डि.बी. लिङ्दम ‘सेसेमी’
आधुनिक समाजका मानिसहरु भौतिक तथा प्राविधिक जीवन यापन गरिरहेको देखिन्छ । मानिसहरु व्यस्तता तथा सजिलो जीवनयापनका वहानामा आफ्नो मौलिकता र परम्पराबाट भागिरहेका छन् । जसले गर्दा नयाँ पुस्ताहरु आफ्नो मौलिक धर्म, भाषा, संस्कृति र परम्परालाई भूलेर पराइ धर्म, भाषा, संस्कृतिमा आकर्षित हुन थालेका छन् । मानिसहरु भौतिक सुख तथा आनन्दलाई मात्र उपलब्धि हो भन्ने विश्वासमा हिजो र भोलिका कुरालाई भूलेर बसेको देखिन्छ । यसले सिंगो हाम्रो समुदायलाई मौलिक अस्तित्व तथा पहिचानविहीन हुने मार्गमा धकेल्दै गर्दा यस विषयले झस्काए पनि यसबारे चिन्तन गर्न सबैले कमै मात्र फुर्सद निकालेका छन् । यसर्थ, अबका यूवा पुस्ताले आफ्नो मौलिक परम्परा, भाषा, लिपि र संस्कृतिको संरक्षण र उत्थानका लागि चासो राख्ने हो कि ? यस विषयमा चासो राख्दा भौतिक जीवन तथा जगतका सबै सुविधाहरु त्याग्नु पर्ने र आफ्नो जीवनका सबै समय त्यहीँ खर्चिनु पर्ने होइन भन्ने कुरा बुझ्नु पर्दछ ।
संस्कृतिको अर्थ
संस्कृति आफैमा गहन विषय हो । संस्कृति भन्नाले केवल नाच्ने–गाउने कार्यलाई मात्र बुझ्ने गरिन्छ । तर, संस्कृतिको अर्थ यतिमा मात्र सीमित रहँदैन । यस विषयमा केही विद्वानहरुका मतलाई हेरौं । संस्कृति कुनै पनि जाति तथा राष्ट्रको सर्वाङ्ग प्रतिबिम्ब देखिने शिल्प, विचार, दर्शन आदिको परिष्कृत रुप अथवा अनन्त पूर्वदेखि आचार विचार आदिमा विकसित हुँदै आएको समाजको यथार्थ स्वरुपनै संस्कृति हो ।१ संस्कृति मानव जीवनका समग्र क्रियाकलाप समेट्ने सामाजिक पद्धति हो ।२ मान्छेले सिकेर जुन ज्ञानराशी उपलब्ध गर्छ त्यो संस्कृति हो । संस्कृतिको अर्थ संस्कार हो परिष्कार हो । संस्कार नभएको, परिष्कार नभएको मान्छे असंस्कृत कहलाउँछ ।३ संस्कृतिका आधारमा नै एक व्यक्ति अन्य व्यक्तिहरुबाट, एउटा समूह अन्य समूहहरुबाट र एउटा समाज अन्य समाजहरुबाट फरक देखिन सक्छ । संस्कृतिको चरम अवस्थानै सभ्यता हो । संस्कृति अन्तत सभ्यतामा परिणत हुन्छ र मर्छ ।४
यी विचारहरुलाई मान्ने हो भने वास्तवमा संस्कृतिले ठूलो स्थान ओगटेको छ । सुरुदेखि आजसम्मका मानवीय संरचनाहरु, समाज, राष्ट्र र व्यक्तिको पहिचान खुल्ने, सभ्यता खुल्ने मानिसद्वारानै निर्मित पद्धतिनै कालान्तरमा संस्कृतिको रुपमा स्थापित हुन्छ भन्ने बुझ्न सकिन्छ ।
किरात संस्कृति
किरात संस्कृतिको अध्ययन गर्न कठिन छ । किरात संस्कृतिलाई जान्नुअघि किरात जातिका बारेमा बुझ्न आवश्यक हुन्छ । किरात जाति भनेका को हुन् ? यी जातिको विकास कसरी भयो ? भन्ने सन्र्दभमा पाइएका विचारहरुसँगै मुन्धुममा वर्णित मतहरु अध्ययन गर्न आवश्यक छ । यहाँ किरात जाति र विकासका बारेमा उल्लिखित केही मतहरु प्रस्तुत गरिन्छ । इ.पू.२५७५ मा मिश्रका राजा स्नेहफेरुले प्रथम पिरामिड बनाउँदै थिए । त्यसै बेला पर्सिया खाडीको उत्तरी समभूमिमा बस्नेलाई सौमरवंश (सुमेरियन) भन्दथे । जसलाई मंगोल किरात भनिन्छ ।५ सौमरवंशी र असुरवंशीको पुर्खा किरात नै भएको बताउँछन् । जसका दर सन्तान थर उप थरबीच युद्ध, उतार चढाव, उत्थान, पतन समयको दौडानसँगै त्यहाँका किरातीहरुको भाषा, लिपि, संस्कृति र सभ्यताहरु प्राचीन बन्दै गयो । उनीहरुका नामवाची, पर्यायवाची अपभ्रंश हुँदै सकल रुप नै लोप हुने अवस्थामा आइपुगेको बताउँछन् ।६ सातौं शताब्दीको शुक्ल यजुर्वेद अनुसार किरातीहरु पर्वतीय प्रदेशका अनार्यहरु थिए । किर अत वा भिरपहरामा बस्ने आदिम जातिहरुनै किरात भनेका छन् । उनका अनुसार अर्थवेदमा किराती कन्याले सुनका खुर्पाले पहाड पर्वतमा जडिबुटी खनेको चर्चा गरिएको उल्लेख छ ।७
हिमाल पर्वतमा बसेर मानव सभ्यताको सुरु गर्ने जतिहरु नै किरात हुन् भनी ठोकुवा गर्छन् ।८ इमानसिं चेम्जोङका अनुसार इ.पू. ३००० तिर मंगोलहरुको एउटा ठूलो दलले पूर्व दिशा आई चीन राज्य स्थापना गरे । संसारको मानव सभ्यताको प्रमुख केन्द्र मध्य चीनको वर्तमान तक्लामकान (ताँलेक्यनमुकान) र गेबीमरुभूमिमा मौसम परिर्वतन हुँदा त्यहाँका सभ्य किरातीहरु प्रकृतिको परिवर्तित शक्तिको सामु दुःख सामना गर्दै आश्रयको खोजीमा हिडेका मंगोलियनहरु दुई थरिका किरातहरु थिए । जसले युरोप केन्द्र बनाई विश्व थर्कमान गरेका थिए । यिनीहरु युरोसिया, अफ्रिका, उत्तरका देशहरु क्रिट, ग्रीक, साइप्रस, असुरिया, वावेरु फेरु, सुमेरु स्थानहरुमा सीमित रहेको बताइएको छ ।९ पाषाण युगीय मंगोलियनहरु तिब्वतदेखि हिमालका काख हुँदै प्राचीन नेपाल खाल्डोमा प्रवेश गरेको उल्लेख छ ।१०
मानव उत्पत्ति र विकासका सन्दर्भमा किरात जातिका बारेमा विभिन्न भाषा शास्त्री, मानवशास्त्री र इतिहासकारहरुको मत मिल्दाजुल्दा देखिएपनि आ–आफ्नै तरिकाले व्याख्या गरेको पाइन्छ । किरात जातिको सन्र्दभमा किरात साम्जीक मुन्धुमले गरेका वर्णनलाई छोटकारीमा अध्ययन गरौं ।
मुन्धुममा किरात जाति
किरात जातिको उत्पत्ति र विकासका सन्दर्भमा किरात साम्जीक मुन्धुमले वर्णन गरेको पाइन्छ । मुन्धुम अनुसार मुजिना खेयोङनामा नामक युमामाङको प्रतिरुप निराकर सुनसान ब्रह्माण्डमा अवतरण भइन् ।११ उनी जोवन भएपछि शरीरमा सुसुवेङ लालावेङ केजङ सम्मित लीन भई गर्भवती हुन पुग्छिन् । र, सावा युक्पुङगेम्बाको जन्म हुन्छ । सावा युक्पुङगेम्बा र थोसुलुङ फियामलुङको सन्तान सुवामभेवाको जन्म हुन्छ । सावा युक्पुङगेम्बाले बहुविवाह गर्छ । उनको दोस्रो श्रीमती सुसारिमाबाट साङदाङखेवा र तेस्रो श्रीमती मुसुलुङ मुगपलुङमाको सन्तान लाहङदङना र कान्छी श्रीमती फान्दारीको कोखबाट लिङदाङखेवा नाम गरेको सन्तानको जन्म हुन्छ । साङदाङखेवा र लिङदाङखेवाबाट जन्मिएका सन्तान लासामीसा (चन्द्रवंशी) नामकरण हुन पुग्यो भने सुवामभेवा र लाहादङनाबाट जन्म भएका सन्तान सावायेहाङ नामयाप्मीसा (सूर्यवंशी) किरात जाति भए ।
किरात साम्जीक मुन्धुममा तागेरा निङवाभूमाङको सृष्टिकै कान्छो सन्तान मेन्छाङगेन नामयाप्मीसा किरातको जन्म सिन्युकेन मुदेन मुनातेम्बेमा भएको उल्लेख छ । नामयाप्मीसा, जसले यो प्रकृतिको पालना र आस्था सेवा गर्ने प्राचीन जाति, वर्ग नै सावायेहाङ किरात हुन् । किरात जातिको विकासक्रम सेन्छेई फक्ताङलुङको काख सिन्युकेन मुदेन मुनातेम्बेबाट भारतीय उपमहाद्वीप समुन्द्र तट हुँदै विश्वमा फैलिएको साम्जीक मुन्धुममा उल्लेख भएको पाइन्छ । इतिहासकार, मानवशास्त्री र मुन्धुमीय आधारहरुलाई विश्लेषण गर्ने हो भने किरात जातिको उत्पत्ति र विकास तथा सभ्यताको विकास सिन्युकेन मुनातेम्बेमानै रहेर गरे । तर, पछि मुनातेम्बेमा आइपरेका प्राकृतिक तथा दैविक प्रकोपका कारण त्यहाँका मानव समुदाय र उनीहरुको सभ्यतामाथि विचलन मात्र गरेनन्, अस्तित्वमा संकट पर्न गयो । त्यसमा बच्न केही सफल भएकाहरु अनुकूल बासस्थानको खोजी गर्दै विभिन्न क्षेत्रमा आवाद गर्दै जाँदा यो ब्रह्माण्डको विभिन्न देशहरुमा किरातीहरु छरिएर रहेको देखिन्छ । यो ब्रह्माण्डमा मानव विकास र सभ्यताको शुरु गर्ने प्राचीन जातिहरु नै किरात जाति हो भन्ने प्रमाण पर्याप्त छन् ।
इतिहासले किरात जाति र संस्कृति व्यापक रहेको स्पष्ट हुन्छ । नेपालमा बसोबास गर्ने आदिवासीहरु मात्र नभएर यस भूगोलमा बसोबास गर्ने आदिवासीहरुले निर्माण गरेका कला, कौशल तथा पहिचानहरु नै किरात संस्कृति हुन् । जसले आजसम्म किरात जातिहरुलाई अन्य जातिहरु भन्दा बेग्लै आदिवासी जातिका रुपमा विश्वमा परिचित गराएको छ ।
किरात संस्कृतिको चर्चा गर्दा किरात संस्कृति प्राचीन संस्कृति भन्ने कुरामा दुईमत छैन् । व्यापक रुपमा किरात सांस्कृतिकको खोज अनुसन्धान हुन त बाँकी नै छ । किरात संस्कृतिको शुरुवात र विकासको सन्दर्भमा मानवशास्त्री, समाजशास्त्री र इतिहासकारहरुले सतही रुपमा गरेको अध्ययननै पूर्ण हुन सक्दैन । किरात साम्जीक मुन्धुममा वर्णन भए अनुसार किरात संस्कृतिका जननीका रुपमा दुई नारी प्रतिरुप मुजिना खेयोङना र खापुना मरङनाका साथ सावा युक्पुङगेम्बालाई उल्लेख गरेको पाइन्छ । मुजिना खेयोङना, जसले मानवकालको शुरुवातमा नै किरातीहरुलाई बोल्न, हिड्न, पहिरन लगाउन, नाँच्न र गाउन सिकाएको पाइन्छ । जसलाई मुन्धुमी भाषामा पान्लोतेलोते इन लोतेलोते भनिएको छ ।
सावा युक्पुङगेम्बाले विभिन्न खेल कौशलसँगै जन्म सृष्टिका संस्कारहरुको शुभारम्भ गरेको पाइन्छ । यसैगरी खापुना मरङनाले मानिस भएर यस लोकमा जन्मिसकेपछि गर्न हुने र गर्न नहुने कार्यसँगै जन्म अघिदेखि मृत्युपछिसम्मका कर्म संस्कारहरु सिकाएकी थिइन् । किरात संस्कृति र सभ्यता विकास हुँदै जाँदा विभिन्न कालखण्डहरुमा प्राकृतिक, सामाजिक, आर्थिक, राजनीतिक र धार्मिक अतिक्रमणको शिकार बन्नुपरेको थियो । ती संस्कृतिहरुलाई पुनः संरक्षण र सम्बद्र्धन गर्नका लागि किरात कुलमा बेला बेलामा महा पुरुषहरुको जन्मवतार हुँदै आएको छ ।
किरात संस्कृतिलाई बुझ्नका लागि निम्न दुई तहमा अध्ययन आवश्यक छ ।
१. किरात धार्मिक संस्कृति
२. किरात सनातन संस्कृति
किरात धार्मिक संस्कृति
किरात धर्म ग्रहण गरेका किरात तथा गैर किरात जातिहरुले पनि यस किरात धार्मिक संस्कृतिलाई अपनाउने गरेका छन्् । किरात धर्ममा विधिवत प्रवेश भएपछि धार्मिक विधि अनुरुप गरिने क्रियाकलापहरु यस धार्मिक संस्कृतिभित्र पर्दछन् । किरात धार्मिक संस्कृति र सनातन किरात संस्कृतिबीच केही भिन्नता जस्तो देखिए पनि यी सबै संस्कृति समष्टिमा किरात संस्कृति नैै हुन् । धार्मिक संस्कृति अन्तर्गत माङलाङ, तुङगेलाङ, थेबालाङ, युमालाङ, नाहेनलाङ, पहिरनमा तागा, मेख्ली साथै मुन्धुमवाचन गरेर गरिने पनि कर्म काण्डहरु पर्दछन् ।
किरात सनातन संस्कृति
किरात आफैंमा एउटा सभ्यताको नाम हो । किरात सभ्यता भित्र कुनै एउटा जाति र सभ्यतालाई मात्र समेटिएको छैन् । विभिन्न जात, उपजातहरुमा विभाजन भएर रहेका तमाम आदिवासीहरुले निर्माण गरेर मान्दै र मनाउँदै आएका संस्कृतिहरु यस अन्र्तगत पर्दछन् । यस संस्कृतिमा सामाजिक बसोबास र स्थानको प्रभावका कारण जाति पिच्छे बेग्ला–बेग्लै सनातन संस्कृतिहरु पाइन्छन् । किरात संस्कृति र सभ्यता व्यापक र प्राचीन रहेको छ ।
किरातको भेषभूषा र विकास संक्षेप
किरात जातिहरुले आफ्नो परम्परा र मौलिक पहिचान झल्कने भेषभूषा पहिरने गर्दछन् । ती भेषभूषाको शुरुवात र विकासको सन्दर्भ यहाँ छलफल गर्ने प्रयास गरिएको छ ।१२
तेल्लाचाङ ः सृष्टिकालको मानव सभ्यतामा देखिएको वनस्पतिका पात पतिङ्गर लहराको झ्याउ, रुखको बोक्राले तयार पारी लगाइएको पहिलो परिधान थियो ।
फेवा ः यो मानव चेतनाको विकास भएपछिको पुरुष परिधान हो । यो भाङग्रे सिस्नुको धागोबाट बुनेर तयार पारिएको कपडाबाट तयार पारिन्छ । पुरुषले कम्बरमुनि कन्दनी बाँधेर त्यसमा सिउरेर यो पहिरन लगाउने प्रचलन रहिआएको थियो । यो एक प्रकारको धोती जस्तै परिधान हो ।
हेम्बारी ः यो महिलाले लगाउने परिधान हो । पुरुष फेवासँगै अस्तित्वमा आएको यो परिधान महिलाको वक्षस्थलदेखि घुडासम्म ढाक्ने हुन्छ । जो अहिलेको लुङ्गी वा तौलिया बेरे जस्तै एक फन्को बेरी लगाइन्छ । यो धिमाल जातिमा प्रचलित पेटानी झै लगाउने गरिन्छ ।
सर्धके ः यो महिलाले लगाउने हेम्बारी पछिको अर्को विकसित रुप हो । घाँटीदेखि तल खुट्टाको गोली गाँठीसम्म लगाइने यो परिधान पाखुरा नछोपी सोलोडोलो दुवैपट्टि पातलो तुनाझैं सिलाइएको हुन्छ ।
पहके ः पुरुषले लगाउने यो परिधान फेगुवापछिको परिमार्जित रुप हो । हेम्बारी जस्तै पूर्ण शरीर ढाक्ने गरी लगाइने यो परिधान नसिलाई तयार पारिएको हुन्छ । यो अगाडिपट्टि गाँठो पारी पिठ्यू पछाडि कुम्लो बोकेको जस्तो देखिन्छ ।
हाङजाङ ः यसलाई राजसी परिधान पनि भनिन्छ । किराती राजा यलम्बरहाङले पहिरिएको परिधनालाई हाङजाङ भन्ने चलन रहिआएको छ । किरात सभ्यतामा यो लोकप्रिय परिधानका रुपमा ग्रहण गर्ने गरिएको छ ।
सुमजाङ ः यो पनि हाङजाङसँगै समान अस्तित्वमा परिस्कृत भई निर्माण गरिएको महिलाले लगाउने परिधान हो । पूर्ण रुपमा शरीर ढाक्ने गरी लगाइने यो घाँटीदेखि हातको बहुला हुँदै खुट्टाको गाँठीसम्म पहिरिने गरिन्छ । सर्धकेको परिमार्जित यो परिधान खुट्टाको मुनि बिटको वरिपरि मुजैमुजाले बुट्टा भरिएको फन्को मारिएको हुन्छ ।
तागाबा ः पुरुषले पहिरिने यो परिधान किरात धार्मिक परिधानका रुपमा लिइन्छ । धार्मिक सभा, सम्मेलनहरुमा यो पोशाकको अनिवार्यता रहन्छ । हाङजाङकै अर्को परिमार्जित र विकसितरुपमा तागावा रहेको छ । पूर्ण शरीर ढाक्ने गरी निर्माण गरिएको यो परिधान दायाँ बायाँ शरीरको सोलोडोलो एकएक पाटो पालैपालो गरी पहिरिनु पर्छ । यसको साथमा देब्रे काँधदेखि मुनि झारिएको कम्बरको दायाँ भागमा करिब ४÷५ इन्च चौडाई भएको पाङफइ लगाइन्छ । त्यसमाथि सोही नापकै युम फइ कम्बरमा बेरेर कम्बरको अघिल्लो नाइटो अघिको देखिने भागमा जन्तर हाराजस्तो आकारमा देखिन्छ । अझ शिरमाथि भने यसै कपडाको हाङसाम थाकुक र त्यसलाई युमफइले आँखीभांै र कानदेखि माथि वरिपरि बेरेर एक फन्को मारी सुर्कने गरी बाँधिने गरिन्छ र पछाडि त्यति कै छोडिने गरिन्छ ।
मेख्ली ः यो परिधान किरात धार्मिक महिलाहरुले लगाउने परिधानका रुपमा हो । धार्मिकसभा सम्मेलनहरुमा यो पोशाकको अनिर्वायता रहन्छ । सुमजाङ परिमार्जित मेख्ली नारी परिधान हो । मेख्ली पूर्णरुपमा शरीर ढाक्ने हुन्छ । यो परिधान कम्बरदेखि मुनि खुट्टाको गाँठीदेखि माथिसम्म डबल चौडाइमा अग्रभागमा चराको पखेटा आकारमा पछाडि पट्टिबाट फुकाएर दायाँ वायाँ कम्मरको भागबाट एकएक फोल्डिङ गरेको हुन्छ । मेख्लीमा फःई (पटुका) बेर्ने गरिन्छ ।
किरात जातिको पहिरनको विकास हुँदै जाँदा दौरा सुरुवाल, साडी चोलोसम्म आइपुगेको छ । किरात जातिले पहिरने परिधानहरुको विकाससँगै यसको प्रभाव सबैजाति र समुदायमा बढेको छ ।
किरात मौलिक प्राचीन सांस्कृतिक खेलहरु
किरात जातिमा थुप्रै परम्परागत र मौलिक पहिचान झल्कने खेलहरु रहेका छन् । यहाँ ती खेलहरुको शुरुवात र विकासको सन्दर्भ चर्चा गर्ने कोसिस गरिएका छ ।१३
धनु काँड हान्ने (तोङ लेप्मा) ः धनु काँड हान्ने खेल पनि किरात जातिमा प्रचलित एक प्राचीन खेल हो । यो खेल धार्मिक महत्वसँग पनि जोडिएको छ । माङगेन्नापछि नाहेन नाच्दा पनि धनु काँड बोकेर नाच्ने गरिन्छ ।
पक्लुङ लेप्मा (छेलो हान्ने) ः छेलो हान्ने खेल मुन्धुममा नै वर्णित छ । मेला, हाट बजार, मेलोपात र चाडवाडमा यो खेल खेलिन्छ । ढुङ्गा फाल्ने यो खेल किरात जातिहरुले खेल्ने मौलिक प्राचीन खेल हो ।
लोकापिङ ः यसलाई हाइजम्प, लङजम्प भन्ने गरिन्छ । किरातहरुमा उफ्रिने, नाँघ्ने खेल परम्पराबाटनै रहिआएको हो ।
लाङकक्पे ः बाँसको खुट्टा जोडेर हिड्ने खेललाई लाङकक्पे भन्ने गरिन्छ । यस खेलमा ओखटे भएको बाँसलाई दुबै खुट्टामा एक एक वटा टेकेर हिड्ने गरिन्छ ।
खम्सेवा (गोट्टी) ः गोट्टी खेल गणितीय खेल हो । यो खेल गोट्टीको गन्ती गरेर खेल्ने गरिन्छ । यो खेल समूहमा सोम सोम भएर खेल्ने गरिन्छ । यहीँबाट गणना अर्थात् हिसाबको प्रारम्भ भएको मान्न सकिन्छ ।
नाम्मा (लाप्पा) ः लाप्पा खेल्ने यो खेल किरात जातिमा प्रचलित परम्परागत खेल हो । यस खेल बहादुरी देखाउनका लागि निक्कै प्रचलित मानिन्छ ।
सरन्दी ः चिल्लो चेप्लेटी ढुङगा, चिल्लो नागीमा बाँसको खपेटामा बसेर सुलुतुतु खेल्ने गरिन्छ । यो खेल निक्कै मज्जा आउने तथा जोखिम पनि हुन्छ । यहीँ खेलको विकास विकसित रुप खोलाको बेगमा पनि खेल्ने गरिन्छ ।
लठारो तान्ने ः यो खेल दुई समूहमा खेलिन्छ । खेलमा बीचमा सीमाना राखेर लठारो तान्ने गरिन्छ । जुन समूहले तानेर सीमाना कटाउँछ, उसैको विजय हुन्छ ।
फाः लिङमो ः यो बाँच चढ्ने खेल हो । खेलका लागि बाँसमा तेल दलेर गाढ्ने गरिन्छ । उक्त बाँसको टुप्पोमा पुरस्कार राखिएको हुन्छ । बाँसमा खाली खुट्टाले चढेर पुरस्कार छुनु पर्ने हुन्छ । योे खेल विशेषतः मेलाहाट त कतै कतै विवाह उत्सवमा पनि खेल्ने गरिन्छ ।
वाःचाक्मा (पौडी) ः किरात समुदायको प्राचीन खेलहरुमा वाःचाक्मा पौडी पनि एक हो । खोलामा जमिएको पानीमा खेलिने यो खेल आज भोलि पौडी पोखरीमा पनि खेल्ने गरिन्छ ।
किरात सभ्यतामा नारी शृङ्गार÷आभूषण वा गरगहना
किरात सभ्यतामा बहुमूल्य धातुहरुको आफ्नै किसिमको महत्व र विशेषता रहिआएको छ । मुन्धुममा युमामाङले नारी स्वरुप शोभायन देखिनु वा कला र सीपहरुमा पनि नारीहरुलाई नै विशेष जोड दिइएको पाइन्छ । युमामाङ कै अवतार खाप्पुना मरङनाले यी सबै आभूषणहरुको धारण गरेकी थिएन् । मुन्धुममा साम्याङसामा अम्लेङमानु युप्पासामा फरेङमानु भनी चर्चा गरिएको छ ।१४ ती आभूषणहरुको धारण गर्ने विविध कर्म संस्कार सिकाएको र अहिले विकास हुँदै यहाँसम्म आइपुगेको पाइन्छ । केही किरात गरगहनाहरु ः
१. नेस्से÷चेप्टे सुन, २. इच्छे÷रेजी, ३. थोङ्ग्री÷ढुङ्ग्री, ४. पिचीकिनी÷काने मुन्द्रे, ५. नेजिक्सो÷मुन्द्री, ६. निरिक्वा÷कुण्डल, ७. तोक्वाफूङ÷टीका, ८. लावाखेक्पा÷जून किलिप, ९. काउ–हारा, १०. सुलाती कङ्लेड÷कण्ठा, ११. साम्याङ फूङ÷सुनको फूल, १२.पोना÷माला (कान्धी), १३. हुकपाङ गी÷चुरा, १४. तिङलाइङ÷तिलहरी, १५. छोलाने÷काँढेचुरा, १६. लाङ्वाङ्गी–कल्ली, १७. याङईच्छे÷सिक्कामाला, १८. शिरबन्दी ।
किरात सभ्यातामा देखिएको मौलिक हात हतियारहरु
किरात जातिमा हातहतियारहरुको आफ्नै मौलिक विशेषता र पहिचान रहेको छ । धार्मिक, सामाजिक कार्यहरुमा यी हात हतियारहरुको आ–आफ्नै महत्व रहेको छ । केही किरात समुदायमा प्रचलित हातहतियारहरु निम्न अनुसार रहेका छन् ।
१. लि÷धनु, २. तोङ÷का, ३. खोख÷ढाल, ४. फेजा÷खुकुरी, ५. फेजासा÷कर्दा, ६.चक्का वा मिजाक÷चकमक, ७. फियाथुप्पे ÷तरबार, ८. तिम्मक÷बन्दुक, ९. नाम्सुमा÷सुर्दशन चक्र, १०. फेन्जोदेत÷कवच, ११. ओदो–गुहेत्रो, १२. सुम्जुली÷त्रिशुल, १३. नाम्धुप्पे लाधुप्पे–चुप्पी÷छुरी, १४. खुर्मी, १५. वाफे÷खुर्पा, १६. तिम्मक÷भरुवा बन्दुक आदि रहेको छन् ।
किराती चाडपर्वहरु
किरात समुदायमा थुप्रै चाडपर्वहरु रहेका छन् । जसको बेग्लै मौलिक अस्तित्व रहेको छ । ती चाडपर्वहरु निम्नानुसार रहेका छन् ।१५
१. सिसेक्पा तङनाम÷साउने संक्रान्ति– साउन १ गते
२. महागुरु जन्मजयन्ती कात्तिक २५ गते
३. मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ नोमाङगेन्ना तथा उभौली पर्व – मंसिर १८ –२१ गते
४. कक्फेक्वा तङनाम÷माघे सक्रान्ती – माघ १ गते
५. खिबेक्वा याक्वा सेवा÷उधौली पर्व– माघ ५–७
६. समाज सुधार दिवस – बैशाक २४ गते
७.मुहिङगुम अङसीमाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्मोत्सव – फागुन ३ गते
किरात संस्कृतिभित्रका सभ्यता
मध्य चीनको वर्तमान तक्लामकान (ताँलेक्यनमुकान)१६ बाट मानव जीवन र सभ्यताको प्रारम्भ भएको थियो । तर, इतिहासमा पूर्वीय र पश्चिमी सभ्यता र संस्कृतिको मात्र परिचर्चा हुने गरेको छ । सिन्धु सभ्यता उत्खननका प्रमाणहरुलाईआधार मान्दै नारदमुनी थुलुङ सिन्धु सभ्यता किरातहरुको सभ्यता भएको चर्चा गर्छन् ।१७ सिन्धु र बेबिलोनका सभ्यतासम्म आइपुग्दा मानिसहरु मूर्ति निर्माण र मूर्तिका पूजा आरधना गर्ने अवस्थामा पुगिसकेका थिए । त्योभन्दा अघिका सभ्यताहरु प्रकृतिपूजक किरातीहरुले विकास गरेका थिए ।
प्राकृतिक सभ्यतानै किरात सभ्यता हो । आजका किरातीहरुले स्थापित गरेका सभ्यताहरुको अध्ययनबाट पनि सो कुरा पुष्टि हुन्छ । तिनै केही सभ्यताका बारेमा संक्षेपमा चर्चा गर्ने प्रयत्न गर्दछु ।
पञ्चतत्वलाई सर्वशक्तिको रुपमा मान्नु
किरात जातिहरु कति प्राचिन र कति सभ्य थिए भन्ने अर्थमा किरात जातिले स्थापित गरेको सभ्यतानै काफी छ । किरातीहरु हावा, पानी, जमिन, पृथ्वी र अग्नी यी पाँच तत्वलाई सर्वशक्तिको रुपमा मान्ने गर्दछन् । हाम्रो शरीर पनि पञ्चतत्वले बनेको छ । यो ब्रह्माण्ड पनि पञ्चतत्वद्धारा निर्माण भएको छ । किरात जाति यो ब्रह्माण्डलाई चिनेर जानेर ब्रह्माण्डको पूजा गर्ने संसारकै प्राचीन जाति हो ।
प्रकृतिको पूजा
प्रकृतिको पूजा गर्नु किरात जातिले विशेषता हो । आफू बसेको वरिपरिको खोलानाला, डाँडापाखा, हावापानी जसलाई पूजा गर्नु, प्रेम गर्नु किराती सभ्यता हो । जसले प्रकृतिको सम्मान मात्र होइन प्रकृतिको संरक्षण तथा सम्वद्र्धन पनि गरेका छन् ।
शुद्ध आहार विहार
किरातीहरुले मानव विकासको क्रममा निर्माण गरेका सभ्यता हुन् यी । आहार विहारमा शुद्ध हुनु स्वस्थ्य जीवनयापन गर्नु, स्वस्थ्य जीवन भएमा विचारमा पनि शुद्धता हुन्छ । यो सभ्यता आजका किरात धर्मावलम्बीहरुले अपनाइरहेका छन् । यो सभ्यता विश्वका मानवहरुले अवलम्बन गर्नु आजको आवश्यकता हुन आएको छ ।
नारी समानता
किरात संस्कृतिमा नारी समानता रहेको छ । नारीमा धार्मिक, सामाजिक स्वतन्त्रता र समानता रहेको छ । त्यति मात्र नभएर नारीलाई युमामाङको प्रतीक र सृष्टिका जननीको रुपमा मान्ने विशिष्ट सभ्यता किरात जातिहरुमा रहेको छ ।
ठूला र पाहुनाको उच्च मान र सत्कार गर्नु
किरात जातिहरुमा रहेको अर्को संस्कृति, सभ्यता भनेको आफूभन्दा अग्रज र पाहुनाको उच्च मान र सत्कार गर्नु हो । स्वतन्त्रता पूर्ण अर्काको मान र सत्कार गर्ने सभ्यता किरातहरुमा मात्र रहेको छ । आफूभन्दा ठूलाको आदर गर्ने बहनामा न त घुम्टो ओढ्नु पर्छ न त भोकै बस्नु पर्छ न त अनुहार लुकाउनु पर्छ । आफू स्वतन्त्र पूर्ण रुपमा बाँचेर अरुको सम्मान र आदर गर्ने संस्कृति अन्य जातिहरुको तुलनामा किरातीहरुको उच्चतम सभ्यता हो ।
तुम्याहाङ न्याय प्रणाली
किरात जातिहरु छुट्टै पम्परागत, प्रथागत कानुन रहेको हुन्छ । जसको अस्तित्व किरात समाजमा आजसम्म पाइन्छ । कुटपिट, धर्मपुत्र राख्ने र साँध सीमाना सम्बन्धी झै–झगडा भएमा गाउँका (ठूलाबडा÷भद्र्र÷भलाद्मी) तुत्तुगेन तुम्याहाङहरु चुम्लुङ (सभा) मा गएर जनताका गुनासो सुन्ने गर्दछन् । घटनाको अनुसन्धान गरी न्याय निसाफ गर्दछन् । यसरी तुम्याहाङद्वारा न्याय निसाफ गराउने सभ्यता किरात जातिमा रहेको छ ।
अन्त्यमा
विशिष्ट मानवीय सभ्यता र संस्कृतिको संसारमा खाँचो भइरहेको छ । यस अवस्थामा विशिष्ट मानवीय सभ्यता र संस्कृतिका धनी किरातीहरु कुहिरोमा हराएको काग बन्नु पर्दा भविष्यमा नै प्रश्न चिन्न उठेको छ । किरात संस्कृति र सभ्यताको गहँन अध्ययन, अनुसन्धान आजको आवश्यकता हो । आज किरात कुलमा जन्मिएर किरात महापुरुष, गुरुहरुले दिनुभएको सिकाउनु भएको संस्कृति र सभ्यताको विकास गराउँदै अनेकतामा एकताको विकास गराउनु आजका किरात जन्य संघ संस्था र यूवाहरुले जिम्वेवारी लिनुको विकल्प छैन् ।
संसारभर छरिएर रहेका किरातीहरुको संस्कृति र सभ्यतालाई एक ठाउँमा उभ्याएर लैजान सक्नु बुद्धिमता हुन सक्छ । यसो भएको अवस्थामा हालसम्म मान्दै र विश्वास गर्दै आएको दर्शन, सभ्यताको अघि एउटा दर्शन र सभ्यताको पुनः स्थापना हुनेछ । जसलाई आजसम्म इतिहासले निर्मम हत्या गरिरहेको छ । त्यो जिम्मेवारी आजका युवाहरुलाई छ ।
किरात बहश पुस्तकबाट साभार