किरात मुन्धुमबाट नयाँ आविष्कार गर्न सकिन्छ : आत्मानन्द सेइङ


ज्ञानु केदेम लिम्बू
माङसेबुङ/भाषाले नयाँ चेतना, विवेक र सोच विचारको जन्म गराउँने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

 

मौलिक पहिचान रक्षार्थ बौद्धिक व्यक्तित्वहरु सबैजना एकता बनि अघि बढ्न अनुरोध गर्नु हुँदै, अङसीमाङ आत्मानन्द सेइङले किरात साम्जिक मुन्धुमबाट नयाँ नयाँ आविष्कार गर्न सकिने संकेत गर्नु भएको छ ।

 

किरात धर्म, भाषा, लिपि र संस्कार संस्कृतिको उत्थानका लागि धेरै संघर्ष गर्नुपरेको अङसीमाङले बताउनु भयो । वहाँले सो कुरा आइतबार सम्पन्न स्थानीय कामकाजी भाषा घोषणा वार्षिक कार्यक्रममा आशीर्वाद दिनुहुँदै बताउनु भएको हो ।

 

आशीर्वचन दिनु हुँदै अङसीमाङले भन्नु भयो, ‘आदिवासी जनजातिहरुको मातृभाषाहरु स्थानीय भाषा हुन् कुनै ठाउँबाट आयातित भाषा होइन् ।’ वहाँले थप्नु भयो, ‘किरात लिपि र भाषा मानव सृष्टिसँगै निर्माण भएको हो, भाषामा दर्शन लुकेको हुन्छ, यसको संरक्षण गर्दै विकास गर्नु पर्छ ।’

 

किरात लिपि र भाषा उत्थानको तत्कालीन परिस्थितीलाई सम्झन्दा विरक्त चल्ने प्रसंग ल्याउनु हुँदै वहाँले किरात लिपि र भाषाको उत्थानको लागि अघि बढ्दै जाँदा देशद्रोही, राजद्रोहीको अभियोग समेत लागेको बताउनु भएको छ । अङसीमाङले भन्नु भयो, ‘तत्कालीन शासकले मेरो टाउँकोको मोल ३ लाख तोकेर खोजी गरेपनि माङकै कृपाले भेट्न सकेनन् ।’ वहाँले थप्नु भयो, ‘जे जस्तो उतरचढाव भएपनि किरात धर्म र लिपि नमासि जोगाएका छौं ।’

 

 

किरात लिपि नौलो नभई प्राचीन आदिम लिपि भएको वहाँले प्रष्ट पार्नु भएको थियो । यस लिपिलाई संरक्षण गर्नुमा पहिलो शिरिजंगाहाङ, दोस्रो शिरिजंगा सिंथेबे, महागुरु फाल्गुनन्द, लालसोर सेन्दाङ, इमानसिं चेम्जोङ लगायतका महापुरुषहरुको अमूल्य देन रहेको समेत अङसीमाङले बताउनु भएको छ ।

 

मातृभाषा उत्थानका लागि अघि बढ्दै जाने क्रममा पहिलो पटक तुम याक्थुङ निङवाभू शकशक प्रकाशन गरिएको अङसीमाङले सुनाउनु भयो । भाषा उत्थानको विषयमा वहाँले भन्नु भयो, ‘आदिवासी जनजातिहरुको भाषालाई संकलन गरेर बृहत शब्दकोश प्रकाशन गर्ने सोच राखेको छु ।’

 

लिपिले राज्य सञ्चालन गर्ने बताउनु हुँदै, निकट भविष्यमा किरात लिपि र भाषा विश्वको लिपि र भाषा हुने वहाँले उद्घोष गर्नुभएको छ । धर्म दर्शन, इतिहास, भाषा, लिपि, संस्कार संस्कृति विकासका लागि खोज अध्ययन् अनुसन्धान गर्न तत्काल किरात विश्व विद्यालयको स्थापना गर्न आवश्यक भएको आशीर्वचनको क्रममा अङसीमाङले बताउनु भयो ।

 

 

किरात समुदायहरु आदिमवासी रहेको प्रष्ट पार्नु हुँदै सुनाउनु भयो, ‘हिन्दु र मुस्लिमहरुबीच युद्ध हुँदा यहाँ किरात राज्य थियो । हिन्दुहरुलाई किराती पुर्खाहरुले सरण दिएर राखेका हुन ।’ किरात धर्म सम्बद्ध संघ सस्था, सामाजिक संघ संस्था र राजनीतिक संगठनका प्रतिनिधिहरुको भेलामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थितीमा वार्षिक उत्सव कार्यक्रम आयोजना गरिएको हो ।

 

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मोहन धिमालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विशेष अतिथि माङसेबुङ गाउँपालिका वडा नं. ५, का वडाध्यक्ष नरेन्द्र कुमार राई र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ रहनु भएको थियो ।

 

किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह सचिव आङबुहाङ अबोध अविरल, किरात साम्जीक मुन्धुम युक्सीङ निसामहिमका प्रधानाध्यपक कल्पना लिङ्देन, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

कार्यक्रममा भाषिक कर्मचारी नियुक्ति नभइञ्जेल स्वंयमसेवकको रुपमा काम गरेका दिलबीर सेर्मा, इन्द्र आङदेम्बे, ललितचन्द्र फियाक, सञ्च सङबाङफे र खेसेहाङमा थेगिमलाई सम्मान पत्रद्धारा सम्मानीत गरिएको थियो । साथै तत्कालीन वडा सचिव युवराज दाहाललाई पनि सम्मान पत्रद्धारा सम्मानीत गरेको थियो ।

 

स्थानीय कामकाजी भाषा घोषणा वार्षिक कार्यक्रमका अध्यक्ष गुल्सन आङबुहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा नं. ५, का दोभाषे कर्मचारी (वडा सचिव) सुनिल सेर्माले गरेका थिए । साँझ माङसेबुङ परिसरमा भव्य दीपावली समेत गरिएको थियो ।

 

 

इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५, मा गत २०७५ साल मंसिर १३ गते स्थानीय भाषा किरात लिपि र भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरिएको थियो । यसरी घोषित कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा स्थापना दिवसको अवसरमा २०७६ साल मंसिर १३ गते दोभाषे कर्मचारी गाउँपालिकाले नियुक्ति गरेको थियो ।