अङसीमामाङप्रतिको चुलिँदो श्रद्धा

 

 

ज्ञानु केदेम मुक्साम

छरपस्टिएको र दिशाविहिन किरात धर्म दर्शनलाई निश्चित मार्ग देखाउँदै किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिलाई पुनः उत्थान गर्नुहुने किरात धर्मदर्शनदाता, तत्कालीन किरात समाजमा चलेको कुरीति कुसंस्कारलाई हटाई समाज सुधारका निम्ति सत्य धर्म मुचुल्का निर्माण गर्नुहुने समाज सुधारक तथा राष्ट्रले राष्ट्रिय विभूषणले सम्मानित गरेको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले किरात धर्म दर्शनको उत्थान र प्रचार–प्रसारको कामलाई निरन्तर गर्दै जाँदा पूरा गर्न नपाई ६३ वर्षको उमेरमा वि.स. २००५ साल चैत २२ गते वहाँपनि परमधान हुनु भयो ।

 

 

त्यसपछि किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिका पुनः उत्थापक, समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको अपूरा र अधुरा कामलाई पूरा गर्ने अभिभारा लिई वि.स. २०११ साल मंसिर १८ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको जन्म भयो । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले किरात धर्म दर्शनलाई अगाडि बढाउँदै जाने शिलसिलामा वि.स. २०३२ साल माघ २२ गते महिङगुम अङसीमामाङ पवित्रहाङमा साँबासँग देव विबाह गर्नु भएको थियो । त्यसपछि महिङगुम अङसीमामाङ साँबा पबित्रहाङमा लिङ्देन, किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको जीवन सारथी तथा परिपूरकका रुपमा किरात समुदाय माझ् पुज्य हुनु भएको छ ।

 

 

महिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन किरात धर्मगुरुको जीवन सारथी हुनु भएकोले मात्र महिङगुम अङसीमामाङ अर्थात गुरुआमा शब्दले सम्बोधन वा सम्मान गरिएको हो भनि बुझ्नु अज्ञानता वा अनुचित हुने छ । किन की अङसीमामाङले पनि अन्य युग पुरुषझै योग साधना, ध्यान तपस्या गर्नु भएको ठाउँहरु यथावत छ । समानताका पक्षधर अङसीमामाङको जीवनशैली सरल र सामान्य देखिएपनि वहाँमा आम नारीहरु भन्दा असाधरण जीवनशैलीे, अद्भूत सामथ्र्य र पृथक पहिचान छ । मान्छेको भीडमा वहाँको फरक शैली र फरक पहिचानकै कारण पनि विशेषत किरात धार्मिक समुदायभित्र वहाँप्रति अगाध श्रद्धा र आस्था चुलिँदो छ ।

 

 

यसरी किरात धर्म दर्शनको बृहत विकास र विस्तार हुनुमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको त्याग र देनको विषयमा खोज अनुसन्धान गर्ने पाटो अनेकौं छ । वहाँले मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको परिपुरकको रुपमा रहेर किरात धर्ममा पु¥याउनु भएको समग्र योगदान र वहाँको जीवन कथाबारे अध्ययन् र विश्लेषण गर्न अति आवश्यक भएको छ । यस विषयमा सत्यतथ्य खोज अनुसन्धान गरी अङसीमामाङको विस्तृत जीवनी प्रकाशन गर्न जरुरी भएको छ । यसरीनै अङसीमामाङको मौलिक पहिचानप्रतिको वहाँका अभिरुची, लगाव र देनहरु पनि किरात धर्मावलम्बीहरुले अनुसरण गर्न आवश्यक छ । पछिल्लो समयमा उत्पादनमा वृद्धि गर्न र छिटो, सजिलो र सस्तो तरिकाले खेती गर्न प्राय सबैले रासायनिक खेती सुरु गरेका छन् ।

 

 

अर्गानिक खाद्य वस्तु शहर बजारमा मात्र नभई गाउँघरमा समेत पाउन कठिन बन्दै गएको अवस्थामा अङसीमामाङले अर्गानिक खेती गरिरहनु भएको छ । यसलाई वहाँले निरन्तर रुपमा सञ्चालन गर्दै, सबैलाई अर्गानिक खेतीमा प्रेरित गरिरहनु भएको छ । विषादी युक्त खानपानले मानव स्वास्थ्यलाईनै प्रतिकूल असर पारिरहेको अवस्थामा अर्गानिक जीवनशैली अपनाउन मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले सुझाइरहनु भएको छ ।

 

 

 

गाउँघरमा पनि कृषि कर्म छोडेर विकासको उपज भौतिक सुख, सुविधा र विलासिताको मोहमा दौडिरहेका वर्तमान समाजलाई अर्गानिक कृषि कर्ममा डो¥याउन, कर्मयोगको शिक्षा दिक्षा दिन, ज्ञान दिन, स्वास्थ्य जीवनयापन गर्न, गराउँन सबैलाई अङसीमामाङले सदा प्रेरणा दिइरहनु भएको छ । बिहान सबेरै देखि साँझ अबेरसम्म मेलोपात, खेतीपातीमै जीवनयापन गरिरहनु हुने वहाँले आम भक्तजनहरुसँग सामिप्यतामा रहेर भक्तजनहरुलाई कृषि कर्म र मौलिक धर्म संस्कृतिमा लाग्न प्रेरणा र मार्गदर्शन दुवै दिइरहनु भएको छ ।

ज्ञानु केदेम मुक्साम