आङबुहाङ अबोध अविरल
थालनी
किरात धर्म नेपालको एक मौलिक र रैथाने धर्म हो । यो भूमिका उपजको रुपमा रहेको किरात धर्म नेपालको एक मुख्य धर्मको रुपमा रहेको छ । नेपालका आदिमवासी किरातीहरुको धार्मिक पहिचानको रुपमा किरात धर्म स्थापित भएको छ । यसले नेपाललाई धर्म निरपेक्ष राज्यको रुपमा स्थापित गर्न सहयोग पुगेको छ ।
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ बाह्रौं राष्ट्रिय जनगणना २०७८ (बैसाक—असार) मा गरिंदै छ । जनगणनामा गणकहरुबाट घरमै पुगेर परिवारका सबै व्यक्तिहरुको जनसांख्यिक, धार्मिक, सामाजिक तथा आर्थिक विवरणहरु संकलन गरिन्छ । राष्ट्रिय जनगणनामा किरात धर्म किन लेख्ने भन्ने विषयमा यस लेखमा छलफल गर्ने प्रयास गरिएको छ।
किरात समुदायको धार्मिक पहिचान स्थापित गर्न
वर्मादेखि अफगानिस्थानसम्म हिमाल आसपास बासोबास गर्ने आदिमवासी हुन्, किरातीहरु । किरात एक ठूलो मानव साखा हो । किरात सम्यता नेपालको एक प्राचीन सम्यता हो । राई, लिम्बू, मगर, गुरुङ, थारु, धिमाल, मेचे, याख्खा, सुनुवार, थामी, जिरेल, हायु आदि आदिवासी जातिहरुको पहिलो स्थापित पहिचान किरात हो । धर्मग्रन्थ, इतिहास, मानवशास्त्रीय खोज, अनुसन्धानका किरातबारे थुप्रै तथ्याहरु उल्लेख गरेको पाइन्छ ।
किरातीहरुको बेगल र विशिष्ठ धार्मिक, भाषिक र सांस्कृतिक परम्परा रहेको छ । किरातीहरुले प्राचीन कालदेखि आफ्नो मूल बृत्ति र प्रवृत्ति रेखाङकन गरेर ल्याएका छन् । किरात जन समुदायले युगयुगदेखि अपनाएर ल्याएको मार्गलाई किरात धर्म हो । बेगल किरात धर्ममा मूलतः प्रकृति पूजा, पितृ पूजा, सत्मार्ग, समानता मूल वृत्ति र प्रवृत्ति हुन् । किरातीहरुलाई लामो समयसम्म हिन्दु धर्मावलम्बीको राज्यले चिनाएको थियो । नेपालमा प्रजातन्त्र पुनः वहालीपछि किरातीहरुले आफूलाई राष्ट्रिय जनगणनामा आफूलाई किरात धर्मावलम्बीको रुपमा परिचित गराउँदै आएका छन् । किरातीहरुको निरन्तर प्रयासका प्रतिफल स्वरुप नेपालको चौंथो धर्मका रुपमा किरात धर्म स्थापित भएको छ । यो ठूलो उपलब्धि हो । यसलाई कायम राख्न किरात धर्म लेखौं ।
विविधतामा एकता कायम गर्न
नेपालका अधिकांश आदिवासीहरु किरात जातिमा पर्दछन् । किरात धर्म नेपालको एक प्राचीन, मौलिक र रैथाने धर्मको हो । प्राकृतिक शक्तिप्रति अटुट श्रद्धा र विश्वास राख्नु, माङको शक्तिमा विश्वास गर्नु, फक्ताङलुङ, चोमोलुङ, मुक्कुमलुङ, डाँडा पाखा, ढुङगा माटो, नदी नाला, माङहीम, मुन्धुमआदिलाई पवित्र ठान्नु, सेवा पूजा जस्ता उपासनाका माध्यमहरु अंगाल्नु, लोक र अदृश्यलोकबीचको सम्बन्ध र तिनलाई नियमित गर्न संस्कार विकास गर्नु आदि किरात धर्मको मुख्य विशेषता हुन् ।
किरात समुदाय पछिल्लो समय अनेक जातिहरुमा विभक्त भएका छन् । किरात धर्मभित्र अनेक खालका धार्मिक अनुष्ठानहरु रहेका छन् । विशेषतः जाति पच्छिे र एकै जातिमा विभिन्न खालका धार्मिक अनुष्ठानका विधि छन् । यी सबैको साझा पहिचानको रुपमा किरात धर्मले समेटेको छ । किरात धर्मले विभिन्न जाति र सम्प्रदायमा विभाजित किरातीहरुलाई जोड्न सहयोग गर्दछ । एकता शक्ति हो । विविधताका एकता कायम गर्न किरात धर्म लेखौं, लेखाऔं ।
दर्विलो तथ्यांङक स्थापित गर्न
राष्ट्रिय जनगणनामा प्राप्त तथ्यांङक राज्यको नीति, योजना र लोककल्याणकारी कार्यक्रमहरु तय गर्न प्रयास गरिन्छ । तथ्यांकलाई अमूल्य सम्पत्तिको रुपमा लिइन्छ । तसर्थ, जनगणनामा फराकिलो आकारको स्पष्ट प्रतिशतमा आउने धार्मिक तथ्यांक निर्माण गर्न आवश्यक छ । सबै किरात जातिले जनगणनामा किरात धर्म लेखेमा एउटा ठूलो धार्मिक समुदायको रुपमा स्थापित हुनेछ ।
किरात धर्म राष्ट्रिय जनगणना वि.सं. २०४८, २०५८ र २०६८ मा चौथो ठूलो धर्मको रुपमा रहेको छ । किरातीहरुलाई राज्यले राष्ट्रिय जनगणना २०४८ अघि हिन्दु धर्मावलम्बीहरुको रुपमा चिनायो । राष्ट्रिय जनगणनामा किरात धर्म लेखाउने प्रयास किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले २०३८ सालको राष्ट्रिय जनगणनादेखि थाल्नु भएको हो । राष्ट्रिय जनगणनामा २०६८ मा किरात धर्म तथा साहित्य उत्थान संघ, किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्या, किरात याख्खा छुम्मा र किरात सुनुवार समाजको पहलमा ८,०७,१६९ जनाले किरात धर्म लेखाएका थिए । राष्ट्रिय जनगणनाले किरात धर्मलाई फराकिलो दायरा भएको स्पष्ठ प्रतिशतमा देखिने धर्मको रुपमा स्थापित गरिसकेको छ ।
आफूलाई किरात जातिको रुपमा गर्व गर्ने जातिका सबैले किरात धर्म लेखेमा किरात धर्मावलम्बीको संख्या ५ प्रतिशत पुग्ने देखिन्छ । अझ नेवार, मगर, थारु आदिले किरात धर्म लेखेमा किरात धर्मको संख्या ज्यादै ठूलो देखिनेछ । यसले नेपाललाई धर्म निरपेक्ष राज्य कायम गरिराख्न सहयोग पुग्नेछ ।
जनगणना नजिकिंदै जाँदा किरात जाति विभिन्न खालका धार्मिक वहस भइरहेका छन् । विभाजनले किरात धार्मिक पहिचानलाई कमजोर बनाउने सम्भावना छ । यसले एकातिर हिन्दु राज्य र पश्चिमा धर्महरुको बिस्तारमा सहयोग पुग्दछ । अर्कोतर्फ, यो वा त्यो नाममा नयाँ धार्मिक पहिचान स्थापना गर्न सहज छैन । र, नयाँ धर्म लेखाएर प्रतिशतमा देखिने तथ्यांक निर्माण गर्न प्राय असम्भव छ । यसले हामीलाई विभाजन, कमजोर र हराउने बाटोमा डो¥याउने छ ।
मानव समुदायलाई जोड्न
किरात धर्म एक दर्शनको रुपमा विकास भएको छ । किरात धर्म यही भूमिको उपज हो । किरात धर्ममा रहेका अनेक मानव जीवन उपयोगी दर्शन रहेका छन् । प्रकृतिपूजा, समानता, मानवता, विश्व शान्ति, मानव एकता, अहिंसा आदि किरात धर्मका दर्शन हुन् ।
किरात धर्मदर्शन आवद्ध हुन सबै जात, जाति र क्षेत्रका मानिसहरु आवद्ध हुने क्रम छ । किरात धर्मले सिङ्गो मानव समुदायलाई जोड्दै लगेको छ । तसर्थ, सबै मानव समुदायलाई नै जोड्ने सेतुको रुपमा किरात धर्म लेखौं ।
अन्त्यमा,
राष्ट्रिय जनगणनामा किरात धार्मिक पहिचानलाई निरन्तरता दिन र थप उपलब्धि हाँसिल गर्ने अवसर रहेको छ । तर, किरात धर्मबारे अनेक भ्रम सिर्जना गर्ने, भित्र र बाहिरबाट क्षयिकरणको प्रयासहरु भइरहेको छ । यी सबै चुनौतीहरुसँग जुध्दै जनगणनालाई अवसरको रुपमा लिन आवश्यक छ ।