विश्व शान्ति मानव एकतामा सबैले पहल गरौं

(वि.स. २०७९ माघ ६ गते इलामको माङसेबुङमा आयोजित सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।)

ओत तागेरा निङ्वाभू माङे सेवारो !
मेन्नीमाङ मेन्धामाङ सेक्खामाङ आनोमाङ मुजोत्लुङ खेजोत्लुङ माङलिङ माङओप्मा माङे सेवारो !

 

प्यारा–प्यारा भक्तप्रेमीहरु हाम्रो महान पर्वमा हामी भेला भएका छौं । हामी स्वदेश विदेशबाट यस थलोमा सहभागी भएका छौं । संसारको विभिन्न भू–भागमा बसेर तपाईहरुले हेरिरहनुभएको छ । धर्मगुरु भएको हैसियतले मैले धर्मको कुरो गर्छु । महागुरुको समयमा धेरै कुराहरु अगाडि बढेको थियो । महागुरुले हाम्रो निमित्त धेरै कुराहरु अगाडि बढाउनु भएको थियो ।

 

वि.स. २०८८ सालमा लब्रेकुटी माङहिममा एउटा सत्य धर्म मुचुल्का बाँधेको थियो । सम्पूर्ण किरात धर्मावलम्बीहरु थिबोङहाङ याक्थुहाङसाले असल कुरालाई पछाउँनुपर्छ भनेर सत्य धर्म मुचुल्का बाँधिएको छ । असल कुरा अगाडि बढाउँदा उहाँलाई राज मुद्दाको अभियोग लाग्यो । हातमा साङ्ली पनि लाग्यो । अनेकौं समस्या आइपरे पनि यो धर्म नछोड्किन अहिलेसम्म हामी आइराखेका छौं । अहिलेसम्म हामीले पालना गरेर आइराखेका छौं ।

 

समाज कसरी सुध्रिनुपर्छ । समाज कसरी असल बाटोमा जानुपर्छ । असल बाटोलाई कसरी लिनुपर्छ भन्ने व्याख्या सहित महागुरुले हामीलाई सम्झाउँनु भएको थियो । त्यसमा याक्थुङबाहरु थिबोङ याक्थुङहरु तिमीहरुले छोरी चेलीको स्रोतरित नखानु, तिमीहरुले देवी देवतामा हत्या, हिंसा नगर्नु र अर्काको मन नदुखाउनु पाप हुन्छ भनेर उहाँले हामीलाई धेरै सम्झाउँनु भयो ।

 

तर, बीचमा आएर अलि अल्मलिएर बसेका थियौं । ति कुराहरुलाई मैले सम्हालेर बाटो देखाउने काम गरेको छु । त्यो कुरा सत्य हो । स्वतन्त्रता र समानताका लागि छोरीलाई पुरुष सहर पढाउनु । छोरीलाई पुरुष सरह अंशबण्डा दिनु, छोरीलाई घर छाना छाउन सिकाउनु । हलो जोत्न सिकाउँनु भनेर महागुरुले हिजै घोषणा गरेको हो । यो कुरा पञ्चायती व्यवस्था बीचमा पनि आएको थियो । अहिले आएर लोकतन्त्र आयो । लोकतन्त्रसँग पनि त्यो कुरा चाहिं मिलेको छ । त्यसकारणले हामी नेपाली जनताको राष्ट्र माता छोरी मान्छे छ । धार्मिक शब्दमा राष्ट्र माता भनिन्छ । त्यसलाई राजनीतिक हिसाबमा चाहिं राष्ट्रपति भनिन्छ ।

 

 

अहिले छोरीहरुको हक अधिकारको निमित्त सबै कानुनले स्वतन्त्रता दिएको छ । महागुरुले त्यो कुरा त हिजै भनिराखेको हो । म तपाईहरुलाई के भन्न चाहन्छु भने, हाम्रो सबै भन्दा पनि सावायेहाङ किरात याक्थुङहाङसाहरु चाहिं हरेक कुरामा कमजोरी छौं । सोच्ने, बुझ्ने, सोध्ने कुराहरुमा कमजोरी छौं । हामी यि कुराहरुमा विकास हुनुपर्छ । घरमा सफा सुग्घर हुनुप¥यो । प्रत्येक घरमा शौचालय हुनुप¥यो । सूचीनिची राम्रो हुनुप¥यो । राम्रो बनाएर खान जान्नु प¥यो तपाईहरुलाई यहीँ कुरा अनुरोध गर्न म चाहन्छु ।

 

अहिले पृथ्वीमा अनेक खालको रोगहरु उत्पन्न भएको छ । हामी जन्मिने वित्तिकै रोगसँग जन्मिन्छौं । त्यसकारणले हामीमा सफा सुग्घर अत्यन्तै हुनुप¥यो । तपाईहरुलाई मैले देखेको छु, तपाईहरुको प्रत्येक शरीरमा एउटा–एउटा रोग बोक्नु भएको छ । तपाईहरुले लो प्रेसर, हाई प्रेसर, टि. बी., क्यान्सर अनेकौं रोगहरु तपाईहरुसँग छ । त्यसलाई निवारण गर्नको लागि खानपानदेखि हरेक कुरामा शुद्धता रहनुप¥यो । यो कुरा तपाईहरुसँग अनुरोध गर्न म चाहन्छु । हामी अहिले चुरोट खाँदा पनि रोग लाग्छ । बिँडी खाँदा पनि रोग लाग्छ । सुर्ती खाँदा पनि रोग लाग्छ । हामी सागसब्जीमा पनि अनेक विषादीहरु हान्छौं । हाम्रो शरीरलाई रोगैरोगको घर बनाईसकेका छौं ।

 

यसले गर्दा यो कुरामा पनि हाम्रो दृष्टि जाओस् । हामी पढ्छौं, लेख्छौं, विद्धान् त भएका छौं । यो कुरामा पनि हामी विद्धानता प्राप्त गर्नुपर्छ । तपाईहरुलाई यो कुरा अनुरोध गर्न म चाहन्छु । मैले २०३६ सालदेखि यता चाहिं यो धर्मलाई राम्रो नेतृत्व गर्दै आइराखेको छु । मेरो पालामा धेरै विकास भएको छ । म कहाँ देशको राष्ट्रपति, पूर्वराजादेखि लिएर सबै मलाई भेट्न आउँछन् । मसँग परामर्श लिन्छन् । हाम्रो गिरिजाप्रसाद कोइराला तीनपल्ट यहाँ आउँनुभयो । देश आमूल परिवर्तनको बाटोमा लागिराखेको बेला मसँग परामर्श लिनुभयो । अनि परिवर्तन भयो र हामी त्यो परिवर्तनसँगै हाम्रो धर्म कर्म पनि अगाडि बढिराखेको छ ।

 

 

हाम्रो धर्म किरात धर्म हो । हाम्रो सभ्यता किरात सभ्यता हो । हाम्रो किरात सावायेत्हाङ सबैभन्दा पनि मेरो जाति, याक्थुङबा जातिले कुरा बुझ्नु भएको छैन् । अब बुझ्न कर लाग्छ । अब विस्तारै बुझ्दै जान्छ । उहाँहरुलाई के अनुरोध गर्न म चाहन्छु भने, हामीले एक सरो जीव हत्या, हिंसा गर्न हुँदैन भन्छु । किनभने, हामी यो कुकर्म गरिरहयौं भने हामी युग युगान्तरसम्म हामी पछाडि रहन्छौं ।

 

 

त्यो जाँड, रक्सी पनि म त खान हुँदैन भन्छु । खानु हुँदैन भन्दा रिसिने अर्कै कुरा हो । त्यो खाएपछि त्यसको अर्थ के लाग्छ त ? हामीले खाएपछि हामी बाटो रिजर्भ गरेर हिँड्छौं । बाटो रिजर्भ गरेर हिँड्दा अहिले त गाडीको जमना आयो । सबैसँग मोटरसाइकल छ, गाडी छ एक्सीडेन्ट हुन सक्छ । गाडीले त्यहीँ पेल्न सक्छ । खाने पिउनेलाई पनि के भन्छु भन्दा नखाई नसक्नेले बेलुका खानु, आराम गर्नु । हामी एक समाज त हामी खाँदैनौं । हामी सधैं सचेत रहन्छौं । अचेत रहने मनसाय गर्नेहरुले पनि बेलुका खानु आराम गर्नु । त्यो खाएर अशान्ति नगर्नु म यो कुरा भन्छु ।

 

 

त्यो खाएपछि जहिले तहिल्यै अशान्ति हुन्छ । झै झगडा हुन्छ । छोराछोरीसँग झगडा हुन्छ । श्रीमान श्रीमतिबीच झगडा हुन्छ, दुनियाँ हुन्छ । यस्तो खालको अशान्ति चाहिं हामीले निवारण गर्नुपर्छ । तपाई हाम्रो हातमा छ त्यो चाहिं । र, तपाईहरु सधैं स्वास्थ्य रहनुहोस् । तपाईहरुको जिन्दगीलाई सदा–सदा स्वास्थ्य राख्नुहोस् । त्यो अमर जीवन हो । अहिलेको युगमा चाहिं हामी मिठो मात्र खान्छौं । मिठोले हामीलाई सिध्याउँदै छ, यो कुरा तपाईहरुले बुझ्नुहोस् मेरो बिन्ती छ ।

 

 

म महागुरुको आफै पनाति, खनाति भएको हैसियतले महागुरुले जो कुरा भनेको छ त्यो विश्लेषण गरिराखेको छु । अत्यन्तै वैज्ञानिक छ, भावुक छ, त्यो अत्यन्तै दार्शनिक छ । यो दार्शनिक कुराहरुलाई अगाडि बढाउन सक्यौं भने, हाम्रो सारा कुरा सुधार भएर जान्छ । यो कुराहरु ठूलो–ठूलो मान्छेहरुसँग पनि मेरो कुरा भइराखेको छ । हाम्रो मानव जीवन र नेपाललाई कसरी बचाऊँ ? नेपालका जनतालाई कसरी सुखी बनाऊँ ? यि कुरा हाम्रो विचारहरु बगिराखेको छ । तपाईहरुले यो कुरा अध्ययन गर्नुहोला ।

 

 

अब, हामी यहाँ सेवा लगाएका छौं, यसलाई खिवेक्वा उभौंली सेवा भन्छौ । हाम्रो भाषामा खिवेक्वा भनेको उभौली सेवालाई भन्छौ । उभौंली सेवालाई याक्वा पूजा भनिन्छ । याक्वा भनेको खेतीपाती जमिनमा लगाउँनु भन्दा पहिला देवी देवता (इश्वर) माङ, साम्माङ च्याङ सबैसँग बल मागेर बाली लगाउँने चलन हाम्रो परम्परादेखि गर्दै आएका छौं । यो किरातहरुको सभ्यता पनि हो । हामीले सिङमाङ मान्छौं, लुङमाङ मान्छौं, खोलानाला, देवी देवता मान्छौं । हामीले मान्ने विभिन्न देवताहरु पुकार गरेर खेती सुरु गर्ने गरेका छौं । यसको अर्थ चाहिं खेती गरेको सफल होस, राम्रो फलोस, किरा नलागोस्, हावा पानीले नलाइजाओस । बाढी पहिरोले नलाइजाओस् भनेर हामीले शक्ति मागेका हुन्छौं ।

 

 

यसरी सह मागेर मात्रै हामी खेती गर्ने गरेका छौं । यसलाई खिवेक्वा याक्वा (उभौली सेवा भन्छौं । अब, उभौली सुरु भयो । उभौंली कसरी सुरु भयो ? चेरेङ्नाम भनेको घाम चःरक्कै भएर गएकोलाई चेरेङनाम भनिन्छ । घाम चरक्कै भएपछि भुईमा भित्र लुकेको कमिलाहरु पनि बाहिर निस्किन थाल्छ । त्यो लाटोकोसेरोले पनि भाषा फेर्न थाल्छ । लाटोकोसेरो हिजो अस्ति भन्दा अर्कै भाषामा बोल्न थाल्यो । उभौलीयाममा कक्फेक्वा फुङहरु फूल्छ, गुराँसहरु फूल्छ, यसरी उभौली सुरु हुन्छ । यसलाई उभौली पूजा भनिन्छ । हामीले उभौली पूजालाई पर्वको रुपमा मानिराखेका छौं ।

 

 

यसरी भेला हुँदा मलाई एक किसिमको आनन्द लागेको चाहिं जे होस् तपाईहरुको मुखमा खैनी, चुरोट देख्दिन म । यो भन्दा पहिला–पहिला त पूरा धुप बाल्ने, माङलाई पनि धुप दिनुपर्ने आफूले नि धुप बालेको बालेकै हुन्थ्यो । अहिले धेरै सुधारमा आइसकेका छौं । यो सुधारलाई हामीले धेरै होइन गाउँघरमा एक, दुई जना कति सकिन्छ ? हामीले शाकाहारी बनाउँनु पर्छ । शाकाहारी बन्दा के हुन्छ भन्दा हाम्रो आयु बढ्छ ।

 

 

हाम्रो यो राक्षसी व्यवहार ग¥यौ र राक्षसी खाना मात्र खायौं भने, त्यसलाई पचास वर्ष बाँच्नु थियो भने पनि बीस वर्षमा मरिहालिन्छ । मेरै नाताको मान्छे हिजो अस्ति म¥यो, के भएर म¥यो भनेर बुझ्दा प्रेसरले म¥यो । प्रेसर लो, कि हाई थियो भन्दा हाई थियो । अब, के खाएर म¥यो भन्दा विदेशबाट रक्सी ल्याएको रहेछ अनि ल है त बाजे भनेर दिएको खाएर गएछ । यस्तो खालको अकाल मृत्यु बन्छ । यस्तो अकाल मृत्युहरु भइराखेको छ । अहिले मान्छे पर्लक्कै लड्छ, मरि पो हाल्छ । यसले गर्दा यस कुराबाट पनि तपाई हामी जोगियौं भन्छु है म चाहिं । अहिले नै मर्नु त छैन नी केही–केही त गरिराखेर मर्नुपर्छ नी होइन र ? मर्न त मानिन्दैन नी मान्छे, त्यसले गर्दा यस्तो कुराहरुबाट पनि हामी बचौं मेरो निवेदन छ ।

 

 

खाने कुराहरुमा साहै्र शुद्धि मात्रै खाऔं । त्यो मासु खाने मान्छेले पनि, त्यो मासुमा रोग लागेको छ भने नखानुहोस मेरो भनाई चाहिं यो हो । मासुमा रोग थियो भने खाएपछि त्यो रोग मान्छेमा सर्छ । अहिले वैज्ञानिकहरुले चाहिं चमेराबाट हरेक रोगहरु सर्छ भनेर व्याख्या गरेको छन् । तर, वैज्ञानिकहरु त अलि चकचक पनि पो गर्छ है आफै, पनि बनाएर छोड्छ । त्यसले गर्दा हरेक रोगहरुबाट हामी बच्नुपर्छ । यही कुरा तपाईहरुसँग अनुरोध गर्न म चाहन्छु । अब, महागुरुले साह्रै ठूलो–ठूलो हाम्रो लागि उपयुक्त कामहरु गर्नु भएको छ । तर हाम्रो मान्छेले चिनेको छैन् ।

 

 

हामीले राष्ट्रिय विभूति बनाउँनलाई म जोड लागे मन्त्री मण्डलहरु सबै आफ्नो हातमा थियो । महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति बनाउ र यो माङसेबुङलाई राष्ट्रिय सम्पदा सूचीमा राख भनेर भनेको छु । महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति बनाउन हामी सफल भयौं । हामी लिम्बू (याक्थुबा) हरुमा महागुरु मात्रै हो राष्ट्रिय विभूति । अरु बनाउन सकेको छैन् । राष्ट्रिय विभूति बनाएपछि पाल्नुपर्छ, राज्यले पनि गाह्रो मान्छ । यसरी राष्ट्रिय विभूति बनाउन सफल भयौं । महागुरुले जो ज्ञान दिएको छ, हामी मानव समाजलाई मानव कल्याण हुनको निमित्त शिक्षा दिएको छ त्यसलाई विकास गर्न र त्यसलाई उन्नती गर्न हामी धेरै सफल भइराखेका छौं ।

 

 

अब मैले सोचेको छु, महागुरुको बारेमा महागुरुको दर्शन विचारहरु धेरै छापि राख्ने मेरो इच्छा छ । त्यसमा डेढ करोड त म मात्रै खर्च गर्ने योजना गरेको छु । डेढ करोड रुपैयाँ म खर्च गराउँछु खोज्न लाइराखेको छु । हाम्रो निमित्त अत्यन्तै राम्रो उपयोगी कुराहरु छ । यो कुरा सबैले जान्नुपर्ने हाम्रो जिम्मेवारी छ । अब म के भन्छु भने हामी यहाँ सेवा लगायौं, म विहानै आएर सेवा लगाएको छु । हाम्रो देशमा, हाम्रो राज्यमा, हाम्रो समाजमा विभिन्न खालको महामारीहरु नलागोस् भनेर मैले तागेरा निङवाभू माङसँग पुकार गरेको छु । यहाँ अचम्मको महामारी आउँन सुरु भएको छ । कोरोना त आयो आयो अर्को पनि आउँनु सुरु भएको छ ।

 

 

त्यसकारणले विश्व शान्ति तथा मानव एकता रहोस् । विश्वका माङहरु पनि शान्ति होस र विश्वमा झगडा नहोस् । अहिले युक्रेनमा दिनमा अर्ब–अर्ब खर्च हुन्छ । बम बारुद खर्च भइराखेको छ । त्यहाँ अकालमा मान्छेहरु मरिरहेका छन् । त्यस्तो मृत्युहरु नहोस् त्यो चाँडै शान्ति होस भनेर बल मागेको छु । विश्व हेर्नुपर्छ, विश्वको कुरालाई हामीले चालेर हेर्नुपर्छ । त्यसकारणले यति हो अमेरिका र रसियाबीच उनीहरुको प्रतिस्पर्धा छ । उनीहरुले शक्ति चेक गरिराखेको छ । शक्ति प्रर्दशन भइराखेको छ । त्यो प्रर्दशनले सर्वसाधारण जनता मरिराखेको छ । यस्तो अपराध नहोस् । हाम्रो तागेरा निङवाभूमाङले माङले चाँडै शान्ति गरोस्, चाँडै मिलोस भनेर बल मागेको छु ।

 

 

युक्रेनमा लडाई भयो भनेर यहाँ तेलको महंगी बढ्यो । युक्रेनमा लडाई भयो यहाँ रड, सिमेन्ट, अनेको बस्तुको मूल्य बढ्यो । खाद्य पदार्थहरु तेल, चालम र ग्याँसको समेत मूल्य बढेर हामीलाई समेत पनि युक्रेनको लडाईले असर गरेको छ । यो चाडै शान्ति होस भनेर माङसँग मैले बिन्ति गरेको छु । अब हेर्दै जाउ तर मेरो पहिचान मेरो आत्मा हृदय भित्रबाट म के देख्छु त भन्दा विश्वको शक्तिशाली राष्ट्रहरुको शक्ति चाहिं घट्छ । अटोमेटिक रुपले घट्छ यो दिन आउँदै छ ।

 

 

हामी सर्वसाधारण जनताहरु अति ज्ञानी बनिनुपर्छ । पालो भनेको त जनताको हो नी सर्वसाधारणहरुको आउँछ त्यसले गर्दा हाम्रो रक्षा हुने दिन रक्षा कहाँबाट हुन्छौं भन्ने कुरा हामीले हेर्नुपर्छ । अब, ठूलो–ठूलो लडाई भयो भने हाम्रो देशले त हात उठाउँन बाहेक अरु उपाय छैन, हामीलाई त मिचिमार्छ । त्यसले गर्दा अशान्ति नहोस् ।

 

 

 

देश पनि बचोस, हाम्रो राष्ट्र पनि बचोस, नेपाल भएरै बसोस हामी शान्तिसँग बाच्न पाऊँ, होइन र ? शान्तिसँग सुधर्म गर्न पाऊँ हाम्रो कामना यहीँ छ । हामी यो सारा कुरा सम्झेर हामीले ईश्वरप्रति, माङप्रति निवेदन गरेका छौं । यो हामीले पाउँने छौं । मेरो हृदयले के देख्छ भन्दा हामीले अन्नको सह पनि पाउँछौ । खेतीपाति गर्न सक्नेले खेती राम्रो पनि हुन्छ । तर, मान्छेको सह चाहिं घट्दै जादै छ है यो कुरा सुन्नु है । मेरो आत्मा माङले त्यसो भन्छ । मान्छेको सह छैन यहाँ धेरै मान्छे आउँछ, बच्चा माग्नेहरु आउँछ यहाँ । अघि पनि यहाँ आएको थियो । अब छोरा मान्छे त अलि कम्ती पो हुँदै जान्छ, यस्तो दिन आउँदै छ । त्यसले गर्दा हामीले होसियार अपनाऔं । माङप्रति अलिकति विश्वास राखौं । भौतिक मात्रै होइन अध्यात्मिकलाई पनि हामीले विश्वास राख्नुपर्छ, यी कुरारु त महागुरुले उहिले भनिसकेको छ ।

 

 

महागुरुले हामीलाई के भनेको छ भने, हिनी पाः पोङ पाले तान्दी न्वारान किम्जोगी हेक्याङलक जाम्मारे किम्निसी महागुरुले भनिसकेको छ । हामी सेवा गर्नुपर्छ, माङसँग शक्ति माग्नुपर्छ । माङसँग अत्यन्तै प्रभावित भएर हामी सेवा गरेर जानुपर्छ यो कुरा नै तपाईहरुसँग हार्दिक अनुरोध गर्न म चाहन्छु । म के भन्छु भने, अब भोगबली दिने जुन प्रथाहरु छ यो विस्तारै सबैले छोड्दै लैजाउ । हामीले चाहिं फूलपातीले पूजा गर्ने बानी बसाल्दै लैजाउ यहीँ कुरा अनुरोध गर्न म चाहन्छु । येबा फेदाङमाहरु बिजुवा धामीहरुलाई पनि यहीँ कुरा अनुरोध गर्दछु । किनभने हामीले भोगबली गर्नाले पनि हामी पछाडिएका छौं । हाम्रो बाटो पछाडि परेको छ ।

 

 

 

अहिले खानेले जे सुकै गरेपनि माङ (ईश्वर) लाई लौ परमेश्वर भनेर चाहिं रक्तपात नचढाऔं यो मेरो बिन्ती छ । यो कुराहरु तपाईहरुले प्रचार गरेर लानु । तपाई यो धर्ममा सबै समावेश भएर आउनुहोस् । चार जात छत्तिस वर्ण नै यो धर्म भित्र अट्छ । अहिले हाम्रोमा अन्य समुदायले पनि किरात धर्मलाई अंगाल्न सुरु गरेका छन् ।

 

 

 

हामीले आफ्नो धर्म खोज्नुपर्छ । आफ्नो धर्म हरायो भने हामी हराउँछौं । धर्मको कुरो गर्दा हामी एक मत भएर यो धर्मलाई पछ्याउँ भन्ने मेरो निवदेन छ । तपाईहरुसँग अब, मैले भन्दा हाम्रो संस्कृति तिर हाम्रो जनजातिको संस्कृति, हाम्रो किरात धर्मको संस्कृति हामी यहाँ विश्व भरिका मान्छे आएर नाँच्छन् । यहाँ प्रदर्शन गर्छन, हाम्रो लिम्बूहरुको त साँच्चै भन्ने हो भने पालाम, हाक्पारे सबै हराई गयो ।

 

 

 

अहिले त सबै डिस्कोतिर पसिगयो । सबै हाम्रो त विर्सियो । हाम्रो आफ्नो धर्म संस्कृति विर्सेपछि हामी हराउँछौं । त्यसले गर्दा यसलाई बढाउँनेतिर हामी लाग्नुपर्छ । हामीले पालामहरुलाई बढाउने, याःलाङहरुलाई बढाउँदै लाने । अब यसो गर्दै धिमालहरुको संस्कृति पनि हराई राखेको छ । यिनीहरुलाई पनि बिउँझाई दिने । किरातहरुको संस्कार संस्कृति जो–जो छ त्यो सारा कुरा बिउँझाई दिनुपर्छ ।

 

 

 

हाम्रो क्षेत्री बाहुनकै संस्कृति हराउन थाल्यो । पहिला बालन खेल्थ्यो त्यो पनि हरायो । अहिले त्यसले गर्दा बालनहरुलाई हामी बिउँझाई दिने र हराउन दिनु हुँदैन । पृथ्वीमा रहेका जातिरुको संस्कृति, साहित्य कुनै हराउन हुँदैन । त्यस्तै हाम्रो किरात लिपि, भाषा त झन् हामीले पक्रेर छोड्नु हुँदैन । किनभने किरात लिपिको निमित्त, हाम्रो याक्थुङहाङको लिपिको निमित्त महागुरुलाई त पक्रेर लगेको छ । धनकुटा पु¥याएको छ, धनकुटा पु¥याएपछि महागुरुलाई सोध्यो ‘तिमीले लिपि बनाएको छस् अरेनी ?’ त्यतिबेला राणा शासन थियो । अनि महागुरुले जवाफ दियो, ‘यो लिपि मैले बनाएको होइन, यो लिपि जुन दिन सृष्टि भयो जसले सृष्टि ग¥यो त्यसले बनाएको हो ।’

 

 

 

यसले गर्दा हाम्रो मुन्धुम पढ्न पायौं । त्यसले २०३६ सालसम्म थाम्यो । २०३६ सालमा हामीले एउटा संस्था दर्ता गरेर हाम्रो मुन्धुम, लिपि पढ्न पायौं र अहिले अपडेट भएर हाम्रो भाषा स्कुलहरुमा सबै लागू भइराखेको छ । यो विषयमा म के भन्छु भने, अब नेताहरुले पनि हाम्रो लिपि, भाषा हाम्रो स्कूलहरुमा पढाइ हुनुपर्छ भन्ने सदनमा कुरा उठाउँनु पर्छ यो कुरा हामीले बाटो बनाइदिएका छौ । उहाँहरुको बाटो हेरौ । यो कुरामा म उहाँहरुसँग आशा गर्छु ।

 

 

 

यहाँ मुन्धुमशाला खोलेका छौं । अहिले अलि–अलि सरकारले बजेट दिइराखेको छ । अब हामीले निजी श्रोतबाट पनि चलाइराखेका छौं । भाषा, साहित्य र संस्कृति यसरी विकास गर्नुपर्छ, त्यसको अलवा धर्म पनि पसेर जान्छ । धर्म त हाम्रो पूरा सुधार भएरै जाने नै हो । हामी सारा किरातहरु एक भएर किरातहरुको अनुहार पनि विश्वमा देखाउँनु पर्छ । अहिले त टिकटक, युट्युब, फेसबुक, अनलाइन लगायत अनेक च्यानलहरुबाट अलि–अलि देख्दै छन् । हामी बोलेको पनि देखिराखेका छन् । हाम्रो कुरा सुनिराखेका छन्, यसले गर्दा यी सारा कुराहरु हामीले सोचेर गर्नुपर्ने कुरा छ । अब यस थलोमा धेरै मान्छे आउँछन् । यो माङसेबुङमा चुनावको समयमा नेताहरुको बजार लाग्छ । यहाँ सानो पनि नेता हुन्छ, ठूलो पनि नेता हुन्छ । सबै नेतै–नेता अनि दिक्क पनि पो लाउँछ कहिलेकाही त । मैले मानीआएका, बुझिआएका नेताहरु अब बुढो पनि भए, अब सुवास नेम्बाङ, के. पी. ओली बुढो भयो । गिरीजाप्रसाद कोइराला त मरी पनि हाल्नुभयो ।

 

 

 

 

अब नयाँ नेताहरु आउँनुप¥यो । नयाँ अपडेट भएर जानुप¥यो । नयाँ पिंढीले यो जिम्मेवारी लिएर जानुप¥यो । यहाँ हाम्रो एकजना नयाँ युवा नेता आउनुभएको छ । उहाँले धेरै काम गर्न सक्ला त्यस कारणले हाम्रो काम धर्म, कर्म, सारा कुरा लिएर राजनीतिदेखि लिएर सबै कुरामा अगाडि बढ्नुपर्छ । युवा नेताले युवाहरुमा अपडेट भएर जानुप¥यो । त्यो कुरा तपाईहरुले सिक्नुप¥यो । यो धर्म तपाईहरुले सिकेर जानुप¥यो । हामीले यतिसम्म देखायौं, केही मजबुद बनाएका छौं ।

 

 

 

अहिले मेरो पालाको माङहिम (मन्दिर) त धेरै पुगिसक्यो । यहाँ डाटा हेर्नुपर्छ । महागुरुको समयमा बनिएका माङहिमहरुलाई हामीले विकास गर्नुपर्छ । हामीले त्यो हेर्नुपर्छ । सबै माङहिमहरुलाई हेर्ने विचार छ, महागुरुकालिन सबै माङहिमहरुमा पुगेको पनि छु । सिलौटीमा पनि पहिला पुगेको हो । अब फेरि एक पटक सिलौटीमा पनि जाउँला भन्ने मैले सोच गरिराखेको छु ।

 

 

 

कुनै दिन समय मिलाएर जाने मन छ । महागुरुले बनाई राख्नु भएका माङहिमहरुलाई पनि हामीले उठान गरिराख्नु पर्छ । हामीले संग्रहालयहरु निर्माण गर्नुपर्छ । थुप्रै पो छ काम त, तिनीहरु सबै सोच्दा सम्झिन्दा सम्झिन्दै समय बित्दैछ । त्यसले गर्दा अब, नयाँ युवा नेतृत्वहरु निस्किनुपर्छ, जन्मिनुपर्छ । यहीँ कुरानै तपाईहरुसँग हार्दिक अनुरोध गर्न म चाहन्छु ।

 

 

 

अब, मैले रोगको विषयमा तपाईहरुलाई बताइहाले विभिन्न खालको रोग आउँन आँटेको छ । कोरोना सकेको छैन, कोरोना चीनमा त्यसै छ । चीनदेखि नेपाल पनि पो आइहाल्छ की भन्ने डर छ । त्यहाँ यस्तो आपत्ति प¥यो । एकपल्ट यहाँ १६ वटा टोल छ । त्यो बेला म तीन चुले सेवामा बसेको थिएँ । अनि यहाँ आफ्नो गाउँमा फर्केर आउँदा सबै सुतिराखेको थियो । अनि मैले गाउँपालिका अध्यक्षलाई पनि भने कसो गरौ त भनेर भने, वडा अध्यक्षलाई पनि भने, कसो गरौं अब के गर्ने त ? इन्जेक्सन पठाइराखेको छ त्यो पनि परिक्षण मात्रै गरेको छ । त्यसपछि कसो गरौं त भन्ने भयो अनि उनीहरुले मुख मात्रै बिगारे विचराहरुले क्वारेन्टाइन चाहिं तयारी गरिदिए यहाँ भालुटारमा क्वारेन्टाइन राखे । अनि मैले यसो सम्झे ।

 

 

 

मैले जानेसम्म औषधि जम्मा गर्नुप¥यो भनेर हामी औषधि बनाउन लाग्यौं । हामीले झार पतिङ्गर सबै बटुल्यौ । माथि लेकको पनि बटुल्यौ तल मधेशको पनि बटुलेर हामी बेस्मारी पैकारी जस्तै बस्न थाल्यौं । त्यो औषधिले छ वटा टोल चाहिं ज¥याक जुरुक २४ घण्टामा उठाउँन सफल भइयो । सफल भएपछि सबै विमारीहरु निको भयो । यहाँका सबै निको भए । यसरी ज¥याक जुरुक उठाएपछि तल शिविरमा पनि दुई तिन ट्याक्टर औषधि लग्यो ।

 

 

 

यसरी इमर्जेन्सी हुँदा औषधिहरु पनि हामीले पत्ता लगाई राख्नुपर्छ । त्यसले गर्दा मैले भन्ने गरेको छु यहाँ जमिन किन्नु भएको छ भने घर बनाएर बस्नु । किनभने, कुखुराको माउले चल्लाहरुलाई ओथरेको जस्तो यहाँ त मैले ओथ¥याउन मेरो पखेटाले भेट्छ । त्यति बेला चाहिं तिमीहरु बाँच्छौं है भनेको छु । अब समय खतरा आउँदै छ । युक्रेनमा लडाई हुँदैछ टेलीभिजनमा हेरिराखेका छौं । हेर्दा मज्जा छ फुर्रर उडेर जान्छ त्यसले हामीलाई कति असर गर्छ । त्यसको ग्यास आइपुग्छ यहाँनिर पेट दुख्ने, रिँगटा घुम्ने, चक्कर लाग्ने, ढल्ले यि अनेक रोग आइलाग्छ । यसबाट पनि तपाई हामी सर्तक रहौं यहीँ कुरा अनुरोध गर्न म चाहन्छु ।

 

 

 

मैले त महागुरुको सिद्धान्तलाई पक्रेर सिद्धान्त अगाडि बढाउने हो, दर्शन पक्रेर दर्शनलाई अगाडि बढाउने हो । हाम्रो समाज सुधार गर्ने । धर्म सुधार गर्ने, हाम्रो विचार र दर्शनको सुधार गर्ने हो । हामी यसमा गयौं भने, सबै बाँच्न सक्छौं । त्यसमा गएनौं अल्याङ टल्याङ मात्रै ग¥यौं भने हामी छिटै माथिल्लो गाउँमा गईहाल्छौं है । त्यसले गर्दा हामी सर्तक रहौं, तपाईहरु सर्तक रहनुहोस् यहीँ कुरा अनुरोध गर्न म चाहन्छु । अब, यो ठाउँमा पहिला केही हुँदैन थियो । विकासे मल लगाउँदा पनि केही हुँदैन थियो । अहिले हामीले माङवा–हाङवा बाँड्न थालेपछि अहिले मकैको घोगा फलाउँछन् ।

 

 

 

पहिला त रातो मकै मात्रै आउँथ्यो तर अहिले सह आएको छ । यो पृथ्वीको लागि नै हामीले सहलाई निमन्त्रणा गरेका छौं । खाने कुरा चाहिं दुःख नहोस् भनेर हामीले सह मागेका छौं । आलुको सह, कोदोको सह, मकैको सह, धानको सह लगायत हाम्रो चिजबीचको सह हामीले मागेका छौं । यो बाँड्ने गरेका छौं । हामीले सालैपिछे बाँडिराखेका छौं । तपाईहरुले लैजानु भएको छ । प्रयोग गर्नुभएको छ । यसबाट तपाईहरुले फाइदा उठाउनु भएको छ ।

 

 

 

यहाँ भोगी जोगी सबै भेला भएका छौं । यहाँ सबै माङवाहाङवा लिन आउँछन् । सबैले पाइराखेको छ । होइन हो हाम्रो मकै फल्यो त हो गुरुको लागि अलिकति त छुट्याउँनु पर्ने हो कहाँबाट लगिदिउँ हो भन्छन्, अब लिएर खाने त कुरै आएनन् । कहाँ बसिन्छ थाहै हुँदैन । त्यसले गर्दा तपाईहरुले अब अन्नको सफा रुमालमा थापेर सह चाहिं लगेर जानु ।

 

 

 

तपाईहरुले लानु भएको अन्नको सह बीउविजनमा मिसाएर तपाईहरुको बारीमा हान्नु अनि तपाईहरुको बारीहरु मरेको छ भने जाग्छ । कुनै बारीहरु त मार्छ पो है मान्छेले त्यस्तो फटाहाहरु पनि पो छौं है । बारी केही अन्न नहुने पनि बनाइदिन्छ । त्यसले गर्दा अन्न हुने हुन्छ । यहाँ विश्व शान्ति मानव एकता कायम रहोस् । विश्व महामारीहरु शान्ति होस भनेर हामीले माङसँग प्रार्थना गरेका छौं । माङले हाम्रो प्राथना सुनिदिनु भएको छ ।

 

 

 

माङबाट हामीलाई प्रदान भएको छ । त्यो कुरालाई अनुसरण गरौं । हामी अब भक्तजन भनेको लाखौं छौं । सबैजना आयौं भने त यहाँ ठाउँले थाम्दैन, अँट्दैन त्यस्तो समस्या छ । त्यसले गर्दा अब ठाउँ पनि बनाउँदै लाने, एक डेढ करोड मान्छे जम्मा गर्दै जाने योजना छ । एक, डेढ करोड भक्तजनको माझ्मा बोल्ने मेरो इच्छा छ ।

 

 

त्यसमा तपाईहरुलाई उपदेश दिने, ज्ञानको कुराहरु सिकाउँने सोच बनाएको छु । तपाईहरुलाई अनि अब, मसँग राजनेताहरु आउँछ मेरो राजनीतिक चोत्लुङ छ कि छैन ? आङ्गा लसुङबी मेम्बी ? तोगुङबी मेम्बी ? भनेर सोध्न आउँछ । विचार त गर्नुप¥यो, मसँग आउनेहरु धेरैले जितेका छन् । जितेर ठाउँमा पुगिराखेका छन् । त्यहाँ भत्ता खान पुगिराखेको छ । धर्मको आशीर्वाद भनेको त्यो हो ।

 

 

 

अब मैले सोचेको छु हाम्रो संस्कृतिहरु, हाम्रो भाषा गाउँने गायकहरुले पनि समयमा गाउँने नै हो । यसलाई पनि एउटा हामीले कन्ट्रोल गर्दै, विकास गरेर लाने भनेर सोचिराखेको छु । त्यो समय पनि राखौला एक दिन । एक समय त्यो पनि राख्ने विचार गरेको छु । अब हाम्रो लिम्बुहरुको याक्थुङबाहरुको पालाम भनेको हाम्रो चारखोले भाषि छ, पान्थरे भाषि छ, ताप्लेजुङगे भाषि छ । छथरे भाषि त बुझिँदैन र आफ्नो–आफ्नो किसिमले त्यो सबै संकलन गर्ने त्यसलाई पनि मूभ गरेर अगाडि बढाउने सोच गरेको छु । अनि हाम्रो समाजलाई सुधार गर्ने हाम्रो लक्ष्य हो । त्यसकारणले तपाईहरु यति धेरै मान्छे आउँनु भएकोमा मलाई खुशी लागेको छ ।

 

 

 

यो थलो भनेको तपाईहरुले पनि देखेकै हो, यो थलोमा जंगल मात्र थियो । हिजो अस्ति म ३४–३५ सालतिर आउँदा त जंगल मात्र थियो । यो थलोमा डाँडा त थियो । हामीले खेनेर यत्रो फाराकिलो बनायौं । यसमा एउटा ठूलो माङहिम बनाउने मेरो लक्ष्य छ । अब म यो पूरा गर्छु । यो तपाईहरुको चोत्लुङ हो, शिर हो । यो चोत्लुङ तपाईहरुको शिरमा आएर तपाईहरुले शक्ति माग्नु भएको छ । त्यो शक्ति त प्रदान हुन्छ, माङले तथास्तु भनेको छ । तपाईहरुले चिताएको काम पुग्छ म यहीँ भन्छु । यहाँ आउनेहरु प्रधानमन्त्री भएका छन् । राष्ट्रपति भएको छ । यहाँ गिरीजाप्रसाद कोइराला बुढो पहिला आउँनुभयो । यसो विचार गरे तपाई जिउ भरी प्रधानमन्त्री खानु भन्दिएँ । तीन पल्ट आयो प्रधानमन्त्री जिउभरी खायो, प्रधानमन्त्री हुँदै गयो ।

 

 

यस्तो खालको आशीर्वादहरु मिल्छ । देश चलाउने नेताले पनि देशमा शान्ति कसरी हुन्छ भन्ने कुरामा चाहिं अलि चिन्ता लिनुपर्छ । हाम्रो नेपाल त भारत र चिनको बीचमा रहेको देश हो । यो सानो एउटा मुलुक हो । छिमेकीहरु चलमल भयो भने त हाम्रो उपाय लाग्दैनन् । त्यसले गर्दा नेपाललाई कसरी सुरक्षित राख्ने ? कसरी शान्ति राख्ने ? कसरी राष्ट्र चलाउने ? यो कुरामा पनि नेताहरुमा ज्ञान हुनु प¥यो । म सधै नेताहरुलाई त्यहीँ भन्छु । मैले सुवास नेम्बाङलाई पनि यहीँ भनेको छु, ओलीलाई पनि भनेको छु । देश चाहिं बचाउ है देश बचेन भने त कहाँ गएर प्रधानमन्त्री बन्छौं भनेर भनेको छु ।

 

 

देश बच्नुप¥यो, देश बच्यो भने सबै नेता र जनता सबैले चयन गर्न पाइन्छ । जमिन रहयो भने चयन गर्न पाइयो जमिन नै रहेनन् भने कहा राज्य गर्नु ? उसको अधिनमा गएपछि त राष्ट्रिय झण्डा उखेलेर फालिदिन्छ । त्यसपछि हाम्रो अस्तित्वनै रहँदैन । हाम्रो अस्तित्व पनि बचाउँ है भनेर सबैलाई मैले सल्लाह दिइराखेको छु ।

 

 

किनभने, युक्रेन जस्तो आयो भने समस्या हुन्छ । युक्रेनमा दिनहुँ मान्छे मर्दैछन् । त्यो शान्तिको निमित्त पनि मैले चिन्ता गरेको छु । मनमा गम्भिर ध्यानाकर्षण भएको छ । हामी मानवहरु संसारमा मानवता बोकेर पृथ्वीलाई उपभोग गर्नुपर्ने हो । तर, मिल्दैन कहाँ के कहाँ के भएर विभिन्न समस्या भइरहेको छ । त्यसमा नेपाल त सानो टुक्रा हो । त्यसले गर्दा हामी नेपाली जनता माङप्रति बल गर्नु पर्ने बेला भएको छ । हामी विश्वास सत्य मान्नुप¥यो । शक्ति माग्नु प¥यो । देवी देवताको थलो छ हाम्रो हिमाल एरियाहरु सबै माङहरुको थलो छ । यसलाई पवित्र राख्नुप¥यो । हामी कसरी पवित्र बन्छौं ? कसरी असल मान्छे बन्छौं ? यहीँ कुरामा हामीले ध्यान दिनु प¥यो । हामी निरोगी हुनुप¥यो । रोग व्यधिसँग टाढा रहनुप¥यो । यहीँ कुरा तपाईहरुसँग हार्दिक अनुरोध गर्न म चाहन्छु ।

 

 

यसो भन्दै, आज हाम्रो उभौली याक्वा सेवाको अन्तिम दिनमा छौं । तपाईहरुले माङवा–हाङवा लिएर जानु । यहीँ उपदेशहरु पनि सुनेर जानु । अब हामी फागुन ३ गते फेरि भेला हुन्छौं । त्यसमा सबै सहभागी हुनुहोस् । तपाईहरु सबै आउनुहोस धरै कुराहरु भन्नेछु । आज समयलाई ख्याल गरेर उपदेशहरु यहीँ टुङ्ग्याउँन म चाहन्छु आसेवारो ! धन्यवाद ! तियाहा तियाहा तियाहा !

 

किरात इङ्भो पान्जुम्भोद्धारा प्रकाशित मिलेर बसौं, शान्तिसँग बाँचौं गुरु आशीर्वचन पुस्तकबाट