गुरु र शिष्य


दिलबहादुर योङहाङ

 

जब शिष्य बन्न तयार हुन्छौं, तब गुरु आफै मिल्छ । शिष्यसँग अहंकार हुन्छ, अज्ञानता हुन्छ । शिष्यले आफूमा भएको गुण अवगुण सबैलाई स्वीकार गर्दै यसबाट पार हुन गुरुप्रति समर्पण हुन्छ । शिष्यको स्तर जहाँ छ जे, जस्तो छ उहीँबाट गुरुले मार्गदर्शन सुरु गराउँछ । अहंकार शब्दको पर्यावाची नाम हो मन, विचार, कामना, इच्छा, आकांक्षा । अहंकारको प्रतीक पिंध बिनाको बाल्टी जस्तै हो । जुन बाल्टिमा जति पानी भरे पनि भरिदैनन् ।

 

जतिनै पद, प्रतिष्ठा र सम्मान, धन सम्पति मिलेपनि अहंकार (मन) ले कहिल्यै भयो, पुग्यो भन्दैन । यसबाट मुक्ति पाउन जो अहंकारबाट मुक्त छ, मनबाट मुक्त छ उसैको माध्यमबाट मात्र मुक्तिको उपाय मिल्छ । गुरुको साथ र समर्पणले जतिसुकै वंशाणुगत भएर आएको अशान्त चित्त, अशान्त मन र अहंकार किन नहोस धेरै समय टिक्दैन । त्यसैले गुरु नपाएसम्म अहंकार हट्दैन र यसको उपाय गुरुबाहेक अरु कुनै कुराले मुक्त गर्न सक्दैन । त्यसैले गुरु अनिवार्य छ ।

 

अहंकारले शिष्य हुनबाट रोक्छ र त्यहीँ अहंकार दिवाल बन्छ र गुरु कहाँ पुगिँदैन । यसले कहिल्यै झुक्न पनि दिँदैन र कसैले पनि आफूसँग भएको चिज छोड्न मान्दैन । त्यसैले शिष्य बन्न त्यति सजिलो पनि छैन् । आफूले मेहनत गरेर संग्रह गरेको बासी विचार सत्य लाग्न थाल्छ र आफ्नै हो जस्तो भ्रमले फुत्किन दिदैन । बासी विचारको संरक्षणमा लाग्दा लाग्दै शिष्य हुने क्षण घुम्छ । शिष्यको कला भनेको खाली हुने कला हो । विचार, बुद्धि र तर्क भन्दा माथिको तहमा प्रवेश गर्ने कला हो ।

 

विचार, बुद्धि, तर्क, अहंकार विद्यार्थीमा हुन स्वभाविक हुन्छ किन कि, त्यहाँ किताब पढाइन्छ किताब भनेको अरु कोही दोस्रो व्यक्तिको विचार र बुद्धिको संग्रह हो र विद्यार्थीको शिक्षा बुद्धि केन्द्रीत हुन्छ, तर्क खोजमा आधारित हुन्छ । शिष्यको ज्ञान आधार केन्द्र आफैभित्र बन्छ । गुरुको आधार कहिल्यै पनि पुस्तक हुँदैन । आफै भित्रको जागृत सिद्ध ज्ञान स्वयम सिद्ध आत्मा ज्योतिको विस्तार हो, भित्रबाट बाहिर प्रज्योलित प्रकाश हो । त्यसैले ज्ञान विकेकको साधनाको माध्यम बाहिरी बस्तु हुँदैन र किताबको सहारा पनि हुँदैन ।

 

गुरुको सामिप्यता पनि साधना भित्रपर्छ उसले श्रवण कला अनुभव गर्छ, मुन्धुममा यसलाई साम्याङ्वा नेःखोरे खेप्सेम्मे ओ, युप्पावा नेःखोरे खेप्सेम्मे ओ भनेर सम्बोधन भएको छ । यसको सारतत्व हो पवित्र भाव, शान्त चित्तले सुन्नु । सुन्ने बेलामा कुनै पूर्व धारणारहित हुनु र चिन्तन मुक्त रहनु, रित्तो भएर सुन्नु यस्तो अवस्थामा श्रवणमा समग्रता आउँछ । कानको खुबि आँखा भन्दा ज्याँदा समग्र छ, कानले कहिल्यै आधा सुन्दैन पूराका पुरा सुन्छ । चारै दिशाको सुन्छ । आँखाले संधै एक भाग मात्र देख्छ आँखा पूर्ण एकाङ्की छ ।

 

आँखा हाम्रो बसमा छ खोल्न, बन्द गर्न मिल्छ तर, कान अझै् परमात्माको हातमा छ । सदा खुल्ला छ गहिरो भन्दा गहिरो निद्मा पनि कान खुल्ला छ आँखा त बन्द छ । पूरा सत्य आँखाको बसमा छैन् । एउटा सानु ढुंगाको टुक्रा समेत एकसाथ पूरा देख्न सकिँदैन । आँखा यति कम्जोर छ एक हिस्सा देख्छ, दोस्रो हिस्सा देख्दैन । त्यसैले महावीरले भनेका छन सत्य देख्ने होइनन् सत्य सुन्ने हो ।

 

शान्त हुने कला ग्रहण गर्दै जान्छ, पवित्र हुने कला भनेको आफूभित्र जाग्ने विकृत विचार, चन्चल भावना उड्ना साथ त्यसलाई आफूबाट अलग राखेर हेर्न सके त्यसले कुनै ठाउँ पाउदैन र उपद्रो गर्दैनन् । गुरुबाट पाएको दिक्षाको माध्यमले जति आफूलाई गहँन रूपमा भित्र हेर्न सक्यो त्यतिनै जीवनमा शुद्धता पवित्रता आउँछ । लोभ, क्रोध लालचा, इष्र्या दुःख भित्रबाट आएको जस्तो भएपनि भित्र त मात्र witnessing power साक्षी चेतना छ । पवित्र मन, सफा हृदय, शुद्ध आत्मा यी शब्दहरु हमेशा सुन्दै आएका छौं तर, बुझ्दै जान्दै आएका छैनौं । यी शब्दहरु संधै शब्दमा मात्र सिमित भएका छन् ।

 

मन र हृदयको स्वभावनै चंन्चल हुन्छ त्यसैले हरेक गुरु र धर्मले समेत मन शान्ति, आत्मा शान्ति सन्देश दिएको हुन्छ । मन जहिले पनि छालको रूपमा तरंगित हुन्छ । मनको कुनै स्थायी बास हुँदैन । क्षणक्षणमा विस्थापित भइरहन्छ र यो मेला बजार जस्तै अनियन्त्रित भीड स्वभावमा रहन्छ । यसको अरु उपचारमध्ये मन्त्र जप पनि एक हो, मनलाई नियन्त्रण गर्न सकिदैन तर ध्यान, मन्त्र जप पूजा अनुष्ठान जस्तो माध्यमले रुपान्तरण गर्न सकिन्छ । मनलाई नियन्त्रण असम्भव छ तर अवश्य रुपान्तरण सम्भव छ ।

 

मन्त्र जपमा शब्दको रिपिटेसन हुन्छ । बारबार एउटा मन्त्रको रिपिटेसनमा मनले भुत भविश्यको कुनै स्मरण गर्न सक्दैन र मन वर्तमानमा अडिग रहन्छ यसरी मन बाहिर भड्किन नपाएपछि त्यसले शरीरमा शक्ति पैदा गर्छ । अर्को मनको विशेषता भनेको मनले एक पटकमा दुइ वटा कुरा क्यारी गर्दैनन् । कुनै पनि मन्त्र जपले मनको चन्चलता हट्छ र मनमा शान्ति आउछ, मनमा आउने डरत्रास हट्छ । त्यसैगरी श्वास जति समय रोक्न सकिन्छ त्यति समय विचार विलिन हुन्छ र एक प्रकारको खाली अवस्था वा शुन्यता पैदा हुन्छ, खाली स्पेस बन्छ यस स्थितिलाई पवित्र मन, शान्त चित्त भनिन्छ ।

 

यसरी विचार चित्त निर्विचारमा रुपान्तरण भएपछि त्यो ठाउँ शून्य बन्छ त्यहीँबाट शुद्ध पवित्र हुन्छ र तान्ने भर्ने शक्ति पैदा गर्छ र जुन मन्त्र जे उद्देश्यमा साधना गरिएको छ त्यसबाट सिद्धि पनि मिल्छ । गुरु दिक्षा पाउनु, ग्रहण गर्नु भनेको आफूले आफूलाई हेर्ने र मन र हृदयलाई शान्त गर्ने अमूल्य सूत्र हो । मन र हृदयमा संधै उथलपुथल चलिरहन्छ । मनमा विचारले सताउँछ, हृदयमा भावना आउनजानाले अशान्त हुन्छ । हृदयमा कहिले प्रेम भावना आउँछ कहिले क्रोध भावना चल्छ । कहिले कठोरता आउछ कहिले करुणा आउछ । कहिले दोस्ती त कहिले दुस्मनी चल्छ ।

 

यसरी निरन्तर बद्लिरहन्छ भावना पनि तथापी कुनै भावना लामो समय टिक्दैन । मन र हृदयको चंन्चलता देख्ने, जान्ने कला हो गुरुदीक्षा । यस साधनाले हाम्रो हृदय, मन त्यसै सफा हुन्छ अकारण आनन्द आउँछ । यहीँ कला जान्नलाई जीवन्त गुरु चाहिन्छ । घरको कोठामा भएको धूलो मैलो जतिसम्म देख्न सकिन्छ त्यतिनै त्यो कोठा सफा राख्न सकिन्छ । जति देख्न सकिँदैन त्यतिनै फोहोर मैला रहिरहन्छ । त्यसैले गुरु पाउनु, शिष्य हुने सौभाग्य पाउनु एउटा द्धार खोलिनु हो भने, आफूले आफै भित्र भएको मनको कसिङ्गर, हृदयको तुफान देख्न सक्नु, जान्न सक्नु असल शिष्यको कुशलता हो ।

 

शिष्यले कसैको नक्कल गर्दैन गुरुले जलाई दिएको दियो सधैं प्रज्वलित छ कि छैन हेर्ने काम गर्छ । शिष्यको शिक्षालय हुँदैन सत्सङ हुन्छ । सत्सङमा श्रव्यज्ञान, दृश्य ज्ञान र उपदेश पाइन्छ यो जीवन परिवर्तनको मोड बन्छ । गुरुद्वारा निर्देशित आचारसंहितामा रहेर सत्य आहार, सत्य बिहार, सत्य वचन जीवनसँग जोड्नुपर्छ । सत्य आहार यस भोजनमा केहीँ विशेषतायुक्त भोजनहरु छन् आलस्य भोजन र मादकता भोजन । आलस्य भोजन भन्नाले असन्तुलित खाना । खाना ज्यादा खाएपछि पचाउनमा धेरै शक्ति लाग्छ र आलस्य पैदा गर्छ त्यसैले खाना न ज्यादा न कमि । यसलाई सम्यक आहार भनिन्छ ।

 

अर्को भोजन भनेको मादकता हुनु हुँदैन जुन खाना खादा मात लाग्नु हुँदैन उत्तेजना पैदा नगरोस । खाना खाएपछि शरीरमा फुर्ती अनुभव होस् । सत्य बिहार, बिहार भन्नाले हिडडुल गर्नु कतै जानु । यसरी हिडडुल गर्दा मन अन्तै शरीरको चाल अन्तै नहोस् मन र शरीरको हरेक कदम एउटै होस कदम कदमको स्टेपमा होसपूर्वक ध्यान रहोस् । सत्य वचन, सत्य वचन भन्नाले नढाटनु पनि होइनन् र ढाट्नु पनि होइनन् यसको मूल सार भनेको शान्त चित्तले शान्तमनले बोल्नु भनेको हो किन कि शान्त मन भएको व्यक्तिले न कसैलाई गाली गर्न सक्छ न कसैलाई लुट्ननै सक्छ । कसैलाई गाली गलौज गर्नु परे कसैको गर्धन निमोठनु परे सिर्फ अशान्त भए काफी छ ।

 

शिष्यले आफूमा शब्द, सिद्धान्त भर्न पनि जान्दछ । खाली हुने कला पनि जान्दछ यो पनि शिष्यको गुण हो । त्यसैले शिक्षकले खोपडी भर्न सिकाउँछ गुरुले पूराका पूरा खाली हुने शून्य हुन प्रेरित गराउँछ । जति खाली हुन सक्यो त्यतिनै नयाँ चिज प्रकृतिले आफैं तान्छ । शिक्षकले पढ, कन्ठ गरेर आइज भन्छ गुरुले आत्मा शुद्धि, मन शुद्धि हुनुपर्छ भन्नु हुन्छ । गुरु बिना त शास्त्र र मुन्धुम समेत जन्मिदैन् त्यसैले गुरु हुनाले मात्र मुन्धुमले पूर्णता पाउँछ ।

 

गुरुको स्थान प्रथम हुन्छ अनि मात्र माङ (परमात्मा) को महिमा झल्किन्छ र गुरुसँग दिव्य अपार अनुभव हुन्छ । त्यसको आंशिक सार शास्त्रमा लिपिवद्ध भएको हुन्छ, सबै कुरा शास्त्रमा आउनै सक्दैन् कारण शब्दमा सत्य कुरा क्यारी गर्ने क्षमता निक्कै न्यून हुन्छ । त्यसैले धर्मशास्त्र कन्ठस्त गर्नेहरु आत्मा ज्ञानी हुँदैनन् सिर्फ शास्त्रको व्याख्याकार र ज्ञाता हुन्छन् । शास्त्रको अध्ययन्ले ज्ञान त पाइन्छ तर, स्वयंको ज्ञान वा सत्यको अनुभव पाइदैन । कुनै पनि धार्मिक गुरुहरुले स्कूलमा पढेको, सिकेको पाइदैन बरु वर्षौ ध्यान, तपस्या गरेको पाइन्छ । गुरुनै एक मात्र मार्ग र मन्जील बोध भएको मुक्तिदाता, मुक्ति मार्ग हुन । त्यसैले शिष्यको प्रथम परमात्मानै गुरु हो ।

 

गुरु बिनाको परमात्मा प्राप्तिको प्रयास बौद्धिक कसरत मात्र हो । बौद्धिक कसरतले जीवनको अन्त्यहीन मार्ग मिल्छ तर, अन्तिम मन्जील मिल्दैन । शिष्यको लागि परमात्मा होइन गुरुनै पहिलो माध्यम बन्छ । गुरु पाउनुनै परमात्मा प्राप्तीको प्रथम र अन्तिम सिढी हो । किन कि गुरु परमात्मामा लीन भएको होइनन् परमात्मा चाहीँ गुरुमा लीन भएको हो यो तथ्य त किरात साम्जिकको मुन्धुममा समेत उल्लेख छ ।

 

यदी गुरु नपाए शास्त्र त पाउँछ तर, शास्त्रले आत्मा साक्षरता सत्य अनुभव दिँदैन तथापी, शास्त्र नपढ्नु, त्याग्नु भनेको चाहीँ होइनन् शास्त्र जान्नु पर्छ तर त्यहीँ शास्त्र दिवाल बन्नु हुँदैन । त्यसैमा अल्झिनु हुँदैन । त्यसको पूरा रस पिउनु पर्छ । त्यसैले भोली के हुन्छ थाहा छैन् तर अहिले गुरु हुनु हुन्छ, मुन्धुम छ यहीँ बेला सुनौलो मौका छ गुरु र मुन्धुम दुवैको सहाराबाट हिलो र धमिलो पानी पार गर्दै फुलेको कमलको फूल बन्ने वर्तमान अवसर हाम्रो हातमा छ ।

(माङसेबुङ मासिकबाट साभार)