आङबुहाङ अबोध अविरल
प्रविधिको परिवर्तन
पछिल्लो दशक प्रविधिको दुनियाँमा सामाजिक सञ्जालको राज छ । फेसबुक, ट्विटर, युुट्युब र इन्स्टाग्राम मानव जीवनको अभिन्न अंग बनेको छ । सामाजिक सञ्जालले संसारका मानिससँग जोडिन, विचार आदान–प्रदान गर्न, अरुका विचारमा सही थप्न, विरोध गर्न वा समर्थन गर्न सजिलो बनाइदियो । यसले जानकारी, सूचना, विचार, बिम्ब र वस्तुको प्रवाहलाई यति तिब्र बनाइदियो जो यसअघि थिएन । सामाजिक सञ्जालमार्फत अनेक संकथन (डिस्कोर्ष) फैलिरहेका छन् । जसले अनेक नयाँ सत्यहरु विनिर्माण गरिरहेका छन् । संकथनहरुले नयाँ सत्यहरु स्थापना गरिरहेका छन् ।
सामाजिक सञ्जालको विकास हुनुअघि सूचना, जानकारी, विचार र बिम्बहरुको प्रवाह सञ्चार माध्यमबाट हुन्थे । कुन विषय बहसमा ल्याउने भन्ने कुरा सञ्चार माध्यममा मात्र निर्भर रहन्थ्यो । बोल्न–लेख्न सक्ने मानिसले पनि मिडियामा पहुँच नहुँदा आफ्नो विचार आफैंमा सीमित हुने गर्दथ्यो । कसैले लेखेको विचारमा सहमति, विमति वा प्रतिक्रिया दिन सक्थे तर, त्यो सेन्सर हुने गर्दथ्यो । तर, सामाजिक सञ्जालको विस्तारले मानिसले सजिलै विचार, तस्वीर, अडियो र भिडियो पोष्ट गर्न सक्ने भए । हरेक मानिस सूचना, जानकारी र विचार व्यक्त गर्न सक्ने भए ।
नेपालमा सामाजिक सञ्जालले थुप्रै सकरात्मक र उतिनै नकरात्मक प्रवृत्तिहरु विकास गरिदियो । विश्वमा सामाजिक सञ्जालको विकास भएको समय नेपाली समाज राजनीतिक संक्रमणबाट गुज्रिरहेको थियो । यसैबीच नेपालमा ठूला राजनीतिक परिवर्तनहरु आए । साढे दुई सय वर्ष पूरानो राजसंस्थाको अन्त्य भयो । जनयुद्धताका गाउँ घर माओवादीको पहुँच थियो, त्यो खुस्कियो । आदिवासी जनजाति, मधेशी, महिला र दलितहरुले पहिचानका निम्ति ठूला आन्दोलन भए । लामो समय राजतन्त्रको नियन्त्रणमा रहेका जनताले असीमित स्वतन्त्रता महसुस गरे ।
देशबाहिर रहेका ४० लाख बढी नेपालीले सबै भन्दा पहिले इन्टरनेट र सामाजिक सञ्जालमा पहुँच बनाए । विस्तारै सामाजिक सञ्जालमा एकले अर्कालाई गालीगलौच गर्ने केही कुरुप अनुहार फेसबुकमा देखिए । पछि सामाजिक सञ्जाल प्रयोगकर्ताका नयाँ पुस्ताले पनि त्यहीँ सिको गरे । फेसबुकमा लाईक र कमेन्टको गन्ती हुन थाल्यो । गाली गलौजमा मानिसले बढी प्रतिक्रिया दिने भएकाले मानिसहरु नकरात्मक र ठट्याउलो डिस्कोर्ष निर्माणमा लागे । राज्यसँग पनि अवाञ्छित क्रियाकलाप रोक्ने नियमन निकाय दर्बिलो भएन ।
सामाजिक सञ्जालमा फाल्गुनन्द दर्शन
पछिल्लो केही वर्ष मुहिङ्गुम अङसीमाङ महागुरु फाल्गुनन्द, किरात धर्म र किरात धार्मिकस्थल माङसेबुङबारे सामाजिक सञ्जालमा बेस्सरी बहस चल्ने गरेको छ । नेपालमा गणतन्त्र स्थापना भएपछि महागुरु फाल्गुनन्दलाई राज्यले दिने सबैभन्दा ठूलो विभूषण राष्ट्रिय विभूति घोषणा गरेको थियो । त्यसपछि लिम्बुवान क्षेत्रमा सीमित फाल्गुनन्दको चर्चा एका एक चुलियो । फाल्गुनन्दले न्यूज भ्यालु पाउनुभयो । किनारामा रहनुभएको फाल्गनन्द मूलधारमा आउनुभयो । वहाँबारे सर्बत्र चासो बढ्यो । फाल्गुनन्द दर्शनबारे अनेक दृष्टिकोणमा छलफल भइरहेका छन् ।
सामाजिक सञ्जालमा फाल्गुनन्दप्रति राम्रा र ज्याँदै अनुदार टिका टिप्पणीसमेत भइरहेका छन् । खास गरेर महागुरु फाल्गुनन्दको नेतृत्वमा वि.सं १९८८ बैसाक २४ गते पान्थर लब्रेकुटीमा आयोजित चुम्लुङले निर्माण गरेको ७ बुँदे सत्य धर्म मुचुल्का र मुचुल्काले निर्देश गरेका मार्ग दर्शनबारे प्रश्नहरु उठाउँने गरिएको छ ।
लिम्बुवानका विभिन्न थुमका अमाली सुब्बा, सुब्बा, तुम्याहाङ, सर्वसाधारण र दार्जिलिङका केही प्रतिनिधिसहितको चुम्लुङले तय गरेको सो मुचुल्का त्यस अघि समाजमा रहेका धार्मिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकरात्मक परिवर्तनका निम्ति केहीँ मुद्दाहरु उठान गरेको थियो । मुचुल्काले मातृभाषामा शिक्षा, मासु मंस र मदिराको धार्मिक सांस्कृतिक प्रयोग नगर्ने, छोरी चेलीको सोतरीत नखाने, मुन्धुमलाई लेख्य रुपमा अघि बढाउने र शाकाहारी जीवन पद्धतिमा जोड दिएको थियो । मुचुल्काले निर्देश गरेको मार्गनै मुख्य गरेर फाल्गुनन्द दर्शन बन्न गयो । फाल्गुनन्द दर्शनको सार अहिंसा, मातृभाषामा शिक्षा, समानता, एकता, शान्ति, मानवता र शाकाहारी जीवन पद्धति थिए ।
फाल्गुनन्द दर्शनले सांस्कृतिक रुपमा हुने नारी विभेदलाई अन्त्य गर्न चाहन्छ । नारी–पुरुषलाई समान रुपमा हेर्न, चिन्न र बुझ्न चाहन्छ । संसारभरका पुरुष प्रधान समाजमा धर्म, संस्कृति, परम्परा, कानून, सामाजिक मूल्यमान्यता आदिलाई साधन बनाएर नारीलाई विभेद गरिन्छ । किरात समुदाय पनि पुरुष प्रधान सोंचबाट ग्रसित छ । जस्तै ः छोरी विवाह गरेर पराई घर जानु पर्ने, तोकेरै छोरी चेलीबाट सोतरित खाने, पुरुषलाई मात्र अंश, वंशको अधिकार दिने, सम्पत्ति पुरुषको नाममा हुने, तुम्याहाङ, फेदाङमा साम्बा र घरमूली पुरुष हुने र छोरा नभएका मानिसको मृत्युमा फराक्लो गर्दा फलना आजदेखि अपुताली भयो है भनेर तुम्याहाङहरुले घोषणा गर्ने आदि । यसका साथै सुब्बा, सुवाङ्गीसमेत पुरुषले प्राप्त गर्ने चलन थियो ।
छोरी चेलीको विवाहमा तोकेरै सुभाले खाने, बुबा, आमाको नाममा तोकेरै पैसा र कोशेली खाने चलनले विस्तारै महिलालाई विक्रीको सामग्रीमा परिणत गरिरहेको थियो । त्यसलाई रोक्न मुचुल्काले जोड गरेको थियो । सोतरित लिन लिम्बूहरुको विशेष चलन भएकाले यसमा रोक लाउनु हुन्न भन्ने तर्कहरु पनि गरिन्छ । छोरीको रीत बैंक ग्यारेन्टी जस्तै हो भनिन्छ । तर, बैक ग्यारेन्टीनै चाहिन्छ भने उसले पाउने अंश छुट्याइ दिए पनि हुने हो । त्यसो गरिन्न ।
मातृभाषामा फाल्गुनन्दको विशेष जोड थियो । सत्यधर्म मुचुल्कामा मातृभाषामा शिक्षाको कुरा उल्लेख थियो । आज संसारभरका शिक्षाविद्हरु मातृभाषा शिक्षालाई वैज्ञानिक भएको मान्छन् । मातृभाषामा शिक्षा दिनाले सिकाइ उपलब्धि राम्रो र प्रभावकारी हुने भाषा वैज्ञानिकहरुको निष्कर्ष छ । मातृभाषामा शिक्षाले भाषाहरु बच्ने र भाषा संस्कृति, परम्परागत ज्ञान, शक्ति र राजनीति भएको रुपमा व्याख्या गर्न थालिएको छ । त्यो कुरा महागुरु फाल्गुनन्द र तुम्याहाङहरुले एक सय वर्ष अघि निष्कर्ष निकाल्नु भएको थियो ।
शाकाहारी जीवन पद्धतिमा महागुरुको जोड थियो । मेडिकल साइन्सले शाकाहारी भोजन स्वास्थ्य रहन सहयोगी हुने निष्कर्ष निकालेको छ । मासुका कारण दर्जनौं रोगहरु हुने गरेको तथ्यहरु बाहिर आएको छ । पशुहरु मानिसभन्दा कम चेतलशील प्राणी हुन् । यिनीहरुलाई मार्दा, पूजा गर्दा र खाँदा हुन्छ भन्ने धारणा विश्वमा छ । जुन ज्याँदै मानव केन्द्रित विश्व दृष्टि हो । यसले पशु र मानिसबीच उच्चनीचका भावना (हाइरार्की) सिर्जना गर्दछ ।
फाल्गुनन्दले ती उचनिचको धारणालाई भत्काउँदै पशुहरु पनि प्राणी हुन्, तागेरा निङवाभूमाङका सन्तान हुन् । यिनलाई पनि सम्मान गर्नु पर्दछ । यिनलाई मानिसले आफ्नो हितका लागि बली दिनु हुन्न भन्ने फाल्गुनन्द दर्शनमा पर्दछ । सत्यधर्म मुचुल्कामा बलीपूजा प्रथाको अन्त्यमा जोड दिइएको थियो ।
मादक पदार्थको धार्मिक–सांस्कृतिक प्रयोगलाई हटाउन महागुरुले जोड दिनु भएको थियो । वि.स. १९८८ को सत्यधर्म मुचुल्काको एउटा बुँदामा सो उल्लेख छ । मदिराको सांस्कृतिक प्रयोगले समुदायको स्वास्थ्यमा समस्याहरु ल्याइरहेको देखिन्छ । अंग्रेजहरु भारतमा साम्राज्य विस्तार गर्न भारत प्रवेश गर्दा अहिलेका पाकिस्तान र अफगानिस्तानमा गाँजा र अफिम खेती गर्दथे । उनीहरु त्यो अफिम चीनमा विक्री गर्दथे । त्यसबेला चीनमा अफिम अत्याधिक सेवन गर्दथे । ‘अफिमको नशामा लठ्ठिएको चीनलाई निदाउन देउ’ भन्ने अंग्रेज उक्ति थियो । नेपालमा जंगबहादुरले मतवाली ऐन बनाएर नेपालका आदिवासीहरुलाई मतवाली उल्लेख गरिदिए ।
मदिरा सेवन तिमीहरुको पहिचान हो भनिदिए । हामी आज पनि त्यहीँ कुरामा गर्व गर्दछौं । आदिवासी समुदाय सधैं मदिराको नसामा लठ्ठिएर शिक्षा, चेतनामा पछि परिरहेको राज्य चाहन्थ्यो, सायद । एक दुई जनाले तोङबा खाँदै प्रोफेसर बनेको विषयलाई उदाहरण दिएर मदिराको बचाउ गर्ने चलन पनि छ । तर, एक जनाले त्यसो गरे पनि हजारौं जनाको जीवन मदिरा सेवनले विग्रिरहेको तथ्यलाई हामीले भूल्नु हुन्न । मदिरा सेवन गर्नु हाम्रो पहिचान हो भनेर उफ्रने सोंच हामीमा विकास भयो । जसको फाल्गुनन्द अन्त्य गर्न चाहानु हुन्थ्यो ।
मुन्धुमलाई लेख्य रुपमा लैजाने विषयमा महागुरुले विशेष जोड दिनुभएको थियो । धेरैअघि लेख्य रुपमा रहेको अनुमान गरिएको मुन्धुम पछिल्लो शताब्दीहरुमा मौखिक परम्परामा नै थियो । जसका कारण मुन्धुम थुमै पिच्छे, मुन्धुमसाबा पिच्छे फरक थियो । मुन्धुमलाई संहिताकृत गरेर सेवासाबाबाट वाचन गरेर सेवा, पूजा गर्ने चलनको विकास गर्नुभयो । महागुरु आफैं मुहिङ्गुम अङसी हुनुहुन्थ्यो । सत्य धर्म मुचुल्कामा सो कुरा उल्लेख छ । वहाँले मुन्धुम उच्चारण गर्नुहुन्थ्यो । र, सोहीकुरा रनधोज नेम्बाङले किरात लिपिमा लिपिवद्ध गर्नुहुन्थ्यो ।
त्यहीँबाट प्रभावित हुँदै इमानसिं चेम्जोङले या, फेदाङमाबाट मुन्धुम संकलन गर्नुभयो । पछिल्लो समय मुन्धुम खोज, अनुसन्धान गर्ने, विभिन्न दृष्टिकोणबाट व्याख्या, विश्लेषण गर्ने चलन आएको छ । कतिपय थरका वंशावलीमा समेत विभिन्न थुममा या फेदाङमाले फलाक्ने मुन्धुम संग्रहित गरिएको पाइन्छ ।
मानिसमा अध्यात्मिकताको विकासमा महागुरुले जोड दिनुभएको थियो । अध्यात्मिकता माङको अस्तित्वमा विश्वास गर्ने, मानिसमा माया, प्रेम (मानिस, प्राणी, ईश्वर, प्रकृतिसँग), दया, सद्भाव र शान्ति जस्ता भावनाको विकास पर्दछन् । किरात समुदाय यी विषयमा खासै केन्द्रित थिएन । केहीवर्ष अघि विश्व स्वास्थ्य संगठनले समेत मानिस स्वास्थ्य रहन अध्यामिक विकास हुनुपर्ने उल्लेख गरेको छ ।
शान्ति, अहिंसा र प्रकृति पूजा महागुरु फाल्गुनन्दका महत्वपूर्ण दर्शनमा पर्दछन् । फाल्गुनन्दको समयमा विश्व युद्ध चलिरहेको थियो । फाल्गुनन्द स्वयम् विश्वयुद्धका योद्धा हुनुहुन्थ्यो । युद्धले सिर्जना गरेको हिंसा, विध्वंस र रक्तपातले वहाँलाई नराम्ररी सताएको थियो । मानिसमा समान व्यवहार, शाकाहारी भोजन र आत्मिक शुद्धिकरणबाट शान्ति स्थापना हुने वहाँको ठम्याई थियो ।
फाल्गुनन्दलाई बुझ्ने दृष्टिकोणहरु
कुनै व्यक्तिको रंग कस्तो छ भनेर थाहा पाउन कस्तो रंगको चस्मा लगाएर हेर्छौ भन्नेमा निर्भर गर्दछ । हामी कालो चस्मामा हेर्छौ भने उसको रंग कालोनै देखिने हो, उ गोरो मान्छेनै किन नहोस् । चस्मा दृष्टिकोण हो, उपागम हो । उसको विचार कस्तो छ भन्ने बुझ्न उ प्रति हामी कस्तो पूर्वाग्रह राखेर ग्रहण गर्छौ भन्ने विषयले फरक पार्दछ ।
सामाजिक सञ्जालमा महागुरु फाल्गुनन्दबारे सबैभन्दा बढी छलफल, बहस, आलोचना र प्रशंसा लिम्बू समुदायबाटनै भइरहेको पाइन्छ । फाल्गुनन्दलाई हेर्ने तीनवटा विश्व दृष्टिहरु सामाजिक सञ्जालमा पाइन्छ । पहिलो, फाल्गुनन्दलाई धार्मिक र अध्यात्मिक विश्व दृष्टिबाट हेर्ने, बुझ्ने र पुज्ने । महागुरु फाल्गुनन्दलाई माङको प्रतिनिधिको रुपमा पुज्ने, सम्मान गर्ने गरिन्छ । मुन्धुममा वर्णित सोधुङगेन लेप्मुहाङ, येहाङ, कान्देनहाङ, माबोहाङ र सिरिजंगाहाङ झै महात्माका रुपमा वहाँलाई उल्लेख गरिन्छ । यसैगरी किरात धर्म दर्शनका पुनः उत्थापक र किरात धार्मिक राष्ट्रियताको जग निर्माताको रुपमा चर्चा गरिन्छ ।
दोस्रो, महागुरुलाई सामाजिक दृष्टिकोणले हेर्ने, चिन्ने र ब्याख्या गर्ने । राज्य र सामाजिक संस्थाहरुले वहाँलाई समाज सुधारकको रुपमा उल्लेख गर्ने गरेका छन् । महागुरुलाई मातृभाषामा शिक्षा, छोरी चेलीको सोतरीत बन्द गर्ने, सांस्कृतिक रुपमा मदिरा र मासु मंसको प्रयोग हटाउने, परम्परागत सीप थाक्थाक्माको प्रमोट गर्ने, मुन्धुमलाई संहिताकृत गर्ने, शान्ति र अहिंसाको सन्देश दिने व्यक्तिका रुपमा आदर गरिन्छ ।
तेस्रो, फाल्गुनन्दलाई भौतिक तथा तुलनात्मक दृष्टिले हेर्ने । फाल्गुनन्दको पहिरन, खान–पान, चाल–चलन र बोलीचालीलाई अन्य धर्म वा समुदायसँग तुलना गर्ने गरिन्छ । वहाँको हरेक कुरा लिम्बूसँग मिल्छ कि मिल्दैन भनेर हेर्ने गरिन्छ । खास गरेर फाल्गुनन्द दर्शनलाई नकरात्मक रुपमा हेर्ने र ग्रहण गर्नेहरुबाट यस्तो ब्याख्या हुने गरेको छ । फाल्गुनन्दलाई हिन्दु मूल्य मान्यताबाट प्रभावित हुनुभयो भनेर पुष्टि गर्न यस्ता विश्लेषण भएको पाउँछौं । महागुरु फाल्गुनन्दलाई विशुद्ध लिम्बूको दृष्टिले हेर्ने प्रयासहरु भइरहेको छ ।
कसरी हेर्ने फाल्गुनन्दलाई ?
हेगेल र माक्र्स संसारका सबै कुरा द्वन्द्वात्मक रुपमा अघि बढ्ने दाबी गर्दछन् । फाल्गुनन्द दर्शन वादको रुपमा आएपछि थुप्रै प्रतिवाद आएका छन् । यो स्वभाविक प्रक्रिया पनि हो । अहिले फाल्गुनन्दबारे जति पनि टिकाटिप्पणी भइरहेका छन्, ति यसअघि वहाँको बारेमा लेखिएका पुस्तक, टिप्पणी र तस्वीरका आधारमा भएका छन् । वहाँबारे धेरै तथ्य बाहिर आउन बाँकी छ । यसअघि वहाँलाई धार्मिक र अध्यात्मिक दृष्टिबाट चिनाइएको छ । तर, सामाजिक सञ्जालमा फाल्गुनन्दबारे जबर्जस्ती लिम्बू पहिचान मास्ने व्यक्तिको रुपमा चिनाउन खोजिएको छ । अनेक सतही र वाल टिप्पणीहरु हुने गरेको छ ।
महागुरु फाल्गुनन्दको तस्वीरमा देखिने त्रिशुल, गरगहनाका बारेमा बहस गरिएको छ । महागुरुले शुरु गर्नुभएको लाधुङसेमी सेवालाई हिन्दुको यज्ञको नक्कल भनेर बढी टिप्पणीहरु भइरहेका छन् । धेरै समयअघि किरातहरुलेनै लाधुङसेमी सेवाहरुको विकास गरेको र पछि हिन्दुहरु भारत वर्षमा छिरेपछि उनीहरुले सो सिकेर प्रयोग गर्दै आएको बुझाई छ । तर, यथेष्ट प्रमाणको खोजी, विश्लेषण भइ नसकेकाले यी विवादहरु कायमै छन् ।
फाल्गुनन्द जन्मको आधारमा किरात लिम्बू कुलको हुनुहुन्छ । वहाँको दर्शन सारा मानव जगतका लागि उपयोगी छन् । दर्शनहरु स्थानीय हुँदैन । तर, वहाँको दर्शन लिम्बूमा सीमित राख्न खोज्नु राम्रो होइन । फाल्गुनन्दलाई विशुद्ध लिम्बू आँखाले हेर्ने, किरात धर्मलाई लिम्बू धर्मको रुपमा चिन्ने, चिनाउने प्रयास राम्रो होइनन् । फाल्गुनन्दका दर्शन मौलिक छन् कि छैनन् भनेर विश्लेषण गरिन्छ । मौलिकता बचाई राख्नु पर्छ भन्ने कुरा आफैंमा राम्रो कुरा हो । तर, हामीले जे कुरालाई मौलिक ठान्दछौं कतिपय तिनीहरु मौलिक नभएको हामीले बुझ्नु पर्दछ । शंखको प्रयोग हिन्दुको नक्कल भन्ने साना शंख, कौडिको माला भिर्नु मौलिक भन्नु आदि नपत्यारिला कुरा छन् ।
लाधुङसेमी सेवा गरेको हिन्दुको जस्तो भनेर कराई रहने, अर्कोतर्फ हिन्दु जस्तै बली पूजा गर्ने, बाबु आमा मर्दा केश खौरने, सेतो कपडा लगाउँने, तिहारमा हिन्दु लक्ष्मीको पूजा गर्ने, भाइटिका लाउने, दशैं मनाउने, हिन्दुहरुले अन्नको पूजा गर्ने धान्यपूर्णिमाको दिन चासोक पूजा गर्ने चाहीँ गरिरहने जस्ता कुरा भइरहेका छन् ।
विश्वव्यापीकरणलाई अहिलेको विश्व प्रवृत्तिको रुपमा व्याख्या गरिन्छ । नेपालभित्रै अनेक साना व्यापीकरण छन् । हामीमा शासकले लादेका अनेक कुरा थाहा पाएर, र नपाई अनुशरण गरिरहेका छौं । हामीसँग दुईवटा उपाय छन्, एउटा अरुका सबै कुरा त्यागेर आफ्नो कुरा मात्र ग्रहण गर्ने । जस्तै महात्मा गान्धीले अंग्रेजको कोट टाई फालेर, धोती पहिरिए । दोस्रो, अहिले सामाजिक सञ्जाल, सञ्चार माध्यम, राजनीति, शिक्षा, व्यापार, यातायात, कानून र सरकारी नीतिको साधनबाट प्रभाव भइरहेको वाह्य संस्कृतिमा आफूलाई अनुकूलन गर्दै आफ्ना कुरा अघि लैंजानै ।
महागुरु फाल्गुनन्दलाई वहाँका मानव उपयोगी दर्शनका आधारमा हेर्न, चिन्न राम्रो हुनेछ । वहाँको दर्शनलाई लिम्बू दर्शनका रुपमा व्याख्या गर्ने चेष्टाले राम्रो गर्दैन । हरेक समुदाय वा धर्मलाई अगाडि बढाउन केही आदर्श व्यक्तिहरु स्थापित गर्नु पर्ने हुन्छ । मानवशास्त्री प्राध्यापक डा. डम्बर चेम्जोङका अनुसार महागुरु फाल्गुनन्द किरात धार्मिक राष्ट्रियता निर्माता हुनुहुन्छ ।