रमेश तुम्बापो ‘हाङसाम’
महागुरु फाल्गुनन्दले मानव जगतको लागि दिनुभएको सिवाखाहुन उपदेशहरु आजका मितिसम्म पनि लिम्बू भाषा बाहेक अन्य कुनै पनि भाषामा अनुवाद हुन सकेको छैन् । निश्चय पनि यो दुःखद विषय हो । फाल्गुनन्द को हुन ? के हुन ? उहाँका उपदेशरु के कस्ता रहेका छन् ? कतिका जीवन उपयोगी रहेका छन् ? भन्ने कुरा सही अर्थमा बुझ्नका लाग भाषागत समस्या छ भने जतिसुकै मुल्यवान औं उपयोगी भए पनि गैर लिम्बू भाषिहरुले उपदेशको महत्वलाई कसरी बुझ्न सक्छ ?
महागुरु फाल्गुनन्दलाई चिन्नका लागि उहाँका अमूल्य उपदेशहरु आवश्यकता अनुसार विभिन्न भाषामा अनुवाद हुन नितान्त आवश्यक छ र त्यसो हुन सक्यो भने मात्र सर्वसाधरणले पनि साँचो अर्थमा उहाँको उपदेशको महत्वलाई बुझ्न सक्ने छन् । यस आलेखमा महागुरु फाल्गुनन्दले मानव जगतलाई दिनु भएको केही महत्वपूर्ण सिवाखाहुन उपदेशहरुलाई सरल नेपाली भाषामा भावार्थ अनुवाद गरेर ती उपदेशहरु मानव जीवनमा कतिका उपयोगी रहेका छन् ? भन्ने विषयमा भिन्न–भिन्न अनच्छेदमा छलफल गर्ने प्रयत्न गरिनेछ ।
– माङ् निङ्वारे माङ् आबोङ्
–हाङ् निङ्वारे हाङ् आबोङ्
–योक निङ्वारे योकलक आबोङ्लो ।
भावार्थः देव (अध्यात्मिक) चिन्तनले देवतुल्य भइन्छ
राजनीतिक चिन्तनले राजतुल्य भइन्छ
दास मनोवृत्तिले दास मात्र भइन्छ ।
मेन्छाम्गेन नाम्याप्मी सारे मेनइत्मा इत्मामेन, मेन्पाप्मा पाप्मामेन, मेन्निमा निमामेन, मेन्खेम्मा खेम्मामेन, मेन्जामा चामामेन, मेन्जोक्मा चोकमामेन । कुन्ग सोगेन् सोमात् लाभाक एप्मारे कुबुङ्लो । भावार्थः मानव जातिले सोच्न नहुने कुरा ‘विषय’ नसोच्नु, बोल्न नहुने कुरा नबोल्नु, हेर्न नहुने कुरा नहेर्नु, सुन्न नहुने कुरा नसुन्नु, खान नहुने कुरा नखानु, गर्न नहुने काम नगर्नु । यो नै ‘‘सोगेन् सोमात् लाभाक एप्माको मुख्य बोट हो ।’’ सोगेन सोमात ः व्यभिचार, यौनजन्य पाप कर्म र लाभाक एप्माः जालझेल, छलकपट, छुल्याई, षडयन्त्र, धोका, चुक्ली । यस्तो पाप कर्मले समाप्त भइन्छ ।
नोनिङ्वारे इत्मा, नोनिङ्वारे पाप्मा, नोनिङ्वारे याम्बक खाजोङ चोकमा फगिया याम्बकलो । कन्छे कुलिङ्धो कुसाङ्लमा, नाम्सिङ् लासिङ केप्मा, माङ्वा हाङ्वा कुङ्मा, पेलि पान्जाङ् कुङ्मा खाजोङ्लो । भावार्थः सफा, पवित्र मनले चिन्तन मनन् गर्न, पवित्र सोच विचारले कर्म गर्नु, पवित्र मनले सत्य वचन बोल्न । यस्तो कर्मलाई नै ‘फगिया’ उज्यालो कर्म भनिन्छ । यस्तो उज्यालो, पारदर्शी कर्म ग¥यो भने सूर्य, चन्द्र जस्तै चम्किलो उज्यालो भएर बाँच्न सकिन्छ । उच्च कोटिको सिद्धि प्राप्त गर्न सकिन्छ । जीवनमा माङ्वा–हाङ्वाको सागर उर्लेर आउँछ । चारैतिर सुनाम, सुवास सकीर्ति फैलिएर जान्छ ।
सोनिङ्वा सेसे, तानिङ्वा ताम्दाम, फोनिङ्वा फोभो ल ? रेम्मे, सिङ्नुल्ले सिङ्सिङ्, लुङ्नुल्ले लुमलम ल?रेम्मे । भावार्थः मनलाई पवित्र भन्दा पनि पवित्र बनाउँन गम्भिर चिन्तन मनन औं प्रगतिशील सोच विचार राख्नु । जसरी बरको रुखले जमिनमा आफ्ना जराहरु रसाएर शक्तिशालि आँधिवेहरीको सामना गर्दै अटल भई बाच्ने गर्छ । ढुंगा आफ्नै गह्रौपन एकै ठाउँमा अविचलन भएर रहन सक्छ त्यसै गरी मान्छेहरु सतकर्म रुपी जरा समाजमा फिजाएर बस्नु (बाँच्नु) पर्छ ।
माक्निङ्वा, हेत्निङ्वा, फेननिङ्वा, फेनइत्, फेनपान फेनजोङ केरेक माखिया याम्बकलो । भावार्थः ‘कालोचित्त’ प्रदुर्षित मन, अरुको उन्नति, प्रगति देखेर सुनेर ईष्या, डाहा गर्नु, सधै नकारात्मक सोच विचारले मनलाई दूषित बनाई राख्न, असत्य र रुखो बोली वचन मात्र बोल्नु त्यस्तै कर्म गर्नु सबै हिंसात्मक ‘माखिया’ कर्महरु हुन् । माथि उल्लेखित सिवाखाहुनहरु कुनै पनि दृष्टिकोषणले कम मूल्यका छैनन् । यद्यपि ग्रहण गरेर तदनुरुप आफ्नो दैनिक आचरण व्यवहारमा लागू गर्न त्यति सजिलो भने छैन् । त्यसो त गाह्रो पनि छैन् । किनभने सिवाखाहुनले माग गरे अनुसार आफूलाई परिवर्तन गर्नका लागि कसैलाई पैसा बुझाउँन पदैन, कुनै तालिम केन्द्रहरु धाइरहनु पनि पर्दैनन् ।
केवल दृढ संकल्प साथ आफ्नो दैनिक कर्म व्यवहारलाई समिक्षा गर्दै अघि बढ्न सकेमा असम्भव के नै छ र ? तर अहिलेसम्म हुन नसकेको, भए पनि आंशिक मात्रामा मात्र हुन सकेको मुलभुत विषय पनि सिवाखाहुनको माग अनुसार आफूलाई रुपान्तरण गर्नु नसक्नुनै रहेको छ । माथिका सिवाखाहुनहरुको केही अंश मात्र भए पनि पालना गरेर तदनुरुप कर्म गर्न सक्यो भने जीवनमा अवश्य सकारात्मक परिवर्तन आउँन सक्छ । समाजमा हत्या, हिंसा, चोरी, डकैति, भ्रष्टचार, व्यभिचार, जालझेल, छलकपट षडयन्त्र, ठगी चुक्ली जस्ता निकृष्ट कार्यहरुको मात्रा स्वतस्फूर्त घटेर जान्छ । यसो भएपछि समाजमा शान्ति र आनन्दको उदय हुन्छ । केवल मानिसको मात्र होइन, सिंगो प्राणी जगतको इतिहासदेखि आजसम्मको एउटै खोज सुख, शान्ति र आनन्द नै हो ।
महागुरु फाल्गुनन्दका अनुयायीहरुले जान अन्जान खोजेको चिज पनि यहीँ नै हो । वास्तविक सुख, शान्ति र आनन्द बाह्य जगतमा खोजेर पाउँन सकिन्न भन्ने विषयमा सबै धर्मका धर्मप्रवर्तक तथा सन्त महात्माहरु एकमत छन् । महागुरुको मत पनि यो भन्दा फरक छैन् । उहाँले दिनुभएको सिवाखाहुनमा ‘निङ्वा’ शब्दको प्रयोग अधिक मात्रामा भएको पाइन्छ निङ्वा शब्दको अर्थ हो ‘मन’ । असल, खराब, राम्रो, नराम्रो सबै किसिमका कर्महरुको मुख्य स्रोत मान्छेको मन नै हो त्यसकारण कर्म सफा हुनका लागि मन सफा पवित्र, अर्थातः सेनिङ्वा सेसे’ हुनुपर्छ भन्ने सिवाखाहुनको सारतत्व रहेको पाइन्छ ।
त्यसो भए मनलाई कसरी सफा गर्ने? त्यसको एउटै विधि छ ध्यान पूर्वक कर्म गर्ने । यस्तो ध्यान आँखा चिम्लेर गर्दा पनि भयो, खोलेर गर्दा पनि भयो । आफूले गरेको कर्मले, व्यवहारले, बोलेको वचनले कसैको मनमा चोट पु¥यायो कि, कसैलाई अप्ठ्यारोमा प¥योकि, कुकर्ममा लाग्न उद्दत ग¥र्यो कि, कसैले आँशु झार्न विवश बनायोकि भनेर होस पुर्वक आत्म समिक्षा गर्दै कर्म गर्नु मन र कर्मलाई सफा गर्ने सजिलो ध्यान मध्ये एक हो । हिज आज हाम्रो देशमा ज्यादै अप्रिय घट्नाहरु घटिरहेका छन् । जसको जति निन्दा गरे पनि थोरै हुन्छ । देशका उप–प्रधान मन्त्री, गृहमन्त्री, गृहसचिव जस्ता व्यक्तिहरु मानव तस्कर मुद्दामा जेल यातना भोगिरहेका छन् ।
अरु कैयौं व्यक्तिहरु कानुनी दायरामा आउँन बाँकीनै होला । हत्या, हिंसा, आत्मा हत्या, चोरी, डकैती, बलात्कार जस्ता अपराधिक गतिविधिहरु दिन तिनगुणा रात चौगुणा वृद्धि भइरहेको छ । भ्रष्टचारको दलदलमा सिंगो देश चुर्लुम्म डुबेको छ । यी यावत घटनाहरु सेनिङ्वा सेसे । अर्थातः देश चलाउँने नेताहरुको मन सफा नभएको कारणबाट भइरहेको हो । महागुरु फाल्गुनन्दको भाषामा भन्ने हो भने, माक्निङ्वा, हेत्निङ्वा, फेन्निङ्वा सोगेन् सोमात लाभाक एप्माको दुष परिणाम हो । यो त अलिक टाढाको कुरा भयो । अनौठो त साँझ विहान स्वयम महागुरु फाल्गुनन्दको फोटो राखेर पुज्ने, ढोग्नेहरुको मन पनि सफा नभई प्रदुर्षित नै रहेछ ।
अर्थातः माकनिङ्वाले ग्रसित रहेछ । किनभने विगत र वर्तमानमा सतहमा देखिएका घट्नाहरु यसका दरिलो साँक्षी हुन् । महागुरु फाल्गुनन्दले २७ वर्षसम्म घुमीघुमी दिनुभएको बहुमुल्य सिवाखाहुन उपदेशलाई जनजनमा कसरी लागू गर्ने ? भन्ने सन्दर्भमा धार्मिक अभियन्ताहरुले गहँन अध्ययन गरेर योजना÷कार्यक्रम बनाउँनु आवश्यक छ । आजसम्मको इतिहासमा यस्तो किसिमको कार्य योजना बन्न सकेको छैन् । वर्तमान अवस्थामा महागुरु फाल्गुनन्दको अध्यात्मिक शिक्षा सिवाखाहुनलाई घरेलु शिक्षा अन्तर्गत समेटेर लानु सबैभन्दा प्रभावकारी हुने देखिन्छ । किनभने पहिलो गुरु भनेको आफ्नै आमा बाबु हुन भन्ने कुरा व्यवहारत सिद्ध भइसकेको छ ।
त्यसकारण आमा बाबुनै शिक्षित ज्ञानी हुन आवश्यक छ । आमा र बाबु मध्ये पनि नेपाली सामाजिक ढाँचा अनुसार बाबु तुलनात्मक हिसाबले भन्दा आमा बढी शिक्षित ज्ञानी हुन आवश्यक छ । किनभने बाबुको साथमा भन्दा आमाको साथमा छोराछोरीहरु बढी रहने गर्छन् । तसर्थ, आमाबाटनै छोराछोरी छोराछोरीले गर्न हुने, नहुने भन्न हुने नहुने विषयमा शिक्षा पाउँने अवसर प्राप्त गरेको हुन्छ । यसो भन्दा छोराछोरीप्रति बाबुको जिम्मेवारी नै हुँदैन भन्न खोजिएको भने कदापि होइन् ।
मुन्धुममा पनि सावागेन युपुङगेम्बाले पहिलो पटक छेपारो मारेर यसको मासु खान हुन्छकी हुँदैन ? भनेर आमालाई सोधेर आमाबाट शिक्षा लिएको पाइन्छ । कृषि युगको थालनीमा पनि सिवेरा याभोङगेक्नाले विभिन्न किसिमका बीउविजन छर्न÷रोप्न सिकाएको आख्यान श्रुति छ । मुन्धुमी विरासतमा विराजमान प्रधान इष्टदेवी युमामाङ पनि महिला नै थिइन । नामसामी केसामी दुवैले आफ्नी आमाको आदेशलाई इमान्दारपूर्वक पालना गरेको मुन्धुमी वर्णन रहिआएको छ ।
महागुरु फाल्गुनन्दले पनि आमाहरुलाई लक्ष्मी, देवीमाता भनेर सम्मानपूर्वक सम्बोधन गर्नु भएको पाइन्छ । यस कारण पनि घरेलु शिक्षामा आमाको भूमिका महत्वपूर्ण हुन्छ । बच्चालाई फकाएर÷हप्काएर काममा लगाउँनु काखमा राखेर दूध चुसाउनु, मायाले बोलाउँनु चुम्मा खानु स्नेह, बात्सल्य, प्रकट गर्नु इत्यादि क्रियाकलापले बच्चाको मनोविज्ञानमा कुनै न कुनै प्रकारको छाप पारेको हुन्छ । तर, विचारणीय पक्ष के छ भने ‘महिला’ आमा शिक्षित ज्ञानी हुनुका लागि शिक्षा, ज्ञान आर्जन गर्ने अवसर पाउँनु पर्छ ।
सिवाखाहुनहरु अध्ययन गर्ने, शिक्षित, ज्ञानी, पुरुषहरुसँग संगत गर्ने ज्ञानी पुरुषहरुको प्रवचन सुन्ने, अभ्यास गर्ने, अवसर पाउँनुपर्छ । तर हाम्रो समाजको संरचना त्यस्तो छैन् । आमालाई छोराछोरीसँग एक्लै घरमा छोडि राखेर सभा सम्मेलन गोष्ठी, धार्मिक अनुष्ठान, राजनीतिक सामाजिक सांस्कृतिक कार्यक्रमहरुमा भाग लिन बाबु मात्र जाने पुरुष हाबी हुने चलन हो । यस्तो सामाजिक अवस्थितिलाई आजैबाट, आफैबाट बदल्नु आवश्यक छ । ताकी अवसरको पहुँचमा आमाहरु पुग्न सकोस ।
महागुरु फाल्गुनन्दका बहुमुल्य एवम् बहुउपयोगी सिवाखाहुनलाई जनजनको मनमनमा स्थापित गर्न कसरी सकिन्छ ? भन्ने सन्दर्भमा धार्मिक अभियन्ताहरु ‘खासगरी महागुरु फाल्गुनन्दका विचार दर्शनको प्रचारकहरुले विषय वस्तुको गहँन अध्ययन् यथेष्ठ छलफल गरेर कार्य योजना निर्माण गर्नु आजको आवश्यकता रहेको छ । खोज्न सकेको खण्डमा सिवाखाहुन भित्र सुन्दर जीवन दर्शन, सुन्दर समाज र राष्ट्र भेट्न सकिन्छ ।
माङसेबुङ मासिकबाट