डकेन्द्रसिंह थेगिम
प्रकृतिपूजक किरात धर्मावलम्बीहरुको उधौली पर्वसँग जोड्दै सदाका वर्ष झैं यसपटक पनि किरात धर्मगुरु आत्मानन्द लिङदेन ज्यूको स्थायी बसोबास र कर्मभूमिको रुपमा रहेको इलाम जिल्लाको माङसेबुङमा विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सहित २०७८ मंसिर १७, १८ र १९ गते त्रिदिवसीय ६८ औं शुभजन्मोत्सव कार्यक्रम भव्य ढंगले सम्पन्न हुँदैछ । यस पावन अवसरमा मुलुकभित्र र विश्वका विभिन्न मुलुकमा छरिएर रहेका श्रद्धालु भक्तजन, विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व, समाजसेवी, बुद्धिजीवि, व्यापार व्यवसायी, आन्तरिक र वाह्य पर्यटकहरुको घुँइचोले एक प्रकारको कुम्भ मेला झैं लाग्छ । तर यति ठूलो भीड लाग्ने धर्मगुरुको शुभजन्मोत्सव कार्यक्रम अत्यन्तै अनुशासित, शोभायमान सभ्य र भव्य हुन्छ । यस धार्मिक क्षेत्रमा खैनी, चुरोट, भाङ धतुरो, मदमंस जाँडरक्सी वा कुनै पनि प्रकारको मादक पदार्थको लागि निषेधित क्षेत्र भएकोले पनि यहाँ जसले गर्दा लडाइँ, झैझगडा, अशान्ति र अनावश्यक होहल्ला हुँदैन ।
किरात समुदायमा एउटा चर्चित उखान – ‘तिबुङमा ओ ति थाङ, फाबुङमा ओ फा थाङ’ अर्थात् बाँसको झ्याङमा बाँसै उम्रन्छ र बेतको घारीमा बेत नै उम्रन्छ भने झैं किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मावतार किरात धर्मको महान दार्शनिक समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसिमाङ फाल्गुनन्द लिङदेनपछिका चौथो पुस्तामा महागुरु फाल्गुनन्दका पनातिका रुपमा इलाम जिल्ला साविक इभाङ गा.वि.स.–५ हाल माङसेबुङ गा.पा.–२, चुक्चिनाम्बा गैरीधामको पारिपट्टि डाँडागाउँ पुच्छार आगोटेबारीमा वि.सं. २०११ साल मंसिर १८ गते शुक्रबारको पुण्य दिनमा बुबा पुण्यप्रसाद लिङदेनको जेठी श्रीमती श्यामजिरी (चन्द्रमाया) चेम्जोङको कोखबाट एक युगपुरुषको जन्म भयो । नवशिशुको ज्योतिष नाम श्यामबहादुर भए तापनि ‘हुने विरुवाको चिल्लो पात’ भने झैं सानो उमेरमै जोकोही व्यक्तिको आत्माको कुरा थाहा पाउन सक्ने भएकोले बज्यू जोगमाया तुम्बापोले – आत्मा, आत्मे भनी बोलाउने गरेकाले आन्ततोगत्वा धर्मगुरुको आजतक ‘आत्मानन्द’ नामले प्रसिद्धि पाएको छ ।
सामान्य परिवारमा जन्म लिनु भएका वर्तमान धर्मगुरु आत्मानन्द लिङदेनको आमा श्यामजिरीले शिशु अवस्थामा छोडेर दोस्रो पुरुषसँग विवाह गरिजानु भएकोले शिशुको सम्पूर्ण स्याहार सुसार पालन पोषणको जिम्मेवारी बज्यू जोगमायालाई आइलाग्यो र बुबा पुण्यप्रसादले पनि दोस्रो विवाह गरे पश्चात कान्छी सौतेनी आमा र बज्यूको संयुक्त पालन पोषणमा हुर्कनु भएको बालकको जीवनचर्या गाउँका अन्य बालबालिका झैं वनपाखा जंगलमा गाईवस्तु बाख्रा चराउने र मेलापात मै बित्न थाल्यो । सानोमा अत्यन्तै कम बोल्ने, मृदुभाषी, शान्त र गम्भीर प्रकृतिको स्वभाव र अन्य आचरणले बालकमा असाधारण विशेषता देखिन्थ्यो ।
करिब ५/६ वर्षको उमेरमा त्यहीँ नजिक दहगाउँ स्थित एक पाठशालामा भर्ना गराइयो तर कक्षा कोठामा नबोली चुपचाप मात्र बसिरहने विद्यार्थीलाई शिक्षक अभिभावकले किन नपढेको भनी प्रश्न गर्दा ‘पढ्न आफैँ आउँछ’ भन्ने जवाफ पाउँदा सबै तीनछक्क पर्थे । यसबाट बालकमा सानैदेखि आत्मज्ञान र अन्तर्यामी विशेषता रहेको प्रष्ट थियो । विश्वका अन्य धर्म सम्प्रदायका महापुरुषहरु झैं सिद्धात्मा, त्रिकालज्ञ, सिद्ध पुरुषको रुपमा धर्मगुरु आत्मानन्द लिङदेनलाई लिइन्छ । औपचारिक शिक्षाको बारेमा धर्मगुरु आत्मानन्द लिङदेन स्वयं भन्नुहुन्छ– “मैले औपचारिक शिक्षा लिएको छैन तर गुफा ओढारमा बसेर पि.एच.डी. गरेको छु ।” यसबाट के थाहा लाग्छ भने एकान्त गुफा ओढारको कठोर योग साधना ध्यान तपस्याबाट आत्मा परमात्माको साक्षात्कार गरिसक्नु भएको छ, भूत वर्तमान र भविष्यको ज्ञान प्राप्त गरी सिद्धि प्राप्त गरिसक्नु भएको छ । यहि नै सिद्धि र पूर्ण ज्ञान हो । त्यसैले दुई–चार विषयमा पि.एच.डी. गरिसकेका डाक्टरेटहरु, पटकपटक देश हाँकिसकेका राजनेता, प्रधानमन्त्री, राष्ट्रपति, विशेष क्षेत्रमा विज्ञ विशेषज्ञहरु, लब्ध प्रतिष्ठित व्यक्तिहरुले धर्मगुरु सामुन्ने दर्शन पाउँदाको बखत नतमस्तक हुने गर्दछन् । हुनत बिना सिद्धि यो शक्ति प्राप्त हुन असम्भव छ ।
किरात धर्मगुरु आन्मानन्द लिङदेन महागुरु फाल्गुनन्द लिङदेनका चौथो पुस्ता पनातिको रुपमा जन्मावतार भएको छ । महागुरुले आफ्नो जन्मावतारको बारेमा आफ्नो जीवनको अन्तिम घडीमा – “अब म चीनमा जाँदैछु । खासा खाँडी फेर्दैछु । ५/६ वर्ष पछि पुनः यहि कुलमा आउँछु । हाम्रो फेरि भेट हुन्छ त्यतिखेर मलाई चिन्नु । राम्रो सेवा गरी बस्नु,” भन्नुभएको थियो । यो स्तम्भकारले पनि रबि बजार निवासी महागुरु फाल्गुनन्दका आजीवन भक्त गर्ने चेली स्व. लक्ष्मी दिलमाई साम्पाङसँग २०६१/०६२ तिर एकपटक घरमा निजी निवासमा नै भेटी महागुरु सम्बन्धी केही जानकारी लिने अवसर पाएको थिएँ । उहाँले पनि महागुरु महाचीन गएर पुनः यदि किरात कुलमा आएर काम गर्ने वाणी गर्नुभएको प्रत्यक्ष आफ्नै कानले सुनेको बताउनु भएको थियो । उहाँले यसमा थप – वर्तमान धर्मगुरु आत्मानन्द बाल्यकालमा पान्थरको रबि आइरहने हुँदा त्यतिखेरको महागुरुको वाणी सम्झदै बालक आत्मानन्दको स्वभाव, आचरण, बोली, व्यवहार, आदिको विचार गरी माला जप्दै ध्यानमा बसेर दिव्यदृष्टिले हेर्दा महागुरुकै पुनः अवतार हुन् भन्ने पहिलोपटक मैले थाहा पाएँ र स्थानीय रबि बजारका एउटै उमेर समूहका बच्चाहरुसँग गुच्चा गोटी खेल्दा नराम्रो बोलीवचन मुखमा जे आयो त्यहि उनीलाई नभन्नु है भनी अरु बच्चालाई सम्झाउँथे र महागुरु आइसक्नु भयो भनेर सबैतिर प्रचार पनि गरेँ भनी खुलासा गर्नुभयो ।
हुन त आजको विज्ञान र प्रविधिले कसैको पुनः अवतारलाई प्रमाणित गर्न सक्ने वा नसक्ने आफ्नो ठाउँमा छ तथापि हाम्रो धार्मिक मूल्य मान्यतामा भने विश्वास रहेरै आएको चाहिँ छ । स्वयं धर्मगुरुले वि.सं. २०४९ माघ ३ गते गर्नु भएको विश्व ब्रह्माण्ड र महाप्रलय बारेको भविष्यवाणीमा– “मेरा बाजे महागुरु फाल्गुनन्द लिङदेनको काम पूरा गर्न आएको हुँ र पूरा पनि गरिदिन्छु” भन्नुभएको छ । किरात धर्ममा अहिलेसम्म किरात कुलमा अवतरण हुनुभएका किरात युगपुरुषहरु क्रमशः येहाङ, लेप्मुहाङ, कान्देनहाङ, सिरिजङगाहाङ, माबोहाङ र महागुरु फाल्गुनन्द पछि धर्मगुरु आत्मानन्द लिङदेन सातौं युगपुरुष सिद्धात्मा महापुरुषको रुपमा लिइन्छ । महागुरु फाल्गुनन्दले अधुरा अपुरो छोडेर जानुभएका कार्यहरुलाई पुरा गर्न यस पृथ्वीतलमा अवतरित हुनुभएको मङधककुधक अवतार पुरुष हुनुहुन्छ भन्ने विषयमा सन्देह छैन ।
वि.सं. २०३५ सालदेखि इलाम जिल्लाको सुदूर दक्षिण पश्चिममा अवस्थित लारुम्बा माङसेबुङमा सपरिवार स्थायी बसोबास गरी धर्मगुरु आफ्नो कर्मभूमि बनाउनु भएको कारण आजको दिनमा ‘माङसेबुङ’ विश्व किरात धर्मावलम्बीहरुको पवित्र धार्मिकस्थलको रुमपा विकसित भई एक पुण्यभूमि तीर्थभूमिको रुपमा परिचित भएको छ । यो चिनारी बौद्धहरुको लुम्बिनी, इसाइहरुको जेरुसेलम र इस्लामहरुको मक्का मदिनाभन्दा कम छैन । उक्त ठाउँमा स्वयं धर्मगुरु आत्मानन्द लिङदेनज्यूको हस्तबाहुलिबाट वि.सं. २०४९ साल कार्तिक २५ गते महागुरु फाल्गुनन्दको जन्मजयन्तीको पावन अवसरमा सावा येहाङ किरात साथै चराचर जगत प्राणी रक्षा र विश्वशान्तिको लागि निरन्तर बलिरहने महाबत्ती प्रज्ज्वलन गरी अखण्ड धुनिकुण्डको समुद्घाटन गर्नुभयो । उक्त दिनमा प्रज्वलित महाबत्ती हालसम्म निरन्तर बलिरहेको र भविष्यमा पनि सारा जीव जगतको रक्षाका लागि निरन्तर बलिरहने छ ।
वि.सं. २००५ चैत्र २२ गते महागुरु फाल्गुनन्दको परमधाम पश्चात र किरात धर्मगुरु आत्मानन्द लिङदेनको उदय बीचको समयमा किरात धर्ममा निकै शुन्यता छायो । तथापि कुरीति कुसंस्कारमा चुर्लुम्म डुबेको किरात समुदायमा पुनः धर्मगुरु आत्मानन्द लिङदेनको जन्मावतार भएपछि आफ्ना बाजे महागुरु फाल्गुनन्दको पदचापलाई पछ्याउँदै एक सुयोग्य उत्तराधिकारीको जिम्मेवारी बहन गर्दै किरात धर्मदर्शन, मुन्धुम भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण सम्बद्र्धनमा लाग्नुभयो । तर यी सबै कामहरु गर्न निरंकुश निर्दलीय एकतान्त्रिक पंचायती व्यवस्थाको प्रशासन तगारोको रुपमा उभियो । पटकपटक धर्मगुरुज्यूको घरमा प्रहरी प्रशासनले छापा मार्ने प्रयत्नहरु भए । धर्मगुरुको टाउकोको मोल समेत तोकियो । यहि समयमा महमाईको चुलाचुली जंगलभित्र १० दिन गोप्य वैठक बसी सूर्याङ्कित मुन्धुमी शब्द ‘ओत्’ मन्त्र ज्योतिर्मय रहेको साम्यो निसा धार्मिक झण्डाको निर्माण कार्य सम्पन्न भयो । वि.सं. २०३६ सालमा स्वयं धर्मगुरुकै अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय फेदेन पान्थरमा किरात धर्म तथा साहित्य उत्थान संघ विधिवत दर्ता भयो र १५ वर्ष सम्म स्वयं धर्मगुरुले नेतृत्व गर्नुभयो । त्यसैगरी धर्मगुरुको सदिच्छा अनुसार वि.सं. २०५५ सालमा किरात धर्मावलम्बीहरुको आस्थाको धरोहर केन्द्रीय माङहिम किरात हाङसाम मुजोलुङ माङहिम दर्ता भयो ।
धर्मगुरुकै कार्यकालमा झापाको दमकमा किरात प्रिन्टिङ प्रेस पहिलोपटक स्थापना भयो । अहिले माङसेबुङमा गुरुकुलमा आधारित र सरकारी तहबाट आधारभूत तहको २ वटा किरात साम्जिक मुन्धुम निसामहिमहरु संचालनमा छन् । कक्षा ११ र १२ सम्मको किरात लिम्बू भाषाको पठनपाठन गरिन्छ । माङसेबुङ गा.पा.–५ भित्र लिम्बू भाषालाई ४ वर्ष अघि देखि कामकाजी भाषाको रुपमा कानूनसम्मत ढंगले प्रयोगमा ल्याइएको छ । महागुरु फाल्गुनन्दद्वारा संहिताकृत किरात साम्जिक मुन्धुमको परिमार्जन, उहाँका पालामा बनिएका मन्दिरहरुको मर्मत, संरक्षण र सम्बद्र्धन पूर्णरुपमा गरिएका छन् । त्यहि परिसरमा आत्मानन्द क्याम्पस पनि संचालनमा छन् । किरात मुन्धुम विश्वविद्यालय स्थापनाका लागि पहलकदमी भइरहेको छ । यी सबै कार्यहरुमा धर्मगुरुको विचार र योगदानले मात्र सम्भव भएको छ ।
किरात धर्मगुरुज्यूको असिम निगाह र प्रमुख संरक्षकत्वमा पहिलो पटक वि.सं. २०५७ कार्तिक २४, २५ र २६ गते १० वर्ष पछि दोस्रो पटक वि.सं. २०६७ साल चैत्र २२, २३ र २४ गते नेपालको राजधानी शहर काठमाण्डौमा किरात धर्मको प्रथम र दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएका छन् । धर्मगुरुको निर्देशनमा रही किरात धर्म तथा साहित्य उत्थान संघको पहलमा वि.सं. २०६६ साल मंसिर १६ गतेका दिन राज्यबाट महागुरु फाल्गुनन्द लिङदेनलाई १६ औं राष्ट्रिय विभूति घोषणा गराउन सफलता मिलेको छ जसका कारण किरात धर्मका मठ मन्दिर निर्माण, महागुरुको सालिक निर्माण र किरात धर्म सम्वद्ध विविध भौतिक संरचना निर्माण हुने परियोजनाहरुमा नेपाल सरकारको तर्फबाट लगानी गर्न सहज बनेको छ ।
किरात धर्मगुरुज्यूको दीर्घकालीन सोच र दूरदृष्टिकोण वास्तवमै प्रशंसनीय छ र अकाट्य छ । पटकपटक आफ्नो प्रवचनमा लारुम्बा माङसेबुङ विश्व मानव समुदायको माङगेन्ना चोलुङ (शीर) हो र भविष्यमा हुनेछ भन्ने उद्घोष गर्नुभएको छ । विश्वका विभिन्न मुलुकबाट माङसेबुङ दर्शन गर्ने मानिसको भीड हुने र आटसिद्धि आठकोणको बनोटमा रहेको मन्दिर परिसरको डाँडा वरिपरि ती दर्शनार्थी तीर्थालुहरुले पैदल यात्रा गरी घुम्न ५.५ कि.मि.को हाल कच्ची चक्रपथ निर्माण भएको छ । धर्मगुरु ज्यूको दृष्टिकोण (भिजन) अनुसार तराईका दमक र विर्तामोडसँग जोडिने बाटाका संजालहरु तयार भएका छन् । किरात धर्मावलम्बीहरुको पवित्र तीर्थभूमि फक्ताङलुङ कुम्भकर्ण हिमालको काखमा अवस्थित पारुङतेम्बेमा महागुरुको पालामा निर्माण भएको भक्तशाला भत्कन गएकोमा त्यहि स्थानमा नयाँ भक्तशाला पुनः निर्माण, त्यसैको आसपासमा माङहिम र गुरु आश्रमको निर्माण कार्य सम्पन्न भइसकेको छ । हाल साढे ३ करोडको लागतमा जल विद्युत योजना संचालनको तयारी भइरहेको छ ।
किरात धर्मगुरु आत्मानन्द लिङदेन बहु आयामिक र बहुप्रतिभाका धनी हुनुहुन्छ । उहाँ कुनै पनि विषयमा विशेष ज्ञान राख्नुहुन्छ । धर्मगुरु गीत, संगीत, भजनकीर्तन, वाद्यवादन प्रति चासो र चाख सँगसँगै उहाँद्वारा रचित अत्यन्तै सुन्दर मार्मिक गीतहरु आज संसारभरी गुञ्जन्छन् । गीत–संगीत विकासका लागि माङसेबुङमा किरात साम्यो साक्थिम्गेन् मुजोलुङ पान्जुम्भो (किरात धर्म सांस्कृतिक केन्द्रीय समिति) गठन भएको छ । किरात धर्मका हरेक पक्ष र क्षेत्रको समुचित विकास होस भन्नाका खातिर किरात धर्मका दुई प्रमुख संस्थाहरु किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोलुङ अङसीमाङगेन्ना सेवा जसलाई धर्मगुरु आफ्ना दुई नेत्र भन्नुहुन्छ, यी दुई संस्थाका मातहत शाखाहरु गठित छन् । यी हरेक मातहत शाखाले आ–आफ्ना जिम्मेवारी अनुसार कार्य संचालन गर्दै आएका छन् ।
किरात धर्मगुरु ज्यूको प्रमुख संरक्षकत्व र असिम निगाहले छोटो समयमा किरात धर्मको संगठन विश्वभरी तिव्र गतिमा फैलँदो छ । सत्य, अहिंसा, विश्व शान्ति र मानव एकताको सन्देश विश्वभरी प्रवाह भैरहेको छ । किरात धर्मदर्शन, भाषा, लिपि, साहित्य संस्कृति संस्कार, मुन्धुम दर्शन, किरात फाइक मुन्धुम (ज्योतिष शास्त्र) को विकास आज सम्ममा जे जति प्रगति र उन्नति भएको छ ती सबै क्षेत्रमा धर्मगुरुको अथक प्रयास र संरक्षकत्वबाट सम्भव भएको छ । थपमा अझै उहाँको जीवनकाल भरीमा धेरै भन्दा धेरै कार्यहरु हुनेछन् ती सबै योगदानहरुको सम्झना र सम्मान युग युगान्तर रहनेछन् । आज जसरी महागुरु फाल्गुनन्द लिङदेनका प्रतिमाहरु देशको कुना कुनामा स्थापित हुँदैछन् त्यसरी नै धर्मगुरु ज्यूको प्रतिमाहरु आस्था स्वरुप निर्माण हुँदै जानेछन् ।
अन्त्यमा, आज हामी सबैको सौभाग्यले एक युगान्तकारी महापुरुष पूजनीय किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ ज्यूलाई पाउन सफल भएका छौं । उहाँको ६८ औं नोमाङगेन्ना शुभजन्मोत्सवको पावन अवसरमा धर्मगुरु ज्यूको गाथमा सुस्वास्थ्य दीर्घायु, सिद्धिशक्ति र सारा जीव जगतमा सुख शान्ति र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना ।
जय किरात !
लेखकः– किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष हुन् ।