सत्य धर्म मुचुल्का र यसको दूरगामी प्रभाव बारे


                                                                      कुमार लिङ्देन ‘मिराक’

 

त्यस बेला वा वि.स. १९८८ सालतिर नेपालको राजनैतिक सामाजिक परिस्थिति सहज थिएन । समग्र किरात प्रदेशलाई अज्ञानता र अशिक्षाको कालो बादलले ढाकेको थियो । पल्लो किरात भनेर चिनिने लिम्बुवानमा लिम्बू (किरातहरु) अशिक्षाको कारणले गर्दा विकृत र विसंगतिको मन्द विष पिएर संधैका लागि निदाउन खोजिरहेका थिए । ति लिम्बूहरुले आफ्नो गौरवमय इतिहासलाई विर्सदै लगेका थिए । नत्र पहिले पहिलेका लिम्बू प्रतिनिधिहरु आपसमा भेला भई आफ्ना समस्याका बारेमा गम्भीर रुपले छलफल गर्ने कुरा विर्सेर आ–आफ्नो साँढे भएर बसी आफू खुशी जीवन विताउन थालेका थिए । जब कुनै पनि समाजमा भेला भएर आफ्ना समस्याहरु बारेमा छलफल, बहश हुँदैन तब त्यो समाजको पतन हुन्छ, विकृत र विसंगतिले घेर्छ । लिम्बूहरु लगभग यहीँ अवस्थाबाट गुज्रिरहेका थिए ।

 

एउटा गौरवमय इतिहास भएको जाति वा आफूले जन्म लिएको लिम्बू (किरात) जाति यसरी पतनको बाटोमा हिडेको अवस्थाले महागुरु फाल्गुनन्दलाई अत्यन्त दुःखी बनायो । लिम्बुवानको अग्लो डाँडाहरुमा यदि सुतिरहेको लिम्बू (किरात) समाजलाई हेरेर महागुरु फाल्गुनन्द कति धेरै पल्ट रुनु भयो होला । (पाठकहरुलाई थाहा होस हरेक महान मान्छेहरुको आत्मा अत्यन्त कठोर र अत्यन्त कोमल पनि हुन्छ) उहाँले लिम्बू (किरात) समाजलाई विउँझाएर चेतनशील बनाई सुसंस्कृत सभ्य बनाउने सपना देख्नु भयो । व्युँझाउन त व्युँझाउने तर कसरी त्यो सुतिरहेको लिम्बू (किरात) समाजभित्र प्रवेश गर्ने भन्ने कुराले महागुरुलाई धेरै दिन, धेरै महिना र वर्षसम्म सोचमग्न बनायो । किनभने अशिक्षाले ग्रस्त बनाइरहेको समाज भित्र प्रवेश गरेर उनीहरुलाई झक्झक्याउनु सजिलो काम पटक्क थिएन ।

 

त्यसो त ८८ सालतिर लिम्बूवानमा महागुरु फाल्गुनन्दले धेरै धार्मिक जागरणका काम गरिसक्नु भएको थियो । भनौं न उहाँ यस भेगमा प्रतिष्ठित व्यक्तिको रुपमा परिचित भईसक्नु भएको थियो । तर, पनि थुम थुमका सबै लिम्बूहरु ज्ञान चेतनाका कुराहरु सिक्न, उहाँलाई भेट्न आइहाल्ने स्थिति थिएनन । यदि उनीहरु महागुरुलाई भेट्न आउँदा हुन त उहाँले तिनीहरुलाई ज्ञानको ज्योति दिनु हुन्थ्यो होला । तर उनीहरु अशिक्षाको कारणले वा तत्कालीन अवस्थाको राजनीतिक कारणले गर्दा महागुरुलाई भेट्न सकिरहेका थिएनन् । अब यस्तो स्थितिमा के गर्ने भनेर धेरै सोचेपछि महागुरु एउटा निर्णयमा पुग्नु भयो । उहाँले आफू स्वयम नै थुम थुममा रहेका लिम्बूहरुको घर–घरमा गएर भेट्ने कुराकानी गर्ने छलफल गर्ने सोचाईमा पुग्नु भयो । महान् मान्छेहरु नम्र हुन्छन्, उनीहरु जनताको सुख र प्रगतिको लागि जस्तो सुकै दुःख गर्न पनि तत्पर हुन्छन् भन्ने कुरा महागुरुले देखाउनु भयो । उहाँले केही सहयोगीहरु लिएर लिम्बूवानको प्रत्येक थुम–थुमको यात्रा आरम्भ गर्नु भयो । उहाँले ती प्रत्येक थुमका लिम्बू (किरात) हरुको अवस्थाको बारेमा जानकारी लिनु भयो । उनीहरुसँग भेटघाट गर्नु भयो र उनीहरुलाई सही मार्गमा हिड्नको लागि अर्ति उपदेश दिनु भयो ।

 

आफ्नो घर आगनमा स्वंयम महागुरु आइपुगेको देखेर लिम्बूवानवासीहरु हर्षविभोर भए । यति महान् मान्छे आफ्नै घरमा आइपुगेको देख्दा ति गाउँवासीहरुको आँखाबाट खुशीको आँशु छल्कन्थ्यो । महागुरु नपुगेको सायद कुनै थुम नै छैन होला, उहाँले पूरा लिम्बुवानको भ्रमण गर्नु भयो । उहाँले यो भ्रमण नै एउटा ऐतिहासिक भ्रमण हो जसले निद्रामा मस्त रहेका लिम्बू (किरात) हरुलाई झसंग बनाई दियो । यदि महागुरुले अहमता प्रदर्शन गरेर १७ थुमको भ्रमण नगर्नु भएको भए के हुन्थ्यो होला भनेर कहिलेकाहीँ सोच्न मन लाग्छ । तर, यदि भ्रमण नगर्नु भएको भए आज पनि किरात समाजलाई त्यहीँ कुरीति कुसंस्कारको कालो बादलले छोपी राखेको हुन्थ्यो होला ।

 

अब आउने युवा पुस्तालाई एउटा कुरा अचम्म लाग्ने छ कि महागुरुले बोलाउँदा १७ थुमकै प्रतिनिधिहरु खुसुक्क आउनुमा के रहस्य थियो त ? महागुरुसँग त्यस्तो शक्ति थियो कि क्या हो ? जसले आइज भन्दैमा जस्तोसुकै मान्छेहरु पनि खुसुक्क आउने । वास्तवमा यसलाई रहस्यमय तरिकाले हेर्नु भन्दा वास्तविक तथ्यको आधारमा बुझ्नु उत्तम हुनेछ । हुन त कतिपय लेखक हुँ भन्ने मानिसहरुले महागुरुलाई अति रहस्यमय, चमत्कारी, जादुगरी व्यक्तिको रुपमा चिनाउने प्रयास गर्छन् । तर, त्यसो गर्नु महागुरु प्रति अन्याय हुन्छ । हो, महागुरुमा अध्यात्मिक शक्ति पनि थियो तर त्यसको साथसाथै उहाँले आफ्नो भौतिक शरीरले पनि धेरै दुःख गर्नुभएको छ । उहाँ पैदल हिंडेर लिम्बूवानका किरातीहरुको घर आँगनमा पुग्नु भएको थियो । अनि अर्ति उपदेश दिनु भएको थियो । ८८ सालको चुम्लुङ गर्नु अघि भोक तिर्खा केही नभनि रातदिन लगाएर सबैको घरमा पुगि सम्झाएर बुझाएर मान्छेहरुलाई चेतनशील बनाउने प्रयास गर्नु भएको थियो । त्यसैले उहाँले बोलाउँदा सबैजना खुसुक्क आउनुको कारण उहाँको महान् भावना, मान्छेहरुसँग नम्र हुने उहाँको क्षमता र किरात समाजको लागि उहाँले गर्नुभएको दुःख र त्याग नै हो । भविष्यका लेखक विश्लेषकहरुले के बुझ्न जरुरी हुन्छ भने, ८८ सालको चुम्लुङ एक्कासी वा एकै रातको सोचाईमा सम्पन्न भएको होइन ।

 

यो चुम्लुङ सम्पन्न गर्न महागुरु र उहाँको सहयोगीहरुले धेरै लामो र कठीन मिहेनत गर्नु परेको थियो । तर, दुःखको कुरा के छ भने, उहाँले गर्नु भएको दुःख र परिश्रमको बारेमा आजभोलीका लेखकहरुले खासै खोजी र चर्चा गर्दैनन् । उहाँ त्यसरी घुम्ने क्रममा कति रात कति दिन भोकै तिर्खै पर्नु भयो होला, बास पाउनु भएन होला, तर यी कुराहरुको कहीँ चर्चा गरिदैनन् । बरु उहाँले पैरो रोकेको, पानी पारेको जस्तो जादुगरी कुराहरु लेखेर उहा“लाई अर्कै खालको वा चटके व्यक्तिको रुपमा चित्रित गर्न केही लेखकहरु लागिपरेका छन् । यहाँ बुझ्नु पर्ने कुरा के छ भने, महागुरु फाल्गुनन्द एउटा चटके व्यक्ति भन्दा धेरै–धेरै माथी हुनुहुन्थ्यो । उहाँसँग पहिरो रोक्ने, पानी पार्ने क्षमता थियो होला वा थिएन होला त्यो विश्वासको कुरा हो । तर, उहाँसँग एउटा यस्तो भयंकर शक्ति थियो कि त्यो शक्तिले नै फलामसिंहलाई महागुरु फाल्गनुन्द बनायो । महागुरुसँग भएको त्यो शक्ति हो मान्छेको मन जित्न सक्ने शक्ति । उहाँले भ्रमणको क्रममा लिम्बूवानका धेरै गन्यमान्य व्यक्तिहरुको मन जितिसक्नु भएको थियो । त्यसैले गर्दा पनि ८८ सालको चुम्लुङ ऐतिहासिक रुपमा सफल भयो ।

 

८८ सालको चुम्लुङको बेला महागुरुको उमेर ४५ वर्ष ५ महिना २९ दिनको थियो । हुन त त्यो उमेर धेरै पनि हो तर अर्कै तरिकाले सोच्दा यो उमेर आफैंमा त्यति धेरै होइन पनि महागुरुले त्यो उमेरमा धेरै गरिसक्नु भएको थियो । उहाँले केही माङहिम (मन्दिर) हरु निर्माण गर्न लगाई त्यसमा फूल अक्षताले मात्र पूजा गर्ने सेवासाबा (पूजारी) हरु नियुक्ति गर्नुभएको थियो । यी सेवासाबाहरुले महागुरुको समाज सुधार अभियानमा धेरै महत्वपूर्ण भूमिका खेलेका छन् । उनीहरु केहीको नाम लिनुपर्दा, चुक्चिनाम्बा माङहिमका सेवासाबा बद्रीनन्द तुम्वापो, लब्रेकुटीका वैजनाथ तुम्बापो, कावेलीका गंगादिल लिम्बू, सिलौटीका सिद्धिनन्द फेजोङ, निगुरादिन चिलिङसेका विशुदानन्द यङहाङ, जीतपूरका माङदेने माइला नरदिल लिङ्देन प्रमुख छन् ।

यसका साथै अन्य गन्यमान्य व्यक्तिहरुले पनि महागुरुको समाज सुधार आन्दोलनमा महत्वपूर्ण सहयोग गरेका छन् । केहीको नाम सम्झन पर्दा, तेह्रथुमका सुब्बा काजीमान तुम्बाहाम्फे, पान्थर यासोकका सुब्वा शेरबहादुर लाओती, जीतपूर चारखोलाका काले दमाई, फिदिमका सुब्बा प्रतापसिंह, मुढे रबिका पदमलाल, (रामानन्द) बजीरमान राई, सिहाङका भालुमान राई, सिद्धिदास वान्तावाहरुको नाम प्रमुख रुपमा आउँछ । बाजवीर थलङ, तिलकसिंह मुरिङला, इमानसिंह चेम्जोङ, रनधोज नेम्बाङ जस्ता किरात श्रीजङगा लिपिका अनुसन्धानकर्ताहरुको अथक परिश्रमले गर्दा महागुरुको अर्ति उपदेशहरु किरात लिपिमा लिपिबद्ध हुने सौभाग्य मिल्यो ।

 

महागुरु फाल्गुनन्दको नेतृत्व र माथी उल्लेखित सहयोगीहरुको पूर्ण सहयोगमा लिम्बूवान पाँचथर चोकमागुको शिरमा वि.स. १९८८ साल वैशाख २४ गते १७ थुमका १० लिम्बू प्रतिनिधिहरुको वृहत चुम्लुङ बसी धार्मिक, सामाजिक, सांस्कृतिक र आर्थिक सुधारका १० बुद्धे कार्यक्रमहरु नै कालान्तरमा ८८ सालको सत्य धर्म मुचुल्का भनेर किरात इतिहासमा सुनौलो अक्षरमा कोरिएको छ ।

 

सत्य धर्म मुचुल्काको १० बुद्धाहरु यस प्रकार छन्

१. पूजापाठका लागि मन्दिर र अज्ञानता निवारणका लागि लिम्बू भाषा र किरात श्रीजंगा लिपिमा पठनपाठन हुने पाठशाला निर्माण र स्थापित गर्ने, पूजा खर्च र शिक्षकको तलबलाई प्रत्येक लिम्बू घरले श्रद्धाले दुई आना चन्दा नियमित दिने ।
२. चन्दा संकलन र खर्च भएको व्यहोरा राम्ररी राख्ने र सुधारको काम गर्न अघि सबैको सल्लाह मतो गर्ने । गाउँलेहरुमा एकताकोे अनुभव र महत्व बुझाउने ।
३. जन्म, मरण र विहेको संस्कारमा अलिआएको जाँड, रक्सी, मासु मंसको व्यवहार माटमारलाई बन्द गर्ने र यसको सट्टा धूपबत्ति, फलफूलको मात्र चलन गर्ने ।
४. छोरी चेलीको सोतरीत खाने लिम्बूको चलन मनुष्य धर्मको विपरित भएकोले अब उपरान्त सोतरीत नखाई वागदत्ता ठहराई विवाह गरी दिने र बिहेपछि माइतीलाई चेलीको जुठो नलाग्ने ।
५. पुरुषको मृत्युमा ९ दिन र महिलाको मृत्यूमा ८ दिन जुठो बार्ने चलनलाई अब उप्रान्त ४ दिन र ३ दिन मात्र बनाउने ।
६. सुतक छोरा भए ४ दिन र छोरी भए ३ दिन बार्ने चलनलाई सनातन बमोजिम परिवारले १० दिन बार्ने र सुत्केरीले २२ दिन बार्ने ।
७. कसैको मृत्युको समयमा किरिया बारेको समयमा जाँड रक्सी, सुंगुर, कुखुरा काटि पिण्ड दिने र मलामीलाई ख्वाउने चलन बन्द गर्ने र अब उप्रान्त अदुवा, दूध र चामलको पिण्ड दिने सोही बमोजिम जुठो बार्दा र फुकाउँदा मदमदिरा र मंसको प्रयोग नगर्ने ।
८. लिम्बूहरुमा संगुर, कुखुराको मासु खाने चलन शुरुमा नभएको र पछिबाट खाने चलन शुरु भएकोले अब उप्रान्त यो नखाने ।
९. लिम्बूहरुको प्रत्येक संस्कारमा (जन्म, विबाह, मरण र सेवा पूजामा) रक्सी, जाँड र मासुको प्रयोग भएकोले यो प्रयोग खर्चालु, अस्वथ्यकारी र अधर्मी पनि भएकोले यसलाई अब उप्रान्त बन्द गर्ने, सकभर नखाने ।
१०. विहेमा दुलाह दुलहीलाई गायत्री मन्त्र (किरात लिम्बू मुन्धुम) नसुनी, नसुनाई यस्तो शुभकार्य सम्पन्न नभएकोले यो परम्परा शुरु गर्ने र लिम्बूहरुले कपास खेती गरी आफैं धागो बनाएर गाउँघरमै कपडा बुन्ने र यही कपडाको प्रयोग गर्ने । अब उप्रान्त विदेशी कपडा प्रयोग नगर्ने ।

 

सत्य धर्म मुचुल्का का यी बुँद्धाहरुले मुख्यतया किरात समाजभित्र कर्म संस्कारमा सुधार गर्ने तथा आफ्नै लिपि आफ्नै कपडा प्रयोग गरेर स्वावलम्बी भई राष्ट्रवादी मार्गमा हिंडने दिशातिर निर्देशित गर्छ । यी दशवटा बुँदालाई गहिरिएर नियाल्दा महागुरु फाल्गुनन्दले तत्कालीन लिम्बू (किरात) समाजलाई सभ्यता र संस्कृतिको नया“ उचाईमा पु¥याउने परिकल्पना गर्नु भएको थिएछ भन्ने प्रष्ट हुन्छ । कुनै पनि समाज समुन्नत हुनको लागि महागुरुले तीनवटा पक्षलाई जोड दिनु भएको छ ।

 

प्रथमतः त्यो समाजसँग सभ्य कर्म संस्कार हुनु प¥यो । दोस्रो त्यो समाजमा राम्रो प्रचार–प्रसार भएको हुनु प¥यो । शिक्षाको कुरा गर्दा शिक्षा आफ्नै भाषा र लिपिमा लागू गरिएको शिक्षाले त्यस समाजलाई आत्माबाट (भित्रैबाट) परिवर्तन हुन प्रेरित गर्छ । किरात भाषा र लिपिमा दिएको शिक्षाले जसरी किरातीहरुलाई भित्रै दिलबाट छुन्छ तर अन्य भाषा र लिपिको शिक्षाले उनीहरुलाई बाहिरी सतहबाट मात्र परिवर्तन गर्छ भन्ने कुरालाई महागुरुले त्यतिबेला नै बुझिसकेको देखिन्छ । तेस्रो कुनै पनि समाज समुन्नत हुनको लागि उनीहरु आर्थिक रुपमा आत्मानिर्भर हुनुपर्छ । उनीहरुले आफ्नै उत्पादन प्रणाली विकास गर्नु पर्छ र त्यसबाट उत्पादित समानहरु प्रयोग गर्नु पर्छ । जस्तो कि कुनै किराती समाज कर्म संस्कारमा सुध्रियो उनीहरुले आफ्ना भाषा र लिपिको पनि ज्ञान प्राप्त गरे तर उनीहरुले आफ्नो किरात प्रदेशमा उत्पादन भएका सामानहरु प्रयोग नगरेर संधै विदेशी सर समानप्रति मात्र मोह देखाए भने त्यो किरात समाज पनि अपूर्ण हुन्छ । किरातीहरुमा आफ्नो राष्ट्रप्रतिको अगाध माया हुनुपर्छ । आफ्नो दाजुभाईको परिश्रमी हातहरुले उत्पादन गरेका सामानहरुप्रति सम्मान र प्रेम व्यक्त गर्नु पर्छ भनेर त्यसबेलाको जमानामा नै महागुरुले एउटा राष्ट्रवादी आर्थिक चिन्तन पनि सत्य धर्म मुचुल्का मार्फत प्रस्तुत गर्नुभएको थियो ।

 

यसरी सत्य धर्म मुचुल्काले लिम्बू समाजलाई अग्रगमनतिर डो¥याउने थुप्रै पक्षहरु समेटिएको पाइन्छ । तर, विगतमा सत्य धर्म मुचुल्काको बारेमा छलफल, बहस, विश्लेषण हुँदा यसलाई धार्मिक मुचुल्का मात्र हो भनेर बुझाउने र बुझ्ने प्रयास भयो । यदि सत्य धर्म मुचुल्कालाई धार्मिक मुचुल्का मात्र भनेर कसैले साँगु¥याउने कोशिस गर्छ भने त्यो पुर्खाहरुको प्रयासप्रति वा महागुरुप्रति ठूलो अन्याय हुनेछ । यसको मतलब सत्य धर्म मुचुल्कामा धार्मिक सुधारको विषयहरु छँदै छैनन् भनेको होइन तर यसका साथसाथै यहा“ अन्य थुप्रै विषयहरु पनि छन् । जस्तो कि यसभित्र सांस्कृतिक, शैक्षिक, सामाजिक र आर्थिक दृष्टिकोणहरु सबल रुपमा छन् । त्यसकारण महागुरुको नेतृत्वमा सम्पन्न ८८ सालको सत्य धर्म मुचुलकालाई केवल धार्मिक रुपमा मात्र होइन सामाजिक, आर्थिक कोणहरुबाट पनि विश्लेषण र बहस गरियो भने किरात समाजले त्यहाँबाट धेरै मार्ग निर्देशक कुराहरु सिक्न सक्ने देखिन्छ ।

 

सत्य धर्म मुचुल्काले लिम्बू समाजमा किरात समाजमा अनेकौं सकरात्मक प्रभावहरु पा¥यो, पारिरहेको छ र भविष्यमा पनि पारिरहने छ । यसको प्रभाव दूरगामी छ । यसले लिम्बू (किरात) समाजभित्र वहसका थुप्रै विषयहरुलाई उठाई दिएको छ । प्रथमत ः यसले किरात धर्मभित्र अहिंसावादी सोचको प्रादुर्भाव गरेको छ । महागुरु फाल्गुनन्दको विनम्र अनुरोध थियो कि इश्वरको नाममा काटमार नगरौं, हत्या हिंसा नगरौं, बलिपूजा नगरौं । इश्वरको नाममा काटमार गर्नु कुनै पनि हालतमा धर्म हुन सक्दैन । महागुरुको प्रसिद्ध तर्क छ– यदि इश्वरको नाममा काटमार गर्नु धर्म हो भने पाप चाहीं के हो ? महागुरुको यो अहिंसावादी सोचले वर्तमान समयमा किरात समाजलाई मात्र होइन छेउछेउका अन्य धर्मावलम्बीहरुलाई पनि प्रभाव पार्दै लगेको छ । किरातहरुभित्र जसले महागुरुको कर्म संस्कारलाई अनुसरण गर्छन् उनीहरुले त सेवा पूजामा मारकाट गर्ने कुरै भएन यसका साथै महागुरुको कर्म संस्कारलाई नअगालेका अन्य किरात समुदायले पनि महागुरुको अंहिसावादी सोचलाई शिरोधार्य गर्दै जुनसुकै विधिले कर्म संस्कार गरेपनि मारकाट चै गर्नु हुँदैन रहेछ है । यसले मान्छेभित्रको बर्बरतालाई झल्काउने रहेछ है भनेर क्रमशः अहिंसावादी सोच बनाउदै लगेको देखिन्छ ।

 

यसरी मान्छेहरुको सोचाईभित्र विस्तारै भएपनि परिवर्तन आउनु सकरात्मक कुरा हो, महागुरुको सपना पूरा हुँदै जानु हो । महागुरुले पढ्ने मुन्धुमहरु पढेर वा उहाँको कर्म संस्कार जस्तै गरेर सेवापूजा गर्ने मानिसहरु मात्र महागुरुको अनुयायी हुन् भनेर महागुरुलाई साँगुरो बनाउनु हुँदैन । जुनसुकै मन्त्र पढेर भएपनि हत्या हिंसा नगर्नेहरु महागुरुका सच्चा चेला हुन् भनेर फराकिला तरिकाले बुझ्दा र बुझाउदा राम्रो हुन्छ । महागुरुका मुख्य दर्शन अहिंसा हो । अन्ततः अहिंसाका पुजारीहरु नै महागुरुका शिष्य हुनेछन् । हालका दिनहरुमा फेदाङबा, साम्बा, येबा, नाक्चाहरुले पनि आ–आफ्नो मुन्धुम अनुसार फूल फलेदोले सेवा पूजा गर्न थालेका छन् । यो पनि सकरात्मक कुरा हो । सत्य धर्म मुचुल्काको प्रभाव नै हो ।

 

दोस्रो कुरा, ८८ सालको सत्य धर्म मुचुल्का पछि पल्लो किरात लिम्बुवानमा किरात श्रीजङ्गा लिपि र मुन्धुमी भाषाको प्रचार–प्रसारमा व्यापकता आयो । किन कि त्यस मुचुल्कामा नै यस कुराको आव्हान गरिएको थियो । आज किरात लिपि युवा पुस्ताको हातहरुले पनि व्यापक मात्रामा लेखिन्छ र २१ औं शताब्दीको साना नानीहरुको तोते जिब्रोले पनि मुन्धुमी भाषा बोलिन्छ । लिपि र भाषाको विकासमा धेरै संस्थागत प्रयासहरु अघि बढिसकेका छन् । सायद यो पनि सत्य धर्म मुचल्काको देन नै हो । तेस्रो, यो मुचल्काले किरात समाजभित्र सुधारको लागि ठूलो नैतिक दबाव दिइरहेको छ । जस्तो कि यतिबेलाको लिम्बू (किरात) समाजभित्र जर्बजस्ती कस्तो छलफल भइरहेको छ भने महागुरुले भनेको सबै मान्न नसके कम्तिमा आधा भएपनि मानौं न । विबाहमा मासु खाएपनि मरेको दुःख काम सुधाईमा त मासु नखाउँ न, यो त अति भयो भनेर मान्छेहरु स्वयम्ले आत्मा आलोचना गर्न थालेका छन् । यो पनि एउटा सकरात्मक मोड हो । परिवर्तनको पहिलो खुड्किलो हो ।

 

सत्य धर्म मुचुल्का पल्लो किरात लिम्बुवानको प्राण हो, आत्मा हो भन्दा कुनै अत्युक्ति नहोला । निदाईसकेको लिम्बुवानलाई यहीँ मुचुल्काले फेरि व्युझाई दिएको छ । श्वास भरिदिएको छ । यस मुचुल्कामा महागुरु फाल्गुनन्दको समाज सुधारका व्यक्तित्व प्रबल रुपमा प्रष्टिएको छ । महागुरु स्वयम्को जीवनमा पनि यो मुचुल्का एउटा कोशे ढुङ्गा नै सावित भएको छ । किन कि, जसले उहाँलाई धार्मिक गुरुको रुपमा पुज्ये । उनीहरुले त उहाँलाई श्रद्धा गर्ने परि नै गए तर, धर्म र इश्वरप्रति खासै चासो नराख्ने भौतिकवादीहरुले पनि सत्य धर्म मुचुल्काले गर्दा महागुरुलाई महान् समाज सुधारकको रुपमा सदैव श्रद्धा गर्छन् । त्यसकारण महागुरु फाल्गुनन्दले इश्वरप्रति आस्था राख्ने र इश्वरप्रति आस्था नराख्ने समाजको दुवै पक्षको मन जित्नु भएको छ । श्रद्धा प्राप्त गर्नुभएको छ । यसको मुख्य कारण चाहीं महागुरुले आफ्नो जीवनलाई यति सक्रिय र सटिक गरी विताउनु भयो कि उहाँले आफ्नो जीवनकालमा उहाँको धार्मिक र समाज सुधारक दुवै गुणहरुलाई किरात जातिको लागि उपयोग गर्नुभयो । सायद त्यसैले होला महागुरु फाल्गुनन्द श्रद्धाको जुन उचाईमा हुनुहुन्छ त्यो ठाउँमा धेरै कम मात्र पुग्न सक्छन् ।

 

सत्य धर्म मुचुल्का किरात समाजलाई हलचल ल्याउने एउटा भुकम्प नै हो । भुकम्प सुरु हुने इपिसेन्टर हो, आधारविन्दु हो । यसले किरात समाजमा तरङ्गहरु प्रवाहित गरेको छ, गरिरहने छ । तर, सबैले बुझ्ने पर्ने कुरा के छ भने, महागुरु फाल्गुनन्दले सबै किरात समाजको लागि काम गर्नु भयो, सबैलाई व्युँझाउने, बाटो देखाउने प्रयास गर्नु भयो । त्यसैले महागुरुलाई विश्लेषण गर्दा वा उहाँको बारेमा बोल्दा, लेख्दा कसैले पनि साँघुरो मन बनाउनु हुँदैन् । महागुरु फाल्गुनन्द कसैको पेवा होइन, सबैको साझा हो । कसैले महागुरुलाई इश्वरको रुपमा मान्न सक्छन्, कसैले उहाँलाई महान समाज सुधारकको रुपमा मान्न सक्छन् । उहाँलाई मान्ने आ–आफ्नो तरिका र बुझाई हुन्छ । त्यो तरिकालाई नै आपसी मनमुटावको विषय बनाइनु हुँदैन । जसरी भएपनि किरात समाज निर्माणको लागि आ–आफ्नो ठाउँबाट रातदिन मेहेनत गर्नुपर्छ । महागुरुले किरातहरुलाई अन्धविश्वास र कुरीति कुसंस्कारको अन्योलबाट बाहिर ल्याउन प्रयास गर्नुभएको थियो । त्यसैले कुनै पनि बहानामा किरात समाज फेरि पनि अन्धविश्वासको खाडलमा जाकिनु हुँदैन । दिमागलाई से–से साङ–साङ बनाएर सत्य र असत्य छुट्याउनु पर्छ । अनि मात्र हामी महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का मार्फत गर्न खोज्नु भएको किराती बगैंचाको एउटा सुन्दर फूल भएर फुल्न सक्नेछौं ।

 

सन्दर्भ सामग्री ः

१. डा स्वामी प्रपन्नाचार्य ः फलासिं देखि महाप्रभु फाल्गुनन्दसम्म किरातेश्वर सन्देश वर्ष २ अंक २ २०४३ साल
२. बैरागी काइला ः हराउन लागेको इतिहासको पन्ना ः सत्य धर्म मुचुल्का किरातेश्वर सन्देश वर्ष २ अंक २ २०४३ साल
३. डा. सुभद्रा सुब्वा दाहाल ः किरात धर्मले अवलम्बन गरेको सुधारका पक्षहरु । किरात धर्म प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन स्मारिका २०५७
४. कुमार लिङदेन ः किरात धर्म प्रथम अन्तर्राष्ट्रिय महासम्मेलनमा प्रस्तुत तीनवटा कार्यपत्रहरुको समिक्षात्मक अध्ययन, ऐ, ऐ,
५. डा. नोबल किशोर राई ः किरात धर्म मुहिङगुम अङसीमाङ फाल्गुनन्द र रबिको सेरोफेरो, ऐ, ऐ,

 

यो लेख समय सान्र्दभिक लागेकोले किरात नुमिङसो मासिक बाट साभार गरिएको हो ।