छत्रसँग कोदोको भकारीमा सुतेका थियौं


डि.बी. लिङदम ‘सेसेमी’

 

वि.स.२०५९ साल पुस ८ गतेको २—३ बजेको हुनुपर्छ । माङसेबुङदेखि फूएँतप्पा आफ्नो घर फिर्ने क्रममा रबि पाँचथरको हिक्कुनाम्बाबाट २०५९ कातिक १५ गते माओवादीहरुले अपरहण गरी बेपता पारिएका कृतिमान एवाईको फःजेका लागि हाङसाम मुजोत्लुङ माङहिमको माथि धारा भन्दा अलि माथि कृतिमानका परिवार अगम वान्तावाहरु बस्ने गर्नु हुनथ्यो । पुर्णिमा पछिको खुर्पे जून जस्तै बारीको गारोमा कोदोको नल चिल्लाउदै थियौं म लगायत ५÷६ जना साथीहरु थिए । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ दुईआँखे बाँसको कप्टेरोमा सेलबेट्री जोडेर बनाएको ब्याकप बोकेर हेल्लो, हेल्लो भन्दै क्वरलेसमा नेटवर्क खोज्दै यताउती गर्दै थिए । वहाँ फोनमा बोल्दा डाँडै थर्काउने ठूलो स्वरमा बोल्थे । कहाँबाट कस्ले गरेको भन्ने त थाहा भएन, ला जाँठा हाःरे मेदेसु र छ ! भन्ने आवाज मास्तिरबाट प्रस्ट सुने ।

 

मेरो मनमा बैचयनको बाढी उर्लियो । फेरी छत्रलाई त मारेन ? साथीहरुलाई प्रश्न गरें । त्यो बेला माओवादीहरुले हाम्रो मान्छेहरुलाई धरपकड गर्दै हत्या गर्ने क्रम जारी थियो । यस्तै समयमा छत्र सावदेनलाई २०५९ पुस ६ गतेका दिन माङसेबुङ देखि इलामको सुलुबुङ ८, टारी आफ्नो घर जाने क्रममा जितपुरको लिङ्दिन देखि बेपता बनाएकोले फेरी अर्को दुर्दशा त आएन भन्ने लाग्यो । अध्यक्षको यस्तो शंकास्पद कुरा सुनेर मन थाम्नै सकिन । कुदेर पिपलको बोटमा झरें वहाँबाट कुरा बुझ्दा महमाईको प्रेम नेम्बाङले बिर्तामोड गएर सम्पर्क गरेका रहेछन् । दानाबारीको सहबीरे भन्ने जंगलमा माओवादीहरुले एक जना मान्छे मारेर छाडेकाछन् भन्ने हल्ला सुनेपछि कतै छत्रनै हो की भनि जानकारी गरेका रहेछन् । त्यो बेला माओवादीको सुराकीको कारण महमाईका धर्मावलम्बीलाई माङसेबुङ आउनु भन्दा बिर्तामोड जान सहज थियो ।

 

यो खबरले म भावक भए । मलाई कुनै संकोच थिएन उनी छत्रनै हो भन्ने कुरामा । अध्यक्षज्यूबाट नालीफूङवा, कम्ब्राङका प्रमुखहरुलाई त्यहीँ भेला गराई तत्काल घट्नास्थल जाने निर्देशन भयो । आ—आफ्ना हातहतियार तयार गरेर हामी डेढ् सयको हाराहारीमा दुई टोली बनाएर पलाँसे महमाई हुँदै एक टोली, अर्को टोली फुलुङ्गी हुँदै सहबीरे जान तयारी भयौं । म चाहीँ फुलुङगी हुँदै जाने टोलीमा लागें । पुस महिनाको दिन माइ र देउमाईको दोभानमा पुग्दा झमक्कै साँझ भइसकेको थियो । एउटै समितिको पनि संगठन विभाग प्रमुख म र उनी सदस्य भएकोले उनीसँगको सहकार्य दिनले छोटो भए पनि आत्मियता घर परिवारको भन्दा नि प्रगाढ थियो । भाव आवेशले मनमा बद्लाको भावना बढ्न थाल्यो । माओवादी जहाँ भेटिन्छ त्यहीँ काटिन्छ भन्ने मात्र लाग्न थाल्यो । माईखोला तर्ने सुरमा थियौं हाम्रो टिम । यतिनै बेला महमाईका हर्कवीर योङहाङ मार्फत खोला नतर्न आदेश आर्मीबाट आएको जानकारी भयो ।

 

इलामबाट सोयाक गुनमुने हुँदै र चारआलीबाट दानाबारी लोदिया हुँदै आर्मीहरु घट्नास्थल प्रवेश गरेको खबर पायौं, हाम्रो लागि महमाई १ का भगिश्वोर योङहाङको घरमा गाउँका भक्तजनहरु भेला भएर रातीको खाना बनाई दिनुभयो । हामी ग्रुप ग्रुप भएर खाना खाँदै फिरेर बगरमा कठांँग्रिन्दै रात भर बस्यौं । बिहानको झिस्मिसेमा घट्नास्थल पुग्दा लास आर्मीहरुले उठाएर लगिसकेको अवस्था थियो । घट्नास्थलमा रगतले पोतिएको कालो माटो, लास उठाउँदा प्रयोग गरेका ग्लोव, मंगोल नेश्नल अर्गनाइजेशनको पर्चा र अलि मास्तिर सकुवाको बोटमा नालीफूङवाको परिचय पत्र बाहेक केही थिएनन् । यति भएपछि छत्रनै हो भन्ने निश्चित भयो । त्यहीँ दिन लाश सनाखत गर्न सेनाले इलाम बोलाए । नालीफूङवाका कल्पना लिङ्देन इलामनै रहनु भएकोले वहाँ लगायतका साथीहरुले लास सनाखत गरी उनका परिवारलाई बुझाउने कार्य भयो । घर परिवारबाट पुस १० गते माईखोलामा उनको दाह संस्कार गरिएको थियो ।

 

वि.स. २०५८ असोज १८ गते इलाम जितपुरमा सम्पन्न किरात साम्यो नालीफूङवा यक्पाङगेन पान्जुम्भोको जिल्ला समिति इलामको प्रथम सम्मेलनको अवसरमा उनले विधिवत रुपमा किरात धर्ममा साङदाङगेन वरुमधामा (शब्दी ग्रहण) गरेका थिए । उनी किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो जिल्ला समिति इलामका संस्थापक सदस्य हुन् । संगठन निर्माण कार्यमा इलाम जिल्लाका माई पूर्व उत्तरी क्षेत्र माबु, सुलबुङ, सुम्बेक, माइपोखरी, बरबोटे, सोयाङ, जमुना र प्याङका गाउँ घर धेरै पटक चाहारेका थियौं । त्यो बेला ति ठाउँहरुमा माओवादीले उनीहरुका गतिविधि तिव्र रुपमा अघि बढाएका थिए । नालीफूङवाको संगठन विस्तारसँगै माओवादी र माङसेबुङ बीचको सम्बन्धमा अन्तरद्वन्द्ध उत्पन्न भइसकेकोेले माओवादी देखि जोगिएर संगठन निर्माण गर्नु पर्ने अवस्था थियो ।

 

किरात धर्मावलम्बीहरुको सम्पर्कबाट हामी विभिन्न क्षेत्रमा प्रवेश गर्ने गर्दथ्यौं । तीन महिनाको अवधिमा इलाम जिल्लाको धर्मावलम्बीहरुको बसोबास भएका गा.वि.स.हरुमा संगठनको कार्य सम्पन्न भइसकेको थियो । बाँकी क्षेत्रमा पनि संगठन निर्माणका लागि धर्मावलम्बी साथीहरुसँग भेटघाट गर्ने कार्य तिव्र रुपमा बढाएका थियौं । त्यस बेला गाउँमा दुई थरीका मान्छे भेटिन्थे कि हुन्थे, नालीफूङवा कि हुन्थे जनसेना माओवादीका कार्यकर्ता ।

 


संगठन प्रमुख भएको कारण मेरो खाने र बस्ने ठाउँ भनेको इलामका विभिन्न गाउँहरुमानै हुने गर्दथ्यो । १ वर्ष धेरैमा ३ पटक घर पुग्ने गरिन्थ्यो । मेरो घर जानलाई भने माओवादीका कारण कुनै अवरोध भने थिएन । भेटघाटकै सिलशिलामा छत्र सावदेनसँग माईपोखरी १, मलाते पुग्यौं । बेलुकाको खाना नरबहादुर सोङमीको घरमा खाएर बस्नका लागि अँध्यारैमा लोकेन्द्र सोङमीको घरमा गएर त्यहीँ कार्यकर्ताहरुसँग भेटघाट गरियो । भेटघाट गर्दा सुरक्षित क्षेत्रको पहिचान गरी सकेसम्म बेलुकानै भेट्ने मिटिङ बस्ने गरिन्थ्यो ।

 

विहान उठ्दा उज्यालो छाइसकेको थियो । खाना खाएर माबुसम्मको यात्रा तय गर्ने कार्यक्रम भएकोले नरबहादुर सोङमी लगायतका मुख्य कार्यकर्ताहरुसँग थप आन्तरिक सर सल्लाह गर्ने कार्यक्रममा थियौं । यतिकैमा स्थानीय एक जना साथीबाट थाहा पायौ,ं माओवादीका एक टोली पल्लो गाउँबाट माबुजाने भन्दै यतै आउँदै छन् भन्ने थाहा पाएपछि बैठकलाई सकाएर बिहानको ९ बज्न अगावै लोकेन्द्र सोङमीको घरमा हाम्रो लागि खाना तयारी भइसकेको थियो । खाना खाएर माबु जाने हाम्रो योजना परिवर्तन गरें । दिनमा बरबोटे बेलुकाको बसाँई सुलबुङको योजना बनाए । दुई भाई झरियो बरबोटे, बरबोटेमा हाम्रो संगठन भरपर्दो नभएकाले त्यस्तो ठाउँमा हामी भेला हुने भन्दा नि घर घरमा गएर भेट्ने कार्यक्रम हुन्थ्यो । बरबोटेका राजकुमार नुगो, डब्लू लिम्बू लगायतका साथीहरुलाई भेट्दै साँझमा सुल्बुङका भबेन्द्र सावदेनको घरमा पुग्यौं । त्यहाँ पुग्दा भर्खरै मात्र माओवादीका एक समूह पारी तरेका छन् भन्ने जानकारी पाएपछि भबेन्द्रको घर पनि बस्न उपयुक्त नहुने भएकोले अन्तै बाँस बस्ने योजना बनाए । दाई भेट गर्दै गरौंला, आजलाई हामी अन्तै जान्छौं भने । दाईका छोरीहरु मात्र ५÷६ बैनी कति थिए । छोरीहरुलाई सेन्टी उभ्याएर भए पनि खाना खुवाएरनै पठाउनु भयो । खाना खाएर निस्किन्दा झपक्कै साँझ परिसकेको थियो । हिड्ने बेलामा दाईलाइ मात्र छत्रकोमा जाने हैं भनेर निस्के ।

 

छत्रकोमा आइपुग्न आधा घण्टा भन्दा ज्यादा लाग्यो होला आजको रात छत्रकोमानै बस्दा सुरक्षित हुन्छ भन्ने लाग्यो । किन भने, छत्र किरात धर्ममा लागेपछि घरका बुबा आमाले किरात धर्म स्विकार्न नसकेपछि बेग्लै घर बनाएर बसेका थिए । घर पनि बनिसकेको थिएन । संगठनमा क्रियाशिल भएपछि उनी घरै जान छाडेका थिए । राती उनै बुबाको घरको माथि कोदोको भकारीमा पसेर कम्बल ओढेर सुतेको, रातभरी कुकुर भुकेर सुत्नै सकिएन । पालैपालो बार्दलीको सानो आँखी झ्यालबाट बाहिर चिहाउँदै कोदोको भकारीमा पस्दै र निस्कदै गर्दै रात कटायौं । बिहानको मिर्मिरे भुँइमा नखस्दै भकारीबाट निस्केर झोली, तुम्बी कसेर हिड्ने तयारीमा थियौं हामीलाई देखेर छत्रको आमाले सोध्नु भयो, काईला अब कहाँ जाने, घर कहिले आउछस् ? आमाको स्वर मलिन र भावुक थियो सायद त्यो घरमा यतिका दिनसम्म कोदो राख्ने भकारीमा सुत्ने कोई आएका थिएन होला आफ्नै छोरा बाहेक ।

 

बिहान ८ बजेको छेउछाउ हुनुपर्छ प्याङका पूर्व प्रधानपञ्च महेन्द्र थेबेकोमा पुग्यौं । माबु, जमुना, प्याङ, सोयाङका क्षेत्रमा माआवादीको जनसेनाहरुको गतिविधि बढिरहेको जानकारी गर्नु भयो । वहाँसँगै ललित थेबेको घरमा उकाली लाग्यौं । ललित थेबे दाईको घरमा पुग्दा माथिल्लो गाउँमा एक टिम आएर बास बसेछन् । अहिले बिहानै नयाँबजार तिर लागेको छन् भन्ने खबर सुने भन्नु भयो । गाउँमा बढेको माओवादीको क्रियाकलापसँगै हाम्रा धर्मावलम्बीहरुमा बाधा अवरोध आउछ कि भन्ने चिन्ता व्यक्त गर्नु भयो । वहाँहरुको राजनीतिक मुद्दा भएकोले हामीले वहाँहरुको यात्रामा अवरोध नगरौं । इच्छा हुनेले सहयोग गर्नु नि पाउँछन् । नहुने चुप लागेर बसौं ।

 

माङसेबुङसँगको अन्तरद्वन्द्धको बारेमा छिटै दुवै पक्ष बसेर निकास दिन्छ भने आश्वासन बाडें । ४०—४५ मिनेटको छलफलपछि आउनै लागेको गुरुज्यूको मागेन्ना कार्यक्रममा भेटने भन्दै भेटघाट कार्यक्रमलाई प्याङबाट स्थगन गरी माङसेबुङ फिर्ने योजना बनायौं । बरबोटे हँुदै बिप्ल्याटे निस्केर गाडी चढेर झापा हँुदै माङसेबुङ गयौं । उनीसँगको मेरो अन्तिम यात्रा यहीँनै बन्यो ।

 

संगठनलाई सफल बनाउनका लागि गाउँमा धर्मावलम्बी र कार्यकर्ताहरुको बग्रेल्ती उत्पादन गराउनु पर्छ भनेर घरीघरी मलाई सल्लाह दिइरहन्थे । उनको साहस अदम्य थियो । यो बेला डराएर हामी बस्यौं भने, हाम्रा धर्मावलम्बीहरु माथि माओवादीहरुको हालीमुहाली हुन्छ । किरात धर्मको विकासमा अवरोध बन्न सक्छ भन्ने धारणा उनमा थियो । संगठनले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक सम्पन्न गर्ने भएकाले हाम्रो लागि उनी आँट, साहस हिम्मतका धरोहरनै थिए ।

 

दशकौं वर्ष वितिसक्दा पनि तिमीले भने जस्तै संगठनलाई सफल बनाउन त के झन् झन् विफल बन्दै गइरहेको अवस्था छ । तिम्रो लागि नालीफूङवाले प्रतिष्ठान, पुस्तकालय लगायतका अवधारणा नल्याएको होईनन् तर, समय गतिसँगै माईखोलाको किनारमा तिम्रो पार्थिव शरीर जसरी खरानी बनेर बग्यो, धूँवा बनेर आकाशमा विलायो उसैगरी बगेर विलायो । समयको अन्तरालसँगै संस्थाका जिम्मेवार मान्छेहरुको मनबाट खरानी, धूँवा बनेर विलाउँदै गयौं । त्यो तिम्रो बलिदानको महत्व कि तिमीलाई थाहा होला कि त तिमीलाई जन्म दिने आमालाई मात्र याद होला । छत्र, तिम्रो श्रद्वेयास्पद यात्राको स्मृतिमा शीर झुकाई ढोग चढाउछु ।

 

नोटः आज पुस ६ गते स्वः छत्र सावदेनको स्मृति दिवसको अवसरमा माङसेबुङ मासिकबाट यस लेखलाई साभार गरिएको छ ।