सेसेमी से नाल्बो
याक्थुङ् वा लिम्बू समुदायको मिमाङ्सा जस्तै किरातको मिमाङ्सा पनि सयौं विद्वानहरुले आ–आफ्नै खोज बुझाइ अनुसार ब्याख्या गर्दै आएको पाइन्छ । जी.पी. सिंह अनुसार ‘सम्पूर्ण तथ्याङ्कको तुलनात्मक अध्ययन गर्दा, केलाउँदा तथा ब्याख्या गर्दा प्राचिन किरातहरु कुनै जातिका थिएनन् तर तिनीहरु मिश्रित वर्गका उपज थिए भन्ने– प्रमाणित हुन्छ ।’ (सिंह, जी.पी. (टी.बी. राईद्वारा अनुवादित ३ प्राचिन भारतमा किरातहरु, सन् १९५०ः ७४) भनि उल्लेख गरेका छन् ।
किरातहरु कति पुरानो हुन् भन्ने विषयमा जी.पी. सिंहका अनुसार ‘किरातहरु अनि तिनीहरुका राजा घटक नरक राजासँग युद्धमा पराजित भएपछि अनि नरक राजाको उत्तराधिकारी औ न युधिष्ठिरका समकालिन भागदत राजाका म्लेच्छ सैन्य दल र चीनहरुसँग भारत महायुद्ध (खृष्टपूर्व ३१०२ इश्वी) मा तिनीहरुद्वारा भाग लिएकोले किरातहरु खृष्टपूर्व ३१०२ ईश्वीभन्दा धेरै अघि भारतमा बसोबास गर्थे’ भन्ने अकाट्य प्रमाण छ भनि लेखेका छन् । भारत तथा दक्षिण एसियामा बस्ने किरातहरु अधिकांस यहीँका उपज हुन् मंगोल जाति वा चीन र बर्माबाट आएका भन्नु विद्वानहरुले भूल गरेको ठहर गरेका छन् ।
तर, क्रिश्चियन युग आरम्भपछि भने तिब्बत, चिनिया, बर्मेलीहरु आएर भारतका पूराना जातिहरुसँग घुलमेल भइ बसे । वैदिककाल भन्दा पहिलेदेखि बस्दै आएका आदिम जातिहरु किरात भए अनि विस्तारै धेरै समयपछि गएर सबैले किरात शब्द संस्कृतिकरण गरे भनेका छन् । भारत वर्षको सबैभन्दा पुराना जाति नै किरात हुन भन्ने जी. बी. सिंहको ठम्याइ छ । अर्का विद्वान प्राचिन किरात इतिहासका लेखक डा. स्वामी प्रपन्नाचार्य उल्लेख गर्छन् किरात शब्द कुनै चीन, तिब्बती जातिका संस्कृतनिष्ठ नाम हो । कैयौं विद्वानहरुका अनुसार पूर्व नेपालमा बसोबास गर्ने तिब्बती वर्मनवर्गबाट किरातको उत्पत्ति मानेका छन् (प्रपन्नाचार्य २०५१ पृष्ठ ५५५) ।
विभिन्न विद्वानहरुको खोज, अनुसन्धानका तथ्यहरु हेर्दा समग्र भारत, वर्मा, श्रीलङ्का, नेपाल, भूटान थाइलेण्ड, पाकिस्तान, अफगानिस्तान, वंगलादेश मानौं दक्षिण एसियामा सर्वप्रथम किरात वर्ग वर्णका जातिहरुको आदिम वसोवास र सर्वसत्तावाद लामो समयसम्म चलेको थियो । टुक्रे टाक्रे, आपुङ्गी, कविला देखि चक्रवती सम्राटहरुले आ–आफ्नै राज्य चलाइ रहेका थिए । युगयुगान्तरपछि चीन, वर्मेलीहरु पनि आए अनि किरात भएर बसे । किरात वर्गको परिवार विशाल बनेर गयो । त्यसपछि पश्चिमबाट आर्यहरुको प्रवेश भयो दलबल सहित । अनि अलि–अलि गर्दै विस्तारै किरातहरुको सबै कुरा लिए ग्रहण गरे लुटे । सत्ता हात पारेपछि आफ्नै अनुकूलको शासन, भाषा, साहित्य, इतिहासको सिर्जना गर्दै लगेपछि वैदिक युगको आरम्भ गरे ।
काव्य, महाकाव्यहरु अनगिन्ती तयार गर्दै आए । त्यहीँबाट ब्राम्हणवादको शुरु गरे । काव्य, महाकाव्य, पुराण, पर्व, उपनिशदहरुमा एकाएक रचनाकारहरुले स्थानीय आदिमवासीहरुलाई म्लेच्छ, दस्यू, असुर, जंगली, असभ्य आदि विशेषण दिँदै गए । अनि ति शब्दहरुको अर्थ राख्दै शब्दकोश बनाउँदै गए । के कसरी हुन्छ ? दबाएर, हेपेर, पेलेर, लुटेर, मारे नोकर, हली–गोठालो, भरिया, खेतला उपमा दिई सिध्याउ तर्फ गएको पाइन्छ । के संज्ञा दिए आत्माग्लानी हुन्छ । विचार मार्न सकिन्छ । मन मरेपछि व्यक्ति सकिन्छ हुँदाहुँदै परिवार, समुदाय सकिन्छ भन्ने सूत्र प्रयोग गरेर रैथाने जातिलाई, राक्षस, चोर, फटाहा, लुटेरा आदि शब्दले सम्बोधन गरेको पाइन्छ ।
रैथाने जाति मसाउने नियदपूर्ण चंगुलमा फसेर किरात युग समाप्त भएको इतिहास छर्लङ्ग छ । त्यसैको पछिल्लो उपज हो अछुत, दलित, कमारा, वैश्य बनाउने रीत । सोही आदतले नेपाल पनि ग्रस्त छ । भारतमा किरात युगपछि आर्य युग स्थापना भएको थियो र त्यहीँ सिको गरेर नेपालमा पनि अठारौं शताब्दीको पूर्वाद्धमा किरात राज्यहरु अपदस्त गरि भारतीय वैदिक सूत्र प्रयोग गरि नयाँ नेपालको स्थापना भएको हो । तसर्थ, भारत वर्षमा जस्तै नेपालमा पनि सयौं वर्ष वितेर जान्छ तर नेपालका रैथाने जातिलाई दबाएरै राख्ने नियदपूर्ण खेल भइरहेको अवस्था हो ।
भारतमा प्राचिन जाति, वंश मसाउन हजारौं लेखक, रचनाकार, इतिहासकारले जानी जानी ऐतिहासिकता तोडमोड गरेको पाइन्छ । भारतीय किरातहरुको इतिहास बंग्याउने, सिध्याउने काम सुनीति कुमार च्याटर्जीले झै अनाहकमा भ्रम सिर्जना गरेर अर्थको अनर्थ बनाइ दिएका छन् । यस्ता दस्तावेजहरु एकतर्फी माग हेर्दा त सत्य लाग्छ । उदाहरणार्थ तमोर–मेवा शिर हिमाली क्षेत्र सोधुङ् वरक भनि याक्थुङ मुन्धुममा वर्णिन छ तर भर्खरै मात्र नेपाल सरकारले त्यो क्षेत्रलाई रामसार सिमार क्षेत्र (२०७६) घोषणा गरेको छ ।
अबको सयवर्षपछि मुन्धुममत र हिन्दू आर्यमत इतिहासमा विवादित बन्न जान्छ । अनि हाम्रा याक्थुङ् सन्ततिले समेत यो आर्यको प्राचिन मुलुक थियो भन्न थाल्छन् । आर्यहरुको इतिहास शिरोमणी बाबुराम आचार्यले फक्ताङ्लुङलाई कुम्भकर्ण, सेसेलुङ्लाई कन्चनजङ्गा, माक्लुङ्लाई मकालु र चम्जङ्लुङ्, चोमोलुङ्लाई सगरमाथा बनाइ शिरोमणी पगरी गुथेको ५० वर्ष वितेको छैन् ।
भारत वा नेपाल अथवा दक्षिण एसियामा मंगोलाइड (मंगोल) जातिहरु मंगोलियाबाट आर्यहरुको वैदिकालपछि आएको र यत्रतत्र सन्तान फैलिएको अपवाह इतिहास पनि पाइन्छ । आर्यभन्दा पछिमात्र मंगोलहरु दक्षिण एसिया आइपुगेपछि ‘किरात’ नामाकरण भएकोले किरात भन्दा आर्य संस्कृति जेठो हो पनि भन्नेहरू छन् । अनि बेलावखत ‘तिमेरु मंगोलबाट आएको मंगोलिया जाऊ’ भन्ने वचन पनि सुन्ने गरिन्छ । तर यो सत्य होइन । जापानी र चिनियाहरु भन्दा माथिको मंगोलियन दक्षिण एसिया आइपुग्न त्यति सजिलो र सम्भव छैन् । जातिको अनुहार, नश्ल मिल्दैमा मात्र सत्यतथ्य नहुन सक्छ । त्यो जाति (समुदाय) को मुन्धुम् दर्शनको मिमाङ्सा के, कस्तो छ ? त्यो पनि बुझ्न र जान्न जरुर छ ।
हालसम्म प्राप्त भएका पूर्वज पूर्खाहरुको अवशेस अनुसार नेपाल अमेरिकी वैज्ञानिक अभियानको कार्यदलले वि.स. २०३७ (इ.स. १५८०) मा १ करोड १० हजार वर्ष अघिको (अधिकार २०७५ पृष्ठ ५३) दक्षिण एसियाको नेपाल मै फेला पार्नु विश्वको दोस्रो र एशियाको पहिलो विश्व महामानव रामापिथेकस (नेपिथेकस वा बुटवल पिथेकस) ले र हालसम्मका मानव शास्त्रीहरुबाट आजभन्दा १० हजार वर्षपहिले नै नेपालमा मानव सभ्यताको विकास भइसकेको तथ्य उल्लेख गरेको पाइन्छ । तसर्थ आर्यपछि मंगोलाइड आएको कुरा झुट हो । मंगोलाइडको मानव उत्पति गोभिमरुभूमि मानव सरोबर ताक्लाकान क्षेत्रबाट भएको मानवविज्ञान र याक्थुङ् मुन्धुमीमत छ भने आर्य यूरोपको ककेस क्षेत्रलाई उत्पतिको उद्गम मानेको छ लौ भनौ बुझुँ को चाहिँ आएको सूर्य भै छर्लङ्गै छ ।
वैदिककाल भन्दा पहिले सृष्टिको उषाकाल–अर्बाचीनकाल–प्राग ऐतिहासिककालदेखि नै अनन्तरुपमा आदिमवासीको रुपमा बस्दै आएका जातिलाई आर्यहरुले ‘किरात’ नाम दिएको ठहर गरेका छन् जी. पी. सिंहले (सिंह, सन् १८५० ः ३५३) । इमानसिंह चेम्जोङ् अनुसार ‘वर्तमान नेपालका पहाडि प्रदेशलाई अधि किरात देश भनिन्थ्यो ।’ ती किरात देशका किरातीहरुको पूर्खा भने इ.पूर्व. ४ हजार तिर परसियाको दक्षिणभूमिमा सौमर वंश बस्थे । ती सौमरवंश र नेपालमा रहेका किरातीहरुको मुन्धुम विधि मिल्छ भनेका छन् । अझ् कामरुपमा सौमरवंश परिवारले राज्य गरे सौमर वंशलाई मंगोल पनि भनिन्छ भनि उल्लेख छ (चेम्जोङ् २०५४ ः १) । तर अन्य इतिहासकारहरुको खोज अनुसार यस क्षेत्रमा हजारौं वर्ष पहिलेदेखि किरात बसेको र यहीँ हिमाली क्षेत्रको आसपासमा उत्पत्ति भइ सभ्यताको विरासत चलाएको प्रमाणहरु पेश गरेका छन् ।
याक्थुङ् शब्द खोज्न याक्थुङ् भाषा र मुन्धुम् अध्ययन गर्नै पर्ने हुन्छ । अनि महाभारत पनि पढ्नै पर्छ । त्यसरी नै किरात शब्द खोज्न पात्रहरु चिन्न बुझ्न ऋगवेद पढ्नै पर्छ । त्यसपछि भारत वर्षका सबै पुराणहरु हेर्नै पर्ने हुन्छ । किरातहरू कहाँ, को थिए सबै उल्लेख छ । राजा, महाराजा, चक्रवती सम्राटहरुको इतिश्रीको ज्ञान हुन्छ । वर्तमान नेपाल, भूटान, सिक्किम, तिब्बत प्राचिनकालमा किरात सम्राटहरुले राज्य सञ्चालन गरेको पाइन्छ । जी.पी. सिंह, डा. प्रपन्नाचार्य जस्ता विद्वान लेखकहरुले दक्षिण एसियाका किरात सम्राट, राजा, महाराजाको नाम र देशको व्यापक उल्लेख गरेपनि तिनीहरुसँग समकालिन याक्थुङ मुन्धुमको अध्ययन गर्ने ज्ञान नपाएकोले याक्थुङ् भित्रको राजा महाराज, चक्रवती सम्राट, कसैको नाम उल्लेख गर्न सकेनन् आफ्नो खोज किताबहरुमा ।
याक्थुङ मुन्धुम् भित्र अध्याधिक पात्रहरु छन् त्यसरीनै याक्थुङ देशका सयौं राजा, महाराजहरुका नाम छ । पक्कै पनि कामरुपमा विष्णु, नकरासुर, भगदत हुँदा सोनितपुरमा बलिहाङ, बानासुर भएझै याक्थुङ् लाजेमा, येहाङ, माङ्हाङ, कान्देनहाङ, साङ्धुङ्गे, लासाहाङहरु थिए होलान् । मुन्धुम्मा वर्णित साम्बाहाङ येप्लीङ्हाङ नै शम्बर किरात हुन सक्छ किन कि वैदिक इतिहासमा सम्बरले सम्पूर्ण हिमालमा सयौं किल्ला गढ बनाएर राज्य गर्थे भनि उल्लेख छ (प्रपन्नाचार्य २०५१ः२२) । इन्द्रले चालिस वर्षसम्म युद्ध गरेपनि जित्न नसकेपछि जालझेल गरेर सुतिरहेको अवस्थामा झुक्याएर मारेको इतिहास पाइन्छ ।
प्राग ऐतिहासिककालमै दक्षिण एसिया भरि मानव इतिहासले पटकौं काँचुली फेरिसकेको प्रमाणित हुन्छ । ती मानव सभ्यता भन्दा मंगोलियाको मंगोलियन सभ्यता कति पुरानो हो ? वर्तमान नेपालको याक्थुङ् सभ्यता र चीनको ह्वड्हो सभ्यता, युरोपको युनानी सभ्यता, मोहनजोदारो, हडप्पा अथवा सिन्धु सभ्यता समकालिन त होइन ? तुलनात्मक अध्ययन्को खाँचो छ । याक्थुङ सभ्यताको याक्थुङ मुन्धुम् दर्शनले हजारौं वर्ष पहिलेनै इक्सादिङ खाम्बेक् (इक्सा–घुम्छ । तिङ्= फैलावट । खाम्बेक् = ज्ञ. जगत÷जमिन÷भूगोल) अर्थात पृथ्वी घुम्छ, गोलो छ भन्ने विवेचना गर्दछ । त्यसरीनै पोरोक्मी यम्भामीमाङ्ले वयागेन् पङ्लुङ लेप्तुल्ले इक्सा खाम्बेक् पोक्खे अर्थात सुन्यतामा झुण्डिरहेको विशाल अग्निबाट आकषर्ण विकर्षण हुँदा उछिट्टिएर, चोइटिएर यो घुम्ने गोलो छ, घुम्छ भनेर केही शताब्दी अघि मात्र वैज्ञानिकले पत्ता लगाएका थिए ।
एसिया महादेशमा ठूलो जनसंख्याको रुपमा रहेको किरात वा मंगोल जाति जे भनेपनि उत्पत्ति, नश्लको हिसावले एउटै वंश परिवार हुन् । कालान्तरमा छरिएर, बाँडिएर आ–आफ्नै सभ्यता र विरासतको स्थापना गरेका छन् । पछिल्लो चरणमा दक्षिण एसियामा प्रवेश गरेका आर्यहरुले वैदिककाल सुरुगरेपछि यहाँका आदिवासीलाई सिध्याउन एसियन मूलकालाई फुटाउने, टुटाउने जालसाझको राजनीति काव्यनीति र सिर्जना गरेको पाइन्छ । इतिहास लेखनमा मंगोलबाट आएको मंगोलियन हुन् भनेर भ्रमको खेती गरेको पाइन्छ ।
अझ इण्डो आर्य भन्न पनि पछि परेनन् । चीनको सभ्यता विश्वकै पूरानो सभ्यता हो भनेर बुझ्दा बुझ्दै पनि गुपचुप राखिएको छ । अझ् यहाँका आदिमवासीको आधारलाई कमजोर बनाउन चीनभन्दा टाढाको मंगोलियाबाट आएका हुन् भन्न पनि पछि परेनन् । वैदिक युग स्थापना गर्ने आर्यहरुपछि भारतमा क्रिश्चियन युग आरम्भ भयो अनि क्रिश्चियन लेखकहरुले त झन दक्षिण एसियनहरुको ऐतिहासिक, पहिचान सबै बग्याई दिइ सिध्याए ।
किरातहरुले बनाएको आधार र क्रिश्चियनहरूले आधुनिक, भौतिक विकास गरेको उपजले दक्षिण एसियामा वर्तमान भारतको आर्य सम्पदा मजवुद भएको हो । नेपालको हकमा पनि त्यहिँ सूत्र लागू भएको छ । भारत देशको भाग्य निर्माता ब्रिटिस हो भने रहलपहल किरात अस्तित्व सिध्याउने पनि ब्रिटिस नै भयो । ब्रिटिस साम्राज्य कालमानै वर्तमान नेपाल स्थापना भएको हो । नेपाल स्थापना हुँदा ब्रिटिसबाट बचेका किरात राज्यहरु मसाएर, गाभेर बनाइएकोले दक्षिण एसियाको हिमाली किरात राज्यहरुको अस्तित्व पनि सकिएको थियो ।
यो ब्रिटिस साम्राज्यवादले भारत आर्यहरुको थप नयाँ देश नेपालको जन्म भयो । भारत र नेपालका शासक ब्राम्हणवादी आर्यहरुको पूर्खा एउटै हो । भारतमा राष्ट्रवादको लागि देश चलिरहेको छ र विश्वको चौथो शक्तिको रुपमा उभिएको छ । वि.सं. २००४ ब्रिटिस उपनिवेशबाट मुक्त भएको देश र ठीक उल्टो वि.सं. १८३१ सालमै नयाँ नेपालको निर्माण भए पनि आर्य जातिवादी राज्य शासनले विश्वको गरीब राष्ट्रहरुमा तेस्रो स्थान ओगोटेर बसेको छ ।
दक्षिण एसिया किरात समुदायको पहिलो भूमि हो । वैदिक आर्ययुग र क्रिश्चियन युगले ध्वस्त भएपनि वैदिक साहित्यमा बाँचिरहेको छ । किरात समुदायले किरात भन्न छोड्दै गएनि भारत र नेपालमा केहि समुदाय छँदैछन् । नेपालमा याक्थुङ÷याक्खा, सुनुवार, राईहरुले किरात समुदायको वर्ग गर्छन् । एसिया महादेशको प्रारम्भिक जाति, वंश, समुदायलाई तीन समूहमा बाड्न सकिन्छ । (१) हिमालय दक्षिणका सम्पूर्ण आदिम जातिहरुलाई किरात, (२) मध्यभागमा बस्ने चिनिया (चिनी) र (३) उत्तरमा बस्नेहरु मंगोल (मंगोलियन) भएको देखिन्छ ।
प्राग ऐतिहासिक कालदेखिनै उत्तरका मंगोलहरुको आफ्नै विरासत छ भने मध्य एसियाका चिनी, जापनीको आफ्नै किसिमको विरासत पाइन्छ । त्यसैगरी दक्षिण एसियालीहरुको आफ्नै किसिमको विरासत रहि आएको छ । फरक यदि हो मंगोल, चीन र जापान सदावहार युगयुग अस्तित्वमा रहिआएका छन् भने दक्षिणका किरात अस्तित्व मेटिदै गएको अवस्था छ । तसर्थ उत्पत्ति, पूर्खा, नश्ल एउटै भएपनि हिमालयन दक्षिण बस्नेहरु सबै किरात हुन् ।
एक समुदायले अर्को समुदायलाई नाम राखि दिने चलन पुरानै हो । लिम्बूले पनि बाहुप पामना (झुसुले), क्षेत्री (पिनी), मगर (लेम्देम्बा), तामाङ (पित्लाङ्जवा), राई (सिङसेबा), सेर्पा (मुदेम्बा), कामी (फेम्बा), नेवार (सिङ्हेक्पा), गुरुङ् (पेल्लुके), दमाई (चिरिक्के), सार्की (साहोबे), कुमाक्ला (मधेसे÷हब्सी), गोरा (मिक्फुला) आदि विशेषणले चिन्ने गरिन्छ । यो समुदायिक विम्वले पहिचान र बोध गर्न सहज तुल्याउँछ । समुदायको क्रियाकलाप, रंगरुप, आचरण, कर्म विशेष नामाकरण हुने, गरिने प्रचलन रहँदै आएको यर्थात हो । तसर्थ दक्षिण एसियामा बसोबास गर्ने जाति समुदायहरुलाई वैदिक कालमा आर्य सर्जकहरुले किरात नाम राखिदिए ।
किरात शब्दको अर्थ जंगली, नागा, असभ्य, चोर, सुंगुर, पाल्ने (खाने), फोहोरी, लडाकू, वैश्य, सुत्र, दस्यू, निच, म्लेच्छ, दानव, दैत्य, चतुर, सुन्दर, कमारा, नोकर आदि जे नाम दिए पनि समुदायको नश्लिय विम्ब, संकेत, पहिचान विशेषको नाम हो ।
नयाँ मुलुकमा आएर रैथानेहरुलाई विम्वित गरी लेखिएको आर्य साहित्यिक नाम किरात नै कालान्तरमा आएर दक्षिण एसियाका आदिम जातिको सामूहिक पहिचानको सबैभन्दा पुरानो अभिलिखित शब्द किरात हो । साझा घर, साझा पहिचान, लेखित प्राचिन साझा ढुकढुकीको रुपमा बाँचेको अकाट्य प्रमाण किरात शब्द मात्र छ । तसर्थ हिमालयन दक्षिणका आदिम जातिहरुको नश्लिय एकताको नाम निर्विकल्प किरात नै हो ।
इतिहासमा लिम्बुवान पुस्तकबाट