जीतेन पन्धाक ‘मुस्कान’
प्रारम्भ
मुन्धुममार्गिहरुको धर्म किरात धर्म हो । किरातीहरुले आदिम युगदेखिनै प्रकृतिको पूजा अर्चना गर्दै आईरहेका छन् । यहाँका माटो, हावा, पानी, वन, आकाश, चन्द्र, सूर्य, पृथ्वी ग्रह र उपग्रहहरुलाई वडो सम्मान पूर्वक किरातीहरु पूजा गर्दछन् । साम्जीक मुन्धुमलाई गहँन अध्ययन गर्ने हो भने किरातीहरुले कही पनि वली भोग गरेको पाइन्दैन । यो पृथ्वीका सकल प्राणी र चराचर जगतलाई अगाथ स्नेह प्रदान गरेको देखिन्छ । हिजो राज्यले एक भाषा र एक लिपि चलाएको बुल्डोजर प्रवृतिले किरातीहरुको जनजीवनमा दह्रो प्रभाव परेको देखिन्छ । हिन्दु शासकहरुको दमन शोषणले धेरै गैह्रहिन्दुहरु पनि हिन्दु भएका छन् । कतिपय किरातीहरु पनि आफ्नो अस्तित्व र पहिचान गुमाएर हिन्दु भएका छन् । राजा पृथ्वीनारायण शाहले अवलम्बन गरेको रणनीति ‘फुटाउ र राज गर’ ले लिम्बुवान र खम्बुवानमा दह्रो असर गरेको देखिन्छ ।
किरातीहरुको एकतालाई ध्वस्त बनाउन अपुंगी राजाहरुको ठाउँ ठाउँमा निर्माण गरेका थिए । सो राजा घोषणा गरेपछि एकतामा अनेकता मौलाएको देखिन्छ । यहाँसम्मकी किरातीहरुको प्रकृति पुज्नु भन्दा बली भोग गराउन र मद्मदिरा सेवन गर्न उकासेका थिए । निरङ्कुश राज्य र सत्ताले आदिवासी जनजातिहरुलाई शिक्षा प्रदान गर्नु भन्दा विकृति तिर धकेलेको पाइन्छ ।
सारा किरातीहरु कुरीति र कुसंस्कारको पोखरीमा डुबिरहेको बेला महागुरु फाल्गुनन्द लिङ्देनले सत्कर्म र सत्मार्गको बाटोमा ल्याउन पनि सत्यहाङ धर्म सत्य धर्म मुचुल्का मार्फत प्रतिपादन गरेको हुन सक्छ । महागुरु फाल्गुनन्द लिङदेनले किरातीहरुको भाषा, लिपि, संस्कार, संस्कृति र मुन्धुम दर्शनलाई पुनः जीवन्त बनाए ।
उनले सत्य, शान्ति, र अहिंसाको वकालत गरे । प्रत्येक किरातीहरुलाई सत्य, शान्ति र अहिंसाको बाटोमा हिड्न आब्हान गरे । महागुरु फाल्गुनन्द लिङ्देनले सुरुवात गरेको बाटाहरुलाई अझ फराकिलो बनाउँदै वर्तमान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ उदाए । उनले सत्यहाङ धर्मलाई २०३६ सालमा पान्थरमा दर्ता गरी सारा किरातीहरुको धर्म बनाए । जसलाई किरात धर्म भनेर नामाकरण गरे । सारा फुटहरुमा एकजुट ल्याउन वर्तमान किरात धर्मगुरुले किरात धर्म दर्ता गराएको देखिन्छ । किरात धर्मले विश्व शान्ति र मानव एकताको पक्षपोषण गरी रहेको देखिन्छ । हुन त धर्मले सधै मानवता र प्रेमको कुरा गर्छ भन्छन् जानकारहरु । यो किरात धर्ममा सत्य, तथ्य उत्कृष्ट संस्कार र प्रभावशाली धर्मग्रन्थ हुँदाहुँदै कतिले किरात धर्म हिन्दु धर्मको शाखा भनेको सुन्छु । कतिले इसाई धर्मसँग जोडेर अझ प्रदुषित बनाएको देख्छु । यो लेख लेख्नको उद्देश्य किरात धर्म पृथक र प्राचिन धर्म हो भन्ने प्रमाण प्रेश गर्नु हो ।
मुन्धुमी दर्शन र अरु धर्म
मुन्धुमले तागेरा निङवाभूमाङ भन्ने ईश्वरीय पात्रलाई बढी प्राथमिकता दिन्छ । त्यसपछि थेबासाम, युमासाम र हिमसाम्माङको कुरा आउँछ । यी मुन्धुमी पात्रहरुलाई हिन्दु, इशाई, इस्लाम र बौद्ध धर्ममा पनि उल्लेख गरेको पाइन्दैन । हिन्दुहरुको धार्मिक ग्रन्थ रामायण, महाभारत, भागवत गीता र गायत्री मन्त्रहरुमा कही पनि मुन्धुमी पात्रहरु उल्लेख भएको भेटिन्दैन । रामायण, भागवत र गायत्री मन्त्रहरुको उच्चारण गर्दा जुन लय आउछ । त्यो मुन्धुमी लय भित्र आउने हाक्पारे, ख्याली, पालाम र मेरीङ थक्मा कुनै हिन्दुको छन्दसँग पनि मिल्दैन । इशाइ धर्ममा पनि मन्त्रहरु छन जसको उच्चारण अंग्रेजी सोनेट र सिम्फोनीसँग गुन्जयमान हुन्छ ।
हाम्रा विद्वान साथीहरु किरात धर्म त हिन्दुको उपशाखा हुन् । यसको धार्मिक क्रियाकलाप क्रिश्यिन धर्म जस्तो देखिन्छ भन्छन् । भन्न पाए भन्दैमा जे पनि भन्छन् हाम्रा विद्वान मित्रहरु तर मेरो मित्रहरुलाई प्रश्न यो छ की यदि किरात धर्म हिन्दु र इशाइ जस्तो भए हाम्रो तागेरा निङवाभूमाङ थेवा साम्माङ, युमा साम्माङ र हिम साम्माङको नाम किन आउँदैन । मान्छेहरुको नाक, कान, मुख र हात बरावर छ भन्दैमा सबै गोरा हुन वा सबै यी मान्छेहरु हप्सी हुन भन्न पाइन्छ ? मान्छे एउटै समुदाय भित्र पर्नलाई उसको सांस्कृतिक, धार्मिक, राजनीतिक र वंशाणुगत गुण पनि मिल्नु पर्छ ।
मुन्धुमी महापुरुषहरु
मुन्धुमलाई तेअङसीहरुले विभिन्न खण्डहरुमा जोगाएर राखेका छन् । खस नेपाली भाषामा अनुवाद गर्ने हो भने, तेअङसीको अर्थ अवतारी महापुरुषनै हुन्छ । मुन्धुमका अवतारी पुरुषहरुमध्ये सोधुङगेन लेप्मुहाङ, येहाङ, कान्देनहाङ, माबोहाङ, तेअङसी शिरिजङगा, महागुरु फाल्गुनन्द लिङदेन र लिङदेन आत्मानन्द सेइङ । यी महापुरुषहरुले किरात समाजलाई उठाउन विभिन्न लोक कल्याण हुने दिव्य वाणीहरु उद्घोष गरेका छन् । सामाजिक प्रगति, उन्नति र समृद्धीका लागि आफ्नो ऐतिहासिक कार्य सँगसँगै भविष्यवाणीहरु पनि छोडेका छन् । महागुरु फाल्गुनन्द लिङ्देनको सत्य धर्म मुचुल्का नै अन्यन्तै उच्च कोटीको छ । जसले सामाजिक स्वतन्त्रता र समानताको हमेसा वकालत गर्छ ।
मुन्धुमी महापुरुषहरु अरु भन्दा अत्यन्तै पृथक छन् । जसलाई अरु कुनै धर्ममा राखिएको पनि छैन् र राख्न पनि मिल्दैन । हिन्दु धर्मले राम, कृष्ण, विष्णु र शिवजीलाई मान्छन् । वाइवलले परम पिता परमेश्वर माता मारियाम र जिससक्राइस्टलाई मान्छ । यी सबै महान पुरुषहरुले सत्य, शान्ति, अहिंसा र एकताको कुरा ग¥यो भन्दैमा सबै एकै हुन भन्न मिल्दैन । आ–आफ्नै महत्व र अस्तित्व छ । त्यसैले किरात धर्म अरु धर्म भन्दा फरक छ ।
सांस्कृतिक पक्ष
हेर्दा मानिसहरु उस्तै देखिए पनि सांस्कृतिक र वंशाणुगत रुपले विल्कुल फरक हुन्छन् । मुन्धुम मार्गीहरु हाक्पारे, ख्याली पालाम र मेरिङ साम्लो गाउँछौं । हाम्रो मौलिक पहिचान र संस्कृति नै वडो गजबको छ । किरातीहरुले प्रयोग गर्ने च्याब्रुङ, विनायो र मुर्चुङगाले पनि अझ प्रस्ट बनाउँछ । हाम्रो किरातीहरुको संस्कृति परिधान र गरगहँनाहरुले पनि विश्वमा पृथक देखाउँछ । मुन्धुममार्गिहरुको कर्म संस्कार जन्म देखि मान्छेको अन्त्यसम्म गर्ने विधि फरक छ ।
धार्मिक चिन्ह र माङवाजाहरुको विवाद
हिन्दुहरुले ओम् उच्चारण गर्छन् । बुद्ध मार्गिहरुले ओम माने पेमे हो उच्चारण गर्छन । इशाईको अमिन वा हलेलुया । तर किरात धर्मावलम्बीहरुले ओत् प्रयोग गर्छाैं । ओत् तागेरा निङवा भूमाङे सेवारो भन्छौं । हाम्रो झण्डामा पनि ओत् र सुम्निसा प्रयोग गर्छाैं । होला कतै शंख, झ्याम्टा र चरु पोल्ने चीजहरु हिन्दु जस्तो देखिए होलान् । एउटा समाजमा कुनै आयतित कुराहरुले प्रभाव परेकै हुन्छ । हाम्रो विवाद भौतिक वस्तुमा केन्द्रीत भएको भेटाउँछु । शंख, झ्म्याम्टा र थालहरु त प्रयोगमा आएका सर समानहरु हुन् यसलाई संशोधन गर्न सकिन्छ । यदि मुन्धुम भन्दा विपरित छ भने हटाउनु पर्छ । यस विषयमा गहँन छलफल गरिन्नु पर्छ । किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङबाट परिमार्जित हुने नै छ ।
आख्यानमै पनि फरक छ
मुन्धुममा प्रकृति, विश्व, शान्ति, सभ्य संस्कृति, सुन्दर पृथ्वी र मानव एकताको कुरा आउँछ । मुन्धुममा उल्लेख भए अनुसार सृष्टिकै पहिलो महिला मुजिःना खेयङनाको छोरा छ । त्यो छोरा सावा युक्पुङगेम्वाले एउटा चरा मारेर ल्याउँछ । आमा यो खानु हुन्छ की हुँदैन भनेर सोध्छ । मुजिःना खेयङना आमाले यो खाने चीज होइनन् । मुन्धुमले भने अनुसार पृथ्वीका हरेक वस्तु चक्रिय सिद्धान्तमा चल्छ । अहिले तैले मारिस पछि यसले पनि तपाईलाई मार्छ भन्ने सल्लाह सुझाव दिएकी छिन् । किरातीहरु चराचुरुङगीप्रति त्यति माया प्रकट गछौं भने मान्छे मार्ने त सोच्नै सक्दैनौं । मुन्धुममा कतै बलि भोग गर्नु पर्छ भन्ने कुरै आउँदैन । युद्ध, हत्या, हिंसाको पनि कुरा आउँदैन । अरु धर्म ग्रन्थमा विशेष हत्या हिंसाका श्रृंखला भेटाउँछु जस्तै महाभारत, रामायण, गीता र बाइवलमा पनि । मैले भेटाएको आख्यान मै फरक छ ।
अन्त्यमा
हिन्दु मित्रहरुले किरात धर्म हिन्दु धर्मको उपशाखा हो । इशाइ धर्मका मित्रहरुले किरात धर्म इशाई धर्मको एउटा हांगा हो भन्छन् । यदि यी माथि उल्लेख भएको मुन्धुमी कुराहरु अरु धर्मबाट सापट लिएको भए किरात धर्म हिन्दु वा क्रिष्टियन भन्न मिल्ने थियो । तर, केही पनि नमिल्ने भएको हुनाले विश्वको कुनै धर्म अनुयायीहरुले अरुको धर्म माथि अतिक्रमण र दमन गर्न पाइन्न ।
धर्मले सदासर्वदा सकरात्मक उर्जाको खेती गर्ने हो । अरुको उन्नति, प्रगति र समृद्धिकोबारेमा सोच्ने हो । तर अरुको अस्तित्व र पहिचान माथि हस्तक्षेप गर्ने होइन की जस्तो लाग्छ । यो लेखमा मैले अरु दर्शन, वाद र धर्म भन्दा मुन्धुम दर्शन र किरात धर्म फरक छ भन्ने कुरा संक्षिप्त रुपमा प्रस्तुत गर्न खोजेको मात्र हुँ ।