डिल्लीप्रकाश साम्पाङ
समय समयमा नसोचे जस्तो, नपत्यारो र अद्वितीय घटना घट्छन् । बेग्ला बेग्लै पाराले घटेको घटनाहरुमा भिन्ना भिन्नै तरिकाले व्याख्या, विश्लेषण र अर्थ लगाए पनि प्रकृति एउटै हुन्छ, सत्य एउटै हुन्छ । सत्य खोज्ने तरिका अनेक छन्, यसलाई धर्म शास्त्रमा दर्शन भनिन्छ । धर्म दर्शन भनेको समाजको आँखा हो समाजमा विकृति, कुसंस्कार र अशिक्षाले गाँज्न लाग्यो भने घटनाको सिर्जना हुन्छ । विकृतिमा डुबेको समाजलाई, क्षेत्रलाई मुक्त गर्नको लागि यस्ता घटनाले नौलो विचार र विवेक लिएर महापुरुषहरुको उदय हुन्छ । यो उदयबाट ठूला ठूला सामाजिक क्रान्ति र परिवर्तनको विजारोपन हुन्छ ।
गतिशिल प्राणीमा परिवर्तन हुनु पनि प्रकृतिको नियम हो । मानिस एउटा प्राणी मात्र भनौ, तर विवेकशील प्राणी भएकोले पशुपंक्षीभन्दा शक्तिशाली बनेको छ । विवेकशील प्राणी भएर पनि मानवीय चेतना र चिन्तनको विकास गर्नको लागि अत्यन्त खाँचो पर्ने अध्यात्मिक शिक्षा अथवा धर्म दर्शनको पालना गर्नुपर्छ । महान दार्शनिक अथवा महान गुरुहरुले निर्दिष्ट गर्नुभएको सत्मार्गमा हिड्नुपर्छ । आत्माको शारीरिक विकृतिलाई उम्मूलन गर्ने मात्र धर्म हो । मानिसको जीवन नै सम्पूर्ण संज्ञा हो, समय र चिन्तनको गोदाम हो, कर्म अभिनय गर्ने पात्र हो । जीवन पूर्णताको खोजिमा, समस्या समाधान, चिन्तनको विकास र विवेकको वृद्धि गराउने मार्गको अनुसन्धान, अन्वेशण, त्याग तपस्यामा जीवन समर्पित गर्ने महापुरुषहरू मानव होइन, महामानव, महान दार्शनिक तागेरा निङवाभूमाङको दूतको सम्मान र विशेषणले सुशोभित हुन्छन् ।
मानव इतिहासमा यस्ता महापुरुषहरुको उदय समयमा, क्षेत्र क्षेत्रमा हुँदै आएको पाइन्छ । उनीहरुले परिकल्पना गरेको चिन्तनले मानव समाजमा ठूला ठूला सामाजिक परिवर्तन, राजनैतिक परिवर्तन ल्याएको इतिहासमा पाइन्छ । यस प्रकारको परिवर्तनले मानव समाजको सर्वाङ्गिन विकास र प्रगति नै निहित छ । तसर्थ मावन समाजको उत्थान महत्वपूर्ण मानिने हुनाले यस्ता विभूतिहरुका विचारलाई राजा महाराजा, शासक, समाज र सर्वसाधारणले पनि मूल मन्त्रको रुपमा अवलम्बन गरेको पाइन्छ ।
यसप्रकारले विभिन्न देशमा, विभिन्न सम्प्रदायमा, विभिन्न शताब्दीमा जन्म भएका महामानव अथवा महा पुरुषहरु जस्तै राम, कृष्ण, बुद्ध, इसूक्राइष्ट, कन्फुसस, लावज, जराथ्रुष्ट, महम्मद र गुरुनानक हुन् । एवं प्रकारले महागुरु फाल्गुनन्दको उदय पनि किराती समाजमा २० औं शताब्दीको मध्यमा भयो महागुरु फाल्गुनन्दको उदयले विश्व धार्मिक वाङ्मयमा एउटा नयाँ अध्यात्मिक दर्शनको पनि जन्म भएको छ । त्यसताका किरात समाज र क्षेत्रमा विद्यमान विकृति र कुसंस्कारले डुबाइराखेको अवस्थामा महागुरु फाल्गुनन्दको पनि किरात जाति र क्षेत्रमा तागेरा निङवाभूमाङले उद्वार गर्नुको लागि महागुरु फाल्गुनन्द पठाउनु भयो उहाँले प्रतिपादन गर्नु भएका मुख्य धार्मिक मार्ग र समाज सुधारका कार्यलाई यसरी चिनारी गर्नु खोजिएको छ ।
धार्मिक मार्ग
महागुरु फाल्गुनन्दले किरात मुन्धुमको जन्म दिनुभयो किरात मुन्धुम भनेको किरात धर्म ग्रन्थ हो । किरात मुन्धुममा किरात धर्मको बारेमा मार्ग निर्देशन गर्नुभएको छ । जसअनुसार निम्न प्रकार विभाजन गर्न सकिन्छ ः (१) अहिंसा, (२) सादा खान्की र बान्की, (३) सत्कर्मको चिन्तन मनन, (४) समाजको विकृतिबाट मुक्त, (५) शिक्षा दिक्षा, (६) मानसिक र शारीरिक सन्तुलनको निम्ति साधना र (७) तनमनले तागेरा निङवाभूमाङको अथवा इष्टदेवको सेवा । यसै क्रममा फक्ताङलुङ यात्रा अथवा दर्शन महत्वपूर्ण मानिएको छ । यस पवित्र स्थानको यात्राबाट पवित्र विचारको सिर्जना हुने र मनोवैज्ञानिक प्रभाव पर्ने स्पष्ट छ ।
किरात मुन्धुम को नियममा रहेर जन्म, जीवन, मरणको कर्म गर्नुपर्छ मुन्धुममा उल्लेख छ– मानिस ढुंगाजस्तै कठोर र बाघ जस्तै घमण्डी हुन्छ, तर उक्त उल्लेखित सप्तम मार्ग अपनाए अमृत जस्तै उपयोगी बन्न सक्छ र सम्पूर्ण मानव विकृतिबाट मुक्त जीवनको सरलता, सात्विकता, साधना, सत्कर्म सत् विचार, समय र कर्मलाई सदुपयोग, जोसलाई होसमा चरित्र चित्रण गर्नको लागि तागेरा निङवाभूमाङको नित्य र नियमित सेवाले मात्र प्राप्ति गर्न सकिन्छ । जन्म भएपछि शिक्षा प्राप्त गर्नु अनि गुरुको दीक्षा प्राप्त गर्नुपर्छ शिक्षा नपाएमा मान्छेलाई दीक्षा दिनु हुँदैन, पाप हो । शक्ति भनेको एकता हो । एकता हुनको लागि माङको सिद्धि प्राप्त गर्नुपर्छ अनि सिद्धि प्राप्तिको लागि मुन्धुममा समाहित मार्ग अपनाउनु नै सिद्धी प्राप्ति हो ।
कसैलाई राम्ररी शिक्षा दिएर मात्र दीक्षा लिन लाउनु पर्छ । करकाप र ढाँटेर जालझेलबाट मुन्धुम मार्गमा आबद्ध गराउनु माङसेवाको विपरित मानिन्छ । शक्ति प्राप्त भएपछि मात्र मानिसमा मनोबल, आत्म विश्वास बलियो हुन्छ र कुनै कर्म क्षेत्रमा सफलता प्राप्त हुन्छ । जीवनमा र समाजमा सफलता हांसिल गर्नु भनेको शान्ति र सुख अनुभव गर्नु हो सामाजिक मुक्ति पाउनु हो । जब समाज मुक्त हुन्छ तब स्वतन्त्र विकासको कार्यमा, विश्वमा प्रतिस्पर्धा गरेर अगाडि बड्ने छ । यसै चिन्तनलाई किरात मुन्धुमले इंगित गरेको छ ।
किरात धर्म मुन्धुममा मानिस मानिसमा, जातजातिमा, स्त्री पुरुषमा, वर्ग वर्गमा सिद्धि प्राप्तिको लागि शिक्षा दीक्षाको लागि र काम गर्नको लागि समान अधिकार छ । यसमा तागेरा निङवाभूमाङले विभाजन गर्नुभएको हुँदैन । तर, समाजमा स्वार्थले डुबेको प्राणीले मात्र यसो गरेको हुन्छ र यसैको विरुद्ध लड्नु शक्ति प्राप्ति हो । माङसेवा गर्दा एकाग्रताको नितान्त आवश्यकता हुने भएकोले पवित्र वस्तुमा आँखा, कान र अनुहार केन्द्रीत गर्नको लागि माला गन्ने वा तागेरा निङवाभूमाङ अथवा माङ, माङ मन मनमा भन्ने चलन छ । यसो गर्दा हाम्रो चिन्तन अन्तरआत्मामा केन्द्रीभूत भएपछि मात्र माङसेवाको पूर्ण अनुभूति हुन्छ । यसै अवस्थामा ठूला ठूला समस्याको समाधान गर्ने विकल्पको उत्पन्न पनि तागेरा निङवाभूमाङले गराउँछ । विश्वास गर्नुपर्छ । किरात धर्म मुन्धुममा सूर्य र आगोको शक्तिलाई विशेष मानव जीवनको नभई नहुने शक्रिको रुपमा लिइएको छ । यसको सदुपयोग र भक्ति भावना राख्नुपर्छ ।
आगोबाट उत्पन्न खरानीलाई नियमित रुपमा माझ् निधारमा लगाए मस्तिष्कलाई सक्रिय र सक्षम बनाउनमा शक्ति प्रदान हुने विश्वास र अनुहारलाई उज्यालो बनाउँछ । अनुहार उज्यालो हुनु नै सिद्धी प्राप्तिको चिन्ह पनि हो भन्ने विश्वास छ । तागेरा निङवाभूमाङको सेवा गर्नु भन्नु नै इष्टदेवको सेवा हो । इष्टदेवको सेवाबाट मात्र मानिसलाई शक्ति, सिद्धी, शान्ति र सफलता प्राप्ति हुन्छ । आफ्नो घरको माता पिताको सेवा गर्नु, तागेरा निङवाभूमाङको सेवा गर्नु किरात धर्मको मूल उद्देश्य हो ।
जसले आफूलाई चिन्दैन, आमाबाबुलाई चिन्दैन, तागेरा निङवाभूमाङलाई चिन्दैन त्यसलाई छल्ला÷होरुवा अथवा राक्षसको संज्ञा दिइएको छ । यसरी नै महागुरुबाट इंगित आदर्शका शब्द र वाक्यलाई केलाउँदा यस शप्तादिको अति वैज्ञानिक र समय सापेक्ष धर्मदर्शनको जन्म दिनुभएको ठहर्छ । तर, यस्ता साधारण एक दुई हरफमा उहाँको दर्शनलाई केलाउन एक शब्द पनि होइन ।
समाज सुधार कार्य
किरात धर्म दर्शनको जन्मदाता महागुरु फाल्गुनन्द लिङ्देनले समाज सुधारको महान कार्यहरु पनि थालनी गर्नुभएको छ । उहाँले प्रत्येक चेलाहरुलाई पढ्नुपर्छ, पढाउनुपर्छ, आफ्नै मातृभाषामा शिक्षा लिनुपर्छ भन्ने अभियान नै चलाउनु भयो । शिक्षा छैन भने समाजको सुधार हुँदैन । नसुधारिएको समाजले सत्य धर्मको ज्ञान पाउँदैन । सत् धर्म ज्ञान नपाएको मान्छेले आफूले आफूलाई चिन्दैन, आफूले आफूलाई नचिन्ने मानिसले अरुलाई, समाजलाई चिन्दैन, समाजलाई नचिने एकता हुँदैन, एकता नभए सिद्धी र शक्तिको सिर्जना हुँदैन, सिद्धी र शक्ति विना शान्ति र सफल मानव समाज बन्दैन भन्ने कुरामा मनन चिन्तन गराउनु हुन्थ्यो महागुरुले ।
यसरी नै महागुरुले माङहिमसँगै अथवा माङहिम मै पठनपाठन गराएर समाजलाई साक्षर बनाउनुपर्छ । आफू हिड्ने बाटो, पुल, पाटी बनाउने र सफा राख्ने इत्यादि कामको थालनी गर्नुभयो । घर, कुलेशा सफा राख्न लगाउने, सुत्ने कपडा सफा राख्ने, सादा र विशुद्ध भोजन गर्ने जस्ता कार्यमा पनि चेलाभूलालाई अर्ती उपदेश दिइरहनु हुन्थ्यो । आफ्नै घरवारीमा उत्पादन भएको कन्दमूल, साग सब्जी, अन्नवाली नै खाद्यान्नको रुपमा उपभोग गर्ने जस्ता स्वावलम्बी कार्यक्रमको थालनी पनि गर्नुभएको थियो । अझ प्रत्येक घरमा तान बुनेर आफैले बुनेको कपडा लाउनुपर्छ भन्ने गर्नुहुन्थ्यो । तसर्थ त्यसतामा उहाँमा चेलाभूला अति नै स्वावलम्बी र आत्मनिर्भर भएको उदाहरण पाइएको छ ।
आजको वैज्ञानिक युगलाई पनि महागुरुले इंगित गर्नु भएको छ । भौतिक प्रगतिको विकास गर्नको निमित धार्मिक अनुगमन चाहिन्छ । अनुशासन विनाको समाज अथवा व्यक्तिले ठीक सोच्न सक्दैन, ठीक नसोची ठीक काम गर्न सकिदैन, ठीक काम नगरी विज्ञानको विकास हुन सक्दैन । तसर्थ मानिस पेशागत रुपमा सक्षम हुनुपर्छ, प्रतिष्पर्धात्मक चिन्तनको विकास गर्नुपर्छ । यसैले मात्र सम्पूर्ण मानव समाजको प्रगति हुन्छ ।
समाजमा विद्यमान कुसंस्कारको जराबाटै उखेल्नको निम्ति महागुरुले एउटा क्रान्ति नै छेड्नु भएको प्रमाण वि.सं. १९८८ साल बैशाख २४ गते सम्पन्न भएको १० लिम्बू १७ थुमको ऐतिहासिक मुचुल्काले नै प्रमाणित गरेको छ यस सम्बन्धमा धेरैले स्पष्ट रुपमा लेखिसकेका छन् । यो त्यसताकाको लिम्बू समाजको निम्ति मात्र भए तापनि यस्तै मिल्दाजुल्दा कुसंस्कारमा डुबेका सम्पूर्ण मानव समाजको लागि प्रत्यक्ष उदाहरण पनि बनेको छ । यस्ता लिखित र सामुहिक रुपमा नगरे पनि घरघरमा र गाउँ गाउँमा गएर भनेर पूर्वको खम्बू सम्प्रदाय (राई) र अरु जातजातिमा पनि यसबाट मुक्त गराउनका लागि महागुरुले अथक प्रयास गर्नुभएको प्रमाण उहाँसँगै संगत गर्नुभएका जिवित चेलाका शब्दबाट स्पष्ट हुन्छ ।
यसरी समाज सुधारको क्षेत्रमा पनि महागुरुको अग्रिम योगदान भएको पाइन्छ । आर्थिक क्षेत्रमा पनि महागुरुको स्पष्ट धारणा पाइएको छ । मानिसको जीवनमा शरीरलाई, मस्तिष्कलाई फाइदा हुने खानपान खानुपर्छ र भेशभूषा लाउनुपर्छ । अनावश्यक खर्च गर्नु र विलाशिताको तिरस्कार गर्नुपर्छ र मात्र आर्थिक प्रगति हुन्छ आर्थिक प्रगति नभएसम्म परिवारको, समाजका र देशको प्रगति हुँदैन । प्रगति नभएको समाजले कुनै शक्ति, सिद्धी प्राप्त गर्नु असफल हुन्छ ।
अब महागुरुको उपदेश र वाणीलाई व्याख्या, विश्लेशण गर्नु भनेको ब्रम्हाण्डमा उडेको चराको अनुभव गर्नुपर्छ । जे जस्तो भए पनि उहाँले उपदेश दिनुभएको एउटै शब्दको एक चौथाई अर्थलाई परिभाषित गर्न खोजे पनि आफ्नो मात्र होइन दुई खुट्टैको भलो नै हुन्छ । आमोद प्रमोदमा लालायित वर्तमान दुई खुट्टेको संसारलाई मुक्ति दिनको लागि यस शताब्दीमा महागुरुको उदय हजारौ वर्षदेखि धार्मिक दर्शनको प्रतिपादन भए तापनि धर्म भित्र पनि विकृति र विचलनको सिर्जना भई सम्प्रदाय भित्र सम्प्रदाय, पथ भित्र पन्थको जन्मले वर्तमान मानव समाज नै अन्यौलमा परिरहेको परिस्थितिमा किरात मुन्धुमले आउने मानव पुस्तालाई नयाँ मार्ग दर्शन गराउँछ भन्ने सत्य सावित हुनेछ । माङले अवश्य यो संसारलाई नयाँ मार्गको दृष्टि गराउनु हुनेछ, सिद्धी शक्ति प्राप्ति गर्नुहुनेछ ।
लेखक : किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय महासचिव हुन् ।