किरात धर्मको मूलमार्ग र संरचना

 


किरात शब्दको विभिन्न शब्दकोषमा जे जस्तो अर्थ लगाए पनि वास्तविक किरात धर्मदर्शनमा आधारित हाम्रो मुन्धुमले भने अनुसार ’किरात’ शब्दको अर्थ ’शक्ति, शासन, सभ्यता, समग्र र एकता नै हो जुन हाम्रा अङसीमाङहरूका खाहुनमा परिभाषित भएको छ । यो आदिकालको सभ्यता, समाजसँग जोडिएको छ ।

 

 

तसर्थ, किरात धर्मदर्शनले सम्पूर्ण दक्षिण र मध्यम एशियाका आदिवासी जनजातिहरूका मौलिकतालाई समेटेको बुझिन्छ । कालान्तरमा यस भेकका आदिवासी जनजातिहरू विभिन्न नवस्थापित र नवआगन्तुक धार्मिक सम्प्रदायमा विभाजित र दीक्षित भएतापनि आजसम्म प्रकृतिपूजकको रूपमा किरात सनातनी आस्थामा दृढ रहेका छन्, यी सबैलाई किरात धर्मदर्शनले किरात धर्मावलम्बीको रूपमा सम्झेको छ, जुन मुन्धुम र खाहुनहरूले प्रष्ट रूपमा वर्णन गरेको छ ।

 

 

तसर्थ, प्रकृतिपूजक सनातनी आदिवासीहरूलाई किरात धर्मदर्शनले सबैलाई किरात धर्मावलम्बी हो भन्ने महसुस गरेको छ । हाम्रा अङसीमाङहरूका खाहुनमा किरात धर्मदर्शनमा प्राकृतिक शक्तिको वर्णन स्पष्ट पाईन्छ । येहाङ खाहुनमा सर्व शक्तिमान तागेरा निङवाभूमाङ, सर्वव्यापि, सम्पूर्ण ब्रह्माण्ड, प्रकाश, प्राकृतिक संरचना, आत्मा र परमात्माका शासक हुन् पवित्र आत्मामा नै तागेरा निङवाभूमाङको बास हुन्छ, तसर्थ पवित्र आत्मा, कर्म र धर्मको बाटो नै किरात धर्मको मूल मार्ग हो । यसरी नै लेप्मुहाङको खाहुनमा भनिएको छ, तागेरा निङवाभूमाङ सृष्टि र विनाशका शासक हुन् । सत् मार्ग र सद्विचारमा सदैव रहनेलाई तागेरा निङवाभूमाङले सधै संरक्षण र सम्बद्र्धन गर्छ, यसको विपरित गर्नेलाई घृणा र नाश गर्छ ।’

 

 

कान्देनहाङको खाहुनमा उल्लेख भएको छ, ’प्रथम आफै सुमार्गमा हिंड्नुपर्छ, सुध्रिनुपर्छ र क्रमशः परिवार सुध्रन्छ, समाज सुध्रन्छ, देश सुध्रन्छ र अन्त्यमा संसार स्वर्गमा परिणत हुन सक्छ । निरन्तर माङको सेवा गर्नेलाई सुमार्गको ज्ञान प्राप्त हुन्छ । तसर्थ, आदिकालदेखि नै तागेरा निङवाभूमाङले रचेको प्राकृतिक शक्तिहरूलाई माध्यम मानेर आदिवासी जनजातिहरूले प्रकृतिको आरधना आदर्शलाई सम्मान र पूज्दै आएका छन्, जुन किरात धर्मको मूलमार्गको रूपमा स्थापित भएको छ ।

 

 

किरात धर्म आदि धार्मिक दर्शन मात्र होइन, वैज्ञानिक विकासको श्रोत पनि प्रमाणित भएको छ । मुन्धममा उल्लेख छ, ’पृथ्वी घुम्छ भन्ने बोध हजारौ वर्ष पहिले किरातकालीन सभ्यतामा नै अवगत अथवा आविष्कार भइसकेको छ, जुन वैज्ञानिकहरूले पछिसम्म सूर्य नै घुम्छ भन्ने गर्थे । किरात धर्मदर्शन प्राकृतिक संरचनाको राम्ररी अनुसन्धान र विश्लेषण गरेर मानव जातिलाई प्रकृतिको सम्मान र संरक्षण गर्नु भन्ने खाहुनहरूमा उल्लेख छ । यसै कारणले विशेषतः आदिवासीहरू प्रकृति पूजकको रूपमा आफूलाई चिनाउन चाहन्छन् र प्रकृति विनाशको विरोध आफ्नो कुलदेव तागेरा निङवाभूमाङले रचना गरेको प्राकृतिक संरचनाको सधै सम्मान र संरक्षणको राउटेसम्मले पनि गर्छन् ।

 

 

सिरीजगाहाङले आ–आफ्नो भाषा लिपिद्वारा शिक्षा दीक्षा भए मात्र मानव विकास र विचारमा सम्पूर्णता पाइन्छ भन्ने सन्देश दिनु भएको छ । मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिड्देनद्वारा किरात धर्मदर्शनको पुनः उत्थान र पारिवारिक तथा सामाजिक सुधारका उदाहरणीय थालनी गर्नुभएको छ । आजको मानव समाजमा ’विश्व शान्ति र मानव एकता“ नभई मानव मूल्य र मान्यतामा आँच आइरहेको आफ्नै आँखाले देखेर, भोगेर आउनु भएका मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिइदेन प्रथम विश्वयुद्धमा सहभागि योद्धा पनि हुनुहुन्थ्यो ।

 

 

यस्ता व्यवहारिक अनुभवलाई युद्धभूमिमा पनि “विश्व शान्ति र मानव एकता प्रयासरत रहनुभएको प्रत्यक्ष प्रमाणसँगै रहेका योद्धाहरूले देखेका थिए । लिड्ग, वर्ग र जातजातिमा समानताको आदर्श निर्माण गर्नको लागि किरात धर्म दर्शनको अध्यामिक ज्ञानको पालना गर्नुपर्छ, सादा र सरल जीवनयापनको अभ्यास गर्नुपर्छ । यसबाट मात्र मुक्ति प्राप्त हुन्छ । मुक्ति प्राप्त भएपछि ’विश्व शान्ति र मावन एकता तथा धार्मिक सहिष्णुता’ मानव जातिमा प्रभावित भएर जान्छ भन्ने उहाँको खाहुनमा पाइन्छ ।

 

 

किरात धर्मदर्शनलाई समयसापेक्ष मानव समाजमा उपयोगी बनाउनको लागि पूर्व नेपालका जिल्लाहरूका सदरमुकाम, नगरपालिका र गाउँहरूमा नियमित सत्कार्य सञ्चालन र नियमित धार्मिक कार्यक्रम सञ्चालन गर्नलाई प्रशस्त पेगोडा शैलीका माङहिमहरू निर्माण भइसकेका र निर्माण भइरहेका छन् । नेपाल मात्र नभएर भारत, भुटान, म्यानमार, हङकङ, चीन, वेलायत, अमेरिकामा पनि माङहिम निर्माण भई धार्मिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

 

 

 

यी माङहिमहरूमा सेवासाबा स्थायी नियुक्तिसहित दैनिक कार्यक्रमहरू नियमित रूपमा पारिवारिक र सामाजिक कार्यक्रममा सेवारत छन् । अङसीमाङहरूका खाहुनहरूलाई सरल ढंगमा सुनाउने र सिकाउने गतिविधिमा सक्रिय छन् । सेवासावा अध्ययन संस्थाको रूपमा स्थापना भएको ’किरात साम्जीक मुन्धुम निसामहिम’ बाट प्रत्येक वर्ष सयौंको संख्यामा तालिम प्राप्त सेवासाबाहरू अध्यात्मिक अध्ययनको प्रारम्भिक चरण पूरा गरी विभिन्न माङहिम र समाजमा निरन्तर धार्मिक शिक्षा र दीक्षा प्रदान गर्ने काममा सेवा पु¥याइरहेका छन् ।

 

 

इलाम जिल्लाको माङसेवुङ नेपालमा किरात धर्मको केन्द्रीय माङहिम स्थापना भएको छ । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको प्रत्यक्ष निर्देशनमा नियमित धार्मिक कार्यक्रम सञ्चालन र देश, विदेशमा रहेका माङहिमहरूलाई नियमन र निर्देशन धार्मिक आचारसंहिताको आधारमा सम्पूर्ण धार्मिक कार्यक्रमहरूमा एक रूपता बनाउने भूमिका मूल माङहिमको रहिआएको छ । सम्बन्धित माङहिमहरूमा विशेष गरी शुभ–विवाह, लाधुङसेमी सेवाहरू, दीक्षा र प्रवचनहरू नियमित सञ्चालन भइरहन्छ ।

 

 

यस्ता सम्पूर्ण धार्मिक कार्यक्रमहरूमा मानव समाजमा रहेका लिड्ग, वर्ग र जातिको विभाजनलाई समानान्तर सद्भावको शिक्षा प्रदान व्यवहारमा प्रमाणित गर्ने मूल उद्देश्य रहनेछ । यसरी किरात धर्मदर्शनको क्षेत्रमा मूल माङहिमद्वारा अध्यात्मिक र धार्मिक नियमित कार्यक्रमहरू सञ्चालन गर्ने जिम्मेवारी किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको रहिआएको छ । मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ’सेइङ’ज्यूवाट पूर्ण रूपमा व्यवस्थापन र आशीर्वचन भइरहने गर्छ । तसर्थ, सम्पूर्ण अध्यात्मिक क्षेत्रको व्यवस्थापन र सञ्चालन ’किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति’ ले आफ्ना प्रारम्भिक इकाई र माङहिमहरूबाट गरिआएको छ ।

 

 

धार्मिक संगठनलाई पवित्र धार्मिक अनुष्ठानको रूपमा सञ्चालन र स्थापित गर्नको लागि स्थापित ’किरात धर्म तथा सहित्य उत्थान संघ’ ले २०३६ सालदेखि पञ्जीकृत संस्थाको रूपमा किरात धर्मको प्रचारप्रसार र संगठन विस्तार गर्दै नेपालको राजधानी काठमाडौं उपत्यकाको समिति, देशको पूर्वी १० जिल्ला र प्रारम्भिक समिति गठन भइसकेको छ । यसवाहेक नेपाल राष्ट्रिय समिति र भारतमा प्रान्तीय समितिहरूमा दार्जिलिङ पश्चिम बंगाल, सिक्किम र आसाम गठन भएको छ ।

 

 

 

यसरी नै राष्ट्रिय समितिहरु हङकङ, चीन, साउदी अरब, दक्षिण कोरिया, बेलायत, म्यान्मार, मलेसिया र भुटान गठन भएको छ । किरात धर्म तथा साहित्य उत्थान संघको मातहतमा रहेर किरात धर्मदर्शनमा आधारित धार्मिक कार्यक्रमहरू प्रचारप्रसार, प्रवचन र धार्मिक सभाहरू नियमित रूपमा यी समितिहरूले गरिरहेका छन् । समिति गठन नभएका देशहरूमा अमेरिका, क्यानडा, जापान, रसिया र अष्ट्रेलियामा पनि किरात धर्मावलम्बीको संख्या बढदो छ ।

 

 

किरात धर्म तथा साहित्य उत्थान संघले धार्मिक कार्यक्रमको अतिरिक्त भाषा, साहित्य, शिक्षा, स्वास्थ्य र सामाजिक सुधारका विशेष कार्यक्रहरू पनि समय समयमा सञ्चालन गर्दै आइरहेको छ । आउने दिनमा शैक्षिक संस्था, स्वास्थ्य संस्था, भाषा र साहित्य सम्बन्धि प्रकाशन तथा असहायहरूको लागि आश्रमहरू स्थापना गर्ने योजना तर्जूमा छ । उप्रान्त, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति र किरात धर्म तथा साहित्य उत्थान संघले संयुक्त रूपमा दीर्घकालीन वृहत योजनाहरू सञ्चालन गर्ने विशेष कार्यक्रमहरू ल्याउन लागिएको अवगत गर्न चाहन्छौं ।

 

किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन २०६७ प्रतिवेदनबाट