पहाडकी रानी, सूर्याेदयको जिल्ला जस्ता उपनामले जोडिएको इलाम पर्यटकीय दृष्टिले एक महत्वपूर्ण जिल्ला मानिन्छ । यहाँको भौगोलिक वनोट, चिया, अंलैची, अदुवा नगदेवाली र व्यवसायिक पशुपालनले सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, खेलकुद आदिले पर्यटन व्यवसायलाई जुरुक्कै उचोलेको छ । जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, रामसार क्षेत्रमा सूचिकृत माइपोखरी, सूर्याेदय दृश्यावलोकनका लागि प्रख्यात अन्तु, सिद्धिथुम्का, चियाको पर्याय मानिने कन्याम, धार्मिक आस्थाको धरोहर गजुरमुखी, पाथिभरासँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ इलामको माङसेबुङ । माङसेबुङबाट सूर्याेदय र सूर्यास्तको पनि सामान्य दृश्य गर्न सकिन्छ भने, थुम्कीबाट इलामको विभिन्न भूभाग र तराईका समतल फाँटहरुको दृश्यावलोकन मज्जाले गर्न सकिन्छ ।
धार्मिक र शाकाहारी शहरको पहिचान बोकेको इलामको माङसेबुङ किरात धर्मावलम्बीको आस्थाको केन्द्रस्थल हो । नगरोन्मुख शहर माङसेबुङ, इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ र ५ मा अवस्थित छ । माङसेबुङमा किरात धर्मगुरू मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ’सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देन वि. सं. २०३५ सालदेखि बसोबास गर्दै आउनुभएको छ । यसका साथै किरात धर्मावलम्बीहरूको निर्माणाधीन मुजोत्लुङ (केन्द्रीय) माङहिम र किरात साम्जीक मुन्धुम निसामहिमसमेत सो स्थानमा रहेको छ । करिव दश हजार किरात धर्मावलम्बीको बसोबास रहेको माङसेबुडको विकास वि.सं. २०५० को दशकमा शुरू भएको हो ।
त्यसअघि सो स्थान मान्द्रेडाँडाको रूपमा चिनिन्थ्यो । दुर्गम, अविकसित र अपहेलित क्षेत्रको रूपमा रहेको मान्द्रेडाँडा समीप लारुम्बामा किरात धर्मगुरू बसोबास गर्नुभएपछि त्यहाँ विकासका पूर्वाधार सुरू भयो । वि.सं. २०५० पछि किरात हाङसाम मुजोत्लुड माङहिम, किरात साम्जीक मुन्धुम निसामहिम निर्माण गरी माङसेबुङ डाँडालाई सम्याउने कार्य शुरू भयो । किरात धर्मका मुख्य वार्षिक कार्यक्रमहरू सावायेहाङ नुमाङगेन्ना र खिबेक्वा याक्वा सेवा सोही ठाउँमा आयोजना हुन थाले । जसका कारण संसारभरका किरात धर्मावलम्बीहरूको आवतजावत हुन थाल्यो ।
यसरी किरात धर्मावलम्बीहरूको धार्मिक केन्द्रका रूपमा विकास भएपछि माङसेबुङमा नेपालका पूर्व राजा, राष्ट्रपति, प्रधानमन्त्रीहरू, सभामुख, मन्त्रीहरू, सांसदहरू र विश्वका किरात धर्मावलम्बीहरूले तीर्थाटन गर्न थालेका छन् । हजारौं वर्षको इतिहास भएको हिन्दूको वनारस, बौद्धको लुम्बिनी, ईशाइको जेरूसेलम र ईश्लामको मक्का मदिनाझैं किरातको माङसेबुङ पनि धार्मिक नगरको रूपमा विकास हुँदैछ । जुन पछिल्लो धार्मिक नगर हो ।
माङले रोजेको ठाउँ
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले पुखौंली थलो इलामको माङसेबुङ गाउँपालिका २, साविक इभाङ चुक्चिनाम्वा छाड्नु भएपछि आश्रम निर्माणका लागि ताप्लेजुङको कावेली, पान्थरको रबी, फुडसेड, नवमीडाँडा, इलाम बाँझोको नवमी, मानपुर, झापाको दमक छनोट गर्नुभएको थियो । तर, सो स्थानहरूमा स्थायी बसोबासका लागि गुरूआश्रम निर्माण हुन सकेन । अन्त्यमा वहाँहरु स्थायी वसोवास गर्न बाँझो आदिपुर लारुम्बामा पुग्नुभयो । वहाँहरु लारुम्बामा बसोबास गरेर माङसेबुङको सामाजिक, धार्मिक, सांस्कृतिक र भौतिक विकासमा अहोरात्र लागिपर्नुभयो । परिणामस्वरूप माङसेबुङ किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र बनेको छ ।
माङसेबुङको पूर्वी मोहडामा लारुम्बा गाउँ रहेको छ । लारुम्बामा वि.सं. २०३५ मा किरात धर्मगुरूको निजी आश्रम निर्माण गरिएको थियो । त्यसपछि धर्मगुरूको दर्शनभेट, मुन्धुम अध्ययन र गुरू नुमाङगेन्नाका लागि प्रत्येक साल भक्तजन आउने–जाने क्रम बढ्दै गयो । यसैक्रममा वि.सं. २०५० को दशकमा आइपुग्दा गुरू माङगेन्नामा सहभागी हुन ठूलो संख्यामा भक्तजन उपस्थित हुन थाले । त्यसपछि माङहिम र फराकिलो कार्यक्रम स्थल निर्माणका निम्ति धर्मगुरूले मान्द्रेडाँडालाई रोज्नुभयो । वि.सं. २०४९ मा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाको पहलमा मान्दे्रडाँडामा जग्गा खरिद गरियो ।
सो स्थानमा वि.सं. २०५० कात्तिक २५ गते मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको १०९ औं जन्मजयन्तीको अवसरमा किरात धर्मगुरू मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ’सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनले विश्व शान्ति तथा मानव एकताका लागि महावत्ती र अखण्ड धुनी प्रज्वलन गरेर किरात केन्द्रीय माङहिम किरात हाडसाम मुजोत्लुड माङहिमको उद्घाटन गर्नुभएको थियो । यसरी मान्द्रेडाँडामा माङहिम स्थापनापछि गुरूले सो स्थानको नाम किरात मुन्धुमी भाषामा राख्न तुम माङसेवासावा तेजवहादुर थलड निर्देश गर्नुभयो । किरात मुन्धुमी भाषामा नामाकरण भयो, माङसेबुड । यसको अर्थ ’माडले छानेको पवित्रस्थल अर्थात माङको पवित्र स्थल’ भन्ने हुन्छ । त्यसपछि माङसेबुङलाई किरात धर्मावलम्बीको केन्द्रीय धार्मिकस्थलको रूपमा श्रद्धा गर्न थालिएको छ ।
सुरुका दिनहरूमा माङहिम अवस्थित मान्द्रेडाँडालाई मात्र माङसेबुङको रूपमा चिनिन्थ्यो । त्यसताका माङसेबुङको पारी इभाङसम्म पनि माङसेबुङ अपरिचित थियो । तर, समयसँगै माङसेबुङको चर्चा हुँदै जाँदा यसको क्षेत्र पनि विस्तार भएर गएको छ । मानिसको बसोबास र भौतिक संरचना बढ्दै गएपछि साविक बाँझोको ८ र ९ वडामा फैलिएको माङसेबुडलाई देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै राज्य पुनः संरचना हुने शिलसिलामा इलाममा १० वटा स्थानीय संरचना बनाउँदा माङसेबुङ गाउँपालिका पनि बन्न सफल भएको छ । साविक बाँझो, इभाङ र गजुरमुखि गा.वि.स.लाई समायोजन गरी माङसेबुङ बनाइएकोले यसको क्षेत्र बृहत बनेर विस्तार भएको हो ।
किरात साम्जीक मुन्धुम पढाई हुने विश्वमा एकमात्र निसामहिम, किरात साम्जिक मुन्धुम निसामहिम २०४१ सालमा गुरुनिजी आश्रमबाट सुरु गरिएको मुन्धुम पठनपाठनलाई ५६ सालमा किरात साम्जिक मुन्धुम निसामहिमको औपचारिक उद्घाटन गरेर किरात मुन्धुमको संरक्षण र विकास गर्दै किरात माङसेवासाबा उत्पादन गर्न किरात धर्म दर्शन, भाषा, लिपि, साहित्य, संस्कार संस्कृति र मुन्धुम पढाउदै आएको छ । यसरी नै वि.स. २०७१ सालमा किरात भाषा साहित्य, मुन्धुम र खस भाषा (औपचारिक शिक्षा) पढाई हुने किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिम समेत स्थापना गरी शिक्षा दिक्षा दिइदै आएको छ ।
तत्कालीन मान्द्रेडाँडाको शिर मान्द्रे थुम्की समुन्द्र सतहबाट करिब ९ सय ५० मिटर उचाँइमा रहेको छ । यो थुम्कीको विशेषता बेगल छ । यहाँ करिब साढे चार दशक अघि दुर्गम, अनकन्टार डाँडा मात्र रहेको थियो । वि. स. २०३४/३५ साल अघिसम्म विकट र अनकन्टार जंगलले ढाकेको, वारिपारी पातलो वस्ती मात्र रहेको सो थुम्कीको शिरमा रहेको पोखरीको छेउमा देवस्थल रहेको थियो ।
माङसेबुङको वरिपरि आठ पाटा छ । आठै पाटामा पानीको मुहान पनि रहेको छ । यसको उत्तर पूर्वमा मेक्वा, देउमाई र माइ खोला बग्छ भने, दक्षिण पश्चिम दिशाबाट रतुवा खोला बग्ने गर्छ । स्थानीयवासी तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङका अनुसार गाउँलेले गाई वस्तु चराउँने, घाँस दाउरा गर्ने थुम्कीमा पानी पर्ने, घाम लाग्ने संकेतको रुपमा नौमति बाजा, ढोल, झ्याम्टा बज्ने र तोप आदि पड्केको आवाज आउने गथ्र्याे । वर्षायाममा प्राय थुम्कीबाट करिब ५० मिटर तलसम्म मात्र कुइरो लाग्थ्यो ।
मान्द्रेडाँडाको केन्द्रीय धार्मिकस्थलको रूपमा स्थापित हुनपूर्व पनि सो स्थानको विशिष्ट अध्यात्मिक महत्व थियो । मान्द्रेडाँडाको विशिष्ट अध्यात्मिक विशिष्टतालाई त्यहाँ सिकार गर्न गएका सिकारीहरूले सबैभन्दा पहिले अनुभूति गरेका थिए । उक्त थुम्कीमा सिकार गर्न जाँदा केहीँ न केहीँ पशुपंक्षी भेटिने तर केही गर्दा पनि सिकार मार्न नसकिने हुन्थ्यो । त्यहाँ केही दैवी शक्ति रहेकोले सिकार गर्न नसकिने उनीहरूले अनुभव पाएका थिए । सायद यसले मान्द्रेडाँडा भविष्यमा शान्ति क्षेत्र बन्ने पूर्व संकेत गरेको थियो ।
माङसेबुङ एक धार्मिक पर्यटकीय क्षेत्र बन्ने प्रचुर सम्भावना बोकेको इलाम जिल्लाको स्थानीय तह हो । माङसेबुङमा रहेको किरात समुदायको केन्द्रीय धार्मिकस्थल माङसेबुङ, गजुरमुखि धाम, माङमालुङ/थालाचेप्पा धार्मिक पर्यटकीय क्षेत्रहरु त केहीँ प्रचारप्रसार गरिएको भएपनि राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र अङसीमाङ आत्मानन्द तथा अङसीमामाङ पवित्रहाङमाको जन्मभूमि र तपोभूमिहरु प्रचार प्रसार र विकास निर्माणबाट ओझेलमा परेका छन् । यी ऐतिहासिक र महत्वपूर्ण धार्मिकस्थल बाहेक पनि माङसेबुङमा असंख्य धार्मिक पर्यटकीयस्थल बन्न सक्ने र बनाउन सकिने क्षेत्रहरु रहेका छन् । तर, यसमा राज्यको नजर पुग्न जरुरी छ ।
किरात समुदायको पहलमा निर्माण भइरहेको माङसेबुङलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न, गराउन राज्यनै लाग्न आवश्यक छ । यसका लागि आवश्यक पूर्वाधारहरुको निर्माणमा राज्य अनुदार नहुने हो भने, माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा स्थापना गर्न धेरैं समय कुर्नु पर्दैन ।
माङसेबुङ डाँडा भरिएको पाथी आकारको देखिन्छ । जुन आठ पाटा रहेका छन् । माङसेबुङको पूर्वी मोहडा गुरूआश्रम लारुम्बा, खानिटार, फुलुङ्गी हुँदै माइखोलासम्म फैलिएको छ । यसैगरी उत्तरी मोहडाको जग मेक्वाखोलाबाट उठेको र दक्षिण पश्चिमी मोहडा मझुवा, भालुटार, लामिटारजस्ता टार बनाउँदै रतुवा खोलामा टुङ्गिन्छ । माङसेबुङ झापाको दमकबाट १७ किलोमिटर उत्तर, इलाम सदरमुकामबाट करिब ६० कि.मि. पश्चिम, पान्थरको रबीबाट करिब २५ कि.मि. दक्षिण र धनकुटाको मिक्लाजोडबाट करिब २० कि.मि. पूर्वमा अवस्थित छ ।
समुन्द्री सतहबाट ९ सय मिटर उचाइमा रहेको माङसेबुङबाट इलाम, झापा, मोरङ, धनकुटा र पान्थरका विभिन्न स्थलहरू देखिन्छन् । माङसेबुडवाट इलामको महमाई, दानाबारी, जीतपुर, इभाड, लक्ष्मीपुर, फिक्कल, हर्कटे, कन्याम, सिद्धिथुम्का, थालाचेप्पा, चिसापानी पञ्चमी, साकफारा, झापाको दमक, बिर्तामोड देखिन्छ । यसैगरी मोरङको उर्लाबारी, रमितेडाँडा र पान्थर, इलाम तथा धनकुटाको संगमस्थल मिक्लाजोडसमेत राम्ररी दृश्यावलोकन गर्न सकिन्छ ।
माङसेबुङमा किरात धर्ममा आस्थावान लिम्बू, राई, मगर, गुरुङ, सुनवार, याक्खा र शिल्पी समुदायका कामी, दमाई लगायतका जातजातिहरुको बसोवास रहेको देखिन्छ । यहाँ धान, मकै, कोदो, आलु र नगदे बाली अदुवा, दाल, अलिम्सो, अंलैची, फलफूल आदि उत्पादन हुने गर्छ ।
शाकाहारीस्थल माङसेबुङ
स्थानीयबासी किरात धर्मावलम्बीहरुको अनुरोध र पहलमा जिल्ला प्रशासन कार्यालय इलामले माङसेबुङलाई वि.स. २०७२ साल चैत ११ गते शाकाहारी क्षेत्र घोषणा गरेको थियो । विकृति विसंगति र हत्या हिंसा रहित शुद्ध शाकाहारीस्थल निर्माण गर्ने उद्देश्यले अङसीमाङ तथा अङसीमामाङको समुपस्थितीमा तत्कालीन इलाम सहायक जिल्ला अधिकारी सुजन फागोले माङसेबुङलाई शाकाहारी क्षेत्र घोषणा गरेका थिए ।
यसरी शाकाहारी क्षेत्र घोषणा गरिएको माङसेबुङ परिसरमा मद–मदिरा, लागू औषध, मद्यपान, धुम्रपान, मासुमंस सार्वजनिक रुपमा उत्पादन, उपभोग र ओसारपसार तथा विक्री वितरण निषेध गरिएको छ । सार्वजनिक रुपमा समाजमा विकृति विंसगति फैलाउने जुवातास, डाइस, पासा, वेश्यावृत्ति, होहल्ला र अश्लिल व्यवहारहरु फैलन नदिन पहल थालिएको हो ।
सामाजिक सुरक्षा तथा सौहार्दपूर्ण वातावरणलाई असर पार्ने सबै क्रियाकलापहरु र पृथ्वीमा रहेको सबै प्राणीहरु समान बाँच्न पाउने अधिकार छ भन्ने विश्वव्यापी मान्यतालाई अंगिकार गर्दै शाकाहारी क्षेत्र घोषणा गरिएको स्थानीयको भनाई छ ।
माङसेबुङलाई किरात धर्मावलम्बीहरूको धार्मिक नगरको रूपमा विकास गर्न सके यो नेपाललाई चिनाउने लुम्बिनीजस्तै अर्को ’ब्रान्ड’ बन्न सक्छ । जसले नेपालको धार्मिक पर्यटनमा सहयोग त पु¥याउँछ नै र नेपाल हिन्दू, बौद्ध र किरात धर्मका लागि पवित्र धार्मिक स्थल बन्नेछ ।