
माङसेबुङ/विश्व शान्ति तथा मानव एकता सावायेहाङ किरात मुइ चक्मा सेवाको तयारी धमाधम हुँदैछ ।
गुरु निजी आश्रम लारुम्बामा चैत ५ गते पित्याम सेवा (गोठपूजा) हुनेछ । भने, मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको देवसमुपस्थितिमा चैत ६ माई, देउमाई र मेक्वा खोलाको संगमस्थल फुलुङगीमा बृहत साक्मुरा वादेम्मा सेवा हुने भएको छ ।
सेवा अन्तर्गत चैत ७, ८ र ९ गते फुलुङगीमा येत् नाम्धुङ लाधुङसेमी सेवा हुने विश्व शान्ति तथा मानव एकता सावायेहाङ किरात मुइ चक्मा सेवा समितिका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले जनाएको छ ।
सेवा समितिका अध्यक्ष योङहाङका अनुसार फुलुङगीमा हुने सेवामा एक लाख ८ हजार एक सय आठ वटा लिङ्गो र एक लाख ८ हजार एक सय आठ वटा दियोमा दीप प्रज्वलन गरिने छ । यसरी ९ गते सोमबार फुलुङगीमा आयोजना गरिने सेवा समापनपछि एक सय आठ तामा गांग्री र नौमति बाजा सहित गुरु निजी आश्रम लारुम्बामा फर्किने कार्यक्रम रहेको छ ।

यसरीनै चैत १०, ११ र १२ गते धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका–५, गुरु निजी आश्रम लारुम्बा, सुभाबारीमा अवस्थित सिद्ध किरातेश्वर हाङसाम माङहिममा विश्व शान्ति तथा मानव एकताका लागि येत् नाम्धुङ लाधुङसेमी सेवा हुने छ ।
विश्व शान्ति तथा मानव एकता सावायेहाङ किरात मुइ चक्मा सेवाको अन्तिम दिन चैत १३ गते धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका–५, गुरु निजी आश्रम लारुम्बामा मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको देवसमुपस्थितिमा बृहत येत् नाम्धुङ लाधुङसेमी सेवासँगै कार्यक्रम आयोजना हुने भएको छ ।
विश्व शान्ति तथा मानव एकता सावायेहाङ किरात मुइ चक्मा सेवामा हुक्वा मिसाउन इत्छुक महानुभावहरुले सेवा समितिका अर्थ विभागसँग सम्पर्क गरी सहयोग उपलब्ध गराउन सकिने सेवाका अर्थ संयोजक तारावीर नेम्बाङले जनाएको छ ।












