फाल्गुनन्द दर्शन विश्वव्यापीकरण


                                                                        ज्ञानु केदेम लिम्बू

किरात धर्म दर्शन र कर्म संस्कार, संस्कृतिको पुनः उत्थान र कुरीति कुसंस्कारमा रुमलिरहेका किरात समाजलाई सुधार गर्नु हुने किरात धर्म दर्शनदाता, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङ्गुम अङ्सीमाङ महागुरु फाल्गुनन्द लिङ्देन जन्मावतार हुनुभएको पनि आगामी कार्तिक २५ गते १३९ वर्षमा प्रवेश गर्दै छ । यसरी महागुरुको जन्मजयन्तीको अवसरमा किरात समुदायमा खुशीयालीका साथ रमझम गर्ने, शुभकामना आदानप्रदान गर्ने, धार्मिक सेवा र विविध कार्यक्रमहरु आयोजना गरी वहाँको जन्मजयन्ती मनाउने गरेका छन् । वि. स. २०६६ साल मंसिर १६ गते नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेको महागुरुको जन्मजयन्तीलाई थप रौनकता दिँदैं किरात धार्मिक संस्थाहरुले वि. स. २०७१ साल बैशाख २४ गते किरात चाडपर्व घोषणा गरेको थियो । त्यसपछि सेवा र सभामा सिमित्त रहँदै आएको महागुरुको जन्मजयन्तीले पर्वको रुप लिएको हो ।

 

 

महागुरु फाल्गुनन्दले छरपस्टिएको र दिशाविहिन किरात धर्म दर्शनलाई निश्चित मार्ग देखाउँदै किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिलाई पुनः उत्थान गर्नुभएकोले किरात धर्म दर्शनदाताको रुपमा र तत्कालीन किरात समुदायमा चलेको कुरीति कुसंस्कारलाई हटाउन वि. स. १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका गन्यमान्यहरुको भेला गराई समाज सुधार गर्न ७ बुद्धे सत्य धर्म मुचुल्का निर्माण गर्नु भएकोले समाज सुधारक तथा राष्ट्रले राष्ट्रिय विभूषणले सम्मानित गरेकोले वहाँलाई राष्ट्रिय विभूतिको रुपमा पनि सबै माझ् पुज्य हुनुभएको छ ।

 

 

महागुरुलाई विगतमा राज्यले पूर्व लिम्बुवानको राजा बनेको भनि देशद्रोहीको आरोपमा धेरै नै दुःख दिएको भएपनि अनि तत्कालीन किरात समाजले साँधु, खराने भनेर घृणा, अपहेलना गरेको भएपनि पछिल्लो समयमा सबैको आस्थाको धरोहर बनिन्नु भएको छ । वहाँले थालनी गर्नु भएको विश्व शान्ति मानव एकताको मार्गदर्शनमा आज किरात समाज मात्र नभई संसारका सत्य, शान्ति, न्यायप्रेमी र अहिंसावादीहरु सबै लाम लाग्न थालेका छन् ।

 

 

समाजमा रहेको कुरीति र कुसस्कार हटाई सभ्य र शिक्षित समाज स्थापनाका लागि वहाँले देखाएको मार्गदर्शन पछिल्लो समय संसारभर फैलिँन्दै गएको छ । सत्य, शान्ति र अहिंसावादी महागुरुको ज्ञान र दर्शन विश्वव्यापी हुँदै गएको छ । तत्कालीन समयमा छोरा छोरीबीच विभेद रहेको संस्कार संस्कृतिमा समानता र सदभाव कायम गर्न वहाँलाई कम चुनौति पक्कै भएनन् । तर, पनि छोरी चेलीको सोतरीत खाने कुरीति कुसंस्कारलाई हटाउन अहोरात्र लागिपर्नु भयो ।

 

 

 

२१ औं शताब्दीमा चर्को रुपमा उठिरहेको मौलिक पहिचान र समानता समावेशिताको मूल मुद्दालाई महागुरुले २० औं शताब्दीमै उठान गर्नु भएको थियो । छोरा छोरीलाई समान व्यवहार गर्न मार्गदर्शन गराउनु भयो । मौलिक मातृभाषा, लिपि, संस्कार संस्कृतिलाई संरक्षण र प्रचारप्रसार गर्न सबैलाई प्रेरित गरिरहनु भयो ।

 

 

 

महागुरुले सुरुवात गर्नु भएको पहिचान र समानताको आन्दोलन आज विश्वव्यापी हुँदै गर्दा महागुरु फाल्गुनन्द दूरदर्शी महान् व्यक्तित्वको रुपमा संसारभर कहलिँदै जानुभएको छ । पढ्न लेख्न पूर्ण प्रतिबन्द रहेको निरङ्कुश राणा शासनकालमा वहाँले मातृभाषा, लिपि पढ्ने र लेख्ने अभियान चलाउनु भयो । समाज सुधारको लागि आज भन्दा ९ दशक अगावै निरङ्कुश राणाशासनलाई खुल्ला चुनौती दिँदै महागुरुले सत्य धर्म मुचुल्का निर्माण गर्नु भयो । महागुरुको जीवनकालमा निर्माण गरिएको ऐतिहासिक र महत्वपूर्ण दस्तावेजको रुपमा रहेको मुचुल्काले वहाँलाई राष्ट्रिय विभूति बन्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

 

 

यसरी समाज सुधारको महान अभियान लिएर अघि बढ्नु भएका महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का निर्माण गरेसँगै नेपालमा जनताका लागि बन्देज गरिएको शिक्षाको ज्योतिलाई व्यापक फैलाइदिनु भयो । वहाँले सत्य, शान्ति र अहिंसाको मूल मार्गदर्शनलाई अघि बढाउदै, मौलिक पहिचान, समानता र समावेशिताको आन्दोलनलाई सुरुवात गरिदिनु भयो । महागुरुले प्रारम्भ गर्नु भएको शान्तिवादी, अहिंसावादी, पहिचानवादी र समानतावादी अभियान पछिल्लो समयमा किरात धर्मावलम्बीहरुका लागि मात्र मार्गदर्शन बनेको छैन् ।

 

 

 

यी दर्शन विश्वव्यापीकरण भएकोले अब किरात समुदाय अर्थात फाल्गुनन्दमार्गीहरुले मात्र मान्छन्, मान्नु पर्छ र वहाँको मार्गदर्शन किरात समुदायका लागि मात्र हो उनीहरुले मात्र अनुसरण गर्नुपर्छ र गर्छन भन्ने संकुचित सोचाईबाट किरात समुदाय र गैर किरात समुदायहरु फराकिलो सोचाई र बुझाईमा पुग्न जरुरी छ ।

 

 

अझ् विशेषतः नेपाल सरकारले किरात समुदायप्रति सोच्ने बुझ्ने चेतना फराकिलो बनाउन आवश्यक छ । प्रविधिले विश्वलाई साँघुरो वा नजिक बनाइसकेको अवस्थामा राज्यले कुनै समुदायको संस्कार संस्कृतिलाई संरक्षण दिने नाममा कुनै समुदायमा अन्याय र अत्याचार गर्न कदापी हुँदैन । त्यसैले महागुरुको जीवन दर्शनलाई संरक्षण र प्रचारप्रसार गर्ने अभिभारा सिंगो राज्यको हो किन की महागुरु फाल्गुनन्द नेपालकै राष्ट्रिय विभूति हुन । आज वहाँको जीवन दर्शन विश्वव्यापीकरण भइरहँदा यहीँ मुलुकका आम जनता र राज्य सरकार स्वंयमले नचिन्नु र नबुझ्नु दुर्भाग्यपूण बनेको छ ।

 

 

पछिल्लो समयमा महागुरुको नाममा प्रदेश नं. १ सरकारले कार्तिक २५ गते प्रदेश व्यापी सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, यतिले मात्र महागुरुले समाज सुधारका लागि दिनु भएको अतुलनीय देनहरुलाई सान्तवना पुग्दैन् । प्रदेश व्यापी एक दिने बिदाले मात्र राज्यले राष्ट्रिय विभूति किन घोषणा गरेको यसको महत्व पुष्टि हुँदैन । वहाँको जीवन दर्शनलाई दीर्घकालीन रुपमा संरक्षण संम्बद्र्धनका लागि राज्यले के कति लगानी लगाएको छ ? महागुरुको योगदानको सम्मानका लागि राज्यले कस्तो नीति योजना बनाएको छ ? जनचासोको विषय बनेको छ ।

 

 

 

 

यसमा किरातजन्य धार्मिक र सामाजिक संघ संस्थाहरुको जिम्मेवारीनै छैन् भन्ने कदापी होइनन् । किरातजन्य संघ संस्थाको निक्रियपन र अनुदारपनले राज्यले महागुरुप्रति चासो नदिएको हो की भन्ने प्रसंग गलत भन्न सकिन्न । किन की किरातजन्य संघ संस्थाहरुले वर्ष दिनमा एक दिन जन्मजयन्ती मनाउँदै खुशीयाली मनाउनको विकल्प महागुरु सम्बन्धि दीर्घकालीन कार्य योजना तर्जुमा गर्न सकिएको छैन् । यसले महागुरुको जीवन दर्शन विश्वभरी फैलिँदै गएपनि वहाँको विषयमा खोज अनुसन्धानका लागि दर्बिलो आधार स्तम्भ स्थापना हुन सकेको छैन् । यसमा किरातजन्य संघ संस्था र राज्य दुवै जिम्मेवार हुनुपर्दछ ।