राष्ट्रिय जनगणनामा किरात धर्म नै किन ?


डकेन्द्रसिंह थेगिम

 

किरात समुदाय, किरात धर्म एक विशाल महासागर झैं हो जुन अनेकौं ताल तलैया, नदीनाला, खोला खोल्सा मिलेर बनेको हुन्छ । त्यसरी नै धेरै विभिन्न जातजाति समेटिएको बृहत किरात समुदायले परम्परादेखि जुन जुन कर्म संस्कार मान्दै आएका छन् ती सबै किरात धर्म अन्तर्गत पर्दछन् ।

 

तर, हाम्रो मनोविज्ञान र संकिर्ण सोचाई र मानसिकता विशेषगरी लिम्बू समुदायको केवल महागुरु फाल्गुनन्दद्वारा स्थापित लारुम्बा माङसेबुङबाट निर्देशित सत्यहाङमापन्थी कर्म संस्कारलाई मात्र विद्वतवर्गले समेत किरात धर्म बुझाइ भयो । अनि प्रश्न उठ्ने गछर्, कि लिम्बु बाहेक अरुले माङ्गेन्ना गर्छन् वा गर्दैनन् ? लारुम्बामा भाले काटेर चुला पुजिन्छ वा पुजिन्दैन ? लारुम्बामा गरिने धार्मिक अनुष्ठान, मुन्धुम, भाषा के सबैले अवलम्बन गर्छन् त ? के किरात शब्द मौलिक हो त वा आयातित ? आदि इत्यादि प्रश्न उठ्ने गर्दछन् । यो अत्यन्तै सान्दर्भिक र स्वभाविक पनि हो । तर यहाँनेर के कुरा बुझ्न आवश्यक छ भने, किरात समुदाय भित्रको एक जाति लिम्बूहरुको मात्रै पनि मौखिक मुन्धुम के एकरुपता छ त ? पक्कै छैन् ।

 

एउटा गाउँको फेदाङमा वा साम्बाले गाउने मुन्धुम र कर्म संस्कार अर्को गाउँ, जिल्ला थुमको फेदाङमा साम्बासँग मिल्दैन । त्यसो हुँदा कहिलेकाहीँ यस बारेमा विवाद, झगडा हुने गरेको देखिएको छ । अर्को कुरा आफूलाई मौलिकवादी दावी गर्ने लारुम्बादेखि अलग रहेका लिम्बू समुदाय भित्र नै कर्म संस्कार मिल्दैन । एकथरीले जीव हिंसा बलीपूजामा विश्वास गर्छन् भने अर्को महरानी उत्रिएका (महारानी पथ) भन्नेहरुले जीव हिंसा गर्दैनन् । उनीहरु मन्दीर निर्माण गर्छन् । फलफूल र नैबेदले मात्र देवता पुज्दछन् ।

 

त्यसैगरी युगपुरुष मुहिङगुम अङसी येहाङद्वारा प्रतिपादित येत्छामथिम आठ विधाहरुमा आठ प्रमुख बिधाहरु (मुहिङगुम अङसी लाम, फेजिकुम फेदाङमा लाम, सावाला साम्बा लाम, येभुङ येबा लाम, येभुङ येमा लाम, साम मुन्धुम लाम, येप मुन्धुम लाम र सिदासाम्बा लाम) ले पाएका जिम्मेवारी र मार्ग मिल्दैन । फेदाङमाको कर्म र येबाको कर्म मिल्दैन् । येबाले घुङगृङ स्याउली चलाउँछ भने फेदाङमाले त्यो चीजहरु चलाउन मिल्दैन । येबा वा येमाले थाल ठटाउँछन भने फेदाङमाले थाल ठटाउने अधिकार नै छैन् ।

 

फेदाङमाले युमासाम पुकार्छ भने, येबाले युमा ईष्टदेवी थानमा नै जाँदैन । पुकार्नुको त कुरै नगरुँ । अब यहींनेर मुख्य बुझ्नुपर्ने कुरा के हो भने, युमापन्थी र युमावादी मित्रहरूले यसरी भिन्न भिन्न संस्कार, मुन्धुम, विधि भए पनि येहाङका ८ बिधा मध्ये दोस्रो नम्बर फेदाङमादेखि उँधोको कर्म संस्कार विधि, मुन्धुमलाई स्वीकार गरेर अपनत्व गरेको देखियो तर येहाङको आठ विधा मध्येको १ नं मा रहेको सत्यहाङमा पंथले अंगिकार गरेको पहिलो मार्ग जपतप, ध्यान मार्ग, जीवहिंसारहितको सत्मार्गको कर्म संस्कारलाई भिन्न हो, आयातित हो भनेर नबुझेको पाइयो यो बारेमा सर्वसाधारणको त कुरै नगरुँ विद्वतवर्ग पनि अल्मलिएर बर्वाद हुन खोजिरहेको छ ।

 

त्यसैले कि युमामार्गीले येहाङ दर्शनको ८ विधा मध्ये कुनै एक मार्गलाई मात्र अंगालेर अरु ७ बिधा र मार्ग चाहीं युमा साम्यो होइन अरु भन्नुप¥यो कि त ८ वटै बिधालाई सेमेटेर किरात धर्म भन्नुप¥यो । होइन भने, येहाङ मुन्धुम दर्शन येहाङ बिधा भन्न छोडेर फाल्गुनन्दलाई अस्वीकार गर्न खोजे झै येहाङलाई पनि मान्नु भएन । येहाङ मुन्धुम दर्शन, येहाङका ८ मार्ग र बिधाको कुरै गर्नु भएनन् ।

 

तसर्थ, युमामार्गीहरु यहींनेर चुकेका छन् । तर किरात धर्म मान्ने सत्यहाङमामार्गले अवलम्बन गरेको मार्ग र बिधा भनेको येहाङ दर्शनको पहिलो नम्बरमा अंकित मुहिङगुम अङसी मार्ग हो जहाँ सत्य छ, शान्ति छ, अहिंसा छ, पवित्रता छ र दुव्र्यसन, कुरीति र कुसंस्कारमुक्त छ । सबै जीव प्राणीको अस्तित्वमाथि स्वीकार र सम्मान छ र प्राकृत छ । किरात धर्मको मूलभुत दर्शन नै यही हो । किरात समुदायले मान्ने प्राचीन र मौलिक धर्म दर्शन पनि यहीँ नै हो ।

 

तथापि, पछिल्लो समयमा किरात समुदायका विभिन्न जात जातिमा हुर्किएका धार्मिक संस्कार संस्कृति, माङगेन्ना गर्ने नगर्ने, भाले काटेर चुला पुज्ने नपुज्ने, गर्भ पुजा गर्ने नगर्ने, मौखिक मुन्धुमको मात्र प्रयोग गर्ने वा नगर्ने, जीव हिंसा गर्ने वा नगर्ने, फेदाङमा, साम्बा, येबा मार्ग आदि अवलम्बन गर्ने वा नगर्ने तर जुनसुकै भाषा भाषिकाका मुन्धुम, मुन्दुम वा मुक्दुम मान्ने अन्य धर्ममा दीक्षित भएर नगएका किरात बंश कुलमा जन्मेका सबै किरात धर्मावलम्बी हुन् । अर्को सत्यहाङमा, किरात धर्मावलम्बीको विशिस्टता के हो भने पेसाप र थुङसाप मुन्धुम अर्थात मौखिक र लिखित दुबै मुन्धुमको प्रयोग हुन्छ ।

 

अर्को कुरा, भाषा मिल्दैन भन्ने जिकिर छ । यो चाहीं के हो भने किरात समुदायले बोल्ने भाषा भोट बर्मेली भाषा हो । भोट बर्मेली भाषाको माउ भाषा मुन्धुम हो । हायु भाषामा डाक्टरेट पश्चिमी विद्वान जर्ज भेन्ड्रीनको अनुसन्धानको प्राप्ति अनुसार भोट बर्मेली भाषाको माउ चिनीया हो र चिनीया भाषाको माउ भाषा मुन्धुम हो । त्यसैले मुन्धुम र मुन्धुमी भाषा लिम्बूको मात्र हो भन्नु ब्यर्थ हो । किरात सिरिजङगा लिपि लिम्बू लिपि हो भन्नु र मुन्धुम र मुन्धुमी भाषा लिम्बूको मात्र हो भन्नु एउटै हो । त्यसैले मुन्धुम भाषा किरात भाषा हो जुन भाषाबाट थुप्रै भाषा जन्मिएका छन् ।

 

त्यसैगरी किरात शब्द संस्कृत वा हिन्दुबाट आयातित हो भन्ने जिकिर छ जुन गलत छ । हामी सधै भन्ने गर्छौं, किरातको आदिम पहिचान सावायेहाङ मेन्छाम्गेन नाम्याप्मीसा अर्थात् छोटकरीमा सावा येहाङ सा, त्यसपछि किलात र किरात, किरात पछि मंगोलियत र त्यसपछि याक्थुङ, लिम्बू हुँदै विभिन्न थर उपथरहरुमा विभाजित भएको बुझिन्छ । तसर्थ, किरात शब्दको उद्गम खोज्ने हो भने, यस शब्दको उत्पत्ति मुन्धुम वा मुन्धुमी भाषामा नै भेटिन्छ । अरुले जथाभावि अर्थ लगाएर लेखि दिएकोले पार लाग्दैन । किरात शब्द जस्तै विभिन्न ठाउँका नामहरु संस्कृत नेपाली वा अरुको शास्त्रमा खोजेर हुँदैन । जस्तै पान्थर थुममा एउटा गाउँको नाम ओलने छ । अहिलेका पुस्ताले के सम्म भन्छन् भने उहिले उहिले प्रशस्त पशुपालन गरिने र प्रशस्त वलन र ओलन पाइने भएकोले यो गाउँको नाम ओलने रहेको हो ।

 

तर खासमा वानेने (पानी जमेर बसेको) को अपभ्रंश ओलने हो । तसर्थ ओलने शब्दको उद्गम नेपाली वा संस्कृतमा खोज्ने हो भने पार लाग्दैन । यसो झट्ट हेर्दा वानेने भन्दा ओलने नै सठिक लाग्छ । मेरै गाउँ आमचोकको उदाहरण दिउँ । उहिले प्रशस्त अन्न फल्ने ठाउँ भएकोले यो अन्नको चोक हो र अन्नको चोक (अन्नचोकको अपभ्रँश आमचोक नाम रहेको हो भनेर नेपाली भाषी क्षत्री, ब्राह्मण समुदायका व्यक्ति बताउने गर्दछन् । भाषाको बनोट हेर्दा अन्नचोक (आमचोक ठीकै देखिन्छ तर वास्तविकता अर्कै छ ।

 

वास्तवमा आङजक शब्दको अपभ्रंश (सल्लाको खोटो प्रशस्त हुने, पाइने) आमचोक हो । यस्ता उदाहरण खोज्ने हो भने कैयौ छन् । त्यसैगरी किरात शब्दको उद्गम पनि मुन्धुममा र मुन्धुमी भाषामा खोजौं । जबर्जस्ती छेकछन्दै नमिल्ने सुँगुर वा सुँगुर पाल्ने वा सुँगुरको पछि लाग्ने अर्थ दिनु शत प्रतिशत पूर्वाग्रही भावनाले ग्रस्त ब्याख्या हो र यो सरासर गलत हो । किरात शब्दको प्राचीनताको अनुमान नै गर्न सकिन्न । मुन्धुम अनुसार नावा चइत मुन्धुममा वर्णित मानव सृष्टि सँगसँगै सुहाम्भेवा र लाहादङना मुन्धुमसँग जोडिएको पहिचानजनित शब्द हो ।

 

यी दुई चेली माइतीबीचको हिमपर्वतखण्डमा भएको पवित्र सम्बन्धसँग जोडिएको काइलासो (कैलास, काइलात, किलात हुँदै किरात शब्दको उद्गम भएको प्रष्ट छ । शब्दको बनोट प्रक्रियाबाट हेर्दा पनि यो नै वैज्ञानिक र तर्कसंगत छ । अहिले आएर किरात समुदाय, किरात देश र प्रदेश, किरात सभ्यता र किरात धर्म जनाउने एक बृहत र बहुअर्थी शब्दको रूपमा विकसित भएको छ र किरात शब्द पहिचान र सभ्यतासँग समेत जोडिएकोले आगामी राष्ट्रिय जन गणनामा प्राचीन सभ्यता र मौलिक पहिचानलाई जोगाउन र राज्य सत्तामा पहुँच पु¥याउन धर्मको महलमा ‘किरात धर्म’ लेख्न लेखाउन समेत लुङ्मेन्दिङ अनुरोध गर्दछु ।