(२०५५ मंसिर १९ गते माङसेबुङ ५, साविक बाँझो–९ स्थित किरात हाङ्साम मुजोत्लुङ माङ्हिम परिसरमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ४५ औं शुभ–जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा समारोहको अवसरमा अङसीमाङज्यूले दिनु भएको माङ आशीर्वचन)
प्रिय चेलाभुलाहरु एवं भतजनहरु ।
विगतमा झै शुरुदेखिनै धर्मको उद्देश्य र महत्वबारे तपाईहरुलाई पुर्ण रुपले सुनाउन इच्छा राखेको छु । नियमित रुपमा संचालन गदै ल्याइएको यस कार्यक्रममा हाम्रो धर्म, भाषा, साहित्य, संस्कार र संस्कृतिको सही मार्गदर्शन खोज्न भेला भएका छौ । कुम्भकर्ण हिमालको फेदी अर्थात् पहाड र तराइको बीचमा रहेको यो अभेग (दुर्गम) ठाउँमा म बसेको छु । यहाँ पहाडको अनि तराइको हावा बहने गर्छ । यस्तो विकट ठाउँमा प्रत्येक वर्ष ठूलो धार्मिक भेला गर्ने कार्यक्रम तपाईहरु कै निमित आयोजना भइरहेको छ । त्यसैले यो मौका बारम्बार पाउन मुस्किल हुन्छ ।
यो पृथ्वीमा जब जब पापको मात्रा बढदै जान्छ तब धर्मको उदय हुने गर्छ । हाम्रो समाज पापमा डुबेको छ भने उद्धार गर्नलाई धर्म चाहिन्छ । यसरी हाम्रो समाजको उद्धार गर्न केही वर्ष अघि महागुरु फाल्गुनन्द लिङदेनज्यू हाम्रो किरात कुलमा जन्मि धार्मिक कुराहरु सुनाउँदै आउनुभएको तपाईहरुलाई थाहै छ । धर्मको निमित विभिन्न युगपुरुषहरु अवतरित हुने क्रममा नेपाली भू–भागको किरात कुलमा व्याप्त अन्धकारलाई हटाउन महागुरु फाल्गुनन्द अवतरित हुनु भएको पाईन्छ ।
मेरो जिजुबाजे महागुरुले जुन कार्य गर्नु भएको थियो सो कार्य वहाँको समयमा अधुरो रहेको हुनाले त्यसलाई केही सुधार गर्न म आएको हँु । चिन्नु भयो भने यो तपाईहरुको भाग्यको दिन हुनेछ, चिन्नु भएन भने दुभाग्यको दिन हुनेछ । मेरो जिजुबाजे महागुरुले सम्पूर्ण किरातहरु एवं मानव समाजलाई सुधार गर्नको निमित्त धर्म उपदेश दिदांदिदै तथा किरातीहरुको विविध कार्यहरु तर्फ लाग्दालाग्दै वहाँ समाधिस्थ हुनुभयो । वहाँको समाधिस्थको कारण अधुरो रहनाले यसलाई पूरा गरी दिने जिम्मा ममा आईपुगेको छ ।
गुफा साधन गरेर समाधिस्थद्धारा म आफूमात्र मुतिm भएर जाने मेरो ठूलो इच्छा थियो । तर सिद्ध हुँदा तागेरा निङवाभुमाङ्बाट तिम्रो जिजुबाजेले गरेको कार्य अधूरो छ । त्यसलाई पूरा गर्नु र समाजलाई सुधार गर्नु भन्ने आदेश पाए । तागेरा निङवाभुमाङको सो वचनलाई म कार्य क्षेत्रमा उर्तान तर्फ लागे । त्यसरी मैले शुरु गर्दा यहाँ पञ्चायतकाल थियो । त्यस बखत बहुत कठिनाई भए पनि हाम्रो समाज भेला गर्दै स–सानो कुरालाई सम्झाउँदै ल्याइयो । हाम्रो भाषा, साहित्य, संस्कृति र धर्मको जर्गेना गर्दै हाम्रो मुन्धुम र शःसीलाई सुधार गर्दै लैजाने कार्यहरुमा मैले निरन्तर ध्यान दिँदै आए । यस कार्यमा धेरै बाँधा, विरोध एवं अड्चनहरु आए तर पनि तागेरा निङवाभुमाङको पूर्व सिद्धीशतिले गर्दा त्यो प्रचार गरेको कार्य सिद्ध हुदै आईरहेको छ । सफलतातर्फ अग्रसर किरात धर्म, लिपि, भाषा, साहित्य र संस्कृति सम्पूर्ण भक्तजनहरुमा एवं मानव समाजमा पस्न सकोस् साथै ग्रहन गर्न सकुन भनेर मैले यस स्थलमा तपाईहरुलाई घरिघरि बोलाएर उपदेश (सिवाखाहुन) दिने एउटा चलन राखेको छु । यो मंसिर १८ गतेको गुरु माङ्गेना कार्यक्रम भनेको सारा मानव जगत्को रक्षार्थको लागि हो । किरातहरुको सृष्टिकालदेखिनै प्राचिन धर्म, मुन्धुम शःशी थियो । तर, कालान्तरमा हाम्रो अंहकार, क्रोध र घमण्डले त्यो हरायौं । त्यसैले किरातीहरु हाल विन्दा खोज्ने कस्तुरीको स्थितिमा पुगेको छन् । म तपाईहरुलाई के अनुरोध गर्न चाहन्छु भने, आफ्नो वासना आफैसँग छ, आफनो रुप, मुन्धुम, शःशी, साहित्य, कला, धर्म र संस्कृति आफैसँग छ भनेर तपाईहरुले सम्झिनु पर्छ ।
आ–आफ्नो धर्म आ–आफ्नै स्थानमा छ । राम्रो गुण जुनबाट पनि लिन सकिन्छ । हिजो सम्मानीत प्रधानमन्त्री आएर किरातहरुको धार्मिक कार्यक्रम अर्थात माङगेना कार्यक्रम उद्घाटन गरी दिनु भयो । वहाँले ज्ञान भन्ने कसैको पेवा हुँदैन भन्नुभयो । यसमा म ज्याँदै खुसी छु । किरात धर्म ज्ञान हुन पुगेको र यो भविष्यमा गएर सम्पूर्ण मानव जगतको लागि हुनेछ । हाल किरात धर्म भन्नाले कुनै एक जातिको मात्र पो हो कि भन्ने सोचाई आउन सक्छ तर, त्यो हाईनन् । किरात धर्म भनेको प्राचिन धर्म हो, प्राचिन मुन्धुम शःशी हो । सोधुङगेन लेप्मुहाङदेखिको हाम्रो मुन्धुम छ जुन सात दिन सात रातमा पनि टुङगिन्दैन् । हाम्रो यस्ता धेरै मुन्धुम शःशी भए पनि अहंकार र घमण्डले गर्दा मासिनु परेको छ । सहर बजारमा जाँउ हाम्रो समाज राम्रो स्थितिमा पाईन्दैन । म पनि त्यसै सन्तानमा परेछु । मैले मेरो दाजुभाई भेटनु प¥यो भने कहाँ भट्टी छ, कहाँ गोसखान छ, त्यहाँ पुग्नुपर्छ । जहाँ उनीहरु या त रक्सीले मातिरहेको हुन्छन् । यस्तो कु–संस्कारलाई सुधार गर्दै लैजाउ भन्न चाहन्छु । किनकि कुरीति, कुसंस्कारनै वास्तवमा पाप कार्य हो ।
औषधी भनेको तितो हुन्छ, मीठो हुँदैन । कपेटको औषधी खाँदा मुख बिग्रिन्छ, तितो हुन्छ, पेट पोल्छ । तर त्यसको गुण एवं असर राम्रो हुन्छ । त्यस्तै सिवादिङ खाहुन तितो हुन्छ तर त्यसको गुण मिठो हुन्छ अर्थात् राम्रो हुन्छ । महागुरु फाल्गुनन्द लिङदेनज्यूको पालामा पनि वहाँद्धारा यस्तो उपदेशहरु भएको हो । वहाँ भन्नुहुन्थ्यो ए नजाउ, अहंकार नगर । यसरी वहाँले यसो भन्नु भए पनि हामी राम्रो बाटोमा हिंड्न गाह्रो मान्छौं । फलनालाई त कुट्यो भन्दा हामी उफ्रीउफ्री गई हाल्छौं । यसरी हाम्रो ज्ञान हरायो, मति हरायो । मति हराएपछि अधोगति आउँछ । त्यसले नचाहिँदो बोल्नु, झै झगडा गर्नु, जुवा तास खेल्नु, असामाजिक कार्य गर्नुजस्ता कार्यमा डुबाउँछ । त्यसैले यी कुराहरुलाई हामीले बेलैमा अलग गर्नुपर्छ ।
होरुसा अर्थात राक्षस हामीले पालेको छांै । यो परदेखि आउँदैन किनकी परदेखि आएको दुश्मन, दुश्मन होइन् । हाम्रो दुश्मन त राक्षसको रुपमा हामीभित्रै लुकेको हुन्छ । एउटा मनले भन्छ यो काम गर्दा ठीक होला अर्थात हिड्दा ठीक होला । अर्को मनले भन्छ हैन, यो अन्त्यमा हामी नराम्रो कर्म तिरै लाग्छांै । यो हाम्रो कर्म नै राक्षसी कर्म बाटो हो । यी दुवै संगसंगै हुन्छ । विष पनि झुण्डेको हुन्छ भने अमृतको टुक्राको छेउमा अलिकति विष पनि झुण्डेको हुन्छ । त्यस्तै हामी किरातीहरुको सभ्य हुने बाटो छ भने, हाम्रो बाटो त खुकुलियो तर दायाँबाायाँतिरको बाटो पछयाईरहेको छांै । हामी जीव हत्या गर्दछौं । हामीले विवाह, भोज कार्य गर्दा, सेवा गर्दा, भक्ति प्राथना गर्दा, जीव हत्या, हिंसा गर्दैछौं । त्यो कुबाटो हो । त्यसलाई हाम्रो मुन्धुम्ले माखिया खाजोङ् भन्छ । माछा जाल हान्ने जालहारीलाई कुनै दिन जाल हान्दा हान्दै खोलाले सुतै बगाएर लान्छ र आफूले अपनाएकै बाटो जान्छ । तर हामीले राम्रो कर्म ग¥यौ भने राम्रो बाटोमा जान्छौं । तर हामीले त उहिले पाएको पो हो त भन्दै त्यो त साँधुहरुको मात्र हो, त्यो त खाप्पुकेवाप्पा (खरानी घस्ने) सत्यहाङमाहरुको मात्र पो हो त भन्छौं तर त्यो खाप्पु केवाप्वाहरुले के कुरा बोकेको छ, त्यो कुरा पहिल्याउन सकेको छैनौं ।
जीवहत्या अर्थात हिसां गर्नु, अर्काको पाप चिताउन, अभक्ष पर्दाथलाई सेवन गरेर झै–झगडा गर्नु, छोरी चेलीहरुलाई बेचेर खानु कुमार्ग हो । जसलाई सुगुप फन्का लाम् अर्थात राक्षसको बाटो है भनेको छ । हाम्रो फेदाङबा, विजुवाहरु सुगुप् फङफा साक्मरो अर्थात राक्षसको बाटो थुन्यौ है भन्छन तर उता राक्षसी काम गरिरहेको हुन्छन । हामी सज्जन व्यक्तिहरुले यस्तो कु–कार्यलाई छोड्नु पर्छ । कु–कार्य अर्थात कु–कर्मको अर्थ धेरै लाग्छ । आङदिङ ल?मा मेल्लो अर्थात अहंकार ग¥यौं भने हराईन्छ । ताफेम्बा लाम्हा तिक्मेल्लो अर्थात नराम्रो बाटो पछ्यायौं भने अलमलिन्छौं । यस्ता धेरै सुधार गर्दै लानु पर्ने छ धर्म सुधार गर्नुपर्छ । धर्मको बारे आवश्यक कुराहरु समय समयमा बोल्दै आइरहेको छु । तर यो सुन्नेलाई फुलको माला र नसुन्नेलाई काउछोको माला पनि हुन सक्छ । ठीक बेठीक बाटो चिन्ने जिम्मेवारी तपाईहरुमा पनि छ । यो तपाईहरुले बुझ्नु पर्छ नत्र अल्मल्याउँछन् नि फेरि ।
धर्मको कुराहरुमा मूल तत्व अर्थात मूल कुराहरु एउटै हुन्छन, तर तपाईहरुले अवलम्बन गर्ने धर्म दर्शन भनेको किरात धर्म दर्शन हो । अहंकार नगर्नु, घमण्ड नगर्नु, हाम्रो जातिहरु साह्रै रिसाउँछन, उफ्री पनि हाल्छन, नरिसाउँनु, क्रोध नगर्नु यी यस्ता तत्वहरुलाई किरात धर्मदर्शन अनुसार पन्छाउँदै जानुपर्छ । एकै चोटी नपन्छाए पनि विस्तारै पन्छाउनु पर्छ । किनकी एउटा ठूलो ढुङगालाई पन्छाउन समय लाग्न सक्छ हजुर । हामी किरातीहरु छोरीचेलीको सोतरीत खान्छौं । छोरी चेलीहरु विवाह गर्दा ५०÷६० हजार सोतरीत खाएको सुनेको छु । हामी भविष्य सोच्दैनौं, केवल अगाडि परेको मात्र भने त्यो त जग्गा बेचेर अर्थात साहुलाई जिम्मा दिएर ल्याउनु प¥यो नि । त्यो छोरी र छोरीबाट जन्मने सन्तान बेग्लै त पक्कै होईन । वास्तवमा हामी यहीँ कुरामा उल्टो गरिराखेकोे छौं । यसरी हामी जिउदै सुकुम्बासी हुनुपरेको छ । हिजो त किपट थियो भन्थे तर मैले त भेटिन । अहिले त जंगल पनि सकियो अब भोली गएर कहाँ बस्ने हो केही अत्तोपत्तो छैन् । यसरी हाम्रो सुधार कार्यलाई यस्तै स–सानो तत्वले अल्झाईरहेको छ ।
हामीले यस धर्ममा प्रबेश गरेपछि यस्तो सोतरीत खाने कार्य त्यागनु पर्छ । हिजो पल्के पनि त्यसको रस त्यसै भए पनि अर्थात मासुको पैचो बुझाउने चलन भएपनि त्यसलाई छोडनुपर्छ । किनकी यस कार्यले हामीलाई कुन भीरतर्फ धकेल्दैछ, बुझनुपर्छ । हामी त बुढो भईसक्यौं । त्यसैले युवायुवतीहरुले ध्यान दिनु जरुरी भएको छ । किनभने बोल्दा बोल्दै मेरो केश पनि फुलिसक्यो, चालिस नाघेर उमेर उता गईसक्यौ, आँखा पनि तीरमिरो हुँदैछ । बोल्दा बोल्दै कुन दिन माङको निगाह भयो भने गइन्छ नि । हुइन्जेल त म तपाईहरुलाई यसरी बटुलेर सम्झाउने प्रयास गरी बस्छु, केही आपत्ति छैन् । हामी किरातीहरुबीच कम खर्च हुने चलन चलाउनु पर्छ । हाम्रो समाजमा हामी सभ्य हुने गहँन भूमिका हामीले गर्नैपर्छ । हामी किरातीहरुको जातीय संस्थाहरु अहिले धेरै छन् । धेरै पढे लेखेको विद्धतवर्गहरु पनि त्यसमा रहेको छन् । तर म के भन्छु भने, त्यो पढेको कुरालाई हाम्रो समाजमा प्रयोग गर्नुपर्छ । अर्काको पढेर आए पनि हाम्रो समाजलाई सुधार गर्ने काम गर्नुपर्छ । हाम्रो विद्धानहरु धेरैजसो मुर्ख विद्धानको रुपमा मात्र पाएको छु । म त धेरै पढेको छु भनेर ठूलो भएर हिड्नेहरु ज्याँदा छन् । ऊ त काठमाडौदेखि सबै हेरेर बसिराखेको छ । बुढापाकाहरु घरबसी नेपाल देख्ने भन्थे त्यो जस्तो बसेर सबै देख्ने भएको छन् । हामी वास्तवमा जति डिग्री हासिल गर्दै जान्छौ त्यति हाम्रो अहंकारलाई छोड्दै जानुपर्छ । हाम्रो चेतना ब्यँुझिन पर्छ । चेतना व्युँझिन सकेन भने हामी जति पढे पनि मुर्ख विद्धाननै हुन्छौं । त्यसैले हामी पढनु पर्छ तर मुर्ख विद्धान चाहीँ हुनु हुँदैनन् ।
म सधै भन्ने गर्छु कि यो ठाउँमा मैले नमूनाको रुपमा सत्यको फुलबारी बनाईरहेको छु । तपाइहरु यहाँ भेला हुनुभयो । राई, लिम्बूको जमात भन्छ किरातीहरुको भेलामा लाप्पा खेल्ने हाम्रो चलन छ । विवाहमा गयो लाप्पा प¥यो, बजार गयो लाप्पा प¥यो, अरु मानिस चाहीँ चन्द्रमामा पुग्छ भने हाम्रो मानिस चाहीँ रक्सी खाएर उत्तानो परेर बसिरहन्छ । यसरी हाम्रो समय गई हाल्छ अनि जब बुढाबुढी भइन्छ तब छोरा छोरीलाई कमाई दिनुपर्ने भन्दै कुदि हिडिन्छ । उता माथिबाट आउ आउ भनेर घण्टी बजिसकेको हुन्छ, चलि जानु पर्छ । तिसांै हजारको जमात भएपनि तपाइहरु संयमता साथ, आनन्दसाथ बस्नुभएको छ । नत्र किरात भेला यस्तो हँुदैन । यसरी नै रीस, अहंकार र झैझगडालाई पन्छाउदै अगाडि बढ्नुपर्छ । तपाईहरु धेरै ज्ञानी भईसक्नु भएको छ । अहिले तपाईहरु धेरै माथिल्लो स्तरमा उठिसक्नु भएको छ । चेतना तपाईहरुमा व्युँझेको छ । यस्तै समाज बनाउनलाई मैले हरतवरले समय समयमा भेला गरेर सम्झाउने प्रतिज्ञा गरेको छु । तपाईहरुको निमित्त ज्ञान प्राप्त गर्ने स्थान स्थापना गरिदिएको छु । यो भोली गएर नेपालको मात्र नभएर विदेशका किरातीहरु र गैर किरातीहरुको लागि समेत महत्वपूर्ण हुनेछ ।
आज तपाईहरुको मुखमा चुरोट छैन् । नत्र राई, लिम्बूको अलि जमात बढेपछि सखुवाको पता सल्किए जस्तो सल्कि जान्छ । यत्रो जमात छ कहीं झगडा छैन् । यो स्वभाव भनेको हाम्रो सभ्यताको सूचक हो । तपाइहरु शुद्ध बन्नु भएको छ । आत्मालाई शुद्ध राख्नुहोस । रीसलाई कम गर्नुहोस । हामी सभ्य कसरी हुन सक्छौ भन्ने कुरा मौरीले खिल गाडे झै आत्मामा गाडनुहोस तब मात्र हाम्रो सुधार भएर जान्छ । युग एकदमै खारिदै गईरहेको छ । संसार राम्रो हुँदै आईरहेको छ । नयाँ सोच विचार र नयाँ कुराहरु गर्दै जानुपर्छ । महागुरुको मुन्धुम शःसी अनुसार पवित्र भावना राखेर साँचो बोल्नु, सत्यमा अडिग हुनु र राम्रो बाटो पछयाउनु पर्छ । यो मुन्धुम शःसीको सत्यमा अडिग हुनु र राम्रो बाटो पछ्याउनु पर्छ । यो मुन्धुम् शःसीको भित्र पसेर मात्र राम्ररी बुझिन्छ तर, यो भित्र पसेर पनि अहंकार, क्रोध र घमण्ड फाल्न सकिएन भने सत्यको समाज बन्न सक्दैन ।
भंवरा र गुह्ये किराकोे अनुहार एउटै छ । भंवरा पनि भँ गरेर उड्छ र गुह्ये किरा पनि भँ नै गरेर उडछ । यी दुइले एक समय मीत लाएछन । भंवरा मेरो मीतलाई राम्रोसँग सम्मान गर्नुप¥यो भनेर फुलबारीमा लगेछ तर गुह्ये किरा अनिकालले झण्डै मरेछ । अनि गुह्ये किराले भनेछ– होइन, मीतज्यू म त यहाँ बस्न सक्दिन । अब ऊ बस्न सक्ने ठाउँमा गुह्ये किराले भवरालाई लगेछ । भँमरा गुह्ये किरा बस्ने ठाउँमा बस्न नसकी फुलबारी तिरै उडदै गएछ । त्यस्तै हामी किरातीहरुको संस्कार एवं व्यवहारहरु त्यहीँ डल्लो भित्र छ । त्यसलाई त्यहाँबाट निकालेर सज्जन बन्नु भन्ने मेरो निवेदन छ । लिम्बुवानमा जन्मेको म, मेरो किरात समाजलाई राम्ररी चिन्छु । किरातीहरु विवाह कसरी गर्छन, कसरी खान्छन कसरी सुत्छन् कसरी, बोल्छन इत्यादी यावत कुराहरु मलाई राम्ररी थाहा छ । यसबारे तपाईहरुलाई शिक्षा त म दिन्छु तर तपाईहरुले त्यहीँ किराको कथा झै दूलोमा लगाउनुभयो भने एकछिन त गएर बस्नै पर्छ र अन्तत भाग्नुपर्छ । त्यसकारण हामीले आहारविहार गर्दा शुद्ध आहार विहार गर्नुप¥यो, विवाह कार्य गर्दा ९÷१० वटा राँगा काट्नु भएनन् । हामीले पितृ इष्ट देवताहरुलाई ५० वटा देखि १०० वटा सम्म भाले काटन छोडनु प¥यो । किनभने हाम्रो फेदाङ्बा या साम्बाहरु यहीँ छन जो भाले नकाटे पनि उफ्रिन्छ । उफ्रिन लाउँदा सात दिनसम्म पनि नाच्छन् । भाले नकाटे पनि काम्छन् । त्यसैले हामीले सेवा पूजाआजामा सुधार गर्नु पर्छ ।
रक्तपातबारे हाङसाम थेबाको सिवाखाहुन इङ्घङ् छ । त्यहाँ भनिएको छ – सुँगुर, कुखुराको रगतमा डुबेर बस्ने माङ देवता होइनन् । म त माथी फुङजिरी फुङजङ, वाजिरी वाजङमा बस्ने उज्यालो ठाउँमा मात्रै बस्ने माङ् हुुँ । हाम्रो परम्परा अनुसार आफ्नो मान्छेको मृत्यु भयो भने लास रुङनुपर्छ भन्ने ज्ञान हामीलाई छ । त्यस लासलाई बिरालो, कुकुरहररुले पनि छुनु हुँदैन भनेर रक्षा गर्ने प्रचलन छ । यो वास्तवमा राम्रो नियम हो । तर नुन, तेल छोएर चोखिने समयमा कुखुराको पिण्ड चढाएर शुद्ध हुन्छन् । उहीँ भंवराको कथा आईगयो । त्यस्तो समाजलाई हामीले सुधार गर्दै जानुपर्छ ।
महागुरुको उपदेशमा फूलले अभिषेक गर्नु, फूलले शब्दी हुनु शुद्ध हुनु भनेको छ । फुङ हेक्के केओतिर, नाम् ला हेक्के केओतिर अर्थात फूल जस्तो पवित्र हुनु, सूर्य जस्तो चम्किलो हुनु र जुन जस्तो शितल हुनु भनिएको छ । मेन्छाम्गेन नाम्याप्मी सा, साम्माङ सा, तागेरा निङवाभुमाङ् सा त हामी भन्छौं । हामी देवपुत्र हौं, हाम्रो मुन्धुम्ले त भन्छ तर कर्म चाहीँ राक्षस पुत्रको जस्तो भइरहेको छ । त्यसकारणले हाम्रा कर्म गराईमा सुधार गर्नुपर्छ । यहीँ यस्तै कुरा बताउनलाई तपाईहरुलाई यहाँ दुःख दिएको हुँ । तपाईहरु देश विदेशबाट यहाँ आउनुभएको छ । तपाइहरुको मनमा तागेरा निङवाभुमाङ्ले बास लिएको छ भन्ने मेरो सोचाई रहेको छ । यहाँ पबित्र धारणा लिएर तपाईहरु बस्नु भएको छ । नत्र त कहाँ रांगा काटिन्छ, त्यहाँ मात्र जम्मा हुने हाम्रो चलन रहेको छ । अब त्यस्ता चलनहरलाई शुद्ध कार्यमा भेला हुने बानी राख्दै लानुपर्छ ।
महागुरुको पालामा लिम्बुवानमा सुब्बाहरु थिए । उनीहरु तोङवा नारेर बस्थे । सुब्बाहरु रिस उठेमा ढेङग्रो ठोकीहाल्थे । महागुरुले यस्तो अवस्थामा १० लिम्बू १७ थुमका समस्त चेला भक्तजन, बुद्धिजीवी, विद्धानहरुलाई भेला गराएर वि.स.१९८८ सालमा एउटा चुम्लुङ् गर्नुभयो । सो चुम्लुङ्ले ल है आजदेखि किरात लिम्बूहरु यो धर्ममा प्रबेश गर्नेहरुले छोरी चेलीको सोतरीत नखानु, देवी देवतालाई भोग नचढाउनु इत्यादीको मुचुल्का ग¥यो, जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । त्यो मुचुल्का सम्पूर्ण किरातीहरुले स्वीकारेको भए आज किरातीहरु चन्द्रमामा पुगेर अर्को लोकको खोजीमा हुन्थे । सो कुरा तपाईहरुले मनन नगरेको हुँदा, स्वीकार नगरेको हुँदा मै पनि घच–घच्याउन लागेको मात्र हुँ ।
त्यसबखत महागुरुलाई चिन्ने सर्वप्रथम त तुम्बापोहरुनै थिए । दिलमान तुम्बापो र महागुरु पल्टनमा सँगै थिए र आउँदा पनि सँगै आएका थिए । दिलमान र महागुरु आउँदा पारी भितामा आउँदै गर्ने सेतो जामा लगाउने दिलमानको गुरु होला है भनेर गाउँलेहरु भन्ने गर्थे । महागुरु त्यहाँ गाउँमा पुगेपछि गाउँका बूढोपाकोहरुले दर्शनभेट गरेको पाइन्छ । त्यसबखत त्यहाँ ठूलो पहिरो जाँदै थियो रे, त्यहीँ पहिरोको कुरालाई लिएर बुढापाकाहरुले सल्लाह गरेछन् कि यदी यसले त्यो पहिरोलाई थाम्यो भने, यसले भनेको कुरामा लाग्नुपर्छ र यदि सकेन भने वहाँको भनाईमा लाग्नु हुँदैन भनेछन् । यहीँ कुरा उनीहरुले महागुरु समक्ष राखेछन् । सो प्रस्तावलाई महागुरुले स्वीकार्नु भएछ र भन्नु भएछ – त्यसो भए मैले भनेको पक्का मान्छौ, तिमीहरुले । तिनीहरुले पनि त्यो पहिरो चाहीँ थामियो भने, हामी मान्छौं, हामी साधु हुन्छौं । खरानी घस्छौं भनेर भनेछन् । अनि धुप धुँवार, सेवा लगाएर पहिरो रोक्नु भएछ । त्यो ठाउँ अझै छ । त्यसरी पहिरो थामिदिएपछि तोङबामा नारिएर बस्ने त्यहाँका सुब्बाहरु धर्ममा लागेछन् । त्यसो त खाने बानी भएकाहरु महागुरुको आँखा छलेर अलि अलि सोतरीत पनि खान्थे । जे होस त्यसबखत त्यो ठाउँमा महागुरुले यसरी धर्मको सुरुवात गर्नुभएको थियो ।
सिवाखाहुन दिँदै हिडेपछि राई, लिम्बूहरुमा चेतना आउँदै गयो र एकता हुँदै गयो । यसरी हिड्दा वहाँको पालामा किरातीहरुको निमित्त ६ वटा माङहिमहरु निर्माण गरिए । यस धर्मबारे तथा कुसंस्कार र कुसंस्कृतिबारे उपदेशहरु दिदै जानुभयो । तर, त्यो समयमा वहाँलाई चिन्न सकेनन् । चेलाभुलाहरु, भक्तजनहरु अरुले चढाएको मिस्रीको डल्लामा मात्र झुम्मिन्थे । खाने कुरा र धन सम्पतिको माग गर्नेहरु मात्र जम्मा हुन्थे । त्यसैले वहाँको निधन पश्चात यो धर्ममा अन्धकार छायो । २२÷२३ वर्षसम्म अन्धकार रहेकै अवस्थामा योगाभ्यासद्धारा मैले यो कुराको सिद्धि शक्ति पाएपछि यसलाई ग्रहण गरेर अघि बढनु पर्ने रहेछ भन्ने मलाई ज्ञान आयो र १५÷२० जना गर्दै बटुल्दै ज्ञानगुणका कुरा गर्दै हिड्न थालें । यसरी हिडदा पुलिस पो आउँछ कि भन्दै डिउटी समेत सम्झाउँथे । त्यसबखत यो त राजा पो हुँदैछ भनेर आरोप लाग्यो । ०३६ सालमा त मेरो टाउको लाने समेत आदेश भयो र पुलिसहरु आए हामी त्यतिखेर चुलीमा लुकेर हुन्छ कि जंगलमा लुकेर हुन्छ कि के गरेर हुन्छ । हामी धर्म प्रचारमा लागिरहयौ । त्यतिखेर शून्य अवस्थामा रहेको धर्मरुपी त्यो अगुल्टोलाई झोस्दै र फुक्दै ल्यायौ अहिले त्यो बल्न थालेको छ, भोली गएर दायाँ बायाँ लाग्नु हुन्छ कि त्यो त म जान्दिन, किनकि त्यो तपाईहरुको आ–आफ्नै विचार हो ।
किरात एकताबारे महागुरुको विचारधारा पूरा गर्न र स्वच्छ एवं सत्यको फुलबारी बनाउन जति किरातीहरु भेला हुन्छ, उति किरात एकताको बोली बोल्दै आएको छु । किरात एकताको कुरा ज्यादै सत्य छ किनकि हाम्रो धर्म शीर्षस्थानमा रहन थालेको बेला महागुरुलाई पक्रेर लगे, अनेक दुःख र यातना दिए । अहिले आएर त्यस्तै स्थिति हुन लागिरहेको छ । हामीलाई पनि दुःख दिइरहेका छन् । हरेक किसिमको लान्छना सहँदै दुःखसाथ यो धर्मलाई हुर्काएर ल्याएर अहिले ३०÷४० हजारको एकत्रित मुहार देख्दा खुशी लागेको छ । मुक्ति हुन्छु कि भन्ने आशा लाग्न थालेको छ । त्यसैले मेरा प्रिय चेलाभुलाहरु हो, भक्तजनहरु हो नर्कमा जाने कार्य गर्नु भएन । सज्जन बन्नु प¥यो । यो ठाउँमा भनेको बाझ्ने, जुझ्ने, उच निचको कुरा उठाउने, व्यवहार गर्ने ठाउँ होइन । यहाँ जुनसुकै विचारधाराहरुको आउन सक्छ । जुनसुकै पार्टीको कार्यकर्तादेखि राजनेतासम्म आउन सक्छ । यो भनेको पानीको मुहान हो, जहाँ संसारका जो कोही आएर पानी पिउन सक्छ । जस्तो सूर्य उदाएपछि यहाँ फोहोर छ, त्यहाँ छाँया पार्नु पर्छ त भन्दैन । जताततै उज्यालो र रापले प्रकाश दिन्छ । त्यस्तै धर्मले पनि संसारलाई उज्यालो र ताप दिँदै जान्छ ।
अन्य धर्मका धार्मिक नेताहरुसँग पनि मेरो सम्पर्क छ । केही विद्धतवर्गसँग पनि मेरो सम्पर्क छ । वहाँहरुले पनि के भुन्नु हुन्छ भने किरातीहरुले जुन अमूल्य चीज पाएका छन् । त्यसलाई चिन्न सकिराखेको छैनन् । त्यहीँ चीज अर्थात् यो किरात धर्मको धनी तपाई सम्पूर्ण किरातीहरु हुनुहुन्छ । यो सौभाग्य चिन्न सक्नु भएन भने उम्किन सक्छ । त्यसैले तपाईहरु एक आपसमा फुट हुनुहुँदैन । हाम्रो किरातीहरु मुन्धुम् अनुसार खोलामा गएर साक्मुरा वादेम्मा (श्राप बगाउँछ) तर हाम्रा मान्छेहरु नानी जन्माएर आशिष दिनु पर्नेमा, मैले देखे जस्तै दुःख देख्नु भनेर श्राप दिन्छन । यसरी श्राप नदिनु, थुक्क नभन्नु किराती आमाहरु झगडा हुँदा श्राप दिन्छन् अनि त्यो पछि आफ्नै सन्तानमा पर्छ । सन्तान लाटा, मुर्ख, अपाङ्ग जन्मन्छ र समाज अशुद्ध हुन्छ र विस्तारै समाज खतम भएर जान्छ । श्राप गरेपछि पाप फैलिन्छ । पापले हामीलाई खतम बनाउँछ । त्यसैले श्राप नदिनु, यो ठूलो अपराध हो भन्ने बुझ्नु । थुक्क भनेर श्राप दिइयो भने भोली त्यो सन्तानमा हामीनै जन्मेर आउँछौ त्यतिखेर त्यो श्रापले हामै खुट्टा काट्छ नि । पर पो प¥यो भन्दा भन्दै यता आफ्नै खुट्टा काटेको थाहै हुँदैन । त्यसैले सांग्रा मुई चोक्माल्ले, लायो लास्यो पोङ्लो, तिङ्दिङ नाहेन हारा मिक्सो चोक्मेन्लेग, आःमा आबेक्लो अर्थात श्राप दिंदा पापले हामीलाई डुबाउँछ । आँखी डाह्री ग¥यो भने हराई हालिन्छ ।
हामी मान्छे भएर मान्छे बन्न सिकौ । आफुभन्दा मुनिकालाई सम्झाएर ज्ञान दिऔ । आफुभन्दा माथिकालाई सम्मान गरौ, किनकी हामी बाझेर जुुधेर केही पाउनु छैन् । हालै वैज्ञानिकहरुको एउटा भेला भयो । त्यसले शान्ति धर्ममा मात्र हुन्छ भन्ने तथ्य पुष्टि गरेको छ । ग्रहहरुमा पुग्ने चेष्टा गरिरहेका छन् । जिउँदो ईश्वर खोज्ने क्रममा उनीहरु अन्धाधुन्द जाँदैछन् । यहाँ तागेरानिङवाभुमाङ्को सृष्टिमा केही छ अर्थात यहाँ बेग्लै कुनै अदृश्य शक्ति छ भन्ने भावना उनीहरुको आत्मामा अल्झिसकेको छ । त्यसैले यहाँ केही नास्तिक छैन् ।
यहाँ कोही नास्तिक हुँ भन्छ । नास्तिक भनेको नाश हुनु हो, खरानी हुनु हो । खरानी भनेको उड्छ र हराउँछ । तर हामी किरातीहरु नास्तिक होइनौ, हामी आस्तिक हौं । हाम्रो मुन्धुम् छ, शःसी छ, ईश्वरप्रति हामी विश्वास गर्छौ । आफ्नो माता पितामा हामी विश्वास गर्छाै । इष्टमित्रमा विश्वास राख्छौं । त्यसैले हामी आस्तिक हौं । हामी कहिल्यै नाश नहुने आस्तिक हांै । हाम्रो आत्मा मर्दैन, हामी फेरी पनि जन्मनु पर्छ, अधुरो काम पूरा गर्नलाई । हामी पुर्नजन्ममा विश्वास राख्छौं । हामीले यस्तो आँट राखेर हाम्रो धर्म सुधार्नु पर्छ । किनकी अन्त्यमा सबैलाई धर्म चाहिन्छ ।
धर्म भनेको पानी हो । पानी सबैले पिउनु पर्छ । पानी बिना मानिस बाँच्न सक्दैन । पञ्चतत्वले हाम्रो शरीर बनेको छ । यो तत्वहरुमध्ये कुनै एक तत्व भएन भने पनि शरीर खतम हुन्छ । त्यसैले तागेरा निङवाभुमाङ्को सृष्टी यो शरीर ज्यादै अमूल्य र अनौठो छ । यो अमूल्य, पबित्र चोला हामीले पाएका छौं । तर हामीले यसलाई सुरक्षा गरेर राख्न सकेका छैनौ । हामी विंडी पनि खाईरहेका छौं, सुुर्ति पनि पिईरहेको छौं, मासु–मंस पनि खाईराखेका छौं, जाँड–रक्सी पनि पिईरहेको छौ, हिरोइन, चरेस, अफिम, गाँजा, भाङ् कोकिन इत्यादी पनि खाइरहेका छौं । यसले हाम्रो शरीरलाई नाश गर्दै जान्छ । त्यसैले यस्ता वस्तुहरुबाट हामी वन्चित हुँदै जानुपर्छ ।
म अरु समाजलाई गाली गर्दिन । म मेरै किरात समाजलाई हरतरहले गाली गर्छु । गाली गर्दा पहाडे गाली हैन, अर्तिको गाली गर्ने बाटोतिर लागिरहेको छु । तपाईहरु खानेपिउने कुरामा सुधार गर्नोस, खाने कुरामा समय राख्नुस । समय समयमा ब्रत बस्नोस् । ब्रत गर्ने नियम सिक्नोस । यसले तपाईहरुको स्वास्थ्यमा सुधार हुन्छ । साँझ विहान धुपबति गर्नाले तपाईहरुको जीवनको सुरक्षा हुन्छ । हाम्रा किरातीहरु बिहान उठेर धुपबती त हैन रक्सीले नुहाउने चलन छ । त्यसलाई त्याग्नु होस । आफ्नो छोराछोरीहरुलाई यस्तो शिक्षा दिनोस् । आफ्नो भाषा र संस्कृति सिकाउनोस । आफ्नो भाषा सिकेर मात्र अरुको भाषा सिक्नुपर्छ । त्यसमा केही आपत्ति छैन् । तर हामी आफ्नै भाषालाई हराएर, याद नगरेर अरुको भाषा सिक्छौ र अहिले हामीले हाम्रो आफ्नो भाषा बोल्न छोड्यौ र युरोपको भाषा अर्थात् बाबु आमालाई डेडी÷ममी भन्न थाल्यौं । यस्तै हो भने अबको दश पुस्तामा हाम्रो भाषा हराएर जान्छ । त्यसैले पहिला आफ्नो भाषा अनि मात्र अरुको भााषा सिक्नोस ।
हाम्रो संस्कृति पनि अहिले विकृत भइसक्यो । पश्चिमी शैलीमा गइसक्यो । अहिले पप् भन्ने पश्चिमी संस्कृति र शैलीको गीतहरुले हाम्रो लोक संस्कृति खाईसक्यो । हाम्रो प्राचिन अर्थात संस्कृति झल्काउने गीतहरु रच्नोस, बजाउनोस् अनि पो संस्कृतिको जर्गेना हुन्छ । जतासुकै गाएर, बजाएर त हुँदैन त्यसैले हाम्रो बाजागाजाहरु के थिए, हाम्रा मुन्धुमहरु कसरी गाउँथे, अनुसन्धान गर्नोस् । अनि मात्र हाम्रो पहिचान एंव अनुहारलाई चिनाउने र चिन्ने रुपमा अगाडी बढ्दै गरेको आफूलाई पाउनु हुन्छ । तर अरुकै उद्देश्यमा हिंड्नु हुन्छ भने हाम्रो संस्कृती त हराई हाल्छ ।
हामी फेजुकेन फेदाङबा, बिजुवा धामीमा विश्वास गर्ने जात हांै । विगतमा यो हाम्रो समाजको प्रचलनमा रहेको पनि हो । त्यसैले मत मिलेन भनेर हुँदैन, कर्म सुधार्नु प¥यो । फेजुकेन फेदाङवाहरुले सेवा पूजाआजा गर्दा नुहाएर चोखो नितो भएर गर्नोस किनकी तपाईहरु माङथुक्पा, माङदेम्बा भनेको गुरु देवको अलिकति छाँया परेकोहरु हो । यसरी सूची नीचि गरेर शुद्ध भएर थाल बजाएर देवी देवता बोलाएर पुजा गर्दा पो काम्नु हुन्छ । किरातीहरुको घरमा कुखुरालाई भरै युमा साम्माङकोमा चढाउँछन । यस्तो कार्यलाई सुर्धानु पर्छ । कुखुरा थुनि राख्नु है अपबित्र हुन्छ भनिन्छ । तर भरै माङगेन्ना गर्दा शीरको वरिपरी त्यहीँ अपवित्र कुरा घुमाईन्छ । पूजा गर्दा रांगा काट्ने चलन छ । त्यस्तै पेट दुखेर पखाला चलिरहेको हुन्छ, युमा साम्माङले गर्दा है भनेर सुंगुर लडाइन्छ । यी यस्ता संस्कारलाई धर्मको माध्यमबाट छोड्दै लानुपर्छ । मासु खान ईच्छा हुनेहरुले त खाईरहेकै छन् । नखाउ भन्ने कुरा पनि आउँदैन । तर धर्ममा शुद्धी त हुनैपर्छ र कर्मका कुराहरुलाई पालना गर्दै जानुपर्छ । उपकार गराउँदा फेजुकेन फेदाङमाबाट हुने छ भने उनीहरुबाटै गर्नुपर्छ । तर यसरी उपकार या उपचार गर्दा धेरै खर्च गरेर गर्नु हुँदैन ।
हामी मेन्छाम्गेन् नामयाप्मीसा अर्थात देवपुत्र हौै भन्छौ तर फोहोर खाने र फोहोरमा खेल्ने कुखुरा घुमाउँछौ । त्यसलाई हटाउनु पर्छ । त्यसको बदला सेतो फूल र धुप घुमाऔं । फूल र धुपमा वासना हुन्छ । फूलजस्तै उज्यालो होस, धुपजस्तै पवित्र र स्वच्छ होस् मिठो वासना देओस भनी माङले हामी माथी रक्षा गरोस भनेर, सम्झेर पुजा गर्नुपर्छ, माङगेन्ना गर्नुपर्छ । लिम्बूवानमा मृत्यु कार्यमा सबैजना भेला हुने चलन छ । त्यो मृत्यु कार्य गर्दा संगुर, कुखुराले छुनु हुदैन हैं भन्दै आइङ् ग वा? लाम मेन्दिके, सुगुप फन्दाक लाम मेन्दिके मुन्धुमले त भन्छौ । तर एकातिर रांगा लडाई हाल्छौ । यसरी मृत्यु कार्य पनि उल्टो गरिराखेका छौ । यस्तो उल्टो गरिएको कार्यलाई सुधार्दै लानुपर्छ ।
यस ठाउँमा सुनेका धर्म कर्मका पबित्र कुराहरु आफ्नो गाउँघरमा लगेर अरुलाई सुनाउनुहोस् । यस्तो सामाजिक आन्दोलनले गर्दानै समाज सुधार हुन्छ । गाउँ सुधार भएपछि सबैमा चेतना आउँछ । चेतना आएपछि गाउँ सुधार हुन्छ । समाज सुधार भएपछि राष्ट्र सुधार हुन्छ । यसरी सुधार हुने प्रक्रियालाई हामीले गहँन रुपमा सोच्नु पर्छ । यहाँबाट साप्पोक चोमेन र साक्मुरा वादेम्मा (गाली श्राप वहन्ती) को मुन्धुम छापिएको छ तर यो पढेर भाले चाही नकाट्नोस है । त्यसो गर्नु भयो भने त सर्वनास हुन्छ । त्यसको बदला शुद्ध भएर पवित्र मनले काम गर्दै जानोस् ।
सेवासावा पुजारीहरुले म त वेद जानेको छु, मुन्धुम जानेको छु भन्ने अहंकार, घमण्डलाई त्यागेर काम गर्नु पर्छ । अहंकार, घमण्ड गर्नुभयो भने त बाह्र वर्षको कमाई एकै छाक हुन्छ । किनकी अहंकार घमण्ड हाम्रो दुश्मन हो । हाम्रो फेजुकेन फेदाङबाहरु पनि सही बाटोमा, उज्यालो बाटोमा जानुपर्छ । हामी किरातीहरुले भावी सन्ततिहरुको हितार्थ सन्तानहरुलाई सही मार्गको निर्देशन दिनुपर्छ । काम यसरी गर्नु चोखो नितो यसरी हुनु, सफासुग्घर यसरी गर्नु भनेर सिक्नुपर्छ, सिकाउनुपर्छ । यस विषयमा यहँको धेरै संस्थाहरुले हामीलाई सहयोग गरिरहेका छन । यो ठाउँ भनेको भोली गएर संसारको नेताहरु भेला हुने ठाउँ भनेको यही हो । झट्ट हेर्दाखेरी सानो र भिरालो ठाउँ देख्नु हुन्छ तर यो तपाइहरुको लागि पवित्र भूमि हो । यहाँ विविध राजनीतिक पार्टीका राजनेतादेिख लिएर विभिन्न धर्मका धार्मिक नेता समेत अटाउन सक्छ । अहिले यो ठाउँ किरातहरुको भन्छौं, भोली गएर यो सम्पूर्ण मानव जगतको निमित समाज सुधार गर्ने एवं ज्ञान प्राप्त गर्ने पवित्र स्थलको रुपमा परिचित हुन्छ । तपाईहरु यहाँ बूढापाकादेखि युवायुवतीसम्म आउनु भएको छ । एक आपसमा परिचय भएको छ, सुख दुःखका कुराहरु भएको छ । यो पनि एउटा तिर्थस्थल हो, मोक्षस्थल हो । यो किरात चोत्लुङ् भएकोले यहाँ जम्मा भयौं । यो नभएको भए हामी जम्मा हुन कठिन हुन्थ्यो । यो ठाउँले गर्दा यहाँ जम्मा हुन पायौ । बाटो त चाहियो नि अब हामी दिन प्रतिदिन सज्जन र इमान्दार हुने दिन आयो । खेमा मेन्लो, थक्मा मेन्लो, सिङ्सिङ् लअमारो, खेमानु थक्मा आवोङिल्ग कुसाङ् आल्लनेन अर्थात् हामी बाझ्यौ, जुझ्यौ भने सही मार्ग छिचोल्न सक्दैनौ । नाहेन् मिक्सो आजोकिल्ले लायो लास्सो पोङ् अर्थात आँखी डाही गर्नाले पाप मात्र फैलिन्दैछ । त्यसकारण हामी मिलेर तन, मनले एकजुट होऔं । सिक्कुमदिङ् निङवा अर्थात मन आत्मा हृदयले स्वच्छ विचार, स्वच्छ पवित्र भावना राखेर मनमा मन मिलाएर एक भएर सम्पूर्ण किरातीहरु एउटै सूत्रमा र एउटै धर्ममा बाँधिनु पर्छ । किनकी किरात धर्म भन्ने धर्म पनि छ भन्ने विश्वमा समेत देखिइसकेको छ । त्यसैले हामी किरातीहरुले यस्तो अवस्थामा एकताको बाटो छोड्नु हँुदैन । जय किरात धर्म ।
सोही दिन सोही स्थानमा केही समयको विश्राम पश्चात साँझपख मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूद्धारा पुनः गरिएको धार्मिक आशीर्वचनः
यसपटक वायुमण्डलको भविष्यबारे भन्दैछु । संसारमा सत्य थोरै छ । पापको क्षमता बढेको छ । आमाको रुपमा मानिने र पुजिने यस पृथ्वीमा तापको मात्रा बढिरहेको छ । हामी मानिसहरु ज्यादा गर्मी भएपछि धारामा नुहाउन गए जस्तै पृथ्वी पनि ताप बढेकोले नुहाउन जाँदोरहेछ । संसारमा अशान्ति र अपराध बढ्दै जान्छ र नराम्रा कार्यहरुले ज्याँदै ब्यापकता लिन्छ । जनसंख्या बढदै जान्छ । वि.स. २०५७ देखि उता पृथ्वीलाई दशा लाग्न थालनेछ । सम्भवत ः त्यसबाट हामी जोगिने उपाय एउटै मात्र छ । पञ्चतत्वले बनेको पृथ्बीको धनी उनै तागेरा निङवाभुमाङ हो । हामीले तागेरा निङवाभु माङ प्रति अत्यन्तै श्रद्धाभक्ति गर्नु प¥यो ।
पृथ्वीको केही भु–भागहरु सखाप हुन्छन । यसोभन्दा तपाईहरुमा निरासा पनि छाउन सक्छ । त्यसैले गर्दा सबै कुरा भन्न हामीलाई अप्ठ्यारो हुन्छ । पृथ्वी र आकाशको एउटा बन्धन छ । त्यो अलि कमजोर हुन जान्छ । त्यो कमजोर भएपछि पृथ्वीमा अलिकति बाधा हुन जान्छ । पृथ्बीमा अलिकति बाधा हुने वितिकै संसारका धेरै मानिसहरु सखाप हुन्छन । हावापानीको गति र समय मिल्दैन । मानिसमा रिसको मात्रा बढदै जान्छ । त्यसैले झगडा बढी हुन्छ । ठूला ठूला राजनेताहरुको पनि मन मिल्दैन । जनताहरुमा पनि गडबड हुन्छ । यस्तो परिवेशमा जसले सृष्टिको रुपमा धर्मलाई चिन्न सक्ला र जसले सहयोग सदभाव बुझ्न र गर्न सक्छ तिनीहरु बाँच्न सक्ला ।
२०५७ पश्चात एकपटक प्रलयको रुप जन्मने देखिन्छ । निकै अप्ठयारो समस्याहरु देखिन्छ । नेपालको पूर्वमा हैन पश्चिममा निकै रगत देखिन्छ । यो जेठ असार तिर पर्न जान्छ होला । हाम्रो देशमा पनि निकै गडबड हुन्छ । यो पटक पानी ज्याँदा आयो त्यसैले अन्नको सह छैन । यो बर्षदेखि उसो अलि अगुवा बाली लगाउनु पर्छ, मकै राम्रो फल्छ । पेट दुख्ने, पखाला लाग्ने, बौलिने, मानसिक चिन्ता बढ्ने जस्ता रोगहरु निकै बढ्छ । पहिले भन्दा ज्यादा हुन्छ । यसबाट एउटा मात्र बच्ने उपाय माङप्रति सत्य विश्वास गर्नुपर्छ । यसो भन्दा धर्ममा जानेहरु मात्र बाँच्ने अरु सबै मर्ने रे भन्ने हुन सक्छ ।
संसारमा पहिले भन्दा चोरी, डकैती, गुण्डागर्दी, बलत्कार, अशान्ति र अनियमितता ज्यादा फैलिन्छ । हामी अध्यात्मिकको शब्दमा जब जब पाप बढ्दै जान्छ तब यस्ता फैलिन्छ । हामी अध्यात्मिकको शब्दमा जब जब पाप बढ्दै जान्छ तब त्यस्ता कुकृत्यहरु झन झन फैलिन्दै जान्छ । त्यसैगरी जब जब सत्यको विजय हुँदै जान्छ, त्यहीँ शान्ति छाउँदै जान्छ । धर्ममा लागेकाहरुले रिसलाई कम गर्नुप¥यो । शान्त हुनु प¥यो । २०५७ भित्र हामीलाई पनि केही अप्ठ्यारो पर्न जाने देखिन्छ । पाँच तत्वमध्ये एक तत्वको आधार रेखा अलिकति परिवर्तन हुन्छ जसले गर्दा पृथ्वीलाई अप्ठ्यारो पर्छ । तपाईहरुले २०५७ मा चाहीं माङ्को सेवा गर्न नभुल्नु, माङप्रति विश्वास गर्नु । माङ्ले सुरक्षा गर्छ कि कतै भन्ने मलाई लागेको छ ।
ठूला ठूला हावापानीले गर्दा संसारका विभिन्न मुख्य स्थानहरुमा असर पु¥याउदै छ, लाखौ मानिस डुबेर मर्दैछन् । अब करौडौ मानिस डुबेर मर्छन् । सूर्यको ताप झन् बढ्छ । चट्याङको शक्ति झन बढ्छ । मुलुकमा ठूला राजनेताहरु बीच र जनताहरु बीच झगडा हुन्छ । त्यसमा सतर्क होऔ । मैले भविष्यवाणीमा यो भन्दा पनि धेरै कुराहरु भनिसकेको छु । मानिस झगडा गर्नु मात्र खोजिन्छ । ठूला देशहरुको शक्ति घट्दै जान्छ । ठूला ठूला राष्ट्रहरु टुक्रिएर दबिन्दै जान्छ । अग्ला हिमालहरु दबिन सक्छ । माङलाई सम्झिनु पर्छ । यो कुरा मेरोे शुभ सन्देश हो धर्म भनेर धर्मको निमित्त मात्र मैले सम्झाएको हुँ । के हुन्छ भनेर जानु भयो भने तपाईहरुको खुसी म केही भन्न चाहन्न । किनभने हामीले नपत्याएको ठाउँ अनकन्टार ठाउँमा मान्छे बाँच्न सक्छ । भुकम्प आउने देखिन्छ । विशाल हावापानी आउने देखिन्छ । संसारका विभिन्न राष्ट्रहरुभित्र गडबढ हुने देखिन्छ । ५७ सालमा पृथ्वीको केही चोइटो डुब्छ । जहाँ धेरै जनसंख्या छ त्यहाँ नराम्रो देखिन्छ । चन्द्रमा र सूर्यको कार्यमा केहीमा गडबढ देखिन्छ । ठुलो शहरमा असर पर्ने देखिन्छ ।
सत्य चितायांै भने हामीलाई बचाउनको लागि तागेरा निङवाभुमाङ् छ । अन्त्यमा गएर सत्यको विजयी हुन्छ । तर संसार धेरै सखाप भईसकेको हुन्छ । यी कुराहरु हाम्रै जीउले भोग्न पाउँछ । हाम्रै आँखाले देख्न पाउँछ । यस्तो स्थितिमा हामीले धर्मको कुरा गरिराखेको छौं । यो बढो चिन्ताजनक छ । यसो सझिन्दा चुप लागि बसौ जस्तो लाग्छ किनकी म पनि पृथ्वीमै बसेको छु । अँध्यारो देखिन्छ, पक्कै पनि माङ्ले परिवर्तन गर्ला जस्तो छ । यो वर्ष बालीनालीहरुमा सह कमै छ । तैपनि वर्षे वालीहरु केही राम्रा होला जस्तो छ । यो वर्ष केही ठाउँमा अनिकाल हुने देखिन्छ । साथै यो बर्ष स–सानो झगडाहरु पनि देखिन्छ । युमा साम्माङ्ले बचायो भने हामी बाँच्छौ । युमा साम्माङले बचाएन भने हामी बाँच्दैनौं । हामीले भक्ति गरेर ईश्वरप्रति विश्वास गरेर, माङप्रति चित लगाएर, ध्यान गरेर अशान्ति निवारण गर्ने एउटा भक्तितिर साह्रै जोड दिनुपर्छ । त्यसो भए बाँच्न सकिन्छ कि भन्ने आशा गर्न सकिन्छ अन्यथा यसै हो भन्ने सकिन्न ।
विस्तारै राजनेताहरु ज्यादै थोरै हुन्छन । संसारका ठूला शक्ति राष्ट्रहरु बीच युद्ध हुने देखिन्छ र टुक्रिने देखिन्छ । यसले अन्य राष्ट्रलाई धेरै पक्षमा असर पु¥याउने देखिन्छ । महङ्गी बढ्छ, खानपानमा महङ्गी हुन्छ । वालीनालीहरु कम उत्पादन हुन्छ । अपराध बढ्ता हुँदैछ । जनसंख्या बढी भएको मुलुक एवं शहरमा झन् बढी अपराध देखिन्छ । त्यसैले चेलाभुलाहरु हो सतर्क होआंै ।
हामी हरेक कुरामा जोगिनु प¥यो । साथीभाई बाझेको ठाउँमा जानु भएन । आफू पनि बाझ्नु भएन । बाझ्नेदेखि भाग्नुपर्छ किनकी नराम्रा कार्यहरुले अहिले पेलिराखेको छ, फैलिरहेको छ । घाममा ज्यादा शक्ति थपिएको छ । घामले पनि हामीलाई सखाप पार्छ जस्तो छ । पश्चिम नेपालमा आगोको मुस्लो देखिन्छ । यसको मतलब ठूलो झगडा हुन्छ । हामी शान्तिवादी हुनुप¥यो । यस वर्ष सानोतिनो भुकम्प जान्छ । अर्को वर्ष अलि अलि जान्छ र ५७ सालमा त ठुलो भुकम्प जान्छ । हामी अलि जोगिनु पर्छ । जोगिने ठाउँहरुमा पूर्व उत्तर, हिमाली भेग र यो पहाडी इलाका देखिन्छ, जहाँ मानिस बाँच्छ कि । एक तल्ले घरहरु बनाएर बस्नु । ठूला घर नबनाउनु खर्च मात्र हुन्छ जस्तो छ । शक्तिशाली भुकम्प आउँछ अब ।
भुटानीहरु हाम्रा चेलाभुला थुप्रै छन । भुटानी शरणार्थीहरुको समस्या पनि अब चाडैनै टुङगो लाग्ने देखिन्छ । राम्रो काममा भन्दा नराम्रो काममा मान्छे ज्यादा लाग्छ । त्यो पापको प्रभाव हो । पाप बढ्ता फैलिसक्यो । किनकी सत्य थोरै छ । हुन त भोली गएर सत्यको विजय हुन्छ । त्यसपछि सम्पूर्ण मानवको कल्याण हुन्छ । अहिले सम्पूर्ण मानव जातिमा अहंकार, क्रोध, घमण्ड र पाप ज्यादा फैलिएको छ । त्यसैले पृथ्वी सृष्टि भए यता मानिस फैलिने र सखाप हुने क्रम चलिरहेको छ । अहिले त केही भएको छैन् । समय पुगेपछि आफै शुरु भइहाल्छ यसरी अन्त हुनुको मतलब पापको मात्रा बढनु हो । अनि जब धर्मको शक्ति बढ्छ तब मानिसको शक्ति बढ्दै जान्छ । सत्यको विजय हुँदै जान्छ । सत्यको विजय भयो भने झगडा हुँदैन, शान्ति हुन्छ, उचनिचको सवाल आउँदैन, समान भइन्छ ।
तागेरा निङ्वाभुमाङ्को लागि, हावा, पानी, धरती, आकाश सबै उसकै हातको कुरा हो । अहिले औषधि विज्ञानले पार नलाग्ने रोगहरु फैलिरहेको छ । नयाँ रोगहरुलाई औषधिले भेट्दैन, यसले पनि निकै मानिस सखाप पार्छ । धर्मले मात्र शान्त भईन्छ, शान्तिको बाटोमा गईन्छ । तपाईहरुको सपना पनि बिग्रन्दै गईरहेको छ । हामी अभर पर्दा मात्र माङलाई सम्झिन्छौं । सुख र आनन्द साथ बस्यौ भने माङ् बिर्सी हाल्छौं । यथेष्ट पैसा हुँदा माङ् बिर्सी हालिन्छ र हैन भने यताबाट पो हुन्छ कि उताबाट पो हुन्छ कि भन्दै माङलाई सम्झिन्छौ । यहाँ पनि पैसा माग्ने, धन सम्पत्ति माग्ने, विदेश जान्छु जाँदिन, पैसा कमाउन सक्छु, सक्दिन, नाम कमाउन सक्छु सक्दिन भनेर माग गर्नेहरु मात्र आउँछन् । पैसा कमाएर के गर्ने माङ् त बिर्सिहालिन्छ ।
हामी अति सोचनशील, चिन्तनशील, संवेदनशील, होशियार र शिक्षित हुनुपर्छ । किनकी तपाई राजा भएर भए पनि प्रधानमन्त्री भए पनि सबैैथोक छोडेर जानुपर्छ । यसरी जाँदा तपाईले जीवनमा पाप गर्नु भएको छ भने पापको एउटा भारी र यदि धर्म गर्नु भएको छ भने धर्मको एउटा भारी मात्र लानु हुन्छ । बिहानै उठेर ज्यादै भक्तिसाथ इष्ट देवतालाई सम्झनोस् र संसारिक कार्यतिर लाग्नोस् । म बलियो छु, मलाई कसैले सक्दैन भनेर मुर्खता गर्न जानेका छौ । बल सकिएपछि बैश गएपछि सज्जन बन्दै जान्छौ । यसरी सही काममा बललाई लाउन नसक्ने भएपछि मात्र त्यसतर्फ लाग्छौ त्यस बखत ढिलो भईसकेको हुन्छ ।
यस धर्ममा तपाईहरु प्रवेश गरेपछि सही बाटो पहिल्याएर हिड्नुपर्छ । लुकेर आँखा छलेर छोरीचेलीको सोतरीत नखाइदिनु होला, ईश्वरको नाममा जीवहत्या नगर्नु होला । दुईवटा नाउँमा खुट्टा हालियो भने पार तरिँदैन त्यसैले एउटै नाउँमा खुट्टा हाल्नोस् । धर्ममा एकबद्ध हुनुहोस । तपाईहरु दुःख विमारको बारे मात्र मलाई सोध्नुहुन्छ । तपाईहरुले त पवित्र मनले मलाई ज्ञानगुणको कुराहरु, मुन्धुम् शःसीको कुराहरु, धर्म दर्शनको कुराहरु सोध्नुपर्छ । यो तथ्य तपाईहरुसँग बारम्बार अनुरोध गरिरहेको छ ।
तपाईहरुको ब्यक्तिगत विविध समस्याहरु भ्याएसम्म त समेटिएको छु । तपाइहरुको चेतना ब्यँुझेपछि तपाईहरुले आफै सोध्न थाल्नु हुनेछ । धर्ममा लागेपछि हामी एउटै सूत्र र मालामा उनिएको सम्झिनु पर्छ । एकले अर्कालाई दोषारोपण गर्नु हुँदैन । इष्र्या गर्नु हुँदैन । अरुले इष्र्या गरे पनि रिसाउनु हँुदैन । रिस ज्यादा भएपछि विवेक हराउँछ । यस्ता कुराहरुमा सुधारिन्दै जानुपर्छ । नौलो दर्शन बोकेको यो धर्म भोली नयाँ प्रतिभा सहित विश्वको धर्म हुन्छ । तपाइहरुले यसमा अनुसन्धान गर्नुपर्छ । कुबाटोमा जाने मेलोहरु देखिरहेको छु । त्यस्तो बाटोहरु नअपनाउनु होला । यो पवित्र धर्म तपाईहरुले पाउनुभएको छ । यो जान्न, बुझ्न र चिन्न सक्नु भएन भने अरुहरुले लान्छ । लुम्बिनीमा जन्मिएको बुुद्धको देन चिन्न नसक्नाले बुद्धको लच्छिन चीन, जापान, थाइलैण्ड, कोरिया इत्यादी मुलुकहरुमा पुगेको छ, फैलिएको छ । त्यसैले गर्दा जापान आज ईलेक्ट्रोनिक समानमा विश्व प्रसिद्ध भएको छ । यसरी किरातीहरुको कुलमा महागुरुलाई अन्तिम रुपमा पाएको छौं । वहाँको देन, लच्छिन जान्न सकेनौ भने, यो धर्म बुझ्न सकेनौ भने, यो शक्ति अर्को ठाउँमा सरेर गइहाल्छ र बुद्ध धर्मजस्तै हुन्छ है सतर्क हुनुहोस ।
धर्म विनाको मानिस पा होप्पी सा, मा होप्पी सा अर्थात बाबु आमा बिनाको छोराछोरी झै हुन्छ । त्यसैले धर्मलाई बाबु आमाको रुपमा सम्झिनु पर्छ । धर्म संस्कृति छैन भने जात हराउँछ र हामी आफै हराउँछौ । हाम्रो आफ्नै धर्म, भाषा, साहित्य र मुन्धुम् छ । यसको जर्गेना गर्न सक्यौ भने हाम्रो भावी सन्ततिको निमित सुनौलो दिन हुने थियो तर हामी यस तर्फ जान सकिरहेको छैनौ । मुन्धुम, कर्मकाण्ड अध्ययन् गर्नोस, सिवाखाहुनहरु अध्ययन् गर्नोस । तपाईहरुकै निमित बेदशाला बनाइ दिइएको छ । अब किरात विश्वविद्यालय खोल्ने इच्छा राखेको छु । धर्म ज्ञान पाउनु भएन भने, पाएर पनि बुझ्नु भएन भने मोक्ष प्राप्त हुँदैन । ज्ञान जब बुझ्न सक्नुहुन्छ, तब मात्र चेतना आउँछ र सुधार हुन्छ ।
हाम्रो छिमेकी बजार रबी जहाँ महागुरुले घुमी घुमी उपदेश दिनुभएको थियो । अहिले त्यहाँ हरेक घरको स्वच्छ फूलबारी छ, ध्वँजा लिङ्गो छ, पढे लेखेको छन् विदेश गएका छन्, सफा–सुग्घर छ । त्यो ठाउँमा पहिला त्यहाँकाहरु रक्सी खान्थे, पल्लो डाँडा र वल्लो डाँडा चिठी लेखालेख गरेर लाप्पा पर्थे, ढुंगा हानाहान गर्थे तर आज त्यहाँ व्यापक परिवर्तन भएको छ । आर्थिक स्तरमा साथसाथै सामाजिक स्तर समेत उँभो छ । यी सम्पूर्ण देन महागुरुकै हो । वहाँको समयमा भएका चेलाभुलाहरु पनि केहीमा कम छैनन् । धन सम्पति छ, कमाई राम्रो छ । लच्छिन भनेको त्यस्तो हो । तपाईहरुले पनि मेरो पालामा राम्रो जान्नु भयो भने त्यस्तै पुनः हुन सक्छ । माङ्वा हाङ्वा रहि बस्छ । जान्नु भएन भने माङ्वा हाङ्वा अर्थात बुद्धि, ज्ञान, विवेक, धन सम्पति पाइँदैन नि ।
हामीले पंञ्चायतकालमा दुःख गरेकोे कारण अहिले आएर हामी किराती हौं भन्ने कुरा त जान्नु भएको छ । तर, किरातीहरुको सही बाटो चाहीँ कुन हो भन्ने जान्नु धेरै बाँकी भएको देख्छु । त्यो बाटो जानी सकेपछि तपाईहरु आफ्नो पहिचान आफै प्राप्त गर्नु हुन्छ । किरात धर्म र किरात एकता भित्र केही पाईन्छ भनेर लाग्नु भयो । यहाँ आनन्दले संयमतासाथ बस्नु भएको छ । यहीँ तवरले समाजमा जान सक्यौ भने भोली गएर यो नमूनाको रुपमा हुन जान्छ । यसको निमित तपाईहरुको विचार र मत एउटै गरेर एकै लक्ष्यमा अघि बढ्नुपर्छ ।
किरात धर्मको मार्गदर्शन एवं उद्देश्यलाई अघि बढाउने भनेर यो माङगेन्ना कार्यक्रम दिईरहेको छौ । यो माङ्गेन्ना भनेको चोत्लुङ उठेको शिर हो यो तपाईहरुको शिर हो । यहाँ तपाइहरुको शिर उठेको छ । तपाईहरुको शिर उठ्दा धार्मिक उपदेश र ज्ञानगुणको सन्देशहरु पाउनु प¥यो नि त्यहीँ पाईरहनु भएको छ । युवाहरु समाज सुधारको लागि कस्स्निु प¥यो । भोली गएर यो तपाई युवाकै हो । त्यसैले जुवातास खेल्नु भएन । अनर्थमा अलमलिनु भएन, अभक्ष चीजहरु खानु भएन । त्यसको बदला राम्रो पढ्नु प¥यो, राम्रो शिक्षादीक्षा लिनुप¥यो ।
हाम्रो नारी वर्गमा पनि उत्थान र जागरण आउनुपर्छ । नारीहरुले पनि धार्मिक प्रवचनमा निकाल्नु प¥यो । समाज सुधार कार्यमा लाउनु प¥यो । किनकी नारी भनेको हाम्रो आमा हुन् । आमाको सुधार भयो भने मात्र हामी सुध्रिन्छौ । हाम्रोमा यो धर्म लोग्नेले मन पराएको छ भने स्वास्नीले मन पराएको छैन् । स्वास्नीले मन पराएको छ भने लोग्नेले मन पराएको छैन् । त्यसैले झगडा हुन्छ । धर्ममा प्रवेश गरेर यहाँ आउँदा सधै सरसल्लाह गरेर आउनु होला ।
टन्न जाँड रक्सी खाएर घरमा बुढी कुट्ने हाम्रो चलन छँदैछ । त्यस्तो ब्यवहारलाई अन्त गर्नु पर्छ । जाँड खानु पनि छोडौ र बुढी कुट्ने चलन पनि छोडौ । त्यस्तै कहिलेकाही कोही बुढी पनि टन्न रक्सी खाएर आउँदो रहेछ र बुढासँग बाझ्दो रहेछ । अनि कुटाकुट हुन्छ । यस्ता कुरालाइ त्याग्नु पर्छ र हामी एक आपसमा मिल्नु पर्छ । मिल्यौ भने धर्म र कर्म सुध्रिन्छ । हामीले छोराछोरी जन्मेपछि प्यार साथ हुर्काउँछौ । तर छोरी जवान भएपछि बिहे गर्ने बेलामा हाम्रो त्यो माया हराउँछ र उसको मेल्लुङ् अर्थात् दाम लिएर साटी खान्छौ, बेच्छौ । यसमा नारी जातिहरुको समाज सुधारतर्फ लाग्नुप¥यो । त्यसमा हामी पुरुषहरुले पनि राम्रो बाटो चिन्नु पर्छ र देखाउनुपर्छ । नारी पुरुष समान हुन भन्ने विचार लिएर समाजको सुधार गर्दै जानुपर्छ ।
जाँड रक्सी खाएपछि यसले नचाहिँदो आँट दिन्छ । तर उता आफ्नो दिन गएको थाहा पाउदैनौ र भविष्य विग्रिन्छ । व्यवहार दुषित हुन्छ र दैनिक कार्यतालिकामा असन्तुलन आउँछ । विवाह, मृत्यु कार्य र ठूलो जमघट कार्यमा तुरुन्तै सुधार गर्दै लानुपर्छ र नमुनाको रुपमा देखाउँदै लानुपर्छ । सुधार गर्नलाई मुन्धुम चाहियो, दर्शन चाहियो, धर्म चाहियो, त्यो भनेको किरात धर्म दर्शन हो । हिउँदमा धेरैको विवाह हुन्छ । त्यहाँ कोही खाउँ भन्छ, कोही नखाउँ भन्छ र झगडा हुन्छ । खानुभन्दा नखानु बेस तर गुरुलाई नभनु है भनेर खान्छन् । त्यस्तो मैले धेरै सुनी राखेको छु । उहीँ भवराको कथा झै मलाई लगेर डुबाउदै हुनुहुन्छ । यस्तो कर्म गर्नु भएन । म त महागुरु फाल्गुनन्दको बाँकी कामलाई पूरा गर्न र तपाईहरुलाई पवित्र पार्ने कर्तव्य पूरा गर्न मात्र आएको हँु । म यहाँ जे जति कामहरु गर्छु त्यो सबै तपाईहरुकै निमित्त हो ।
लिम्बुवानतिर जाँदा तोङ्वासित नारिएर बसेको देख्छु । त्यो खाँदा खाँदा आफैलाई खान थाल्छ, उसलाई थाहा हुँदैन । त्यसैले त्यसलाई अलग गराउँदै लैजाउँ । तर हामीले खादै गरेको गुरुले छोड्न लगाउनुभयो र छोडन लगाउने रहेछ भन्ने तपाईहरुले नसोचिदिनु होला । मासु नभई नहुने बानी छोडनु प¥यो । मासुले हाम्रो मानिस धेरै बाझ्दो रहेछ । हजार पन्ध्र सयको मासु खाएर ऋण तिर्न नसकेर बसाई जाने हाम्रो मानिसहरु पनि छन् है । त्यो नखाँदा त मरिन्दैन नि । महगुरुले उपदेशमा नाम्केःका हि, लाकेःका हि, हिःवा हाल्ले निस्सुबे अर्थात माङ्को चर्खा घुमिरहेको हुन्छ, त्यो कसले देख्छ । त्यो चर्खा घुम्दै आईरहेको छ । त्यति बेला मदिरा सेवन गर्न छोड्नु भन्नुभएको छ । चक्र घुमेर आयो हामी शिक्षित, ज्ञानी हुने दिन आउँदैछ ।
प्रत्येक वर्ष माघ ५ गते उभौलीको समयमा माङवा हाङवा माग्ने समय हुन्छ । त्यतिखेर आउन अल्छि मान्नु भएन । तिर्खाले धाउछ कि खोलाले धाउछ भन्दाखेरी तिर्खाले धाउँछ । पानी त पिउन जानै प¥यो । तपाईहरुले तीन मन्त्र पाउनु भएको छ, नपाएकोले पाउनु हुन्छ । त्यो मन्त्र लिएर बिहान बेलुका शुद्ध एवं पवित्र मनले ध्यान गर्नु प¥यो । विस्तारै हामी यहाँ दुई अढाई लाख मानिस भेला हुन्छौं । त्यसैले स्टोभ र तम्बुको ब्यवस्था गर्नुहोला । किनकी यहाँको जङ्गल सुरक्षा हामीले गर्नुपरेको छ । मुन्धुम, कर्मकाण्डबारे अध्ययन् गर्नेहरु जम्मा पाँच सय जति छन् । तिनीहरुको लागि तयारी भईरहेको छ ।
तपाईहरु बसेको यो ठाउँलाई खारेर एक करोड चानचुनको ठूलो माङ्हिमको निर्माण गर्ने विचार गरेको छु । त्यसमा सुनको गजुर लाग्छ । यो अहिलेको माङ्हिम काम चलाउ मात्रै हो त्यो बनिसकेपछि श्री ५ महाराजधिराजबाट उद्घाटन गराउने इच्छा राखेको छु । अरु देशका ठूला नेताहरु पनि त्यतिबेला आउँछन् । त्यतिबेला हाम्रो प्रभाव पार्ने भूमिका तयार पार्दैछौ । यो तपाईहरुको भाग्यको कुरा हो । यहाँ त्यसै प्रधानमन्त्री त आउदैन । यहाँ केही त अवश्य छ र त आउँछन् । यो धर्मबारे पहिला तपाईलाई धेरै कुरा सोध्छन । त्यसैले तपाईहरुले यसमा ज्ञानी भएर लागि पर्नुप¥यो। तपाईहरुले यो कुरा मनन् गर्नु होला मैले भविष्यवाणीमा पनि भनिसकेको छु ।
किरात भेला गर्नलाई धेरै ठाउँ हेरे, रवि तिर हेरे भएर पान्थर सिक्तेम्बामा हेरे भएन, दमकतिर हेरे भएन, यहीँ नवमी डाँडामा पनि हेरे भएन त्यसबखत म किरात धर्म तथा साहित्य उत्थान संघको अध्यक्ष थिए । उपदेश चाडो चाडो दिने इच्छा जाग्यो र जग्गा खोजियो तर पाइएन । अन्त्यमा यही डाँडा किनियो । यो डाँडामा अट्नेसम्म त भेला भइन्छ होला भन्ने सोचेको थिए । तर अहिले जम्मा हुँदै जाँदा त यो डाँडाले नअट्ने स्थिती आइसक्यो । जग्गा पनि बढाउदै जाने बेला भयो । संस्थाको गतिविधिहरु पनि बढाउदै लाने बेला भयो । त्यसैले तास, जुवा र विभिन्न खानपानमा खर्च गर्नु भन्दा तपाईहरुको भविश्यको लागि भावि सन्ततिको लागि यहाँ खर्च गर्नु उपयुक्त हुन्छ ।
हाम्रा चेलाहरु विभिन्न देशमा छन् । उनीहरुको मन पनि यहीँ पुगिरहेको छ । त्यहाँ जानु पाए त हुन्थ्यो भनेर बसेका छन् । जसरी होस् सबैको मन यही जम्मा होस् । यो त चोत्लुङ् अर्थात शीर हो । नालीङगेन् थाङ्वेन चोत्लुङ मेन्जोन्ने, तुतुगेन तुम्याहाङ् चोत्लुङ मेन्जोन्ने, याक्लागेन सुहाङ्मा मुन्धुम् चोत्लुङ मेन्जोन्ने, हिन्जाविच्छो चुक्सा यम्बा केरेक चोत्लुङ मेन्जोन्ने, थाङ थाङ येप्पी येविरो ।
हाम्रो मन, वचन र आस्था एकै बनाएर अघि बढौ । युमा सम्माङ, हाङसाम् थेवाले रक्षा गरोस् । यो धर्म स्थल हो । धर्म भनेको कानुन पनि हो । यसमा बसेर हामी बच्नुपर्छ र अरुलाई पनि बचाउनु पर्छ । सम्पूर्ण सकल प्राणीको सृष्टिकर्ता तागेरा निङवाभुमाङ हो त्यसेले सबैलाई समान ज्ञान र शिक्षा दिनुपर्छ । यहाँ कोही छोराछोरी माग्न आउछन् र देखाउन ल्याउँछन, धन सम्पति माग्छन् र देखाउँन ल्याउछन् यहाँ तपाईको सानो समान हरायो भने पनि भेटिन्छ । यो नै सत्यको एउटा चिनारी हो, पहिचान हो । यहाँ बस्दा तपाईहरुमा झगडा भएको छैन् । झगडा गर्ने त त्यही घ्याम्पा रहेछ । त्यो नहुँदा पवित्र भावना हुँदोरहेछ । त्यसैले त्यस्तो घ्याम्पालाई अलग गर्दै जानुपर्छ ।
यहाँ हामीले चरु पोल्दा कोही हिन्दुको जस्तो भयो भन्छन् । यो भनेको माङको मुख हो । आखिर जसको पनि बाटो त त्यहीँ हो । गड, ब्रहमा, विष्णु, महेश्वर, अल्लाह जे भनेपनि उनै तागेरा निङवाभुमाङ् नै हुन् । सोधुङगेन लेप्मुहाङ र श्रीजंगाहाङले पनि चरु पोलेको थियो । हाम्रो किरातहरुले त त्यो प्रचलन छोडेको छैनन् । हाम्रा मानिसहरु खाना पकाई सकेपछि अगेनामा नचढाई खाँदैनन् । पञ्च तत्वले पाकेको हुँदा चढाउँछन । त्यसैले विकसित रुप यो चरु पोल्ने कार्य हो । त्यसमा सम्पूर्ण हुक्वा जम्मा गरेर पोलिन्छ । पिनिबाहरुले यहीँबाट सिकेर गएको हो । आगोको मन्त्र किरातीहरुमा मात्र छ । मि साम साह्रै सेःमा ग¥यो भने त्यसको पनि मुन्धुम छ । इत्यादी धेरै कुराहरु छ त्यसमा भ्रम नपर्नु होला ।
किरात धर्मको यो धार्मिक झण्डामा एउटा ज्योति देख्नुहुन्छ, यसलाई ओत् भनिन्छ । ओत् भनेको यो आत्मामा रहेको पवित्र, उज्यालो हो । यो उज्यालो ज्योति झ्याप्प निभ्यो भने त हाम्रो प्राण निभी हाल्छ । अर्थात हामी मरी हाल्छौ । यो ओत् भनेको प्राणरुपी एउटा बत्ति हो । यहीँ ओत्ले जाज्वल्यमान झण्डामुनी तपाईहरु बस्नु भएको छ ।
अन्त्यमा, समय पनि धेरै गइसक्यो, चिसो पनि भईसक्यो होला । तपाईहरु यहाँबाट जाँदा सत्य विचार लिएर जानुहोला । अँध्यारो मन लिएर हैन, उज्यालो मन लिएर फर्किनुहोला । से से, साङ् साङ् भएर जानुहोला । फेरी फेरी पनि उसरी नै भेटौ है, भन्दै बिदा हुन्छु ।
हुक्सो सेवारो ।