस्कृति भएको चाडपर्वको विकास गर्नु अनिवार्य छ अर्थात मौलिक संस्कृतिमा थप र सुधार गरी टिका र आशीर्वादको पाटो थप्न सके दशैंको तिर्सना र प्रभाव रुपान्तर अर्थात हटाउन सकिन्छ । भनिन्छ, संस्कार संस्कृति प्रवद्र्धन गर्ने भन्दा संस्कार संस्कृतिको विकास गर्नुपर्दछ, हरसमय समयअनुकुल र स्थानअनुकुल विकास र सुधार भइरहेको हुने गर्दछ । यदि हामीले दशैंको विकल्पमा आफ्नो संस्कार संस्कृतिमा सुधार र विकास गर्न सकेनौ भने पराधिन मानसिकतामा बाँची रहन्छौ र आफ्नो भावी पुस्तालाई समेत दासी मानसिकताको निर्माण गर्नेछौ । त्यसकारण तपाई हामी पुस्ता दशैंको धङधङ्गीबाट मुक्त हुन सकिएन, तपाई आफै मुक्त हुन सक्नु भएन भने पनि आफ्ना बालबच्चाहरुलाई चाहिँ दशैंको प्रभाव दिनुहुँदैन की ?
अर्को ख्याल गर्नुपर्ने कुराः दशैं नजिकिन्दै जाँदा शुभकामना साटासाट गर्नेक्रममा गलत शुभ कामना दिने गरेको अझै भेटिन्छ । दशैं हिन्दु संस्कृति अबलम्बन गर्ने हिन्दुहरुको महान चाड हो तर सबै नेपालीहरुको महान चाड होइनन्, किन की धेरै नेपालीहरु छन जो दशैं मनाउँदैनन् । तसर्थ नेपालीहरुको महान चाड भन्न मिल्दैन र नेपालीहरुको महान चाड भनेर गल्ति नगरौं । नेपाली हिन्दुहरुको महान चाड दर्शै भन्न सकिन्छ, दशैंको शुभकामना मात्र भने सालिन र सभ्य हुन्छ, अफसोच आदिवासी जनजातिहरुले नै नेपालीहरुको महान चाड भनि लेखेर गल्ति गरिरहेका हुन्छन । बर्ष दिनमा एक पटक आउने चाड, नातागोता आफन्तसँगको भेटघाट भनेर दोधारमा नबसौ । सबै चाडपर्वहरु प्राय बर्षमा एकचोटी आउँछ, दर्शैमा भेटिने आफन्तलाई चासोक तङनाम, सिसेक्पा तङनाम, कक्फेक्वा तङनाम, माघे संक्रान्ति, साकेला, लोसार, उधौली, उभौली वा कुनै पनि चाडमा भेट्न सकिन्छ, आशीर्वाद लिन सकिन्छ । हामी माथि लादिएको औपनिवेशिक चाड दशैंलाई विस्थापित गरेर आफ्नो मौलिक चाड स्थापित गर्नको निमित्त नीतिगत र चरणगत योजना बनाउन अपरिहार्य देखिन्छ । यो नीति तथा योजना आफ्नै परिवार एवं सम्प्रदाय भित्र सुधारको कोसिस हो नकी सिंगो हिन्दुको विरुद्ध होइन ।
महागुरु फाल्गुनन्दबाट शुरु भएको दर्शै परित्यागलाई अझ प्रभावकारी गराउनको निमित्त निम्न कार्यहरु गर्न सकिन्छ
१. जसले दशैं छोडिसके, निरन्तर बहिष्कार र परित्यागमा छन् सो कार्यलाई निरन्तरता दिन आग्रह गर्दै बाँकीलाई पनि दर्शै परित्यागको शुरुवातलाई अपिल गर्ने ।
२. दशै परित्याग तथा बहिष्कार प्राविधिक रूपबाट गर्न नमिल्ने वा नसक्नेले कम्तिमा आफ्ना ससानो नानीहरूलाई चाहिँ टिका नलगाई दिने, दशैको प्रभाव उनीहरुमा पर्न नदिने, वि.स. २०४६÷४७ मै यो अभियान चलाएको भए दशैंको प्रभाव नपरेको एक पुस्ता बनि सक्थ्यो । कम्तिमा एक दुई पुस्तालाई मात्र यसरी प्रभाव पर्न नदिँदा दास मनोविज्ञान समाप्त भएर जानेछ ।
३. छोरी चेलीहरुलाई दशैं बखत नआउन र नबोलाउन भनि अगावै जानकारी गराउने र आआफ्नो चाड उधौली, उभौली, चासोक, कक्फेक्वा, सिसेक्पा तङनाम, लोसार, ल्होसार लोछार लगायतहरुमा भेटघाट गर्ने । यी मौलिक चाडहरुमा पनि दशैंको टिका जस्तै बालबच्चालाई विशिष्ट प्रकारको टिका लगाई दिएर आशीर्वाद दिने, पैसा दिने, मिठोमसिनो खानु दिने ।
४. राज्यद्धारा सिमान्तकृत गैरहिन्दु आदिवासी, दलित, मुस्लिमहरुले ऋण काढेरै दशैं मनाउनाले उनीहरु झनै प्रतिदिन गरीबी बन्दै गएको परिप्रेक्ष्यमा कम खर्चिलो तरिकाले दशैं तथा आआफ्नो चाड मनाउन आग्रह गर्नेे ।
५. दशैं टिकाको दिन विश्वब्यापी रुपमा आआफ्नो ठाँउमा जेजति सकिन्छ भेला भएर दशै मान्न अस्वीकार गरेबापत झूण्डाई मारिएका सांस्कृतिक सहिद राम्लिहाङ आठपहरिया, रिदामा आठपहरिया (सन् १८६८) र बाजहाङ लिम्बु लगायतको स्मृति सभा गर्ने ।
६. दशैं टिकाको दिन दशैं छोडिसकेकाहरुलाई टिभी, रेडियो, पत्रपत्रिका, अनलाईन मिडिया, सोसल मिडिया, छुट्टि र पैसा दिने सरकारी संयन्त्र, छरछिमेक र आफन्तहरुबाट अप्रत्येक्ष दबाब आइरहने र एक्लो महशुस हुने भएकोले उक्त दिन सम्भव भए स्थलगत र नभए भर्चुवल रुपमै ड्रपिङ सेसन क्लिनिक (Dropping Session clinic) मा जोडिएर दशैं छोडिसकेपछिको फाइदाहरु विषयक छलफल गर्ने, भेटघाट गर्ने जसले म एक्लै छैन, सांस्कृतिक चेतनामा सही छौ, प्रष्ट छौ, कटिबद्ध छौ भन्ने आत्माबल प्रदान गरोस् ।
७. यो अभियानको नारा बालबच्चा केन्द्रीत यस्तो तय गरौः ‘दासी मनोबिज्ञान बनाउने, ऋणमा डुबाउने, औपनिवेशिक दशैं त्यागौं, दशैंको प्रभाव मुक्त पहिलो पुस्ता निर्माण अभियानमा सहभागी बनौं ।’
८. दशै चाड हिन्दु नेपालीहरुको हो सबै नेपालीको होइन त्यसैले दशैको शुभकामना कार्ड बनाउन आवश्यक महसुश भएमा ‘दशैंको शुभ कामना’ मात्रै भन्ने, ‘नेपालीहरुको महान चाड’ भनेर गल्ति नगर्ने ।
९. मौलिकताको मर्मलाई ख्याल गर्दै दशैंको विकल्पको रुपमा आआफ्नो चाडपर्वको विकास गरी सांस्कृतिक औपनिवेशबाट बचाउनको निमित्त अपिल जारी गर्न सम्बन्धित जातीय उत्थान संस्थाहरुलाई आग्रह गर्ने, आवश्यकता भएमा सहयोग गर्ने । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात याख्खा छुम्मा, किरात धर्म तथा साहित्य उत्थान संघ लगायतका गैरहिन्दु जातीय उत्थान संस्थाहरुले प्रत्येक दशैं अगावै आआफ्नो चाडपर्व यसरी मान्न र दशैंलाई निरुत्साहित गर्ने अपिल जारी गर्ने, गर्न लगाउने ।
१०. यथासम्भव महागुरुले भन्नुभए जस्तै दशैंको बखत दुःख बार्ने, नुन नखाने, घर बाहिर खोला, डाँडा काटेर टाढा नजाने ।
११. दशैं बखत हिन्दु साथीको डियुटी गरिदिने जसको कारण उसले मज्जाले आफ्नो चाड मनाओस र आफ्नो चाडमा हिन्दु साथीलाई डिउटीको लागि आग्रह गर्ने ।
दीर्घकालिन योजना अन्तर्गत
१२. सबै धर्म र संस्कारलाई समान मान्यता र समान अवसर प्रदान गर्न नेपाल सरकारलाई निरन्तर आग्रह गर्ने, दबाब दिने । कान्छो शासकहरुको वर्चश्व रहेको नेपाल सरकार गैरहिन्दुहरुको विपक्षमा देखिन्छ । त्यसैले कुनैपनि वेला आदिवासी/मुलवासीहरुको बचेखुचेको हक, अधिकार र सुविधा सधैको लागि हटाईदिन सक्छ त्यसैले सधै चनाखो रहने ।
१३. ‘दशैं परित्याग तथा मौलिक चाड सचेतना मञ्च’ निर्माण गर्ने/निर्माण भइसकेको छ । यस मञ्चले सचेतनाको कार्यक्रमहरु दशैंको पूर्वसन्ध्यामा नियमित गर्ने । गैर हिन्दुको सवालमा दशैं सस्कृति मात्र होइन राजनीति पनि हो र राजनीतिले जति शोषण र शासित बनाएको छ । त्यो भन्दा बढि दर्शै संस्कृतिले गरेको कारण अझ शसक्त संचेतना छर्न टुँडिखेल वा सार्वजनिक स्थलहरुमा मौन जुलुस निकाल्ने । धनकुटामा निर्मित राम्लिहाङ र रिदामा आठपहरियाको शालिकमा प्रत्येक बर्ष दशैं टिकाको दिन माल्याअर्पण गर्ने । राम्लिहाङ र रिदामाको तस्वीरमा माल्याअर्पण गरी श्रद्धाञ्जली दिने कार्यको शुरुवात नेपाली समाचार डटकमको संयोजनमा सन् २०१९ देखि निरन्तर जारी छ ।
दशैं के हो र हामीले कसो गर्ने भन्ने सवालमा महागुरुको उपदेशले प्रष्ट बनाएको छ भने अझ धर्म र संस्कृतिको अप्रत्यक्ष शक्ति बुझ्न विश्वविख्यात नेल्सन मण्डेलाका यो वाक्यलाई अध्ययन गरौ, जब गोराहरु हाम्रो देशमा आएका थिए त्यसबेला उनीहरुको हातमा बाईबल थियो र हाम्रो हातमा जमिन थियो । त्यसपछि हामीले आँखा चिम्लिएर बाईबल समात्यौ तब आँखा खोल्दा हाम्रो हातमा बाईबल थियो र गोराहरुको हातमा हाम्रो देशको शासन र जमिन थियो । संस्कार, संस्कृति र धर्मको कमाल कस्तो हुँदोरहेछ भन्ने जिवन्त उदाहरण हो ।
जनजातिहरुले आफ्नो मौलिक चाडपर्वलाई मुख्यरुपमा मनाउँदै दशैंलाई जब छोड्छन तब मात्र यसदेशमा जातीय मुक्ति सम्भव छ । यदि दशैलाई मनाउँदै जाने हो भने गोराहरुबाट कालेहरुले दाम्लोमा बाँधिएर बेचिनु परेझै आदिवासी जनजातिहरु जसले दशैं मनाइरहेका छन् उनीहरु कालन्तरमा बेचिनु पर्नेसम्म हुन सक्दछ । नेपाली हिन्दुहरुले जस्तै गरी दशैं मनाउने चलन नेपाल भन्दा बाहिर भारत, श्रीलंका कतै पनि छैन् । इरानीहरुको चाड नौरुजाबाट धेरै संस्कार भित्रयाईएको/चोरिएको दशैंलाई नेपाल भित्र पनि सबै जातिले यो चाड मनाउँदैन्न । त्यसैले यो दशैं नेपाली हिन्दुहरुको मात्र मुख्य चाड हो । यो चाड केवल आदिवासीहरुलाई मनोवैज्ञानिक पक्षबाट बेकुफ बनाउन सत्ता र शक्ति भएको बखत नेपालमा मात्र जबर्जस्त लादिएको हो । जसको फलस्वरुप अधिकांस जनजातिहरु अहिले पनि घोगा नलाग्ने मकैको बोट झै बनेका छन् । हेर्दा एउटा पहिचान बोकेको जाति जस्तो देखिए पनि वास्तवमा उ जाति होइन दास मात्र बनेको अवस्था छ ।
चेतनाको बिर्को बन्द गरे सबै समस्याहरु सिद्धिनेछ
दशैंको विरोध र बहिष्कार मात्र गर्न लगाउने/सिकाउने भनेर दिग्दार हुनुभएकाहरुको हकमा पनि बहस हुन जरुरी छ । जबर्जस्त दशैं मनाउन लगाइएको, लादिएको ५ देखि ६ पुस्ता भएको छ तर अहिलेका हामीले बाउ, बाजे र जिजुबाजेले दशैं मनाएको मात्र देखेका छौ । ६ पुस्ता अघिका हाम्रा पूर्खाले दशैं नमनाएको देखेनौं । यद्यपी दशैं हाम्रै हो भन्नुहुन्छ भने त्यो पनि छुट छ तर दशैं चाडसँग सत्ता र शक्ति पनि गाँसिने भएकोले ख्याल गर्नुहोस् । तपाई चुपचाप दर्शै मनाउनुहोस, दशैंको असली मालिकले दिएको जुठो खानुहोस, बोक्न दिएको झोला चुपचाप खुरुखुरु बोक्नुहोस, हामफाल र झूण्डेर मर भन्यो भने उसोउसै गर्ने, उसले दास बनाएर राखेमा चुपचाप बस्ने, चोर डकैतीको आरोप लगाएमा चुपचाप सहेर बस्ने, झुठो आरोपमा जेल लगायो भने चुपचाप बस्ने जेलमै सड्ने, पिटे, लुटे भनेपनि चुपचाप सहने, राज्यको सेवासुविधा दिएन भने नमाग्ने, राम्रो रोजगार र अवसर प्राप्त भएन भनेपनि चुपचाप बस्ने तर धुमधाम दर्शै, तिज चाडहरु मनाउने र म किरात अर्थात गैरहिन्दु नभनि हिन्दु धर्मावलम्बी हूँ भन्ने तब यी सबै अप्ठयाराहरु सकिन्छन । शासकको दशैं संस्कृतिलाई नतमस्तक मनाउनुको अर्थ म/हामी माथि शासन गर, दास बनाउ भन्ने सहमति (ऋयलकभलत) दिनु पनि हो तब उसले तिमी माथि उसले शासन गर्छ । जो आफू हुनुमा गौरव गर्ने तर जर्बरजस्त लादिएको दशैं परित्याग गर्न नसक्नेले केवल चेतनाको बिर्को बन्द गर्ने तब सबै समस्याहरु सिद्धिन्छन् ।
सक्षम र शक्तिशाली सधै अगाडि (Fittest First) सिद्धान्ततः दशैंको सच्चा मालिक चाहिँ तपाईको पनि मालिक र गैरहिन्दु भएर दशै मान्ने तपाई चाहिँ दास भएर सामाजिक सद्भाव राख्न पर्ने हुनसक्छ । सन्तुलित र बराबर सम्मान, हक, अधिकारको लागि लाग्ने की दास हुने रोज्ने जिम्मा तपाईको । केही आदिवासीहरु किश्चियन पनि बनेका छन्, उनीहरु अर्कै संसारमा हराए, आनन्दै छ तर बुझ्नुपर्ने कुरा चाहिँ हिन्दुले जनजाति बनाए, किश्चियनले भविश्यमा बनाउन सक्लान तर अहिलेसम्म शोषण दमन गर्ने हैसियतमा क्रिश्चियनहरु छैनन् त्यसैले तत्काल हामीले केही भनिहाल्नुपर्ने अवस्था छैन् । सिर्फ नेपालको धार्मिक सत्ताले राज्य सत्ता निर्माणमा लामो समयदेखि भूमिका खेल्दै आएको कारण चिन्तन गर्न आवश्यक भएको हो, नकी कुनैपनि धर्मको विरोध होइन ।
अन्तमा, नेपाली समाज आपसमा मिलेर बसेको छ भनिन्छ तर वास्तवमा जबर्जस्त मिलेर बस्न बाँध्य बनाइएको छ । एकतर्फि आफ्नो संस्कृति र शासन लाद्ने काम भएको छ भने दशैं संस्कृति अर्थात हिन्दु संस्कृतिलाई आधार बनाएर समाजमा वचश्र्वको वातावरण बनाई राजनीतिमा हालीमुहाली भइरहेको छ । राजनीतिले भन्दा संस्कार, संस्कृतिले गैरहिन्दुहरु माथि औपनिवेशिकता लाद्ने काम भएको छ । यो संस्कार, संस्कृति लाद्नेक्रममा राम्लिहाङ आठपहरिया, रिदामा आठपहरिया र बाजाहाङ लिम्बु सांस्कृतिक सहिद बने । दर्शै किरात अर्थात तमाम गैर हिन्दुहरुको चाड होइन, दशैको बेला दुःख बार्नु, नुन बार्नु, घर बाहिर डाँडाखोला तरेर यात्रा नगर्नु, दशैमा टिका नलगाउनु भनेर महागुरु फाल्गुनन्दको दिव्य उपदेश मननयोग्य छ भने बहुदल लगतै दुरदर्शि नेता गोरेबहादुर खपाङ्ी लगायतले दशैं बहिष्कार तथा परित्यागको अभियान चाले र त्यसको प्रभाव सकारात्मक रहयो, जुन बेला दशैं बहिष्कारको चर्को लहर चल्यो त्यो बेला आदिवासी जनजाति/मुलबासीहरुको आन्दोलन पनि प्रभावकारी रहयो, माथि उठ्यो । जब दशैं बहिष्कारको अभियान सुस्तायो तब आन्दोलन पनि सुस्ताएको छ । दशैं बहिष्कारको अभियान निष्प्रभावकारी हुनुको मुख्य कारण चरणगत अभियानको योजना नहुनु र दशैंको विकल्पमा आआफ्नो मौलिक चाडमा विकास र सुधार नगर्नु हो ।
वि.स. २०४६ सालमै अगुवा अभियन्ताहरुले आआफ्ना नानीहरुलाई चाहिँ टिका नलगाई दिने, दासी बनाउने दशैंको टिका अबोध नानीहरुलाई लगाईदिनु महापाप भन्ने अभियान मात्र चलाएको भए त्यो बेलाका नानीहरु अहिले करिब ३४ (वि. स. २०८०) बर्षका हुनेथिए जुन चाहिँ दशैंको प्रभाव नपरेको पुस्ता हुनेथियो । मुख्य कुरा राजनीतिले भन्दा अझ बढि संस्कार, संस्कृतिले हाम्रो जाति, सम्प्रदायलाई प्रभावमा राख्दछ भन्ने कुराको हेक्का राखिएन । जातीय उत्थानको निमित्त खोलिएका संघसस्थाहरुले पनि यथेष्ठ मार्गनिर्देश गर्न सकेन र दशैं परित्यागको प्रभाव निस्तेज हुँदै गयो, सिंगो मुद्दा र आन्दोलन कमजोर हुँदै गएको कारण अब संगठित रुपबाट ‘दशैं परित्याग तथा मौलिक चाड संचेतना मञ्च’ नामक संस्था निर्माणको शुरुवात भएको छ ।
हिजो गोर्खा सरकारले जबर्जस्त दशैं मनाउन बाँध्य बनाए भने अहिले टिभी, रेडियो, पत्रपत्रिका, अनलाईन मिडिया, सोसल मिडिया, छुट्टि र पैसा दिने सरकारी सयन्त्र, छरछिमेक र आफन्तहरुबाट अप्रत्येक्ष दबाब आइरहने भएकोले संचेतना मञ्च सञ्जालको विकास गरेर अघि बढ्न आवश्यक हुन्छ । दशैंको बखत भ्रमण, अन्तरक्रियाको कार्यक्रम राखेर दशैंको प्रभावबाट टाढा राख्न र दशै परित्याग गरिसकेकाहरुको निमित्त आत्माबल दिन सकिन्छ । दशैं परित्यागसँगै गैर हिन्दुमा औपनिवेशिक मानसिकता हट्नेछ, महागुरु फाल्गुनन्दले भन्नुभए जस्तै दशैंको परित्याग आदिवासी÷मुलवासी (इन्डिजिनियस) समुदायमा बाञ्छानीय हुनेछ । धेरैले दशैं बहिष्कार तथा परित्याग गर्दै आएका छन, जसले दशैं बहिष्कार र परित्याग शुरुवात गर्नुभएको छैन् संस्कार, संस्कृतिको शोषणबाट मुक्ति हुने वाचा गर्दै आजैबाट शुरुवात गरौ, महागुरु फाल्गुनन्दको उपदेशलाई कार्यान्वयन गरौं ।
biswasdip@ymail.com
किरात इङसे पत्रिका कार्तिक अंक २०८० बाट