सत्य धर्म मुचुल्का र समाज सुधार


                                                                             आङबुहाङ अबोध अविरल

 

के हो सत्यधर्म मुचुल्का ?

 

सत्य धर्म मुचुल्का महागुरु फाल्गुनन्दको पहलमा लब्रे पान्थरमा वि.सं. १९८८ बैसाक २४ देखि २८ गतेसम्म आयोजित एक भव्य चुम्लुङले निर्माण गरेको थियो । सत्य धर्म मुचुल्कामा ७ बुँदाहरु रहेकाछन् । किरात समाजमा प्रचलित तुम्याहाङ प्रणालीको आधारमा सत्यधर्म मुचुल्का निर्माण गरिएको थियो । तुम्याहाङहरु भेला भएर समाजका कानूनहरु निर्माण गर्ने प्रचलन तुम्याहाङ प्रणाली हो । मुचुल्काले समाजलाई समानता, अहिंसा, मानवता र प्रकृतिपूजाको दिशामा मार्ग निर्दिष्ट गरेको छ ।

 

यसरी बाँधियो मुचुल्का

 

पल्टने जीवन पश्चात महागुरु फाल्गुनन्दले कर्म थलोको रुपमा लबे्र पान्थरलाई अपनाउनुभयो । वि.स.१९८८ बैसाकमा लब्रेमा किरातीहरुको एक महाचुम्लुङ आयोजना गरियो । चुम्लुङमा लिम्बुवानका प्रशासन प्रमुखहरु तालुकी अमाली शुभा (थुम प्रमुख), सुभा (गाउँ प्रमुख), सर्वसाधारण र महागुरु फाल्गनुन्द उपस्थित हुनुभयो । चुम्लुङमा नेपालका विभिन्न ठाउ“का साथै दार्जिलिङबाट समेत सहभागिता रहेको थियो । सो चुम्लुङलाई निरंङकुश राणा शासनकालको ठूलो जनभेला तथा नेपालको सन्दर्भमा प्रथम धर्म सभा भएको विश्वास गरिन्छ ।

 

चुम्लुङका लागि महागुरु फाल्गुनन्दले लिम्बुवानका विभिन्न थुम र गाउँहरु डुल्नुभएको थियो । तत्कालीन नामी सुभाहरुको सहयोगमा सबै थुमहरुमा पत्रचार गरिएको थियो । महागुरु केही वर्षदेखि लब्रेमा बस्दै आउनुभएको तथा खुला स्थान भएकाले चुम्लुङका लागि लब्रेलाई चयन गरियो । चुम्लुङमा सहभागीहरुका लागि स्याउँले डेराहरु निर्माण गरिएको थियो । चार दिनसम्म चलेको सो चुम्लुङमा महागुरु फाल्गुनन्दले धार्मिक, सांस्कृतिक, आर्थिक रुपान्तरण सम्बन्धि विभिन्न प्रस्तावहरु राख्नुभएको थियो । चुम्लुङले महागुरु फाल्गुनन्दद्वारा प्रस्तुत प्रस्तावमाथि गहिरो छलफल गरेको थियो । छलफलले किरात मुन्धुम, भाषा, लिपि, संस्कार सम्बन्धि केहीँ महत्वपूर्ण बुँदाहरु पास गर्दै ७ बुँद्धे मुचुल्का तय ग¥यो । सो मुचुल्कालाई ‘सत्य धर्म मुचुल्का’ नामाकरण गरिएको थियो ।

 

मुचुल्काको मस्यौंदा सुब्बा सेरबहादुर लाओतीले गर्नुभएको थियो । चार दिसम्म चलेको चुम्लुङमा सयौं मानिस सहभागी भएका थिए । चुम्लुङ निर्जन र नाङगो चाउरमा गरिएकोले सहभागीहरुलाई उचित बसोबास हुन नसक्नु र चुम्लुङ लामो समय चलेकाले सबै सहभागी अन्त्यसम्म बस्न सकेनन् । मुचुल्कामा वि.स. १९९० र १९९१ सालसम्म पनि हस्ताक्षर गर्ने कार्य भएको थियो ।
मुचुल्काको ७ बुँदा
सत्य धर्म मुचुल्कालाई तीन भागमा विभाजन गर्न सकिन्छ । पहाडे कागजमा बाँसको कलमले लेखिएको सत्यधर्म मुचुल्काको शुरुमा पृष्ठभूमि उल्लेख गरिएको छ । मध्य भागमा धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र मुन्धुम सम्बन्धिका बुँदाहरु रहेका छन् । त्यस्तै मुचुल्काको अन्तिम भागमा मुचुल्काको अन्त्यमा सहभागीहरुको नाम, ठेगाना, हस्ताक्षर, औठा छाप र औठीको छाप रहेको छ ।

 

मुचुल्काको पृष्ठभूमिमा किरात मुन्धुम, संस्कार विधि फरक भएकाले एक गराउन आवश्यक भएको उल्लेख छ । सो खण्डमा सम्पूर्ण किरातहरु एक भएपनि जन्म सुतक, मृत्यु सुतक बारन फरक तवरले गर्दै आएको तथा विवाह पनि फरक–फरक रीतले गर्दैै आएकोले एक गर्नु पर्नेमा जोड दिएको छ । यसैगरी लिखित मुन्धुम प्रयोग नहुनाले स्थानपिच्छे यसको प्रयोग फरक रुपमा भएको तथा मुन्धुम लिखित नहुँदा लिपि लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्दै, आउँदा दिनमा लिखित मुन्धुम प्रयोग गर्नुपर्ने उल्लेख छ ।

 

‘युमा’ माङको माङिहम स्थापना गर्ने तथा मातृभाषामा शिक्षा लिने विषयलाई पनि मुचुल्काको पृष्ठभूमिले सम्बोधन गरेको छ । हरेक काम सफल हुन युमा माङको सेवा गर्नुपर्ने भएकाले लब्रे पान्थरमा गोश्वरा युमा माङिहम निर्माण गर्ने मुचुल्कामा उल्लेख गरिएको छ । यसका साथै मातृभाषामा शिक्षाका निम्ति एक पाठशाला निर्माण गर्ने पनि मुचुल्काको पृष्ठभूमिमा समावेश गरिएको छ । पृष्ठभूमिको अन्त्यतिर मुचुल्कामा उल्लेख भएको बुँदाहरु कसैले उल्लंघन गरे मुचुल्का मुताविक कार्वाही गर्ने र मुचुल्कालाई सारेर विभिन्न थुम (जिल्ला), मौजा (गाउ“) मा पु¥याउने भनिएको छ ।

 

पहिलो बुँदामा छोरी चेलीको सोतरीत लिन बन्द गर्ने, दोस्रो बुँदामा माङसेवा गर्दा जीवहत्या नगर्ने र तेस्रो बुँदामा मासु मंस नखाने उल्लेख छ । यसैगरी मृत्यु सुतक सम्बन्धि चौंथो बुँदामा समेटिएको छ । मृतक सुतक बारनमा विविधता आएकोले ३ दिन बारन गरेर चौंथो दिनदेखि खेती पातीको काम गर्र्ने र १० औं दिनमा सुद्धाई गर्ने भनिएको छ । मंसको पिण्ड दिन छोड्ने र मंसको मेजमान नदिने चौंथो र छैटौं बुँदाले समेटेको छ । सातौं बु“दामा फलफूलको पिण्ड दिने कुरा उल्लेख छ । मुचुल्काको अन्त्यमा सहभागीहरुको हस्ताक्षर रहेको छ ।

 


मुचुल्का र समाज सुधार

 

सत्य धर्म मुचुल्का निर्माण भएको दिनलाई समाज सुधार दिवसको रुपमा मनाउन थालिएको छ । मुचुल्काले समाजमा लिङ्गीय, जातीय र भाषिक विभेदलाई सुधार गर्न चाहेको छ । सत्य धर्म मुचुल्कामा छोरीचेलीको सोतरीत नलिने उल्लेख गरेको छ । छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो, रहेको छ । छोरालाई जग्गा–जमिनको मालिक, जात, थर र वंशको उत्तराधिकारी मान्ने गरिन्छ । तर, छोरीलाई विबाहमा मोल नै तोकेर सोतरीत लिने चलन समाजमा थियो, अझै पनि छ ।

 

संसारका अधिकांश मानव समुदाय पुरुष प्रधान संरचनामा संरचित छन् । पुरुष प्रधान संरचनाले महिलाहरुलाई दोस्रो दर्जाको मानवका रुपमा स्थापित गर्दै विभेद गर्दछ । महिलालाई कमजोर र दोस्रो दर्जामा राख्न कानुन, संस्कृति र परम्पराहरु निर्माण गरिन्छ । सोतरीत लिने चलनले नारीलाई वस्तुकरण गर्दछ । एउटा पुरुष बेहुली खोज्न जान्छ, बुबा, अर्को पुरुषले छोरी–बेहुलीको मूल्य तोक्छ । लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्ने मुचुल्काले जोड दिएको छ ।

 

लामो समय मुन्धुम मौखिक परम्परामा रहेकाले हराउँदै गएको र मुन्धुमलाई लिपिबद्ध गर्न चुम्लुङले सहमति गरेको छ । मौखिक परम्परामा रहँदा मुन्धुम थुम नै पिच्छे र व्यक्ति पिच्छे फरक पर्ने भएकोले यसको एक रुपताको निम्ति मुन्धुम लिपिबद्ध गर्नेमा मुचुल्काको जोड रहेको छ । सत्य धर्म मुचुल्का निर्माण भएको बेला समाजमा भाषिक विभेद् थियो । राजाले मान्ने धर्मलाई राष्ट्रिय धर्म, राजले बोल्ने भाषालाई राष्ट्रिय भाषा मान्ने र सरकारी कामकाजमा प्रयोग गर्ने चलन थियो । यसले एकै मुलुकका विभिन्न भाषिक समुदायहरुमा विभेद गरेको थियो । मुचुल्काले मातृभाषामा शिक्षा दिनुपर्ने विषयमा जोड दिएको छ । सबै भाषा समान हुन् भन्ने विषयलाई मुचुल्काले उल्लेख गरेको छ । मातृभाषामा शिक्षा, बहुभाषिक शिक्षा आदि शिक्षा क्षेत्रका जल्दाबल्दा सवालहरु हुन् । विद्यार्थीलाई उनीहरुकै मातृभाषामा शिक्षा दिँदा सिकाई उपलब्धि राम्रो हुने निष्कर्ष शिक्षाविद्हरुले निकालेका छन् ।

 

महागुरु फाल्गुनन्दको पहलमा आयोजित चुम्लुङलाई आधुनिक युगको प्रथम धर्मसभाकोे रुपमा उल्लेख गरिन्छ । राजाले मान्ने धर्म नै सबै नागरिकको धर्मको रुपमा चिनाउने चलनका विरुद्ध यसले किरातीहरुको आफ्नै धार्मिक राष्ट्रियता विकास गर्ने तर्फ मुचुल्काले जोड गरेको थियो । बलिपूजा त्याग्ने विषयलाई सत्य धर्म मुचुल्काले जोड दिएको छ । मानिस आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्ने चलन छ । अन्य प्राणीलाई विवेकहीन र आत्मारहित प्राणीको रुपमा ठान्दछ । आफ्नो हितका निम्ति अन्य प्राणीको बलि चढाउने चलन पनि छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई माङको सन्तानको रुपमा व्याख्या गर्ने प्रयास गरेको छ । बलिपूजा हिंसासँग सम्बन्धित रहेकाले यसलाई त्यागेर अहिंसाको बाटोमा जीवनलाई डो¥याउनु पर्नेमा जोड दिएको छ । बलिपूजाको ठाउँमा फल, फूलको सहयताले सेवा गर्नुपर्नेमा जोड दिएको छ ।

 

शाकाहारी जीवन पद्धतिमा मुचुल्काले जोड दिएको छ । मादक पदार्थ तथा मदिरा सेवनले व्यक्ति र समाजको स्वास्थ्यमा नकरात्मक असर पार्ने भएकोले यसको सेवन नगर्ने कुरा मुचुल्कामा समावेश गरिएको छ । यसरी मुचुल्का निर्माण भएको झण्डै एक शताब्दीपछि पनि यसको सान्दर्भिकता अझै बढ्दै गएको छ । समाज सुधार दिवसको अवसरमा सबैलाई शुभकामना ।

 

माङसेबुङ मासिकबाट साभार