माङसेबुङ/किरात लिपिका पुनः उत्थापक तथा प्रचारकको रुपमा किरात समुदाय माझ् त्येअङ्सी सिरिजङगा सिंहथेबे पुज्य हुनुहुन्छ । उनले किरात लिपि र भाषालाई संरक्षण गर्न बलिदान दिनु परेको थियो । भाषा लिपिको लागि सहादत प्राप्त वीर सहिद हुनु भयो ।
। उनले मौलिक अस्तित्व रक्षार्थ किरात लिपि, भाषा र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा दिएका योगदानहरु महत्वपूर्ण रहेको छ । त्यसैगरी समाज सुधारमा उनले समपर्ण गरेका त्याग र देनहरु आजको पुस्ताहरुले कदापि विर्सन हुँदैन् ।
किरात समुदायले प्रयोग गर्दै आएको लिपि, किरात लिपिको चर्चा गर्दा लिपिको आविष्कार गर्ने सिरिजंगाहाङको नाम अनिवार्य उल्लेख गर्नुपर्ने हुन्छ । त्यसपछि पुनः उत्थान तथा संरक्षणकर्ता त्येअङसी सिरिजङगा सिंथेबेको योगदानलाई पनि उल्लेख गर्नुपर्ने हुन्छ । त्यसैगरी किरात लिपि संरक्षण र प्रचार–प्रसार गर्नेहरुमा महागुरु फाल्गुनन्द, लालसोर सेन्दाङ, इमानसिंह चेम्जोङ, रनधोज नेम्बाङ लगायतको नाम अग्रपंक्तिमा लिनु पर्ने हुन्छ । उनीहरु किरात इतिहासमा मात्र नभई सिंगो देशको इतिहासमा अमर व्यक्तित्वहरु हुन् ।
यसरी लोपोन्मुख अवस्थामा पुगेका मौलिक पहिचानहरु भाषा, लिपि, संस्कार संस्कृति र इतिहासको संरक्षण र प्रचार–प्रसारमा योगदान दिने युगपुरुषहरु असंख्य रहेका छन् । उनीहरुको ऐतिहासिक त्याग र देनहरुलाई आगामी दिनमा खोज अनुसन्धान गरी प्रकाशन, प्रसारण गर्न आवश्यक छ । तर, आज विशेष गरी किरात लिपिका पुनः उत्थापक तथा प्रचारक त्येअङ्सी सिरिजङगा सिंहथेबेको ३१६ औं जन्मजयन्ती परेकोले त्येअङ्सी सिरिजङगाको संक्षिप्त जीवनी र वहाँको देनहरुको बारेमा संक्षिप्त चर्चा गरिएको छ ।
को हुन् त्येअङसी शिरिजंगा ?
त्येअङसी सिरिजङगा ३१६ वर्ष पहिले ताप्लेजुङको सिरिजङ्गा गाउ“पालिका–४, तेल्लोकमा बुवा पारुहाङ र आमा पुधाङमाको कोखबाट वि.स. १७६१ साल (सन् १७०४) मंसिर २९ गते जन्मन्नु भएको थियो । नवौं शताब्दीमा सिरिजंगा हाङ नामका राजाले आविष्कार गरेको किरात लिपिलाई त्येअङसी सिरिजङगा सिंथेबेले १८ औं शताब्दीमा पुनः उत्थान गरी व्यापक प्रचार–प्रसार गरेका हुन् ।
दुई जना शिरिजंगाको विषयमा प्रष्ट पार्नु हुँदै किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले भन्नु भयो, ‘पहिलो शिरिजंगा हाङले किरात लिपि प्राप्त गर्नुभएको र दोस्रो शिरिजंगाले किरात लिपिको संरक्षण र प्रचार गर्ने क्रममा सहिद हुनु भएको थियो ।’ किरात लिपिको पुनः उत्थानमा अतुलनीय योगदान गरेकाले उनको सम्मान स्वरुप कसैले त्यस लिपिलाईनै ‘किरात सिरिजंगा लिपि’ पनि भन्ने गरेका छन् ।
किरात लिपिको संरक्षणमा महत्वपूर्ण योगदान दिनुभएका त्येअङसी सिरिजंगाको ३१४ औं जन्मजयन्तीको अवसरमा गत वर्ष उनको जन्मस्थल तेल्लोकमा त्येअङ्सी सिरिजङ्गा मिङसो माङहिम उद्घाटन गरिएको थियो । सो माङहिम किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ सा“बा पवित्रहाङमा लिङ्देनको हस्तबाहुलीबाट उद्घाटन गरिएको थियो ।
त्येअङसी शिरिजंगाको जीवनीमा भूमिका लेख्ने क्रममा पूर्व कूलपति प्राज्ञ बैरागी काईलाले योक्तुम्बा लिम्बूहरुलाई किरात लिपि पढाउदै आएकामा रणबहादुर शाहका पालामा राज्यबाट कठोर सजायको भागिदार भइन्छ भनेर किरात लिपि र किरात धर्म प्रचारका लागि त्येअङसी शिरिजंगा सिक्किम देश पसेको भनि लेखेका छन् । प्राज्ञ काईलाका अनुसार त्येअङसी शिरिजंगाको जन्म किरात समुदायका लागि युगान्तकारी घटना सिद्ध भएको छ । युगौंयुग हराएको किरात लिपिलाई संरक्षण गरेर प्रचलनमा ल्याउने महान् उनी युगपुरुष थिए ।
किरात लिपि र धर्म प्रचारको लागि शिरिजंगा वि.स. १७९६ सालको माघ महिनाको पहिलो हप्ता आफ्ना चेलाहरुसँग उनी सिक्किम प्रवेश गरेको भनि शिरिजंगाको जीवनी लेखक हरी हुक्पा चङबाङले लेखेका छन् । विहानीपख घाम झुल्केर किरण बढ्दै गएको समयमा जन्मेकोले त्येअङसी शिरिजंगाको न्वरानको नाम नाम्साङ राखिएको थियो भनि जीवनीमा लेखेको छन् । केही पुस्तकहरुमा उनको बाल्यकालको नाम इश्वर भक्त भनि लेखिएको भएपनि त्यो नाम निराधार रहेको जीवनी लेखक चङबाङको मत छ । किन की तत्कालीन समयताका लिम्बुवानको उत्तरी क्षेत्रमा खस नेपाली भाषाको नाम निसानानै नरहेको लेखक चङबाङले उल्लेख गरेका छन् ।
किरात संस्कृतिका अध्येता अर्जुनबाबु माबुहाङका अनुसार शिरिजंगाले चलाएको लिपिलाईनै सिरिजंगा लिपि भनिन्छ । जुन किरातहरुको आफ्नो लिपि हो । कक्षा १० को पाठ्यक्रममा सिरिजंगालाई जातीय अस्तित्वका रक्षक, अध्यात्मवादी समाज सुधारक, महान उपदेशक, ज्ञानका पुञ्ज, किराती लिपिका पुनरुत्थापक र प्रचारक, भाषा, धर्म र संस्कृतिका उत्थानकर्ता भनेर भनिएको छ ।
लिम्बू भाषामा प्रचलित उक्त लिपिमा अन्य किराती भाषा लिपिबद्ध गर्ने गरिएको छ । त्येअङ्सी सिरिजंगा भाषा, लिपि र मुन्धुमको प्रचारप्रसारका क्रममा सिक्किम पुगेका थिए । उनको कार्यलाई अनुदार बौद्ध धर्मावलम्बीले मन पराएका थिएनन् । त्यहाँस्थित साङ्गछोलिङ गुम्बाका थासाङ लामा समूहको निर्देशनमा वि.स. १७९८ साल असोज १३ गते उनको हत्या गरिएको थियो । उनै तेअङ्सी सिरिजंगालाई मातृभाषा, लिपि, धर्मका पहिलो सहिद मानिन्छ ।
पश्चिम सिक्किमको मार्ताम गाउँको चिप्लेटी ढुंगामा आफ्ना चेलाहरूलाई लिम्बू भाषा लिपि पढाइरहेका बखत टासोङ भिक्षुहरूले सिरिजङ्गालाई पक्डिएर चराको बिस्टा खुवाई रुखमा बाँधेर धुनकाँणले हानी हत्या गरी रेसी खोलामा बगाइदिएका थिए भनेर लेखिएको छ । उनको सम्मानमा नेपाल सरकारले २०४९ सालमा एक रुपैयाँ मूल्यको हुलाक टिकट प्रकाशन गरेको हो ।