देवेन्द्र खापुङ सुर्केली
म त विदेश जान्न भनिरहेको थिएँ । किनभने अ ाफ्नो बासस्थानको सुनिश्चित थिएन । आफ्नो मातृभूमिको सतित्व हरण भइरहको भान थियो । त्यसैले मोर्चाबन्दी भएर आफ्नो माटो, भाषा, धर्म, संस्कृतिको नाममा केही दिनैपर्छ भनेर मार्चपासमै थिएँ ।
तर पनि मैले आन्दोलन बाटोलाई विश्राम लिनैपर्ने भयो । मोर्चाको मार्चबाट केही वर्षको लागि विदा भनेर हिड्दा हिड्दै अड्डि लिएको थिएँ–जहाँबाट पनि आन्दोलनलाई टेवा दिनेछु ।
विद्यार्थी बनेर मलेसिया छिरिरहेको थिए । मलाई रिसिभ गर्नको लागि मेरो कलेजका व्यवस्थापन प्रमुख सुवास गुनाह (तालिम मूलका मलेसियन) आउनुभएको थियो । एयरपोर्टको सम्पूर्ण कार्य सिध्याएर कलेजतर्फ लाग्दा मेरो मौन मुहारलाई झक्झकाउँदै व्यवस्थापन प्रमुखले सोधेका थिए– तिमी हिन्दू हौं ?
मैले होइन भनँे । फेरि उनले सोधे– बुद्धिष्ट ? त्यो पनि होइन । उनको आँखी भौ उठ्यो, उनले जाने जतिको धर्मको नाम लिए तर म त्यो सबै थिइनँ ।
के हो त ? उनको अन्तिम सोधाईमा मैले भने–म किरात हुँ । प्रकृतिको पुजक । जसले आफ्नो मातृभूमिको माया गर्छ ।
ओह ! उनले भने, धेरै राम्रो दर्शन रहेछ । म भने, गद्गद् भइरहेको थिएँ कि–मैले आज एक नौलो व्यक्तिलाई किरातबारे जानकारी दिन सफल भएको छु ।
मलेसिया मलाई बिलकुलै नौलो लागेन । कोताराया (क्वालालम्पूरभित्रको सानो टोल, मलेसियाको नेपाली राजधानी भन्दा हुन्छ ।) को कुइनेटोमा उभिएर सोचे– म विदेश होइन, नेपालको कुनै एउटा जिल्लामा पुगेको छु । जहाँ स्थानीय आदिवासीहरुको माहोलबीच नेपाली भाषिहरुको जमघट छ ।
वास्तवमै मैले यतिमात्र सोचे । विदेशमा अलमल परेर हराउला, बिजोग होला भन्ने आमो अर्ति खेर गएको अनुभूति गरे । निश्चय नै पत्रपत्रिका, संघसंस्थाले मलाई यति नजिक पु¥यायो कि दुई महिनामै म मलेसियाको पुरानो नेपालीमा दरिएँ ।
हो, अनि मैले नेपालमा मोर्चाबन्दी गरिरहेको साथीहरुलाई इमेल लेखे– कि म कदाचित मोर्चाबाट टाढा छैन् । बरु नेपालमै रहँदा कम भेट हुन्थ्यो होला तर अब हाम्रो भेट दिनदिनै हुन सक्छ । तपाईहरु मोर्चामा एक्लो हुनुहुन्न । मलेसियामा पनि धेरै जना साथीहरु छन् ।
पढ्ने नाममा आएको हुनाले बुढो विद्यार्थीको रुपमा कक्षामा गई टोपल्थे । विभिन्न देश, विभिन्न भाषी र धर्मीहरुको माझ्मा मैले कहिले पनि आफूलाई घुलाउन सकिनँ । तसर्थ म कक्षामा सधैजसो एकलकाटे भएर बिताएँ । कक्षामा म सबैभन्दा चर्चित पनि बनेको थिएँ, एकदमै नबोल्ने विद्यार्थीको रुपमा ।
एकदिन कक्षामा यस्तो मौका आयो कि, आफ्नो धर्मको बारेमा केही भन्नुपर्ने । कक्षा सम्हाल्ने मिसको अनुसार नेपालमा चार धर्मावलम्बीहरु छन् । हिन्दू, बौद्ध, क्रिश्चियन र मुस्लिम । मैले किरात भनेपछि पुरै कक्षा म तर्फ मोडियो । किनभने, सबैलाई चारवटा धर्मबारे जानकारी थिएछ ।
सबैजसो विद्यार्थीले एउटा प्रश्न गर्दा पनि मलाई पसिना पसिना पारिदिए । कनिकुथी दर्शनभित्र छिरेर केही कुरा दिन सके । वास्तवमा मलाई माङगेन्ना सवार भएको थियो । मलेसिया जाने बेलामा आमाले नाहेन्माको पूजा गरिदिनुभएको थियो । जसले मलाई अगाडि बढिरहन मद्दत पु¥याएको महसुस गरिरहेको थिएँ । मेरो आत्माले चोत्लुङ छोइरहेको थियो ।
धेरै प्रश्नहरुको बीचमा एक नाइजेरियन नागरिकले सोधे– तिमी प्रकृति पुजक हौं, खोला नाला, पाखापखेराहरुलाई पूजा गर्छौं । हामी हवाईजहाबाट कहिकथं तिम्रो भूमिमाथि उड्दा हामीलाई केही त हुँदैन ? अनि प्रार्थनामा लीन भइरहँदा प्रकृतिमा हुने बाघ, भालु, सर्पले खाँदैन ?
धेरै गम्भिर प्रश्नको कारण कक्षामा निस्तब्ध छायो । मैले खासै उल्था गरेर उसको जिज्ञासा त मेटाउन सकिनँ । तै पनि भने– ‘आधुनिकताले गर्दा प्रकृतिको विनास त हुँदैछ, तर हाम्रो आस्था मर्दैन । प्रत्येक माटो, देवी देउरालीमा हाम्रो आस्था हुन्छ । आस्था मनमा हुन्छ । पवित्र मनले हवाइजहाजबाट हाम्रो आस्थामाथि उड्दा केही हुन्न । साथै हामी प्रार्थनामा हुनुपर्ने कुनै पिरियड हुँदैन । हामी भूमिमा घोप्टिएर प्रार्थनामा लीन हुँदैनौं । प्रकृतिलाई चढाएर मात्र हामी खान्छौं ।’
मैले उनीहरुलाई सन्तुष्ट पारे पारिनँ, त्यसको लेखाजोखा त गर्न सकिनँ । तर म भने धेरै खुशी भएको थिएँ । अन्तमा अफ्रिका महादेशकै म्यारियानाले सोधिन, हाम्रो क्लास चलिरहेको छ । क्लासमा एउटा नसुनिएको धर्म संस्कृतिको चर्चा भइरहेको छ । हामीले नयाँ कुरा जान्ने मौका पायौं तर परिक्षामा यहीँ प्रश्न आयो भने हामीलाई उत्तर दिन गाह्रो होला ।
मलेसियामा किरात धर्म तथा साहित्य उत्थान संघको पनि गठन भएको छ । जसलाई म सम्मान गर्छु । नेपालमा छँदा म कमिटिएड भएर काम गरेको थिए उक्त संस्था ।
अनि कहिले काही किराती साथीहरु इन्द्रबहादुर नारथुङे, जीवन देवानसँग सानोतिनो बहस चल्छ, किरात धर्मको बारेमा । नेपालमा चार जातिले आफूलाई किरात भन्छन् राई, लिम्बू, याख्खा र सुनुवार वास्तवमा किरात धर्म होइन । सम्प्रदाय हो । चार जातिका सम्प्रदायलाई एक सुत्रमा बाँध्ने काम किरातले गरेको छ । तसर्थ, धर्मलाई धेरैले धेरै पनि भने बीचबीचमा । किरातीहरुको धार्मिक बेदलाई मुन्धुम भनिन्छ । त्यसैले कतिले मुन्धुम धर्म पनि भने । सुम्निमा पारुहाङ र युमा थेबाको पनि उत्तिकै सम्मान छ किरातीहरुमा । त्यसैले युमा धर्मसम्म पनि लेखाए । मुन्धम भने पनि, युमा भने पनि आखिर किरात सम्प्रदायभित्रकै परेको हुनाले ‘किरात’ शब्द एकसूत्रमा बाँध्नकै लागि पनि सम्प्रदाय धर्ममा परिणत भयो । जनगणनामा किरात धर्मको छुट्टै महल छ । जसलाई किरातीहरुले खुशीसाथ अंगीकार गरेका छन् । त्यसमा इन्द्रा नारथुङे होस् वा जीवन देवान, हामी एकदमै स्पष्ट छौं ।
स्पष्ट हुँदाहुँदै पनि देश तथा विदेशमा पुगेका किरातीहरुले आफ्नो धर्मदर्शनको कति भन्न सकिरहेका छौं ? आफ्नो धर्मदर्शनको कुरा नओकल्नाले गर्दा हामीलाई अन्यत्रै धर्म वा सम्प्रदायको भन्ने बुझिरहेको हुनसक्छन् । त्यस कुरामा पनि स्पष्ट भएर नधकाई म किरात हुँ भन्न नहिच्किचाउँ भन्नमा जोड दिइरहन्छु ।
(नेपाल पृष्ठभूमि साप्ताहिक, १४ मंसिर, २०६४ मलेसियाबाट साभार)