ज्ञानु केदेम लिम्बू
इलाम/नेपालको राष्ट्रिय जनगणना–२०७८ को नतिजा करिब १ वर्ष ४ महिनापछि सार्वजजिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले गत चैत १० गते राष्ट्रिय जनगणना २०७८ को नतिजा सावर्जनिक गर्नुभएको हो ।
केन्द्रीय तथ्याङ्क विभागले २०७८ माघ १२ गते जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । प्रारम्भिक नजिता सार्वजनिक गरेको १ वर्ष २ महिना बढि समयमा मात्र पूर्ण विवरण सार्वजनिक गरेको छ । यसमा जनगणना–२०७८ को नतिजा सार्वजनिक गर्न जातजाति, भाषा र धर्मको तथ्यांकले बढि सकस परेको जनाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा सावर्जनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसंख्याका आधारमा विकासका नयाँ योजना र नीतिहरु बनाइने र जनसंख्याको विस्तृत नतिजाले तीनवटै तहका सरकारलाई नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ देखाएको छ । वार्षिक जनसंख्या वृद्धि दर ०.९२ प्रतिशत रहेको छ । जनगणना २०७८ अनुसार नेपालको हिमाली क्षेत्रको जनसंख्या ६.०८, पहाडी क्षेत्रको जनसंख्या ४०.३१ र तराई क्षेत्रको जनसंख्या ५३.६१ प्रतिशत रहेको छ । जनगणना अनुसार सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं हो भने सबभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ हो ।
१२ औं राष्ट्रिय जनगणना २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म देश व्यापी सञ्चालन गरिएको थियो । राष्ट्रिय तथ्याङ्क कार्यालयले केवल जनगणनाका तथ्यांक मात्र सार्वजनिक गर्दैन । त्यसको प्रभावकारिता, नीति र योजनामा तथ्याङ्कको उपादेयता आदिका बारेमा समेत वकालत पनि गर्दछ ।
कुन भाषा बोल्ने कति ?
नेपालको कुल जनसंख्याको झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली भएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जेठ तेस्रो साता सार्वजनिक मातृभाषा सम्बन्धी तथ्यांकअनुसार ४४.८६ प्रतिशतको मातृभाषा नेपाली रहेको छ ।
जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै १ करोड ३० लाख ८४ हजार ४५७ जनाको मातृभाषा नेपाली हो । नेपालीपछि मैथिली मातृभाषा हुनेको संख्या धेरै छ । ३२ लाख २२ हजार ३८९ जना अर्थात ११.०५ प्रतिशतको मातृभाषा मैथिली छ । भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८, तामाङ, ४.८८, बजिका ३.८९, अवधि २.९६, नेवारी २.९६ र २.७८ प्रतिशतको मातृभाषा मगर धुत रहेको छ ।
जनगणनाअनुसार नेपालमा १२७ भाषाभाषी रहेका छन् । सबभन्दा कम कुसुण्डा भाषाका छन् । यो भाषा मातृभाषा हुनेको संख्या २३ जना मात्र छ । यस्तै बन्करिया मातृभाषा भएकाहरुको संख्या पनि ८६ मात्र रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । प्रकाशित नतिजा अनुसार महिलाको जनसंख्या १,४९,११,०२७ (५१.१३ प्रति शत) रहेको छ भने पुरुषको जनसंख्या १,४२,५३,५५१ (४८.८७) प्रतिशत रहेको छ । त्यसैगरी जनगणनाले सक्रिय उमेर (१५–५९) वर्ष समूहको जनसंख्या ६१.९६, बाल आश्रि त (०–१४) वर्ष समूहको जनसंख्या २७.८३ र ज्येष्ठ आश्रित ६० वर्ष भन्दा माथिको जनसंख्या १०.२१ प्रतिशत देखाएको छ ।
२०६८ सालको जनगणनाको तुलनामा यस जनगणनामा १० प्रतिशत अर्थात २६,७०,०७४ जनसंख्या बढेको छ । जनगणना अनुसार नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । जनगणनाले नेपालमा ४३ वटा जिल्लाको जनसंख्या वृद्धिदर धनात्मक देखाएको छ भने हिमाल र पहाडका ३४ वटा जिल्लाको जनसंख्या वृद्धि दर ऋणात्मक देखाएको छ । लैंगिक अनुपात ९५.५९ रहेको छ भने जनघनत्व १९८ प्रति वर्ग किलोमिटर रहेको छ ।
जनगणनाबाट उपलब्ध भएका तथ्यांकले सुशासनको अभिवृद्धि, दिगो विकासको लक्ष्य, जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले गरेका प्रतिबद्धता र अन्य राष्ट्रिय विकास लक्ष्यहरूको अनुगमन र मूल्याङ्कन तथा विद्यमान सूचकहरूको प्रगति मापनमा सहयोग पुग्ने तथ्याङक विभागले जनाएको छ ।
कुन जाति र समुदाय कति ?
तथ्यांकअनुसार जनगणना–२०७८ मा नेपालमा बसोबास गर्ने जातजातिको संख्या १४२ पुगेको छ । जनगणना–२०६८ मा १२५ देखिएको जातजातिमा थप १७ नयाँ जाति पहिचान भई जातजातिको संख्या १४२ पुगेको हो ।
जातजातिमा क्षेत्री समुदाय सबैभन्दा धेरै १६.४५ प्रतिशत देखिएको छ भने दोस्रोमा पहाडी ब्राह्मण समुदाय ११.२९ प्रतिशत रहेको छ । तेस्रो स्थानमा मगर ६.९ प्रतिशत छ । त्यसैगरी थारु ६.२ प्रतिशत, तामाङ ५.६२ प्रतिशत, विश्वकर्मा ५.०४ प्रतिशत, मुसलमान ४.८६ प्रतिशत रहेको छ ।
यसरीनै अन्य जातजातिमा नेवार ४.६ प्रतिशत, यादव ४.२१ प्रतिशत, राई २.२ प्रतिशत, परियार १.९४ प्रतिशत, गुरुङ १.८६ प्रतिशत, ठकुरी १.७ प्रतिशत, मिजार १.५५ प्रतिशत, तेली १.४८ प्रतिशत, लिम्बू÷याक्थुङ १.४२ प्रतिशत छ । भने चमार १.३५ प्रतिशत, कोइरी १.२२ प्रतिशत देखिएका छन् ।
जनगणनाको तथ्याङ्क अनुसार जम्मा १४२ मध्ये १८ जातिको १ प्रतिशतभन्दा धेरै जनसंख्या देखिएको छ । बाँकी १२४ जातजातिको जनसंख्या १% भन्दा कम अनुपातमा रहेको छ । जनगणना २०७८ मा याक्थुङ÷लिम्बु जातिको जनसंख्या ४,१४,७०४ अर्थात १.४२% प्रतिशत, याक्थुङ÷लिम्बु पुर्खाको भाषा बोल्ने ४,०८,५७७ अर्थात १.४०% प्रतिशत रहेको छ । भने, याक्थुङ/लिम्बु मातृभाषा बोल्ने ३,५०,४३६ अर्थात १.२% प्रतिशत र याक्थुङ÷लिम्बु दोस्रो भाषा बोल्ने १९,७०५ अर्थात ०.०७% प्रतिशत रहेको तथ्याङ विभागले देखाएको छ ।
१४२ जातजातिलाई विभिन्न तरिकाले वर्गीकरण गर्न सकिन्छ । संविधानले परिभाषा गरेको खस–आर्य समुदायभित्र पहाडि ब्राह्मण, क्षेत्री, ठकुरी र दशनामी पर्दछन् । क्षेत्री १६.४५ प्रतिशत, पहाडी ब्राह्मण ११.२९ प्रतिशत, ठकुरीको १.७ प्रतिशत र सन्यासी–दशनामी ०.७८ प्रतिशतलाई जोड्दा ३०.२२ प्रतिशत हुन्छ ।
खस–आर्य समुदायसँग निकटतम् नश्लील सम्बन्ध राख्ने ठानिएका पहाडि दलितका तीन समूह विश्वकर्मा, परियार र मिजारको क्रमशः ५.०४ प्रतिशत, परियार १.९४ प्रतिशत, मिजार १.५५ प्रतिशत समेत यसमा जोड्ने हो भने यस समुदायको जनसंख्या अनुपात ३८.७५ प्रतिशत हुन्छ । पहाडि दलितका तीन ठूला समुदायको कुल जनसंख्या भने ८.५३ प्रतिशत छ यसमा गाइनेको ०.०२ र वादी समुदायको ०.०४ समेत जोड्दा ८.५९ प्रतिशत हुन्छ ।
मधेसी ब्राह्मणको जनसंख्या अनुपात ०.७५ प्रतिशत अर्थात् २, १७, ७७४ छ । यदि, पहाडि र मधेसी दुवै ब्राह्मण जनसंख्यालाई एक ठाउँमा देखाउने हो भने ब्राह्मण जाति १२.०४ प्रतिशत हुन्छ । त्यसैगरी, तराईको क्षेत्री समुदाय मानिने राजपूतहरूको जनसंख्या ०.१६ प्रतिशत देखिएको छ । यदि, पहाड र मधेस दुवैतिरको क्षेत्रीय समुदाय र निकटतम् देखिने ठकुरी समेतलाई एउटा डालोमा राख्ने हो भने १८.३१ प्रतिशत हुन्छ ।
तराई दलित समुदायमा भने सबैभन्दा धेरै जनसंख्या भएको जाति हरिजन (चमार–राम) देखिएको छ । हरिजन समुदायको जनसंख्या १.३५ प्रतिशत छ भने दोस्रो स्थानमा मुसहर समुदायको जनसंख्या ०.९१ प्रतिशत छ । त्यसैगरी तराई दलितका अन्य समुदायको जनसंख्या क्रमशः पासवान ०.८६ प्रतिशत, तत्मा ०.४३ प्रतिशत, खत्वे ०.४३ प्रतिशत, धोबी ०.३५ प्रतिशत, लोहार ०.३५ प्रतिशत, कुम्हार ०.३३ प्रतिशत, सोनार ०.३२ प्रतिशत, बातर ०.२१ प्रतिशत, कहार ०.२१ प्रतिशत, भूमिहर ०.११ प्रतिशत, कोरी ०.०७ प्रतिशत, डुम ०.०७ प्रतिशत, माली ०.०७ प्रतिशत, खटिक ०.०१ प्रतिशत, सर्वरिया ०.०२ प्रतिशत, धन्कार ०.०१ प्रतिशत, कुशवाडिया ०.०१ प्रतिशत, हल्खोर ०.०१ प्रतिशत, चिडिमार ०.०१ प्रतिशत गरी र अन्य दलित गरी ६.२ प्रतिशत छ । पहाडी र मधेसी दलितको कुल जनसंख्या अनुपात १४.७९ प्रतिशत हुन्छ ।
मुस्लिम समुदायको तथ्यांक भने रोचक प्रकृतिको छ । धर्मका आधारमा इस्लाम धर्म ५.०९ प्रतिशत छ भने जातिका आधारमा मुसलमान ४.८६ प्रतिशत मात्र देखिन्छ । भाषाका आधारमा उर्दू मातृभाषी १.४२ प्रतिशत मात्र छन् । पहाडि आदिवासी जनजाति समुदायमा सबैभन्दा धेरै जनसंख्या मगरको छ । मगर ६.९ प्रतिशत, दोस्रोमा तामाङ ५.६२ प्रतिशत छ । त्यसपछि क्रमशः नेवार ४.६ प्रतिशत, राई २.२ प्रतिशत, गुरुङ १.८६ प्रतिशत, लिम्बू÷याक्थुङ १.४२ प्रतिशत, शेर्पा ०.४५ प्रतिशत, कुमाल ०.४४ प्रतिशत, भुजेल ०.४१ प्रतिशत, माझी ०.३८ प्रतिशत, चेपाङ ०.२९ प्रतिशत, सुनुवार ०.२७ प्रतिशत, घले ०.१२ प्रतिशत, कुलुङ ०.११ प्रतिशत, धामी ०.११ प्रतिशत, दराई ०.०६ प्रतिशत, याख्खा ०.०६ प्रतिशत, वोटे ०.०५ प्रतिशत, वान्तावा ०.०५ प्रतिशत, चाम्लिङ ०.०४ प्रतिशत, थकाली ०.०४ प्रतिशत, छन्त्याल ०.०४ प्रतिशत रहेको छ ।
यसैगरी हेल्मो ०.०३ प्रतिशत, याम्फु ०.०३ प्रतिशत, बराम ०.०३ प्रतिशत, नाछारिङ ०.०३ प्रतिशत, वाहिङ ०.०२, जिरेल ०.०२, खालिङ ०.०२ थुलुङ ०.०२ प्रतिशत, आठपहरिया, ०.०२ प्रतिशत, डोल्पो ०.०२ प्रतिशत, मेवाहाङ ०.०२ प्रतिशत, ब्यासी ०.०२ प्रतिशत, दुरा ०.०२ प्रतिशत, साम्पाङ ०.०२ प्रतिशत, चुम्बानुब्री ०.०२ प्रतिशत, लेप्चा ०.१ प्रतिशत, हायु ०.०१ प्रतिशत, लोहारुङ ०.०१ प्रतिशत, र अन्य केही साना जनजाति समूहसमेत २६.५१ प्रतिशत रहेका छन् ।
मधेसी आदिवासी जनजाति समुदायमा सबैभन्दा धेरै जनसंख्या थारू समुदायको ६.३ प्रतिशत छ । अन्य मधेसी जनजातिहरू क्रमशः राजवंशी ०.४५ प्रतिशत, रानाथारू ०.२९ प्रतिशत, दनुवार ०.२८ प्रतिशत, सतार ०.२ प्रतिशत, कुडुक ०.१६ प्रतिशत, धिमाल ०.०९ प्रतिशत, खसास ०.०८ प्रतिशत, ताजपुरिया ०.०७ प्रतिशत, गन्गाई ०.१४ प्रतिशत, पहारी ०.०५ प्रतिशत, मेचे ०.०२ प्रतिशत, राजी ०.०२ प्रतिशत, मुन्डा ०.०१ प्रतिशत, रोङ ०.०१ प्रतिशत, किसान ०.०१ प्रतिशत र अन्य केही गरी ८ प्रतिशत हुन्छ । पहाडि र मधेसी आदिवासी जनजति समुदायलाई एक ठाउँ गर्दा आदिवासी जनजाति जनसंख्या ३४.५१ प्रतिशत हुन्छ ।
मधेसी समुदायमा भने सबैभन्दा धेरै जनसंख्या यादव जातिको ४.२१ प्रतिशत छ । अन्य मधेसी समुदाय क्रमशः तेली १.४८ प्रतिशत, कोइरी १.२२ प्रतिशत, कुर्मी ०.९५ प्रतिशत, धानुक ०.८६ प्रतिशत, ब्राह्मण ०.७५ प्रतिशत, मल्लाह ०.७१ प्रतिशत, केवट ०.६३ प्रतिशत, कानु ०.५२ प्रतिशत, ठाकुर ०.४७ प्रतिशत, कलवार ०.४६ प्रतिशत, नुनिया ०.३७ प्रतिशत, सुँडी ०.३७ प्रतिशत, हलुवाई ०.२५ प्रतिशत, बनियाँ ०.१८ प्रतिशत, कठबनिया ०.१८ प्रतिशत, राजपूत ०.१६ प्रतिशत, अमात ०.१६ प्रतिशत, लोध ०.१४, भेडियार ०.१४, मारवाडी ०.१२ प्रतिशत,कायस्थ ०.११ प्रतिशत, राजभोर ०.१ प्रतिशत, रौनियार ०.०९ प्रतिशत र अन्य केही गरी १४.२२ प्रतिशत हुन्छ ।
मधेसी समुदायको १४.२२, मधेसी दलितको ६.२ प्रतिशत र मधेसी जनजाति ८ प्रतिशतलाई एक ठाउँ गर्दा मुसलमानलाई छोडेर मधेसी समुदायको जनसंख्या २८.५२ प्रतिशत हुन्छ । यसमा मुस्लिम समुदायको (मुस्लिम समुदाय पहाडका नगन्य छ भन्ने मान्यतामा ) ४.८६ प्रतिशत समेत जोड्दा ३३.३८ प्रतिशत हुन्छ ।
तीन ठूलो सामुदायिक वर्गीकरण पहाडी दलित सहितको खस–आर्य, मुस्लिमसहितको मधेसी, मधेसी आदिवासी जनजाति तथा मधेसी दलित र पहाडी आदिवासी जनजातिमा वर्गीकरण गर्दा यसको अनुपात क्रमशः ३८.७५ प्रतिशत, ३३.३८ प्रतिशत र २६.५१ प्रतिशत हुन्छ ।
कुन धर्म मान्ने कति ?
नेपालमा सबैभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको तथ्याङक सार्वजजिक गरिएको छ । सार्वजजिक तथ्याङक अनुसार ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक गत जेठ तेस्रो साता सार्वजनिक भएको छ, जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास रहेको छ ।
जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् । यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् ।
१४ लाख ८३ हजार ६६ जना अर्थात ५.०९ प्रतिशतले इस्लाम, ९ लाख २४ हजार २०४ जना अर्थात ३.१७ प्रतिशतले किरात र ५ लाख १२ हजार ३१३ जना अर्थात १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
राष्ट्रिय जनगणना –२०६८ अनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरु थिए । उनीहरुको संख्या थोरै घटेको पाइएको छ । जनगणना २०७८ अनुसार हिन्दु ०.११ र बौद्ध धर्मावलम्बी ०.७९ प्रतिशत घटेका छन् ।
इस्लाम, किरातसँगै क्रिश्चियन धर्म मान्नेहरुको संख्या भने थोरै बढेको छ । जनगणना २०६८ अनुसार इस्लाम धर्म मान्नेहरु ४.४ प्रतिशत थिए । यो ०.६९ बढेर ५.०९ प्रतिशत पुगेको छ । किरात धर्म मान्नेहरुको संख्या ०.०७ प्रतिशतले बढेको छ । २०६८ मा ३.१ प्रतिशत रहेको किरात धर्मावलम्बीहरुको संख्या यो पटक ३.१७ प्रतिशत पुगेको छ ।
क्रिश्चियन धर्म मान्नेहरुको संख्या ०.३६ प्रतिशत बढेको छ । २०६८ मा १.४ थियो, जुन यो पटक बढेर १.७६ पुगेको छ । यस्तै प्रकृति, जैन र शिख धर्म मान्नेहरुको संख्या केही कम हुँदा बोन धर्मावलम्बीको संख्या भने थोरै थपिएको तथ्याङक विभागले जनाएको छ ।
इलाममा जाति र धर्मको विवरण
इलाममा कूल जनसंख्या २ लाख ७९ हजार ५३४ जना मध्ये सबैभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको तथ्याङक सार्वजजिक भएको छ । तथ्याङक अनुसार १ लाख २३ हजार ५३३ जनाले हिन्दु धर्म मान्ने गरेको छ ।
यस्तै दोस्रोमा १ लाख १ हजार १९२ जनाले किरात धर्म मान्ने गरेका छन् । भने, ४४ हजार ६२७ जनाले बौद्ध धर्म मान्ने गरेको तथ्याङ्कमा देखिएको छ । ९ हजार ८२५ जनाले क्रिश्चियन धर्म र २२९ जनाले इस्लाम धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । राष्ट्रिय जनगणना –२०७८ अनुसार इलाममा ८५ जनाले प्रकृति र ४३ जनाले बोन धर्म मान्ने गरेका छन् ।
१० वटा स्थानीय तह रहेको इलाममा माइजोगमाई गाउँपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, फाक्फोकथुम गाउँपालिका, माइ नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिकामा हिन्दु धर्मावलम्बीको संख्या बढि रहेको छ । भने, माङसेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका, सन्दकपुर गाउँपालिका लगायतमा किरात धर्म मान्नेहरुको संख्या अरु भन्दा बढि रहेको छ ।
जनगणना–२०७८ तथ्याङकअनुसार इलाममा बसोबास गर्ने जातजातिको संख्या २४ देखाएको छ । जातजातिमा राई समुदाय सबैभन्दा धेरै ५८ हजार ११३ जना देखिएको छ भने दोस्रोमा लिम्बू÷याक्थुङ समुदाय ४५ हजार ७ जना रहेको छ । तेस्रो स्थानमा क्षेत्री ३८ हजार ८५६ जना, ब्राहमन ३५ हजार ५६९ जना र तामाङ १९ हजार ७४६ जना रहेका छन् ।
यसरीनै मगर १४ हजार ५५१ जना, नेवार १० हजार ५०२ जना र विश्वकर्मा ९ हजार ७८३ जना तथ्याङकमा देखाइएको छ । गुरुङ ८ हजार ५०८ जना, परियार ४ हजार १३० जना, सुनुवार ३ हजार ९४२ जना तथा शेर्पा ३ हजार ४२३ जना रहेका छन् ।
वान्तावा ३ हजार ४१७ जना, लेप्चा २ हजार ९८३ जना, भूजेल १ हजार ७३९ जना, कुलुङ १ हजार ५६८ जना, मेवाहाङ १ हजार ४८१ जना रहेका छन् । भने, सन्यासी÷दशनामी १ हजार ४३० जना, साम्पाङ १ हजार ४२६ जना, याक्खा १ हजार ३०८ जना, ह्योल्मो १ हजार २४० जना, मिजार १ हजार २१९ जना, याम्फु १ हजार १४० जना र चाम्लीङ १ हजार ३६ जना रहेको तथ्याङ्क विभागले देखाएको छ ।
जनगणनामा किरात धर्म
वि.स २०७८ को जनगणना अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना मध्ये ९ लाख २४ हजार २०४ जना अर्थात ३.१७ प्रतिशतले धर्मको महलमा किरात धर्म लेखाएका छन् । तथ्याङ्क अनुसार वि.स. २०६८–२०७८ को दशकमा किरात धर्मावलम्बीहरुको जनसंख्या १ लाख १७ हजार ३५ जना बढेको छ ।
राष्ट्रिय जनगणना २०५८ को तथ्याङ्क अनुसार मुलुकको कुल जनसंख्या २ करोड २७ लाख ३६ हजार ९३४ मध्ये किरात धर्मावलम्बीहरुको जनसंख्या ८ लाख १८ हजार १०६ जना रहेका थिए । कुल जनसंख्यामा ३.६ प्रतिशत रहेको किरात धर्मावलम्बीहरुको जनसंख्या २०४८–२०५८ को दशकमा ६१.१ प्रतिशतले वृद्धि भएको थियो । सो दशकमा ४ लाख ९९ हजार ७१७ जना नयाँले किरात धर्म लेखाएको थियो ।
जनगणना २०६८ मा केन्द्रीय तथ्याङ्क विभागका अनुसार ८ लाख ७ हजार १६९ जनाले किरात धर्म लेखाएका थिए । यो कुल जनसंख्याको ३.०५ प्रतिशत हो । तथ्याङ्क अनुसार वि.स. २०५८–२०६८ को दशकमा किरात धर्मावलम्बीहरुको जनसंख्या १० हजार ९ सय ३६ जना घटेको थियो । यसरी ६८ को जनगणनामा किरात धर्मावलम्बीहरुको जनसंख्या १.४ प्रतिशतले घटेको हो ।
नेपालमा राष्ट्रिय जनगणना वि.स. १९६८ देखि शुरु भई प्रत्येक १०÷१० वर्षको अन्तरमा राष्ट्रिय जनगणना हुँदै आएको छ । यसरी जनगणना सुरु गरिए पनि धर्म सम्बन्धी तथ्याङ्क भने जनगणना गर्न थालिएको ४ दशकपछि वि.स. २००९÷२०११ को जनगणनादेखि मात्र उपलब्ध भएको थियो ।
जनगणनामा धर्मको महल उपलब्ध गरिएपनि किरात धर्मसम्बन्धि तथ्याङ्क भने जनगणना शुरु भएको ८ दशकपछि अर्थात वि.स. २०४८ सालको जनगणनाबाट मात्र उपलब्ध भएको थियो ।
तर, किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको पहलमा २०३८ सालको जनगणनादेखि किरात धर्म लेख्न सुरु गरिएको थियो । यसरी जनगणनामा धर्मको महल किरात धर्म उपलब्ध भएपछि २०४८ सालको जनगणनामा नेपालको कुल जनसंख्या १ करोड ८४ लाख ९१ हजार ९७ जना मध्ये ३ लाख १८ हजार ३८९ जना अर्थात १.७२ प्रतिशतले किरात धर्म लेखाएका थिए ।
वि.स. २०४८, २०५८, २०६८ र २०७८ को जनगणनामा किरात धार्मिक संस्थाहरुको अलावा आदिवासी जातीय संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, नेपाल थामी समाज, जिरेल, सुरेल र हायु लगायतले संस्थागत निर्णय गरेर किरात धर्म लेख्न लेखाउन पहल गरेका थिए । जनगणनामा किरातजन्य संस्थाहरु र किरात धार्मिक संस्थाहरुको सक्रियताबाट नै नेपालमा हिन्दु, बौद्ध र मुस्लिमपछि चौथो ठूलो धर्मको रुपमा किरात धर्म स्थापित हुन पुगेको हो ।
राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा ‘किरात धर्म’ लेख्न, लेखाउन किरात धार्मिक संस्थाहरुको साझा संगठन किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमिति र किरातजन्य ८ जातीय संस्थाको गठबन्धन किरात समन्वय समितिले संयुक्त अपिल गर्दै जनजागरण अभियान सञ्चालन गरेको थियो । आठ किरातजन्य संस्थाको गठबन्धन किरात समन्वय समितिमा सुरेल जाति उत्थान समाज, किरात हायु समाज, जिरेल संघ नेपाल, नेपाल थामी समाज, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा रहेका थिए ।
निष्पक्ष तथ्याङ्कको अपेक्षा
नेपालमा १२ औं राष्ट्रिय जनगणना २०७८ (दुई चरण गरी भदौं ३० देखि मंसिर ९ गतेसम्ममा) विवरण संकलन कार्य सम्पन्न गरिएको थियो । नेपालमा वि.सं. १९६८ देखि प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्ने प्रचलन सुरु गरिएको हो । विगतका वर्षहरुमा जनगणनामा गणकका रुपमा राज्यले शिक्षकहरुलाई परिचालन गर्दै आएको थियो । तर, यस वर्ष १२ औं राष्ट्रिय जनगणनामा नयाँ कर्मचारीको रुपमा सुपरिवेक्षक र गणकहरु नियुक्ति गरी आवश्यक तालिम दिएर परिचालन गराएका थिए ।
यसरी देशव्यापी एक साथ गरिएको जनगणनाको पहिलो चरणमा भदौं ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरुले प्रत्येक घरघरमा पुगि सूचीकरण लिने काम गरेका थिए । त्यहीँ सूचीकरणको आधारमा अर्को चरण (कार्तिक २५ देखि मंसिर ९ गते) सञ्चालन गरिएको जनगणनामा गणकहरु घरमै पुगेर परिवारका सबै व्यक्तिहरुको जनसांख्यिक, धार्मिक, सामाजिक तथा आर्थिक विवरणहरु संकलन गरेका थिए ।
जनगणनाबाट प्राप्त नतिजा देशको लोक कल्याणकारी नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न प्रयोग गरिन्छ । प्रदेश, स्थानीय तह र निर्वाचन क्षेत्रहरु विभाजन गर्न, सामाजिक तथा आर्थिक विकासका लागि योजना तर्जुमा गर्न र अध्ययन—अनुसन्धान गर्न प्रयोग हुन्छ । जनगणनाले जाति र समुदायको भाषिक, धार्मिक पहिचानलाई स्थापित गर्न समेत सहयोग गर्ने गरेको छ । तथ्याङ्कहरु मिथ्याङ्क मात्र सार्वजनिक गरिन्छ भन्ने व्यापक जनगुनासो हुँदै आएकोले यस पटकको जनगणनामा आम नागरिकमा विश्वास जित्ने उद्देश्यले निष्पक्ष र पारदर्शी तथ्याङ्क सार्वजनिक गर्न सिसाकलमको ठाउँमा कलमनै प्रयोग गरिएको थियो । तथापी संकलन निष्पक्ष भएपनि प्रशोधन, सम्पादन, तालिकीकरण र नतिजा प्रकाशनमा चलखेल भएको शंका गरिएको छ ।
केन्द्रीय तथ्याङक् विभागले निष्पक्ष, पारदर्शी र जवाफदेहिता सहितको तथ्याङक सार्वजनिक गर्न नसकेको विभिन्न्न समुदायले आक्षेप लगाएका छन् । विशेष गरी जातजाति र धर्मको विवरणमा निष्पक्ष र पारदर्शी हुन नसकेको उनीहरुले बताएका छन् । यसरी विगतमा तथ्याङ्क नभई मित्थाङ्क मात्र सार्वजनिक गरिन्छ भन्ने जनगुनासाहरु यस पटक पनि समाधान गर्न विभाग असफल भएको छ ।
जाति र धर्मको महलमा सही र निष्पक्ष तथ्याङ्क सार्वजनिक नगरी गलत नतिजा निकालिएको विभिन्न समुदायले बताउँदै आएका छन् । केन्द्रीय तथ्याङक् विभागले करिब डेढ वर्ष लगाएर सार्वजनिक गरिएको १२ औं राष्ट्रिय जनगणनाको नतिजा पनि विवादरहित बन्न सकेको छैन् ।
राज्यको नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने जनगणनामा सहभागिता हुँदा र नहुँदा के पाइन्छ र के गुमाइन्छ ? र कसरी आफ्नो सही विवरण उपलब्ध गराउने भन्ने विषयमा अधिकांश नागरिकहरुमा शिक्षाको अभाव रहेकोले होकि गणकले कसैको विवरण गलत टिप्पनी गरेर विवादीत नतिजा प्रकाशन हुँदै आएको छ जनचासोको विषय बन्दै गएको छ । त्यसैगरी संकलित तथ्यांकको प्रशोधन, सम्पादन, तालिकीकरण र नतिजा प्रकाशनको समयमा बढि चलखेल हुने गरेको सामाजिक धार्मिक संघ संस्थाहरुको शंका कायमै छ ।
माङसेबुङ पत्रिका साउन अंक आवरण रिपोर्ट