महाकवि मोहन दुखुन
प्रसंग प्रवेश
किरातहरू कुनै समयमा विश्व छाएका दृश्य सन्दर्भहरू वेद, पुराण, रामायण, महाभारतमा पढ्न पाइन्छन् । कोही विद्वानहरूको विश्वास छ ऋगवेद प्रणयन हुन अगावै किरातहरूको अस्तित्व एशिया महादेश अन्तर्गत रहेको कथन पनि कहिलेकाहीँ उठ्दछ । वैदिक सभ्यताभन्दा पुरानो सभ्यताहरूमा सिन्धु–भेली सभ्यता, हरप्पा र महेञजदरो सभ्यता आदि ऐतिहासिक साक्षी प्रमाणहरू हाम्रा सामने आएका छन् । ती सभ्यता र तथ्यहरूमा किरातीय इतिहास युक्त छ भन्ने पनि हामी सुन्छौं । वर्तमान अमेरिकाको प्राग–ऐतिहासिक कालखण्डमा ’रेड इण्डियन’ हरू बसोबासो भएका रहेका अनि कालान्तरमा षड्यंत्र गरी अमानुषिक तौर तरिकामा स्वहाः शेष ती किराती ’रेड इण्डियन’ हरूलाई पारिएको तथ्य पनि समय समयमा सुन्न पाउँछौं हामी ।
स्वाधिन भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको ’डिस्कभरी अफ इण्डिया’ नामक पुस्तकले ऐतिहासिक तथ्य प्रदान गर्छ त्यो के–कस्तो भने भारतको उत्तर खण्ड हिमालयञ्चलमा किरातहरूको प्राचीनकालबाटै आधिपत्य र बसो बासो थियो अनि आर्यहरू धेरैपछि मात्र भारत प्रवेश गरेका हुन् भन्ने यथार्थ कुरा जुन ग्रन्थमा छँदैछन् । महाभारतको अठाह«दिने युद्धमा भगदत्तको नेतृत्वमा किरातहरू पूर्वीय भारतबाट कौरव पक्ष युद्ध लड्रनामा सामेल भएका थिए भने, अर्को एक दल किरातहरू उत्तर भारतबाट पन्च पाण्डवको सहयोगी बनेर युद्ध लडेका वर्णन पनि पाइएकै छ । अर्जुन पशुपाताश्त्र प्राप्ति गर्न भारतको हिमाली क्षेत्र तपस्या गर्न आएका र किरातेश्वर महाशीवसित भेट भएको त्यस पौराणिक घटनामा पनि किरातको सन्दर्भ आएकै छ ।
यसरी पृथ्वी छाएर रहँदै आएका किरातहरू २१ औं शताब्दीमा भने एक आदिवासी जनजातिको अवस्थामा देखा परेका हुनु वास्तवमा दुःखदायी बिषय सम्झन्दा हुन्छ । यस्तो अवस्था हुनमा स्वयं किरातहरूकै अदूर्दर्शिता, खान–पानमा लापरवाही, भविष्य सोच्नमा बेवास्ता, आपुंगे व्यहोरा, विशाल धरतीतिर ध्यानै नजानु, नलाउनु आदि कारणहरूकै प्रतिफल किरातहरूको यो यस्तो हीन अवस्था भएको हो । यहीँ हीन अवस्थाबाट उत्थान गर्न किरात कूलमा भगवान श्री फाल्गुनन्दको जन्मावतरण भएको हो ।
आफ्नो छोटो जीवनभित्र श्री फाल्गुनन्दले असंख्य निर्मल कार्यहरू गरेर गएका छन्; उनले प्रदान गरेका विश्व–दर्शन; किरात धर्म–संस्कार–संस्कृति सराहनीय छन् भनी स्वीकार्न सकिन्छ । उनको जीवन लीलालाई राम्ररी अध्ययन गरिलिइँदा यस्तो अनुभूति हुन्छ उनी एक्लो अवतारले साराका सारा कार्यहरू गरेर गएका छन् सर्वदिग– आश्चार्य चकित पार्ने विलक्षणता । विश्वभरि छरिएर बसेका अनि विलुप्त हुँदै गइरहेको किरात जातिको दृढ धर्म–दर्शन, संस्कार–संस्कृति नहुनाकै कारणले किरातहरूको त्यो दूरगति भएको हो । आदिम सभ्य जातिहरूमा गन्तीमा आउने, आएका किरातहरूको श्री फाल्गुनन्द अवतार हुनुभन्दा अघि लिखित ग्रन्थहरू, मुन्धुम धर्मशास्त्रहरू एउटै थिएनन् भन्दा हुन्छ । विरोधी शासकहरूले असंख्य मुन्धुमका ग्रन्थहरू जलाएर खरानी बनाएका घटना, किराती धर्म–संस्कारका पुस्तकहरू भष्म पारिदिएका थिए भन्ने कुरो त्यो अर्को बेग्लै ऐतिहासिक परिच्छेद हुन् ।
भगवान् श्री फाल्गुनन्दले आफूसित ऋद्धि र सिद्धिका लक्षणहरू, गुणहरू लिएर आईकन धेरैवटा पावन कार्यहरू पूर्ण गरी वरी ६४ वर्षको उमेरमा वहाँ ब्रह्मलीन हुनु भयो । भगवान् श्री बुद्ध सरह उनको सामुहिक चिन्तनको दर्शन रहेको छ । व्यक्ति केन्द्रीत भाव–शैली उनको हरेक कार्यमा पटक्कै रहेको हुँदैन थियो । ’सर्वजनहिताय, सर्वजनसुखाय’ को उच्च मानविक चिन्तन उनको हर आयाम र प्रवचनमा पाइन्छन् । मन, वचन र कर्ममा उनी अति पक्का व्यक्ति थिए– समाज सुधारकको रूपमा पनि उनलाई इतिहास पृष्ठबाट मेटाइन सकिंदैन । किरात जातिको मद–मंदिरा, आमिस र तामसिक भोजन गर्ने आदतलाई सुधार गरेर मदहीन, निशाहीन समाज, देश र विश्व नै नौलो दिशामा उभ्याउने उनको उच्चतम लक्ष्य र उदेश्य थियो । विवाह रीत, परिवारिक साइनो सम्बन्धि रीति–थितिबारे, उनको मौलिक र सुधारात्मक चिन्तन छ ।
समाज सुधारका फाल्गुनन्दनीय कार्य
विक्रम संवत १९८८ लिम्बुवानमा थुम थुमका ठूला–ठाला किरातहरू, बुद्धिजीवीहरूलाई एक ठाउँ बटुलेर समाज, जाति र देश सुधार गर्ने ध्येयले ७ बुँदे सही मुचुल्का गर्ने प्रबन्ध श्री फाल्गुनन्द महागुरूले गर्नु भएको थियो । वहाँले आफ्नो दिव्य प्रवचन गर्दा भन्नु भयो “रीति–रिवाजमा धेरै गडबढी भएको छ ती सब सुधार्नु पर्छ । जन्म–सुतक, मृत्यु–सुतक बार्नु; विहा–बटुलमा छोरीको मोल–सोत नखानु, चोरी–जारी विवाह नगर्नु, अर्काको घर भत्काउँदा पाप लाग्छ, झै–झगडा नगर्नु, जाँड, रक्सी, मासु–अण्डा, माछा खाने चलन छोड्नु, छोरा–छोरीलाई शिक्षा दिनु पर्छ, पाठशाला, विश्वविद्यालय बनाउनु, ७ बुँदे सत्य धर्म मुचुल्काबारे नेपाल राष्ट्रिय प्रज्ञा–प्रतिष्ठानका श्रद्धेय कुलपति श्री बैरागी काइला लेख्नु हुन्छ ‘महागुरू फाल्गुनन्दले आफ्ना जातिका धार्मिक, सामाजिक तथा आर्थिक सुधारलाई नै आफ्नो जीवनको प्रथम र प्रमुख कर्तव्य ठाने । अन्धकार, अन्ध–विश्वास, अशिक्षा र रूढीग्रस्त समाजलाई ठूलो झट्का दिनु सायद धार्मिकताको आड र भरोसा चाहिन्छ ।
त्यहीँ धर्मको आडमा महागुरूले युगौंसम्म अन्धकारमा दबेको एकै ठाउँमा जमेको समाजलाई धक्का दिए; जसको फल अनुकूल रह्यो । सर्वत्र गुरूको स्वागत शिक्षा, उपदेशका प्रवचन सुन्नेहरूको भीड तथा अनुयायी भक्तहरूको संख्यामा दिन–रात वृद्धि त्यसैको सुचक थियो ।’ अग्नि–पुराणमा लिखित ज्ञान पाइन्छ; यस्तो छ ‘वेदान्त शास्त्रमा जुन अक्षरलाई अविनाशी, सनातन, अजन्मा अनि व्यापाक परब्रहम पर्मेश्वरको अद्वितीय चैतन्य स्वरूप अनि ज्योतिर्मय भनिन्छ त्यसैको सहज (चैतन्य भूत) आनन्द कैल्हे काहीं व्यञ्जित हुन्छ, त्यहीँ आनन्दको अभिव्यत्तिलाई चैतन्य, चमत्कार अनि ’रस’ को नामले वर्णन गरिन्छ । आनन्दको जुन विकार हो त्यसैलाई अंहकार भन्ने गरिन्छ, अहंकारले ’अभिमान’ प्रादुर्भाव हुन्छ जुन अभिमानले तीनै लोकको समाप्ति भएको कुरो पनि छ ।
यसरी अहंकार (अभिमान) क्रोध, मात्सार्य, प्रलोभन, प्रतिशोधले मान्छेलाई शेष–शून्य अवस्थामा पुन्याउँदछ भन्ने ज्ञान शास्त्रार्थद्वारा ज्ञात हुन्छ । भगवान् श्री फाल्गुनन्द संसारिक प्रपञ्चहरू लोभ, माया, इष्र्या, कोध, अभिमानबाट संसारभित्रै रहेर पनि टाढा भई पोखरीमा कमलपातझैं अनाशक्त स्वरूप पवित्र जीवन गुजार्थे । सत् खानपान, सत् विचार, सत् कार्य, सत् व्यवहार, सत् आचरण, सत् चिन्तन उनमा थियो अनि आफ्ना चेलाहरूलाई पनि त्यहीँ ज्ञान–शिक्षा दिने गर्नु हुन्थ्यो । उनले प्रदान गर्नु भएको ज्ञानबारे यहाँ क्रमसः बुँदा रूपमा दिइनाको औचित्य ठहर हुँदा यहाँ यस किसिमले लेखिन्छ १. भाषा–लिपी–शिक्षा २. ब्रह्मचर्य व्रत ३. भक्ति ४. ज्ञान ५. आत्मा परमात्मा ।
भाषा लिपि शिक्षा
श्री फाल्गुनन्दज्यूले ’श्रीजंगा–किरात–लिपि’ प्रस्तुत गरेर प्रचार–प्रसार गर्नु भयो अनि आदिम शैलीमा बाँचेका बाँच्ने मानिसहरूलाई मुन्धुम–प्रतिपादन गरेर धार्मिक–संस्कार–संस्कृतिको नव–राज–पथ निर्माण गरी त्यहीँ राज–पथका पथिक बनाए किरातहरूलाई । श्री इमानसिंह चेम्जोङ विद्वान व्यक्ति थिए उनले भगवान् फाल्गुनन्दको पथ अनुशरण गरेर किरात–भाषा–लिपि सम्बन्धमा विकाश गर्ने कार्यमा ठूलै योगदान दिएका छन् । आदिकालबाटै किरातहरू अग्निपूजक र ऋगवेदी रहेका हुनाले आफ्ना मौलिक मुन्धुम कठस्थः (थुत्तुरी) अवस्थाबाट फ्यातुलो धार्मिक–संस्कार कार्य गर्दै आएको प्रथालाई नियमित, लिखित रूपमा धार्मिक संस्कार–संस्कृति क्षेत्रमा दृढता ल्याइदिएर उन्नतशील स्वरूप दिए । विश्वका सभ्य प्रांगनमा वर्तमान किरात आजा–पूजा पूर्णरूपेन उच्चस्तरको संस्कार–संस्कृतिको अवस्था विद्यमान रहेको छ भन्न सकिन्छ ।
संसारिक जीवनका हरेक पहलुका आवश्यकीय कर्मकाण्ड श्रृंखलाः जन्म, मृत्यु, शुद्धाशुद्धि, कार्य, पाप–श्राप मोचन, मुक्ति–पूजा, देवता–देवीलाई प्रफुल्लित बनाईकन संसारिक जीवन सुखमय शान्तिमय बनाइने मुन्धुम–मन्त्र थुत्तुरी अवस्थाबाट लिखित शास्त्रीय विकाश शीलतामा ल्याइनु साध् धारण कुरा हो भन्न र ठान्न पटक्क मिल्दैन । पछाडिएका जाति, जन–जाति, आदिवासीहरूको धार्मिक, सांस्कृतिक आस्था र विश्वासलाई राम्ररी सम्झी–बुझी मुन्धुम–शास्त्र तयार पारिएका छन् । विश्वका किरातीहरूलाई भगवान् फाल्गुनन्दको अवतरणपछि प्राप्त भएको छ धर्म–संकार, पूजा–अर्चना विधि वैज्ञानिक तौरतरिकामा तयार बनाइएका अनमोल रत्न । धर्म र विज्ञान सन्दर्भमा आज पर्यन्त राम्ररी विश्लेषण भइसकेको छैन् ।
धर्म ’कखग’ स्तरदेखि ’डी लीट’ स्तर सम्मको हुन्छ आधुनिक युगमा, युगिन धर्म त्यसैलाई भनिन्छ । बली–रक्त दिइने चलनचाहीँ आदिम युगको मानव समाज भर्खर पशुबाट उठ्दै गरेको अवस्थाको धर्म संस्कार । लिखित, नियमित र श्रृंखलाबद्ध धर्म–संस्कार भनेको ’पी एच डी’ र ’डी लीट’ स्तरीय उचाइको र फाल्गुनन्दीय धर्म संस्कार विश्व–स्तरीय धर्मको गरिमा रहेको धर्म–संस्कार, किरात धर्म ! धर्म, संस्कार संस्कृति, मानव कर्तव्यका दिव्य–ज्ञान भगवान् फाल्गुनन्दबाट पाएपछि किरातहरू गर्व–गौरव–बोध गर्दछन् । हुन पनि पशुपंक्षीका रगत र मासुले भुत–प्रेतहरू खुशी हुन्छन परम् आत्मालाई चोखो भक्ति–भाव भए त पुगिहाल्यो; जुन यथार्थ सम्पूर्ण रूपले श्री फाल्गुनन्द हजुरले ज्ञात गराए पछाडिएका मानव समूहलाई चढाउने बस्तुहरू ’पत्रम्, पुष्पम्, फलम् र तोयं’ हुन् ।
ब्रहमचर्य व्रत
धर्मगुरु र भक्तहरूमा रहनपर्ने आचार–संहिता अनुसार ब्रह्मचर्य नै सर्वश्रेष्ठ आचरण स्विकारिन्छ, भगवान् राम, भगवान् कृष्ण र भगवान् बुद्ध तीनै महामानवहरू वैवाहिक जीवनमा आबद्ध भएका थिए । बुद्ध भगवान्ले २९ वर्षको उमेरदेखि ’ब्रह्मचर्य’ व्रत धारण गरेका थिए । तर, भगवान् फाल्गुनन्दले जीवनभरि नै ब्रह्मचर्य धर्म पालन गरे, कतै सुदभर खुस्किएनन् । शीवजीले (पारुहाङ÷थेबासामले) काम बासनालाई काबु पारे; आफ्नो ललाटका तेस्रो नेत्रद्वारा कामदेवलाई भष्म पारेका थिए । फाल्गुनन्दले स्वयं नारी रूपमा आफूलाई उभ्याएर काम बासनालाई शक्तिहीन पारेका थिए ।
सैनिक जीवनमा रहेर कसरी ’ब्रहमचर्य’ को आचरण पालन गरे त्यो विषय सोंच्दा विदित हुन्छ कति कठिनताको साधक उनको जीवन थियो तर वहाँ कहीँ कतै ’ब्रह्मचर्य’ धर्मबाट फुस्केर झरेनन्, यो विषय साधारण हो भन्न मिल्दैन स्वयं भगवान् भएको हुनाले मात्र श्री फाल्गुनन्द यसरी अनाशक्त जीवन व्यतित गर्न सफल भएका हुन् । भर्सक फाल्गुनन्द धर्मावलम्बीहरूले ब्रह्मचर्य व्रत पालन गर्न पर्छ भन्ने उनको आदेश–निर्देशलाई कदापि बिर्सिन हुँदैन । ब्रह्मचर्य व्रत शुरूमा सिंढी चढ्न गाह्रो हुन्छ तर, परिणाम परम् सुन्दर र अनन्त आनन्दको अनुभूति हुन्छ; वर्णनातीत शान्ति र आनन्द !
भक्ति योग
वायु, ढुंगा, धरती, अग्नि, सूर्य, आकाश, पशु–पक्षी, आदिका पूजा–अर्चना गर्ने अवस्थामा रहेका निश्चित अविकशित जाति–समूहलाई आत्माबारे ज्ञान दिनु भयो भगवान् फाल्गुनन्दले उनले तागेरा निङवा भुमाङ (आक्षरातीत परब्रहम) तत्व श्रेष्ठ ज्ञान बुझाउनु भयो । वहाँबाट प्रतिपादन भएका साम्जिक मुन्धुम’, साप मुन्धुम, खाइङ मुन्धुम, थुड्साम मुन्धुम’ आदि अध्ययन–श्रवण गरिन्दा मानिस आत्मा हुन् र ब्रह्माण्ड–सिर्जना गर्ने परमात्मा हुन् भन्ने ज्ञान पाइन्छ । वहाँका हरेक प्रवचन र लीलाहरूबाट प्रत्यक्ष प्रमाणहरू प्राप्त हुन्छ यी ब्रह्माण्डहरूको निर्माणको पछि कुनै परम् कारण छ र परम् आत्मा (तागेरा निङवा भुमाङ) नै महास्रष्टा हुन् भन्ने वहाँका हर आयामबाट बुझ्न सकिन्छ, बुझ्न पर्छ ।
निस्काम कर्म, निर्लोभ भाव, सेवा–भक्ति र पवित्र मनद्वारा परम् आत्मालाई भक्ति गरिए नपाइने थोक पृथ्वीमा मानव जीवनमा केही पनि छैन् । संसारमा जन्म लिएपछि मानिसले हर पल, हर क्षण परमात्माको स्मरण गर्दै निस्लोट अवस्थामा भक्ति गर्दा यी संसारिक बन्धनहरूबाट फुत्किएर मोक्ष प्राप्त गर्नु नै मान्छेको परम् कर्तव्य हो । मान्छे धरतीमा जन्म लिएपछि हर–बन्धनको लिसोले टालिएझैं जुनी–जुनी टाँलिदै यहीँ जगतमा अल्झिएर बसेको हुन्छ । मान्छेको जीवन ती सारा लिसोहरूबाट फुत्किनु र परम् सत्तामा लीन प्रलीन हुनु नै मान्छेको अन्तिम कर्म र धर्म, त्यहीँ परम् लक्ष्योद्देश्यको निम्ति मान्छेको पृथ्वीमा जन्म भएको हुन्छ । ब्रजवासी गोपिनीहरूले श्री कृष्ण भगवान्को ’अनन्त–प्रेम– लक्षणा–भक्ति’ गरेर मुक्ति पाएको कथा अति सुन्दर छ । भक्ति–योग नै सहज पथ, सुगम राह एवं सुलभ–सरल मार्ग तागेरा निङवा भुमाङ (अक्षरातीत परब्रहम) लाई प्राप्त गर्ने जुन प्रमुख शिक्षा भगवान् फाल्गुनन्दले स्वयं दिएका छन् । भक्तिद्वारा तागेरा निङवा भुमाङको प्रत्यक्ष–अप्रत्यक्ष दर्शन मिल्न सक्छ जसरी अर्जुनले श्रीकृष्णको विराट दर्शन प्रत्यक्ष देख्न पाए । गीताको श्लोक यस्तो छ ः ‘मत्कर्मकृन्मत्परमो भद्क्तःसड्वर्जितः। निवैरः सर्वभुतेषु यःस मामेति पाण्डव ।।
ज्ञान योग
धर्म, कर्म, अर्थ, मोक्ष, जीवन, संसार सर्व–क्षेत्रको अम–तत्व होइन, यथार्थता बुझ्न र बुझिलिन ज्ञान–तत्वको ठूलो आवश्यक्ता पर्दछ । मान्छेको जीवन बुझ्नु संसारिक कर्म गर्न आशीर्वाद, शास्त्राध्यन, मुन्धुम पठन–पाठन, निरूपण–विश्लेष्ण, समीक्षण टिप्पणी गर्दै अघि बढ्न सक्नु पर्छ । मान्छेको जीवनमा सत्य र आन्ति दुई तत्व रहेको हुन्छ । बिना सत् ज्ञान झट्टै बुझ्दा भ्रमलाई सत्य ठहराएर मान्छे संसारमा भड्कि रहेको हुन्छ श्री व्यासहजुर भन्नु हुन्छ ‘सत् परम् धि महीः’ आत्मा बुझ्नु परमात्मा बुझिलिनु प्रेम, भक्ति, ज्ञान उपासना, मुक्ति प्राप्त गरी परम् सत्तामा लीन हुनु सत् ज्ञानको आवश्यकता हुन्छ । संसारमा मान्छेलाई हरपल काम–वासना, धन–बासना, बात्सालय बासना, ऐय्यास–बिलास बासना, चौकी–पद– बासनाका चुम्बकहरूले फलामलाई आफुतिर खिंचिरहेझैं तानिरहेको हुन्छ ।
भगवान् फाल्गुनन्द भन्नुहुन्छ लीला–माध्यमद्वारा ’सयपल्ट यो धरतीमा हरेक मान्छेको जन्म भइसकेको छ, त्यसो त ८४ लाख जुनी फेरेर मान्छे रूपी प्राणीको जन्म हुन्छ । मान्छेको रूपमा जन्मेर संसारका सारा बन्धनहरूबाट फुत्केर मोक्ष प्राप्तार्थ लक्ष्यले यो धरतीमा मान्छेको जन्म हुन्छ । परम् अर्थ नै मान्छेले जीवनको मूल उद्देश्य राख्नु पर्दछ । ज्ञानहीन अवस्थाका मान्छेहरू हुँदा संसारिक बन्धनलाई पूर्ण ठानिरहेका हुन्छन् मान्छेहरू । उँ पूर्ण मदः पूर्णमिदं पूर्णात्मपूर्ण मुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवा वशिष्यतेः वृहदारण्यकोपनिसद् ग्रन्थमा यो श्लोक सुसज्जित छ । संसारमा राष्ट्रपति, प्रधानमन्त्री, पुन्जीपति, कवि, कलाकार, हाकिम, कृषक, श्रमिक कोही पनि ’अब म पूर्ण भएँ, पुग्यो’, भन्दैनन्, सबैलाई अपूर्ण, सर्वदिग क्षुधा र तृष्णा ! पूर्णता त परम् आत्मामात्र हुन्छन् शास्त्रमा भनिएको छ ।
एउटा कुवाको पानीबाट एक बाल्टी पानी उघाइँदा कुवाको जल–राशि घटेको अनुभव हुन्छ तर सागरबाट हजार बाल्टी वा लाख बाल्टी पानी उघाउँदा पनि केही घटबढ भएको आभास हुँदैन; पानी सम्बन्धमा सागर पूर्ण छ । त्यस्तै तागेरानिङवाभुमाङ (अक्षरातीत परब्रह्म) मात्र पूर्ण छन् । मान्छेले कहिल्यै पूर्णता हासिल गर्दैनन् बिना ज्ञान–योग। भगवान् फाल्गुनन्द सर्वेसर्वा पूर्णता हासिल गरेका महान् आत्मा थिए। पूर्णता हासिल नगरी यो धरतीबाट मान्छेले कहिल्यै मुक्ति पाउँदैन, अनि त अनि त ज्ञान–योगको बिराट् आवश्यक्ता छ यो संसारमा ।
’यथा च वयं ब्रह्म विदित्वा अस्माद् विनशनाद्
विप्रमुक्ता; एवं ये तद्विदुः अमृतास्ते भवन्ति;
ये पुनः नैवं ब्रह्म विदुः, ते इतरे ब्रिह्मविद
भयोऽन्ये अब्रह्मविद इत्यर्थः दुःखमेव जन्म
मरणादिलक्षणमेव अपियन्ति प्रतिपद्यन्ते न
कदाचिदप्य विदुषां ततो विनिवृतिरित्यर्थः
दुःखमेव हि ते आत्मत्वेनोप–गच्छन्ति ।। १४
घरी घरी संसारमा जन्म लिनाकै कारण मान्छेले दुःख प्राप्त गरेको हुन्छ । एक जन्ममा कतिपय चाहना र कामना पूर्ण हुँदैन, जन्म हुन्छ तृष्णाको कारण, फेरि कुनै न कुनै चाहना पूर्ण हुनै सक्दैन । यसरी जन्म–चक्र धरतीमा चलिरहन्छ । मान्छेले जीवन र जगत्मा परमार्थ–कर्म गरेर कहिल्यै जन्मिन नपर्ने अवस्थामा पुग्दा मुक्ति प्राप्त हुन्छ । सत् ज्ञान योगकै सहारा लिंदा तागेरा निङवा भुमाङको अनुकम्पाले यी संसारिक प्रपञ्चबाट बेडा पार हुन्छ सबै कर्मभन्दा उच्चतम लक्ष्य मान्छेले पाउनुपर्ने मोक्ष नै हो यो संसारमा ।
आत्मा परमात्मा
मान्छे कहिल्यै मर्दैन, वास्तवमा त्यहीँ रहस्य बुझ्न अति आवश्यक्ता छ । मान्छे मर्छ तर शरीरमात्र वास्तवमा मरेको हुन्छ, लगाउने लुगा फाटेझैं मात्र हो जुन अवस्था । श्रीमद्भगवद्गीतामा यस्तो श्लोक छः
न जायते म्रियते वा कदाचि
नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोथ्यं पुराणो
न हन्यते हन्यमाने शरीरे । २०
आत्माले मान्छेको रूपमा यसरी घरी घरी संसारमा जन्म लिइरहेको हुन्छ किनभने मान्छेमा एउटा न एउटा तृष्णा एक वा कुनै जन्ममा अपूर्ण रहेकै हुन्छ यो संसार उल्टो छ एउटा घर बनायो अर्को पनि घर बनाउने तृष्णा जागिहाल्छ । एकै रूपियाँ छैन्, बैंकमा १००० रूपियाँ राख्नु, दश हजार, लाख अरू तृष्णा बढेर करोड संचय गर्ने तृष्णा जाग्दछ । यसरी जीवनमा कहिल्यै मनोकामना पुग्दै पुग्दैन, मृत्यु हुन्छ, त्यो अपूर्ण कार्यलाई पूर्ण गर्ने ध्येयले । तर अघिल्लो जन्म जुन कुरो पूरा भएको थियो यो जन्ममा फेरि अपूर्ण हुन्छ त्यो कुरो । यो संसारमा मान्छेमा रहेको तृष्णा कहिल्यै मेटिदैन । अपूर्णको अपूर्ण नै रहन्छ जुन अघिल्लो जन्ममा अपूर्ण भएको यो जन्ममा पूर्ण हुन्छ । यो संसारमा, मान्छेको जीवनमा एउटा न एउटा थोकको अपूर्णता कुनै पनि जन्ममा रहेकै हुन्छ ।
ती सर्व वस्तु वा तत्वहरूलाई जीवनमा पूर्णता ल्याउन हिंसा, चोरी, लुट–पाट अमानुशिकताको सहारा लिन पुग्छ मान्छे । हिसांत्मक कार्यको ’पाइ पाइ’ चुक्ता गर्नुपर्ने हुन्छ र ८४ लाख जुनिमा फेरि फेरि मान्छे फँसिन जान्छ । भगवान् श्री फाल्गनन्दका सत् चरित्रमा जे–जे तत्व वा जुन जुन कर्म–वा लीला तत्व पाउँछौ राम्ररी अध्यन गरेर लिंदा उनी प्रकृति र पुरूषका प्रवृतिबाट टाढा रहेका सत् ब्रह्मचारी थिए । नारीबाट टाढा रहेर उनलाई सुन्दर महलमा बस्ने चासो पटक्कै थिएन, धन संग्रह गरेर संचयन गर्न उनी नचाहाने हुँदा उनले लोभबाट बाँचेर जीवन बिताए । जिब्रा मान्छेको साह्रै छाडा हुन्छ । जिब्रालाई मिठामिठा खान, रस चाख्न दिंदा मान्छे फँसिन्छ । फँसिने खाद्य पर्दाथ वा तामसिक भोजन मद–मदिरा, अण्डा, माछा, मासु व्यवहार नगर्ने केवल सात्विक खाद्य उनी सेवन गर्थे बाल्यकालबाटै भगवान् फाल्गुनन्दले वैराग्य भाव धारण गरेका व्यक्ति थिए । अनाशक्त भावले जीवनभरि उनी कर्मशील रहेका तथ्यहरू प्रशस्तै छन् ।
घर–घर घुम्दै भिक्षा लिएर जीवनयापन गर्ने उनको प्रवृतिले धर्म–संस्कार प्रचार गर्ने हुदा उनले त्यसरी आफ्नो अहंकारलाई नष्ट पारेका थिए । उनले पशु, पक्षी, उद्भिद–कीटपतंगप्रति प्रेम र स्नेह राख्थे । अहिंसा उनको हर कदमको जीवन–मंत्र थियो । श्री फाल्गुनन्द जगत् गुरू चमत्कारी पनि थिए । पानी नपर्दा पानी–झरी पार्नसक्ने; बढी बर्षा झरी परेको हुँदा त्यसलाई थाम्न सक्ने, सुख्खा जग्गा वा निरपानी या क्षेत्रमा खोला खोल्सा उमाने, पैहो रोक्ने, पोखरी सुकाउने, रोग–व्याधि निको पार्ने, पशु–पक्षीको भाषा बोल्ने, बुझ्ने, अन्तर्यामी, अनि आत्मा र परमात्मा ज्ञाता टाडैबाट गाईहरूलाई नुन खाने इच्छा भएको बुझेर नुनको प्रबन्ध गरिदिने, बाघ भालुको इसारा संम्झिन सक्ने खै उनको दिव्य लीलाको वर्णन के कसरी गर्ने हरपल, हरकदममा उनका दैवीय चरित्रहरू जताततै आश्चार्यका दैविक गुणहरू !
यसरी भगवान् फाल्गुनन्दको प्रत्येक आयामलाई राम्ररी अध्ययन गरिंदा जुन संसारका तृष्णा क्षुघालाई कसरी जित्न सकिन्छ । एउटा भरपर्दो नमूना उनको जीवन गतिमा पाइन्छ । भगवान् फाल्गुनन्द हुन् सत् धर्मको, सत् संस्कारको प्रतिष्ठाता । मानविक चिन्तन अहिंसा, मंगलमय भाव, शान्ति–शीतलताका दर्शन उनले प्रदान गरेका छन् । उनका धर्म–दर्शन विश्व–दर्शन वहाँबाटै प्रतिपादन भएको छ । उनको जीवन नै एउटा धर्म दर्शनको विराट् बृक्ष हो । हर पात, हर पुष्प र हर–फल निरक्षण गरिंदा सर्व मानव–हिताय, ऐ सर्व–जन सुखायका विश्व –दर्शन प्राप्त हुन्छ । ’श्रीमद् भगवत–रहस्य’ उ श्री केशव डोंगरे महाराज – लिखित ग्रन्थमा यसो भनिएको छ ‘सवै कामनाको त्याग गर्नु तप हो ।
कामसुखको विचारसम्म नराख्नेवाला सबैभन्दा ठूलो तपस्वी हुन् । ब्रह्म (माङ) को मात्र विचार गरिरहन क्षेष्ठ सत्य हो अनि सत् धर्म नै सर्वोतम धर्म हो । जसले इन्द्रियलाई आफ्नो अधिनमा काबु पारेर राख्छ अनि संसारिक पर विषयहरूमा अनाशक्त रहन्छ, उनी साक्षात ईश्वर नै हुन् ।’ श्री फाल्गुनन्द मान्छेको रूपमा साक्षात ईश्वर हुन् । सत् तथ्य उपर्लिखित वाक्यहरूले दृढ प्रमाण दिन्छन् । उनी कुनै एक जात, एक जाति वा एउटा देशका मात्र होइनन्, विश्वका मानव–जातिको आत्मा उद्धार गर्न धरतीमा आउनु भएका एउटा ’अगम’ का ’निगम’ हुन् मूल तागेरा निङवा भूमाङको आशय हुन् र युमासाम थेबासाम (सुम्निहाङ–पारुहाङ) का सुर हुन् ।
नेपाल राष्ट्र नै सार्थक भएको छ, नेपालका शासकवर्ग, सारा जनता नै धन्यवादी छन्, भगवान् फाल्गुनन्दलाई विभूतिको आधिकारिक तरिकामा स्वीकारिएको कार्य एक सराह«नीय, प्रशंसनीय ऐतिहासिक कदम हो । भारत र नेपालका माटा अति पावन छन् उचित समयमा भगवानहरूको अवतार भइरहन्छन् । भगवान् बुद्धपछि २५०० बर्षको अन्तरालमा नेपाल र भारतमा एक महान् आत्मा तागेरा निङवा भूमाङ ( अक्षरातीत परब्रहूम !) मूल–स्वरूप वहाँको मानव–चरित्रमा जन्म भएको हो । श्री फाल्गुनन्दी तागेरा निङवा भूमाङको परमधामबाट अंगना स्वरूप आउनु भएको परम् आत्माको लीला गर्न अवतरित भएका हुन् यो धर्तिमा । तागेरा निङवा भूमाङ नमोनमः युमासाम–थेबासाम सेवान्ने । श्री फाल्गुनन्द सेवारो ।
(किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन २०६७ मा प्रस्तुत प्रतिवेदनबाट)