आत्मामा माङको बास छ


(वि.स २०४५ मंसिर १९ गते बिहान इलाम बाँझो–८, भालुटारमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ३५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा अवसरमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनुभएको माङ आशीर्वचन) ः

 

प्यारा भक्तजन, चेलाहरु हो,

यो नोमाङ्गेन्ना कार्यक्रममा उपस्थित भई मेरो उपदेश सुन्न आउनु भएकोमा हर्षविभोर छु । साथै स्वागत गर्दछु, सर्वप्रथम मुहिङगुम अङ्सीमाङ फाल्गुनन्द लिङ्देन भन्दा पहिला आउने महापुरुषहरुको बारेमा तपाईहरुलाई बोध गराउन चाहान्छु । यस धर्तीमा समाज सुधार गर्न आउने महापुरुषहरु धेरै छन् । मुहिङगुम अङ्सीमाङ फाल्गुनन्द हामीलाई सत्य मार्ग दिएर जानु भएको छ । वहाँ यस समाजमा अवतरण हुनुभन्दा अगाडि हाम्रो समाज अँध्यारो मार्गमा थियो । त्यस अवस्थामा हाम्रो पुर्खाहरु भेला भएर झगडा गर्ने, लठ्ठी–मुङ्ग्री चलाउने, लडाई गर्ने, बाझ्ने जुझ्ने गर्दथे । उनीहरुको मुख्य पुरुषार्थ कार्य नै यहीँ थियो ।

 

त्यसैको प्रभावले गर्दा अझ पनि तपाई हाम्रो स्वभाव त्यस्तै नै छ । यी कुराहरुलाई नै कुरीति भनिन्छ । यस्तै कुरीतिले गर्दा हाम्रो समाज ओरालो हिडिरहनु परेको हो । नर्ककुण्डमा डुबिरहनु परेको छ । तर जुन समाजमा त्यहीँ बखत त्यहीँ समाजलाई उकास्नको लागि यस्ता महान महात्मा पुरुषहरुले जन्म लिन्छन् । यसै सन्र्दभमा मुहिङगुम अङ्सीमाङ हाम्रो किरात समाजमा जन्म लिन आउनु भएको हो । वहाँले हाम्रो कुलमा आएर सही मार्ग दर्शन दिएर जानुभएको छ । मार्गदर्शन दुई किसिमका हुन्छन् । सुमार्ग र कुमार्ग ।

 

आजसम्म हामी नर्कमानै डुबिरहेका छौं । हामी उज्यालो मार्गमा हिडिरहेका छौं कि, अन्धकार मार्गमा हिडिरहेको छौं भन्ने कुरा हाम्रो व्यवहार र कर्म गराईबाट प्रष्ट हुन्छ । हाम्रो व्यवहारहरु, कर्म गराईहरुमा सबै राक्षसीपन छन् । यस्तै राक्षसी व्यवहार, कुरीति, कुर्कम व्यवहार गराईले गर्दा हामी ज्ञानको दिव्य ज्योतिको क्षेत्रमा उत्रन सकेका छैनौं । हाम्रा कर्म गराईहरु मध्ये एक उदाहरण लिउँ, हाम्रा छोराछोरीहरु हुन्छन् । ती छोराछोरीहरुमाथि पनि समान दृष्टिले व्यवहार गरेका छैनौं । किनभने आजभोलीको युग प्रवाहमा छोराछोरी जन्माएपछि ती छोराछोरीहरुलाई समान दृष्टिले पालन पोषण गर्नुपर्छ । शिक्षा दिक्षा दिनुपर्छ । एउटा यहीँ कुुरामा हाम्रा असमान व्यवहार देखिन्छ । एकै कोखबाट जन्मेका छोरीलाई पढाउनु बेकार छ भन्ने इत्यादि कुराहरु गरिन्छन् । छोरीलाई अज्ञानतामा भूलाएर राखिन्छ । तर छोरालाई भने सक्दो पढाउँछौ, शिक्षा दिक्षा दिन्छौं । छोरीलाई दवावमा राखिएको एक उदाहारण यही भयो ।

 

दोस्रोमा, पैतृक सम्पतिहरुमा छोरालाई अंश दिईन्छ । तर छोरीलाई अंश दिईन्दैन । तेस्रोमा, छोराको विवाह गर्दा भएको जग्गा जमिन बेची–बेची गरिन्छ तर छोरीको विवाह कर्म चलाउँदा सक्दो सुनौली–रुपौली, ढकौली, सुँगुर, राँगा, जाँड, रक्सी इत्यादि कोशेलीहरु तानेर खाइन्छ । आजभोली सुनौली शीर्षकमा मात्र घटीमा चार, पाँच हजार रुपैयाँदेखि लिएर बीस, तीस हजार रुपैयाँसम्म तान्ने चलन चल्दै गइरहेको छ । त्यतिले मात्र नपुगेर गहना शीर्षकमा १ तोलादेखि ५/७ तोलासम्म सुन तानिन्छ अरु कोशेली कुहेका, गलेका चीजबीजहरु त छँदैछन् ।

 

यसरी छोरीचेलीको विवाह कर्ममा सोतरीत तानेर खाएपछि छोरीको भविष्य के हुन्छ होला ? छोरी भविष्य दुःखनीय छ, दयनीय छ भन्ने ज्ञान हामीमा छैन् । यहाँनेर छोराछोरी दुवैमा समान व्यवहार भएको छ त ? छोरीलाई काटेर, मारेर खान नमिल्ने हुँदा जिउँदै निलिरहेका छौं । हाम्रो आत्मालाई पवित्र राखौं । पवित्र आत्माले छोरा र छोरीमाथि हाम्रो दृष्टि, व्यवहार समान छ कि छैन, राम्ररी नियालेर हेरौं । विवेक गरौं, छुट्याउन सकौं । छोराको विवाह गर्दा जग्गा बेची–बेची गर्ने, छोरीको विवाहमा सक्दो सोतरीत तानी–तानी गर्ने जस्ता कर्म गराईले गर्दा हामी ऋणमा चुर्लुम्म डुब्दै गइरहेका छौं । हाम्रा भावी सन्तानहरु गर्भमा नै सुकुम्बासी भइराखेका छन् । यी रीतिरिवाजबाट हामीलाई फाइदा छ कि नोक्सान छ, सोचौं त ? यी कुराहरु मनमनै हामीले ध्यानमा राख्नु पर्ने हुन्छ । हामीले बितेको समय, हालको समय र पछिको समयको सबै कुराहरु नियाल्न सिक्नु पर्छ, हामीले भविष्य सुधार कसरी गर्ने भन्ने कुराहरु सोच्नु पर्ने दिन आएको छ ।

 

हाम्रो परम्परागत चलन कस्तो छ भने शुभ कार्य तथा दुःख कार्य जुनसुकै कार्यहरु गर्दा पनि सबै कुरीति, कुुसंस्कारका कार्यहरु नै गर्ने चलन चलि आएको छ । हामीले माङ्को सेवा, पूजाआजा गर्दा पनि कुर्कमलाई नै अंगाल्दै आइरहेका छौं । जसले एउटा फूलको थुङ्गा चढाई माङ्को स्मरण, सेवा गर्दा हुने कार्यमा राँगा, सुँगुर, कुखुरा मारेर चढाउँछौं । यस्ता कुरीति, कुर्कम, कुसंस्कारहरुले गर्दा हामी उक्सन सकेका छैनौं । पूजाआजा गर्दा होस्, अर्थात विभिन्न कर्महरु गर्दा कम खर्चबाट पूरा गर्ने तर्फ लाग्नु पर्छ । अर्थात सुधार गर्दै उस्कनेपट्टि जानुपर्छ । फोहोर मैला लुगा धुनलाई साबुन चाँहिन्छ भने यस्ता खराब आचरण, स्वभाव, कुरीति, कुर्कमहरु धुनका लागि हामीलाई ज्ञान चाहिन्छ ।

 

यो मार्ग दर्शन के कस्तो छ, यस धर्मको रस के कस्तो छ, रस चाख्नको लागि सोच्नुपर्ने कुरा आउँछ । हाम्रो कर्म गराईहरु सबै राक्षसी छन् । यस्ता राक्षसी कर्महरुलाई मानवको कर्मतिर लगिनुपर्छ । उज्यालो मार्गमा हिड्नुपर्छ । राक्षसका कथाहरु हामीले सुनेका छौं । राक्षसको कथा आउँदा राक्षसहरुको ठूलो ठूलो सिङ थियो रे, दाह्रा थियो रे भन्ने कुराहरु गरिन्छन् । तर वास्तवमा ठूला–ठूला सिङ दाह्रा भएका राक्षस थिएनन् । हामी जस्तै मानिसहरु थिए । तिनीहरुलाई उनीहरुको स्वभाव र नीतिले गर्दा राक्षस भनिएको हो । किनभने उनीहरुको नीति, कर्म स्वभावमा राक्षसीपन थियो ।

 

अहिले हाम्रो स्वभाव, नीति, कर्महरुमा सबै राक्षसीपन छ । अहिले यहाँ राक्षस अर्को छैन् । डर लाग्दो सिङ, दाह्रा भएको जन्तु झै हामी डर लाग्दो राक्षस बन्न पुगेका छौं, त्यो भन्दा अर्को डरलाग्दो राक्षस हामीले खोज्ने कुरै आउँदैन । यस्ता कुराहरु अहिले हाम्रो समाजमा गएर सम्झाउँन थाल्यौं भने उल्टै हामीलाई फटाहा बनाउँछन् । त्यसो भन्दैमा हाम्रो समाजलाई बाटो देखाउन पछि हट्नु हुँदैन् । यसरी फटाहा भन्दै गए पनि फाल्गुनन्दको मार्ग दर्शन असल मार्ग दर्शन नै हो । भन्ने कुरा हाम्रा मानिसहरुलाई सम्झाउँदै, बुझाउँदै जानुपर्छ ।

 

हामी मिहिनेती पनि छौं, तर हाम्रो परिश्रमलाई सदुपयोग गर्न सक्दैनौं । पशुपालन सम्बन्धमा चर्चा गरौं । हामी सुँगुर पाल्छौं, सुँगुर पाल्दा कति दुःख कष्ट भोग्छौं । सुँगुरको आहारा खोज्दा झरी, बादल आँधी–बेहरी, घाम–पानी, जाडो–गर्मी सहेर, भीर पहरा भाहारेर खोजेर ल्याउँछौं ।
विशेष गरेर यो काम महिलाहरुमा आउँछ । जंगलबाट खोजी ल्याएको आहाराले मात्रा पुग्दैन । त्यसमा अन्य भूस–पिठो चाहिन्छ । खाई नखाई अन्न पनि सुँगुर खुवाउँछौं । यसरी बडो कष्ट गरेर सुँगुर पाल्छौं । हुर्के बढेपछि देवरी, जानपा बोलाएर युमा थेबाको पूजा गर्दा त्यहीँ सुँगुर बलि चढाउँछौं । किनभने हाम्रो परम्परागत नियम नै छ, सुँगुर मार्दा देवारी जानपा विना मार्नु हुँदैन । अनि त्यो सुँगुर पूजा छुट्याई दिइन्छ ।

 

गाउँघरका इष्टमित्रलाई पनि परम्परा अनुसार अलि अलि बाँडिन्छ । अरु सबै खाइ हालिन्छ । पूजामा चढाएको मासु बेच्नु हँुदैन भन्ने परम्परागत नियम अनुसार एक पैसाको पनि विक्री गरिन्दैन । त्यसैले त्यत्रो दुःख गरेको परिश्रम १, २ छाकमा खाएर नै सकिदिन्छौं ।

 

अब यो व्यवहारको रुप के कस्तो छ भनेर पवित्र आत्माले नियालेर हेरौं । एकातिर आर्थिक अवस्थामा रत्ति पनि प्रयोगमा नआई पनि उल्टै नोक्सान भइरहेको हुन्छ । अर्को तिर माङ्लाई बलि चढाउँदा उल्टै पापको भागी बन्दै गइन्छ । स्वच्छ, पवित्र रुपले माङ्को सेवामा अपवित्र, फोहोर, रक्तकुण्डद्धारा माङ्को सेवा गरिन्छ । सुँगुरको पालनपोषण गराई ठीक छैन् । त्यसैले हाम्रो स्वास्थ्यमा उल्टै खराब हुन जान्छ । हामीलाई राम्रो होस, कोही दुःख विमार नहोउँ अन्न–धन्नको सह बढ्दै जाओस भन्नको खातिर माङ्सेवा गछौं । तर झन अर्थ व्यवस्थामा हानी हुँदै जाने र स्वास्थ्यमा पनि हानी पुग्दै जाने काम मात्र गरिरहेका छौं । यस्तै काममा मात्र तपाई हाम्रो जोस्, जाँगर, साहस बढेर आउँछ । हामीलाई राम्रो काममा जोस्, जाँगर आउँदैन, नराम्रो काममा मात्र आउँछ । जुनसुकै काममा पनि राम्रो काममा तपाई हाम्रो समाजलाई जोस्, जाँगर चल्दैन् ।

 

हाम्रा सत्यहाङमा धर्म अनुयायी समाज सुधारकर्ता माङ्सेवासावाहरुको स्वभाव पनि विग्रिएर जाँदैछ । उनीहरु जहाँ भेटी बढी पाइन्छ, त्यहाँ मात्र खुशी हुन्छन् । यसरी माङ्सेवासावाहरु हाम्रो डुबेको समाजलाई कसरी उकास्दै जाउँ भन्ने उद्देश्य नलिई धेरै दान, दक्षिणा, भेटीमा लोभिएका छन् । तर माङ्सेवासावा वर्गको काम, कर्तव्य यो होइनन् । कसरी हाम्रो डुबेको समाजलाई उकास्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ । भेटी सोहोरेर, दान दक्षिणा सोहोरेर, टपरी सोहोरेर मुक्ति पाइन्दैन यहीँ रुपले हाम्रा फेदाङमा, विजुवा, साम्बाहरुले पनि कसले ठूला–ठूला सुँगुर, कुखुरा, बाख्रा, राँगा आदि पूजामा बली चढाउँछन् । त्यहाँ मात्र पूजा गर्न रुचाउँछन् । माङ्को सेवा, पूजा गर्दा फूलको थुङ्गाद्धारा लाखौं सेवा पुग्छ ।

 

जुन किसिमबाट हामी माङ्को सेवा भक्ति गछौं । हाम्रो आ–आफ्नो कर्म गराई अनुसार फल, बरदान दिन माङ्लाई पनि कर लाग्छ । विभिन्न जीवजन्तुहरुको बली दिएर, हत्या गरेर, रक्तपातद्धारा माङ्को भक्ति पूजा गरिन्छ भन्ने राक्षसी कर्मद्धारा माङ्को सेवा, भक्ति पूजा गरिन्दैछ भन्ने बुझ्नुपर्छ । यसरी राक्षसी कर्मद्धारा गरिएको पूजाको प्रभावले माङ्बाट राक्षसी ज्ञान पाइन्छ । त्यसैले झन् हामीलाई राक्षसी स्वभाव, कर्महरु बढ्दै जान्छ । मानवमा हुनुपर्ने गुणहरु हामीमा हुँदैन । हामी पूर्ण रुपले डरलाग्दो राक्षस बन्दै जानेछौं । अहिंसात्मक रुपबाट माङ्को सेवा, भक्ति गर्दै गर्यौ भने मात्र मानवीय ज्ञान, गुण पाउँदै जान्छौं । जब हामीमा मानवीय ज्ञान प्राप्त हुन्छ तब आफसेआफ हाम्रो समाज सभ्य भएर जानेछ ।

 

हामी सूर्यलाई माङ् सम्झि सूर्यको आरधना गर्छाै । किन भने सूर्य पनि माङ् कै अंग हो । सूर्यले संसार उज्यालो पार्छ । त्यसरीनै अन्धकारलाई माङ सम्झि अँधेरी रातको अन्धाकारमय ज्योतिको अराधना, भक्ति, सेवा गर्छौं भने हाम्रो आत्मामा अन्धकारले नै बास लिन्छ । बली पूजा भनेको यस्तै अँधेरी रातको अन्धकार हो । बली पूजा गर्दा हाम्रो ज्योतिर्मयी आत्मा ज्ञानको ढोका बन्द भएर अन्धकारमय अज्ञानको ढोका खोलिन्छ ।

 

 

जसरी अँधेरी रातको अन्धकारमा हामी केहीँ देख्न सक्दैनौं, केही गर्न सक्दैनौं, केही गर्न खोजे भीर तिर लड्छौं, त्यस्तै बलि पूजा गर्दा अज्ञानता, राक्षसी कर्महरु माङ्बाट राक्षसी कर्म नराम्रो कर्म हो । त्यसैले नराम्रो कर्म गरेपछि त्यसको फल नराम्रै हुन्छ । हामी पार तर्न सक्दैनौं । यो नै पाप हो, यो नै दण्ड हो । त्यसैले बलि पूजा गर्दा माङबाट हामीले दण्ड पाउँछौं । यस्तो पाप कर्मबाट मुक्ति पाउँने कर्मको खोजी गरौं, मुक्तिको बाटो खोजौं । हाम्रो समाजमा थरीथरीका भक्तजन साधु सन्तहरु पाइन्छन् । तर सबैले कुकर्म गरिरहेका पाइन्छ । हाम्रो समाज कसरी उकासौं, सुधारौं भन्ने ध्यान कसैमा छैन् । मैले दिइएका यी सल्लाहरु ठीक छ छैन भनि तपाईहरु आफै पर्गेल्नुहोस् । किनभने प्रत्येकको आत्मामा माङ्को बास छ । असल र खराब चिन्ने शक्ति दिने माङ् छ । त्यो माङ्को खोजी गर्नुहोस् । सेवारो ।।