डकेन्द्रसिंह थेगिम
किरात धर्म दर्शनका पुनः उत्थापक एवं महान समाज सुधारक मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको जन्म पिता जगुनबाज लिङ्देन र माता हंसमति बेघाको कोखबाट वि सं १९४२ साल कार्तिक २५ गते आइतबारका दिन हालको प्रदेश नं १ इलाम जिल्ला साविक इभाङ गाविस वडा नं.–५ चुक्चिनाम्बा हाल माङसेबुङ गापा –२ डाँडागाउँमा एक सामान्य परिवारमा भएको हो । स्थानीय परम्परा र चलन अनुसार नवजात शिशु दीर्घायू होस् भन्ने हेतुले रक्षा बन्धनका रुपमा बालक जन्मने बित्तिकै फलामको चुरा लगाइ दिएर फलामसिंह नाम राखिदिए । उनै बालक फलामसिंह कालान्तरमा फाल्गुनन्द नामले प्रख्यात भए ।
यसका साथै उनीभित्र निहित अलौकिक क्षमता, ज्ञान, सिद्धि शक्तिका कारण देवहरुका देव महादेव भने झैं उनको नामको अगाडि गुरुहरुका पनि गुरु महागुरु जस्तो उच्च कोटिको विशेषण थपिएर महागुरु फाल्गुनन्द नामले चीर परिचित भए । विभिन्न समयको कालखण्डमा किरात धर्म दर्शनका महापुरुषहरुको जन्म यहीँ किरात भूमिमा भएको छ । ती मध्ये येहाङ, लेप्मुहाङ, कान्देनहाङ, सिरिजङ्गाहाङ, माबोहाङ पछि छैटौं मुहिङगुम अङसीको रुपमा अवतरित मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन हुन् ।
देव कर्म गरेमा देवतातुल्य, राजकर्म गरेमा राजातुल्य, दास कर्म गरेमा दास तुल्य र पाप कर्मले नासिन्छ भन्ने अचुक र अमुल्य उपदेशका सन्देशवाहक मुहिङगुम अङसीमाङ फाल्गुनन्दले ८ वर्षको कलिलो उमेरमै माईखोलाको किनार साविक जितपुर गाविस –८ को खत्रक्पा खोल्सीमा एक अलौकिक पुरुषले मध्यरातमा उठाएर लगि माई भगवती मातासँग प्रत्यक्ष साक्षात्कार गराए । माईमाताले अत्यन्तै प्रेम र स्नेहले बालकको शीर स्पर्श गरी आशीर्वाद दिएर अल्पिइन् । यसका केहीबेरपछि आकाशबाट दिव्य ज्ञानले युक्त आँखा नै तिर्मिराउने सुनौलो अक्षरका पन्नाहरु बालकको सामु बर्सिनथाले । बालकले ती सबै शास्त्रका दिव्य ज्ञानहरु आपसेआप बोध गरे ।
यो लोक परलोकको ज्ञान, आत्माज्ञान, परमात्मा ज्ञान, ब्रह्मज्ञान, तत्व ज्ञान जस्तो दिव्य ज्ञान प्राप्त गरी आनन्द प्राप्त गरे । तत्काल आत्मा साक्षात्कार गरे जुन ज्ञान प्राप्त गर्ने विधि उपाय अन्य कुनै ऋषि मुनि सन्त महन्त, धार्मिक प्रणेता, सिद्ध योगी सिद्ध पुरुषहरूको भन्दा भिन्न किसिमको छ । वास्तवमा महागुरु फाल्गुनन्द स्वयं परमात्मा तागेरा निङवा भुमाङका साक्षात अवतार थिए । त्यहीँ कारण ईश्वरीय दिव्य ज्ञान प्राप्त गर्न त्यति धेरै कठोर योग, साधना, ध्यान तपस्या गर्न जरुर भएन ।
मुहिङगुम अङसीमाङ फाल्गुनन्दले आफ्नो धर्मोपदेशमा सावायेत्हाङ किरात सन्ततिहरुलाई यसो भन्नुभएको छ ‘उहिल्यै सावयेत्हाङ किरात सन्ततिहरुको मन मस्तिष्कबाट ज्ञान विबेक शक्ति फुत्त निस्केर गयो । त्यसो हुनाले ज्ञान बुद्धि विबेकलाई अँध्यारोले ढाक्यो । त्यसैले ज्ञान बुद्धि नभएकोले गर्दा बोली आएपनि बोल्न नसक्ने भकभके लट्याङ्ग्रो जस्तो भयौं । आँखा भएर पनि अन्धो जस्तो भयौं । पहिले पहिलेका धर्म कर्महरु सबै विर्सेर पाप कर्मको बाटो हिंड्नाले धर्मको मूल डोरो अल्मलियो । पाप कर्मको डोरो बढ्दै गयो । कर्म संस्कार विग्रेर गयो । खान पिउन नजानेर पागल झैं भयौं । मानवले गर्ने चालचलन, कर्म थिति खोज्ने विबेक हराउँदै गयो ।
दिन र रात, राम्रो र नराम्रो छुटिएन । त्यो छुट्याउने ज्ञान चक्षु विग्रन्दै गयो । भाषा, लिपि, धर्म, संस्कृति र संस्कार सबै विर्सेर धर्मको मुलबाटो छोडियो । दुःख पाएर टुहुरो जस्तो हुँदा तागेरा निङवा भुमाङले तिमीहरूलाई अर्ति उपदेश दिनु भनेर मलाई यस धरतीमा पठाएको हो । सावायेत्हाङ किरातका सन्ततिले राम्रो र नराम्रो, कालो र सेतो छुट्याएर साँच्चैको मुलबाटो बनाइ राख्छु । तिमीहरू हिंड्ने बाटो यहीँ हो । तिमीहरू एकजुट भएर मैले देखाएको बाटोलाई अविच्छिन्न पछ्याउँदै गयौं भने माङवाहाङवा सिद्धिशक्ति प्राप्त गरेर सफलता हासिल गर्नेछौ ।’ उक्त धर्मोपदेश हृदयस्पर्शी छ एवं अनुकरणीय छ र महागुरुको यो समुदायमा भएको जन्मको औचित्य पनि प्रष्ट छ ।
वि सं १९८८ बैशाख २४ गतेका दिन पान्थरको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका थरी, सुब्बा, तालुकदार, समाजसेवी, बुद्धिजीवी तुतु तुम्याहाङ भद्र भलादमीहरुको बिराट चुम्लुङ गराई किरात समुदायभित्र रहेको बेथिति, कुरीति र कुसंस्कार विरुद्ध ७ बुँदे सत्यधर्म मुचुल्का थुम थुम मौजा मौजामा कार्यान्वयनको लागि वितरण गरियो । मुचुल्का अनुसार अब उप्रान्त छोरीचेलीको बिवाह गर्दा माइती पक्षले सोतरीत नलिने र नखाने, कुलपितृको सेवापूजा र शुद्धाइँ कार्यमा जीवघात नगर्ने, पहिले सुँगुर कुखुरा खाइ नल्याएको हुँदा अब उप्रान्त नखानु, जन्म, बिवाह र मृत्युमा सनातनदेखि चलिआएको स्वमुन्धुम वाचन गरी कर्म संस्कारहरु गरी एक रुपता ल्याउनु, कुलकुटुम्ब इष्ट मित्रसँग भेटघाटमा मंसको प्रयोग नगर्नु, मृतकको नाममा काज किरिया गर्दा सुँगुर कुखुराको पिण्ड नचढाई शुद्ध भात अदुवा फलफूलको पिण्ड मात्रै चढाउनु आदि लगायत आफ्ना भाषा, लिपि हराउन लागेकाले माङहिम निर्माण गरी त्यसकै छेउमा निसामहिम पाठशाला स्थापना गरी आफ्नै भाषा लिपिमा कर्मको ग्रन्थ (मुन्धुम) हरु पढनु जस्ता अत्यन्तै महत्वपूर्ण बुँदाहरु समेटिएका छन् जुन आज पहिचान र अस्तित्वको सवाल उठाइन्छ यो सवाल त्यो बेलामा नै महागुरुले उठाउनु भएको हो ।
यो सवाल नेपालका आदिवासी जनजातिमा मात्रै सिमित नभएर संसारको सम्पूर्ण लोपोन्मुख जाति, पहिचान र अस्तित्व गुमाउन लागेका समुदायका लागि यो सान्दर्भिक छ । महागुरुको यस कदमलाई समाज सुधारको लागि कोशे ढुंगाको रुपमा स्वीकार गरी हरेक वर्ष बैशाख २४ गते समाज सुधार दिवस मनाइदै आएको छ । मुहिङगुम अङसीमाङले देश भित्र र देश बाहिर आफ्नो धर्म र अमूल्य धार्मिक उपदेशहरुको प्रचारप्रसार र जनचेतना फैलाउदै अघि बढ्दा पटक—पटक राजद्रोहको अभियोग लगाइयो । महागुरुलाई नेल हतकडीसम्म लगाइयो । तत्कालीन क्रुर जहानियाँ राणा शासनकालमा जनचेतना फैलाउने काम पक्कै जटिल थियो । एक महान सत्यवादी परिवर्तनगामी सिद्ध पुरुषलाई झुठा आरोप लगाउनु एउटा अपराध पनि थियो र आखिर सत्यकै जित भएरै छाड्यो ।
मुहिङगुम अङसीमाङ फाल्गुनन्दले किरात समुदायबाट लोप हुनै लागेको किरात धर्मदर्शनलाई पुनर्जीवन प्रदान गरे । लामो समयदेखि मौखिक रुपमा पुस्तान्तरण हुँदै आएको र यत्रतत्र छरपस्ट भएको किरात साम्जीक मुन्धुमलाई संहिताकरण गरी पुनः लेखन गरे । साम्जीक मुन्धुमको सम्पादन एवं पुनर्लेखनका कारण आफ्नै मौलिक धर्म, भाषा, लिपि, साहित्य, संस्कृति र संस्कारको उत्थानमा सहयोग पुग्नु अत्यन्तै सकारात्मक पक्ष रह्यो । महागुरु फाल्गुनन्दको समयमा लिम्बुवानमा ७ वटा माङहिमहरुको स्थापना भई नित्य सेवाको लागि हरेक माङहिममा सेवासाबाको व्यवस्था भयो । आज देश विदेशमा सयौंको संख्यामा माङहिमहरुको स्थापना गरी मौलिक भाषा लिपिमा मौलिक मुन्धुम वाचन गरी धार्मिक अनुष्ठानहरु सम्पन्न हुनु गौरवको विषय हो ।
मुहिङगुम अङसीमाङको मुलभूत विचार र दर्शन सत्य, अहिंसा, विश्व शान्ति र मानव एकता हो । सत्य आहार, सद् व्यवहार, सद् विहार, सदाचार, शुद्ध विचार, सत्मार्गको अवलम्बन गर्नु, जारी चोरी नगर्नु, झुठो नबोल्नु, सधैं सत्य बोल्नु, काम, क्रोध, लोभ, घमण्ड र कसैमाथि इष्र्या नगर्नु, मदमंसको सेवन नगर्नु, जीवनमा धर्मको खेती गर्नु, पापकर्म नगर्नु, ईश्वरको नित्य सेवा गर्नु, ईश्वरको नाममा जीवघात नगर्नु, शुद्ध सफा जल, फलफूल नैबेद्य चढाउनु, कुरीति कुसंस्कारबाट अलग रही सभ्य सुसंस्कृत जीवन बिताउनु, सबै मानव एवं प्राणी जगतमा समान दया माया स्नेह कायम गर्नु जस्ता अत्यन्तै सारगर्भित एवं मानव जीवनोपयोगी उपदेशहरु दिए । महिङगुम अङसीमाङको यस प्रकारको सारा प्राणी जगत र मानव मात्रको लागि हितकर उपदेश र योगदानलाई कदर गर्दै नेपाल सरकारले वि.स. २०६६ साल मंसिर १६ गतेका दिन तत्कालीन सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालको पालामा नेपालको राष्ट्रिय विभूति घोषणा गरी सम्मान गरियो ।
यस अघि वि.सं. २०५० सालमा नेपाल सरकारले मुहिङगुम अङसीमाङ फाल्गुनन्द चित्रांकित रु १५÷– को हुलाक टिकट प्रकाशन ग¥यो । हरेक वर्षको महागुरुको जन्मदिन कार्तिक २५ गते वि.स.ं २०७८ सालदेखि यता १४ जिल्लाहरु समेटिएको प्रदेश नं १ भरी प्रदेश सरकारले सार्वजनिक बिदाको व्यवस्था गरेको छ । तर, राष्ट्रिय विभूति भएका कारण मुलुकभर सार्वजनिक बिदा हुनुपर्ने माग किरात धर्मावलम्बीहरुको माग यथावत कायम छ । महागुरुको सम्मानमा हाल महागुरुको नामबाट थुप्रै शैक्षिक, धार्मिक, सामाजिक संघसंस्था एवं बाटाघाटाहरुको नामाकरण भएका छन् ।
महागुरु फाल्गुनन्दको अथक पहल र प्रयासको जगबाट पुनः स्थापना भएको संसारकै प्राचीन किरात धर्मदर्शन अब कहिल्यै नमेटिने गरी युगयुगान्तर सूर्य, चन्द्र, पृथ्वी आकाश रहुञ्जेल यस विश्व ब्रम्हाण्डभरी हावासरी फैलिनेछ भन्नेमा विश्वस्त छौं । जहानियाँ राणाकाल र निर्दलीय पञ्चायती व्यवस्थाले दमन गरी ओझेलमा रहेको किरात धर्म वि.सं. २०३६ सालमा निरङ्कुश पञ्चायत व्यवस्थाको विरुद्धमा भएको राष्ट्रब्यापी जनआन्दोलनको परिणाम स्वरूप भएको राष्ट्रिय जनमत संग्रहको सुनौलो अवसरमा वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको अध्यक्षतामा किरात धर्म तथा साहित्य उत्थान संघ गठन गरी एक किरात धार्मिक संस्था पान्थर जिल्ला प्रशासन कार्यालयमा २०३६ माघ ७ गते विधिवत रुपमा दर्ता गरियो ।
वि.सं. २०४८, २०५८ र २०६८ को राष्ट्रिय जनगणनामा नेपालको चौथो धर्मको रूपमा स्थापित भयो । मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको एकमात्र उत्तराधिकारी, महागुरुको परिपूरक एवं साक्षात अवतार वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको पालासम्म आइपुग्दा किरात धर्मले अत्यन्तै तिव्र गतिमा विश्व व्यापी रुपमा फस्टाउन सफल भएको छ । आज नेपाल, भारत, भुटान, बर्मा, हङकङ चीन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, कोरिया, मलेसिया, कतार, साउदी आदि देश विदेशमा किरात धार्मिक संगठनहरु पुगेका छन् । वि.सं. २०५७ र २०६७ गरी दुई पटक किरात धर्म अंन्तर्राष्ट्रिय महासम्मेलन नेपालको राजधानी शहर काठमाडौमा सम्पन्न भएको छ । विश्वमा पहिलो किरात प्रिन्टिङ प्रेस, किरात माङसेबुङमा दुई दुईवटा किरात मुन्धुम निसामहिमहरुको स्थापना एवं पाठ्यक्रम पाठ्यपुस्तक प्रकाशन भएका छन् ।
मुहिङगुम अङसीमाङ फाल्गुनन्द सत्यको खोजी गर्दै सत्ययुगको स्थापना गर्ने एक महान युगान्तकारी पुरुष हुन् । ज्ञानदाता, चेतनदाता, मुक्तिदाता, त्रिकालदर्शी, महा मानव, सिद्धयोगी सिद्धात्मा महात्मा हुन् । उनलाई त्यो बेलामा आफ्ना समुदायले चिन्न सकेनन् र अहिले पनि मुस्किल परिनैरहेको छ । यस पृथ्वीमा युगमा बेलाबेलामा समस्त मानव र प्राणी जगतका लागि आउने ईश्वर रुपी महामानवहरु मध्येको एक जनामा गणनामा आउने मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको वि.सं. २००५ साल चैत्र २२ गतेका दिन ६४ वर्षको उमेरमा पवित्रस्थल फक्ताङलुङमा पुगेर देहत्याग गर्ने इच्छा हुँदाहुँदै पनि आफ्ना चेलाभुलाहरुको घरघरमा सेवा लगाउन अनुरोध भएका कारण पान्थरको हाङयकमा यस भौतिक संसारबाट बिदा लिए । महागुरुको भौतिक शरीर अहिले हामी सामु छैन् तापनि तथापि हामी हरेक अनुयायीका हृदयमा सजिएका छन् र मन मष्तिकमा छाएका छन् । हामी हरेक दिन प्रहर बिहान दिउँसो बेलुका महागुरुलाई सम्झन्छौं, नामोच्चारण गर्दछौं, ढोग्छौं र पुज्छौं ।
अहिलेसम्ममा मुहिङगुम अङसीमाङप्रतिको श्रद्धा सम्मान र स्मरणमा पूर्बी जिल्लाका विभिन्न स्थानहरुमा करीब ५० वटा प्रतिमाहरु संस्थागत, व्यक्तिगत रूपमा स्थापना भैसकेका छन् । पूजनीय किरात धर्मगुरु आत्मानन्द लिङ्देनज्यूको आफ्ना जीवनकालमा महागुरुको १०८ वटा प्रतिमाहरु संस्थागत ढंगले स्थापना गर्ने सदिच्छा प्रकट भएको छ । सद्गुरु इच्छा पूरा भएरै छोड्छ । हरेक वर्ष मुहिङगुम अङसीमाङको सम्मानमा राज्यको उपस्थितिमा केन्द्रीय राष्ट्रियस्तरमा भव्यताका साथ फाल्गुनन्द जन्मजयन्ती मान्ने गरिएको छ ।
यस वर्षको मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द १३८ औं जन्मजयन्ती यस वर्ष २०७९ कार्तिक २५ गतेका दिन ताप्लेजुङ जिल्लाको सदरमुकाम मुक्कुमलुङको काखमा रहेको सुन्दर नगरी फुङलिङ बजारको तोक्मेडाँडामा स्थापना गरिएको महागुरुकै पूर्ण कदको प्रतिमा अनावरण सहित पूजनीय किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा ममतामयी मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थितिमा भव्य रुपमा सम्पन्न हुँदैछ । यस पुनित अवसरमा देश विदेशका श्रद्धालु भक्तजन तथा आम जनसमुदायलाई हार्दिक आमन्त्रण गर्दछौं ।
जय किरात !
महागुरु फाल्गुनन्द – अमर रहुन् !
लेखक ः किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष हुन् ।