माङसेबुङ इक्लाको उपाधि चोत्लुङ केदेमले चुम्यो

माङसेबुङ । माङसेबुङ इक्ला मातृभाषा गायन प्रतियोगिताको विजेता माङ्सेबुङ इलामका चोत्लुङ केदेम बनेका छन् । भने, प्रतियोगिताको उप विजेता फाल्गुनन्द १ पान्थरकी मन्दिरा नेम्बाङ बनेकी छन् ।

किरात धार्मिक पर्यटकीय स्थल माङसेबुङमा सम्पन्न वृहत सांस्कृतिक कार्यक्रममा प्रतियोगिताका उत्कृष्ट ५ जनाको प्रस्तुतिका आधारमा निर्णायकहरुद्धारा विजेता र उप विजेता छनौट भएका हुन् ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना साथै मुबेक्वा सेवा समारोहमा आयोजित वृहत सांस्कृतिक कार्यक्रममा पहिलो पटक माङसेबुङ इक्ला मातृभाषा गायन प्रतियोगिता आयोजना गरिएको समारोह सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताए ।

सहभागि सम्पूर्ण प्रतियोगीहरु सबैनै अति प्रतिभावान र सम्बन्धित क्षेत्रमा दख्खल भएका कलाकारहरु हुँदाहुँदै पनि प्रतियोगिताको नियम र फर्म्याटअनुसार निर्णायकहरुको निर्णयको आधारमा माङसेबुङ इक्ला मातृभाषा गायन प्रतियोगिताको टप ५ छनौट गरिएको किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका सचिव सुवास गुरुङले बताए ।

यसरी माङसेबुङ इक्ला गायन प्रतियोगिताको टप ५ फाइनालिस्टमा स्थान सुरक्षित गर्न सफल प्रतियोगिहरु स्वस्तिका सावादेन माङ्सेबुङ इलाम, राजन बेघा देउमाई ९ इलाम, मन्दिरा नेम्बाङ फाल्गुनन्द १ पान्थर, चोत्लुङ केदेम माङ्सेबुङ इलाम, तागेरा आङ्देम्बे फाल्गुनन्द पान्थर रहेका थिए । प्रतियोगिताको निर्णायकहरु गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, गायिका गंगा फियाक, गायक तथा संगीतकार आइन्द्र नेम्बाङ रहनु भएको थियो ।

प्रतियोगिताको टप १० मा पुगेका प्रतियोगिहरु सबिन मादेन फुङ्लिङ १ ताप्लेजुङ, गिता नेम्बाङ फाल्गुनन्द ४ पान्थर, स्वस्तिका सावादेन माङ्सेबुङ इलाम, राजन बेघा देउमाई ९ इलाम, मन्दिरा नेम्बाङ फाल्गुनन्द १ पान्थर, अर्जुन थेगिम फाकफोक्थुम इलाम, चोत्लुङ केदेम माङ्सेबुङ इलाम, कोपिला मगर माङ्सेबुङ इलाम, मिसाम लिम्बु कुम्मायाक पान्थर, तागेरा आङ्देम्बे फाल्गुनन्द पान्थर रहेका थिए ।

प्रतियोगिताको उत्कृष्ट १० मा प्रवेश गरेका सबै प्रतियोगीहरुले मंसिर १८ गते साँझ वृहत सांस्कृतिक कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बूको विशेष आतिथ्यतामा प्रस्तुति दिएका थिए । सोही प्रस्तुतिको आधारमा निर्णायकबाट टप ५ छनौट गरिएको थियो ।

फाइनलमा पुगेका टप ५ प्रतियोगीहरुले मंसिर १९ गते साँझ वृहत सांस्कृतिक कार्यक्रममा गायक तथा संगीतकार नन्दु गुरुङ र पुष्प किरातीको साथमा प्रस्तुति दिएका थिए । सोही दिननै माङसेबुङ इक्ला गायन प्रतियोगिताको विजेता र उप विजेता छनौट गरी पुरस्कार वितरण गरिएको पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताए ।

पान्जुम्भोका उपाध्यक्ष आइन्द्र थेगिमका अनुसार प्रतियोगितामा विजेतालाई नगद पुरस्कार रु १५ हजार, एउटा गिटार, किरात स्पन्दन एल्बममा एउटा गीत रेकडिङ गर्ने अवसर दिनुका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । भने उप विजेतालाई नगद रकम रु ८ हजार, ट्रफी, मेडल र प्रमाण पत्र सहित आकर्षक गिफ्ट प्रदान गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट ५ जना फाइनालिस्टहरुलाई समेत ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो चरणमा अनलाइन माध्यमबाट अडिसन लिइएको पान्जुम्भोका सचिव सुवास गुरुङले बताए ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना साथै मुबेक्वा सेवा समारोहको मूल आयोजनामा सञ्चालित माङसेबुङ इक्ला प्रतियोगिताको कार्यक्रम संयोजन किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले गरेको थियो ।