ज्ञानु फुरुम्बो चरपे
आदिम कालदेखि बसोबास गर्दै आउने जाति मध्ये किरात याक्थुङ/लिम्बु जाति पनि एक हो । यस समुदायको आफ्नै भाषा, लिपि, भेषभुषा, चलचलन, रीतिथिति चाडपर्वहरु छन् । लिम्बू जातिहरु सांस्कृतिक रुपले धनि पछि छौं । यी समुदायको विभिन्न चाडपर्वहरु छन । ती मध्ये सिसेक्पा तङ्नाम एक प्रमुख पर्व हो । सिसेक्पा तङनाम (साउने संक्रान्ति) किराती लिम्बू समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ ।
यो सिसेक्पा तङनाम विशेष गरि साउन १ गते पर्ने गर्छ यस पर्वलाई अति महत्वका साथ मान्ने गरिन्छ । यस पर्वलाई शहर बजारमा भन्दा गाउँ बस्तीहरुमा विधिवत गरिकाले मान्ने गरिन्छ । बिहान सबेरै उठेर स्नान गरि घर लिप्पोत गरि नयाँ पाकेको, फलेको विभिन्न परिकारको हरियो फलफूल, तुलफूलका साथ पित्चा साम्बो बाँबियोहरु बटुल्ने गरिन्छ र साउनमा फुल्ने एक प्रकारको सेतो फूल हुन्छ जसलाई सिसेक्ना फुङवा भन्छन कसैले सक्नात फुङ पनि भन्छन, त्यो फूल दिन भरि खोजेर भए पनि ल्याउने गरिन्छ ।
समय हुँदै हरियो बाँबियोको डोरी लठा बाटिन्छ । डोरीमा सबै प्रकारको नयाँ फलेको तुलफूल लगाईन्छ । सबै घरको मुल धोकामा झुण्डाइन्छ जब साँझपख हुन्छ घरको उत्तर र पूर्र्वतिर फर्केर सबै माङलाई भनौ, प्रकृतिका धनी पञ्चप्रकृतिक मालिक उहीँ तागेरा निङवाभुमाङलाई सम्झेर सेवा गरिन्छ ।
कुनै दुःख, पीडा नआओस्, मरौ, परौ नहोस्, घाउखटिरा, दुःख बिराम नहोस् कहिले भोकमरी अनिकाल नलागोस, यो नयाँ बालीमा फल लाग्दै गर्दा किरा फ्याट्रङग्रा नलागोस राम्रो फलोस फुलोस, बाढि, पहिरो, च्यट्याङ, अग्नि, वायु नलागोस, यो पञ्चतत्वमा कुनै देव दण्ड खेल नआओस भनेर माङलाई सेवा पूजा गरिन्छ ।
त्यसपछि मिठो मसिनो घरमा जे छ त्यहीँ पेट भरि खाएर साँझ परिसकेपछि सबै परिवार मिलेर घरको तलादेखि कसै नाङलो, डालो थाल ठ्टाएर घरको कुना कन्दरादेखि नाङलो ठटाउदै है है हुई हुई गर्दै लिम्बू भाषामा सक्नाम पेगे, चानम नु तकनाम तेओ भनेर लखेटिन्छ अर्थ अनिकाल सबै भाग घरबाट निस्कि जानू सहकाल आउनु भनेर घर वरिपरि लखेटदै बाटोको गल्लि वा चौबाटोसम्म खेदाउने गरिन्छ ।
यो समयमा गाउँघर नै हल्लाले भरिएको हुन्छ । जब छिमेकीले कराउन साथ तलतिर मास्तिर बस्ने सबै कराउन थाल्छन किनकी यसो गरिएन भने अनिकाल एकघर देखि अर्काे घरमा गएर लुक्छ रे, बस्छ रे भने जनविश्वास रहिआएको हुँदा गाउँ भरि एकै साथ लखेट्ने गरिन्छ ।
जब लखेटिएको दिन देखि घरमा कहिले अनिकाल नलाग्ने सहकाल भनौ अन्नबाली धन सम्पति, ज्ञान, बिबेक, चामा, थुङमाको कहिले अभाव नहुने जनविश्वास रहिआएको छ । तर पछिलो समयमा यसलाई सिमित मेलापातको रुपमा मात्र हेर्ने गरिन्छ । जहाँ लिम्बुहरुको भेटभाट गर्ने माध्यमको रुपमा हेर्ने गरिएको छ । यहाँ चासोक तङनाम, सिसेक्पा तङनाम, कक्फेवा तङनाम भन्ने वित्तिकै लिम्बूहरुको पर्व नाच्ने, पालाम गाउने, च्याब्रङ नाच्ने, भेटघाट गर्ने मेला बजारको रुपमा देखिने गरेको छ र यहीँ अर्थ लगाइन्छ । यस तङनाम भित्र भएका महत्वपूर्ण कुराहरु आउदो पुस्ताहरुले सिक्नु पर्ने, जान्नु पर्ने मुख्य कुराहरु लोप हुँदै जाँदै छ । त्यहाँ भित्रका मौलिक संस्कार र सांस्कृतिक महत्वका कुराहरु ओझेलमा पर्दै गएको छ ।
हाम्रो चाड पर्वहरुमा भेटघाट गर्नु, सबै साथी भाइ परिवारसँग रमाइलो गर्नु ठीकै हो । जति बृहत् गर्न सक्छौ त्यति नै हाम्रो चाडपर्वको प्रचारप्रसार हुन्छ तर यो पर्वहरु कसरी सुरु भए ? किन सुरुवात गरियो ? यस भित्र कस्तो खालको मौलिकता र परम्परा लुकेको छ भन्ने कुराहरु खोज गरेर आउने लिम्बू समुदायका पुस्ताहरुलाई देखाउन र सिकाउनु जरुरी छ । यसका मिथकहरु पूर्वजहरुले नयाँ पुस्तालाई हस्तान्तरण गर्न जरुरी छ ।