माङसेबुङ/माङगेन्ना सेवा हामी सबैको माङगेन्ना चोत्लुङ भएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भयो ।
अङसीमाङले भन्नु भयो, ‘यो माङगेन्ना भनेको नाम मेरो भएपनि संसारमा छरिएर बसेका मानव जातिको माङगेन्ना चोत्लुङ उठाउने सेवा हो।’ गत मंसिर १९ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ६९ औं शुभजन्मोत्सव समारोहमा आशीर्वचन दिनु हुँदै वहाँले सो कुरा बताउनु भएको हो ।
समाजमा रहेको कुरीति कुसंस्कारलाई त्याग्दै जानु पर्ने बताउनु हुँदै, वहाँले भन्नु भयो, ‘खानपिनमा सुधार भएपछि शरिरलाई पवित्र हुन्छ ।’ विश्व शान्ति, मानव एकता र सक्कल प्राणी रक्षार्थ सम्पूर्ण मानव जगत एक भएर लाग्नुपर्ने भन्नु हुँदै सबैजना एकता बने मुलुकको विकास हुने वहाँले बताउनु भयो ।
भौतिक सुख सुविधामा मात्र नभई अध्यात्मिक क्षेत्रमा पनि अगाडि बढ्न आवश्यक रहेको चर्चा गर्नुहुँदै अङसीमाङले भन्नु भयो, ‘यो लोकमा जन्म लिएपछि केही काम गर्नु पर्छ।’वहाँले थप्नु भयो, ‘सत्यतामा आशीर्वाद अडिएको हुन्छ, आशीर्वादलाई सही सदुपयोग गर्नुपर्छ।’
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६९ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोहको अवसरमा माङसेबुङमा मंसिर १८ र १९ गते आशीर्वचन दिनुहुँदै मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले पञ्च तत्वको गति विग्रिन्दै गएकोले अहिलेको युगमा विश्व शान्ति तथा मानव एकताको लागि सबैले पहल गर्नुपर्ने बताउनु भयो ।
‘जनघनत्व बढेपछि पृथ्वीले रुपरेखा फेर्छ, यसरी संसारमा नरसंहार हुन सक्छ’ अङसीमाङले भन्नु भयो, ‘पञ्च तत्वको गति विग्रेपछि संसारमा अनेकौं किसिमको महामारी, रोग व्याधि, युद्ध, अशान्ति फैलिन्छ, यसबाट बच्न सचेत हुनुपर्छ ।’
पछिल्लो समयमा किरात धर्मावलम्बीको संख्या अत्याधिक बढ्दोक्रममा रहेको सुनाउनु हुँदै यसमा किरात धार्मिक संघ संस्थाले विशेष ध्यान दिन आवश्यक रहेको कुरा प्रष्ट पार्नु भएको थियो । वहाँले भन्नु भयो, ‘संसारको सबै मुलुकमा किरात धर्म पुगेको छ।’
गुरुको उपदेश विश्वमा उदाहरणीय छ : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले गुरुको विश्वशान्ति र मानव एकताको उपदेश विश्वमा उदाहरणीय रहेको बताउनु भएको छ ।
‘विविधता बीचको एकता नै नेपालको मौलिक पहिचान हो’ उपराष्ट्रपति पुनले भन्नु भयो, ‘नेपालमा रहेको विविधता भित्रको एकताले मौलिक पहिचानलाई कायम गरेको छ ।’ वहाँले भन्नुभयो ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक हो । यस्ता विविधताबीचको एकता नै नेपाल र नेपालीहरुको मौलिक पहिचान हो ।’
धर्मगुरु लिङदेनले किरात धर्ममार्फत् आत्म निर्भरताका लागि कृषिको विकास, आत्मिक शान्तिका लागि अध्यात्म, स्वस्थ शरीरका लागि साकाहारी जीवनशैलीजस्ता विचारले मानव जातिलाई नयाँ सन्देश दिइरहेको बताउँदै उपराष्ट्रपति पुनले धर्मगुरु लिङदेनको विश्वशान्ति र मानव एकताको उपदेश विश्वमा उदाहरणीय रहेको उल्लेख गरे ।
उपराष्ट्रपति पुनले नेपालका सबै जातजाति, भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र विकासका लागि राज्यले समान दृष्टिले हेर्नपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले सबै क्षेत्रको समानुपातिक विकासका लागि नेपाल सरकार र प्रदेश सरकालाई ध्यानाकर्षण समेत गराए ।
उपराष्ट्रपति पुनले धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभई सिंगो नेपालीको उत्कृष्ट सम्पदा रहेको समेत दावी गरे । उनले सदियौंदेखि मानव सभ्यता चिनाउने मुन्धुम र किरात धर्म–संस्कृतिमा गौरव गर्न सबैमा आग्रह समेत गरेका थिए ।
उपराष्ट्रपति पुनले ५ वर्ष पहिले नै आफूलाई गुरुबाट निमन्त्रणा आएको स्मरण गर्दै यसवर्ष आउने अवसर पाएको भन्दै धर्मगुरु लिङदेनलाई धन्यवाद दिए । उपराष्ट्रपति पुनले वर्तमान धर्मगुरु लिङदेनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अधुरो र अपुरो कामलाई निरन्तरता दिएको भन्दै प्रशंसा समेत गरे ।
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६९ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समितिको आयोजनामा आयोजित आत्मानन्द कप खेलकुद प्रतियोगिता, येत नाम्धुङ लाधुङसेमी, अङसीमाङबाट अमृतमय आशीर्वचन, विभिन्न कृतिहरु विमोचन, विविध जातीय सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।
जन्मोत्सवको अवसरमा मंसिर ९ गतेदेखि आत्मानन्द कप १५ औं संस्करण प्रतियोगिताको सुरु गरिएको आत्मानन्द कपको फाइनल खेल १७ गते सञ्चालन गरिएको थियो । १६ गते साक्मुरा वदेम्मा, १७ गते विश्व शान्ति मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङसेमी सेवा आयोजना गरिएको थियो ।
जन्मोत्सवको अवसरमा १८ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६९ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोहको प्रमुख अतिथिबाट उद्घाटन हुने मूल समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समारोहका अध्यक्ष केहेरसिं योङहाङले बताए ।
नुमाङगेन्ना सेवा समारोहमा प्रमुख अतिथि उप राष्ट्रपति नन्दकिशोर पुन, विशेष अतिथि सभाध्यक्ष तथा संघीय सांसद सुवासचन्द्र नेम्बाङ रहनु भएको थियो । प्रमुख अतिथिबाट जन्मोत्सव समारोह उद्घाटनसँगै आत्मानन्द गोल्डकपको विजेता तेह्रथुम र उप विजेता पान्थरका खेलाडिहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
यसरीनै सावायेहाङ नोमाङगेन्ना सेवासँगै माङसेबुङको भालुटारमा निर्मित मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’को प्रतिमा पनि अनावरण गरिएको थियो । कार्यक्रममा नाहेन लाक्मासँगै साँझमा समारोहको सांस्कृतिक उप समिति किरात साम्यो साक्थिम्गेन पान्जुम्भोको संयोजनमा विविध सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सञ्चालन हुने गरिएको थियो ।
सांस्कृतिक कार्यक्रममा किरात केन्द्रीय कलाकारहरुसँगै द भ्वाइस अफ किड्स नेपालका फाइनलिस्ट रुक्सना लिम्बू, गायक तथा संगीतकार नरेश लिङदेन, द भ्वाइस अफ नेपालका प्रतियोगि तेजेन्द्र गन्र्धव, प्रथम माङसेबुङ इक्ला विजेता चोत्लुङहाङ केदेम लगायतले विशेष प्रस्तुति दिएका थिए ।
त्यस्तै १९ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङबाट आशीर्वचन, मिक्तोक वितरण, संस्थागत धन्यवादपत्र वितरण, पुस्तक÷पुस्तिका विमोचन र माङगेन्ना चामल वितरणसँगै विदाई कार्यक्रम सम्पन्न गरिएको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६९ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोहका अध्यक्ष केहेरसिं योङहाङले बताए ।
अङसीमाङ आत्मानन्द सेइङ्ले आशीर्वचन समेत प्रदान गर्नुभएको जन्मोत्सवमा सावायेहाङ नुमाङगेन्ना सेवामा ६९ जना माङ्सेवासाबा तथा माङसेवासामाहरुबाट माङगेन्ना सेवा मुन्धुम वाचन गरेका थिए । त्यस्तै माङगेन्ना मुन्धुम वाचन पश्चात श्रदालु किरात धर्मावलम्बीहरुले नाहेन लाक्मा गरिएको थियोे ।
किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा अध्यक्ष केहरसिंह योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सहअध्यक्ष डकेन्द्रसिंह थेगिमले गरेका थिए भने संचालन महासचिव काकीराम लावतीले गरेका थिए ।