किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको जीवन सारथी तथा परिपूरकका रुपमा किरात समुदायमा पुज्य हुनु भएका महिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन आगामी फागुन ३ गते ६७ वसन्त पार गरेर ६८ वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । यसरी अङसीमामाङको ६८ औं जन्मोत्सवलाई किरात धर्मावलम्बीहरु र किरात धर्ममा आस्था र विश्वास राख्ने संसारभरका भक्तजनहरुले माङगेन्ना चोत्लुङको रुपमा नुमाङगेन्ना मनाउँने प्रचलन रहेको छ ।
पछिल्लो समय सबैले वहाँमा आस्था र श्रद्धा पोख्ने गरेका छन् । वहाँ गुरुआमाको रुपमा पुजनीय हुनुहुन्छ । गुरुआमाको सम्बोधन केवल आलङ्कारिक मात्र नभई, माौलिक भाषा लिपि, धर्म, कर्म, संस्कार संस्कृतिको संरक्षण सम्बद्र्धनमा जीवन नै समर्पण र जोखिममा राखेर किरात सभ्यतालाई विश्व सामु उभ्याउनु भएकोले सबैको अगाध श्रद्धा र आस्था बन्नु भएको हो । मुहिङगुम अङसीमामाङ साँबा पबित्रहाङमा लिङदेनको जीवनशैली सरल र सामान्य देखिएपनि वहाँमा आम नारीहरु भन्दा असाधरण जीवनशैलीे, अद्भूत सामथ्र्य र पृथक पहिचान छ ।
यदि मात्र नभई किरात साम्जिक मुन्धुम र किरात इतिहासहरुको संरक्षण र व्यापक प्रचार–प्रसारमा अङसीमाङलाई अहोरात्र साथ र सहयोग गर्नुमा वहाँको अतुलनीय देन रहेको छ । वहाँको प्रेरणाले किरात साम्जीक मुन्धुम पढ्ने माङसेवासामा, साङदाङगेन वरुमसामाहरु उल्लेखनीय रुपमा उत्पादन हुँदै गएको छ भने, कर्म, संस्कार, संस्कृति र परम्परालाई जीवनतता दिन पनि अङसीमामाङको ठूलो देन रहेको छ । यसरी नै भक्तजनहरुलाई आत्मनिर्भर बनाउन, स्वावलम्बी बनाउन, किरात धर्म दर्शन प्रति बोध गराउन सदैव भक्तजनहरुप्रति उत्तरदायी बनिरहनु भएको छ । विशेष गरी अर्गानिक कृषिलाई बढी महत्वका साथ अगाडि बढाई रहनु भएका अङसीमामाङले धर्मानुयायीहरुलाई सधैं कृषिमा आत्मनिर्भर हुन पर्छ भनेर रातदिन नभनिकन भक्तजनहरुलाई सँगसँगै डो¥याएर मातृत्वको जिम्मेवारी पूरा गरिरहनु भएको छ । उहाँले सदैव कृषिलाई प्राथमिकतामा राख्नु पर्छ भन्ने सन्देश दिइरहनु भएको छ ।
जन्म र जन्मस्थल
मुहिङगुम अङसीमामाङ साँबा पबित्रहाङमा लिङदेनको मेची अञ्चल इलाम जिल्लाको तत्कालीन मिक्लुक थुम साबिक बाँझो गा.वि.स. वडा न.–७ उत्तरे हाल माङसेबुङ गाउँपालिका वडा न. ३, स्थित मावली घरमा जहरमान साँबाको नातिनीको रुपमा तत्कालीन सुब्बा बिर्खध्वोज साँबा र आमा साम्सुहाङ कौशिला साँबाको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते बिहिबार पूर्णिमा तिथिको दिन जन्म भएको थियो ।
अङसीमामाङ पवित्रहाङमा गर्भमा हुँदा मासुमंस र मादक पदार्थ सेवन गर्दा बिरामी हुने भएकोले यसबाट आमा अलग हुनुभएको र माङको शुभ संकेतकै कारणले हुन सक्छ, सपनामा सेतो लुगा लगाएको समेत देख्ने गरेको किरात आवाजको अतिरित्ताङक मिक्तोक विशेषाङकमा पूर्व गुरु निजी सचिव माङमिङसोहाङ लिङ्देनले उल्लेख गर्नु भएको छ । यसरी जन्मनु पूर्वनै अलौकिक शक्तिको स्वरुप देखिनु भएको मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनलाई किरात धर्मावलम्बीहरुले पुजनीय र विश्व मानव जगतको लागि मुक्तिदाताको रुपमा समेत विद्यमान रहनु भएको छ ।
देव विवाह
वि. स. २०३२ साल माघ २२ गते बिहिबारको दिन साबिक इलामको इभाङ ५ हाल माङसेबुङ गाउँपालिका–२, चुक्चिनाम्बा गैरीगाउँ माङहिममा मुहिङगुम अङसीमामाङले पुण्यप्रसाद लिङ्देन र चन्द्रमाया चेम्जोङ (श्यामजिरी) को कोखबाट जन्मनु भएका मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दका पुनः अवतार मुहिङगुम अङसीमाङ अर्थात तत्कालीन बालागुरु आत्मानन्द लिङ्देन सेईङसँग देव विवाह गर्नु भयो ।
यसरी सुब्बा परिवारमा जन्मेर हुर्के पनि सामान्य गाउँले झैं जीवनयापन गरिरहनु भएका, घर धन्दा, मेलापात र गाईवस्तु हेरचाहमा दिनचर्या बिताईरहनुभएका अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन संसारिक क्रियाकलापमा जीवन व्यतित गर्ने क्रममा यसरी मुहिङगुम अङसीमाङसँग बैवाहिक बन्धनमा बाँधिनु भएपछि किरात धर्मको अस्तित्वलाई जोगाउने गहँन अभिभारा समेत अङसीमामाङले काँधमा लिनुभयो ।
समानताका पक्षधर
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन समान्ताको पक्षधरको रुपमा रहनुभएको छ । किरात धर्म दर्शनले सृष्टिको पहिलो मानवको रुपमा नारीलाई मान्दछ । सृष्टिकर्ताका धनि नारीलाई सदैव उच्च स्थानमा राख्दै आइरहेको छ । नारी समानता, नारी स्वतन्त्रताको पक्षलाई कायम राख्दै आइरहनु भएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दको अधूरा कार्यलाई पूरा गर्न जसरी मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ निरन्तर लागि पर्नु भएको छ, ठीक त्यसरीनै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन पनि अङसीमाङसँगै निरन्तर लागि पर्नु भएको छ । वि.स. १९८८ साल बैसाक २४ गते पान्थरको चोकमागु स्थित लब्रेकुटी माङ्हिममा महागुरु फाल्गुनन्दद्धारा निर्मित सत्य धर्म मुचुल्कामा उल्लेख भए बमोजिम नारी समानता, नारी शिक्षाको पक्षमा सदैव अङसीमामाङ लागि पर्नु भएको छ ।
नारीलाई पनि पुरुष सरह शिक्षा दिनुपर्छ, नारीलाई पुरुष समान अधिकार दिनुपर्छ, नारीलाई पनि पुरुष सरह अंशबण्डा दिनुपर्छ भनी नारी समानताको पक्षमा निरन्तर मार्गदर्शकको रुपमा अङसीमामाङ रहनु भएको छ । नारीलार्ई घर धन्दामा मात्र सिमित्त नरहेर पुरुषले गर्ने हरेक क्रियाकलापहरुसँग आफूलाई दाँजेर नारीले पनि पुरुष सरह घर व्यवहार, घाँस दाउरा बस्तुभाउ हेरचाहसँगै हलो जोत्ने, कोदालो खन्ने जस्ता कार्यहरु समेत अङसीमामाङले गर्दै आउनु भएको छ । यसरी समाजमा नारीले गर्न नहुने भनेर बन्देज लगाएका अन्धविश्वास पूर्ण परम्परालाई तोड्नु भएको छ । नारी र पुरुष दुवै समान हुन् भन्ने दर्बिलो चुनौती दिनु हुँदै वहाँले नारी समानताको पक्षलाई महत्वपूर्ण तवरले उठान गर्नु भएको छ ।
मुन्धुममा किरात धर्मदर्शन, कर्मसंस्कार र संस्कृतिको संरक्षण, सम्बद्र्धन र सञ्चालनमा समेत नारीहरुको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । मुन्धुममा उल्लेख भए बमोजिम सृष्टिको पहिलो मानव मातारुपी मुजिना खियङना र पितारुपी सुसुवैङ लालावैङबाट सृष्टि भएको थियो । यसबाट पनि के स्पष्ट हुन्छ भने, सृष्टि सञ्चालन गर्न र प्राकृतिक नियमलाई सञ्चालन गर्न, सृष्टिलाई जीवनतता दिन नारी र पुरुषको अपरिहार्यता छ । त्यसरीनै नारी र पुरुष समान हुन् भन्ने अङसीमामाङ र अङसीमाङले निर्वाह गरिरहनु भएको समान दायित्वलाई लिन सकिन्छ ।
लैङ्गिक समानताका पक्षपाति पुरुष प्रधान समाजलाई जरैबाट उखेलेर निर्मुल पार्दै लैङ्गिक समानता, नारी हक अधिकार जस्ता कुराहरुलाई व्यवहारमा उतार्न र नारी र पुरुष बीचको असमानताको खाडललाई पुर्न अङसीमामाङ अनावरत रुपमा लागि पर्नु भएको छ । नारी हिंसाको विरुद्धमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन सदैव रहनुभएको छ । पुरुष प्रधान यो समाजमा नारी हिंसा र लैंङ्गिक विभेदको विरुद्धमा अङसीमामाङ सदैव लडिरहनु भएको छ ।
नारीलाई आवश्यकता पूर्ति गर्ने साधनको रुपमा मात्र लिने समाजको अन्त्य गर्दै नारी हिंसाको अन्त्य हुनुपर्छ, समाजमा भईरहेका लैंङ्गिक विभेदको अन्त्य हुनुपर्छ भन्ने कुरामा वहाँ लागि पर्नु भएको छ । नारी सृष्टि हुन, जननी हुन, नारी बिना पुरुषको औचित्य रहँदैन भन्ने ध्रुव सत्य कथनलाई पुष्टि गर्दै नारीलाई पनि पुरुष सरह जीउनु पाउनु पर्छ भनि समानता लागि निरन्तर लागि पर्नु भएकोले वहाँलाई सबैले आस्था र श्रद्धापूर्वक मुहिङगुम अङसीमामाङको रुपमा पुज्ने गरेका छन् ।
अद्भूत सामथ्र्य र फरक शैली
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन अद्भूत सामथ्र्य र फरक शैलीको हुनुहुन्छ । नारी चुला र चौकामा मात्र सिमित्त रहनु पर्छ, नारीले घर बाहिरको काममा नजर अन्दाज गर्नु हुन्न भन्ने परम्परागत सोचलाई जरैबाट उखेलेर नारी पनि पुरुष सरह सक्षम छन् भन्ने गतिलो प्रमाणको रुपमा रहनुभएकी अङसीमामाङ अद्भूत सामथ्र्य र फरक शैलीका कारण किरातीहरुको आस्थामा रहनुभएको छ । वहाँले नारीले हलो जोत्नु हुन्न, हरिस नाँघ्नु हुन्न, धूरी चड्नु हुन्न भन्ने लगायत समाजमा रहेका कुरीति र कुसंस्कारलाई अन्त्य गर्दै नारी र पुरुष समान हुन भन्ने चेतनाको विजारोपन गर्नु भएको छ ।
पुरुषले समेत गर्न नसकेको कामहरु नारीले गर्न सक्छ भन्ने अदभूत क्षमता प्रस्तुत गरेर आस्था र श्रद्धाको पात्र बन्नु भएको छ अङसीमामाङ । वहाँले पुरुषले नार्न नसकेको गोरु नारेर जोत्ने, ढुङ्गा फुटाउने जस्ता फरक कार्यहरुमा प्रत्यक्ष रुपमा सहभागी भएर नारीहरु पनि स्वावलम्बी हुनुपर्छ भन्ने प्रेरणा दिनुभएकै कारण पनि गुरुआमा उपमाले पुजनीय हुनु भएको छ । सामाजिक कार्यहरुमा नारीहरुको सहभागितालाई अनिवार्य बनाईनु पर्छ भन्ने महान आदर्श र दर्शनले ओतप्रोत हुनुभएकी छन् ।
नुमाङगेन्नाको सुरुवात
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ४८ वर्षपछि ४९ औं शुभ जन्मोत्सवको रुपमा २०६१ सालदेखि अङसीमामाङको मावली घर (वहाँ जन्मेको घर) इलाम जिल्लाको साविक बाँझो गा.वि.स. वडा नं.–७, हाल माङसेबुङ गाउँपालिका–५, उत्तरेबाट औपचारिक कार्यक्रमको आयोजना गरी पहिलो पटक माङगेन्ना कार्यक्रमको औपचारिक सुरुवात भएको थियो । त्यसपछि स्वर्ण जन्मोत्सव विश्व किरातीहरुको आस्थाको धरोहर किरात हाङसाम मुजोत्लुङ माङहिमको प्राङगणमा किरात धर्मावलम्बीहरुले भव्यताका साथ मनाएका थिए । यसरी सुरु भएको माङगेन्ना कार्यक्रम ६८ औं जन्मोत्सवमा आइपुग्दा माङसेबुङको अलावा संसारभरी सभ्य र भव्य तरिकाले वहा“को जन्मोत्सव मनाइरहेका छन् ।
अङसीमामाङको नुमाङगेन्नासँगै सावायेहाङ किरातहरुको नुमाङगेन्ना सेवा गर्ने प्रचलन समेत विकास भएको छ । अङसीमामाङको नोमाङगेन्ना गर्दा सावायेहाङको नुमाङगेन्ना हुने किरात धर्मावलम्बीहरु माझ जनविश्वास रहिआएको छ । अङसीमामाङको नोमाङगेन्नासँगै किरात धार्मिकस्थल पुण्यभूमि माङसेबुङको महिमा पनि दिनानुदिन चुलिँदै गइरहेको छ । त्यसैले माङसेबुङको विकासमा राज्यको समेत नजर पुग्न थालेको छ । माङसेबुङ एक धार्मिक धरोहरको रुपमा विश्व सामु चिनिएको छ । माङसेबुङ विश्वको नजरमा धार्मिक पर्यटकीयस्थलको रुपमा स्थापित हुँदै गएको छ ।
मौलिक पहिचानप्रेमी
किरात समुदाय भाषा, लिपि, मुन्धुम, धर्म दर्शन र संस्कार संस्कृतिको संरक्षण र सम्बद्र्धनमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको योगदान महत्वपूर्ण छ । निरङ्कुश पञ्चायति शासनकालमा किरात धर्म, भाषा, लिपि र संस्कार संस्कृतिको संरक्षण गरेको आरोपमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङलाई धेरै पटक गिरफ्तार गर्न खोजेका थिए । त्यो समयमा मातृभाषा, लिपि र मुन्धुमहरु प्रहरीहरुबाट जोगाउन कैयौं दुःख, पीडाहरु सामना गर्नुपरेको अङसीमामाङ सुनाउनु हुन्छ । अहिले सुन्दा कथाझैं लाग्ने तत्कालीन घटनाहरु किरात धर्मगुरु र किरात भाषा, लिपिलाई पक्रिन आउने प्रहरीसँग समेत अङसीमामाङले कुनै समय गुरु निजी आश्रममा संघर्ष गर्नुपरेको थियो ।
यसरी वहाँले किरात साम्जीक मुन्धुम र भाषा लिपिका ठेलीहरुको कुम्लो पत्यारोहरुलाई सुरक्षित गर्न थुप्रै दुःख र पीडाहरु सामना गर्नु भएको छ । त्यसैगरी अङसीमाङलाई निरङकुश पञ्चायतका शासकहरुको कडा निगरानीबाट जोगाउन रातदिन कहिले भाग्दै हिड्नु परेको थियो भने, कहिले तिनै पञ्चे शासकको प्रहरीहरुसँग संघर्ष समेत गर्नु परेको थियो । किरात सम्प्रदायका लागि आफ्नो जीवनलाई मृत्यूसँग बन्धकी राखी मौलिक पहिचानको लडाइँमा आफूलाई समपर्ण गर्नु भएको छ । किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिको उत्थान र प्रचारप्रसारका लागि वहाँले भोक, तिर्खा, रोग र शोक नभनि अहिलेसम्म पनि लडिरहनु भएको छ ।
किरात धर्म दर्शनको प्रचार—प्रचार गर्ने शिलशिलामा २०३४/३५ सालताका मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ गीत लेख्ने, संगीत भर्ने र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन स्वयंम गीत गाउने गरेको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ सुनाउँनु हुन्छ । वहाँहरुले त्यो समयमा किरात धार्मिक जागरणका गीत संगीत र विभिन्न नाटकहरु प्रस्तुत गरेर जनचेतना जगाउन सुरु गर्नु भएको थियो । अङसीमामाङ आफैं गीत गाउने र नाँच्ने गर्नुभएको माङगेन्ना समितिका अध्यक्ष केहेरसिं योङहाङको कथन छ ।
तत्कालीन अवस्थामा मातृभाषामा लेख्न, बोल्न प्रतिबन्द गरिएको थियो । त्यो परिस्थितिमा निडरताका साथ पञ्चायती शासकहरुलाई चुनौति दिएर मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नेतृत्वमा मातृभाषाको गीत संगीत सृजना गरेका थिए । किरात धर्म, भाषा, लिपि र संस्कार संस्कृतिहरुको उत्थान र प्रचार–प्रसार पनि यहीँ पञ्चायतकालीन समयमै वहाँहरुले सुरु गर्नु भएको थियो । मातृभाषामा बोल्न, लेख्न र गीत संगीतका नाचगान गर्न समेत पूर्ण प्रतिबन्द गरिएको पञ्चायतकालीन त्यो बेला पञ्चेहरुसँग कहिले लुक्दै, कहिले सुरक्षित हुँदै, त काही संघर्ष गर्दै थालनी गर्नु भएको किरात धर्म, भाषा, लिपि, संस्कार संस्कृतिहरु आज बृहत बन्दै गएको छ । त्यो समयमा केही आफ्ना चेलाहरुसँग मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले सुरु गर्नु भएको माङलाङ, केलाङ, नाटक र युमा लाङ, थेबा लाङ, हाक्पारे, पालाम, ख्याली, यारिछाम गाउने लगायतका विभिन्न मौलिक संस्कार संस्कृतिहरु विश्वको कुना कन्दराहरुमा पुगेको छ ।
तत्कालीन समयमा वहाँहरुले संरक्षण सम्बद्र्धन र प्रयोगमा सुरुवात गर्नु भएको किरात लिपि र भाषा पछिल्लो समयमा स्थानीय कामकाजको भाषा र लिपि समेत बनिसकेको छ । अङसीमाङ तथा अङसीमामाङकै पहलमा अहिले इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ मा किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयन भइरहेको छ । त्यसैगरी किरात लिपिमा किरात साम्जीक मुन्धुमहरु प्रकाशन गरिएको छ । किरात साम्जीक मुन्धुम निसामहिमहरु सञ्चालन भइरहेका छन् । यसरी अङसीमाङ तथा अङसीमामाङको पहलमा मौलिक अस्तित्व संरक्षणका कार्यहरु भइरहेको देखिन्छ ।
अर्गानिक खेती
मानव जातिको उत्पतिको समय र घटनाक्रमहरु खोज अनुसन्धान गर्दा निकै गहँन विषय वस्तुमा प्रवेश गर्न आवश्यक छ । त्यसैले यहाँ ति गहँन विषयमा प्रवेश नगरी महिङगुम अङसीमामाङ साँबा पबित्रहाङमा लिङ्देनले इलामको माङसेबुङ स्थित निजी गुरु आश्रममा सुरु गर्नुभएको अर्गानिक खेती प्रणालीको प्रभावकारिता र केही दूरदर्शिताको विषयमा मात्र चर्चा गर्न खोजिएको छ ।
मानव समुदायले जीवनयापन गर्ने शिलसिलामा खेती कर्म गर्दै आएको विषय कुनै नौलो कुरा रहेन् । प्रकृति पूजक किरात समुदायमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले खेती कर्म गर्दा अर्गानिक खेती प्रणालीलाई निरन्तरता दिइरहनु भएको छ । पछिल्लो समयमा उत्पादनमा वृद्धि गर्न र छिटो, सजिलो र सस्तो तरिकाले खेती गर्न प्राय सबैले रासायनिक खेती सुरु गरेका छन् । अर्गानिक खाद्य वस्तु शहर बजारमा मात्र नभई गाउँघरमा समेत पाउन कठिन बन्दै गएको छ । यस्तो अवस्था आउने सम्भावनालाई अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले पहिलेनै दूरदर्शिताले देख्नु भएरनै हुन सक्छ अर्गानिक खेतीको थालनी गर्नु भयो । यसलाई वहाँले निरन्तर रुपमा सञ्चालन गर्दै, सबैलाई अर्गानिक खेतीमा प्रेरित गरिरहनु भएको छ ।
यसरीनै प्रकृतिसँग मानव जीवनको सम्बन्ध कसरी रहेको छ भन्ने कुरा पनि वहाँको प्रकृतिप्रेमलाई नियाल्दा थाहा हुन्छ । बाढी पहिरो गएको थुप्रै ठाउँमा बोट विरुवा रोप्नु भएको छ । कुनै गाईबस्तुहरुको लागि घाँस, कुनै दाउराको लागि भनि रोपिएका ति बोटविरुवाहरुले प्रकृतिलाई सन्तुलन गर्न सघाउ गरेको छ । प्राकृतिक सुन्दरता थपिएको छ । वहाँले हिमालमा हुने सल्ला, धूपिदेखि मधेशमा हुने मसला, सुपारी, नरिवल लगायतका बोटविरुवाको जातहरु माङसेबुङमा रोप्नु भएको छ । त्यसैले करिब साढे ४ दशक अगावै अनकन्टार माङसेबुङमा अहिले केही प्राकृतिक सुन्दरता थपिएको छ ।
हुन त अहिलेको युगलाई विज्ञानको युगको रुपमा संज्ञा दिइन्छ । विकासको चरम सीमामा संसार दौडिरहेको छ । मानव सभ्यतानै यतिखेर भौतिक विलाशिताको दलदलमा फसिरहेको अवस्थामा मानव स्वास्थ्यमा अनेकौं संकटहरु देखापरिरहेका छन् । विषादी युक्त खानपानले मानव स्वास्थ्यलाईनै प्रतिकूल असर पारिरहेको अवस्थामा अर्गानिक जीवनशैली अपनाउन मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले सुझाइरहनु भएको छ ।
विकासको चरम सीमामा संसार दौडिरहेको छ । मानव सभ्यतानै यतिखेर भौतिक विलाशिताको दलदलमा फसिरहेको अवस्थामा मानव स्वास्थ्यमा अनेकौं संकटहरु देखा परिरहेका छन् । विषादी युक्त खानपानले मानव स्वास्थ्यलाईनै प्रतिकूल असर पारिरहेको अवस्थामा मुहिङगुम अङसीमामाङ सा“बा पवित्रहाङमा लिङ्देन भने अर्गानिक जीवनशैलीमा रमाइरहनुभएको छ । त्यति मात्र नभएर अर्गानिक जीवनशैलीलाई स्थायित्व दिनलाई समेत लागि पर्नु भएको छ ।
गाउँघरमा पनि कृषि कर्म छोडेर विकासको उपज भौतिक सुख, सुविधा र विलासिताको मोहमा दौडिरहेका वर्तमान समाजलाई अर्गानिक कृषि कर्ममा डो¥याउन, कर्मयोगको शिक्षा दिक्षा दिन, ज्ञान दिन, स्वास्थ्य जीवनयापन गर्न, गराउँन सबैलाई अङसीमामाङले सदा प्रेरणा दिइरहनु भएको छ । बिहान सबेरै देखि साँझ अबेरसम्म मेलोपात, खेतीपातीमै जीवनयापन गरिरहनु हुने वहाँले आम भक्तजनहरुसँग सामिप्यतामा रहेर भक्तजनहरुलाई कृषि कर्म र मौलिक धर्म संस्कृतिमा लाग्न प्रेरणा र मार्गदर्शन दुवै दिइरहनु भएको छ । सामान्य जीवनशैली तर असामान्य कर्म र विचार दिनुहुने अङसीमामाङको बाल्यकालदेखि अहिलेसम्म बिहान सबेरै देखि साँझ अबेरसम्म मेलोपात, खेतीपातीमै जीवनयापन गरिरहनुभएको छ ।
अङसीमाङको जीवन सारथी अङसीमामाङ
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङको जीवन सारथीको रुपमा विराजमान रहनु भएको छ । किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृतिको प्रचार–प्रसार गर्दै, कुरीति र कुसंस्कारमा रहेका समुदायलाई सभ्य, शिक्षित र चेतनशील बनाउन अभियानमा लागि रहँदा तत्कालीन पञ्चायती प्रशासनबाट अङसीमाङलाई देशद्रोहीको आरोप लगाई गिरफ्तारका लागि दिनरात खोजी भइरहन्दा अङसीमाङको आड भरोसाको रुपमा कति पनि नडगमगाईकन अङसीमामाङ सदैव जीवन सारथीको रुपमा खडा हुनुभएको थियो ।
अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको दोस्रो पटकको फक्ताङलुङ तीर्थयात्रा पश्चात प्राप्त माङ इङघङलाई पालना गर्दै देव विवाह गर्नु भए पश्चात अङसीमामाङ अङसीमाङको जीवन सारथी बन्नु भएको थियोे । त्यसपछि अङसीमाङको हरेक सुख, दुःखमा साथ दिँदैं किरात धर्मको प्रचार–प्रसार र उत्थानमा अङसीमाङसँगै अनवरत रुपमा लागि पर्नु भएको छ ।
किरात अस्तित्वलाई सही दिशाबोध गराउँदै विश्व मानसपटलमा चिनाउने महान सदिक्षा लिएर अगाडि बढाउने क्रममा विविध बाधा अड्चनहरुलाई पार गर्दै, अङसीमाङ अगाडि बढिरहनु हुँदा प्रत्यक्ष वा परोपक्ष रुपमा अङसीमामाङको साथ सदैव रहँदै आइरहनुभएको छ । अङसीमाङका अनेकौं धार्मिक, सामाजिक, सांस्कृतिक कार्यमा अहिलेसम्म साथमा रहेर अहोरात्र सकृय रहनुभएकोे छ ।
यसरी समाजलाई सही मार्ग निर्देश गर्दै, ज्ञान गुणका कुरा गर्दै हिडदा पनि मुहिङगुम अङसीमाङ फाल्गुनन्दलाई झै अङसीमाङ आत्मानन्दलाई पनि लिम्वुवानका राजा इत्यादि आरोप लगाएर गुरु आत्मानन्द मार्नेलाई तीन लाख रुपैयाँ इनाम दिने भन्ने सरकारबाट गोप्यरुपमा हल्ला चलाई रहँदा यस विषम परिस्थितिमा समेत अङसीमामाङ अङसीमाङसँग समिपमा रहेर समस्याहरुसँग जुँधेर अघि बढ्ने सारथीको रुपमा विराजमान रहनु भएको छ ।
ममतामयी अङसीमामाङ
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ममतामयी हुनुहुन्छ । मानव सभ्यता विकासको क्रममा परिवर्तनका र रुपान्तरणका लागि हरेक पटक युमाको अवतरण भएको मुन्धुमबाट प्रष्ट हुन्छ । ठीक त्यसरीनै ममताकी खानी मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन किरात सभ्यतालाई जीवनतता दिन, समाज सुधार, घर व्यवहार, सामाजिक उत्तरदायित्व लगायत मानवीय सम्बन्ध गाँस्न माया, ममता र सद्भावको सम्बन्ध जोड्न प्रेरणामयी हुनुभएको छ ।
नारीलाई सुन्दर संसार निर्माण गर्न माया, ममता र प्रेमको मुहानको रुपमा प्रकृतिबाटनै बरदान प्राप्त गर्नुभएको छ । सायद त्यसैले होला सम्झाई बुझाई र कर्तव्य बोध मार्फत किरात समुदायहरुलाई मातृत्वको न्यानो काख दिन सक्षम हुनु भएको छ । अङसीमामाङबाटै नारीले हरेक कार्यहरुमा अगाडि बढ्ने प्रेरणा पाईरहेका छन् ।
समाजमा भईरहेका कुरीति र कुसंस्कारबाट सारा मानव जगतलाई ब्यूँझाएर, अन्धकारबाट मुक्ति दिलाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणमा अङसीमामाङ निरन्तर लागि पर्नु भएको छ । अङसीमामाङ स्वंयम् सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि विभिन्न काम कार्यहरुमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समाहित हुँदै आम किरात समुदायहरुलाई अभिप्रेरित गराउँदै सृजनशिल बनाउन लागि पर्नुभएको छ ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन भक्तजनहरु प्रति सदैव उत्तरदायी रहनु भएको छ । बिशेषत भक्तजनहरुको बदलिदों आचरणलाई लिएर अङसीमामाङ बढी चिन्तित हुनुहुन्छ । किरात धर्म दर्शन प्रति समर्पित रहेर भक्तजनहरुलाई समाज र राष्ट्र प्रति उत्तरदायी हुन, धर्म र कर्म प्रति उत्तरदायी हुन ज्ञान बाडिरहनु भएको छ ।
सामाजिक रहनसहनमा, मेलमिलापमा रहन, खानपानमा सुद्धता, सत् आहार, सत बिहार, वोलीवचनमा सुद्धता, माधुर्यता, शाकाहारी जीवन व्यतित गर्न अभिप्रेरित गरिरहनु भएको छ । भक्तजनहरुमा चेतनाको विकास गर्न निरन्तर सामाजिक चिन्तनका विषयहरुमा मेलापातमा रहनु हुँदा ज्ञानहरु बाँडिरहनु हुन्छ । किरात धर्मको निमित्त सदैव लागि पर्ने सन्देश बाँडिरहनु भएको छ ।
(किरात इङसेका लागि सम्पादक ज्ञानु केदेम लिम्बूले तयार पारेको मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको संक्षिप्त चिनारी लेख)