दमक/किरात याक्थुङ चुम्लुङले २०७८ सालको राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात लेखाउन अपिल गरेको छ ।
विज्ञप्तिमा जात/जातिको महल, पूर्खाको भाषा, मातृभाषाको महलमा लिम्बू लेखाउन आग्रह गरेको छ । दोस्रो भाषाको महलमा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात धर्म लेखाउन आग्रह गरेको हो ।
विगत ३० वर्षको निरन्तर इमान्दार मेहनत, आम सम्मति, समय सन्दर्भले मागे बमोजिमको दस लिम्बुवान १७ थुमको प्रतिनिधिहरूले सामुहिक निर्णय गरी २०४८, २०५८ र २०६८ सालहरूमा सम्पन्न राष्ट्रिय जनगणनाहरूबाट आदिवासी लिम्बुहरूको जाति, भाषा, धर्म विषयक सामुदायिक परिचयहरूलाई समयबाट परिक्षित, पारङ्गित र स्थापित गर्न सफल भएको भन्दै किरात धर्म लेखाउन विज्ञप्तिमार्फत अपिल गरेको हो ।
आदिवासी जनजातिको आन्दोलनसमेतले स्थापित गरेको र समानुपातिक समावेशिताको व्यवस्था बमोजिम राज्यसंयन्त्रहरूबाट योजना, अभ्यास कार्यान्वयन भइरहेकोले जात÷जातिको महलमा लिम्बू लेख्नुपर्ने चुम्लुङको तर्क छ ।
त्यसैगरी मातृभाषाहरूलाई सरकारी कामकाजी भाषाको रूपमा स्थापित गरेकोले नजिकको आदिवासी जनजातिको मातृभाषा लेखाउन चुम्लुङको आग्रह हो । उता धर्मको महलमा भने वि.सं. २०४८ सालदेखि नै लेख्दै आएको बाहेक अन्य तर्क पेश गरेको छैन । किरात धर्म लेखाउने जातिमा पहिलेका चार किरातबाहेक जिरेल, सुरेल, हायु पनि थपिँदै गरेकोले संख्यात्मक रूपमा बलियो हुँदै गएको उल्लेख गरेको छ ।
मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराकासाथ आगामी वि.सं. २०७८ जेठ २५ गतेदेखि असार ८ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय जनगणनामा सबै जना सहभागी हुन अपील गरेको छ । त्यसैगरी उक्त जनगणनामा यस संगठनसम्बद्ध सबै संघ÷केन्द्र, प्रदेश, जिल्ला, नगर÷गाउँपालिका स्तरीय समितिहरु, विषयगत संगठन, सम्बन्धन÷सम्बद्ध संगठन, प्रथाजनित÷थरगत संगठन, लिम्बुजन्य सरोकारवाला संस्थाहरु लगायत सम्पूर्णमा सकृय सहभागिता हुनका लागि सोमबार जारी गरिएको अपीलमा भनिएको छ ।
किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमद्धारा हस्ताक्षरित अपीलमा लेखिएको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधतायुक्त देश हो । नेपाल धर्मनिरपेक्ष राज्य पनि हो । धर्मनिरपेक्षता हामी आदिवासी जनजातिको आन्दोलनको एजेन्डा एवम् उपलब्धी हो । नेपालको धर्मनिरपेक्ष र बहुधार्मिक अवस्थालाई कायम गर्न गराउनको लागि संगठित, प्रतिशतमा देखिने र केही ब्यापक आकारको धर्मको रुपमा विगत २०४८ सालको जनगणनादेखि स्थापित ‘किरात धर्म’को संख्यालाई कायम गराउँदै अझ बृद्धि गर्नु आवश्यक देखिन्छ । यो अभियानमा सहभागी भइरहदाँ आआफना मौलिक एवम् फरक–फरक संस्कार संस्कृतिहरु पनि उत्तिकै महत्वका साथ आआफनो स्वतन्त्र अस्तित्व र अभ्यासमा रहनेछन्, विलय हुनेछैनन् । यी विविध विश्वास, अभ्यास, परम्परा, प्रचलन, रीतिथीति अनुष्ठानहरुको एकताबद्ध धार्मिक पहिचान मात्र किरात धर्म हुनेछ । संसारमा प्रचलित धर्महरुलाई हेर्दा बुझ्दा धर्म केही ब्यापक र ठूलो घेरामा परिचित भएका पाइन्छन् तथापि त्यसभित्र विभिन्न रुपहरु पाइन्छन् । तसर्थ धर्मनिरपेक्ष राज्य, समावेशी, धार्मिक स्वतन्त्रताको हकलाई अर्थपूर्ण र बलियो उपस्थिति सिद्ध गर्नको लागि धर्मको महलमा ‘किरात धर्म’ लेखौं लेखाऔं । संख्या घट्ने घटाउने अन्य कुनै तर्क, बहस, विकल्पहरुले हाम्रा यी अधिकारहरुको अभ्यासलाई अनिश्चित बनाउने भएकाले अलमलमा नपरौं । जानकारी रहोस, हामी बाहेक नेपालका आदिवासी जनजातिहरु राई, याख्खा, सुनुवार, थामी, जिरेल, सुरेल, हायु लगायतले आ–आफुले अभ्यास गरेका अनुष्ठानहरुको मौलिकता एवम् विविधतालाई किरात धर्मको नाममा र सो अन्तर्गत आत्मसात् गरेको पाइन्छन् जसले किरात धर्मको घेरालाई ब्यापक र ठूलो बनाएको पाइन्छ ।’