आङबुहाङ अबोध अविरल
थालनी
राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म लेख्ने जातिको संख्या बढेको छ । गत मंसिर १४ गते राई, लिम्बू, याख्खा, सुनुवार, थामी, जिरेल, सुरेल र हायु जातिका प्रतिनिधि मुलक संस्थाहरुले जनगणनामा किरात धर्म लेख्ने निर्णय गरेका छन् । यो सँगै किरात धर्म लेख्न संस्थागत रुपमा निर्णय गर्ने जातिको संख्या ८ पुगेको छ । यस अघिका जनगणनाहरुमा राई, लिम्बू, याख्खा र सुनुवार, थामी जातिहरुले जनगणनामा किरात धर्म लेख्दै आएका थिए ।
किरात धर्मको उत्पत्ति र विस्तार
किरात धर्म नेपालको एक रैथाने धर्म हो । किरात धर्म प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन २०५७ मा किरात धर्मबारे बौद्धिक बहस भएको थियो । महासम्मेलनको निष्कर्ष थियो—किरात धर्म कुनै एक व्यक्तिबाट शुरु भएको होइन । यो किरात समुदायको हजारौं वर्षको अनुभव र सिकाईबाट स्थापित हो । ‘किरात धर्म अन्तर्राष्ट्रिय महासम्मेलनको स्मारिका २०५७’ मा सो सम्मेलनका कार्यपत्र र टिप्पणीहरु प्रकाशित छन् ।
‘विश्व शान्ति र मानव एकतामा किरात धर्म’ नामक कार्यपत्रमा प्राध्यापक नोबल किशोर राई लेख्नुहुन्छ, ‘नेपालमा किरातहरु निक्कै प्राचीन आदिवासीहरु भनेर चिनिएका छन् । अन्य मानव समुदाय सरह नै किरात जातिले पहिले आफ्नो मूल बृत्ति, प्रवृत्ति र सदाचार अपनाएर आफ्नो खास मार्ग रेखाङ्कन गरेर ल्याए ।’ प्राध्यापक राईको दाबी छ, ‘सम्पूर्ण किरात जनसमुदायले युगयुगदेखि अपनाएर ल्याएको यस मार्गलाई किरात धर्म भनेर चिनिन् थाल्यो (२७ र २८) ।’
‘किरात धर्म र किरात धर्म अन्तर्राष्ट्रिय महासम्मेलन’ नामक लेखमा बैरागी काइलाले किरात धर्मबारे सविस्तार लेख्नुभएको छ । प्राज्ञ काइलाका अनुसार ‘परापूर्वकालदेखि श्रृतिपरम्परामा आधारित मुन्धुम अनुसार दैनिक जीवनयापन गर्ने काम र धार्मिक क्रियाकलाप गर्दै आउने अथवा किरात धर्म पालन गर्ने जातिलाई किरात जाति भनिन्छ ।’ समय र शासकहरुको परिवर्तनसँगै किरातीहरुले आफ्नो गौरवशाली इतिहास विर्सिएको वहाँको मत छ । प्राज्ञ काइलाको निष्कर्ष छ, ‘आफूलाई किरात हौं भनी चिनाउन गर्व गर्ने वर्तमान नेपालका लिम्बू, याख्खा, खम्बू (हालका राई र सुनुवार आदि) जातिले मानि आएको विभिन्न परम्परागत धार्मिक पद्धति नै समष्टिमा किरात धर्म हो (४७) ।
किरात लिम्बू जातिको यूमा र थेबा तथा किरात खम्बू जातिको सुम्निमा र पारुहाङ आदि तागेरा निङ्वाभूमाङको विविध रुप हुन््÷भएको काइला उल्लेख गर्नुहुन्छ । ‘विश्व शान्ति र मानव एकताको सन्दर्भमा किरात धर्म’ विषयक कार्यपत्रमा डा.हर्षबहादुर बुढामगरले धर्मराज यमीको हवला दिँदै लेख्नुुुहुन्छ— हिमालका विभिन्न ठाउँमा बसोबास गर्ने मगर, गुरुङ, कुसुन्डा, खस, लिम्बू, खम्बू, तामाङ, चेपाङ, धामी, मिस्मा, न्यार्ना, नोहाङ, नेवार इत्यादी किरात जाति थिए ।
मगरका अनुसार अनादिकालदेखि नेपाल तीन नामले प्रख्यात छ । हिमवत खण्ड, किरात देश र नेपाल । ‘यसको सीमाना काश्मिरको तप्त कुण्डदेखि बर्माको छेउसम्म पर्ने परशुराम कुण्डसम्म फैलिएको देशलाई किरात देश भनिन्थ्यो । कामरुपमा किरात धर्म नै प्रस्ट भएको देखिन्छ (३१) ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ‘किरात धर्म मुक्तिको मार्ग’, ‘आत्मा शुद्ध पार्ने’, ‘माङ प्राप्त गर्ने बाटो’ भएको बताउँनु हुन्छ । वहाँले किरात धर्मलाई विशुद्ध आध्यात्मिक दृष्टिकोणले परिभाषित गर्नुभएको पाइन्छ । समग्रमा किरात धर्म प्राचीन किरात जातिहरुको अनुभव र ज्ञानहरुको संग्रह हो । किराती पूर्खाहरुले संसारलाई हेर्ने, चिन्ने र बुझ्ने दृष्टिकोण निर्माण गरे । प्रकृतिलाई माङको रुपमा चिने र प्रकृतिपूजा पद्धतिको विकास गरे । कृषिमा आधारित जीवन दर्शनको विकास गरे । मुन्धुम÷मुन्दुममा आधारित जीवन पद्धतिको विकास गरे । यसका निम्ति सोधुङगेन लेप्मुहाङ, येहाङ, माबोहाङ, सिरिजंगा र फाल्गुनन्दको ठूलो योगदान छ ।
बढ्दैछ किरात धर्म लेख्ने जाति
दक्षिण एशियामा हिन्दुहरुको प्रवेश अघि वर्मादेखि अफगानिस्तानसम्म हिम श्रृङखलाको आसपासमा किरातीहरु बसोबास गर्दै आएको पाइन्छ । ठूलो मानव शाखाका रुपमा विकास भएको किरातहरुले किरात सभ्यताको विकास गरेको पाइन्छ । नेपाली इतिहास र सभ्यता किरात शासनकालको जगमा उभिएको छ ।
नेपालका अधिकांश आदिवासीहरु किरात वंशमा पर्दछन् । किरात जातिहरुमा विभिन्न खालका धार्मिक अनुष्ठान, माङलाई पुकार गर्ने विधि रहेका छन् । प्रकृतिप्रतिको आस्था, विश्वास र आराधना विधिमा समानता देखिन्छ । यसअघि जनगणनामा राई, लिम्बू, सुनुवार र याख्खा जातिले आफूलाई किरात धर्मावलम्बीको रुपमा चिनाएका थिए । थामी, जिरेल, सुरेल र हायुले समेत किरात धर्म लेखाउने संस्थागत निर्णयले किरात धर्मको संख्या बढाउन सहयोग पुग्ने देखिन्छ ।
राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार नेपालमा आफूलाई किरात जाति चिनाउन चाहनेको संख्या करिब १२ लाख रहेको छ । किरातीहरुको करिब ७० प्रतिशतले धर्मको महलमा किरात धर्म लेखाएका छन् । बाँकी करिब ३० प्रतिशत किरातीहरुले धर्मको महलमा हिन्दु र क्रिश्चियन धर्म उल्लेख गरेको पाइन्छ । यसअघिको जनगणनामा किरात धर्म लेख्ने संस्थागत निर्णय नगरेका थामी, जिरेल, सुरेल र हायुले किरात धर्म लेख्ने निर्णयले किरात धर्मावलम्बीहरुको संख्या बृद्धि हुने देखिन्छ । माङसेबुङ मासिकबाट