एक भए निधारमा घाम उदाउने छ : महागुरु फाल्गुनन्द

नेम्बाङ नन्दकुमार गाउँले जि

 

 

विषय प्रवेशः

 

करिबकरिब ८ बर्षको कलिलो उमेरमै वि सं १९५० तिर इलामको साविक जीतपुर गाविस वडा नं ८ (अहिले देउमाई नगरपालिका ९) खत्रक्पामा कुलदेवी युमामाङको दर्शन र ज्ञान प्राप्त गरेपछि महागुरु फाल्गुनन्दले समाज रुपान्तरणको सपना कोर्न थाल्नुभयो । उतिबेला गरिबी, अशिक्षा र चेतनाविहिन समाजमा दरिद्रता बाहेक केही देखिँदैन थियो ।

 

 

त्यही दरिद्र समाजमा जन्मनु भएका फाल्गुनन्द जीवन गुजारा गर्ने क्रममा वि सं १९६४ मा अंग्रेजको गोर्खाली फौजमा भर्ती हुनुभयो र त्यहाँ दोस्रो विश्वयुद्धको सामना पनि गर्नुपरेको थियो । युद्धताका वहाँका अनेकौं लौकिक र अलौकिक चर्चाहरु वहाँको जीवनीमा उल्लेख भएको छ ।
अगाडि नै पल्टने भएका माइला दाजुसँग ३ बर्ष मात्रै गोर्खाली फौजमा काम गर्ने मौखिक सहमति भए पनि फौजका अधिकारीहरुले अनेकौं पद दिँदै र बहाना बनाउँदै राखेपछि फाल्गुनन्दले ८ बर्षमा मात्रै पल्टने जीवनबाट विदा हुनुपरेको थियो ।

 

 

खासमा ः महागुरु फाल्गुनन्दलाई गोर्खाली फौज छोडेर आफ्नो मातृभूमिमा रहेका सन्ततिलाई ज्ञाने, शिक्षा र दीक्षा दिएर धार्मिक जीवनमा समाहित गर्न पल्टनमै दिव्यपुरुषले ताकेता गरिरहेको कुरा वहाँको जीवनीमा उल्लेख गरिएको छ । यहीँ कारण जबर्जस्त गोर्खाली फौज छाडेर समाज सुधारका लागि वि सं १९७२ तिर मातृभूमि नेपाल फिर्ती हुनुभएको थियो ।

 

 

 

उतिबेला विशेष गरेर किरात लिम्बू तथा राई समुदायहरु अशिक्षा र गरिबीले छटपटाइरहेका थिए । त्यसैले समाज सुधारका अभ्यास त्यहीँ समुदायबाट शुरूवात गर्ने निश्चय गर्नुभयो । आफ्नो संकल्प अनुसार बन्धु–वान्धव, इष्टमित्र, दाजुभाइ हुँदै हरेक व्यक्ति र समुदायसम्म धर्म, कर्म र संस्कार रुपान्तरणका लागि अनुनय विनय गर्दै यात्रा गर्नुभयो । सामाजिक वेथिती र संस्कारको सुधारका लागि वहाँले अनेकौं ज्ञान, शिक्षा र उपदेशहरु दिनुभयो ।

 

 

प्रचारप्रसार अभियानको शुरूवात, तीर्थयात्रा र जन्मभूमि फिर्तीः

 

लामो प्रयासपछि महागुरु फाल्गुनन्दले पल्टने जीवनबाट छुटकारा पाउनुभयो । त्यसपछि सबैभन्दा पहिले आफ्नो बुवा–आमा, दाजु र दिदी भुटान (भोटाङ) मा रहेकाले पहिलो भेट र अन्तरंग कुराकानी उहाँहरुसँग गर्ने उद्देश्यले चोकमागु पाँचथर निवासी पृय चेला दिलमान तुम्बापो सँग भुटान पुग्नुभयो ।

 

 

निकै कष्टकर यात्रापछि भुटान राज्यको राजारुख वस्तीमा पुग्नुभयो । सोही ठाउँमा ३ महिना बसेर धर्मको प्रचारप्रसार र मानव तथा प्राणीहरुको उपकार गर्नुभएको थियो । महागुरुको पल्टन बसाइ पछिको सर्वसाधारण र आफन्तसँगको भेटघाट यो नै पहिलो थियो । आठबर्षे लामो पल्टन बसाइ र भुटानको तीन महिने बसाइपछि महागुरु फाल्गुनन्दले स्वदेश यात्राको तर्जुमा गर्नुभयो । उहाँले भुटानबाट सिधा पाँचथर चोकमागुको यात्रा गर्नुभएको थियो । जहाँ उहाँका पृय चेला दिलमान तुम्बापो घर थियो ।

 

 

चोकमागुको बसाइपछि जन्मभुमि नआईकन महागुरु चारधाम यात्रामा निस्कनुभएको चर्चा गरिएको छ । वि सं १९७७ सालतिर विभिन्न शक्तिपिठहरुको अवलोकन र अध्ययन गर्न भारतको काशी, मथुरा, द्वारिका, रामेश्वर, जगन्नाथ, आयोध्या, हरिद्वार, बद्रीकाश्रम लगायतको भ्रमण र दर्शन गर्नुभएको कुराहरू उहाँको जीवनीमा चर्चा गरिएको छ ।

 

 

 

यसरी हिन्दु धर्मका विभिन्न शक्तिपिठहरुको दर्शन गरिसकेपछि वि सं १९७८ सालमा मात्रै महागुरु फाल्गुनन्द आफ्नो जन्मभुमि चुक्चिनाम्बा फर्किनु भएको थियो । यहाँ बसेर उहाँले किरात धर्मको प्रचारप्रसार गर्नुभयो । चेलाभुलाहरुलाई उपदेश, ज्ञान र शिक्षा दिनुभयो । यसकार्यले उहाँको यस– किर्ती तत्कालीन लिम्बूवान राज्यमा सर्वत्र फैलिएर गयो । सबै ठाउँबाट उहाँको भेटदर्शन गर्न आउने गर्दथे ।

 

 

 

यहीँ क्रममा वि सं १९८३ सालमा चुक्चिनाम्बा माङहिमको निर्माण गर्नुभयो । यहीँ माङहिम, महागुरुको पालामा बनिएको पहिलो माङहिमको रुपमा उल्लेख गरिएको छ । उहाँको पालामा बनिएका ६ वटा माङहिमहरुको अहिलेसम्म चर्चाको बिषय बनेको छ ।

 

 

अभियानको निष्कर्षमा सत्य धर्म मुचुल्काः

 

 

महागुरु फाल्गुनन्द लिङ्देनज्यूलाई वि सं १९५० मा खत्रक्पामा दिव्यपुरुषबाट प्राप्त ज्ञान र विवेक अनुसार १९७२ देखि १९८७ सम्म तत्कालीन लिम्बूवान भुमि र भुटान, बर्मा, आसाम लगायतका किरात वस्तीहरुको भ्रमण र अध्ययनले किरात समुदायका लिम्बू र राइहरुको सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता देख्नुभयो ।

 

 

 

किरात समाजको रुपान्तरण र विकासका लागि संस्थागत हिसाबले अगाडि बढ्न जरुरी थियो । सामाजिक विकृति, विसंगति र बेथितिको अन्त्यका लागि दिशानिर्देश गर्न कानुनी आवश्यकता महसुस गर्नुभयो । मुलतः निर्दोष प्राणीको हत्या गरेर बलिपुजा गर्ने, छोरीचेलीको सोतरित लिने, मृत्यु संस्कारमा बलि दिने, छोराछोरी बीचमा भेदभाव गर्ने आदि क्रियाकलापको अन्त्य गर्न जरुरी थियो । त्यस्तै भाषा, लिपी र साहित्यलाई जीवन्त राख्न निसामहिमको स्थापना गर्न, जन्म विवाह र मृत्युु कर्ममा देखिएको अन्यौलताको अन्त्य गर्न अत्यावश्यकता रहेको महागुरुले आवश्यकता देख्नुभयो ।

 

 

 

यी यावत् समस्याहरुको दीर्घकालीन समाधान गर्न तत्कालीन सुभाङगी व्यवस्था अनुसार मुचुल्का खडा गर्ने निष्कर्षमा महागुरु फाल्गुनन्द पुग्नुभयो । यो नै तत्कालीन लिम्बूवानको प्रचलित कानुनी व्यवस्था थियो ।

 

 

 

लिम्बू , राई लगायतका समुदायमा जरा गाडेर बसेको विकृतिको अन्त्य गर्न त्यति सजिलो थिएन/छैन । तसर्थ यश महत्वपूर्ण कार्य गर्नका लागि योजनाबद्ध र संस्थागत तवरले अभियान चलाउने पवित्र उद्देश्यले वि सं १९८८ साल बैशाख २४ गते महागुरु फाल्गुनन्द लिङ्देन ज्यूको आह्वानमा १० लिम्बूवान १७ थुमका तत्कालीन सुब्बा, तालुकदार, अमाली, भद्रभलादमीहरुलाई पाँचथरको चोकमागु स्थित लब्रेकुटीमा बिशाल चुम्लुङ बोलाइयो ।

 

 

लामो बहस र छलफल पछि ७ बुँदे मुचुल्का तयारी भयो । समाज रुपान्तरणका लागि पवित्र उद्देश्य राखेर खडा गरिएको यश मुचुल्कालाई त्यस बिराट चुम्लुङले सत्य धर्म मुचुल्का नामाङकन गर्यो । महागुरु फाल्गुनन्दले खडा गरेको यो मुचुल्का भुत, वर्तमान र भविष्यकालतक कोसेढुङगा सावित हुनेछ ।

 


एकता भए निधारमा घाम झुल्कने छः

 

 

महागुरु फाल्गुनन्द लिङ्देनज्यूले जीवनको मध्यकालमा पुगेर ‘तिमीहरू एकता भयौ भने निधारमा घाम झुल्किन्छ’ भन्नुभएको थियो । समाज रुपान्तरणका लागि कठोर त्याग, तपस्या र सुक्ष्म अध्ययनपछि महागुरु यो निष्कर्षमा पुग्नुभएको थियो । आपुङगीपन, अहंकार, क्रोध र घमण्डले भरिएका समाजभित्र एकताको सम्भावनालाई महागुरुले माया मारेको देखिँदैन । कैयन उपेक्षा र बहिस्करणको बावजुद कष्टपुर्वक महागुरुले धर्म, संस्कृति, भाषा र साहित्यको प्रचारप्रसार गर्नुभएको थियो।

 

 

 

महागुरुले भन्नुभएको थियो ‘थिकहुप केबोखिगर हिनी तोक्वाबो नाम्बिन् कर थिकहुप केम्बोनगर सिक्रुङमाओ नाम्धारो ।’ ( अर्थः एकजुट भयौ भने तिमीहरूको निधारमा घाम झुल्किन्छ, एकजुट भयौन भने तिमीहरूको घुचुकमा घाम अस्ताउँछ। यो विषय वर्तमान परिवेशमा सान्दर्भिक लागेको छ । किनकि अहिले आदिवासी जनसमुदायले आफ्नो मौलिक हक र अधिकार सुनिश्चित गर्नका लागि धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक रुपान्तरणका लागि आफ्नो आवाजहरु उठाइरहेको छ । तर आवाजहरु त्यति बुलन्द हुन सकेको छैन् । कारण ः आवाजहरु, विचारहरु एकजुट÷एकत्रित हुन सकेको छैन् ।

 

 

 

यो स्थिति आउने अवस्था आजभन्दा ९ दशकअघि नै महागुरुले देख्नु भएको थियो । त्यसैले वि सं १९८८ साल बैशाख २४ गतेका दिन तत्कालीन १० लिम्बूवान १७ थुमका भद्रभलादमी, सुब्बा, अमाली र तालुकदारहरुलाई पाँचथरको लब्रेमा बोलाएर यो दिव्यज्ञान दिनुभएको थियो ।
तर राणाकालीन, पञ्चायत, प्रजातन्त्र हुँदै लोकतान्त्रिक व्यवस्थासम्मको राजनीतिक एवम् सामाजिक परिवर्तनपछि विकास भएको आदिवासीय विवेक र चेतनाले पनि महागुरु फाल्गुनन्दले दिएको सन्देशसँग मिल्नेगरि एकजुट हुने काम गरेको पाइएको छैन । यस विपरित एक्लाएक्लै दौडिने अभ्यास भइरहेको छ । यसको परिणाम निधारमा घाम उदाउनुको सट्टामा घुचुकमा घाम अस्ताउने अवस्था आएको देखिन्छ ।

 

 

 

थुप्रै राजनीतिक र सामाजिक परिवर्तन पश्चात् आदिवासी जनजातिहरुले आफ्नो राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक हक अधिकारको आवश्यकता महसुस गरिएको छ तर यी चिजहरुको प्राप्तिका लागि गरिएको हाम्रो अभ्यासहरु भने विखण्डित अवस्थामा छन् । राजनीतिक अधिकार प्राप्तिका लागि नेपालका ठूलाठूला दलहरू गठबन्धन गर्दै अगाडि बढिरहेको परिप्रेक्ष्यमा आदिवासीय हक अधिकार र मौलिकताको आवाज उठाउने दलहरू भने असंगठित स्थितिमा निर्वाचनमा भाग लिइरहेका छन् ।

 

 

यो स्थिति हेर्दा महागुरुको उपदेशको नकारात्मक भाव अर्थात दोस्रो धार (घुचुकमा घाम अस्ताउने) आकर्षित हुने अवस्थाको विकास हुँदै गएको छ । तसर्थ ः अबका बाँकी दिनमा राजनीतिक, धार्मिक, सांस्कृतिक रुपान्तरण चाहने आदिवासीजन्य नेतृत्वले थप कदम कसरी अगाडि बढाउने भन्ने सोचाइ र योजना बनाउन जरुरी छ कि ।

 

अन्त्यमा ः
केही समय अघि माङसेबुङ मासिक परिवार बाट महागुरु सम्बन्धि एउटा लेख दिनुपर्यो भन्ने आग्रह आयो । मैले पनि सम्झेँ महागुरुको सम्झनामा छोटो भएपनि आफ्नो बिचार लेख्ने सोचाइ बनाएँ । मनमा धेरै छलफल गरें बिषय छनौट सम्बन्धि, अन्तिममा एकता भए तिमीहरूको निधारमा घाम झुल्किने छ भन्ने शीर्षक राख्न मन लाग्यो । यो नै वर्तमान सन्दर्भमा सापेक्ष हुनसक्छ भन्ने लागेको छ । खासमा महागुरुले थिकहुप केबोखिगर हिनी तोक्वाबो नाम्बिन, थिकहुप केम्बोखिनगर हिनी सपक्रुङमाओ नाम्धारो, ( अर्थः एकजुट भयौ भने तिमीहरूको निधारमा घाम झुल्किनेछ, अनेकता भयौ भने घुचुकमा घाम अस्ताउनेछ) भन्नुभएको कुरा वहाँका दिव्यवाँणी सम्मिलित माङसिवाखाहुन पुस्तकमा उल्लेख गरिएकोछ ।

 

 

महागुरु फाल्गुनन्द लिङ्देन त्यत्तिकै महागुरु हुनुभएको होइनन् । समाज रुपान्तरणका लागि उहाँका अनेकौं लौकिक र अलौकिक योगदानहरुको उपज हुन महागुरु । किरात साम्जिक मुन्धुम, माङसिवाखाहुन र सत्यधर्म मुचुल्का जस्ता समाजलाई दिशानिर्देश गर्ने ३ अचुक ज्ञानाश्त्रहरु विद्यमान छन् । त्यसैले राज्यले समेत राष्ट्रिय विभुतिको सम्मान दिएको छ । यो संक्षिप्त लेखमा उनको योगदानको चर्चा गरेर सम्भव छैन ।

 

 

 

यही तीनअश्त्र भित्र समाजलाई गतिशील बनाउने अथाह ज्ञानका भण्डार लुकेको छ । यो महान शास्त्रको अध्ययन र उपयोग गरियो भने मानव जीवनले नयाँ गति लिने छ । समाज र राष्ट्रले यसलाई अंगिकार गर्ने हिम्मत गर्न सकेमा सिंगो मुलुक र जनता सम्मुनत हुनेछौं ।

 

 

सन्दर्भ सामग्रीहरुः

 

१, मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द नु लिङ्देन आत्मानन्द सेइङ रे माङसिवाखाहुन २०७१, किरात चोःलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समिति, माङसेबुङ इलाम ।
२, तपस्वी फाल्गुनन्दको जीवनी, २०६४, लेखकद्वय हेमबहादुर गुरुङ र कुलानन्द दाहाल ।
३, महागुरु फाल्गुनन्द २०६६, संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय, राष्ट्रिय प्रतिभा स्मारक अनुदान कोष÷महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान दमक ।
४, महागुरु फाल्गुनन्दको ऐतिहासिक कृतिहरु २०६०

 

 

 

माङसेबुङ मासिकबाट