माङसेबुङ/माङसेबुङ इक्ला संस्करण २ गायन प्रतियोगिताका लागि अनलाइन अडिसन सुरु भएको छ । आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले प्रतियोगितामा सहभागि हुन इच्छुक कलाकारहरुका लागि बुधबार सूचना सार्वजनिक गरेसँगै अडिसन सुरु भएको हो ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोहको अवसरमा माङसेबुङ इक्ला संस्करण २ गायन प्रतियोगिता कार्यक्रम आयोजना गरिएको किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताएका छन् ।
पान्जुम्भोका अध्यक्ष केदेमका अनुसार माङसेबुङ इक्ला दुई वर्ष पहिले आयोजना गरिएको थियो र यसैलाई निरन्तरता दिन पुनः यस वर्ष पनि आयोजना गरिएको हो ।
आयोजकका अनुसार यस वर्ष प्रतियोगितामा सहभागि हुन इत्छुक कलाकारहरुले अनलाइन अडिसनका लागि आदिवासी मातृभाषा अथवा किरात धार्मिक जागरणमा आधारित गीत गाएर भिडियो रेकर्ड गरी आयोजकलाई वार्डसप नम्बरमा भिडियो पठाई दिनु पर्ने छ ।
प्रतियोगीले पहिलो अडिसनमा कुनै म्युजिक ट्रयाक, वाद्यवादन सामग्री, माइक वा हेड्फोन प्रयोग नगरी गीत गाएर भिडियो पठाउनु पर्नेछ । भने, दोस्रो अडिसनमा म्युजिक ट्रयाकमा माइक वा हेड्फोन प्रयोग नगरी गीत गाएर भिडियो पठाउनु पर्नेछ ।
त्यसैगरी प्रतियोगीले तेस्रो अडिसनमा म्युजिक ट्रयाकमा माइक वा हेड्फोन प्रयोग नगरी गीत गाएर भिडियो पठाउनु पर्नेछ । प्रतियोगीले चौथो अडिसनमा म्युजिक ट्रयाकमा माइक वा हेड्फोन प्रयोग गर्न पाएपनि इको साउण्ड प्रयोग नगरी गीत गाएर भिडियो पठाउनु पर्नेछ ।
प्रतियोगिले अनलाइन पहिलो चरणका लागि आगामी कार्तिक १५ गते दिनको ४ बजेभित्र Whatsapp number 9815975302 मा भिडियो पठाउनु पर्ने छ ।
माङसेबुङ इक्ला प्रतियोगितामा सहभागिहरुलाई पहिलो, दोस्रो, तेस्रो र चौथो अडिसन अनलाइन मार्फत लिइने छ । प्रतियोगीले चार चरणसम्मको अडिसनका लागि आदिवासी मातृभाषा अथवा किरात धार्मिक जागरणमा आधारित गीतमा स्थायी र अन्तरासम्मको समय–परिधिमा गीत गाएर भिडियो पठाउनु पर्ने छ ।
प्रतियोगिहरुमध्ये चार चरणको अनलाइन अडिसन पार गरी सेमीफाइनलमा पुगेका उत्कृष्ट ८ प्रतियोगिहरुले माङसेबुङमा आयोजना हुने सेमीफाइनलमा प्रतिस्पर्धा गर्ने किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो सचिव सुवास गुरुङले बताएका छन् ।
प्रतियोगिताको सेमी फाइनल आगामी मंसिर १८ गते साँझ हुने छ भने, फाइनल मसिंर १९ गते साँझमा आयोजना हुने आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले जनाएको छ ।
प्रतियोगिताको आयोजना व्यवस्थापन किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो माङसेबुङ इलामको रहेको छ भने, मूल आयोजकको रुपमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोह रहेको छ ।