किरात धर्म सत्यको मार्ग हो


(२०५५ साल फागुन ६ गते बिहिवार ताप्लेजुङको सिनामस्थित सिरिजंगा मिङ्सो माङहिमको उद्घाटन गर्ने क्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङज्यूले गर्नु भएको माङ आशीर्वचनको पूर्ण अंश)

 

श्रद्धालु भक्तजनहरु, बुद्धिजीवि विद्धान साथीहरु,
तुत्तुगेन तुम्याहाङ् याक्लागेन् सुहाङ्मा, हाल्लासो पिच्चम्मा, नालिङ्गेन् थाङ्वेन, सिसागेन् मेन्छिन याक्लागेन् सुहाङमा, कन् सिनाम लुङ्धुङ् तेल्लखेयो सिरिजंगा मिङ्सो माङहिम्मेयो आजुप्से सिरिजंगा मिङ्सो माङहिम्को नाममा भेला भएका छौं ।

 

हामी किरातीहरु पहिला सभ्य थियौं, अहिलेको युगमा हामी पछाडि परेका छौं । किरातीहरु पहिलासम्म थियो भन्ने कुरा धर्मग्रन्थहरुमा पनि लेखिएको छ । हामी संसारमा मानिसहरु हरतरवबाट अगाडि भइसकेका छन् । हाम्रो समाज चाहीँ अन्धकार, कुरीति, कुसंस्कार कुमार्गमा डुबेर बसेको छ । यसलाई सुधार गर्नको लागि मुहिङगुम अङसी भनिन्छ, जस्तो येहाङ्, श्रीजंगाहाङ्हरु बीचमा अवतार भएको थियो ।

 

महागुरु फाल्गुनन्दले पनि हाम्रो कुलमा जन्म लिनुभएको र यस धर्मलाई उहा“ले स्थापना गरी दिनुभयो र धर्म भन्ने कुरा जान्नुपर्छ, धर्ममा सत्य लुकेको हुन्छ । सत्यले धर्म थामेको हुन्छ । मानिसमा सत्य छैन् भने समाप्त हुन्छ । जहा“ सत्य छ, त्यहा“ धर्म छ । जहाँ अहंकार, क्रोध, घमण्ड छ, त्यहा“ पाप लुकेको छ ।

मेरा दाजुभाई बन्धुहरुलाई के भन्न चाहन्छु भने, हामीले अहंकार, कुकर्म नगरौं, शिक्षापट्टि हामीले चित्त लगाऔं र हाम्रो समाज हितमा कुन–कुन कुराले हामीलाई रोकेको छ त्यो कर्म गराई कुन–कुन ठीक छ, छैनन् ती कुराहरु हामीले अनुसन्धान गर्नुपर्छ । हामीले अत्यन्तै भक्ति, सेवा गर्ने जुन हाम्रो भावना छ तर हामी आफ्नो इष्ट देवतालाई पुज्नुपर्छ । युमासाम, थेवासाम भनेर हामीले पूजा गर्छौं । युमासाम थेबासामको नाममा भोग, जीव हत्या नगर्नु यहीँनै तपाईहरुलाई म मुख्य सन्देश दिन चाहन्छु । पहिले हाम्रो उत्पतिमा जीवहत्या गर्ने चलन थिएन । अहिले आएर जीवजन्तु जस्ता अर्काको प्राणभकघात गरेर ईश्वरलाई चढाउ“ने कुरा हामीले गरिराखेका छौं ।

त्यसकारणले ती कुसंस्कारलाई त्यागेर फूल फलेदोले माङ्को सेवा गरौं । माङ्को पूजा गरौं । माङ्को छोराछोरी हामी पर्न सक्छौं । मुन्धुमले के भन्छ भने, हामी माङसारी, हाङ्सारी मेन्छाम्गेन नाम्याप्मी सारो साम्माङ् च्याङ सारो भनेर लिम्बुवानमा त धेरै नै कथा गर्छन् । माङ्सा भएपछि माङ् जस्तो काम गर्नुपर्छ । माङ्सा भयो तर राक्षस जस्तो गरेर हामी उल्टो बाटो लागेका छौं । त्यसैले हामीले यिनै कामलाई सुधार गर्ने लक्ष्यमा लाग्नुपर्छ । सिङ्माङ् गर्ने, लुङ्माङ् गर्ने, धूल पूजा गर्ने, याक्वा पूजा गर्ने, तीन राते, सात राते, तङसिङ् (येबा) राख्ने पूरै सुधार गर्नु छ यो गर्दा खेरी, नगरी पनि हुँदैन तर, जीव हत्या गर्नु हुँदैन ।

 

मुन्धुमले के भनेको छ भने तागेरा निङ्वाभुमाङ्को सृष्टि, युमा थेबाको सृष्टि सम्पूर्ण सृष्टिमा मानव जाति रहेकाछौं । त्यो सम्पूर्ण ईश्वरको छोराछोरी हौं । हावा, पानीदेखि लिएर सम्पूर्ण प्राणीहरु तागेरा निङ्वाभूमाङ्को सृष्टि भएकोे हुनाले हामी उसैको सृष्टिलाई लौ परमेश्वर मलाई निको पार भनेर काटेर दियौं भने पापमा डुब्छौं । उसको पापको आँशुले हामीलाई पिर्छ ।

 

मुन्धुमी भाषामा सो?मा यो?मा, लायो–लासो भन्छ । त्यो गर्न छोड्यौं भने हामी धेरै चेतनशील बनिन्छौं । साथीसँग कुरा गर्दा हामी पछाडी प¥यौं भन्छौं । हामी काम गर्नै जान्दैनौं, त्यसै पछाडिन्छौं । राम्रो राम्रो शिक्षाहरु ग्रहण गर्दैनौं, राम्रो ज्ञानको बाटोतिर हामी जान्दैननौं अब हामी चेप्ते भनेपछि खुकुरी लिएर काट्न जान्छौं, लाप्पा प¥यो इत्यादि कार्यले गर्दा धेरै पछाडि प¥यौं ।

 

किरात धर्म भनेको सत्यको मार्ग हो । किरात धर्ममा लाग्यौं भने हामी धेरै शिक्षित बनिन सक्छौं । हामी किरात जातिहरु र आर्यनहरुसँगै राखेर पढायौं भने आर्यनहरुले सारै छिटो पढेर डिग्री हासिल गर्छन् । कारण किन उसको धर्म सुध्रियो, कुल सुध्रियो । अनि त्यो भयो । तर, हामी त्यो बाटोमा छैनौं, आदाङ्बासे । हामी जीवहत्या गर्ने चलन छोड्यौं भने, धेरै धेरै टाढाको कुरा सोच्ने स्मरण शक्ति बढेर जान्छ, बुद्धि ज्ञान बढेर जान्छ । तर त्यो बाटोमा हामी छैनौं त्यसैले हामी पछाडिएका छौं ।

 

 

हाम्रो समाज सुतेको छ । बाटो विर्सेर बसेका छन् । भाषा, साहित्य र संस्कृतिहरु विर्सेर बसेका छन् । अहिले अलिअलि व्युँझिन थालेका छन् । २०३६ सालमा हामीले यो भाषा लिपि प्रचार गर्दा खेरी यो त साधुहरुको लिपि हो भन्थ्यो । प्रशासन तर्फबाट यी साधुहरु राज गर्न खोज्दैछ भन्थ्यो । हामीलाई पक्रिन पनि खोजे, यी कुरा त धेरै छन् । किराती हुँ, हाम्रो बाटो यो हो, हाम्रो कर्म यो हो हामीले भोग बलि गर्नुहुँदैन, विहेमा सोतरीत खानुहुँदैन भनेर भन्दा साधुहरुको मात्र हो भन्थ्यो, तर अहिले आएर हाम्रो लिपि रहेर, हाम्रो धर्म रहेछ, हाम्रो मुन्धुम शःसी रहेछ भनेर अलिअलि बुझेर तपाईहरु आउनुभएको छ ।

 

 

अरु जाति भन्दा पनि लिम्बू जातिमा छोरी बेच्ने चलन बेसी छ । छोरा जन्मिन्छ समान दृष्टि, समान शिक्षा दिनुपर्छ भनेर हाम्रो मुन्धुमले भनेको छ । मेन्छाम्गेन नामयाप्मी सा साम्माङच्याङ्सा, माङ्सा भएपछि माङजस्तो काम गर्नुपर्छ तर माङजस्तो छैनांै हामी राक्षस जस्तो काम गरिरहेका छौं ।

 

 

छोरी हुर्केपछि हामीले दाम गरेर फ्याट्टै बेच्नुपर्छ । त्यसरी गरेर पनि लिम्बू सुध्रिन्छ ? आफ्नो नीतिमा पनि तलै झरेर जान्छ, शिक्षामा पनि तलै झरेर जान्छ । त्यसैले छोरीचेलीको सोतरीत खाने चलन हामी छोड्नुपर्छ । कुसंस्कार भनेको यस्तो हो । हामी धर्मले सुध्रिनुपर्छ । कर्मले सुध्रिनुपर्छ र हामी समान दृष्टि राखेर कुरीति कुसंस्कारलार्ई छोडयौं भने हामी स्वर्गमा पुग्छौं ।

 

 

आफ्नो भाषा पढ्नुपर्छ, आफ्नो संस्कृति अध्ययन गर्नुपर्छ । आफ्नो मुन्धुम अध्ययन गर्नुपर्छ । हाम्रो समाजमा जाँड, रक्सी खाएर बदमास गर्ने चलन छ । त्यसैले त्यो चीजलाई केही कम गर्दै लानुपर्छ । जाँड, रक्सी खाएपछि मात्छ र व्यवहार विग्रन्छ भन्ने ज्ञान छ तर त्यसले रोक्दैन, खाएर मातेपछि दिनभर लडेर बस्नु हुन्छ । दिनभरी गर्नुपर्ने काम विर्सेर बस्नु हुन्छ ।

 

 

अनि भोली भन्ने समयले बिदा लिइसकेको हुन्छ । तर, तपाईहरुको शरीर सफा हुँदैन, शरीरमा रोग पस्छ । त्यसैले म नखाउ भन्दिन तर खानुभन्दा नखानु अत्यन्तै राम्रो हो । नखाई नसक्नेले कमी गर्दै लैजाउँ । तर, खानुभन्दा नखानु राम्रो, किनभने खाइएन भने हाम्रो जीउ जहिले पनि चंखो रहन्छ । हाम्रो कुनै शत्रुले छक्याउन सक्दैन । त्यो खाएपछि त अर्काे विरोधी आएर काटयो भने पनि देखिदैन ।

 

 

हाम्रो समाजमा यस्तो खानपानले विगारेको छ, आदाङवासे । हुन त मिप्मा पा थेबा हा?रे मेजोगु मेयुरुबा हेक्के आयोगुम आयुरुम्बा, आघोसुम आयुरुम्बा भन्छौं कन् चामाले उल्टो आ की अर्थात त्यो खाने चीजले उल्टो हामीलाई खाइराखेको छ । त्यो कुरा हामी देख्दैनौं । त्यसकारणले त्यसलाई सुधार गर्नुपर्छ । हाम्रो दिदीबहिनीहरुले यो कुरा बुझिदिनुपर्छ ।

 

 

अब त युवायुवतीले कम्मर कस्दा मात्रै उहिलेका बुढाबुढीहरुले त खाने नै प¥यो, उनीहरुले त नखाई छाड्दैनन् । अनि त्यसपछि चुपचाप बसिदिए त हुन्थ्यो नि तर घरमा बाझ्नुप¥यो, बुढिसँग लाप्पा पर्नै प¥यो । एक लात्ती त दिनै प¥यो अनि गाली श्राप पर्छ र खोलामा लगेर बहन्ती गर्नैपर्छ । त्यसकारणले यो हाम्रो कुकर्म, कुसंस्कारलाई छोडेर राम्रो कर्ममा लाग्नुपर्छ । ध्वजा लिङ्गा गाड्नुभएको छ यो हेर्दा हृदय सफा हुन्छ । शान्तिको बाटोमा उज्यालो बाटोमा जाउ भनेर संकेत दिइराखेको छ ।

 

 

यो माङहिम शिरिजंगाको सम्झनामा बनियो । अब यो माङहिमलाई तपाई हामीले के दिनु छ, सो बुझ्नुपर्छ । यसले हामीलाई ज्ञान दिन्छ । शिक्षा दिन्छ, मनलाई स्थिर बनाउँछ र हामी अगाडि बढ्दै जान्छौं । यो कुरा बुझ्नुपर्छ । हुन त तपाईहरुको निमन्त्रणामा म यहाँ आइपुगेको छु, गौरव लागेको छ ।

 

 

हामी जुनसुकै राजनीतिक पार्टीमा रहौं, विभिन्न संघ संघ संस्थामा बसौं तर धर्ममा एउटै हुनुपर्छ । धर्म लेख्ने महल आउँछ फेरी त्यसमा सम्पूर्णले किरात धर्म लेखौं र हाम्रो धर्मको परिचय दिउँ । म संसारको युग पुरुषहरुसँग यसबारेमा धेरै वार्ता भएको छ । संसारमा अन्तिम हाम्रो मित्र भनेको तागेरा निङ्वाभूमाङ हो । आपत्ति पर्दा मात्र इश्वर चिनिन्छ । आ–आफ्नो किसिमले भाषा मात्र बेग्लै हो, ठाउँ एउटै हो ।

 

 

हाम्रो समाजमा गुण अवगुण छ कुन चाहीँले हामी सभ्य हुन सक्छौं त्यो कुरा समात्नुपर्छ । अहिलेका किरात विद्धान, साहित्यकार, लेखकहरुमा यहीँ कुरा निवेदन गर्न चाहन्छु । हाम्रो भावी सन्तानलाई सुधार गर्ने बाटो दिनुपर्छ । तर, हाम्रो यहीँनै हो भनेर बस्यौं भने फेरी हामी पचासौं वर्ष पछाडि पर्नेछौं । मान्छेहरु चन्द्रमामा पुगे, माथि भू–उपग्रह राखेर संसार हेर्दैछन् ।

 

 

हामी पनि मान्छे हौं तर हामी चन्द्रमा पुग्ने यन्त्र त रक्सी खान्छौं, मातेपछि महादेव उत्तानो परेपछि त्यहीँ हो हाम्रो चन्द्रामा । त्यसैले यो छोडौ भन्ने मात्र मेरो निवेदन तर तल इलाम जिल्लाको एउटा साधु आयो र खानुदिएन चाहीँ नभन्नुहोला । खानेले बेस्सरी खानु लडी बस्नु त्यतिकै जीवन बित्छ, केही गर्न सक्नु हुन्न । तपाईहरुले धन सम्पति कमाउन पनि सक्नुहुन्न । ज्ञान प्राप्त गर्न पनि सक्नुहुन्न । म, पनि यहीँ समाजमा जन्मे, के गर्ने मेरो समाज यस्तै छ । लिम्बू समाजमा जन्मेको म मेरो समाजमा घैंटोमा डुबेर बसेको छु । सुषुप्त अवस्थामा जाँदैछ हाम्रो समाज, यसलाई चिनेर सही बाटोमा जानुपर्छ । युग, जमाना सँगसँगै जानुपर्छ हामी यसलाई पक्रेर बस्यौं भने कहिले पनि सुध्रिदैनौं ।

 

 

महागुरु सिरिजंगा लगायत अन्य युगपुरुषहरु किन आए र के दिन चाहेका थिए त्यो हामीले बुझ्न सक्यौं भने हामीले त्यसको महत्व थाहा पाउँछौं र हामी धर्मले एकत्रित हुनुपर्छ, धर्म जान्नुपर्छ । लिम्बू, राईहरु धर्म त जान्दैनन् पो है, अचम्म पो मान्छ । धर्मले राम्रो बाटो देखाउँछ । ज्ञान दिन्छ, धर्ममा राम्रो तत्वहरु लुकेका हुन्छन् यस्तो सबैलाई शान्ति दिलाउँछ । धर्मबारे हामी सबै चेतनशील भयौं भने झगडा हुँदैन, मारामार हुँदैन तर धर्म जान्न सकेनौं भने बुद्धिभ्रष्ट हुन्छ र जे पनि हुनसक्छ । त्यसैले धर्मको बाटोमा लाग्नुपर्छ, आफ्नो आमालाई चिन्नुपर्छ ।

 

 

अहिले हामीले हाम्रो भाषा हरायौं । हामी हाम्रो भाषा बोल्दैनौं । अबको अर्काे पुस्तामा हाम्रो भाषा हराउँछ । अन्य भाषा पनि सिक्नुपर्छ तर त्यो भन्दा पहिले आफ्नो भाषा सिक्नु पर्छ । अनि मात्र अरु भाषा सिक्नुपर्छ । त्यसो गर्दा आफ्नो भाषा तगडा भएर आउँछ । साहित्य पनि बढेर आउँछ । हाम्रो दिमाग सुध्रेर आउँछ र शिक्षामा सुधार हुन्छ । तर हामी त्यो बाटोमा नै छैनांै । त्यसैले माक्चिरी माक्याम्बक्किन फेन्जिरी फेन्याम्बकिन् लेप्माआङ नाम्ओप्मा, लाओप्मा, खाओप्मा लाम्मिन् तिक्माआङ् भन्ने तपाईहरुलाई निर्देशन दिन चाहन्छु ।

 

 

यस सिरिजंगा मिङसो माङहिमको अक्षयकोष एउटा खडा गर्ने, पानी उम्रिरहेको छ, यो पानी शुद्ध लाग्यो, निर्मल लाग्यो हाम्रो आत्मा र भावना पनि त्यस्तै स्वच्छ, साङलो र पवित्र बनाउँनु प¥यो । तब माङको नजिकमा पुग्न सक्छौं, ज्ञानको पोको नजिक पुग्न सक्छौं । सिनामबासी भक्तगण, इष्टमित्र दिदीबहिनी, दाजुभाईहरुलाई यो माङहिम निर्माण गर्नु भएकोमा हार्दिक धन्यवाद दिँदै यस माङहिमको प्रगति होस् धर्ममा प्रगति होस भन्ने शुभकामना दिन चाहन्छु ।

 

नेपाल एउटा सुन्दर फूलबारी हो । फूलबारीमा एउटै रंगको र जातको फूल मात्र फुल्यो भने सुहाउँदैन् । सबै जातको फूल फुल्यो भने यो फूलबारी रहेछ अनुभूति हुन्छ । त्यस्ते सबै जातको फूल फुलेको मात्र भाषाको, धर्मको, संस्कृतिको एंव बुद्धि ज्ञानको विकास गर्न सक्छौं र सबै कुरामा निपूर्ण भएर बस्न सक्छौं ।

 

आगोको शक्ति बढेको छ । होसियार हुनु होला । सेवा गर्दा शंख धुनी गर्दा देशमा शान्ति हुन्छ । झैं भगडा शान्ति हुन्छ, दुःख विमार शान्ति हुन्छ । विभिन्न संघ संस्थामा बस्ने मित्रहरु आफ्नो लक्ष्य बुझ्नुपर्छ । कोही पश्चिम कोही दक्षिण हिड्यो भने केही पार लाग्दैन् । फेरि दुइटा नाउमा खुट्टा हालियो भने, पार लागिदैन् ।

 

 

एउटै नाउमा चढेर हामी नदि पार गर्नुपर्छ । यस्तै कुराहरु यहाँसमक्ष टक्र्याउँदै समयको अभावको कारण यहाँहरुसँग धेरै कुरा राख्न सकिन, फेरी फेरी यसरीनै भेटौं भन्दै बिदा हुन चाहन्छु । तागेरा निङ्वाभू माङले हामी सबैलाई रक्षा गरुन् ।
जय किरात । तियाहा ।