त्यसपछि पुगियो माङसेबुङ


आङबुहाङ अबोध अविरल

चारदिनको पैदल यात्रा

पारिलो घाम, छोटो दिन । २०५३ मंसिर १३ गते थियो क्यारा । एक—दुई जोर पातला सर्ट पाइन्ट पोको पारियो । बुबाले धान, मकै र कोदोका केही बाला, धुप, अछेता, फूल भेटी पोलेथिनमा पोको पार्नुभयो । धुलोले फुटेका खुट्टाहरु खस्रा ढुङ्गाले घोटियो । सुन्तलाका रुखमा सप्रेका केही दाना झारियो । त्यो चाहिँ भोलिपल्ट विहान माङसेबुङको तिर्थयात्राको तयारी थियो ।

 

भोलिपल्ट विहानै खाना खाएर चाँगे ६ गैरी ताप्लेजुङबाट लारुम्बा इलामको बाटो लागियो । गाउँका काका—काकी, बोजु, बुबा र म गरी एक दर्जन थियौ—हाम्रो टोलीमा । घर पश्चिमतिर बारीमा रहेको दुहुना भैंसी, भेडा, बाख्रा र गाइवस्तुलाई हात हल्लाउदैे बरझ्याङ चौतारो हुँदै बाटो लागियो । यो चार दिने पैदल यात्राको थालनी थियो । मंसिर १८ गते हुने चेसोक सेवा र किरात धर्मगुरुको नोमाङगेन्नामा सहभागी हुन पुग्ने हाम्रो समय तालिका थियो ।

 

त्यतिबेला ताप्लेजुङ सदरमुकामसम्म कच्ची सडक पुगेको थियो । तर, भरपर्दो रुपमा सवारीका साधन चल्न थालेका थिएनन् । त्यसैले हामीले माङसेबुङ आउन पैदल यात्रा रोजेका थियौं । पहिलो दिन चाँगेको लुम्सुम्बाङ, ओर्खे, सोबुवाको गोरेटो हुँदै केही घण्टा हाङपाङको देउरालीको घनघोर जंगलको बाटो नाघेर तेह्रथुम जिल्ला प्रवेश ग¥यौं । हाम्रो बास तेह्रथुम खाम्लालुङ छोटीमा भयो ।

 

म १३ वर्षे ठिटो धेरै लामो बाटो हिंडेको थिइन । खुट्टा दुखाइले सकस दिनै भयो । तर, माङसेबुङ र गुरुलाई भेट्ने लालसमा शारीरिक दर्द बिर्सेको थिएं । दोस्रो दिन संक्रान्ति बजारमा दुध चिया र पाउरोटीको खाजा खाइयो । संक्रान्ती बतासेको चिसो वतासले मुटुसम्म छिचोलेर भित्र भित्रै उधुम मच्चायो । संक्रान्तीबाट ओराले लागेपछि थोक्लुङ पुगियो । त्यहाँबाट पूर्वतिरको पारी डाँडा देखाउँदै बुबाले भन्नुभयो —उ त्यो चन्डाडा कलेज । पछि छानाको टिन खिया परेको त्यो कलेमा आइए पढ्न गएको थिए ।

 

कर्कलेको रानी चौतारा मुनी सल्लाको पातमा चिप्लन्दै ओराले झर्दा जाडो कम हुँदै गयो । साविक थोक्लुङमा पर्ने कर्कले पिरो खोर्सानीको लागि चर्चित छ । कर्कले पुछार तमोर छेउमा एउटा भत्किएको पाटी थियो । निरन्तर ओराले हिड्दा मेरो कान थुनियो । त्यस पाटीमा भूत, प्रेत र डंकिनी जागेको अनेक कथाहरु सुन्न पाइयो । यस्ता कथाले मेरो मन सिरिङग भयो । कोया खोलाको किनामा तमोरमाथिबाट बग्ने साँघुरा बाटो निकै कहालीलाग्दो थियो । तल तमोरको निलो गहिरा ताल र डरलाग्दो छालहरु हेर्दै हिड्दा निकै रमाइलो र त्रास पनि हुन्थ्यो । तल बगरमा झरेर बयरको दाना टोकेर मुख बङ्याउदै सिम्रा घाटमा पुग्यौं ।

 

डरलाग्दो डुङ्गाको सयर र जुनेलोको भात

 

डुङ्गाको सयर निकै त्रासदीपूर्ण र यादगार थियो—मेरोलागि । त्यति ठूलो नदीमा काठको डुँडबाट पारी तर्नु जोखिम थियो । खोलाको किनारामा किलामा बाँधेर राखेको डुङगामा हामी पालै पालो चढ्यौं । डुङगा चलाउन एक सिकटे बुढा मान्छे डुङ्गामा चढे । उनले डुङ्गा अघि बढाउन पछि सार्ने क्रममा डुङ्गा किनारको जीउको पाँच रुपैयाको दरले भाडा लिइएको थियो । सिम्रा घाटको एक माझीको घरमा हाम्रो बास भयो । साँझमा सिम्रा घाटमा डुङ्गा तरेर पारीपटी माझिटारमा बास बस्यौं । हामीसँग भएको अट्टे धानको चामलसँग जुनेलेको चामल साट्यौं । चिप्लो—चिप्लो लाग्ने जुनेलोको भात खाइयो । त्यसपछि भने कहिल्यै खान पाइएन ।

 

भोलिपल्ट विहान सिम्रा घाटबाट बेलघारी रातमाटे उकालोले हाम्रो एक प्राण लिइदियो । रानीगाउँ छिर्ने गल्छीमुन्तिर पुगेर विहानको खाना खायौं । खानामा भात, दाल, घिउ र फिलिङ्गे थियो । यी सबै चिज घरबाट लगेका थियौं । यी सबै चिज हामीले कुम्लो कुटुरोमा बोकेका थियौं । यहाँसम्म पुग्दा तिर्थयात्रीहरुमा निकै थकान लागिसकेको थियो । खान खाएपछि रानी गाउँको छेडिबर चौतारोमा केही समय सुस्तायौं । त्यहाँबाट पारी तेह्रथुम जलजले देखियो । हाम्रो टोलीको एकजना काकीको माइती पनि त्यहीँ रहेछ । जलजलेसँगै खरङवा खोला र म्याङलुङ बजार पनि देखियो । खरङ्वा खोला देखेपछि बुबाले बैंसको एउटा पालाम सम्झनुभयो ।

 

खरङवा खोला तेह्रथुम कुलो
आउँदैन लुङवा प्रथम कुरो

अनी आयो निपानी रानीगाउँको लम्पट । निकै लामो ओरालो र उकालो पछिको केही तेस्र्रो बाटो हाम्रो लागि निकै आरामदायी थियो । हाम्रो टोलीको सबैसँग हातमा लौरो थियो । तेर्सो बाटोमा लौरोले धुलो जोत्दै हिड्दा निकै मज्जा आउथ्यो । तर, टोलीका ठूलाले देखेमा ‘त्यसो नगर लडिन्छ’ भन्थे ।

 

रानी गाउँमा सांसद डम्बरसिं सम्बाहाङफेको घर नजिकबाट हिडियो । यासोक चाहीँ चर्चित मन्त्री पद्मसुन्दर लाओतीको गाउँ थियो । मन्त्री लाओतीको चरितचर्चा बाटो काट्ने सहारा बन्यो । बुबाले नेता लाओतीबारे निकै चर्चा गर्नुभयो । ऐतिहासिक सहर यासोकमा हामीले खाजा खायौं । कुम्मायक र कुसायकको काखमा रहेको यासोक निकै सुक्का र निपानी जग्गा देखियो । बाटामा पद्म सुन्दर लाओतीले ल्याएको खानेपानीको ठूला फलामे पाइप बिछ्याइएको थियो ।

 

हामी त्यही फलामे नाला पछ्याउदै अघि बढ्यौं । बाटा भरी नालमा लठ्ठीले ठ्याङ—ठ्याङ हान्दै हिडियो । आङसराङको मेहेले पुग्दा हामी निक्कै थाकेका थियौ । चामल दाल बाटामा खाँदै जाँदा कुम्लो कुटुरोको आकार घट्दै गयो । तर, खुट्टाहरु सुन्निएर बढदै गएका थिए । उत्तरतिर देखिने मुस्कुराई रहेको कन्चनजंगादेखि सगरमाथा हिमालले हाम्रो थकान कम गरिदियो । त्यहाँको रोटेपिङ निर रहेको छाप्री होटलमा थुक्पा र चिउरा खाजा खाइयो ।

 

सेहोनाम्लाक (छाला सुकुवा) डाँडाबाट फैलिएको सात पत्रे डाँडालाई छिचोलेर इलाम र पाँचथरको सीमाना उत्तरे निस्कियौं । सातपत्रे डाँडाहरुमा भर्खर सडकको ट्रयाक निर्माण हुँदै थियो । ज्यादै भिरालो पत्रैपत्र पहाडलाई काटेर बनाएकोले सडक धस्किएको थियो । ठाउँ ठाउँमा रोकिन्दै तलतिर देखिने फाक्तेपको फेरो हेरियो । उत्तरे निक्कै चिसो थियो । दाल, भात र रायो सागको तरकारी खाएर ओछ्यान लागियो । जहाँ बास बसेपनि हामी आफै खाना पकाउने गथ्र्यौ । भाँडाकुँडा घरधनीले दिने गर्थे । दाउराको पैसा भने जिउको दुई रुपैयाको दरले २०—५० तिरिन्थ्यो ।

 

उत्तरेमा जाडोले रातभर निदाउन सकिएन । साँझमा थकानका कारण एक निद्रा त मजाले सुतियो । त्यसपछि रातभर बुबा, काका र बोजुहरुको गफ सुनेरै रात बित्यो । बिहान उठ्दा उत्तरेले तुसारोको क्रिम घसिसकेको रहेछ । हवाई चप्पल लगाएर उत्तरेबाट सप्तमी ओर्लन्दा निकै ठिह¥यायो ।

 

भटभटेको धुवाँको मिठो गन्ध

 

सप्तमी पुग्ने बेलामा एउटा मोटर साइकल धुवाँको मुस्लो फाल्दै आइरहेको देखें । मलाई भटभटेको धुँवा निकै मिठो लाग्यो । यसअघि नजिकबाट कहिल्यै मोटरसाइकल देखेको थिइन । बरु ताप्लेजुङ आउने जहाज नजिकबाट देखेको थिए । भटभटे कुदाएको हेर्दा मलाई मजा लाग्यो । कसरी कुदेको होला भन्ने कुरा खेलाउँदै अघि बढियो । दक्षिणतिर देखिने चारखालतिरको सुन्दर खोला, गाउँहरुले हामीलाई ठाउँ—ठाउँमा रोकायो । अब भने बाटामा हामी मात्र तिर्थयात्री थिएनौं । ताप्लेजुङ र पाँचथरका विभिन्न ठाउँबाट कार्यक्रममा सहभागी हुन अनेक टोलीहरु भेटिए । बुढा—बुढी, तरुनी—तन्नेरी र केटा केटी सबैको पाइला लारुम्बातिरै लम्किरहेको थियो ।

 

तीनदिनसम्म सुनसान बाटाहरुमा हिडियो । चौथौ दिन नयाँ—नयाँ ठाउँका तिर्थयात्रीहरुसँग चिनापर्ती गर्दै हाम्रो टोली अघि बढ्यो । इलाम र पाँचथरलाई छुट्याउने महाभारा डाँडाको सिउँदो चिर्दै रबी बजार पुगियो । बिहानको खाना तयार गर्नेक्रममा रानीटारे गुरु नरदल फेजङको टोलीसँग रबीको दिपा साम्पाङ (साक्थिम्गेनको एक कलाकार)को घरमा भेट भयो । केश र दाह्री फुलेको, चम्किलो अनुहार र सेतो कमिज सुरुवालले रानीटारे गुरुमा एक आध्यात्मिक व्यक्तित्व झल्किएको थियो । रानीटारे गुरुले महागुरु फाल्गुनन्दबारे धेरै घटना र कथाहरु सुनाउनु भयो ।

 

माङमालुङ डाँडामा पुगेपछि तिर्थयात्रीका टोलीहरुले धार्मिक झण्डा र झ्याम्टाको साथमा धार्मिक नाराहरु घन्काए । माङमालुङको घना जंगल काटेपछि लाक्ताप्पाको नवमी डाँडामा पुगेपछि चुलाचुली र तराईका मनमोहक खुला फाँट देखियो । जीवनमा सबैभन्दा फराकिलो मैदानी फाँट देखेको पनि पहिलो पल्ट थियो । आहा ! माई, रतुवा र मावा खोला दक्षिततिर साँघुरिदैं गएको । लाक्ताप्पाबाट चुरेको माथिल्लो भागमा पाथी जस्तो उठेका माङसेबुङ छर्लङ्गै देखियो ।

 


माङसेबुङको कार्यक्रममा टाँगिएको तोरन र मानिसहरु किरिङमिरङ देखिन थाल्यो । कार्यक्रममा बजाइएको सेवासाम्लो र उद्घोषकका आवाज मधुर सुनियो । माङसेबुङ देखेपछि तिर्थयात्रीको धड्कनको गति बढेको थियो । जति माङसेबुङ नजिकियो उति नै नाराहरुमा आवाज बढ्दै गयो । हामीले चाहिँ व्यानर ल्याएका थिएनौं । तर, विभिन्न ठाउँका भक्तजनहरुले व्यानरसहित सहभागी भएका थिए ।

 

खलङ्गे कटेपछि भञ्ज्याङ हुँदै माङसेबुङ ग्राउण्डमा चढियो । त्यसपछि पुगियो माङसेबुङ । माङसेबुङ पुगेपछि मुटु तिब्र धड्कियो । कार्यक्रम स्थल वरिपरि स्याउला र तितेपातीका डेरा धुरामा भक्तजनहरु थिए । हामीले ताप्लेजुङबाट ल्याएका नयाँ अन्न र चन्दा भेटी चन्दा फाँटमा बुझायौं । साँझमा भञ्जाङस्थित मित बुबाको घरमा बस्यौं ।

 

माङसेबुङ यात्रा र फराकिलो क्षितिज

माङसेबुङको पहिलो यात्रा मेरो लागि जीवन र जगतलाई बुझ्ने, चिन्ने सबैभन्दा फराकिलो अवसर थियो । त्यसअघि मेरो क्षितिज उत्तर फक्ताङलुङ र पाथीभरा, पूर्वमा फालेलुङ, पश्चिमा भुजे देउराली र दक्षिणमा हाङपाङ देउरालीले घेरिएको थियो । माङसेबुङको यात्रा फगत तिर्थयात्रा मात्र थिएन, त्यो ताप्लेजुङको भिर पाखादेखि झापाको समथर भूगोललाई अवलोकन हेर्ने, टेक्ने र स्पर्श गर्ने अवसर थियो ।

 

यात्रामा थाप्लोमा बोकेको चामल खाने ताप्लेजुङको गाउँले जीवनदेखि ट्रकले बोकेको चामल खान थालेको रबी, सप्तमीको जीवन हेर्न पाइयो । खाम्लालुङ देउराली, उत्तरे र रबीको तुसारो छुन पाइयो । सोबुवा खोला, कोया खोला र तमोर खोला तर्ने अभूपूर्ण अवसर पाइयो । लेक, कछार र औलका हजारौं प्रजातिका वनस्पति हेर्न पाइयो । उत्तरे, सप्तमी र रबीको धुलाम्मे साँघुरा सडकमा घिस्रिरहेको ट्रक र मोटर साइकललाई नजिकबाट नियाल्न पाइयो । यो नै गाडीको धुवाको गन्ध नाकले थाहा पायो ।

 

र, त्यो बेला हो मैले किरात धर्मगुरु र गुरुआमाको दर्शन र आशीर्वाद लिएको पहिलो क्षण । र, त्यो नै अध्यात्मिक साक्षरताको निम्ति कक्षा जान थालेको दिन ।