आत्मानन्द गोल्ड कप : क-कसले गरे पुरस्कार सौजन्य ?

माङसेबुङ/आत्मानन्द गोल्ड कप २०८२ को प्रथम पुरस्कार क्यानडा निवासी स्वर्गीय हंसबहादुर इधिङगो र धनलक्ष्मी साँबाका छोरा बुहारी तेन्जिङ इधिङगो र बृन्दा कार्की इधिङगोले प्रदान गर्ने भएको छ ।

 

 

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा एंव चासोक तङनाम महासमारोहको अवसरमा विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ आयोजित आत्मानन्द गोल्ड कपको प्रथम पुरस्कार ३ लाख ११ हजार १ सय ७२ रुपैयाँ रहेको छ ।

 

 

इधिङगो दम्पत्तिले आत्मानन्द गोल्डकपको गत संस्करणमा पनि १ लाख ७० हजार १ सय ७१ रुपैयाँ प्रदान गर्नुभएको थियो । यसैगरी गोल्डकपको दोस्रो पुरस्कार २ लाख ११ हजार १ सय ७२ रुपैयाँ किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले सौजन्य गर्ने भएको छ ।

 

 

खेलमा विभिन्न विधामा र हरेक म्याचमा प्रदान गरिने म्यान अफ द म्याचका लागि पुरस्कार ६४ हजार ८ सय ५२ रुपैयाँ अमेरिका निवासी राजु इधिङगो परिवारले प्रदान गरेको खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुम अध्यक्ष मनकुमार आङबुहाङ बताउनु भयो ।

 

 

आत्मानन्द गोल्ड कप २०८२ आउदो मंसिर ७ गतेबाट १७ गतेसम्म माङसेबुङको आत्मानन्द रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरुलाई आमन्त्रण गरिएको छ । सहभागी टिमहरुमा नेपालबाट दमक भाङबारी स्पोर्टिङ युथ क्लब झापा, दुधे युथ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, लेटाङ फुटबल क्लब मोरङ, तिजोक युवा क्लब पान्थर, माङसेबुङ गाउँपालिका र युथ अफ माङसेबुङ इलाम रहेका छन् । यसैगरी भारतबाट कञ्चनजंघा फुटबल क्लब सिलगुडी रहेको छ ।

 

 

 

प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवर्ड, उत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्सलाई जनही ८ हजार १ सय ७२ का साथ नगद र ट्रफी प्रदान गरिने खेलकुद संयोजक आङबुहाङले जानकारी गराएका छन् । यसैगरी उदयमान खेलाडी, उत्कृष्ट कोचले जनही ८ हजार १ सय ७२ का साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् । साथै खेलका म्यान अफ् द म्याचले रू.५ हजार १ सय ७२ प्राप्त गर्नेछन् ।

 

 

 

 

खेलको आयोजना मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा एंव चासोक तङनाम महासमारोहको मातहतमा रहेर आत्मपवित्र खेलकुद समितिले आयोजना गर्ने छ ।

 

 

किरात धर्मगुरुज्यूको जन्मोत्सवको अवसरमा म्याराथन, छेलोे हान्ने, धनुबाँड हान्ने, हाँडी फुटाई लगायतका खेलहरुसमेत आयोजना गरिने छ । आत्मानन्द कप सफल पार्न सहयोग गर्नुहुने सम्पूर्णलाई आयोजक समितिले नोगेन प्रदान गर्दै सहयोगको अपिल गरेको छ ।