सत्य आहार सत्य विहार भनेको के हो ?


                                                                   रमेश तुम्बापो ‘हाङसाम’

 

वि.स. १९८८ साल बैशाक २४ गते बुधबारको दिन पान्थरको लब्रेकुटीमा वृहत किरात याक्थुङ् चुम्लुङ सम्पन्न भए पश्चात त्यसको ठ्याक्कै सात महिना पछाडि अर्थात १९८८ मंसिर २४ गते बुधबारको दिन दोस्रो वृहत चुम्लुङ भएको थियो । जन सहभागिताको आधारमा भन्नुपर्दा यो चुम्लुङ सात महिना अगाडि अर्थात १९८८ बैशाक २४ गतेको चुम्लुङ भन्दा पनि अझ् वृहत चुम्लुङ थियो ।

 

चुम्लुङ समापन भएपछि साँझपख महागुरु फाल्गुनन्दले तत्कालीन पल्लो किरात लिम्बुवानका नामुद सुब्बाहरु पान्थर यासक भदौरेका शेरबहादुर लावती र तेह्रथुम मेयङलुङका काजीमान तुम्बाहाङफेलाई आफ्नो आश्रममा बोलाएर ए… शेरबहादुर, काजीमान ! म को हुँ ? म के चाहन्छु ? म किन आएँ ? भनि गहँन प्रश्न सोध्नु भयो । सुब्बाहरुले प्रश्नको उत्तर तत्काल दिन नसकेपछि भोलि मात्र भन्छौं गुरु ! भनि थप समय माग गर्दै हात जोडे । सुब्बाहरुको यस्तो जवाफ सुनेर महागुरु फाल्गुनन्दले राती सपनामा विचार गर्छौं त ? भन्दै महागुरु मुस्कुराउँनु भयो ।

 

 

त्यसपछि चुम्लुङमा सहभागि हुन आएका तुतु तुम्याहाङ प्रतिनिधिहरुकोबीचमा महागुरु फाल्गुनन्दलाई के भन्ने ? वा कस्तो नाम दिने ? भन्ने विषयमा गहँन छलफल भयो । बुधवल आङ्बोले गुरुलाई ‘युमा’ भन्नुपर्छ भन्ने प्रस्ताव गरे, ‘सरस्वती माता’ भन्नुपर्छ भन्ने विषय पनि उठ्यो । रातको समय घर्किन्दै गयो । कसैको प्रस्ताव पनि सर्वसम्मत हुन सकेन । अन्ततः शेरबहादुर लावती र काजीमान तुम्बाहाङफे दुई जना मात्र एकान्तमा रातभर बसेर सबै प्रश्नहरुको सही जवाफको खोजीमा जुटे । उनीहरु सबै प्रश्नहरुको सही जवाफ टुङ्गो लगाएपछि मात्र सुते । विहान उज्यालो भयो । दुवैजना सबेरै उठेर सरसफाई गरिसके पश्चात गुरु दर्शनका लागि गुरु कहाँ गएँ ।

 

 

महागुरु फाल्गुनन्दले सुब्बाहरुलाई देख्न साथ त्यहीँ प्रश्न इङ्कित गर्दै राती सपनामा के पायौं त ? लु ! भन भन्नुभयो । सुब्बाहरुसँग रातभर जागो बसेर लामो छलफल गरेर तयार पारेको ३ वटा प्रश्नहरुको जवाफ छँदै थियो । दुवैजनाले एकैसाथ जुम्लाहात जोडेर गुरुदेव ! हजुर, सत्य बोल्ने, सत्य कर्म गर्ने र गर्नुपर्छ भनेर उपदेश दिने सत्य भोजन, सत्य आहार, सत्य विहार गर्ने हुनाले हामीले तपाईलाई ‘निस्से हाङ्मा’ सत्यहाङ्मा भनि चिन्यौं । महागुरुको प्रश्न, ‘म के चाहन्छु त ?’ सुब्बाहरुको जवाफ ‘सत्य धर्म गर्न, गराउँन चाहनुहुन्छ ।’ महागुरुले फेरी सोध्नु भयो ‘म के गर्न आएँ त ?’ ‘संसारको पाप हरण गरी धर्मको राज्य फैलाउँन आउँनु भएको हो ।’ सुब्बाहरुको जवाफ थियो ।

 

 

उसो भए आजदेखि तिमीहरु सत्यको मार्गमा चल्छौं त ? चल्छौं गुरु । माथिको तीन प्रश्नहरुको सही जवाफको खोजिमा शेरबहादुर र काजीमान रातभर जागो बसेर विषय बस्तुमा चुर्लुम्म डुबेर छलफलमा जुटेका थिए । उनीहरुले ‘निस्सेहाङ्मा’ अर्थात सत्यहाङ्मा नाम जुराउँनका लागि आफ्नो गुरुको सिवाखाहुन उपदेशको गहिरो विश्लेषण गर्दै, उहाँको जीवनचर्यालाई नजिकबाट नियालेर मुल्याङ्कन गरेर त्यसैको आधारमा आफ्नो गुरुको नाम निस्सेहाङमा यसको नेपालीकरण सत्यहाङ्मा जुराएका थिए ।

 

 

महागुरु फाल्गुनन्दलाई निस्सेहाङ्मा अर्थात सत्यहाङ्मा नाम जुराउँनका लागि शेरबहादुर र काजीमानले आफूहरुसँग भएको ज्ञान, बुद्धि, विवेक योग्यता, क्षमता सम्पूर्ण प्रयोग गरेका थिए । हिजआज उहाँका अनुयायीहरुले ‘सत्य आहार, सत्य विहार’ भन्ने वाक्यांशलाई बाक्लो रुपमा प्रयोगमा ल्याएको पाइन्छ । सत्य आहार भन्ने वाक्यांशलाई सात्विक भोजन भनेर बुझ्न सकिन्छ । महागुरु फाल्गुनन्दले आफ्नो उपदेशमा यसलाई ‘फगिया चा’ भन्नु भएको छ । मानव जातिले ‘फगिया चा’ सात्विक भोजन मासु नखानु भन्नु भएको छ । त्यसो त महागुरुले मात्र होइन ! संसारका सबै अध्यात्मिक गुरुहरुले सात्विक भोजन गर्नु भन्नुभएको छ ।

 

 


अध्यात्मिक साधक, महागुरुषले यसो भनेपनि मांसहारीहरुको तुलनामा शाकाहारीहरु कमजोरी हुन्छन् भनेर तर्क गर्नेहरु पनि प्रशस्तै छन् । सत्य कुरा के हो भने शाकाहारी भोजन गर्नेहरुको बुद्धि कमजोर हुन्छ भनुङ भने विश्वका बहुचर्चित नेताहरु, वैज्ञानिकहरु, अधिकांश शाकाहारी नै थिए÷छन् । शारीरिक रुपमा कमजोर हुन्छन् भनुङ् भने गाई, भैसी, हात्ति सबै शाकाहारी जनावरहरु हुन् ।

 

 

 

अण्डा, माछा, मासुले बुद्धि बढाउँने भए गोसवालाहरु खोला, नदि नालाको किनारमा बस्नेहरु नाउ खियाउँने माझीहरु जालहान्ने जालहारीहरु बुद्धिमान हुने थियो होला । बुद्धिमान भएदेखि खोला नाला किनारमा जोखिम मोलेर किन बस्ने थियो होला । तसर्थ शाकाहारीहरु बुद्धि मांसाहारीहरुको तुलनामा कमजोर हुन्छ भन्ने तर्कमा पनि सत्य रहेनछ । विश्वलाई हल्लाउँने बहुचर्चित नेताहरु बहुसंख्यमा शाकाहारी नै पाइन्छन् । महत्वपूर्ण कुरा के छ भने मान्छेको शरीरलाई स्वास्थ्य राख्नका लागि ‘भोजन’ को भूमिका ज्यादै महत्वपूर्ण हुन्छ । शरीर स्वास्थ्य नभएसम्म न त अध्यात्मिक उन्नति गर्न सकिन्छ, नत भौतिक । तसर्थ मानिसको जीवनमा भोजनको महत्व साह्रै ठूलो हुन्छ ।

 

 

 

अर्को कुरा शरीर मनको अनन्य सम्बन्ध रहेको हुन्छ । शरीर दुःखि भयो भने गह्रौंगो भारी भयो भने, मनले कामै गर्दैन । मन दुःखि भएको अवस्थामा, तनावग्रस्त भएको अवस्थामा शरीरले चौरासी व्यञ्जन खान पाए पनि मिठो लाग्दैन । त्यसका रस नै पाउँदैन । तर मन खुशी भएको अवस्थामा ढिडो सिस्नु जे खाए पनि चौरासी व्यञ्जन भन्दा स्वादिलो र मिठो लग्छ । सात्विक भोजनको सुन्दर पक्ष के हो भने धम्रपान, मादक पदार्थ सेवन नगरेपछि शरीर र मन दुवैमा तनाव कम हुने सम्भावना रहन्छ । त्यसो भएपछि घर परिवारमा सम्बन्ध विग्रन्ने सम्भावना पनि कम हुन्छ । परिवार आफैमा सिंगो समाज र राष्ट्रको सदस्य हो ।

 

 

 

यसर्थ समाजमा पनि मधुर सम्बन्धको विकास हुने सम्भावना बढेर जान्छ । अर्को सुन्दर पक्ष के पनि छ भने विभिन्न प्रकारको रोग लाग्ने सम्भावना पनि कम हुन्छ । यदि ! लागि हाले पनि रिकभर हुने चान्स तुलनात्मक हिसाबले बढी रहन्छ । अर्को कुरा मासु मंस, जाँड, रक्सी, चुरोट, खैनीमा हुने खर्चलाई वचत गर्न सकिन्छ ।

 

 

 

८० प्रतिशत पेटसँग सम्बन्धित रोगहरु भोजनको कारणबाट लाग्छ भन्ने कुरा विश्व स्वास्थ्य संगठनले प्रमाणित गरिसकेको छ । अर्को महत्वपूर्ण विषय के पनि छ भने चार्वाक दर्शन वाहेक पूर्विय दर्शन सबैले पाप र धर्म, पूर्व जन्म र पुनः जन्म हुन्छ भने मान्यता राखेको पाइन्छ । पूर्विय अध्यात्मिक दर्शनहरुले हत्या गर्नुलाई सबैभन्दा ठूलो पाप भनेका छन् ।

 

 

 

पाप कर्मले वर्तमान र पुनः जन्मलाई पापको साइज अनुसार नराम्रो असर गर्छ भन्ने समेत मान्यता हरेको पाइन्छ । महागुरु फाल्गुनन्दले पनि यहीँ कुरा भन्नु भएको छ । यसर्थ सात्विक भोजन–फगियाचाको दर्शनले यस लोक र परलोक अर्थात यो जन्म र पुनः जन्म दुवै जन्ममा शान्ति, सुविधा र आनन्द मिल्ने देखिन्छ । यहाँ हुनै पर्ने तर अहिलेसम्म हुन नसकेको विषय के छ भने महागुरुले ‘फगिया चा’ भन्नु भएको वाक्यांशको ‘दर्शनको’ परिभाषा र व्याख्या हुनु÷गर्नु रहेको छ ।

 

 

 

त्यसकारण फगियाचाको दर्शनको आयाम कति वृहत छ ? कति जीवन उपयोगी छ ? भन्ने कुरा यथेष्ट मात्रामा जान्न र बुझ्न थाहा पाउँन अरु धेरै बाँकी नैछ । सत्य आहारको विषयमा यति छलफल गरेपछि अब सत्य विहारको विषयमा पनि थोरै छलफल गरौं । विहार शब्दको अर्थ वृहत नेपाली शब्दकोष अनुसार,

 

१. आफू खुशी वा मित्रजनका साथ घुमफिर गर्ने काम, तहल्ने काम ।
२. बौद्ध भिक्षुहरुको बस्ने मठ ।
३. मनो विनोदका निमित्त गरिने खेलकुद आदि ।
४. मन्दिर
५. विहार गरिने वा हुने वा रहेको थलो भनिएको ।

 

विहार शब्दको अर्थ शब्दकोषमा यतिमात्र उल्लेख भएको भए पनि तत्कालीन अवस्थामा सुब्बा शेरबहादुर लावती र काजीमान तुम्बाहाङफेद्धयले महागुरु फाल्गुनन्दको सिंगो जीवनचर्यालाई नै सत्य विहारको नमूना हो भनेर बुझेका थिए । वस्तुत विहान सबेरै उठेर सरसफाई गर्नु, त्यसपछि जपतप, ध्यान, प्राणायाम, पूजापाठ गर्नु, व्रत बस्नु, तीर्थयात्रा गर्नु, सत्य धर्मको प्रचार–प्रसार गर्न ठाउँठाउँमा जानु, अध्ययन् गर्नु सधैं एकै स्थानमा नबसेर घुमिरहनु शरीरलाई निरोगी र ताजगी बनाई राख्न नियमित व्यायाम गर्नु नै सत्य विहार हो ।

 

सत्य आहार, सत्य विहार भन्ने वाक्यांशलाई व्यवहारमा कमै भएपनि शब्दमा भने हिजो आज बढी नै प्रयोग भएको पाउँदा खुशी लाग्नु स्वभाविक छ । धार्मिक अभियान्ताहरुले आफ्नो प्रवचनलाई रसिलो, स्वादिलो बनाउन बीचबीचमा यो शब्दलाई चट्नीको रुपमा प्रयोग गरेको पाइन्छ । यो दार्शनिक वाक्यांशलाई केवल शब्दमा मात्र प्रयोग हुनुलाई पनि ठूलै उपब्धि मान्नुपर्छ ।

 

 

 

किनभने, भित्रको गुदी तत्वलाई प्राप्त गर्न बाहिरको बोक्रालाई पार गर्नैपर्छ । शब्द बोक्रा हुन सक्छ, कर्म, व्यवहार गुदी तसर्थः सत्य आहार, सत्य विहारको दर्शनलाई कर्म व्यवहारमा ढालेर सुन्दर जीवन दर्शनको विरुवा (वृक्ष) उमारेर, हुर्काएर स्वादिलो मिठो फल फलाउँने र रस्वादन गर्ने हामी सबैको प्रयत्न हुन आवश्यक छ ।

 

माङसेबुङ पत्रिकाबाट