पहिचान र अर्गानिकप्रेमी ः अङसीमामाङ पबित्रहाङमा

                                                                                                                              – ज्ञानु केदेम लिम्बू

 

किरात धर्म दर्शन करोडौं वर्ष पूरानो वा आदिम प्राचिन धर्म दर्शन हो भनि किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले विभिन्न आशीर्वचनमा भन्नु भएको छ । आदिम किरात धर्म दर्शन कुनै कालखण्डमा सभ्यतामा पुगेको थियो भने, कुनै समय झण्डै लोपोन्मुख अबस्थामा समेत पुगेको इतिहास पढ्न पाइन्छ । यसरी आरोह अवरोहमा परिरहेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिहरुको संरक्षण र सम्बद्र्धनमा मुहिङगुम अङसीमाङहरुको देन अतुलनीय रहेको छ । किरात धर्म दर्शन अनुसार अङसीमाङ युगपुरुषहरु सोधुङगेन लेप्मुहाङ, येहाङ, कान्देहाङ, माबोहाङ, श्रीजंगाहाङ, त्येअङसी सिरिजंगा, महागुरु फाल्गुनन्दको योगदान महत्वपूर्ण रहेको छ ।

 

उठान र पतन हुँदै आएको किरात धर्म दर्शन २० औं शताब्दीमा आइपुग्दा पतनको संघारमा पुगेको देखिन्छ । तत्कालीन निरङ्कुश राणा शासनमा सर्वसाधारण नागरिकलाई लेखपढ पूर्ण प्रतिबन्द गरिएको थियो । त्यो समयताका किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिहरु विषम परिस्थितिमा थिए । यसरी लोपोन्मुख अवस्थामा पुगेको मौलिक किरात दर्शनलाई पुनः उत्थान गर्न किरात समुदायमा मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको वि.स. १९४२ कार्तिक २५ गते जन्म भयो । आज महागुरुलाई अनेकौं उपाधिले सम्बोधन गर्ने गरिन्छ । छरपस्टिएको र दिशाविहिन किरात धर्म दर्शनलाई निश्चित मार्ग देखाउँदै किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिलाई पुनः उत्थान गर्नुभएकोले वहाँलाई किरात धर्मदर्शनदाताको रुपमा मानिन्छ । तत्कालीन किरात समाजमा चलेको कुरीति कुसंस्कारलाई हटाउन वि.स. १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका गन्यमान्यजनहरुको आमभेला गराई समाज सुधारका निम्ति सत्य धर्म मुचुल्का निर्माण गर्नुभएकोले समाज सुधारक र राष्ट्रले राष्ट्रिय विभूषणले सम्मानित गरेकोले महागुरु फाल्गुनन्द राष्ट्रिय विभूतिको रुपमा पनि सबै माझ पुज्य हुनुभएको छ ।

 


यसरी महागुरुले किरात धर्म दर्शनको उत्थान र प्रचार–प्रसारको कामलाई निरन्तर गर्दै जाँदा पूरा गर्न नपाई ६४ वर्षको उमेरमा वि.स. २००५ साल चैत २२ गते वहाँपनि परमधान हुनु भयो । त्यसपछि किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिका पुनः उत्थापक, समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको अपूरा र अधुरा कामलाई पूरा गर्ने अभिभारा लिई वि.स. २०११ साल मंसिर १८ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको जन्म भयो । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले किरात धर्म दर्शनलाई अगाडि बढाउदै शिलसिलामा वि.स. २०३२ साल माघ २२ गते महिङगुम अङसीमामाङ पबित्रहाङमा साँबासँग देव विबाह गर्नु भएको थियो । त्यसपछि महिङगुम अङसीमामाङ साँबा पबित्रहाङमा लिङ्देन, किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको जीवन सारथी तथा परिपूरकका रुपमा किरात समुदायमाझ् पुज्य हुनु भएको छ ।

 

महिङगुम अङसीमामाङ साँबा पबित्रहाङमा लिङ्देन किरात धर्मगुरुको जीवन सारथी हुनु भएकोले मात्र महिङगुम अङसीमामाङ अर्थात गुरुआमा शब्दले सम्बोधन वा सम्मान गरिएको हो भनि बुझ्नु अनुचित हुने छ । किन की अङसीमामाङले पनि अन्य युग पुरुषझै योग साधना, ध्यान तपस्या गर्नु भएको ठाउँहरु यथावत छ । समानताका पक्षधर अङसीमामाङको जीवनशैली सरल र सामान्य देखिएपनि वहाँमा आम नारीहरु भन्दा असाधरण जीवनशैलीे, अद्भूत सामथ्र्य र पृथक पहिचान छ । मान्छेको भीडमा वहाँको फरक शैली र फरक पहिचानकै कारण पनि विशेषत किरात धार्मिक सम्प्रदायभित्र वहाँप्रति अगाध श्रद्धा र आस्था चुलिँदो छ ।

 

यसरी किरात धर्म दर्शनको बृहत विकास र विस्तार हुनुमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको त्याग र देनको विषयमा खोज अनुसन्धान गर्ने पाटो अनेकौं छ । वहाँले मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको परिपुरकको रुपमा रहेर किरात धर्ममा पु¥याउनु भएको समग्र योगदान र वहाँको जीवन कथाबारे अध्ययन् र विश्लेषण गर्न अति आवश्यक भएको छ । यस विषयमा सत्यतथ्य खोज अनुसन्धान गरी अङसीमामाङको विस्तृत जीवनी प्रकाशन गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी भएको छ । तर, यस आलेखमा अङसीमामाङको गहँन विषय वस्तुलाई थाती राखेर मौलिक पहिचानप्रतिको वहाँका अभिरुची र वहाँले सञ्चालन गरिरहनु भएको अर्गानिक खेतीको बारे मात्र विषय उठान गर्ने जर्मको गरिएको छ ।

 

अङसीमाङको परिपुरक अङसीमामाङ

 


इलामको तत्कालीन मिक्लुक थुम, माङसेबुङ गाउँपालिका वडा नं. ३ (साविक बाँझो गा.वि.स. वडा न.–७ उत्तरे) मावेली घरमा जहरमान साँबाको नातिनीको रुपमा तत्कालीन सुब्बा बिर्खध्वोज साँबा र आमा साम्सुहाङ कौशिला साँबाको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते बिहिबारको दिन मुहिङगुम अङसीमामाङ साँबा पबित्रहाङमा लिङ्देनको जन्म भएको थियो । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा शाकाहारी भोजनमा हुर्केकी हुन् । सामान्य जीवनशैली तर असामान्य कर्म र विचार दिनुहुने अङसीमामाङको बाल्यकालदेखि अहिलेसम्म बिहान सबेरै देखि साँझ अबेरसम्म मेलोपात, खेतीपातीमै जीवनयापन गरिरहनुभएको छ । यसरी धर्म र कर्म गर्दै, वहाँले संसारिक जीवन व्यतित गर्ने क्रममा पूजनीय किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङसँग वि. स. २०३२ साल माघ २२ गते देव विवाह गर्नु भयो । त्यसपछि वहाँले संसारिक जीवनयापन समेत सुरु गर्नु भयो ।

 

यहीँदिन यता अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन, अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको परिपुरकको रुपमा हरेक अवस्थामा उभिनु भएको छ । संसारिक जीवनको पारिवारिक अनेकौं समस्याहरुबाट, किरात धर्म दर्शनलाई विकास र विस्तार गर्न अङसीमाङलाई सहज वातावरण निर्माण गरिदिनु पनि अङसीमामाङको देन अतुलनीय रहेको छ । त्यसैगरी किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृतिको प्रचार–प्रसार गर्दै, कुरीति र कुसंस्कारमा रहेका समुदायलाई सभ्य, शिक्षित र चेतनशील बनाउन अभियानमा लागि रहँदा तत्कालीन पञ्चायती प्रशासनबाट अङसीमाङलाई देशद्रोहीको आरोप लागेर, गिरफ्तारका लागि दिनरात खोजी भइरहन्दा अङसीमाङको सुरक्षामा अङसीमामाङको भूमिका सायद कसैले मात्र गर्न सकिन्छ होला । वहाँले धर्म, भाषा, लिपि, संस्कार संस्कृतिको संरक्षण र सम्बद्र्धनमा अङसीमाङलाई हरेक समय र अवस्थामा साथ दिनु भएको छ । यसरी अङसीमाङको जीवनमा अङसीमामाङ केवल जीवन सारथीको रुपमा मात्र नभई परिपुरककै रुपमा उभिनु भएको छ ।

 

पहिचानप्रेमी

 

किरात समुदाय भाषा, लिपि, मुन्धुम, धर्म दर्शन र संस्कार संस्कृतिको संरक्षण र सम्बद्र्धनमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको योगदान महत्वपूर्ण छ । निरङ्कुश पञ्चायति शासनकालमा किरात धर्म, भाषा, लिपि र संस्कार संस्कृतिको संरक्षण गरेको आरोपमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङलाई धेरै पटक गिरफ्तार गर्न खोजेका थिए । त्यो समयमा मातृभाषा, लिपि र मुन्धुमहरु प्रहरीहरुबाट जोगाउन कैयौं दुःख, पीडाहरु सामना गर्नुपरेको अङसीमामाङ सुनाउनु हुन्छ । अहिले सुन्दा कथाझैं लाग्ने तत्कालीन घटनाहरु किरात धर्मगुरु र किरात भाषा, लिपिलाई पक्रिन आउने प्रहरीसँग समेत अङसीमामाङले कुनै समय गुरु निजी आश्रममा संघर्ष गर्नुपरेको थियो ।

 


यसरी वहाँले किरात साम्जीक मुन्धुम र भाषा लिपिका ठेलीहरुको कुम्लो कत्यारोहरुलाई सुरक्षित गर्न थुप्रै दुःख र पीडाहरु सामना गर्नु भएको छ । त्यसैगरी अङसीमाङलाई निरङकुश पञ्चायतका शासकहरुको कडा निगरानीबाट जोगाउन रातदिन कहिले भाग्दै हिड्नु परेको थियो भने, कहिले तिनै पञ्चे शासकको प्रहरीहरुसँग संघर्ष समेत गर्नु परेको थियो । किरात सम्प्रदायका लागि आफ्नो जीवनलाई मृत्यूसँग बन्धकी राखी मौलिक पहिचानको लडाईँमा आफूलाई समपर्ण गर्नु भएको छ । किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिको उत्थान र प्रचारप्रसारका लागि वहाँले भोक, तिर्खा, रोग र शोक नभनि अहिलेसम्म पनि लडिरहनु भएको छ । किरात धर्म दर्शनको प्रचार—प्रचार गर्ने शिलशिलामा २०३४/३५ सालताका मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ गीत लेख्ने, संगीत भर्ने र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन स्वयंम गीत गाउने गरेको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ सुनाउनु हुन्छ । वहाँहरुले त्यो समयमा किरात धार्मिक जागरणका गीत संगीत र विभिन्न नाटकहरु प्रस्तुत गरेर जनचेतना जगाउन सुरु गर्नु भएको थियो । अङसीमामाङ आफैं गीत गाउने र नाँच्ने गर्नुभएको माङगेन्ना समितिका अध्यक्ष केहेरसिं योङहाङको कथन छ ।

 

तत्कालीन अवस्थामा मातृभाषामा लेख्न, बोल्न प्रतिबन्द गरिएको थियो । त्यो परिस्थितिमा निडरताका साथ पञ्चायती शासकहरुलाई चुनौति दिएर मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नेतृत्वमा मातृभाषाको गीत संगीत सृजना गरेका थिए । किरात धर्म, भाषा, लिपि र संस्कार संस्कृतिहरुको उत्थान र प्रचार–प्रसार पनि यहीँ पञ्चायतकालीन समयमै वहाँहरुले सुरु गर्नु भएको थियो । मातृभाषामा बोल्न, लेख्न र गीत संगीतका नाचगान गर्न समेत पूर्ण प्रतिबन्द गरिएको पञ्चायतकालीन त्यो बेला पञ्चेहरुसँग कहिले लुक्दै, कहिले सुरक्षित हुँदै, त काही संघर्ष गर्दै थालनी गर्नु भएको किरात धर्म, भाषा, लिपि, संस्कार संस्कृतिहरु आज बृहत बन्दै गएको छ । त्यो समयमा केही आफ्ना चेलाहरुसँग मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले सुरु गर्नु भएको माङलाङ, केलाङ, नाटक र युमा लाङ, थेबा लाङ, हाक्पारे, पालाम, ख्याली, यारिछाम गाउने लगायतका विभिन्न मौलिक संस्कार संस्कृतिहरु विश्वको कुना कन्दराहरुमा पुगेको छ ।

 

तत्कालीन समयमा वहाँहरुले संरक्षण सम्बद्र्धन र प्रयोगमा सुरुवात गर्नु भएको किरात लिपि र भाषा पछिल्लो समयमा स्थानीय कामकाजको भाषा र लिपि समेत बनिसकेको छ । अङसीमाङ तथा अङसीमामाङकै पहलमा अहिले इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ मा किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयन भइरहेको छ । त्यसैगरी किरात लिपिमा किरात साम्जीक मुन्धुमहरु प्रकाशन गरिएको छ । किरात साम्जीक मुन्धुम निसामहिमहरु सञ्चालन भइरहेका छन् । यसरी अङसीमाङ तथा अङसीमामाङको पहलमा मौलिक अस्तित्व संरक्षणका कार्यहरु भइरहेको देखिन्छ ।

 

अर्गानिक खेती

 


मानव जातिको उत्पतिको समय र घटनाक्रमहरु खोज अनुसन्धान गर्दा निकै गहँन विषय वस्तुमा प्रवेश गर्न आवश्यक छ । त्यसैले यहाँ ति गहँन विषयमा प्रवेश नगरी महिङगुम अङसीमामाङ साँबा पबित्रहाङमा लिङ्देनले इलाम माङसेबुङ स्थितको निजी गुरु आश्रममा सुरु गर्नुभएको अर्गानिक खेती प्रणालीको प्रभावकारिता र केही दूरदर्शिताको विषयमा मात्र चर्चा गर्न खोजिएको छ ।

 

मानव समुदायले जीवनयापन गर्ने शिलसिलामा खेती कर्म गर्दै आएको विषय कुनै नौलो कुरा रहेन् । अझ् किरात समुदाय प्रकृति पूजक हुन् यसमा पनि दुईमत छैन् । प्रकृति पूजक किरात समुदायमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले खेती कर्म गर्दा अर्गानिक खेती प्रणालीलाई निरन्तरता दिइरहनु भएको छ । पछिल्लो समयमा उत्पादनमा वृद्धि गर्न र छिटो, सजिलो र सस्तो तरिकाले खेती गर्न प्राय सबैले रासायनिक खेती सुरु गरेका छन् । अर्गानिक खाद्य वस्तु शहर बजारमा मात्र नभई गाउँघरमा समेत पाउन कठीन बन्दै गएको छ । यस्तो अवस्था आउने सम्भावनालाई अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले पहिलेनै दूरदर्शिताले देख्नु भएरनै हुन सक्छ अर्गानिक खेतीको थालनी गर्नु भयो । यसलाई वहाँले निरन्तर रुपमा सञ्चालन गर्दै, सबैलाई अर्गानिक खेतीमा प्रेरित गरिरहनु भएको छ ।

 

यसरीनै प्रकृतिसँग मानव जीवनको सम्बन्ध कसरी रहेको छ भन्ने कुरा पनि वहाँको प्रकृतिप्रेमलाई नियाल्दा थाहा हुन्छ । बाढी पहिरो गएको थुप्रै ठाउँमा बोट विरुवा रोप्नु भएको छ । कुनै गाईबस्तुहरुको लागि घाँस, कुनै दाउराको लागि भनि रोपिएका ति बोटविरुवाहरुले प्रकृतिलाई सन्तुलन गर्न सघाउ गरेको छ । प्राकृतिक सुन्दरता थपिएको छ । वहाँले हिमालमा हुने सल्ला, धूपिदेखि मधेशमा हुने मसला, सुपारी, नरिवल लगायतका बोटविरुवाको जातहरु माङसेबुङमा रोप्नु भएको छ । त्यसैले करिब साढे ४ दशक अगावै अनकन्टार माङसेबुङमा अहिले केही प्राकृतिक सुन्दरता थपिएको छ । हुन त अहिलेको युगलाई विज्ञानको युगको रुपमा संज्ञा दिइन्छ । विकासको चरम सीमामा संसार दौडिरहेको छ । मानव सभ्यतानै यतिखेर भौतिक विलाशिताको दलदलमा फसिरहेको अवस्थामा मानव स्वास्थयमा अनेकौं संकटहरु देखापरिरहेका छन् । विषादी युक्त खानपानले मानव स्वास्थ्यलाईनै प्रतिकूल असर पारिरहेको अवस्थामा अर्गानिक जीवनशैली अपनाउन मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले सुझाइरहनु भएको छ ।

गाउँघरमा पनि कृषि कर्म छोडेर विकासको उपज भौतिक सुख, सुविधा र विलासिताको मोहमा दौडिरहेका वर्तमान समाजलाई अर्गानिक कृषि कर्ममा डो¥याउन, कर्मयोगको शिक्षा दिक्षा दिन, ज्ञान दिन, स्वास्थ्य जीवनयापन गर्न, गराउँन सबैलाई अङसीमामाङले सदा प्रेरणा दिइरहनु भएको छ । बिहान सबेरै देखि साँझ अबेरसम्म मेलोपात, खेतीपातीमै जीवनयापन गरिरहनु हुने वहाँले आम भक्तजनहरुसँग सामिप्यतामा रहेर भक्तजनहरुलाई कृषि कर्म र मौलिक धर्म संस्कृतिमा लाग्न प्रेरणा र मार्गदर्शन दिइरहनु भएको छ ।