सत्य धर्म मुचुल्काको आयामहरु


                                                                           आङबुहाङ अबोध अविरल

थालनी
सत्य धर्म मुचुल्काको निर्माण राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको एक महत्वपूर्ण कार्य हो । वि. सं. १९८८ सालमा किरात समाजमा प्रचलित तुम्याहाङ प्रणालीको आधारमा सत्य धर्म मुचुल्का निर्माण भएको थियो । जसले प्रथाजनित कानुनको रुपमा सात बुँदे मुचुल्का बाँधेको थियो । सत्यधर्म मुचुल्कमा नारी अघिकार, अहिंसा, समानता, मानवता, शिक्षा र मुन्धुमका विषयमा महत्वपूर्ण बुँदाहरु समेटेको छ ।

 

यसरी बा“धियो मुचुल्का
सत्यधर्म मुचुल्का १९८८ बैसाक २४ देखि २८ सम्म पान्थर लब्रेमा आयोजित किरातीहरुको एक महाचुम्लुङले पारित गरेको थियो । चुम्लुङमा लिम्बुवानका प्रशासन प्रमुखहरु तालुकी अमाली (थुम प्रमुख), सुभा (गाउँ प्रमुख), सर्वसाधारण र दार्जिलिङबाट समेत सहभागिता रहेको थियो । जुन राणा शासनकालमा लिम्बुवान क्षेत्रको ठूलो धार्मिक भेलाहरु मध्ये एक मानिन्छ ।

 

चुम्लुङका लागि महागुरु फाल्गुनन्दले लिम्बुवानका विभिन्न थुमहरु डुल्नुभएको थियो । यसका साथै सबै थुमहरुमा पत्रचार गरिएको थियो । महागुरु केहीँ वर्षदेखि लब्रेमा बस्दै आउनुभएको तथा खुला स्थान भएकाले चुम्लुङका लागि लब्रेलाई चयन गरियो । चुम्लुङमा सहभागीहरुका लागि स्याउले डेराहरु निर्माण गरिएको थियो । चार दिनसम्म चलेको सो चुम्लुङमा महागुरु फाल्गुनन्दले धार्मिक, सांस्कृतिक, मुन्धुम र शिक्षासम्बन्धि विषयमा छलफल भएको थियो । चुम्लुङले महागुरु फाल्गुनन्दद्वारा प्रस्तुत प्रस्तावमाथि गहँन छलफल गरेको थियो । छलफलले किरात मुन्धुम, भाषा, लिपि, संस्कार परिमार्जन सम्बन्धि केहीँ महत्वपूर्ण बँुदाहरु पास गर्दै सात बुँदे मुचुल्का तय ग¥यो । सो मुचुल्कालाई ‘सत्यधर्म मुचुल्का’ नामाकरण गरिएको थियो ।

 

मुचुल्काको मस्यौंदा सुब्बा सेरबहादुर लाओतीले तयार पारेका थिए । मुचुल्का लेखन सकिएको दिन करिब छ दर्जन प्रतिनिधिले हस्ताक्षर गरेका थिए । किनकी चार दिनसम्म चलेको मुचुल्का लेखन गर्ने चुम्लुङमा सयौं सहभागीहरुको आवतजावत भएपनि उनीहरुको हस्ताक्षर राख्ने कार्य गरिएको थिएन । किरात साङसेन वरक माङहिम लब्रेका अध्यक्ष रमेश तुम्बापोका अनुसार चुम्लुङ निर्जन र नाङगो चाउरमा गरिइएकोले सहभागीहरुलाई उचित बसोबास र चुम्लुङ लामो समय चलेकाले सबै सहभागी अन्त्यसम्म बस्न सकेका थिएनन् । हस्ताक्षर गर्ने क्रम १९९० र १९९१ सालमा पनि चलेको थियो ।

 

मुचुल्काको सात बु“दा
बनोटलाई हेर्दा सत्य धर्म मुचुल्कालाई तीन भागमा विभाजन गर्न सकिन्छ । पहाडे कागजमा बाँसको कलमले लेखिएको सत्यधर्म मुचुल्काको शुरुको भागमा पृष्ठभूमि उल्लेख गरिएको छ । मुचुल्काको मध्य भागमा धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र मुन्धुम परिमार्जन सम्बन्धिका बुँदाहरु रहेका छन् । त्यस्तै मुचुल्काको अन्तिम भागमा मुचुल्कामा सहमत गर्नेहरुको नाम, ठेगाना र हस्ताक्षर रहेको छ ।

 

मुचुल्काको पृष्ठभूमिमा किरातहरुको मुन्धुम, संस्कार विधि फरक भएकाले एक गराउन आवश्यक भएको उल्लेख छ । सो खण्डमा सम्पूर्ण किरातहरु एक भएपनि जन्म सुतक, मृत्यु सुतक बारन फरक तवरले गर्दै आएको तथा विवाह फरक–फरक रीतले गर्दैै आएकोले एक गर्नु पर्नेमा जोड दिएको छ । यसैगरी लिखित मुन्धुम प्रयोग नहुनाले स्थान पिच्छे यसको प्रयोग फरक रुपमा भएको तथा मुन्धुम लिखित नहुँदा लिपि लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्दै आउँदा दिनमा लिखित मुन्धुम प्रयोग गर्नुपर्ने उल्लेख छ ।

 

‘युमा’ माङको माङहिम स्थापना गर्ने तथा मातृभाषामा शिक्षा लिने विषयलाई पनि मुचुल्काको पृष्ठभूमिले सम्बोधन गरेको छ । हरेक काम सफल हुन युमा माङको सेवा गर्नुपर्ने भएकाले लब्रे पान्थरमा गोश्वारा युमा माङहिम निर्माण गर्ने मुचुल्कामा सहमति गरिएको छ । यसका साथै आफ्नो भाषा र गैर भाषामा शिक्षा लिन एक पाठशाला निर्माण गर्ने पनि मुचुल्काको पृष्ठभूमिमा लेखिएको छ । पृष्ठभूमिको अन्त्यतिर मुचुल्कामा उल्लेख भएको बुँदाहरु कसैले उल्लंघन गरे मुचुल्का मुताविक कार्वाही गर्ने र मुचुल्कालाई सारेर विभिन्न थुम (जिल्ला), मौजा (गाउँ) मा पु¥याउने भनिएको छ ।

 

मुचुल्काको मध्य भागमा समाज र संस्कार रुपान्तरण सम्बन्धि छ वटा बँुदाहरु रहेका छन् । पहिलो बँुदामा छोरी चेलीको सोत रीत लिन बन्द गर्ने, दोस्रो बुँदामा माङसेवा गर्दा जीव हत्या नगर्ने र तेस्रो बँुदामा मासु मंस नखाने उल्लेख छ । यसैगरी मृतक सुतकसम्बन्धि चौंथो बुँदामा समेटिएको छ । मृतक सुतक बारनमा विविधता आएकोले ३ दिन बारन गरेर चौंथो दिनदेखि खेतीपातीको काम गर्र्ने र १० औं दिनमा सुद्धाई गर्ने भनिएको छ । मंसको पिण्ड दिन छाड्ने र मंसको मेजमान नदिने पाँचौ र छैटौं बँुदाले समेटेको छ । सातौं बँुदामा फलफूलको पिण्ड दिने कुरा उल्लेख छ । मुचुल्काको अन्त्यमा सहभागीहरुको हस्ताक्षर रहेको छ ।


                                                                राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

सत्यधर्म मुचुल्कालाई निम्न बुँदाहरुमा व्याख्या गर्ने प्रयास गरिएको छ ।

ऐतिहासिक दस्तावेज
प्राध्यापक डा. नोवल किशोर राई सत्यधर्म मुचुल्कालाई बौद्ध धर्ममा रहेको ‘पञ्चशील’ र इशाई धर्मको ‘दश आज्ञा’ सँग तुलना गर्नुहुन्छ । किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनमा प्रस्तुत भएको ‘विश्व शान्ति र मानव एकतामा किरात धर्म’ विषायक कार्यपत्रमा प्रा. डा. राई लेख्नुहुन्छ, ‘सत्यधर्म मुचुल्कालाई बौद्धहरुको ‘पञ्चशील’ र इशाईहरुको ‘दश आज्ञा’ सरह लिन सकिन्छ’ (३०) । सत्यधर्म मुचुल्का किरात धर्मको इतिहासमा ‘कोशेढुङगा’ उभ्यायो जसले किरात धर्ममा लिखित परम्परा शुरु गरेको प्रा.डा. राईको मत रहेको छ ।

 

‘सत्यधर्म मुचुल्का’ पुस्तकका लेखक तथा किरात ज्योतिष उत्थान संघका अध्यक्ष चन्द्रकुमार सेर्मा सत्यधर्म मुचुल्का पारित गर्न महागुरु फाल्गुनन्दले बोलाउनु भएको सो चुम्लुङ नेपालमा पहिलो धर्मसभा भएको दाबी गर्नुहुन्छ ।

 

तेस्रो विश्वको नारीवादी आन्दोलन
सत्य धर्म मुचुल्काले खास गरेर नारी अधिकारलाई जोडदार रुपमा उठाएको छ । जसले गर्दा मुचुल्काले तेस्रो विश्वको नारीवादी आन्दोलनमा अग्रणी स्थान ग्रहण गरेको छ । तेस्रो विश्वको नारीवाद वि.सं. २०३० को दशक तेस्रो विश्वमा चलेको नारीवादी आन्दोलन हो । जुन आन्दोलनले तेस्रो विश्वमा रहेको जाति, धर्म, रंग, संस्कार, क्षेत्र आदिका आधारमा भएको नारी विभेदको विरोध गरेको थियो’ (विकिपेडिया) ।

 

डा. सुभद्रा सुब्बा फाल्गुनन्दलाई नारीवादी आन्दोलनका अग्रजका रुपमा व्याख्या गर्नुहुन्छ । डा. सुब्बाका अनुसार फाल्गुनन्दले सत्यधर्म मुचुल्कामा जस्ता महिला अधिकारका मुद्दालाई उठाउनु भयो । त्यसबाट संयुक्त राष्ट्र संघले उठाएका नारी अधिकारका विषयलाई बुझ्न सकिन्छ । जतिबेला सत्यधर्म मुचुल्का निर्माण भएको थियो, त्यसबेला संयुक्त राष्ट्र संघको स्थापना भएको थिएन । ‘तर, फाल्गुनन्दले सत्यधर्म मुचुल्का मार्फत सन् १९३१ छोरीलाई पढ्ने अधिकार दिनुपर्छ भन्ने आवाज उठाइसकेका थिए’ (३३) ।

 

मुचुल्कामा उठाएको नारी अधिकारका विषयलाई पछिल्लो समयमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले निरन्तरता दिँदै आउनुभएको छ । नारी विभेदको विरोधमा विभिन्न धर्ममा नारीवादी आन्दोलनहरु भएका छन् ।

 

अहिंसामा जोड
महागुरु फाल्गुनन्दको पहलमा वि.सं. १९८८ मा लब्रेमा पारित गरेको सात बुँदे सत्यधर्म मुचुल्काको दोस्रो बुँदामा देविदेवताको पूजा गर्दा ‘भोग’ बली नगर्ने उल्लेख छ । मानिसले हजारौं वर्षदेखि मानव केन्द्रित संकथन (भनाई) निर्माण गर्दै आएको छ । मानिसले आफूलाई सर्वश्रेष्ठ प्राणीको रुपमा व्याख्या गर्ने गर्दछ । अन्य प्राणीहरुलाई तल्लो दर्जाका, पशु, आत्मा नभएको र विवेक नभएको प्राणीको रुपमा व्याख्या गर्दछ । धर्म दर्शन र विज्ञानले समेत मानिस र पशुबीचमा ‘हाइरार्की’ (सिढी) निर्माण गरेको छ ।

 

पशु तल्लो दर्जाको प्राणी भएकाले मार्न, खान र बली दिन हुन्छ भन्ने मान्यता हजारौं वर्षदेखि चल्दै आएको छ । मानिसले आफ्नो मनोकांक्षा पूरा होस् भने पशुबली गर्दछन् । महागुरुले पशुबलीलाई जीव हिंसाका रुपमा व्याख्या गर्दै समाजले निर्माण गरेको हाइरार्कीलाई भत्काउनु भएको छ । वहाँका अनुसार मानिस र पशु सबै माङका सन्तान हुन् । आफ्नै सन्तानलाई मारेर चढाउँदा माङ बेखुशी हुने वहाँको तर्क थियो ।

 

समानता पक्षमा मुचुल्का
महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्काको माध्यमबाट मानवता र समानताको विषयलाई अघि बढाउनु भएको थियो । मुचुल्काले समाजमा लिङ्गीय, जातीय र भाषिक विभेद अन्त्यको परिकल्पना गरेको छ । सत्यधर्म मुचुल्काको पहिलो बुँदामा ‘छोरी चेलीको सोतरित लिन बन्द गर्ने’ उल्लेख गरेको छ ।

 

संसारका अधिकांश मानव समुदाय पुरुष प्रधान छन् । पुरुष प्रधान संरचनाले महिलाहरुलाई दोस्रो दर्जाको नागरिकका रुपमा स्थापित गर्दै विभेद गर्दछ । महिलालाई कमजोर र दोस्रो दर्जामा राख्न कानुन, संस्कृति र परम्पराहरु निर्माण गरिन्छ । छोरीले विवाहपछि ‘श्रीमानको थर, धर्म, वर्ग…पुरुषको अर्धाङिगणी’ बनाइन्छ । छोरालाई जग्गा–जमिनको मालिक, जात, थर र वंशको उत्तराधिकारी मानिन्छ । तर, छोरीको विवाहमा सोतरितका नाममा ‘सुन, चाँदी, नगद, मदिरा, तथा मासुका कोशेली लिनुलाई नारीको विक्रीको’ रुपमा मुचुल्काले व्याख्या गरेको छ । छोरा र छोरीलाई शिक्षा र समान हक हुनु पर्नेमा वहाँको जोड थियो ।

 

एकताका पक्षमा मुचुल्का
१९८८ बैसाक २४ मा सम्पन्न सत्यधर्म मुचुल्कामा थुम पिच्छे नुन बार्ने, सुतक बार्ने चलनमा विविधता भएकाले एक गराउनु पर्ने आवश्यक रहेको उल्लेख गरेको छ । ‘थिक केबोखिल्ले तोक्वाबाओ नाम लिङ’ भन्ने वहाँको मत रहेको छ । मानिसलाई जात, धर्म, लिङग र आस्थाका आधारमा विभेद गरिनाले मानवमा द्वन्द्व र असमानता सिर्जना भइरहेको थियो । मानिसमा रहेको जातीय, लिङगीय र वर्गीय विविधतालाई आत्मसाथ गर्दै सबै मानिस माङका सन्तान हुन्, मानव हुन भन्ने भावनाबाट एक हुने पर्ने तर्फ वहाँको चिन्तन देखिन्छ ।

 

मातृभाषा शिक्षामा जोड
मुचुल्कामा युमा माङहिम स्थापना गर्ने तथा मातृभाषामा शिक्षा दिन स्कूल खोल्ने उल्लेख गरेको थियो । त्यसबेला विद्यालयहरु खोल्न सहज थिएन । माङहिमहरुमा मुन्धुम शिक्षा लिने व्यवस्था गर्नुभयो । मुन्धुम पठन—पाठनका माध्यमबाट हजारौं भक्तजनलाई साक्षर भए ।

 

महागुरु फाल्गुनन्दले नेपालमा मातृभाषाको विषय उठान गर्नुभएको समय आम नागरिकका निम्ति शिक्षा लिने सहज व्यवस्था थिएनन् । राणा शासकहरुले अंग्रेजी र संस्कृत भाषामा शिक्षालाई जोड दिइरहेका थिए । १९८६ सम्ममा नेपालमा ५८ भाषा पाठशाला, ९ संस्कृत पाठशाला, १ आयुर्वेद र १०८ जति अंग्रेजी पाठशाला स्थापना भएका थिए । तर, ती सबै काठमाण्डौ र केहीँ तराईका जिल्लाहरुमा केन्द्रित थिए । त्यसबेला अंग्रेजी, संस्कृत र खस भाषामा पठन पाठनको प्रयास भइरहेको थियो । तर, अन्य मातृभाषामा शिक्षाको कुरा ज्यान जोखिम पार्ने विषय थियो । त्यसबेला महागुरु फाल्गुनन्दले मातृभाषामा शिक्षाका निम्ति पहल थाल्नुभएको थियो ।

 

सबैका लागि शिक्षा (एजुकेशन फर अल) कार्यक्रमका तय गर्न सन् १९९० संसारभरका १५० मुलुक सम्मिलित जोम्तिम सम्मेलन, २००० मा सम्पन्न डकार सम्मेलनमा समेत मातृभाषा शिक्षा विषय उठेको थियो । शिक्षाको माध्यम भाषाको रुपमा मातृभाषालाई प्रयोग गर्दा सिकाई प्रभाकारी हुने र सिकाई उपलब्धि उच्च हुने संसारभरका शिक्षाशास्त्रीहरुको निष्कर्ष छ ।

 

लिखित मुन्धुमको परिकल्पना
सत्य धर्म मुचुल्काको पृष्ठभूमिमा मुन्धुम नलेखिनाले हराउँदै गएको र मुन्धुमलाई लिपिवद्ध गर्ने भन्ने उल्लेख छ । सोही निर्णय अनुसार लामो समयदेखि मौखिक परम्परामा अभ्यास भइरहेको मुन्धुमलाई किरात सिरिजंगा लिपिमा लिपिवद्ध गर्नुभयो । ‘थेबा—युमा खमा मुन्धुम’, ‘चासोक मुन्धुम’, ‘सोमाङ केमाङ मुन्धुम’, ‘साक्मुरा वदेम्बा मुन्धुम’, ‘साप्पोक चोमेन मुन्धुम’, ‘मेखिम खमा मुन्धुम’, ‘कसाङ सेमा मुन्धुम’, ‘साम्सामा मुन्धुम’ महागुरु फाल्गुनन्दले ‘थेबा—युमा खमा मुन्धुम’, ‘चासोक मुन्धुम’, ‘सोमाङ केमाङ मुन्धुम’, ‘साक्मुरा वदेम्बा मुन्धुम’, ‘साप्पोक चोमेन मुन्धुम’, ‘मेखिम खमा मुन्धुम’, ‘कसाङ सेमा मुन्धुम’, ‘साम्सामा मुन्धुम’ (लिङदेन आत्मानन्द, क —ज) लगायत दर्जनौं मुन्धुमलाई लिपिवद्ध गर्नुभएको छ ।

 

शाकाहारी जीवन पद्धतिमा जोड
सत्य धर्म मुचुल्काको तेस्रो बँुदामा मासु मंस नखाने उल्लेख छ । सत्यधर्म मुचुल्काले शाकाहारी जीवन पद्धतिमा जोड दिएको छ । शाकाहारी जीवन पद्धति धारण गर्नु महागुरु फाल्गुनन्दको जीवनको एक महत्वपूर्ण पाटो हो । वहाँले जीवनमा शाकाहारी जीवन पद्धति अंगाल्नु भयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार ३ दशकमा आएका ३० वटा नयाँ रोगमध्ये ७० प्रतिशत जनावरबाट आएका छन् । मांसाहारी जीवन पद्धतिका कारण संसारमा तापक्रम बढिरहेको छ । सम्पूर्ण मानिसले मासु खान छाडे सन् २०५० सम्ममा विश्वमा ग्रिनाउस उत्सर्जनमा ७० प्रतिशतसम्म कमी हुने वैज्ञानिकहरुको दाबि छ । विश्व स्वास्थ्य संगठनका एक अनुमानका अनुसार हरेका साल जनावर र मासुबाट सर्ने रोगका कारण एक मानिस बिरामी पर्दछन् ।

 

लोकतन्त्र
महागुरुले लबे्रमा चुम्लुङ सञ्चालन भइरहेको बेला मुलुकमा चरम निरंङकुश राणा शासन थियो । राणा शासकहरुको बोलीनै त्यतिबेलाको कानून हुने गर्दथ्यो । राज्यलाई बाहेक अरुलाई सभा, सम्मेलन गर्ने छुट थिएन । त्यसबेला वहाँले चुम्लुङबाट ‘सत्यधर्म मुचुल्का’ निर्माण गरेर लोकतान्त्रिक अभ्यास गर्नुभयो । लिम्बुवानमा प्रचलित तुम्याहाङ प्रणालीका आधारमा महाचुम्लुङ गर्नुभयो । चुम्लुङमा चारदिनसम्म संस्कृति, भाषा र मुन्धुमका विषयमा घनिभूत छलफल भयो ।

 

टुङग्याउनी
किरात समुदाय आन्तरिक र वाह्य उपनिवेशबाट जेलिएर अस्तित्व संकटमा रुमलिएको बेला महागुरु फाल्गुनन्दको अगुवाइमा बसेको किरातीहरुको चुम्लुङले बाँधेको सत्यधर्म मुचुल्काको राजनीतिक, धार्मिक, सामाजिक, सांस्कृतिक र भाषिक पुनर्जागरणको हिसाबले ठूलो महत्व छ । चुम्लुङले मुचुल्काका माध्यमबाट किरात समुदायलाई बाह्य तथा आन्तरिक उपनिवेशबाट मुक्त गराउँदैं, छुट्टै पहिचानका साथ किरात समुदायलाई आर्थिक उन्नति र न्यायमा आधारित समुदायको मार्ग तय गरेको छ ।

 

सन्दर्भ सामग्री
आङबुहाङ, अबोध अविरल. फिमेल राइट इन फाल्गुनन्दज सत्यधर्म मुचुल्का. सोध. अंग्रेजी केन्द्रीय विभाग, त्रिभूवन विश्वविद्यालय, २०१२.
आङबुहाङ, अबोध अविरल. ‘सत्यधर्म मुचुल्काको आठ दशक’. विश्व किरात आवाज, मासिक. १०.१०(२०६८)ः १.
उप्रेती, सञ्जीव. सिद्धान्तका कुरा. काठमाडौंः अक्षर क्रियसन नेपाल, २०६८.
फेमिनिष्ट थिओलोजी. विकिपेडिया. विकिपेडिया फाउण्डेसन, वेव. २१ मार्च, २०१२.?भल।ध्ष्पष्mभमष्ब।यचनरधष्पष्राझष्लष्कmश्र
राई, नोबलकिशोर. ‘विश्व शान्ति र मानव एकतामा किरात धर्म’. किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन, प्रतिवेदन तथा कार्यपत्रहरु. काठमाडौंः किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन, २०६७. २७–३१.
सुब्बा, सुभद्रा. ‘किरात धर्ममा नारीको स्थान र समाज सुधारका सास्वत पक्षहरु’. किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन, प्रतिवेदन तथा कार्यपत्रहरु. काठमाडौंः किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन, २०६७. ३२–३५.