गोपाल फियाक
सुदुर पुर्वी नेपालको पान्थर जिल्लाको दक्षिणी भेगमा अवस्थित तुम्बेवा धार्मिक रुपले पवित्र छ । समुन्द्रि सतहदेखि करिब २ हजार १ सय ५० मिटरको उचाईमा रहेको यो स्थान तुम्बेवा गाउँपालिका वडा नं. ३, ४ र ५ को सिमानामा पर्दछ । भने, पान्थरको मिक्लाजुङ, कुम्मायक गाउँपालिका साथै तेह्रथुम, धनकुटा र इलाम जिल्लाको संगमस्थल पनि हो ।
ऐतिहासिक, पौराणिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय विशेषता बोकेको तुम्बेवा पान्थरको सदरमुकाम फिदिम बजारबाट कोशौं टाढा पर्दछ । यातायातको दृष्टिले सुगम मानिए पनि अन्य विकासको तुलनामा विकट यस क्षेत्रमा वर्षेनी आन्तरिक पर्यटकहरुको आवतजावत बढ्दै गएको छ ।
ऐतिहासिक तथा पौराणिक महत्व बोकेको यो स्थान बत्तिस कोटि देविदेवताको भेट्ने ठाउँ ( किरात लिम्बू भाषामा तुम्देन) छलफल गर्ने अनि निष्कर्ष (ताजेङ कुदुम्बे केरेबा) गर्ने गरेको स्थान भएकै कारण तुम्नाबादेन नै तुम्बेवा नाम रहन गएको किंवदन्ती छ । वास्तवमा पृथ्वी जलप्रलय हुनु अगावै तुम्बेवा र मिक्लाजुङबीच तुम्लिङटार नामको विशाल समथर मैदान रहेको र पछि पृथ्वी जलप्रलय पश्चात् यी दुई अलग पहाड हुन गएको केही स्थानीय जानकार ब्यक्तित्वहरुबाट सुन्न र बुझ्न पाइन्छ । उनीहरुको भनाईलाई आधार मान्ने हो भने, यसरी तुम्लिङटारको जलप्रलयबाट अस्तित्व सकिएपछि यसैबाट तुम्बेवा नाम रहन गएको हुन सक्ने अनुमान लगाउन सकिन्छ । नामाकरणको विषयमा जे–जसरी अडकल गरेपनि खोज अनुसन्धानपछि, यथेष्ट तथ्य प्रमाणहरु फेला पर्दै जानेनै छ आगामी दिनमा ।
धार्मिक तथा सांस्कृतिक विशेषता बोकेको यस क्षेत्रमा स्व. इन्द्रलाल राईद्वारा वि. स. १८५६ सालमा स्थापित सिंह सिद्ध देवस्थल पनि रहेको छ । जुन देवस्थलमा प्रत्येक वर्ष पूजापाठ गर्ने चलन रहेको छ । यसै क्षेत्रमा किरात हाङसाम तुम्बेवा माङहिम नामको तीन वटा माङहिम समेत स्थापना गरिएको छ । सो माङहिमहरु पूर्ण रुपमा माटोद्वारा निर्माण गरिएका छन् ।
माङहिम २०६४ सालमा स्थापना गरिएको हो भने २०६७ फागुन २७ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूहरुको देव सवारमा समुद्घाटन गरिएको थियो । त्यसपछि माङहिममा निरन्तर अखण्ड दीप, अखण्ड धूनी प्रज्वलित छ । साथै अर्को आकर्षणको रुपमा यो माङहिम नजिकै किरात धर्म दर्शनका पुनः उत्थाक, महान समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुन्नद लिङदेनज्यूको प्रतिमा समेत स्थापना गरिएको छ । यसले थप तुम्बेवाको महिमा बढाएको छ ।
प्राकृतिक विशेषताले समेत भरिपूर्ण यस क्षेत्रमा विभिन्न प्रजातिका बोटबिरुवाहरु पाइन्छ । सल्ला, उत्तिस, मालगेडी, ओखर, काफल, कटुस जस्ता वनस्पतिले भरिभराउ यस क्षेत्रमा केही प्रजातिका गुराँस समेत पाइने स्थानीयको भनाई छ । वरपरका स्थानबाट काफ्लको स्वाद लिनकै लागि मात्रै भए पनि यहाँ आउने गरेका छन् । काफ्लका अलावा ऐसेलु, चोथ्रो, याङबेन (झ्याउ) बनैभरि देख्न सकिन्छ । चिराइतो, पाखनबेद, हाड जोडा जस्ता जडिबुटि र गाउँघरमा दालको रुपमा प्रयोग गरिने ४–५ प्रजातिका सिस्नो समेत यहाँ पाइने स्थानीयको भनाई छ ।
पछिल्लो समय पर्यटकहरु लोभ्याउन अर्बौको भ्यूटावर निर्माण गर्ने होडबाजी चल्दै आएको छ । तर, तुम्बेवा डाँडालाई भ्यूटावरलाई समेत चुनौती दिएको छ । महंगो भ्यूटावरबाट जति ठाउँ हेर्न सकिन्छ त्यतिनै ठाउँ भ्यूटावर बिना पनि देख्न सकिन्छ तुम्बेवाबाट । यहाँबाट पूर्वका अधिकाशं भू–भागहरुको दृश्यावलोकन गर्न सकिन्छ । यस क्षेत्रबाट पश्चिमपट्टि तमोर नदिको जल प्रवाह देख्न सकिन्छ भने, उत्तरतर्फ सेन्छेई फक्ताङलुङ, कञ्चनजंघा, मकालु, अन्नपूर्ण, सगरमाथा लगायत कैयौं हिमश्रृंखलाहरुको दृश्यले प्रकृतिप्रेमी जो कसैको मन लोभ्याउने गरेको छ छ । साथै ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुकुम्लुङ खुल्ला आँखाले देख्न सकिन्छ । दक्षिण तिर तराइका केही समथर भू–भागसँगै चार कोसे झाडी नियाल्न सकिन्छ भने, पूर्वमा इलामको प्रसिद्ध पर्यटकीयस्थल श्रीअन्तु, सन्दकपुरलाई पनि यहाँबाट प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
प्रकृतिको अनुपम उपहार यस तुम्बेवामा कालिज, काग, चिभे चरा, भिर गौंथली, न्याउली, भँगेरा, ढुकुर जस्ता पंक्षिहरु बनै भरि देख्न सकिन्छ । साथै मृग, बन बिरालो, दुम्सी, लोपोन्मुख अवस्थामा रहेको सालक जस्ता वन्यजन्तुहरुको बासस्थान पनि यस क्षेत्रमा रहेको छ । चटानै चटानको भौगोलिक बनावट यस क्षेत्रमा गुफासंगै पानी ढुङ्गा र करिब १०० मिटर भन्दा अग्लो गिद्देभीर पनि रहेको छ ।
तुम्बेवा गाउँपालिकाको सेवा केन्द्रबाट दक्षिण तर्फ अवस्थित यस क्षेत्रमा खानेपानीको अभाव वर्षौ यता खड्किन्दै आएको छ । घण्टौं बोकेर दैनिक सेवा (पुजा पाठ) गर्नु पर्ने समस्या भोग्दै आएको किरात हाङसाम तुम्बेवा माङहिमका सेवासाबा पदम बहादुर लाओतीको दुखेसो छ । स्थानीय सरकारको पहिलो कार्यकाल पश्चात् दोस्रो कार्यकालको १ वर्ष बितिसक्दा समेत खानेपानीको विषयमा खासै चासो नदिएको माङहिम व्यवस्थापन समितिले बताएको छ । मुहान भए पनि, सो स्थानसम्म ल्याई पु¥याउन धेरै बजेटको आवश्यकता पर्ने देखिन्छ । खानेपानीको समस्या हुँदा हुँदै पनि माङहिममा तान्छो युन्छोत सेवा (विहान बेलुका नित्य सेवा) हुँदै आएको छ । त्यति मात्र नभई माङहिममा दर्शन गर्न र तुम्बेवा घुम्न आउने आउने भक्तजन तथा तीर्थयात्रीलाई घण्टौं बोकेरै भएपनि खानेपानी व्यवस्था गर्दै आएको माङहिमका सेवासाबा लाओतीको भनाई छ ।
विशेष भौगोलिक बनावट भएको यस क्षेत्रको उत्तर–पश्चिममा ओखरबोटे र मौवा बजार रहेको छ भने पूर्व–दक्षिणमा दशमी बजार अवस्थित छ । राई, लिम्बूको बाहुल्यता रहेको यस क्षेत्रमा अन्य जातजातिहरुको पनि बसोबास छ । यो तुम्बेवालाई पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन गर्न सके पान्थर जिल्लालाई टेवा पुग्ने सम्भावना छ । यसरी तुम्बेवा डाँडालाई धार्मिक पर्यटकीय तीर्थस्थलको रुपमा विकास र विस्तार गर्न सकेमा स्थानीय तह तुम्बेवा गाउँपालिकालाई प्रत्यक्ष लाभ हुने सम्भावना छ । तर, स्थानीय तहले यसको विकास निर्माणमा खासै चासो नदिएको त्यहाँ घुम्न आउने जो कसैले महसुस गर्दछन् ।
यहाँ आवतजावतको लागि यातायातको दृष्टिले पछिल्लो समय सुगम बन्दै गएको छ । यस तुम्बेवा क्षेत्रमा प्रवेशका लागि झापाको दमकदेखि किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र इलामको माङसेबुङ हुँदै पान्थरको सुन्दर रबि बजारलाई मुख्यद्वार मान्न सकिन्छ । साथै यस तुम्बेवाको धार्मिक महत्व र प्राकृतिक सौन्र्दर्यताको प्रचारप्रसारसँगै बाटो, आवास, पानीको राम्रो सुविधा पु¥याउन सके आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन सकिने प्रकृतिले दिएको प्रचुर सम्भावना यथावत छ । तर, प्रकृतिको उपहारलाई सही सदुपयोग गर्ने नीति र योजनाको भने सदा खाँचो रहेको छ तुम्बेवा डाँडामा ।