सबैको माङ एउटै

(वि.स २०६२ मंसिर १९ गते इलामको माङसेबुङमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ५२ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा अवसरमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनुभएको माङ आशीर्वचन) ः

 

ओत् तागेरा निङवाभूमाङे सेवारो ।
मेन्निमाङ, मेन्धामाङ, आनुमाङ, सेख्खामाङ, माङलिङमा, माङकेप्मा, माङओप्मा माङे सेवारो ।
स्वदेश तथा विदेशबाट पाल्नुभएका श्रद्धालु भक्तप्रेमी र विद्वान मित्रहरु ।

 

 

आज तपाईहरु स्वदेश तथा विदेशबाट यहाँ भेला हुनुभएको छ । यो पवित्र भूमिमा विभिन्न ठाउँबाट माङवा, हाङवा र ज्ञान पाउन तपाईहरु यहाँ आउनुभएको हो भन्ने मलाई लागेको छ । मानिसले गर्नु पर्ने कर्म र धर्म चिन्न सक्नु पर्छ । हामी मानिस भएर जन्मेका छौ ं। भोलि हाम्रो भौतिक शरीरको अन्त्य हुन्छ । त्यसबेला पनि धर्मको आवश्यकता हुन्छ । मान्छेले धर्म चिनेन भने त्यो स्वतः पशु, पक्षी सरह हुन्छ । मानिसमा राम्रो खानु पर्छ, रामं्रो ठाउँमा बस्नु पर्छ, राम्रो कुरा बोल्नु पर्छ, एकले अर्कालाई राम्ररी चिन्न र बुझनु पर्छ भन्ने चेतना छ । धर्मले हामीलाई थप चेतनशील बनाउँछ । सही र सत्यको बाटोमा हिँडाउँछ । हामीले जन्मेर नमरिञ्जेल गर्नु पर्ने कर्म भनेको धर्म हो ।

 

संसारका धर्मावलम्बी र धार्मिक प्रणेताहरुमा मेरो बारम्बार अनुरोध छ, हामी धर्मको बाटोमा हिँड्नु पर्छ । पाप कहिल्यै गर्नु हुँदैन । धर्म गरेर स्वर्ग जानु पर्छ । पाप गरेर नर्कमा जाने कार्य गर्नु हँुदैन । असत्यलाई छाडेर सत्यको बाटो पक्रेर तागेरा निङवाभूमाङको काखमा पुगेर लीन हुनु पर्छ । तागेरा निङवाभूमाङ र माङ बसेको ठाउँलाई विभिन्न धर्मका मानिस तथा भाषामा फरकफरक संज्ञाले सम्बोधन, व्याख्या विश्लेषण गरिएको छ । तागेरा निङवाभूमाङको ठाउँ ज्यादै सुन्दर, शान्त र पवित्र छ । माङको पवित्र ठाउँमा हाम्रो आत्मालाई पु¥याउन मोक्ष प्राप्त गर्नु पर्छ । जसका लागि हामीले ध्यान गर्नु पर्छ ।

 

 

संसारिक जीवनमा अनेक कुरा गर्नु पर्छ, भोग्नुपर्छ । तर, हामीले केही क्षण बस्दा, आराम गर्दा पनि उनै तागेरा निङवाभूमाङको सेवा गर्नु पर्छ । माङसेवा गर्दा हाम्रो आत्मा सितल भएर आउँछ । गर्मीमा चिसो पानीले नुहाएजस्तो आनन्दको अनुभूति हुन्छ । हामी माङको नजिक हुन धेरै कुरामा विवेक पु¥याउनु पर्छ । मान्छेको मनभित्र हरेक कुरा खेल्छन् । आत्मामा कहिले राम्रो कुराको सवारी हुन्छ त कहिले नराम्रो कुराको । त्यस्तै, सकरात्मक त कहिले नकरात्मक कुरा मनमा आउँछ । कहिले राम्रो गरौं भन्ने लाग्छ त कहिले नराम्रो गरौं भन्छ । त्यसबेला हामीले कुन गर्ने कुन नगर्ने भन्ने राम्ररी विचार गर्न सक्नु पर्छ । हामीलाई नकरात्मक कार्यतिर लैजाने, विनाशतर्फ धकेल्ने रिस, क्रोध, घमण्डलाई आत्माबाट बाहिर निकाल्न सक्नु पर्छ । अनि मात्र हाम्रो आत्मामा सत्य र सकरात्मक भावनाको राज हुन्छ ।

 

 

धर्म सामान उत्पादन गर्ने कम्पनीजस्तै हो । संसारमा अनेक कम्पनी छन् । तिनीहरुले विभिन्न सामग्री उत्पादन गर्छन् । ती कम्पनीले आफ्नो उत्पादनको प्रचारप्रसार तथा व्याख्या आफ्नै तरिकाले गर्छन् । त्यस्तै, संसारमा थुप्रै धर्महरु छन् । आफ्ना धर्मरुपी कम्पनीबाट उत्पादित दर्शन लिएर प्रचारप्रसार गरिरहेका छन् । हामीले हाम्रो धर्मलाई किरात धर्म भनेर व्याख्या र प्रचारप्रसार गर्दैछौं । किरात धर्म भनेको मानव मुक्तिका दर्शन उत्पादन गर्ने कम्पनी हो । यसभित्र सत्य, अहिंसा, मानवता, समानता र प्रकृतिपूजाजास्ता सत्य दर्शनहरु उत्पादन भएका छन् ।

 

 

धर्मको विकास गर्न, सत्यको खोजी गर्न, मानिसलाई मुक्ति दिन, तारन्तार गर्न विभिन्न धर्ममा धेरै महात्मा आएका छन् । मुक्ति नपाएकालाई मक्ति गराउनु, ज्ञान दिन महात्माहरु आएका हुन्छन् । त्यसरी नै हाम्रो धर्ममा अङसी तथा मुहिङगुम अङसीमाङ आएका छन् । केही समयअघि महागुरु फाल्गुनन्द आउनुभएको थियो । वहाँलाई हाम्रो मुन्धुमले ‘साम्याङवा लिङे, युप्पावा लिङे थाक्थाकुम लिङ्देनहाङमा’ भन्छ । वहाँले जुन दर्शन दिनुभयो, ज्ञान विजारोषण गर्नुभयो, त्यो सम्पूर्ण मानवका लागि उपयोगी छ । किनकि, ज्ञान र औषधि सबै जातिले प्रयोग गरे पनि हुन्छ । प्रयोग गर्न पाइन्छ । यो सम्पूर्ण सृष्टि तागेरा निङवाभूमाङको सृष्टि हो । सम्पूर्ण प्राणी वहाँको सन्तान हौ ं। सबै प्राणीले आ–आफ्नो संज्ञा लिएर बाँचेका भएपनि माङको सन्तान हौं । त्यसैले हामी एक हौं । हामीले कुनै पनि प्राणीलाई हिंसा गर्नु हुँदैन ।

 

हाम्रो समाजमा भएका कुरीति, कुसंस्कारलाई हामीले सुधार्दै जानु पर्छ । एउटा स्वच्छ समाजको निर्माण गर्नु पर्छ । हामीले अहंकार, क्रोध, घमण्ड गर्नु हुँदैन । मेन्जामा चा (अभक्ष वस्तु) खानु हुँदैन । सत्मार्ग, सत्कर्म गर्नु पर्छ भनिरहेका छौ ं। हामीले जे गर्न मन प¥यो त्यही ग¥यो, जे पायो. त्यही खायो भने त्यसले हामीलाई असर गर्छ । हामी अशान्तिको बाटोमा कहिल्यै हिँड्नु हुँदैन । अहिले सबै मान्छेको आत्मामा रिस, अहंकार, क्रोध बढेको छ । यसले. स्वच्छ मान्छे र समाजलाई बिथोल्छ । त्यसैले ती कुरालाई त्यागेर हामीबीच दया, माया, प्रेम, सद्भावको विकास गर्नु पर्छ । किनकि, उक्त कुरा नभए धर्म हुँदैन । धर्मले भावी सन्तानहरु सुधार्दै जान्छ । ज्ञान, धन, कला र धनको धनी बनाएर लान्छ । संसार विजय गर्ने भएर जान्छ । यसकारण धर्मको आवश्यकता छ ।

 

जुनै जाति होस् वा वर्ग होस् । सबैको माङ एउटै हो । सत्य र शान्तिको मार्गमा हिँड्यौं भने अवश्य तागेरा निङवाभूमाङले हात दिन्छ । यो कुरामा तपाईहरु विश्वास गर्नु होस् । चेतना, ज्ञानको खोजीमा संसारमा ठूला महात्माहरु जन्मने गरेका छन् । ती महात्माहरुले दिने ज्ञान, चेतना र आशीर्वादले मानवलाई धेरै फाइदा पुग्ने गर्छ । उदाहारणका लागि नेपालको लुम्बिनीमा गौतम बुद्धको अवतार भयो । बुद्धको ज्ञानले आज बौद्धमार्गीहरुलाई अघि बढेका छन् । संसारका जुन समुदाय पछि परेको हुन्छन् त्यहाँ यस्ता महात्माहरुको जन्म हुन्छ । हाम्रो समाजमा महागुरु फाल्गुनन्द जन्मनु भयो । वहाँले धेरै ज्ञान दिएर जानुभयो । जसले गर्दा हाम्रो धर्म किरात रहेछ भनी बुझने मौका पायौं । मैले पनि वहाँको कुरालाई लिएर तपाईहरुलाई सम्झाइ, बुझाइ गर्दै आएको छु । यस्ता शुभ सन्देश दिने कार्यक्रमहरु राख्दै आएको छु ।

 

यो संसारमा हामी छोटो समय रमाइलो गर्न आएका छौं । संसार भनेको एउटा बजार हो । यहाँ हामी सौदा गरिरहेका हुन्छौं । र, एक दिन यस संसारबाट बिदा भएर जान्छौं । त्यसबेला पनि धर्मको आवश्यकता पर्छ । त्यसबेला मुक्तिको आवश्यकता पर्छ । धर्मको पालनाले ज्ञान आउँछ । ज्ञानले चेतना खोलिन्छ । हाम्रो भाषामा ‘निसिक्पा’ भन्छ । दिमाग ज्ञान बस्ने ठाउँ हो । जसमा थुप्रै ढोकाहरु छन् । धेरै किसिमका ढोकाहरु छन् । ती ढोकाहरु खोल्न ध्यान, जपतप, माङसेवा गर्नु पर्छ । तागेरा निङवाभूमाङमा लीन भएपछि मात्र हाम्रो ज्ञानको ढोका खुल्दै जान्छ । ती ढोकाहरुबाट संसारलाई टाढासम्म हेर्न, देख्न सकिन्छ । हामीसँग भएका दुई आँखाले टाढा देख्न सक्दैन । ज्ञानको ढोका खुल्दै गएपछि चेतनाको विकास हुन्छ । चेतना अमूल्य चिज हो । चेतनाको विकासले ज्ञान पनि बढाउँदै लान्छ ।

 

अहंकार, क्रोध, घमण्डले हाम्रा भावी सन्तानहरुलाई पनि नराम्रो बाटोमा डो¥याउँछ । काट्ने, मार्ने, हान्ने, कुट्ने मात्र ज्ञान सिक्छन् । उल्टो ज्ञान दिन्छ । अहंकार, क्रोध र घमण्ड त्याग्यौं भने माङओप्मा, लाओप्मा, माङवा चोत्लुङ, हाङवा चोत्लुङमा पुग्छौं । मुन्धुमले इच्छिङ साम (सोच्ने शक्ति) भन्छ, त्यो बढ्छ । धेरै अगाडि र पछाडिका कुरा सोच्ने शक्ति प्राप्त गर्छौं । हामी यो अभियानमा लाग्नु पर्छ । हामी धेरै होसियार हुनु पर्छ । संसारमा अहंकार, क्रोध, घमण्ड र रिस व्यप्त छ । हामीले अहिंसा र शान्तिको बाटो लियौं भने मात्र संसारलाई बचाउन सक्छौं । पार तर्न सक्छौं ।

 

तपाईहरु यहाँ आउने गर्नु हुन्छ । धेरै कुरा सिक्नुभएको छ । ज्ञान, वुद्धि, विवेकमा माथि उठिसक्नु भएको छ । तपाईहरुले आत्माबाट नराम्रो कुरा निकालेर फ्याँक्नु पर्छ । अनि हामी एउटा रमाइलो फूलबारी बन्न सक्छौं । माङको फूलबारी बन्न सक्छौं । तपाईहरु यहाँ उपस्थित हुनुभयो । हाम्रो चोत्लुङ उठेको छ । हाम्रो मुन्धुमले भन्छ, तुत्तुगेन तुम्याहाङ चोत्लुङ, याक्लागेन सुहाङमा चोत्लुङ, सिसागेन मेन्छिन चोत्लुङ, नालीगेन थाङबेन चोत्लुङ, सावा येहाङ मेन्छाम्गेन नाम्यामी सा चोत्लुङ मेन्जोने, नेतिगेन फूङवा मेन्लुके, तुन्गुन वरक मेन्जपे, सफादिङ चिरेप मेन्लए, थङदापी यवाप मेन्लए, थाङ तिदिङ आवार, थाङ वचे आवार । नाहेन मिक्सु मेन्दोके, तागेरा निङवाभूमाङ रे नाम्साङ, थेक्साम आगतर’ भनेर हामी भेला भएका छौं । हामीमा चोत्लुङ हुन्छ । त्यसलाई नेपालीमा शिर भन्छ । सबै युवायुवती, वृद्धवृद्धा, राजनेताको र सबै मानवको शिर उठोस् भनेर हामीले सेवा गरेका छौं । थाङ चाङजाङ येप्ल भनेको शिर माथि उठोस् भनेर माङमा भक्ति गरेका छौं ।

 

हामीले यो साल पनि सबैका लागि माङसेवा गरेका छौं । हाम्रो मुन्धुमले ‘मेन्छाम्गेन सा लकलुम ओ तिङदिङ नाहेन, हारा मिक्सुन मेन्दोके’ भन्छ । यो भनेको मानिसको आत्माको केन्द्रमा आँखीडाही नलागोस्, त्यहाँभित्र माङ बसेर कम्राङ गरोस् भनेको हो । हामीले ‘माङरे आनाङर, आधेकर’ भनेर प्रार्थना गरेको छौं । मुन्धुमले ‘मेन्छाम्गेन नामयाप्मी सा’ भन्छ । त्यो भनेको सूर्यको प्रकाशले बाँधेको सबै मानिस भनेको हो । सूर्यको ताप उपभोग गर्ने मानिस भनेको हो । माङको सृष्टि भनेको हो । माङको सृष्टि सबैमा रक्षा होस् भनेर हामी सेवा गर्छौं । सबैको कल्याण होस् । सबैले ज्ञान पाऊन् । सबैले शिक्षा, चेतना पाऊन् भनेर सेवा ग¥यौं । त्यो माङले लिनुभएको छ ।

 

हाम्रो मुन्धुमले ‘माखी सोमा’ भन्छ । त्यो उठ्यो भने मानिस आफैं, आफैं मारामार गर्छन् । यहाँ हामी शान्तिका लागि सेवा गर्दैछौं । संसारमा माखी सोमा उठेर ‘छुती मना मेछेत्छिङर वा’ (मान्छे मारामार गर्दै छन्) । यी सबै शान्ति होस् । मान्छेको आत्माभित्र क्रोध, धमण्ड, रिस हटोस् । मनमा शान्ति मिलोस् । आत्मामा माङको छाया परोस् भनेर माङसेवा गरेका छौं । दुःख, सुख जे सुकै भएता पनि हामी यो चोत्लुङ स्थलमा भेला भएका छौं । मोक्ष प्राप्त गरेको छौं । हाम्रा कामहरुलाईं थाँती राखेर, दुःखहरुलाई बिर्सेर शान्तिको सन्देश सुन्न यस प्राङ्गणमा बस्नुभएको छ । यो एउटा राम्रो अवसर हो । यहाँ आएर आशीर्वाद माग्नेहरुले जे माग्यो त्यहीँ पाएका छन् । पाउनु हुनेछ । तर, यहाँ केही कुरा भने पाइँदैन । ती हुन् जाँड, रक्सी, चुरोट, खैनी, मासुमंस र रिस, घमण्ड, क्रोध गर्न, जुवा तास खेल्न पाइँदैन ।

 

धर्ममा एउटा शक्ति हुन्छ । ज्ञान हुन्छ । त्यसले धोएपछि हाम्रो हृदय पवित्र हुन्छ । पवित्र हृदय माङ, हाङ सबैले मन पराउँछन् । यस्तो भएपछि हामी हाङवा चोत्लुङ, माङवा चोत्लुङ लिमा गर्न सक्छौं । हामीलाई माङले एउटा ज्योति दिइरहेको छ । नजर दिइरहेको छ । यो कुरा तपाईहरुले भुल्नु भएन । हाम्रो सोतरीत खाने, बलिपूजा गर्ने जस्ता नराम्रा कार्यले गर्दा हामीले पाप बोकेको छौं । ती पापलाई नपखाली हामी माथि उठ्न सक्दैनौं । यहाँ भेला भएर पाप पखाल्न सेवा गरौं । सत्य, धर्मको बाटोमा लाग्न सकौं भनेर प्रार्थना गरौं । धर्मको बाटो मात्र दीर्घकालीन हुन्छ । असत्य, अहंकार, क्रोध केही क्षण मात्र हो । सत्यको आयु लामो हुन्छ । चोरी, डकौती, घुस पेस र सामन्ती गरेर कमाएको सम्पत्ति लामो समय टिक्दैन । त्यसैले हामीले श्रम गरेर सम्पत्ति कमाउनु पर्छ । पसिना बगाएर कमाएको सम्पत्ति धेरै समय टिक्छ । त्यो चढाउँदा माङले पनि लिन्छ । मान्छेले छलेर भन्दा मागेर खाएको राम्रो हुन्छ । हामीले धेरै कार्यक्रम गर्दै आएका छौं । धेरै सुधार हुँदै आएको छ । यो शुभ संकेत हो ।

 

हामीले आँखा चिम्लेर मनलाई एकत्रित गरेर माङलाई सम्झयौं भने हाम्रो सेवा माङमा पुग्छ । सेवा पुगेपछि माङले हामीलाई नजर दिन्छ । हाम्रा आँखाले माङलाई देख्न सक्दैन । आत्माको आँखाबाट मात्र माङलाई देख्न, चिन्न सकिन्छ । यहाँ तपाईहरु आएर राम्ररी माङसेवा गर्नु होस् । तपाईको मनोकांक्षा पूरा हुनेछ । यहाँ ठूला नेता, राष्ट्र प्रमुख, प्रशासन प्रमुखहरु आउने गर्छन् । यो स्थल भनेको माङको स्थल हो । माङको स्थलमा आएपछि तपाईलाई केही न केही प्राप्त हुन्छ । तपाईले सत्य चिताएर माङ चिताउनु पर्छ । यहाँ हामी सबै जाति माङसेवा गर्न भेला भएर बसेका छौं । हामी एकै हौं ।

 

हामी अशान्तिको बाटोमा हिँड्यौं भने हाम्रो नाश हुन्छ । हाम्रो यति राम्रो मानव चोला नाश हुन्छ । यसलाई बचाउन हामी सधैं शान्तिको बाटोमा हिँड्नु पर्छ । अनि मात्र आफूलाई बचाउन सकिन्छ । शान्ति स्थापना गर्न सकिन्छ । यसपाली हामीले शान्तिका लागि सेवा गरेका छौं । सेवा धेरै पवित्र रुपमा भएको छ । हाम्रो देशमा अशान्ति फैलिएको छ । अशान्ति फैलाउनेहरु पनि एक दिन शान्तिको बाटोमा आउनु पर्छ । उनीहरुमा पनि शान्तिको भावना आओस् भनेर सेवा गरेका छौं । त्यो माङमा पुगेको छ ।

 

यो ठाउँमा ठूलो माङहिम निर्माण गर्ने सोचेको छु । यो तपाईहरु सबैको हुक्वाले बन्नेछ । अहिले पनि तपाईहरुको हुक्वाले यो.सेवा सम्पन्न भएको छ । यो तपाईहरुको चोत्लुङ हो । आउँदा दिनमा पनि हामीले यसरी नै गर्दै जानु पर्छ । सुम्बोगेन हुक्वा दिँदा तपाईले खुला दिल बनाएर दिने गर्नु होस् । त्यो माङले लिन्छ । यसले तपाई हाम्रै लागि सेवा हुन्छ । माङहिम बन्छ । तपाईहरु आउँदा, जाँदा सेवा गर्ने घर पनि बन्छ । हामी सम्पूर्णको सेवा लाग्छ ।

 

अहिले यो ग्रह, सूर्य र ताराहरुको आफ्ना नियमित गति र बाटाहरुमा गडबड आउन थालेको छ । यसले मुलुकको राजनीति र मान्छेका क्रियाकलापमा पनि असर गर्छ । देशमा अझ केही अशान्ति हुने मेरो पहिचान छ । मान्छेमा उल्टोउल्टो सोच्ने, गर्ने प्रवृत्ति बढेको छ । मैले पनि सक्दो माङसँग पुकार गरेको छु । किनभने यी सबै बनाउने र यसका मालिक माङ नै हुन् । मलाई चिन्ता लागेको छ । मान्छेमा रिस, आवेश बढेको छ । तर, सेवा लाएपछि यो कम हुन्छ । आनी सेवा आजोक कनहासा थो तागेरा निङवाभूमाङ लक्लुम्मो केत्लभाआङ, थो मेन्निमाङ, मेन्धामाङ, आनुमाङ, सेक्खामाङ, मुजोत्लुङ खिजोत्लुङ माङो कुसाङ लन्ल भाआङ, सेवा केत्लभाङ सेवा आजोक (तागेरा निङवाभूमाङमा सेवा पुगोस् भनेर सेवा गर्छौं) । यसैका लागि तपाईहरु धुलोसरी भएर बस्नुभएको छ । नाच्नुभएको छ । सेवा गर्नुभएको छ । यो सिद्धिशक्तिका लागि हो । तपाईहरुले त्यो पाउनुभएको छ । तर, यसलाई सम्हाल्नु सक्नु पर्छ । धेरै शक्ति भयो भने सम्हाल्न सकिन्न है । सम्हाल्नु पर्छ है ।

 

 

मानिसले गर्ने कर्म र हिँड्ने बाटो दुई खालका छन् । याम्बक (कर्म) फगिया र माखिया हुन्छ । त्यस्तै, लाम (मार्ग) माखिया र फगिया हुन्छ । अर्थात्, सुकर्म र कुकर्म अनि सुमार्ग र कुमार्ग । हामीले सही कर्म र बाटो रोज्न सक्नु पर्छ ।

 

 

हामीले फगिया लाममा हिँड्नु पर्छ । यो उज्यालो र सत्यको बाटो हो । पवित्र मार्ग हो । मुक्तिको मार्ग हो । यसले स्वर्गतर्फ डो¥याउँछ । हामी चेतनशील प्राणी भएर पनि विवकेहीन भयौं भने कुमार्गमा हिँड्न थाल्छौं । यो नराम्रो बाटो हो । अँध्यारो बाटो हो । यो अमुक्ति र पापको बाटो हो । हामी विवेकी भयौं भने आफैं राम्रो बाटो हिँड्न थाल्छौं । हामीले साना साना काम गर्दा पनि विवेक पु¥याउनु पर्छ ।

 

यस्तै, हामीले फगिया याम्बकमा जोड दिनु पर्छ । फगिया याम्बक भनेको सुकर्म हो । सुकर्म भनेको मुक्तिको कर्म हो । फगिया याम्बकले व्यक्ति, समाज र राष्ट्रलाई हित गर्छ । यो पवित्र कार्य हो । धर्मको कार्य हो । यस बाटोले उज्यालो तर्फ डो¥याउँछ । माखिया याम्बक नराम्रो कार्य हो । यो कार्यले पापतर्फ डो¥याउँछ । पाप कार्य गर्दा माङ साम्बान (देव दण्ड) पाइन्छ । हाङ साम्बान (राज दण्ड) देख्न सकिन्छ । तर, माङ साम्बान देख्न सकिन्न । यो अदृश्य तवरले पाइन्छ । यसबाट बच्ने उपाय धर्म नै हो ।

 

 

हामीले साना साना काम गर्दा पनि ध्यान दिनु पर्छ । हामीले गर्ने नराम्रा कामका लागि हामीलाई माङ साम्बान पर्छ । म एउटा उदाहारण दिन्छु । मेरो वंशमा जहरसिं नाम गरेका कारबारी बाजे हुनुहुन्थ्यो । जहरसिंको भतिज सुब्बा टेकबहादुर हुनुहुुन्थ्यो । इलामको जितपुरमा हाम्रो गोश्वारा जग्गा थियो । त्यहाँबाट जहरसिंले मात्र कुत र जग्गाको बढ निकालेर खानु हुन्थेछ । जहरसिंले भतिजलाई ठग्नु हुन्थेछ । पछि जहरसिं बाजे साह्रै बिमार पर्नुभयो । हामी सबै दाजुभाइ भेला भयौं । उपचारको प्रयास ग¥यौं । तर, उपचार लागेन । बाजेको धेरै पटक श्वास जाँदै, फिर्दै गरिरह्यो । मेरो युमाले सोध्नुभयो, ‘मेन हात्ले निकेधेक्तेङ पत्बे (होइन, कसले पो छेकेको छ) ?’ जहरसिंले भन्नुभयो, ‘बढ लप्नाबेओ मेधेक्ताङ (बढ निकालेकोमा थुनेको छ) ।’ हामीले अनुमान ग¥यौं, पक्कै सुब्बा टेकबहादुरले बाटो छेकेका होलान् । किनकि, सुब्बाको अगाडि नै निधन भइसकेको थियो । ‘मेन टेकबहादुररे बी (टेकबहादुरले हो) ?, युमाले सोध्नुभयो । जहरसिंले ‘आबाङे मना मेवा (आफ्नै मान्छे छन्) ।’ मात्र भन्नुभयो । त्यसपछि केही रकम राखेर बढ निकाल्दा तिमीलाई नदिई खाएको होला, मन दुखेको होला । तिम्रो भाग भयो । दुःख नदेऊ, बाटो छोड है भनेर मुन्धुक्मा गरेपछि जहरसिं बाजेका प्राण गयो ।

 

 

धर्म, पाप भन्ने कुरा हाम्रो वरिपरि धुमिरहन्छ । मान्छेले एकछिन ढाँट्न खोजिन्छ । तर, आत्मालाई कसैले टाँट्न सक्दैन । हामीलाई मर्दा पनि धर्म चाहिन्छ । कसैको श्वास जाने बेलामा श्वास जाँदै आउँदै गर्छ । माना, पाथी काटेपछि मात्र श्वास जान्छ । मान, पाथी, तराजुमा छल गर्नेहरुलाई यो माङको दण्ड हो । धर्म मान्छेलाई यो लोक र परलोकमा पनि चाहिन्छ । मान्छेले आँखा छलेर गरेको काम एकछिनका लागि मात्र हुन्छ । लामो समय टिक्दैन । त्यसैले व्यापार गर्दा होस् वा अरु काम गर्दा होस् परिश्रमको कमाइ मात्र लिनु पर्छ ।

 

 

माङको दण्ड मानिसले बनाएको कुनै कुराले पनि छेक्न सक्दैन । राज्य सत्ता, नियम, कानुन, हतियार, औषधि केहीले पनि छेक्न सक्दैन । राज्यले बनाएको कानुन निश्चित समय जेल, नेल सहेपछि र निश्चित जारिमान तिरेपछि छुट्न सकिन्छ । माङको साम्बानबाट जति सुकै शक्तिशाली व्यक्ति पनि उम्कन सक्दैन । राज, बादशाह, राष्ट्रपति र सेनापति पनि यसबाट भाग्न सक्दैनन् । हावा, पानी, खोलानाला केहीले छेक्न सक्दैन । त्यसैले हाम्रो मुन्धुमले ‘हाङसाम्बान मेन्धाए, माङसाम्बान मेन्धाए । माङतते, हाङतते मेन्धाए (राजदण्ड, देवदण्ड नपारोस्)’ भनेर सेवा गर्नु भन्छ ।

 

 

हामीले माङसेवा गर्दा हामी र हाम्रा सन्तान सन्तान सुबाटोमा हिँड्न पाऔं भनेर माग्नु पर्छ । उनीहरुलाई शिक्षा, ज्ञान र धर्म सिकाएर चेतनशील बनाउनु पर्छ । सुधार्दै जानु पर्छ । तपाईहरु यहाँ धर्मका कुरा सिक्न, मुक्तिका बाटो पत्ता लगाउनु आउनुभएको छ । मुक्तिका लागि हामीले धेरै कुरा सिक्न, जान्न र गर्न आवश्यक छ । हामीले कार्य, खानपान र माङसेवा गर्दा होसियारी अपनाउनु पर्छ । शाकाहारी बन्नु पर्छ । मद, मदिरा, धूमपान सेवन र मासुमंस खानाले थुप्रै रोग लाग्छ । अहिले नामै काढ्न नजानिने स्वाइनफ्लू, बर्डफ्लूजस्ता प्राणघातक रोगहरु आएका छन् । जसको नियन्त्रण गर्न असाध्यै गाह्रो भइरहेको छ । कति नयाँ रोगका औषधि पत्ता लाउन सकेका छैनन् । खानपानमा होसियारी अपनायौं भने धेरै रोगबाट जोगिन्छौं । रोगबाट अलग भयौं भने मानसिक, शारीरिकलगायतका धेरै कुराको विकासमा सहयोग पुग्छ । यस्ता वस्तुको सेवनले हामीमा रिस, राग बढाउँँछ । जसका कारण झंैझगडा बढ्छ । आशान्ति बढ्छ । असल ज्ञान र चेतनाको बाटो थुनिदिन्छ । हामी स्वच्छ फलफूल, सागसब्जी खाऔं । शाकाहरी खानेकुरामा जोड दिऔं, मांसाहारी खानेकुरालाई क्रमशः त्याग्दै जाऔं ।

 

 

महागुरु फाल्गुनन्दले मान्छे कसरी मासिन्छ भन्ने विषयमा बोल्नुभएको छ । सबैभन्दा पहिले हावा, पानी, ढुङ्गा, माटो प्रदुषित हुन्छ । त्यसपछि बोटविरुवा र प्राणीमा रोग लाग्छ । प्राणीमध्ये पनि माछामा बिमार पहिले लाग्छ भन्नुभएको छ । त्यसपछि पशुपक्षी र मानिसमा नराम्रा रोग लागेर मानिस सखाप हुन्छ भन्नुभएको छ । त्यसैले मासुमंस सेवनबाट होसियार हुनु पर्छ । फेरि रिसिनु हुन्छ है । यति खाऔंखाऔं लागेको छ भन्नु होला । अहिले डाक्टरहरुले पनि मासुमंस सेवन राम्रो होइन भन्दै आएका छन । महात्मा, साधु सन्तले त पहिलेदेखि मासुमंस नखानु नै भनेका छन् । हामीले खाने अनेक आहारा छन् । त्यसमध्ये चिनेर खानु पर्छ ।

 

 

स्वस्थ्य रहन र माङसेवाका लागि सरसफाइमा विशेष ध्यान दिनु पर्छ । कतिपय हाम्रो गाउँमा दिसा, पिसाब र फोहरमैला पनि राम्ररी नियन्त्रण गरिएको पाइँदैन । कतिपय वैज्ञानिकहरु मान्छे बाँदरबाट विकास भएको भन्छन् । त्यस्तै जंगली भएर बस्नु हुँदैन । किनभने हाम्रो मुन्धुमले मानिस पोरोक्मी यम्भामी, मुजिङना खेयङनाको सन्तान भन्छ । माङसा, हाङसा भन्छ । हामी माङसा, हाङसाजस्तै भएर बस्नु पर्छ । हामीले हाम्रा स्वभाव, बानी व्यहोरा पनि सुधार्दै जानु पर्छ । हामी सानो विचार लिएर बसेका हुन्छौं । सानो कुरा पनि सहन नसक्ने, आफ्नो कुरा मात्र माथि लैजान खोज्ने स्वभाव हुन सक्छ ।

 

 

हामी मुन्धुमी मान्यताअनुसार नियमित सेवा गर्दा र दुःख बिमार हुँदा या, फेदाङमा, साम्बा उपकार र जीवन रक्षाका लागि राख्छौंं । उनीहरु मौखिक मुन्धुम प्रयोग गर्छन् । त्यो परम्परादेखि चल्दै आएको छ । तर, सेवा गर्दा उनीहरुले राम्रो सरसफाई नगरी सेवा, चिन्ता बस्छन् । पूजाआजा गरिदिन्छन् । यसो गर्दा गरेको सेवा लाग्दैन । यहाँ त तपाईहरु कति या, साम्बा, फेदाङमा हुनुहुन्छ होला । मेरो अनुरोध छ, तपाईहरु राम्ररी सरसफाइ गरेर सेवा गर्नु होस् । मेनगर युमाइन कुयाम सिङआङ पक आधापेक । युमा तारोभाआङ सेवा आजोक्पा (फोहरी भएर सेवा गर्दा युमा नै घिनाएर छोडेर जालान् । हामीले युमा आउन् भनेर सेवा गरेको) ।

 

 

अहिले माङसेवा गर्ने थुप्रै सेवासाबाहरु छन् । सेवासाबा भनेको हामीले गरेको सेवा माङसम्म पु¥याउने हुन् । उनीहरु हामीले गरेको सेवा, मागेको कुरा माङसम्म पु¥याउने दूत हुन् । सेवासाबाहरुले सानासाना कुरामा पनि ध्यान दिनु पर्छ । सरसफाइमा विशेष ध्यान दिनु पर्छ । शरीर सफा गरेर स्वच्छ मनले सेवा गरिदिए माङले लिन्छ । सेवा लागे सेवा गरेको मान्छेले पनि जस दिन्छन् । गर्नेलाई पनि आत्मा सन्तुष्टि हुन्छ ।

 

 

हामीले आत्म निर्भर बन्न सामान्य कुरामा ख्याल गरे पुग्छ । सेवा गर्दा कम खर्चमा गर्नु पर्छ । यसका साथै हाम्रो संस्कार, संस्कृति, जीवनशैली पनि कम खर्चमा गर्दै जानु पर्छ । अनावश्यक खर्चलाई बचाए नानीहरुको शिक्षा, पालन पोषणमा सहयोग पुग्न सक्छ । हामीले राजा, देवता, इष्टमित्र टार्नु पर्ने हुन्छ । हाम्रा जीवनशैली, संस्कार, संस्कृतिहरु कम खर्चमा ग¥यौं भने हामी आर्थिक रुपमा पनि माथि उठ्न सक्छौं ।

 

 

किरात समाज परम्परागतरुपमा खेतीपातीमा निर्भर छ । हामी धान, मकै, कोदो उत्पादन गर्छौं । तर, राई, लिम्बु समाजमा अन्नलाई कुहाएर जाँड, रक्सी बनाउने चलन अत्याधिक छ । यसरी बनाइएको जाँड, रक्सी खाएर, बाँडेर सक्छौं । पाहुनालाई दिने, खाने गर्छौं । हामीले कैयौं छाक टार्ने अन्न यसरी नै सकिरहेका हुन्छौं । यसले स्वास्थ्य र आर्थिकरुपमा पनि हानी पुग्छ । अहिले केही हाम्रा मान्छेहरुले जाँड, रक्सी बनाउने अन्न बेचेर छोराछोरी पढाउने, लुगाफाटा किन्ने गर्छन् । घर खर्चमा प्रयोग गर्छन् । यसरी हामी आत्मनिर्भर हुन सिकौं।

 

हामीले हाम्रो जीवनशैली सरल बनाऔं । यसले हामीलाई पैसाको अभावबाट बचाउँछ । म युवाहरुलाई मदमदिरा, लागू औषधको कुलतमा नलाग्न अनुरोध गर्छु । अहिलेका युवाहरु नानाथरी गाँजा, चरेस, भाङ, धतुरो खान्छन् । यसले स्वस्थ्य र पैसा दुवैको नाश गर्छ । हामीले हाम्रा सन्तानलाई यस्तो बाटोमा जान दिनु हुँदैन ।

 

 

हामीले केही कार्यहरु उल्टो गर्दै आएका छौं । हाम्रोमा युमा, थेबा थेप्मा गर्दा सुँगुर मार्ने चलन थियो । अझै कसैकसैले गर्छन् । त्यो सुँगुरलाई ठूलो बनाउन निकै समय र धेरै दुःख गर्नु पर्छ । अनि युमाको मुन्धुम माबोहाङ हुँदै चिताके, खल्बलेमा पुगेपछि सुँगुर घोचिन्छ, मारिन्छ । सुँगुर मारेपछि केही बाँढ्यो, खायो अनि फेदाङमालाई पनि भाग दियो । माङगेन्ना गर्दा कुखुरा मारिन्छ । युमालाई चढाइन्छ । ती सबै प्राणी माङका सन्तान हुन् । उसकै सन्तान मारेर दिएपछि माङले बरदान होइन सराप पो दिन्छन् । यो उल्टो कर्म भयो ।

 

 

पूजा गर्ने सुँगुर, कुखुरा जिउँदै बेच्दा धेरै पैसा आउँछ । यसले हामीलाई घर खर्च चलाउन सहयोग पुग्छ । हामी फूल फलेदोले चोखोनितो भएर सेवा गरौं । पाप पनि हुँदैन । माङ पनि खुशी हुन्छ । माङवा, हाङवा, मोक्ष प्राप्त हुन्छ । आत्मामा शान्ति हुन्छ । तपाईहरु जुनसुकै जाति, वर्गको भएपनि बलि पूजा नगर्नु होस् । मेरो यही अनुरोध छ । लिम्बु समुदायमा छोरीको सोतरीत खाने चलन छ । अहिले त छोरीको मूल्य ३० देखि ५० हजार रुपैयाँ पुगेको छ भन्छन् । अनि चार कलम, तीन दशैं भन्यो । ज्वाइँले जग्गा बेच्दै ल्याउँछ । अनि ससुरालीले खान्छन् । पछि छोरी ज्वाइँ सुकुम्बासी हुन्छन् । यसले हामीलाई पाप लागेको छ । छोरीलाई अंश दिनु पर्नेमा हामी बेचेर खाइरहेका छौं । यो उल्टो व्यवहारलाई हामीले सुल्टाउनु पर्छ ।

 

 

छोरीचेली भनेका माङसा समान हुन् । उनीहरुको सोतरीत खानु हुँदैन भनेर महागुरु फाल्गुनन्दले पनि भन्नुभएको थियो । अन्त्यमा, यस कार्यक्रममा काम गर्ने समिति र सम्पूर्णमा मेरो आशीर्वाद छ । यो सेवा तपाईहरुका लागि पनि हो । यसैगरी यस कार्यक्रमलाई दुई दिन सप्तकोशी एफएमले प्रत्यक्ष प्रशारण गरेर सहयोग गरेकोमा वहाँहरुलाई पनि मेरो आशीर्वाद छ । यहाँ सबै जातका भेला भएर बसेका छौं । सबै जाति माङको फूलबारी हो । हामी सबै माङको सन्तान हौं । सम्पूर्णमा मेरो आशीर्वाद मिलोस् । दुःखहरु हटोस्, सुख, समृद्धि मिलोस् भन्ने आशीर्वाद दिँदै बिदा लिन चाहन्छु । आसेवारो।

 

 

साभार ः किरात धर्म ः अहिंसा, शान्ति र मुक्तिको मार्ग