रमेश तुम्बापो
हामी कहाँ महागुरु फाल्गुनन्दप्रति गहिरो आस्था, विश्वास राख्ने तर उनै महागुरुको विषयमा कहिल्यै गहिरो अध्ययन नगर्ने केवल सतही अध्ययनमा तैरीरहने अनौठो यथार्थ छ । श्रद्धाको हकमा यहाँसम्मकि ! साँझ विहान उनको फोटो राखेर पुज्ने, उसैको तस्वीर अंकित लकेट छातिमा टाँसेर हिड्ने, शब्द शब्दमा उनको पवित्र नाम उच्चारण (जय) गर्ने, तर उसैले दिएको बहुमुल्यको ‘सिवाखाहुन’ उपदेशहरुमा कस्तो जीवन दर्शन लुकेको छ ? ति बहुमुल्यका उपदेशहरुको पालना गर्दा व्यक्ति, समाज र सिंगो राष्ट्रलाई कस्तो किसिमको फाइदा हुन्छ ? उहाँको उपदेश भित्र विश्व मानव अटाउन सक्छ कि सक्दैन भन्ने विषय कहिल्यै छलफल, बहस, अध्ययन, विश्लेषण भएको पाइन्दैन । त्यसैगरी उहाँका भविस्यवाणीहरु पुग्दैछन् कि पुग्दै छैनन् ? भन्ने विषयमा पनि समिक्षात्मक अध्ययन हुन सकेको छैन । केवल यसो भन्नु भएको थियो रे, उसो भन्नु भएको थियो रे, अमुर्त अस्पष्ट भनाईहरु मात्र औंसी पूर्णे जस्तै कहिलेकाही सुन्न पाइन्छ । यस आलेखमा उहाँको केही भविष्यवाणीहरुको समिक्षात्मक, विश्लेषणात्मक अध्ययन गर्ने प्रयास गरिनेछ ।
वि. स. १९८८ साल वैशाक २४ गतेका दिन पान्थर लब्रेकुटीमा गर्नु भएको भविस्यवाणीः ‘‘पछि यो पृथ्वी लोकमा थरि–थरिका धर्म, सम्प्रदायहरु आएर ढाक्नेछ, त्यसपछि धर्म–धर्मकोबीचमा, जाति सम्प्रदायकोबीचमा, लडाई, झगडा हुनेछ । त्यतिबेला तिमीहरु एक हुन सक्यौं भने तिमीहरुको निधारमा घाम झुल्किनेछ, एक हुन सकेनौं भने तिमीहरुको घुचुक्कमा घाम अस्ताउनेछ ।
महागुरु फाल्गुनन्दले यस्तो भविस्यवाणी गर्नु भएको ९० वर्ष पूरा भइसक्दा नेपालको सन्दर्भमा धर्मको विषयमा व्यापक बहस हुन थालेको छ । नयाँ–नयाँ धर्महरु पनि अस्ति विदेशी धर्महरु पनि तिब्र गतिले फैलिरहेको छ । पहिचान रक्षाको लागि थरगत इतिहास बंशावली लेख्ने प्रकाशन गर्ने काम पनि तिब्रगतिले भइरहेको छ । यद्यपि नेपालको सन्दर्भमा अहिलेसम्म धार्मिक साम्प्रदायिक लडाई भएको छैन, तर भविस्यमा नहोला भन्न सकिन्न ।
वि. स. १९८५ साल वैसाक २० गतेका दिन पान्थर, लबे्रकुटीमै अर्को भविस्यवाणी गर्नु भएको थियो । अब म युगले घुमाई ल्याएको परिवेश अनुसार समुईबा. तिन डोरा लगाउँने, तुईबा.छ डोरा (क्षेत्री ब्राह्मण) हरु कहाँ जाँड, रक्सी, सँुगुर, कुखुराको मासु खान जाँदैछु । यहीँ समयमा पान्थर अम्लाबुङका सुब्बा कर्णध्वज आङ्देम्बेले पठाएका ४ जना ब्राह्मणहरु लब्रेकुटीमा आएर महागुरुको सम्मुख बसेर एउटै स्वरमा यस्तो भजन पनि गाएको थियो । तुमेहो माता, तुमेहो पिता, तुमेहो जगदम्बी, तुमेहो स्वरोस्वती……. ।
भजन गाईसकेपछि महागुरुपछि महागुरु समक्ष अब कस्तो दिन आउँछ होला गुरु महाराज ? भनि सामूहिक प्रश्न राखेको थियो । जवाफमा महागुरुले खोई ! कस्तो दिन आउँछ भनुङ ! ब्राह्मण क्षेत्रीको जुँगामा सुँगुरको लिंड देख्दैछु, टुप्पीमा सिंगरेटेको ठूटा झुण्डिएको देख्दैछु भन्नु भएको थियो । महागुरुको यस्तो भविस्यवाणीयुक्त जवाफले ब्राह्मणहरुलाई नराम्ररी कोक्याएको थियो त्यसबेला । तर आज कतिपय नयाँ पुस्ताका ब्राह्मण, क्षेत्रीहरुले सुँगुर, कुखुरा, जाँड, रक्सी खानु सामान्य कुरा भई सकेको छ ।
त्यही बेला अर्को महत्वपूर्ण भविस्यवाणी पनि गर्नु भएको थियो । जुन यसप्रकार रहेको छ । ‘‘आजसम्म बन्द रहेको, पढ्ने, लेख्ने, देख्ने, सुनाउँने सबै प्रकारका ‘ईक्वा’ ढोकाहरु खोली दिएको छु है ।’’ महागुरुले यस्तो भविस्यवाणी गर्दै गर्दा नेपालमा इतिहासकै कुरुप जहानीया एकतन्त्रीय निरङ्कुश राणा शासन व्यवस्था कायम थियो । कुनै पनि जनताको छोराछोरी (विशेष गरी आदिवासी जनजातिको छोराछोरी) ले पढेमा जिब्रो थुतिदिनु, लेखेमा हातकाटी दिनु, पढेको सुनेमा कानमा सिसा पगालेर हाली दिनु, हेरेमा आँखा फोडी दिनु भन्ने क्रुर कानुनी व्यवस्था थियो ।
धार्मिक राजनीतिक, पढ्ने लेख्ने, बोल्ने, सुन्ने सुनाउने स्वतन्त्रता विलकुल थिएन । त्यसको केही वर्ष पछाडि निरंकुश राणा शासन विरुद्ध क्रान्ति छेड्ने उद्देश्यले नेपाली कांग्रेस पार्टीको स्थापना भयो र भुमिगत रुपमा देशव्यापी संगठन विस्तार गर्न थाल्यो । नेपाली कांग्रेस पार्टीको झण्डामा ४ वटा ताराहरु थिए, छन् । ति ४ वटा ताराहरु धार्मिक स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताको प्रतीक मानिन्छ ।
समष्टिमा प्रजातान्त्रिक समाजवाद । वस्तुतः महागुरु फाल्गुनन्दले पढ्ने, लेख्ने, देख्ने, बोल्ने, सुन्ने, सुनाउँने सबै किसिमका ‘इक्वा’.ढोकाहरु खोली दिएको छु भन्नुको व्यवहारिक प्रयोगको प्रतीक थियो नेपाली कांग्रेसको चारतारे झण्डा । यसर्थ, वि. पी. चिन्तनमा पनि महागुरुको उपस्थिति थियो भनेर बुझ्नु सत्यपरक बुझाई हुनेछ । नेपाली कांग्रेसकै नेतृत्वमा २००७ सालमा १०४ वर्षे जहानीय निरङ्कुश राणा शासनको अन्त भएर प्रजानन्त्रको बहाली भयो ।
तर दश वर्ष पछाडि २०१७ सालमा राजा महेन्द्रबाट प्रजातान्त्रिक व्यवस्थालाई कु गरी एकदलीय पञ्चायती व्यवस्था लागू भयो । त्यसको २९ वर्ष पछाडि २०४६ सालमा पुनः बहुदलीय प्रजातन्त्रको स्थापना भयो । २०४६ साल पछाडि सयौं वर्ष शोषण दमनमा परेका आदिवासी जनजातिहरुका छोराछोरीहरुले खुलम खुला मातृभाषा, लिपि, पढ्न, लेख्न, बोल्न गीत गाउँन, चलचित्र निर्माण गर्न शुरु गर्न थाल्यो । अहिले लेखेरै पढाएरै, आफ्नो भाषामा गीत गाएरै रेडियो माइकमा, बोलेरै जीवन निर्वाह गर्ने आदिवासी जनजातिका छोराछोरीहरु कति छन ? विभिन्न भाषाभाषीका पत्रपत्रिकाहरु प्रत्येक दिन प्रकाशन हुने गर्छ । आदिवासीहरुको मुन्धुम, इतिहास, भाषा, साहित्य, कला समेटिएका हजारौं पुस्तक पुस्तिकाहरु प्रकाशन भइरहेको छ । यदि ! महागुरुको भविस्यवाणी झुट्टा भएको भए यसो हुन सक्थयो ?
वि. स. २००१ साल असार महिनामा जनरल विक्रम शम्सेर राणाकी धर्मपत्नि बौलाएपछि उनको उपचारार्थ महागुरुलाई दरबारमा झिकाईयो । महागुरु दश जना चेलाहरु सहित जनरल कहाँ काठमाण्डौं पुग्नु भयो । जनरल पत्निको सफल उपचार पश्चात राणाहरुले राणा सरकारको आयु कति छ ? भनेर प्रश्न गरेको थियो । जवाफमा महागुरुले निशान त ढलेको देखिन्छ धेरै त छैन् होला भन्नु भएको थियो । यता आफ्ना चेलाहरुलाई भने ३ सरकारको मुखबाट पसेर नाकबाट निस्के देखेन, आँखाबाट पसेर कानबाट निस्के त्यो पनि देखेन त्यस कारण यसले अब धेरै थाम्दैन । श्री ५ चाँहि केही दिन थाम्छ, श्री ५ तिमीहरुको दाजु हो, योसँग सिङ नजोड्नु जे–जे माग्छ दिई पठाउँनु, पछि दाजुभाई, दाजुभाई आफै मारामार गरेर सक्छन् ।
त्यसपछि राना बिनाको मौरी जस्तै भएर साँडेहरुको लडाई हुनेछ । तिमीहरु युमामाङको सेवा मात्र गर्नु है । सबैलाई ज्ञात छ । २००७ सालमा १०४ वर्षे राणा सरकारको अन्त भएको । २०५८ सालको दरबार हत्याकाण्डपछि खाएर बलियो भएका साँडेहरुको लडाई भइरहेको छ अहिले । साँडेहरु जुत्दा निमुखा असहाय जनताहरु परोक्ष रुपमा किच्ची रहेका छन् । मिच्ची रहेका छन् । त्यो कुरुप दृश्य पनि देखिरहेका छौं, भोगिरहेका छौं ।
अब मुबेक्वा माङ भएर पानीका मुलहरु फिर्ता लादैछु । हिमालको चिसो र मधेसको गर्मीलाई यहाँ ल्याई राख्छु । यो भविस्यवाणी पान्थर लब्रे, सिलौटीमा बस्दा गर्नु भएको हो । आज दुनियाँलाई थाहा छ ५० प्रतिशत भन्दा बढी पानीका मुलहरु सुकेका छन् । पानीको मुल सुकेको कारण हजारौले गाउँ छोडेको समाचारहरु प्रसारण भइरहेको छ । अर्को तर्फ प्रत्येक वर्षमा गर्मीमा अत्याधिक गर्मी र जाडोमा अत्याधिक जाडो हुने क्रम बढ्दै गइरहेको छ ।
महागुरु फाल्गुनन्दले न पुग्ने भविस्यवाणी गर्नु भएको छैन् । पछि दिनहुँ मान्छे मरेको समाचार मात्र सुन्ने दिन आउँनेछ भन्नु भएको थियो । त्यतिबेला नेपालमा रेडियो स्टेशन नै बनेको थिएन । अहिले प्रत्येक प्रहर मान्छे मारिएको न्युज सुन्नु परेको छ । पछि जे–जे गर्न मन लाग्छ त्यै–त्यै गर्दा पनि हुने दिन आउँछ, तर गर्न मन लाग्छ त्यै–त्यै गर्दा पनि हुने दिन आउँछ, तर जे–जे गर्दा पनि हुन्छ भनेर सत्य नछोड्नु । अब तिमी मान्छेहरु भेडा, बाख्रा जस्तै नातागोता साइनो सम्बन्ध केही पनि नदेख्ने भेडा, बाख्रा, गाईबस्तु जस्तै हुन्छौं । त्यस्तो दिन म हेर्न सक्दिन, त्यसकारण अब चाँडै जाँदैछु । हिज आज आधुनिकताको अनुशरणले पुरानो मुल्य मान्यताहरु विस्थापित भइरहेकोछ, नातागोता साइनो सम्बन्धका सीमारेखाहरु दिन प्रतिदिन मेटिन्दै किनारा लाग्दैछ । बाँकी दिनहरुमा के सम्म हुने हो ? उत्ता राजनीतिक क्षेत्रमा पनि त्यस्तै बेथिति बढ्दै गइरहेकोछ, शक्तिमा भएका र पहुँचवालाहरुले देशको कानूनलाई मुठ्ठीमा लिएर जे पनि गरिरहेका छन् । मर्नेहरु जंगलमा, सडकमा, झाँडीमा, कोठामा, बेवारिसे मरिरहेका छन् ।
वेपत्ता पारिएकाहरुको लास पनि छैन् । स्वास पनि छैन्, कसले भन्न सक्ने तिमी हत्यारा हौं, बलात्कारी हौं, व्यभिचारी ठगी होऔं, भ्रष्टचारी हौं । जो चोर उसैको ठूलो स्वर सुन्न परेकै छ, जो सोझो उसैलाई घोचो जति घोचे पनि सहनै परेको छ, दण्डित हुनुपर्ने मान्छे पुरस्कृत भएकोछ, पुरस्कृत हुनुपर्ने मान्छे दण्डित हुनु परेकोछ, जे गर्दा पनि हुने दिन यहीँ नभएर अरु के हुन सक्छ । ‘पश्चिम दिशाबाट जे आउँछ त्यसले तिमीहरुलाई सखाप पार्नेछ भन्नु भएको छ । आज पश्चिमबाट के–के आएको छ ? भनेर अध्ययन गर्ने हो भने सबै भन्दा खतरनाक पश्चिमबाट धर्म आएर सिध्याउँदैछ, भाषा, लिपि र संस्कृति आएर स्थानीय भाषा, लिपि, संस्कृतिलाई सखाप पारिरहेको छ । ‘राजनीतिले झिंगा मात्र हुन्छौं । मौरीको खील र खुदो दुवै हुन्छ भन्नु भएको छ । वर्तमान अवस्थामा देवनीति धर्मले ठूल्ठूला संगठन निर्माण गरेको छ, तर राजनीतिले चिरैचिरा बनाएको अवस्था छ ।
महागुरु फाल्गुनन्दले आफ्नो जीवनको उत्तराद्र्ध वर्षहरुमा चेलाहरुलाई बारम्बार भन्ने गर्नुहुन्थ्यो । ‘अब म महाचिन जान्छु त्यहाँ मेरो माता पिताको विवाह भइसक्यो । मेरी आमाको नाम सोली पिङमा हो । पछि तिमीहरुको सौभाग्य पूर्व उत्तरबाट उदाउँनेछु, तिमीहरुले युमामाङको निरन्तर सेवा गरी रहनु । पश्चिम दिशाबाट आउँनेले तिमीहरुलाई सिध्याउँछ पश्चिम दिशाबाट सधैं होसियार भएर रहनु ।
आज विश्वमानचित्र पुर्व दिशाको तुलनामा पश्चिम दिशा बढी अशान्त छ । प्रत्येक प्रहर हत्या, हिंसा भई रहेको छ । नेपालको सन्दर्भमा पनि पुर्वको तुलनामा पश्चिम बढि असान्त छ । विगतमा माओवादी पार्टीले सञ्चालन गरेको दश वर्षे सशस्त्र जन आन्दोलन पनि पश्चिमबाटै शुरु भएको थियो । यहाँ विचारणीय पक्ष के छ भने माओवादीले पश्चिमबाट जनआन्दोलन शुरु गरेको भएपनि माओवादी दर्शनको बिऊ भने उत्तरदिशा चीनबाट सारिएको हो ।
माओवादीकै कारणबाट २४० वर्षे राज संस्थाको समाप्त हुन सफल भएकोछ । यो शाषित पिडित नेपाली जनताको लागि ऐतिहासिक उपलब्धी हो । माओवादीकै कारणबाट संघीय गणतन्त्र स्थापना भएकोछ । संघीय गणतन्त्र स्थापना पश्चात सदियौ वर्षदेखि केन्द्रीय राजनीतिमा, सरकारमा अर्थपूर्ण उपस्थिति जनाउन नसकेका आदिवासी जनजातिका छोराछोरीहरु स्थानीय तहको धेरै स्थानमा र प्रदेश सरकारको केही प्रदेशहरुमा अर्थपूर्ण उपस्थिति जनाउँन सफल भएका छन् । अब उनीहरु स्थानीयबाट प्रदेश हुँदै केन्द्रीय राजनीति, सरकारमा समेत मौलिक चेत, सहित अर्थपूर्ण औं निर्णायक उपस्थिति जनाउन सक्ने सम्भावना बढ्दै गइरहेको छ ।
यसर्थमा उत्तरबाट सारिएको बीऊ आदिवासी जनजातिहरुका लागि हानिकारक भन्दा बढि लाभदायक रहेको छ । यद्यपि यसैलाई नै भन्नु भएको सौभाग्य प्राप्तीको अवस्था हो भनेर बुझ्न चाहि गलत बुझाई हुनेछ । तर संकेत चाहि हो यी त भए अहिलेसम्म पुगेका र पुग्दै गरेका केही भविस्यवाणीहरुको संक्षिप्त विश्लेषण अब पुग्न बाँकी रहेका केही भविस्यवाणीहरुको बारेमा छोटो चर्चा गरौं ।
१. अब पछि एकदिन एक एक माईलको फरक दुरीमा मात्र आगो बल्ने दिन आउँनेछ, मान्छे साह्रै पातलो हुनेछौं ।
२. मान्छेको बुद्धि, ज्ञानले अनुमान लगाउँन नसक्ने ठूलो भुकम्प जानेछ ।
३. तिमीहरुको सौभाग्य कही गएको छैन, धुवाँसो लागेर त्यसै सुरक्षित रहेको छ, राम्ररी सेवा मात्र गर, घुम्दै घुम्दै आफै आउँनेछ ।
४. तिमीहरुले कसैसँग लड्नु पर्दैन, युमामाङको सेवा मात्र गर्दै बस्नु जित तिमीहरुकै हुनेछ ।
५. धनिको धन, ज्ञानीको ज्ञान, ध्यानीको ध्यान समेत हराउँने दिन आउँनेछ ।
६. अब अन्न र पैसाको बीचमा लडाई हँदै जानेछ, लडाई हुँदाहुँदा अन्त्यमा अन्नले पैसालाई जित्नेछ, त्यतिबेला तिमी मान्छेहरु भोकै हुनेछौं ।
७. मात्ने नमात्ने झारपात वनस्पतिहरु चिनी राख्नु, काम लाग्ने दिन आउँनेछ ।
८. पछि म पुर्व ढोकाबाट एक चक्रि राजा भएर आउँनेछु, त्यतिबेला मात्र मलाई चिन्नेछौं, मेरो चेलाभूलाहरुले आत्म–आत्ममा, घर–घरमा, गाउँ–गाउँमा सेतो माङनिसा रोपेर बस्नु मेरो सेवा गर्ने नगर्नेहरुलाई त्यही निसाबाट चिन्नेछु, छुट्याउँनेछु ।
९. मेरा चेलाभूलाहरुले माङसेवा गर्नु र खेति गर्नु नछोड्नु भविस्यमा यी दुई कर्मले मात्र काम दिनेछ ।
१०. पछि हाङ.राजा, याङ.पैसा, हा र याङ दुवैले थाम्न सक्दैन ।
११. पछि महंगो बढेर जाँदा एउटा सलाई बट्टा भरी अन्नको एक रुपैयाँ नागेर जानेछ । (महागुरुले यस्तो भविस्यवाणी गर्दा एक रुपैयाँको ४ पाथी अन्न पाइथ्यो ।)
१२. पछि अन्नबाली थन्क्याउँन नपाएर बारीकाबारीमै हराउँने दिन आउँनेछ । असिना पर्दा मान्छेको आकृति परेको असिना पर्नेछ ।
१३. संसारका ठूला–ठूला धर्महरु कुनैको चोकै उठ्नेछ, कुनै पावासम्म रहनेछ । बुद्ध चाहि अलिक धेरै रहनेछ ।
१४. बाघ बसेको ओडारमा बाघले छोड्यो भनेर ढुक्कले नबस्नु कुनैदिन बाघ फर्कि आएर खान सक्छ । (नेपालको तराई भाग र चुलाचुली क्षेत्रलाई संकेत गर्दै ।)
१५. खेतीपाति गर्दा जमिन मुनि फल्ने खालको खेति बढि गर्नु । जन्तु पाल्दा अन्न खाने नपाल्ने, घाँस खाने जन्तु पाल्नु ।
पुग्दै गरेका केही भविस्यवाणीहरु :
१. औषधि, दबैले निको नहुने रोग व्यथाहरु आउँनेछ ।
२. जहाँ–जहाँ मेरो पैला परेकोछ, त्यहाँ–त्यहाँ देवस्थल बन्दै जानेछ ।
३. अब पछि पृथ्वी धपक्कै बल्नेछ रातमा पनि बल्नेछ दिनमा पनि बल्नेछ । (सायद, दिउँसो जस्ता पाताको घर टल्केको र राती बिजुली बत्ति बलेको स्थितिलाई भन्नु भएको होला ।)
४. पछि सँुगुर, कुखुराको पुच्छारमा पैसाको मुठ्ठा झुण्डिनेछ, त्यतिबेला पनि मेरा चेलाभूलाहरुले सँुगुर कुखुरा नपाल्नु है ।
५. पछि मर्दा पनि मलामी नपाउँने दिन आउँनेछ ।
९६ वर्षिय बलीराज इङनामका अनुसार भारतको पर्शुराम कुण्डमा पहिरो गयो भने मेरो जन्म अमेरिकामा भयो भनेर जान्नु, भन्नु भएको छ । भीमबहादुर पोमु (१९९२–२०७६) को भनाई अनुसार भने पर्शुराम कुण्डमा पहिरो गयो भने नेपालमा जन्मेको छ भनेर जान्नु भन्नु भएको छ । जे होस महागुरुको जन्म जहाँ भएपनि नभएपनि पर्शुराम कुण्डमा भने केही वर्ष अगाडी पहिरो गएको छ । पर्शुराम कुण्डमा पहिरो जान्छ भन्ने कुरा महागुरुले सयौ वर्ष अगाडी कसरी थाहा पाउँनु भयो होला ? मलाई साह्रै जाँडो भयो खासाखाँडी कपडा लगाउँनु ल्हासा जान्छु त्यहाँ मेरी फुपु हुनुहुन्छ पनि भन्नु भएको छ । यसर्थ महागुरु फाल्गुनन्दको सुक्ष्मता व्यापकता र काम गर्ने तरिकालाई बुझ्नु आवश्यक नपुग्ने, नहुने, झुट्टा, भविस्यवाणी महागुरुले गर्नु भएकै छैन् । आगो, पानी, हावा, पृथ्वी, जल, पञ्चतत्वले महागुरुको भविस्यवाणीलाई पछ्याई रहेको छ । नपुग्नेमा शंका छैन् ।
माङसेबुङ मासिकबाट